सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनिकालबाट छुटकारा नजिकै छ!

अनिकालबाट छुटकारा नजिकै छ!

अनिकालबाट छुटकारा नजिकै छ!

‘कस्तो अनिकाल?’ भनेर तपाईंले सोध्नुहोला। आध्यात्मिक भोजनको अनिकाल! एक जना पुरातन हिब्रू अगमवक्‍ताले यस अनिकालबारे यस्तो भविष्यवाणी गरे: “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, ‘हेर्‌, यस्ता दिनहरू आउँदैछन्‌, जब म देशमा अनिकाल ल्याउनेछु—अनिकाल, जुनचाहिं नता अन्‍नको न पानीको हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्णाको अनिकाल हुनेछ।’ ” (आमोस ८:११) यस आध्यात्मिक अनिकालबाट छुटकारा पाउनको लागि मदत गर्न प्याटर्सन, न्यु योर्कस्थित वाचटावर बाइबल स्कूल अफ गिलियडका ११२ औं कक्षाका ४८ जना सदस्यहरू ५ वटा महादेश तथा समुद्री टापु गरी १९ वटा देशमा जाँदैछन्‌।

तिनीहरू त्यहाँ साँच्चैको मासु वा अन्‍न लिएर होइन तर ज्ञान, अनुभव र प्रशिक्षणले सुसज्जित भएर जान्छन्‌। तिनीहरूले विदेशी भूमिमा मिसनरी सेवा गर्नको लागि मिसनरीहरूको विश्‍वास बलियो बनाउने हेतुले तयार गरिएको पाँच महिने विस्तृत बाइबल अध्ययनमा भाग लिए। मार्च ९, २००२ मा भेला भएका ५,५५४ जनाले आनन्दपूर्वक स्नातक समारोह सुने।

यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यका रूपमा सेवा गरिरहेका स्टिभन लेट्टले जोसका साथ कार्यक्रम शुभारम्भ गरे। तिनले संसारका विभिन्‍न भागहरूबाट आएका थुप्रै पाहुनाहरूलाई विशेष स्वागत गरे। त्यसपछि तिनले “तिमीहरू जगत्‌का ज्योति हौ” भन्‍ने येशूका शब्दहरू भावी मिसनरीहरूको काममा कसरी लागू हुन्छ व्याख्या गरे। (मत्ती ५:१४) तिनले बताए: ‘तपाईंहरूले आफ्ना कार्यभारहरू पूरा गर्नुहुँदा नम्र हृदय भएका व्यक्‍तिहरूलाई यहोवा र उहाँका उद्देश्‍यहरूको सुन्दरताबारे बुझ्न मदत गरेर यहोवाका अद्‌भुत कार्यहरूका विभिन्‍न पक्षहरूको “ज्योति चम्काउनु” हुनेछ।’ भाइ लेट्टले झूटा सिद्धान्तहरूको अन्धकार उदांग पार्ने तथा सत्यको खोजीमा रहेकाहरूलाई डोऱ्‍याइ प्रदान गर्ने कामको लागि परमेश्‍वरको वचनको ज्योति प्रयोग गर्न मिसनरीहरूलाई प्रोत्साहन दिए।

सफलताको लागि सही मनोवृत्ति अत्यावश्‍यक

सभापतिको सुरुका टिप्पणीहरूपछि, संयुक्‍त राज्य अमेरिका शाखा समितिका सदस्य, बालटासर पर्लाले स्नातकहरूलाई सफल मिसनरी हुन मदत गर्ने हेतुले तयार पारिएको श्रृंखलाबद्ध भाषणको पहिलो खण्ड दिए। तिनले “बलियो र आँटिलो हुनुहोस्‌ र यो काम गर्नुहोस्‌” भन्‍ने विषय प्रस्तुत गरे। (१ इतिहास २८:२०) पुरातन इस्राएलका राजा सुलेमानले आफूले पहिले कहिल्यै नगरेको काम अर्थात्‌ यरूशलेममा एउटा मन्दिर बनाउने जिम्मेवारी पाए। सुलेमानले त्यसै गरे र यहोवाको मदत पाएर मन्दिरको निर्माण कार्य पूरा गर्न सके। यो पाठ कक्षालाई कसरी लागू हुन्छ भन्‍ने कुरा देखाउँदै भाइ पर्लाले यसो भने: ‘तपाईंहरूले मिसनरी हुने नयाँ जिम्मेवारी पाउनुभएको छ, तपाईंहरू आँटिलो र बलियो हुनु आवश्‍यक छ।’ तिनीहरू यहोवाको नजिक रहुन्जेलसम्म उहाँले तिनीहरूलाई त्याग्नु वा छोड्‌नु हुनेछैन भन्‍ने आश्‍वासन पाउँदा विद्यार्थीहरूले पक्कै पनि सान्त्वना पाए। भाइ पर्लाले अन्तमा आफ्नै व्यक्‍तिगत अनुभव सुनाउँदा श्रोताहरू उत्साहित भए: ‘असल मिसनरीको हैसियतमा तपाईंहरूले थुप्रै काम गर्न सक्नुहुन्छ। मेरो परिवार र मलाई पनि मिसनरीहरूले नै सच्चाइ सुनाएका थिए !’

परिचालक निकायको अर्का सदस्य, साम्यल हर्डको भाषणको शीर्षक थियो, “सफलताको लागि यहोवामा भर पर्नुहोस्‌।” विद्यार्थीहरूले मिसनरी कार्यको जीवन सुरु गर्दैछन्‌ र तिनीहरूको सफलता धेरै हदसम्म यहोवासँगको सम्बन्धमा निर्भर हुन्छ। भाइ हर्डले तिनीहरूलाई यस्तो अर्ती दिए: ‘गिलियडमा गरेको अध्ययनद्वारा तपाईंहरूले बाइबलको थुप्रै ज्ञान आर्जन गर्नुभएको छ। तपाईंहरूले खुसीसाथ स्वीकार्नुभयो। तर अब साँचो सफलता प्राप्त गर्ने हो भने आफूले सिकेका कुराहरू अरूलाई बाँड्‌न थाल्नु पर्छ।’ (प्रेरित २०:३५) मिसनरीहरूले आफूलाई अरूको खातिर ‘अर्पित गर्दा’ तिनीहरूले यसो गर्ने थुप्रै अवसरहरू पाउनेछन्‌।—फिलिप्पी २:१७.

छुट्टिने बेलामा प्रशिक्षकहरूले विद्यार्थीहरूलाई कस्तो सल्लाह दिन्छन्‌ होला? मार्क न्यूमरले रूथ ३:१८ मा आधारित “नतिजा के हुन्छ सो थाह नपाउन्जेल शान्त बस्नुहोस्‌” विषयक भाषण दिए। नाओमी र रूथको उदाहरण प्रस्तुत गर्दै वक्‍ताले स्नातकहरूलाई परमेश्‍वरको पार्थिव संगठनले गरेका प्रबन्धहरूमा पूर्ण भरोसा राख्न र ईश्‍वरतान्त्रिक अख्तियारको आदर गर्न प्रोत्साहन दिए। विद्यार्थीहरूको हृदय छुने गरी भाइ न्यूमरले यसो भने: ‘कहिलेकाहीं तपाईंले आफूलाई असर पर्ने गरी गरिएका निर्णयहरू गर्नुको कारण बुझ्न सक्नुहुन्‍न वा कुनै-कुनै काम बरु यसरी गरिएको भए अझै बेस हुन्थ्यो होला जस्तो लाग्ला। त्यसबेला तपाईं के गर्नुहुन्छ? के तपाईं आफै अघि सरेर मामिला आफ्नो हातमा लिनुहुन्छ वा परमेश्‍वरको निर्देशनमा भर पर्दै उहाँले सधैं असलै काम मात्र गर्नुहुन्छ भन्‍ने कुरामा निर्धक्क भएर शान्त बस्नुहुन्छ?’ (रोमी ८:२८) ‘व्यक्‍तिविशेषमा ध्यानकेन्द्रित गर्नुको सट्टा यहोवाको संगठनले के गर्दै छ भन्‍ने कुरामा ध्यान दिएर राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन मन लगाउनुहोस्‌’ भन्‍ने सल्लाह भावी मिसनरीहरूलाई विदेशी भूमिमा आफ्ना कार्यभारहरू पूरा गर्नको लागि पक्कै अमूल्य साबित हुनेछ।

पहिलेका मिसनरी र अहिले गिलियड प्रशिक्षकको रूपमा सेवा गरिरहेका वालेस लिभरेन्सले सुरुका श्रृंखलाबद्ध भाषणको अन्तिम भाषण दिए। तिनको भाषणको शीर्षक थियो, “लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌, परमेश्‍वरको सेवामा लागिरहनुहोस्‌।” बाबेलको पतन र यर्मियाले अगमवाणी गरेका कुराहरू देखेर दानियलले इस्राएलीहरू कैदबाट मुक्‍त हुने समय नजिकै छ भनेर बुझे भनी वक्‍ताले बताए। (यर्मिया २५:११; दानियल ९:२) दानियल यहोवाको समयतालिकाप्रति सचेत थिए र त्यसले तिनलाई यहोवाको अदृश्‍य उद्देश्‍यमा ध्यान केन्द्रित गर्न मदत गऱ्‍यो। त्यसको विपरीत, अगमवक्‍ता हाग्गैको समयका इस्राएलीहरूले यसो भने: “समय अझ आएको छैन।” (हाग्गै १:२) तिनीहरू आफू बाँचिरहेको समयप्रति सजग हुन छोडे, आफ्नै सुविधा र स्वार्थ पूरा गर्नमा ध्यान केन्द्रित गरे र तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्ने जुन कामको लागि बाबेलबाट छुटकारा दिइएको थियो, त्यही काम गर्न छोडे। भाइ लिभरेन्सले निष्कर्षमा यसो भने: “त्यसकारण यहोवाको उद्देश्‍यलाई सधैंभरि मनमा राखेर ध्यान केन्द्रित गरिरहनुहोस्‌।”

गिलियड प्रशिक्षक लरेन्स बोवेनले “जीवित वचन प्रयोग गर्नेहरूलाई यहोवाले आशिष्‌ दिनुहुन्छ” भन्‍ने शीर्षक भएको भाग सञ्चालन गरे। (हिब्रू ४:१२) यो भागले प्रचार गर्दा र सिकाउँदा बाइबल चलाउनेहरूलाई यहोवाले कसरी आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरा प्रकाश पार्नुका साथै विद्यार्थीहरूले क्षेत्र सेवकाईमा बटुलेका अनुभवहरूबारे बताए। येशू ख्रीष्टले परमेश्‍वरका सबै सेवकहरूका लागि असल उदाहरण बसाल्नुभयो भनी सञ्चालकले औंल्याए: ‘येशूले आफूले सिकाएको कुरा आफ्नै तर्फबाट नभई परमेश्‍वरको वचनबाट हो भनेर निःसंकोच भन्‍न सक्नुभयो।’ नम्र हृदय भएकाहरूले सच्चाइ स्वीकारे र सकारात्मक प्रतिक्रिया देखाए। (यूहन्‍ना ७:१६, १७) आज पनि त्यस्तै भइरहेको छ।

गिलियड प्रशिक्षणले सबैलाई सुकर्ममा सुसज्जित पार्छ

त्यसपछि लामो समयदेखि बेथेल परिवारका सदस्यहरूको रूपमा रहँदै आएका रिचार्ड अब्रहामसन र पाट्रिक लाफ्रांकले अहिले विशेष पूर्ण-समय सेवामा सेवारत छ जना गिलियड स्नातकहरूको अन्तरवार्ता लिए। जस्तोसुकै सेवामा कार्यरत भए तापनि बाइबल अध्ययन गर्न, अध्ययन अनुसन्धान गर्न तथा मानिसहरूसँग मिलेर बस्न ती छ जना गिलियड स्नातकहरूले वर्षौंपछि पनि आफूले गिलियडमा प्राप्त गरेको प्रशिक्षण व्यवहारमा उतारिरहेको कुरा सुन्दा ११२ औं कक्षाका स्नातकहरू प्रोत्साहित भए।

परिचालक निकायका सदस्य, थिओडर जारासले यस कार्यक्रमको मुख्य भाषण दिए। यसको शीर्षक थियो, “शैतानको घृणा सहँदा कुन कुरा पूरा हुन्छ।” बितेका पाँच महिना विद्यार्थीहरू मायालु र ईश्‍वरतान्त्रिक वातावरणमा बसिहरेका थिए। तथापि, तिनीहरूको कक्षाको पढाइमा औंल्याइएझैं हामी शत्रुको संसारमा बसिरहेका छौं। संसारभरिका यहोवाका जनहरूमाथि आक्रमण हुँदैछ। (मत्ती २४:९) थुप्रै बाइबल विवरणहरू प्रयोग गर्दै भाइ जारासले ‘हामी दियाबलको विशेष तारो हौं। हामीले यहोवासँगको सम्बन्ध बलियो बनाउनुपर्छ र परीक्षाहरूको समाना गर्न दृढ हुनुपर्छ’ भनी औंल्याए। (अय्यूब १:८; दानियल ६:४; यूहन्‍ना १५:२०; प्रकाश १२:१२, १७) भाइ जारासले निष्कर्षमा भने, परमेश्‍वका जनहरू घृणाको सिकार भइरहे तापनि ‘यशैया ५४:१७ मा भनेझैं हाम्रो विरुद्धमा बनाइएको सबै हतियार बेकामको हुनेछ। यहोवाले हामीलाई उहाँको आफ्नो तोकिएको समयमा र उहाँकै तरिकामा छुटकारा दिनुहुनेछ।’

निस्सन्देह, गिलियडको ११२ औं कक्षाका स्नातकहरूले “पूर्णरूपले सुसज्जित भई” आफूले सेवा गर्ने देशका मानिसहरूलाई आध्यात्मिक खानेकुराको अनिकालबाट छुटकारा दिन थुप्रै काम गर्नेछन्‌। (२ तिमोथी ३:१६,१७) हामी तिनीहरूले ती देशका मानिसहरूसामु यो पोषणदायी सन्देश कसरी पुऱ्‍याउँछन्‌ भन्‍ने रिपोर्टहरू सुन्‍न उत्सुक हुनेछौं।

[पृष्ठ २३-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ६

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १९

विद्यार्थीहरूको संख्या: ४८

औसत उमेर: ३३.२

सच्चाइमा बिताएको औसत वर्ष: १५.७

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२.२

[पृष्ठ २४-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११२ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हुन्‌।

(१) परोट, एम.; हुकर, इ.; अनाया, आर.; रेनोल्डस, जे.; जेज्वाल्डी, के.; गोन्जालेज, जे. (२) रबिन्सन, सि.; फिलिप्स, बि.; मेडमेन्ट, के.; मूर, आइ.; नोक्स, जे.; बार्नेट, एस. (३) स्टिर्स, टि.; पामर, बि.; याङ, सि.; ग्रूथुइस, एस.; ग्रोप, टि.; बाक, सि. (४) अनाया, आर.; सूकोरिफ, इ.; स्टिवर्ट, के.; सिमोज्राग, एन.; सिमोटेल, सि.; बाक, इ. (५) स्टिवर्ट, आर.; याङ, एच.; गिल्फेदर, ए.; ह्‍यारिस, आर.; बार्नेट, डि.; परोट, एस. (६) मेडमेन्ट, ए.; मूर, जे.; ग्रूथुइस, सि.; गिल्फेदर, सि.; नोक्स, एस.; स्टिर्स, टि. (७) जेज्वाल्डी, डि.; ग्रोप, टि.; सूकोरिफ, बि.; पामर, जि.; फिलिप्स, एन.; सिमोटेल, जे. (८) ह्‍यारिस, एस.; हुकर, पि.; गोन्जालेज, जे.; सिमोज्राग, डि.; रेनोल्डस, डि.; रबिन्सन, एम.