सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌

मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌

मसीही नैतिकता सिक्नुहोस्‌ र सिकाउनुहोस्‌

“त के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ?”—रोमी २:२१.

१, २. तपाईं किन बाइबल अध्ययन गर्न चाहनुहुन्छ?

 तपाईंले परमेश्‍वरको वचन अध्ययन गर्ने थुप्रै कारणहरू पाउन सक्नुहुन्छ। तपाईं सायद यसमा बताइएका मानिस, घटना, ठाउँ र अन्य कुराहरूबारे तथ्य बुझ्न चाहनुहुन्छ होला। तपाईं त्रिएक वा नरककुण्डजस्ता धार्मिक झूट होइन तर सत्य कुरा जान्‍न चाहनुहुन्छ। (यूहन्‍ना ८:३२) त्यति मात्र नभई परमेश्‍वरजस्तो हुन र उहाँसामु धार्मिकतामा हिंड्‌न पनि तपाईं यहोवालाई अझ राम्ररी चिन्‍ने इच्छा गर्नुहुन्छ।—१ राजा १५:४, ५.

परमेश्‍वरको वचन अध्ययन गर्नुको एउटा तार्किक र मुख्य कारण अरूलाई अथवा तपाईंको प्रिय जन, जान-पहिचान र भविष्यमा सम्पर्कमा आउन सक्ने व्यक्‍तिहरूलाई सिकाउन आफूलाई सुसज्जित गर्नु हो। यो साँचो मसीहीहरूको लागि विकल्प होइन। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.

३, ४. येशूले आज्ञा गर्नुभएझैं सिकाउनु किन आदरणीय कुरा हो?

अरूलाई सिकाउने इच्छा राखेर बाइबल अध्ययन गर्नु आदरणीय कुरा हुनुका साथै अनन्त सन्तुष्टिको स्रोत हुन सक्छ। शिक्षण पेसालाई पहिलेदेखि नै कदर गरिंदै आएको छ। एन्कार्टा इन्साइक्लोपीडिया यस्तो उल्लेख गर्छ: “थुप्रै यहूदी वयस्कहरूले शिक्षकहरूलाई उद्धारतर्फ डोऱ्‍याउने व्यक्‍तिको रूपमा लिन्थे र आमाबाबुलाई भन्दा बढी शिक्षकको आदर गर्न केटाकेटीलाई सिकाउँथे।” मसीहीहरूले विशेष गरी बाइबल अध्ययन गरेर आफूले सिक्नु अनि पछि अरूलाई सिकाउनु आदरणीय कुरा हो।

“अन्य पेसामा भन्दा शिक्षण पेसामा थुप्रै मानिसहरू लाग्छन्‌। संसारमा पुरुष तथा स्त्रीहरू गरेर झन्डै चार करोड ८० लाख शिक्षकहरू छन्‌।” (द वर्ल्ड बूक इन्साइक्लोपीडिया) एक जना शिक्षकलाई कलिला विद्यार्थीहरूलाई सिकाउने जिम्मा दिइएको हुन्छ र तिनीहरूको जीवनमा पछिसम्म अमेट छाप पार्न सक्छ। अरूलाई सिकाउने येशूको आज्ञा पालन गर्नुहुँदा त्यसको नतिजा झन्‌ दूरगामी हुन्छ। तपाईंले तिनीहरूलाई अनन्तकालसम्म प्रभावित गर्न सक्नुहुन्छ। यही कुरालाई जोड दिंदै प्रेरित पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) हो, तपाईंको सिकाउने कार्य र मुक्‍तिबीच निकटतम सम्बन्ध छ।

५. मसीही शिक्षा अरूभन्दा उच्च हुनुको कारण के हो?

आफूलाई अनि अरूलाई सिकाउने अधिकार र निर्देशन दिनुहुने सबैभन्दा महान्‌ स्रोत, ब्रह्‍माण्डको सर्वसत्ताधारी हुनुहुन्छ। यही कारण मात्र विचार गर्ने हो भने पनि प्राथमिक शिक्षा, सीपमूलक शिक्षा वा चिकित्साशास्त्र भन्दा समेत उच्च हुन्छ। मसीही शिक्षामा विद्यार्थीले व्यक्‍तिगत रूपमा परमेश्‍वरको पुत्र, ख्रीष्ट येशूको अनुकरण गर्न सिक्नुपर्छ र अरूलाई पनि त्यस्तै गर्न सिकाउनुपर्छ।—यूहन्‍ना १५:१०.

किन आफूले सिक्ने?

६, ७. (क) हामीले किन पहिला आफूलाई सिकाउनुपर्छ? (ख) कुन अर्थमा प्रथम शताब्दीका यहूदी शिक्षकहरू असफल भएका थिए?

पहिले आफूले सिक्नुपर्छ भन्‍नुको कारण के हो? हामी आफूले नै पहिला सिकेका छैनौं भने अरूलाई राम्ररी सिकाउन सक्दैनौं। पावलले यस कुरालाई जोड दिन एउटा विचारणीय विवरण प्रयोग गरे जुन त्यतिबेलाका यहूदीहरूलाई लागू हुन्थ्यो तर त्यसमा मसीहीहरूको लागि आज पनि महत्त्वपूर्ण सन्देश छ। पावलले यस्तो प्रश्‍न गरे: “त के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ? व्यभिचार नगर भन्‍ने तिमीले के आफै व्यभिचार गर्छौ? तिमी जो मूर्त्तिहरू घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लूट्‌तछौ? तिमी जो व्यवस्थामा घमण्ड गर्छौ, के व्यवस्था उल्लङ्‌घन गरेर परमेश्‍वरको अनादर गर्छौ?”—रोमी २:२१-२३.

अलंकारयुक्‍त प्रश्‍न गर्दै पावलले दस आज्ञामा स्पष्टै गलत भनिएको दुइटा कुरा उल्लेख गरे: नचोर्नू र व्यभिचार नगर्नू। (प्रस्थान २०:१४, १५) पावलको समयका केही यहूदीहरू आफूसँग व्यवस्था भएकोमा गर्व गर्थे। तिनीहरू ‘व्यवस्थाबाट सिकेर असल असल कुराहरूको पुष्टि गर्दथे, अन्धाहरूको अगुवा र अँध्यारोमा हुनेहरूको ज्योति, मूर्खहरूलाई सपार्ने, दूधे-बालकहरूका गुरु’ भन्थे। (रोमी २:१७-२०) तथापि, कोही-कोही कपटी थिए किनभने गोप्यमा तिनीहरूले चोरी वा व्यभिचार गरिरहेका थिए। यसले व्यवस्था र स्वर्गमा हुनुहुने यसको लेखेक दुवैको अनादर गर्थ्यो। तिनीहरू सिकाउन पटक्कै योग्य थिएनन्‌ र आफूले पनि सिकिरहेका थिएनन्‌ भनी प्रस्ट हुन्छ।

८. पावलको समयका केही यहूदीहरूले कसरी ‘मन्दिर लुटिरहेका’ हुन सक्छन्‌?

पावलले मन्दिर लुट्‌ने विषयमा उल्लेख गरे। के कोही-कोही यहूदीहरूले साँच्चै लुटे? पावलले के भन्‍न खोज्दै थिए? यस विवरणमा सीमित जानकारीको कारण केही यहूदीहरूले कसरी ‘मन्दिरहरू लुटे’ भनेर हामी यकिन गरेर भन्‍न सक्दैनौं। त्यसअघि एफिसस शहरको अभिलेखकर्ताले पावलका सँगीहरू ‘लुटाहाहरू होइनन्‌’ भनी बताएका थिए र यसबाट केही मानिसहरूले यहूदीहरूलाई दोषी ठानेको संकेत पाउन सक्छौं। (प्रेरित १९:२९-३७) के विजेता वा धार्मिक हठधर्मीहरूले मन्दिरहरूबाट लुटेका बहुमूल्य वस्तुहरू तिनीहरूले व्यक्‍तिगत प्रयोग वा व्यापार गरिरहेका थिए? परमेश्‍वरको व्यवस्थाअनुसार सुन र चाँदीका मूर्तिहरू आफ्नो व्यक्‍तिगत प्रयोगको लागि होइन तर नाश गर्नुपर्ने थियो। (व्यवस्था ७:२५) a त्यसकारण पावलले परमेश्‍वरको आज्ञा बेवास्ता गरेर मन्दिरका सामानहरू चलाइरहेका वा त्यसबाट फाइदा उठाइरहेका यहूदीहरूलाई संकेत गरिरहेका हुन सक्छन्‌।

९. यरूशलेमको मन्दिरसँग सम्बन्धित कस्ता कामहरू मन्दिरलाई लुट्‌नु सरह थियो?

अर्कोतर्फ, रोममा चार जना यहूदीहरूले मच्चाएको काण्डबारे जोसेफसले बताए र त्यसको नेताचाहिं व्यवस्थाका शिक्षक थिए। ती चार अभियोगीहरूले यहूदी मत स्वीकारेकी एउटी रोमी आइमाईलाई सुन तथा अन्य बहुमूल्य कुराहरू यरूशलेमको मन्दिरको निम्ति चन्दाको रूपमा दिन उक्साए। तिनीहरूले त्यस आइमाईबाट ती बहुमूल्य कुराहरू पाएपछि आफैले मनमानी प्रयोग गरे र यो मन्दिरबाट लुट्‌नु सरह थियो। b अरूले चाहिं खोट भएका बलिहरू चढाएर अनि मन्दिरको हातामा किनबेच गरेर मन्दिरलाई “डाँकूहरूको ओडार बनाएर” परमेश्‍वरको मन्दिरबाट लुटिरहेका थिए।—मत्ती २१:१२, १३; मलाकी १:१२-१४; ३:८, ९.

मसीही नैतिकता सिकाउनुहोस्‌

१०. रोमी २:२१-२३ मा लिपिबद्ध गरिएका पावलका शब्दहरूको मुख्य सार हामीले किन बिर्सनु हुँदैन?

१० चोरी, व्यभिचार र मन्दिर लुट्‌ने जस्ता प्रथम शताब्दीमा भएका जस्तोसुकै गतिविधिलाई पावलले संकेत गरिरहेका भए तापनि हामीले तिनको टिप्पणीको मुख्य सारलाई नभुलौं। तिनले यस्तो प्रश्‍न गरे: “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ?” यहाँ उल्लेखनीय कुरा के छ भने, पावलले दिएका उदाहरणहरू नैतिकतासित सम्बन्धित छन्‌। प्रेरित पावलले बाइबलको सिद्धान्त वा इतिहासमा ध्यान केन्द्रित गरेनन्‌। पावलले बताएअनुसार आफू सिक्नु र अरूलाई सिकाउने मसीही नैतिकतासित सम्बन्धित थियो।

११. परमेश्‍वरको वचन अध्ययन गर्दै जानुहुँदा तपाईंले किन मसीही नैतिकतामा ध्यान दिनुपर्छ?

११ रोमी २:२१-२३ मा उल्लिखित पाठ व्यवहारमा उतार्न पहिला परमेश्‍वरको वचनबाट मसीही नैतिकता सिक्नुपर्छ, सिकेअनुसार गर्नुपर्छ अनि अरूलाई पनि त्यसै गर्न सिकाउनुपर्छ। त्यसकारण तपाईंले बाइबल अध्ययन गर्नुहुँदा साँचो मसीही नैतिकताको आधार अर्थात्‌ यहोवाका स्तरहरू बुझ्न सजग हुनुहोस्‌। बाइबलबाट पाउने सल्लाह र पाठहरूमा मनन गर्नुहोस्‌। अनि सिकेको कुरा लागू गर्न साहसी हुनुहोस्‌। त्यसो गर्नको लागि साहसका साथै कटिबद्धता चाहिन्छ। असिद्ध मानिसहरूले सजिलै निहुँ बनाउँछन्‌ र खास अवसरमा किन मसीही नैतिकतालाई बेवास्ता समेत गर्न मिल्छ भनी कारणहरू पेस गर्न सक्छन्‌। सायद पावलले उल्लेख गरेका यहूदीहरू त्यस्तो चलाखीपूर्ण ढंगमा तर्क गर्न वा अरूलाई छक्याउन खप्पिस थिए। तथापि, पावलका शब्दहरूले मसीही नैतिकता व्यक्‍तिगत छनौटको आधारमा हल्का ठान्‍ने वा बेवास्ता गर्ने गर्नुहुँदैन भनी स्पष्ट पार्छ।

१२. असल वा खराब आचारणले कसरी यहोवा परमेश्‍वरलाई असर गर्छ र यो कुरालाई मनमा राख्नु किन महत्त्वपूर्ण छ?

१२ प्रेरित पावलले बाइबलमा दिइएको नैतिकतासम्बन्धी कुरा सिकेर व्यवहारमा उतार्नुको मुख्य कारण प्रकाश पारे। यहूदीहरूको खराब आचारण यहोवालाई असर गर्थ्यो: “तिमी जो व्यवस्थामा घमण्ड गर्छौ, के व्यवस्था उल्लङ्‌घन गरेर परमेश्‍वरको अनादर गर्छौ? किनभने यस्तो लेखिएको छ, ‘अन्यजातिहरूमा परमेश्‍वरको नाउँ तिमीहरूद्वारानै निन्दित भएको छ।’ ” (रोमी २:२३, २४) हामीले मसीही नैतिकतालाई बेवास्ता गऱ्‍यौं भने यसको स्रोतलाई पनि अनादर गरिरहेका हुनेछौं। त्यसै गरी, हामीले परमेश्‍वरका स्तरहरूलाई दृढता साथ पक्रिराख्यौं भने उहाँबारे अरूलाई राम्रो छाप पार्छौं र उहाँको आदर हुन्छ। (यशैया ५२:५; इजकिएल ३६:२०) यसबारे तपाईं सजग हुनुहुँदा तपाईंले प्रलोभनको सामना गर्नुपर्दा वा मसीही नैतिकतालाई बेवास्ता गर्नु नै सबैभन्दा सजिलो वा उचित जस्तो देखिने परिस्थितिमा पनि आफ्नो संकल्पमा दृढ हुन बल पाउनुहुनेछ। यसबाहेक, पावलका शब्दहरूबाट अझ थप कुरा पनि सिक्न सक्छौं। तपाईंको आचारणले परमेश्‍वरलाई असर गर्छ भनेर व्यक्‍तिगत रूपमा सजग हुनुका साथै तपाईंले अरूलाई सिकाउँदा तिनीहरू आफूले सिकिरहेको नैतिक स्तरहरू व्यवहारमा उतार्दा यहोवालाई कसरी असर गर्छ भनी बुझ्न मदत गर्नुहोस्‌। मसीही नैतिकताले सन्तुष्टि दिनुका साथै स्वास्थ्यलाई सुरक्षित राख्ने मात्र होइन, यसले त्यस्तो नैतिकता दिने र लागू गर्न प्रोत्साहन दिने व्यक्‍तिको पनि महिमा गर्छ।—भजन ७४:१०; याकूब ३:१७.

१३. (क) बाइबलले हामीलाई नैतिकताबारे कस्तो मदत प्रदान गर्छ? (ख) पहिलो थिस्सलोनिकी ४:३-७ मा दिइएको सल्लाहको सार बताउनुहोस्‌।

१३ नैतिकताले अरू मानिसहरूलाई पनि असर गर्छ। परमेश्‍वरको वचनमा दिइएका उदाहरणहरूबाट परमेश्‍वरका नैतिक स्तरहरू लागू गर्नुको महत्त्व र ती लागू नगर्दा हुने नतिजाहरू थाह पाउन सक्छौं। (उत्पत्ति ३९:१-९, २१; यहोशू ७:१-२५) अनि तपाईंले नैतिकतासम्बन्धी यस्ता सुस्पष्ट सल्लाहहरू पनि पाउन सक्नुहुन्छ: “परमेश्‍वरको इच्छा, अर्थात्‌ तिमीहरूको पवित्रतानै यही हो, कि व्यभिचारबाट अलग बस। तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान। परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिहरूको जस्तो कुइच्छाको कामनामा होइन। यस कुरामा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्‌। . . . किनकि परमेश्‍वरले हामीलाई अशुद्ध हुनालाई होइन, तर पवित्र हुनालाई बोलाउनुभयो।”—१ थिस्सलोनिकी ४:३-७.

१४. पहिलो थिस्सलोनिकी ४:३-७ मा दिइएको सल्लाहको सन्दर्भमा तपाईं आफैलाई कस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ?

१४ उक्‍त विवरणबाट सबैले बुझ्न सक्ने कुरा हो, यौन अनैतिकताले मसीही नैतिकता उल्लंघन गर्छ। यद्यपि, यसलाई अझ गहिरिएर बुझ्न सक्नुहुन्छ। कुनै-कुनै पदमा अझ गहन अध्ययन गरेर मनन गर्ने पक्षहरू हुन्छन्‌ र त्यसबाट थप अन्तर्दृष्टि पाउन सक्छौं। उदाहरणका लागि, पावलले व्यभिचार गर्दा “कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी” गर्न सक्छ भन्‍नुको अर्थ के हो भनी विचार गर्न सक्नुहुन्छ। यसमा भनिएको अपराध के हो र यस विवरणलाई राम्ररी बुझ्दा मसीही नैतिकतालाई कायमै राख्ने थप उत्प्रेरणा कसरी पाउन सक्छौं? त्यस्ता अध्ययनहरूबाट बुझेको थप ज्ञानले तपाईं अरूलाई सिकाउन र तिनीहरूलाई परमेश्‍वरको आदर गर्ने मदत दिन कसरी सक्षम हुन सक्नुहुन्छ?

सिकाउनको लागि अध्ययन गर्नुहोस्‌

१५. व्यक्‍तिगत अध्ययनद्वारा आफूले सिक्न तपाईं कस्ता साधानहरू प्रयोग गर्न सक्नुहुन्छ?

१५ आफूले सिक्दा वा अरूलाई सिकाउँदा कुनै प्रश्‍न उठ्यो वा कुनै विषयबारे थप जानकारी पत्ता लगाउन अनुसन्धान गर्नुपऱ्‍यो भने यहोवाका साक्षीहरूसँग साधनहरू छन्‌। थुप्रै भाषामा उपलब्ध एउटा त्यस्तो साधन वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स हो। ती उपलब्ध छन्‌ भने तपाईंले यहोवाका साक्षीहरूको बाइबल आधारित प्रकाशनहरूमा जानकारी पत्ता लगाउन सक्नुहुन्छ। तपाईंले विषय वा बाइबल पदबाट अनुसन्धान गर्न सक्नुहुन्छ। यहोवाका साक्षीहरूसँग उपलब्ध अर्को साधान वाचटावर लाइब्ररी हो र यो थुप्रै प्रमुख भाषामा पाइन्छ। यस सिडी-रोममा उपलब्ध कम्प्युटर प्रोग्राममा थुप्रै प्रकाशनहरू संकलन गरिएको छ। यस प्रोग्रामद्वारा शास्त्रपदहरूका विभिन्‍न विषयमा अनुसन्धान गर्न सकिन्छ। तपाईंसँग यी दुईमध्ये एउटा वा दुवै साधान छ भने आफूले परमेश्‍वरको वचन अध्ययन गर्दा र अरूलाई सिकाउँदा नियमित तवरमा प्रयोग गर्नुहोस्‌।

१६, १७. (क) तपाईंले १ थिस्सलोनिकी ४:६ मा उल्लेखित अधिकारबारे जानकारीमूलक टिप्पणीहरू कहाँ पाउन सक्नुहुन्छ? (ख) व्यभिचारले कुन तरिकामा अरूको अधिकारलाई हनन गर्न सक्छ?

१६ उदाहरणस्वरूप माथि उद्धृत १ थिस्सलोनिकी ४:३-७ लाई लेऔं। अपराधबारे प्रश्‍न उठेको थियो। कसको विरुद्ध अपराध? कसरी अधिकार हनन हुन सक्छ? माथि उल्लेख गरिएको अध्ययन साधनहरू प्रयोग गरेर तपाईंले सम्भवतः यी पदहरू तथा पावलले उल्लेख गरेका अधिकारबारे समेत स्पष्ट पार्ने टिप्पणीहरू पाउन सक्नुहुन्छ। तपाईंले त्यस्तो टिप्पणीहरू इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ ८६३-४; ट्रु पीस एण्ड सिक्योरिटी—हाउ क्यान यु फाइन्ड इट?, पृष्ठ १४५; द वाचटावर, नोभेम्बर १५, १९८९, पृष्ठ ३१ मा पाउन सक्नुहुन्छ।

१७ तपाईंले ती साहित्यहरूबाट अध्ययन गर्नुभएपछि पावलका शब्दहरू कत्ति सत्य रहेछन्‌ भनी थाह पाउन सक्नुहुन्छ। व्यभिचारीले परमेश्‍वर विरुद्ध पाप गर्छ र रोगहरू निम्त्याउँछ। (१ कोरिन्थी ६:१८, १९; हिब्रू १३:४) व्यभिचारमा फसेका पुरुषले विभिन्‍न तरिकामा आफूले पाप गरेको स्त्रीको अधिकार हनन गर्छ। तिनको कारण उनको स्वच्छ नैतिक स्तर र सफा अन्तस्करण हुँदैन। उनी अविवाहित हुन्‌ भने कुमारीको रूपमा विवाह बन्धनमा बाँधिने अधिकार र उनको हुनेवाला पतिले उनीबाट त्यस्तो आशा गर्ने अधिकार तिनले हनन गर्छन्‌। तिनले त्यस स्त्रीको आमाबाबु र विवाहित हुन्‌ भने श्रीमान्‌को चित्त दुखाउँछन्‌। अनैतिक व्यक्‍तिले आफ्नै परिवारको स्वच्छ नैतिक रेकर्डलाई भताभुंग पार्छ। तिनी मसीही मण्डलीका सदस्य हुन्‌ भने मण्डलीको बदनाम गर्छन्‌।—१ कोरिन्थी ५:१.

१८. मसीही नैतिकताबारे बाइबल अध्ययनबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

१८ के अधिकारबारे त्यस्ता टिप्पणीहरूले कुनै पदको गहन अर्थ बुझ्न मदत गरेन र? त्यस्तो प्रकारको अध्ययन साँच्चै मूल्यवान्‌ हुन्छ। तपाईंले अध्ययनलाई अघि बढाउनुहुँदा आफूले पनि सिकिरहनुभएको हुन्छ। सत्यबारे तपाईंको समझ र परमेश्‍वरको सन्देशले पार्ने प्रभाव तपाईंमा अझ प्रगाढ हुनेछ। जस्तोसुकै प्रलोभनहरूको सामना गर्नुपरे तापनि मसीही नैतिकतालाई पक्रिराख्ने तपाईंको कटिबद्धता बलियो हुनेछ। अनि तपाईं शिक्षकको हैसियतमा अझ कत्ति प्रभावकारी हुन सक्नुहुन्छ, विचार गर्नुहोस्‌! उदाहरणका लागि, तपाईंले अरूलाई बाइबल सत्य सिकाउनुहुँदा १ थिस्सलोनिकी ४:३-७ बारे अन्तर्दृष्टि प्रदान गर्न सक्नुहुन्छ, जसले गर्दा तिनीहरूको मसीही नैतिकताबारे समझ र मूल्यांकन बढ्‌नेछ। यसरी तपाईंको अध्ययनले तपाईं अनि अरू थुप्रैलाई परमेश्‍वरको आदर गर्न मदत गर्न सक्छ। अनि यहाँ हामीले पावलले थिस्सलोनिकीहरूलाई लेखेको पत्रको एउटा उदाहरण मात्र छलफल गरेका छौं। मसीही नैतिकताका अन्य थुप्रै पक्षहरू छन्‌, त्यस्तै शिक्षाप्रद बाइबल उदाहरण तथा सल्लाहहरू छन्‌ र ती तपाईंले अध्ययन गरेर व्यवहारमा उतार्न तथा अरूलाई सिकाउन प्रयोग गर्न सक्नुहुन्छ।

१९. मसीही नैतिकतालाई पक्रिराख्नु किन अत्यावश्‍यक छ?

१९ त्यसो गर्नुको बुद्धिमानीबारे शंका उठाउनुपर्ने कुनै ठाउँ नै छैन। याकूब ३:१७ ले यहोवा परमेश्‍वर जो “पवित्र” हुनुहुन्छ उहाँबाट अर्थात्‌ “ज्ञान माथिबाट आउँछ” भनी बताउँछ। यसबाट स्पष्टतः परमेश्‍वरको नैतिक स्तरलाई पालन गर्नुपर्ने कुरालाई संकेत गर्छ। वास्तवमा, बाइबल शिक्षामा उहाँको प्रतिनिधित्व गर्नेहरू स्वयम्‌ “शुद्धतामा” राम्रो उदाहरण होस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। (१ तिमोथी ४:१२) पावल र तिमोथीजस्ता प्रारम्भिक चेलाहरूको जीवनपद्धतिले यसको प्रमाण दिन्छ। तिनीहरू अनैतिकताबाट अलग बसे, पावलले यस्तो समेत लेखे: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ। औ न अशिष्टता, न बेमतलबका कुरा अथवा ठट्टा, यी उचित होइनन्‌।”—एफिसी ५:३, ४.

२०, २१. प्रेरित यूहन्‍नाले १ यूहन्‍ना ५:३ मा लेखेको कुरासँग तपाईं किन सहमत हुनुहुन्छ?

२० परमेश्‍वरको वचनमा प्रस्तुत गरिएका नैतिक स्तरहरू सुस्पष्ट तथा छर्लंगै छन्‌ तर ती अव्यावहारिक बोझ चाहिं होइनन्‌। यो कुरा सबैभन्दा लामो समय बाँच्ने प्रेरित, यूहन्‍नाको जीवनबाट प्रस्ट भयो। आफूले दशकौंको दौडान देखेका कुराहरूको आधारमा तिनलाई मसीही नैतिकताले हानि गर्दैन भनी थाह थियो। यसको विपरीत, यो असल, लाभकारी र आशिष्‌ साबित भयो। यसैलाई जोड दिंदै यूहन्‍नाले यसो भने: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।”—१ यूहन्‍ना ५:३.

२१ तर याद गर्नुहोस्‌, यूहन्‍नाले मसीही नैतिकताअनुसार जीवन बिताएर परमेश्‍वरको आज्ञा पालन गर्दा हामीलाई समस्या तथा हानिकारक नतिजाहरूबाट जोगाउने भएको कारण मात्र यो उत्तम मार्ग हो भनेनन्‌। यो हाम्रो परमेश्‍वरप्रति प्रेम व्यक्‍त गर्ने माध्यम हो भनेर तिनले परमेश्‍वरप्रति आज्ञाकारिताको सही दृष्टिकोण बताए। साँच्चै आफू वा अरूलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउन हामीले उहाँको उच्च स्तर स्वीकार्नु र पालन गर्नु आवश्‍यक छ। हो, मसीही नैतिकता हामी आफैले सिक्नुपर्छ र अरूलाई पनि सिकाउनुपर्छ।

[फुटनोटहरू]

a यहूदीहरूले पवित्र कुराहरूप्रति अनादर देखाइरहेका थिएनन्‌ भनेर चित्रण गरिए तापनि जोसेफसले परमेश्‍वरको व्यवस्थालाई पुनः यसरी जोड दिए: “अरू शहरकाहरूले श्रद्धा गर्ने देवहरूको निन्दा नगरोस्‌, नता विदेशी मन्दिरहरू लुट्‌नु, नता अन्य कुनै देवको नाउँमा समर्पित खजाना लिनु।” (तेर्सो अक्षर हाम्रो)—जूइश एन्टीक्वीटिज, पुस्तक ४, अध्याय ८, अनुच्छेद १०.

b जूइश एन्टीक्वीटिज, पुस्तक १८, अध्याय ३, अनुच्छेद ५.

के तपाईंलाई सम्झना छ?

• अरूलाई सिकाउनुअघि हामी आफै सिक्न किन अध्ययन गर्नुपर्छ?

• हाम्रो आचरणले यहोवालाई कसरी असर गर्छ?

• व्यभिचारीले कसको अधिकार हनन गरिरहेको हुन सक्छ?

• मसीही नैतिकताबारे तपाईंको कस्तो संकल्प छ?

[प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चित्र]

“उहाँका आज्ञाहरू कडा छैनन्‌”