सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राजकीय नमुनाअनुसार हिंड्‌नुहोस्‌

राजकीय नमुनाअनुसार हिंड्‌नुहोस्‌

राजकीय नमुनाअनुसार हिंड्‌नुहोस्‌

“[ तिनले] व्यवस्थाको नकल गरेर एउटा पुस्तकमा उतारोस्‌। . . . त्यो नकलको पुस्तक उसँगै रहोस्‌। औ उसले आफ्नो जीवनभरि त्यो पढ़ोस्‌।”—व्यवस्था १७:१८, १९.

१. एक जना मसीहीले को जस्तो हुने इच्छा गर्नुपर्छ?

 तपाईंले आफूलाई पक्कै पनि राजा वा रानी ठान्‍नुहुन्‍न होला। कुनचाहिं विश्‍वासी मसीही र बाइबल विद्यार्थीले आफूलाई असल राजाहरू दाऊद, योशियाह, हिजकियाह वा यहोशापातले जस्तै राजकीय अख्तियार पाएर काम गरेको कल्पना गर्छ र? यद्यपि, तपाईं एउटा विशेष तरिकामा भने तिनीहरूजस्तै हुन सक्नुहुन्छ र अझ भन्‍ने हो भने, त्यस्तो हुनुपर्छ। त्यो के हो? त्यस सन्दर्भमा तपाईं किन तिनीहरूजस्तो हुने इच्छा गर्नुपर्छ?

२, ३. मानव राजाहरूको सन्दर्भमा यहोवाले कुन कुरा पहिल्यै बुझिसक्नुभएको थियो र त्यस्तो राजाले के गर्नुपर्ने थियो?

यहोवाले इस्राएलको लागि मानव राजाको अनुमति दिनुभन्दा धेरैअघि अर्थात्‌ मोशाको समयमा नै मानिसहरूले राजाको इच्छा गर्नेछन्‌ भनी उहाँले बुझिसक्नुभएको थियो। त्यसकारण उहाँले मोशालाई व्यवस्थाको करारमा सान्दर्भिक निर्देशनहरू समावेश गर्न प्रेरणा दिनुभयो। ती शाही निर्देशन अर्थात्‌ राजाको निम्ति निर्देशन थियो।

परमेश्‍वरले यसो भन्‍नुभयो: “परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर . . . वरिपरिका जातिहरू जस्तै हाम्रा पनि एउटा राजा हुनुपर्छ भनी तिमीहरूको इच्छा भयो भने परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको व्यक्‍तिलाईनै तिमीहरूले आफ्ना राजा मान्‍नू। . . . जब उ आफ्नो राज-सिंहासनमा बस्छ, तब . . . व्यवस्थाको नकल गरेर एउटा पुस्तकमा उतारोस्‌। त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू पालन गर्नलाई त्यो नकलको पुस्तक उसँगै रहोस्‌। औ उसले आफ्नो जीवनभरि त्यो पढ़ोस्‌, र उसले परमप्रभु आफ्ना परमेश्‍वरको डर मान्‍न सिकोस्‌।”—व्यवस्था १७:१४-१९.

४. परमेश्‍वरले राजाहरूलाई दिनुभएको निर्देशनहरूमा के-के समावेश थियो?

हो, यहोवाले आफ्ना उपासकहरूको निम्ति नियुक्‍त गर्नुहुने राजाले लेखोटहरूको व्यक्‍तिगत प्रति बनाउनुपर्ने थियो र ती लेखोटहरू तपाईं आफ्नो बाइबलमा पाउन सक्नुहुन्छ। त्यसपछि राजाले त्यस प्रतिबाट दिनहुँ, बारम्बार पढ्‌नुपर्ने थियो। यो स्मरणशक्‍ति बढाउने कुनै अभ्यास थिएन। यो अध्ययन थियो र यसो गर्दा लाभ हुन्थ्यो। परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने राजाले असल मनोवृत्ति विकास गर्नुका साथै कायम राख्न त्यस्तो अध्ययन गर्नुपर्ने थियो। साथै, सफल र विवेकी राजा हुन पनि तिनले प्रेरित लेखोटहरूको अध्ययन गर्नुपर्थ्यो।—२ राजा २२:८-१३; हितोपदेश १:१-४.

राजाले जस्तो सिक्नुहोस्‌

५. राजा दाऊदसँग प्रति बनाउन र पढ्‌न बाइबलका कुन-कुन पुस्तकहरू थिए र त्यसप्रति तिनको दृष्टिकोण कस्तो थियो?

यसले दाऊद इस्राएलको राजा हुँदा तिनको निम्ति कस्तो अर्थ राख्ने थियो? तिनले पेन्टाटुकको (उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था) प्रति बनाउनुपर्थ्यो। आफ्नै आँखा र हात प्रयोग गरेर व्यवस्थाको प्रति बनाउँदा दाऊदको मन अनि हृदयमा कस्तो छाप पऱ्‍यो होला, कल्पना गर्नुहोस्‌। हुन सक्छ, मोशाले अय्यूबको पुस्तकका साथसाथै भजन ९० र ९१ पनि लेखेका थिए। के दाऊदले त्यसको पनि प्रति बनाए? सायद, बनाए होलान्‌। साथै तिनीसित यहोशू, न्यायकर्त्ता र रूथको पुस्तकहरू पनि थिए होला। त्यसकारण तपाईंले यसबाट थाह पाउन सक्नुहुन्छ कि राजा दाऊदसँग पढ्‌न र मनन गर्न बाइबलका थुप्रै पुस्तकहरू थिए। अनि तिनले ठीक त्यस्तै गरे भनी तपाईं भन्‍न सक्नुहुन्छ किनभने अहिले भजन १९:७-११ मा पाइने परमेश्‍वरको व्यवस्थाबारे तिनको टिप्पणी याद गर्नुहोस्‌।

६. आफ्नो पुर्खा दाऊदले जस्तै येशूले धर्मशास्त्रमा चासो राख्नुहुन्थ्यो भनेर हामी कसरी पक्का हुन सक्छौं?

महान्‌ दाऊद अर्थात्‌ दाऊदका पुत्र येशूले पनि त्यस्तै नमुना पछ्याउनुभयो। येशू हरेक हप्ता स्थानीय सभाघरमा जाने गर्नुहुन्थ्यो। त्यहाँ उहाँले धर्मशास्त्र पढेर छलफल गरेको सुन्‍नुहुन्थ्यो। यसबाहेक, उहाँ आफैले जनसाधारणको अगाडि परमेश्‍वरको वचन ठूलो स्वरले पढ्‌नुभयो र त्यसको अर्थ खुलाउनुभयो। (लूका ४:१६-२१) उहाँलाई धर्मशास्त्रबारे कत्तिको ज्ञान थियो भनेर यसैबाट थाह पाउन सक्नुहुन्छ। सुसमाचारको पुस्तक पढ्‌नुहोस्‌ र येशूले कत्ति चोटि “यस्तो लेखिएको छ” वा धर्मशास्त्रको खास विवरणलाई औंल्याउनुभयो, ध्यान दिनुहोस्‌। जस्तै, मत्तीले लिपिबद्ध गरेअनुसार येशूले डाँडाको उपदेशमा २१ चोटि हिब्रू धर्मशास्त्रबाट उद्धृत गर्नुभयो।—मत्ती ४:४-१०; ७:२९; ११:१०; २१:१३; २६:२४, ३१; यूहन्‍ना ६:३१, ४५; ८:१७.

७. धर्मगुरुहरूभन्दा येशू कसरी फरक हुनुहुन्थ्यो?

येशूले भजन १:१-३ मा दिइएको सल्लाह पालन गर्नुभयो: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन, . . . तर परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँको व्यवस्थामा त्यसले ध्यान दिन्छ। . . . त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” त्यो उहाँको समयको धर्मगुरुहरूसँग कत्ति नमिल्ने थियो जो ‘मोशाको आसनमा बस्तथे’ तर “परमप्रभुको व्यवस्था[लाई]” भने बेवास्ता गर्थे!—मत्ती २३:२-४.

८. यहूदी धर्मगुरुहरूले बाइबल पढ्‌नु र अध्ययन गर्नु किन बेकार थियो?

तथापि, येशूले बाइबल अध्ययन गर्न निरुत्साहित गरिरहनुभएको जस्तो देखिने एउटा विवरण पढेर कोही-कोही अलमल्लमा पर्न सक्छन्‌। यूहन्‍ना ५:३९, ४० मा हामी येशूले आफ्नो समयका केही मानिसहरूलाई यसो भन्‍नुभएको पढ्‌न सक्छौं: “धर्मशास्त्रमा खोजी हेर, किनभने तिनमा तिमीहरूलाई अनन्त जीवन छ भनी तिमीहरू सम्झन्छौ, औ मेरो विषयमा गवाही दिने तिनै हुन्‌, औ तिमीहरूमा जीवन होस्‌ भनेर तिमीहरू मकहाँ आउँदैनौ।” यस्तो टिप्पणी गरेर येशूले आफ्ना यहूदी श्रोताहरूलाई धर्मशास्त्र अध्ययन गर्नदेखि निरुत्साहित गरिरहनुभएको थिएन। बरु, उहाँले तिनीहरूको कपट वा असमानता देखाइरहनुभएको थियो। धर्मशास्त्रले अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्छ भनेर त तिनीहरूले बुझे तर तिनीहरूले जुन धर्मशास्त्र अध्ययन गरिरहेका थिए, त्यसैले तिनीहरूलाई मसीह अर्थात्‌ येशूतर्फ पनि डोऱ्‍याउनुपर्ने थियो। यद्यपि, तिनीहरूले उहाँलाई स्वीकार्न इन्कार गरे। त्यसकारण त्यस्तो अध्ययन बेकार थियो किनभने तिनीहरू इमानदार र सिकाउन योग्यका थिएनन्‌।—व्यवस्था १८:१५; लूका ११:५२; यूहन्‍ना ७:४७, ४८.

९. प्रेरितहरू तथा पुरातन समयका अगमवक्‍ताहरूले कस्तो असल नमुना बसाले?

प्रेरितहरूलगायत येशूका चेलाहरूको परिस्थिति कत्ति फरक थियो! तिनीहरूले ‘मुक्‍तिको निम्ति बुद्धिमान तुल्याउने पवित्र लेखोट’ अध्ययन गर्थे। (२ तिमोथी ३:१५) यस सन्दर्भमा तिनीहरू पुरातन समयका अगमवक्‍ताहरूजस्तै थिए जसले ‘प्रयत्नसाथ तलास गर्ने’ गर्थे। ती अगमवक्‍ताहरूको त्यस्तो तलासको जोस केही महिना वा वर्षको निम्ति मात्र थिएन। प्रेरित पावलले बताएअनुसार तिनीहरूले विशेष गरी ख्रीष्ट र मानिसजातिको बचाउमा उहाँले कस्तो भूमिका निर्वाह गर्नुहुनेछ भनी ‘तलास गरिरहे।’ पत्रुसले आफ्नो पहिलो पत्रमा ३४ चोटि दसवटा बाइबल पुस्तकहरूबाट उद्धृत गरे।—१ पत्रुस १:१०, ११.

१०. हामी सबै किन बाइबल अध्ययनमा इच्छुक हुनुपर्छ?

१० स्पष्टतः परमेश्‍वरले पुरातन इस्राएलमा राजाहरूलाई दिनुभएको एउटा शाही निर्देशन, परमेश्‍वरको वचन लगनशील भएर अध्ययन गर्नु थियो। येशूले पनि यही नमुना पछ्याउनुभयो। अनि ख्रीष्टसँग स्वर्गमा राजाको रूपमा शासन गर्नेहरूले पनि यसो गर्नुपर्ने थियो। (लूका २२:२८-३०; रोमी ८:१७; २ तिमोथी २:१२; प्रकाश ५:१०; २०:६) यो राजकीय नमुना आज हाम्रोलागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ, जसले राज्य शासनअन्तर्गत आशिष्‌हरू पाउने आशा गरेका छन्‌।—मत्ती २५:३४, ४६.

राजाहरू तथा तपाईंको अभिभारा

११. (क) अध्ययनको सन्दर्भमा मसीहीहरूको लागि कस्तो खतरा हुन सक्छ? (ख) हामीले आफूलाई कस्तो प्रश्‍न सोधे बेस हुनेछ?

११ हामी पूरा जोड दिएर इमानदारीपूर्वक भन्‍न सक्छौं कि प्रत्येक साँचो मसीहीले व्यक्‍तिगत रूपमा बाइबल केलाएर हेर्नुपर्छ। यो यहोवाका साक्षीहरूसित पहिलो चोटि बाइबल अध्ययन गर्दा मात्र गर्नुपर्ने कुरा होइन। हामी व्यक्‍तिगत अध्ययनलाई बेवास्ता गर्ने पावलको समयका कोही-कोही मानिसहरूजस्तो नहुन होसियार हुनुपर्छ। तिनीहरूले “परमेश्‍वरका वचनको शुरूका शिक्षाहरू” जस्ता “ख्रीष्टको शुरूका शिक्षाहरूका विषय” मात्र सिके। तिनीहरूले निरन्तर अध्ययन नगरेको कारण “सिद्धतातर्फ . . . बढ़दै” गएनन्‌। (हिब्रू ५:१२–६:३) त्यसैकारण हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं: ‘मैले मसीही मण्डलीसँग संगत गरेको लामो समय भएको होस्‌ वा थोरै मात्र, परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबारे म कस्तो महसुस गर्छु? पावलले आफ्नो समयका मसीहीहरू “परमेश्‍वरको ज्ञानमा बढ्‌दै” जाओ भनी प्रार्थना गरे। के म पनि त्यस्तै इच्छा व्यक्‍त गर्छु?’—कलस्सी १:९, १०.

१२. परमेश्‍वरको वचनप्रति प्रेम विकास गर्नु किन महत्त्वपूर्ण छ?

१२ अध्ययन गर्ने राम्रो बानी बसाल्न परमेश्‍वरको वचनप्रति प्रेम विकास गर्नु अत्यावश्‍यक छ। भजन ११९:१४-१६ मा औंल्याइएअनुसार परमेश्‍वरको वचनमा रमाउनको लागि अर्थपूर्ण ढंगमा नियमित तवरमा मनन गर्नु खाँचो छ। यो कुरा तपाईं मसीही हुनुभएको जतिसुकै धेरै समय भइसके तापनि महत्त्वपूर्ण छ। यही बुँदालाई जोड दिंदै तिमोथीको उदाहरण सम्झनुहोस्‌। यी मसीही प्राचीनले “ख्रीष्ट येशूका असल सिपाही[को]” रूपमा सेवा गरिरहेका भए तापनि पावलले तिनलाई “परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर” भनी सल्लाह दिए। (२ तिमोथी २:३, १५; १ तिमोथी ४:१५) स्पष्टतः ‘प्रयत्न गर्नुमा’ अध्ययन गर्ने राम्रो बानी पनि समावेश छ।

१३. (क) बाइबल अध्ययनको लागि थप समय कसरी निकाल्न सकिन्छ? (ख) अध्ययनको लागि थप समय निकाल्न तपाईंले के-कस्ता छाँटकाँटहरू गर्न सक्नुहुन्छ?

१३ अध्ययन गर्ने राम्रो बानी बसाल्नको लागि चाल्नुपर्ने एउटा कदम, बाइबल अध्ययनको निम्ति नियमित तवरमा समय छुट्याउनु हो। यस क्षेत्रमा तपाईंले कस्तो गरिरहनुभएको छ? तपाईंको निष्कपट जवाफ जस्तोसुकै भए तापनि व्यक्‍तिगत अध्ययन गर्न अझ धेरै समय बिताउनुहुँदा लाभ उठाउन सकिन्छ जस्तो लाग्छ? तपाईं सोच्नुहोला, ‘त्यसको लागि कसरी मैले आफ्नो समय मिलाउन सक्छु?’ कसै-कसैले बाइबल अध्ययनबाट अझ बढी लाभ उठाउन बिहान अलि चाँडो उठ्‌ने गरेका छन्‌। तिनीहरू १५ मिनेट बाइबल पढ्‌ने गर्छन्‌ वा आफ्नो व्यक्‍तिगत अध्ययन तालिकाअनुसार गर्छन्‌। अर्को सम्भाव्यताको रूपमा, तपाईंको साप्ताहिक तालिकामा अलिकति छाँटकाँट गरे कसो होला? उदाहरणका लागि, तपाईं दिनहुँजसो अखबार पढ्‌नुहुन्छ वा साँझमा टेलिभिजनमा समाचार हेर्नुहुन्छ भने हप्ताको एक दिन ती कुराहरू नगर्नुभए कसो होला? तपाईंले त्यस दिन थप बाइबल अध्ययन गर्न सक्नुहुन्छ। तपाईंले एक दिन अखबार पढ्‌नुभएन वा टिभीमा समाचार हेर्नुभएन र त्यो ३० मिनेट वा सालाखाला त्यति समय व्यक्‍तिगत अध्ययनको लागि दिनुभयो भने तपाईंले वर्षमा २५ घण्टाभन्दा बढी समय प्राप्त गर्न सक्नुहुन्छ। थप २५ घण्टा बाइबल पढाइ वा अध्ययन गर्दा कत्ति फाइदा हुन्छ कल्पना गर्नुहोस्‌! एउटा अर्को तरिका पनि छ: आउँदो हप्ताहरूमा हरेक दिन, दिनको अन्तमा तपाईंको क्रियाकलाप केलाउनुहोस्‌। थप बाइबल पढाइ वा अध्ययनको निम्ति समय निकाल्न केही क्रियाकलापलाई हटाउन वा छाँटकाँट गर्न सकिन्छ कि?—एफिसी ५:१५, १६.

१४, १५. (क) व्यक्‍तिगत अध्ययनको सन्दर्भमा लक्ष्य हुनु किन महत्त्वपूर्ण छ? (ख) बाइबल अध्ययन गर्दा कस्ता लक्ष्यहरू राख्न सकिन्छ?

१४ के गऱ्‍यो भने तपाईंलाई अध्ययन गर्न सजिलो र गरूँ गरूँ जस्तो लाग्छ? लक्ष्य। तपाईंले अध्ययन गर्ने सन्दर्भमा कस्ता व्यावहारिक लक्ष्यहरू राख्न सक्नुहुन्छ? थुप्रैको निम्ति सराहनीय पहिलो लक्ष्य सम्पूर्ण बाइबल पढ्‌ने हो। सायद तपाईंले अहिलेसम्म बाइबलका केही अंशहरू पढेर त्यसबाट लाभ उठाउनुभएको होला। के तपाईं सम्पूर्ण बाइबल पढ्‌ने संकल्प गर्न सक्नुहुन्छ? सम्पूर्ण बाइबल पढ्‌ने लक्ष्य हासिल गर्न तपाईंले पहिला सुसमाचारका चारवटा पुस्तकहरू पढ्‌ने अनि त्यसपछि बाँकी मसीही युनानी धर्मशास्त्र पढ्‌ने लक्ष्य राख्न सक्नुहुन्छ। त्यसबाट प्राप्त हुने सन्तुष्टि र लाभ महसुस गर्नुभएपछि भने क्रमबद्ध रूपमा मोशाका पुस्तकहरू अनि ऐतिहासिक पुस्तकहरूदेखि लिएर एस्तरसम्म पढ्‌ने लक्ष्य राख्न सक्नुहुन्छ। यति गरिसक्नुभएपछि तपाईंले बाइबलको बाँकी भाग पढ्‌न सकिने रहेछ भन्‍ने महसुस गर्नुहुनेछ। झन्डै ६५ वर्षको उमेरमा मसीही भएका एक जना स्त्रीले आफ्नो बाइबलको भित्रपट्टि बाइबल पढ्‌न थालेको र सँगै पढ्‌न सिध्याएको मिति लेखिन्‌। अहिले तिनको बाइबलमा पाँच जोडी मितिहरू छन्‌! (व्यवस्था ३२:४५-४७) अनि तिनले कम्प्युटरमा वा कम्प्युटरबाट छापिएको कागतमा पढ्‌नुको सट्टा बाइबलबाटै पढिन्‌।

१५ सम्पूर्ण बाइबल पढ्‌ने लक्ष्य हासिल गरिसकेका कोही-कोहीले आफ्नो अध्ययनलाई अझ फलदायी र इनामदायी बनाउन थप कदम चाल्छन्‌। एउटा तरिका प्रत्येक बाइबल पुस्तक पढ्‌न सुरु गर्नुभन्दा अघि त्यससँग सम्बन्धित विषयवस्तु पनि अध्ययनमा समावेश गर्ने। “अल स्क्रिप्चर इज इन्स्‌पायर्ड अफ गड एण्ड बेनिफिसियल”इन्साइट अन द स्क्रिप्चर्स जस्ता पुस्तकमा प्रत्येक बाइबल पुस्तकको ऐतिहासिक पृष्ठभूमि, लेखन शैली र प्राप्त गर्न सकिने फाइदाहरूबारे असाध्यै राम्रा जानकारीहरू छन्‌। a

१६. बाइबल अध्ययनको सन्दर्भमा हामी कस्तो नमुना नपछ्याउन होसियार हुनुपर्छ?

१६ तपाईंले अध्ययन गर्नुहुँदा थुप्रै शास्त्रविद्‌ भनौंदाहरूको तरिका नअपनाउनुहोस्‌। तिनीहरूले बाइबल मानिसबाट भए जत्तिकै पदहरूको विश्‍लेषणमा बढ्‌तै ध्यान दिन्छन्‌। कसै-कसैले हरेक पुस्तक पढ्‌दा एक जना श्रोतालाई मनमा राख्ने वा पुस्तक लेख्दा प्रत्येक मानव लेखकको मनसाय र लक्ष्य बुझ्ने कोसिस गर्छन्‌। त्यस्ता मानव तर्कहरूले गर्दा बाइबल पुस्तकहरूलाई केवल इतिहासको पुस्तक भनेर छुट्याउने वा धर्मको विकास कसरी भयो भनी बताउने पुस्तकको रूपमा हेर्ने गरिन्छ। अन्य शास्त्रविद्‌हरूले चाहिं बाइबलको भाषिक अध्ययन गरेर शब्द शब्द केलाउँछन्‌। तिनीहरू परमेश्‍वरको सन्देशको महत्त्वमा भन्दा शब्दहरूको मूल अध्ययन गर्ने र ती शब्दहरूको हिब्रू तथा युनानी अर्थ बताउनमा नै बढी तल्लीन हुन्छन्‌। के तपाईंलाई त्यस्तो तरिकाले विश्‍वास गहिरो र अझ सक्रिय बनाउन मदत गर्छ जस्तो लाग्छ?—१ थिस्सलोनिकी २:१३.

१७. हामीले किन बाइबल सबैको लागि उपयोगी छ भन्‍ने दृष्टिकोण राख्नुपर्छ?

१७ के शास्त्रविद्‌हरूको निष्कर्ष तार्किक छ? के बाइबलको प्रत्येक पुस्तकमा एउटा मात्र मुख्य कुरा वा एक जना श्रोतामा मात्र केन्द्रित हुन्छ? (१ कोरिन्थी १:१९-२१) तथ्य कुरा के हो भने, परमेश्‍वरको वचनका पुस्तकहरूबाट सबै उमेर तथा पृष्ठभूमिका मानिसहरूले चिरस्थायी लाभ उठाउन सक्छन्‌। सुरुमा लेखिंदा कुनै पुस्तक एक जना व्यक्‍ति जस्तै तीतस वा तिमोथी वा एउटा विशेष समूह जस्तै गलाती वा फिलिप्पीकाहरूलाई लेखिएको भए तापनि हामी सबैले ती पढ्‌न सक्छौं र पढ्‌नु पनि पर्छ। ती हामी सबैको निम्ति महत्त्वपूर्ण छन्‌ र कुनै पनि पुस्तकमा विभिन्‍न विषयमा छलफल गरिनुका साथै थुप्रै श्रोतालाई लाभ पुऱ्‍याउन सक्छ। हो, बाइबलको सन्देश विश्‍वभरिका मानिसहरूलाई उपयोगी भएकोले नै यो संसारको सबै जातिका मानिसहरूको भाषामा अनुवाद गरिएको छ।—रोमी १५:४.

तपाईं र अरूको निम्ति फाइदा

१८. तपाईंले परमेश्‍वरको वचन पढ्‌दा कस्ता कुराहरूमा विचार गर्नुपर्छ?

१८ तपाईंले अध्ययन गर्दै जानुहुँदा बाइबलको समझ प्राप्त गर्नु र यसका विभिन्‍न पक्षहरू कसरी एकअर्कासित सम्बन्धित छ भनी बुझ्न कोसिस गर्नु एकदमै फाइदाजनक पाउनुहुनेछ। (हितोपदेश २:३-५; ४:७) यहोवाले आफ्नो वचनमार्फत प्रकट गर्नुभएको कुरा उहाँको उद्देश्‍यसँग निकटतम सम्बन्ध छ। अतः पढ्‌दै जानुहुँदा तथ्य र उद्देश्‍यबीचको सम्बन्ध बुझ्ने कोसिस गर्नुहोस्‌। कुनै घटना, विचार वा भविष्यवाणी, यहोवाको उद्देश्‍यसँग कसरी सम्बन्धित छ भनेर सोच्नुहोस्‌। आफैलाई प्रश्‍न गर्नुहोस्‌: ‘यसबाट मैले यहोवाबारे के थाह पाउन सक्छु? परमेश्‍वरको राज्यमार्फत पूरा भइरहेका उहाँका उद्देश्‍यहरूबीच कस्तो सम्बन्ध छ?’ तपाईंले यी कुरा पनि मनन गर्न सक्नुहुन्छ: ‘म यो जानकारी कसरी प्रयोग गर्न सक्छु? के म यो जानकारी धर्मशास्त्रका कुराहरू सिकाउन वा त्यसमा आधारित सल्लाह दिन चलाउन सक्छु?’—यहोशू १:८.

१९. आफूले सिकेको कुरा अरूलाई बताउँदा कसले लाभ उठाउँछ? व्याख्या गर्नुहोस्‌।

१९ अरूको ख्याल राख्नुको अर्को फाइदा पनि छ। बाइबल पढाइ र अध्ययनको क्रममा तपाईंले नयाँ कुराहरू सिक्नुहुनेछ र थप अन्तरदृष्टि पाउनुहुनेछ। यी प्रोत्साहनजनक कुराहरू तपाईंको परिवारको सदस्य वा अरूसँग कुराकानी गर्दा समावेश गर्ने कोसिस गर्नुहोस्‌। तपाईंले त्यस्ता छलफलहरू उचित समयमा शिष्ट तरिकाले गर्नुभयो भने पक्कै इनामदायी हुनेछन्‌। तपाईंले सिक्नुभएका वा तपाईंलाई रोचक लागेका बुँदाहरूबारे निष्कपट र उत्साहका साथ बताउनुहुँदा त्यसले अरू मानिसहरू निकै प्रभावित हुन सक्छन्‌। त्यति मात्र होइन, तपाईंले व्यक्‍तिगत रूपमा लाभ उठाउनुहुनेछ। कुन तरिकामा? मानिसहरूले आफूले पढेको कुरा वा कुनै जानकारी आफ्नो मनमा ताजा हुँदा नै त्यो प्रयोग गर्दा वा अरूलाई बताउँदा धेरै पछिसम्म सम्झन सक्छन्‌ भनेर विशेषज्ञहरूले भनेका छन्‌। b

२०. बाइबल किन बारम्बार पढेर लाभ उठाउन सकिन्छ?

२० तपाईंले प्रत्येक चोटि बाइबलको कुनै पुस्तक पढ्‌नुहुँदा नयाँ जानकारी हासिल गर्नुहुनेछ। तपाईंले पहिला खासै याद नगरेका पदहरू अझ राम्ररी बुझ्नुहुनेछ। त्यसबाट थप अन्तर्दृष्टि पाउनुहुनेछ। यसबाट बाइबल, केवल मानिसहरूको पुस्तक मात्र नभई यो एउटा अनमोल खजाना हो र यसबाट तपाईंले बारम्बार पढेर लाभ उठाउन सकिन्छ भनेर बुझ्नुहुनेछ। दाऊदजस्ता राजाले ‘आफ्नो जीवनभरि त्यो पढ्‌नुपर्थ्यो।’

२१. परमेश्‍वरको वचनको थप अध्ययन गर्दा कस्ता इनामहरूको आशा गर्न सक्नुहुन्छ?

२१ हो, बाइबलको गहिरो अध्ययन गर्न समय निकाल्ने व्यक्‍तिहरूले धेरै लाभ उठाउने छन्‌। तिनीहरूले आध्यात्मिक रत्न तथा अन्तरदृष्टि पाउने छन्‌। परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध बलियो र घनिष्ठ हुनेछ। तिनीहरू परिवारका सदस्य, मसीही मण्डलीका भाइबहिनी र यहोवाका भावी उपासकहरू सबैको लागि मूल्यवान्‌ सम्पत्ति साबित हुनेछन्‌।—रोमी १०:९-१४; १ तिमोथी ४:१६.

[फुटनोटहरू]

a यी अध्ययन सहायकहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌ र थुप्रै भाषामा उपलब्ध छन्‌।

b अगस्त १, ११९३ प्रहरीधरहरा-को पृष्ठ २०-२१ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• इस्राएलका राजाहरूले के गर्नुपर्ने थियो?

• बाइबल अध्ययनको सन्दर्भमा येशू तथा प्रेरितहरूले कस्तो उदाहरण बसाले?

• व्यक्‍तिगत अध्ययन गर्ने समय बढाउन तपाईंले कस्ता छाँटकाँटहरू गर्न सक्नुहुन्छ?

• तपाईंले कस्तो मनस्थिति लिएर परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको पेटी]

“हाम्रो हातमा”

“हामीलाई . . . बाइबलको शब्दानुक्रमणिका चाहिन्छ भने, त्यो भेट्टाउने सबैभन्दा राम्रो साधन इन्टरनेट हो। तर हामी बाइबल पढ्‌न, अध्ययन गर्न, पढेको कुरामा विचार र मनन गर्न चाहन्छौं भने, हाम्रो हातमै बाइबल हुनुपर्छ किनभने त्यसो गरेको खण्डमा मात्र हाम्रो मन अनि हृदयमा बस्नेछ।—ख्यातिप्राप्त विशिष्ट प्राध्यापक सिटी युनिभर्सिटी, न्यु योर्क।