सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोमी इतिहासबाट पाठ

रोमी इतिहासबाट पाठ

रोमी इतिहासबाट पाठ

“मैले एफिससमा जङ्‌गली जानवरहरूसित मानिसको चालामा लडेको भएदेखि।” कतिपय मानिसहरू १ कोरिन्थी १५:३२ ले पावललाई रोमको रंगशालामा भिड्‌ने सजाय दिइएको थियो भन्‍न खोजेको हो भन्‍ने सोचाइ राख्छन्‌। चाहे तिनले भिडेका हुन्‌ वा नहुन्‌, त्यो समयमा रंगशालामा नमरुन्जेलसम्म लडिरहनु सामान्य कुरा थियो। रंगशाला र त्यहाँ हुने घटनाहरूबारे इतिहासले के बताउँछ?

मसीही भएको कारण हामी यहोवाको सोचाइअनुसार आफ्नो अन्तस्करण ढाल्न चाहन्छौं जसले हामीलाई आधुनिक समयको मनोरञ्जन छनौट गर्ने निर्णय गर्न मदत दिन सक्छ। उदाहरणका लागि, हिंसाबारे परमेश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर यी शब्दहरू विचार गर्नुहोस्‌: “उपद्रव गर्ने मानिसको अनुसरण नगर्‌। त्यसकै चालमा चल्ने इच्छा नगर्‌।” (हितोपदेश ३:३१) आफू वरपरका थुप्रै मानिसहरू तरबार लडाउने रोमी नरभक्षी प्रतिस्पर्धाहरूमा उत्तेजित भइरहेको बेला प्रारम्भिक मसीहीहरूलाई यो सल्लाहले डोऱ्‍याउन सक्थ्यो। यस्ता अवसरहरूमा के-कस्ता कुराहरू हुन्थे भन्‍ने कुरा विचार गर्दै आज मसीहीहरूको लागि यसले कस्तो सुस्पष्ट पाठ सिकाउँछ हेरौं।

हातहतियार भिरेका दुई जना तरबारबाजहरू रोमी रंगशालामा आमनेसामने खडा हुन्छन्‌। तरबारको पहिलो प्रहार ढालमा लाग्ने बित्तिकै उत्तेजित भीड आफ्नो पक्षको समर्थनमा चिच्याउँछन्‌। एकदमै भयंकर भिडन्त हुन्छ। चाँडै, घाइते भएको कारण अझ बढी भिडन्त गर्न नसकी एक जनाले आफ्नो हतियार भुइँमा फाल्छ र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्छ। भीडको आवाज चरमोत्कर्षमा पुग्छ। भीडमध्येका कोही दया देखाउनको लागि कराउँछन्‌ भने कोही मार्नै पर्छ भनेर कराउँछन्‌। सबैको ध्यान सम्राट्‌तिर हुन्छ। तिनले जनचाहनालाई ध्यानमा राख्दै हरुवा योद्धालाई बचाउन पनि सक्छन्‌ वा बूढीऔंलोले तलतिर देखाएर मार्ने इशारा गर्न पनि सक्छन्‌।

रोमीहरू भिडन्त हेर्न एकदमै उत्सुक थिए। सुरु-सुरुमा यस्ता भिडन्तहरू प्रतिष्ठित व्यक्‍तिहरूको अन्त्येष्टिमा आयोजना गरिन्थ्यो भन्‍ने थाह पाउँदा तपाईं छक्क पर्नु होला। यस्ता प्रतियोगिताहरूको सुरुआत हालको मध्य इटालीमा बस्ने ओस्कन वा सम्नाइट जातिहरूमाझ प्रख्यात मानव बलि प्रथाबाट भएको विश्‍वास गरिन्छ। मृतात्मालाई शान्त गर्न यस्ता बलिहरू चढाइन्थ्यो। यस्तो भिडन्तलाई मूनुस वा “उपहार” (बहुवचन, मूनेरा) भनिन्थ्यो। लिपिबद्ध भएकाहरूमध्ये सबैभन्दा पहिलो खेल रोममा सा. यु. पू. २६४ मा भएको थियो र यसमा तीन जोडी तरबारबाज साँढे बजारमा भिडेका थिए। मार्कस एमिलियस लेपिडसको अन्त्येष्टिमा २२ वटा भिडन्त भए। पब्लियस लिसिनियसको अन्त्येष्टिमा ६० जोडी भिडेका थिए। सा. यु. पू. ६५ मा जुलियस सिजरले ३२० जोडीलाई रंगशालामा भिडाए।

इतिहासकार कीथ हप्किन्स्‌ यसो भन्छन्‌: “धनीहरूको अन्त्येष्टिमा राजनैतिक स्वार्थ लुकेको हुन्थ्यो र अन्त्येष्टिको दौडान देखाइने खेलहरू प्रख्यात भएको कारण . . . यसमा मतदाताहरूको मन जित्ने राजनैतिक आशयहरू हुन्थे।” पक्कै पनि, भिडन्त प्रख्यात हुनुको एउटा कारण महत्त्वाकांक्षी धनाढ्यहरूबीचको राजनैतिक प्रतिस्पर्धा पनि थियो।” अगस्तसको शासनकालसम्ममा (सा. यु. पू. २७ देखि सा. यु. १४) त मूनेरा धनाढ्यहरूले आफ्नो राजनैतिक जीवन सपार्नको लागि मनोरञ्जन स्वरूप जनताहरूलाई उपहार दिने निहुँमा गरिएको लोकाचार मात्र भइसकेको थियो।

सहभागीहरू तथा प्रशिक्षण

तपाईं सोध्नुहोला, ‘ती तरबारबाजहरू को थिए?’ तिनीहरू खेलबाट उत्तेजित भएका वा मान तथा धन कमाउने लोभमा फसेकाहरू तथा दास, मृत्युदण्ड दिइएका अपराधी, युद्धबन्दीहरू हुन्थे। सबैलाई झ्यालखानाजस्तो स्कूलमा प्रशिक्षण दिइन्थ्यो। जोकी इ स्पेट्टाकोली (खेल तथा तमासाहरू) भन्‍ने पुस्तकले बताएअनुसार प्रशिक्षण लिइरहेका तरबारबाजहरूलाई “सधैं पहरा दिएर राखिन्थ्यो र असाध्यै कडा अनुशासन तथा नियम र अत्यन्तै कठोर सजाय दिइन्थ्यो . . . यस्तो व्यवहारले गर्दा थुप्रैले आत्महत्या वा विद्रोह गर्थे।” तरबारबाज बन्‍नको लागि प्रशिक्षण दिइने रोमको सबैभन्दा ठूलो स्कूलमा कम्तीमा पनि एक हजार जना अट्‌ने कोठरीहरू थिए। हरेक मानिसको आ-आफ्नै विशेषता हुन्थ्यो। कोही हातहतियार, ढाल र तरबार लिएर लड्‌थे भने कोही जाल र त्रिशुल लिएर लड्‌थे। अरू कोहीलाई चाहिं सिकार भनिने अर्को एउटा लोकप्रिय खेलमा जंगली जनावरसँग भिड्‌न लगाइन्थ्यो। के पावलले यस्तै घटनालाई संकेत गरिरहेका हुन सक्छन्‌?

खेल आयोजकहरूले १७ वा १८ वर्षका केटाहरूलाई तरबारबाज बन्‍नको लागि भर्ती गर्ने र प्रशिक्षण दिने व्यापारीहरूसँग मदत लिन्थे। देह व्यापार निकै मुनाफादायी व्यापार भएको थियो। आफ्नो सेनाको विजयोत्सव मनाउन ट्राजनले आयोजना गरेको असाधारण प्रदर्शनमा १०,००० तरवाजबाज र ११,००० जनावर समावेश थिए।

रंगशालामा एक दिन

रंगशालामा बिहानको समय सिकार गर्नको लागि छुट्याइएको हुन्थ्यो। सबै प्रकारका जंगली जनावरहरूलाई रंगशालाभित्र हुल्न लगाइन्थ्यो। विशेष गरी, दर्शकहरू साँढे र भालुको भिडन्त हेर्न मन पराउँथे। प्रायजसो, दुवैलाई सँगै बाँधेर एउटा नमरुन्जेलसम्म तिनीहरूलाई लड्‌न लगाइन्थ्यो र बाँचेकोलाई चाहिं सिकारीले मार्थ्यो। अरू लोकप्रिय जोडीहरू सिंह तथा बाघ र हात्ती तथा भालुको हुन्थ्यो। जतिसुकै मूल्य परे तापनि सिकारीहरूले विभिन्‍न देशका कुनाकाप्चाबाट ल्याएका चितुवा, गैंडा, जलगैंडा, जिराफ, हुँडार, उँट, ब्वाँसो, बँदेल र मृगजस्ता विशेष जनावरहरू मार्ने कला प्रदर्शन गर्थे।

प्राकृतिक वातावरणले सिकारलाई अझै अविस्मरणीय बनाउँथ्यो। जंगलजस्तै देखाउनको लागि चट्टान, पोखरी र रूखहरू प्रयोग गरिन्थे। कुनै-कुनै रंगशालामा भूमिगत लिफ्ट वा बन्द ढोकापछाडिबाट जादूझैं गरी जनावरहरू देखा पर्थे। जनावरहरूको अप्रत्याशित स्वभावले खेल अझ चाखलाग्दो बनाउँथ्यो तर सिकारलाई अझै विशेष आकर्षक बनाउने कुरा त क्रूरता थियो।

यस कार्यक्रमको अर्को भाग प्राण-दण्ड हुन्थ्यो। तिनीहरूलाई मूर्त रूप दिने कोसिस गरिन्थ्यो। पौराणिक नाटकहरू प्रस्तुत गर्दा कलाकारहरू साँच्चै मर्नु पर्थ्यो।

अपराह्नमा भिन्‍ना-भिन्‍नै हातहतियार भिरेका र भिन्‍ना-भिन्‍नै तरिकामा भिडन्त गर्न प्रशिक्षण पाएकाहरू आपसमा भिडन्त गर्थे। लासहरू घिसार्दै लैजानेहरूमध्ये कोही-कोही दैत्यको वेशभूषामा सजिएका हुन्थे।

दर्शकहरूमा प्रभाव

भीडहरू एकदमै रक्‍तपिपासु भएको कारण भिडन्त गर्न हिचकिचाइरहेका लडाकुहरूलाई कोर्रा हानेर वा तातो फलामले डामेर उक्साइन्थ्यो। भीडहरू यसो भनेर कराउँथे: “तरबारसँग जुध्न त्यो किन त्यस्तो डरछेरुवा भएको? त्यसले किन त्यत्ति बिस्तारै हिर्काएको? त्यो किन मर्न डराएको? त्यसलाई सुऱ्‍याउनको लागि कोर्रा लगा! तरबारको अगाडि छाती फुलाएर त्यसको मुक्काको बदला दे!” रोमी राजनीतिज्ञ सेनेका मध्यान्तरको दौडान यस्तो घोषणा भयो भनी लेख्छन्‌: “अझै खेल सिद्धिएको छैन, अब कसको ज्यान जाने हो हेरेर मनोरञ्जन गरौं!”

त्यसकारण घर फर्कंदा आफू “झन्‌ बढी क्रूर र अमानवीय” भएको कुरा सेनेकाले स्वीकार्नु कुनै छक्कलाग्दो कुरा होइन। यस दर्शकको निष्कपट स्वीकारोक्‍तीले हामीलाई गम्भीरतासाथ विचार गर्न लगाउँछ। के आजका खेलहरूले दर्शकहरूलाई त्यतिबेला जस्तै “अझ क्रूर र अमानवीय” बन्‍न उक्साउँछ?

सकुशल घर फर्कन सक्दा मात्र पनि कतिपयलाई आफू धन्‍न बचेछु जस्तो लागेको हुनुपर्छ। एक जना दर्शकले डोमिसियनबारे ठट्यौली गर्दा ती सम्राट्‌ले त्यस व्यक्‍तिलाई ऊ बसिरहेको ठाउँबाट घिसारेर कुकुरहरूले खाओस्‌ भनेर फ्याँकिदिए। मृत्यु-दण्ड दिनको लागि सजाय पाएका अपराधीहरूको अभाव भएको कारण कालिज्युलले भीडबाटै केहीलाई पक्रेर जनावरहरू भएको ठाउँमा फ्याँकिदिने आज्ञा दिए। मञ्चका उपकरणहरू आफूले चाहेअनुसार काम नगर्दा क्लाउडियसले यसका लागि जिम्मेवार मिस्त्रीहरूलाई रंगशालामा भिडन्त गर्न लगाए।

दर्शकहरूको उन्मत्त व्यवहारले पनि दुर्घटना तथा हुलदंगाहरू हुन्थ्यो। रोमको ठीक उत्तरतिर पर्ने एउटा रंगशाला भत्कियो र प्राप्त प्रमाणअनुसार हजारौंको ज्यान गयो। सा. यु. ५९ मा पोम्पीमा एउटा प्रदर्शनको दौडान हुलदंगा मच्चियो। स्थानीय भीड र नजिकैको शहरबाट आएका विपक्षीहरूबीच पहिला भनाभन भयो, त्यसपछि ढुंगामुढा भयो र अन्ततः तरबारसमेत चल्यो भनी ट्यासिटस बताउँछन्‌। कतिपय अंग-भंग वा घाइते भए र थुप्रै जना मारिए।

एउटा सुस्पष्ट पाठ

रोमको रंगशालामा हालसालै भएको प्रदर्शनीले (सान्ग ए एरेना, “रगत र बालुवा”) त्यतिबेलाको मूनेरा-को सम्झना गरायो। महत्त्वपूर्ण कुरा, यसमा साँढेजुधाइ, व्यावसायिक बक्सिङ, कार तथा मोटरसाइकल दौडमा भएका विभत्स दुर्घटना, खेलहरूको दौडान खेलाडीहरूको मनपरी झगडा र दर्शकहरूका हुलदंगाहरूको भिडियो तस्बिरका टुक्राहरू देखाइयो। यो प्रस्तुतीको अन्तमा रंगशालाको हवाई तस्बिर देखाइयो। तपाईंको विचारमा दर्शकहरू कस्तो निष्कर्षमा पुगे होलान्‌? कति जनाले पाठ सिके होलान्‌?

कुकुरजुधाइ, भालेजुधाइ, साँढेजुधाइ र हिंसात्मक खेलहरू आज केही मुलुकहरूमा लोकप्रिय छन्‌। विशाल भीडलाई उत्तेजित पार्नका लागि मोटर दौडमा ज्यानको बाजी लगाइन्छ। दैनिक टेलिभिजन कार्यक्रमलाई ध्यान दिनुहोस्‌। एउटा पश्‍चिमी मुलुकमा गरिएको अध्ययनले देखाएअनुसार एउटा साधारण बच्चाले दस वर्षको उमेर पुगुन्जेलसम्ममा टिभीमा १०,००० वटा हत्याका र हिंसाका १,००,००० वटा दृश्‍यहरू हेरिसकेका हुन्छन्‌।

यस तमासाबाट प्राप्त हुने रमाइलो “साँचो धर्म र साँचो परमेश्‍वरप्रतिको साँचो आज्ञाकारिताअनुरूप कुराहरू थिएनन्‌” भनेर तेस्रो शताब्दीका लेखक टर्टुलियनले लेखे। त्यहाँ उपस्थित हुनेहरूलाई पनि तिनले त्यस हत्यामा सहभागी भएसरह ठान्थे। आज नि? कसैले यस्तो प्रश्‍न सोध्न सक्छ, ‘के म टेलिभिजन वा इन्टरनेटमा रगत, मृत्यु वा हिंसाको तमासा हेरेर दंग पर्छु?’ भजन ११:५ ले के भन्छ, सो सम्झनु बेस हुनेछ: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।”

[पृष्ठ २८-मा भएको पेटी]

“मृतकको आत्मालाई शान्त गराउन” भिडन्त

तरबार लडाउने प्रतियोगिताको सुरुआतबारे तेस्रो शताब्दीका लेखक टर्टुलियन यसो भन्छन्‌: “यस्तो खालको तमासाले मृतकहरूलाई खुसी तुल्याउँछ भनी पहिलाका मानिसहरू सोच्थे, पछि तिनीहरूले क्रूरतालाई अलि परिष्कृत जस्तो देखाउन खोजे। मृतकहरूको आत्मालाई मानव रगतले शान्त तुल्याउँछ भन्‍ने विश्‍वास राखेर पुरातन समयका मानिसहरू अन्त्येष्टिको दौडान कैदी वा आफूले किनेका कमसल दासहरूलाई बलि चढाउने गर्थे। पछि तिनीहरूको अधार्मिकता सजिलै ढाकछोप गर्नको लागि यस प्रचलनलाई रमाइलो अवसर बनाइयो। ती मानिसहरूलाई त्यतिबेला उपलब्ध भएका हातहतियारहरू चलाउनको लागि सकेजति सिकाइसकेपछि तिनीहरूलाई मारिनको लागि प्रशिक्षण दिइन्थ्यो! त्यसपछि तोकिएको दिनमा तिनीहरूलाई हत्या गरी चिहानमा गाडेपछि अन्त्येष्टि गरिन्थ्यो। यसरी मारिन तिनीहरूलाई कुनै दुःख लाग्दैन्थ्यो। यसरी मूनुस-को सुरुआत भयो। केही समयपछि, तिनीहरू जति जति परिष्कृत हुँदै गए, क्रूरता पनि त्यति नै बढ्यो किनभने जंगली जनावरहरूले मानिसको शरीर धुजा-धुजा नपारेसम्म बिदाको मजा नै अपूरो रहन्थ्यो। मृतात्मालाई शान्त तुल्याउन गरिने प्रचलनलाई अन्त्येष्टि क्रिया मानिन्थ्यो।”

[पृष्ठ २७-मा भएको चित्र]

पुरातन तरबारबाजहरूको टोप र नलीकवच

[पृष्ठ २९-मा भएका चित्रहरू]

पुरातन मसीहीहरूको लागि हिंसात्मक मनोरञ्जन अस्वीकार्य थियो। तपाईंलाई नि?

[स्रोत]

Boxing: Dave Kingdon/Index Stock Photography; car crash: AP Photo/Martin Seppala

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Phoenix Art Museum, Arizona/Bridgeman Art Library