सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘आत्मामा’ परमेश्‍वरको उपासना गर्नुहोस्‌

‘आत्मामा’ परमेश्‍वरको उपासना गर्नुहोस्‌

‘आत्मामा’ परमेश्‍वरको उपासना गर्नुहोस्‌

“तिमीहरू परमेश्‍वरको तुलना कससित गर्नेछौ ? अथवा केको प्रतिरूपसित उहाँको मिलान गर्नेछौ ?”—यशैया ४०:१८.

सायद तपाईं परमेश्‍वरको उपासना गर्दा चित्रहरू प्रयोग गर्नु ठीक छ भनी साँच्चै विश्‍वास गर्नुहुन्छ होला। यसले तपाईंलाई प्रार्थना सुन्‍नुहुने तर व्यक्‍तित्वहीन र अमूर्तजस्तो देखिने अदृश्‍य परमेश्‍वरसँग नजिकको सम्बन्ध विकास गर्न मदत गर्छ जस्तो तपाईंलाई लाग्न सक्छ।

तर परमेश्‍वरको उपासना गर्नको लागि आफ्नै तरिकाहरू रोज्न के हामी पूर्णतया स्वतन्त्र छौं? के स्वीकार्य छ र के स्वीकार्य छैन भनी अन्तिम निर्णय गर्ने अधिकार परमेश्‍वरको नै होइन र? यस सम्बन्धमा परमेश्‍वरको दृष्टिकोणबारे येशूले यसरी बताउनुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) चित्रहरू वा अरू पवित्र चीजहरू प्रयोग गर्नु गलत हो भनी बुझाउन यी शब्दहरू मात्र पनि पर्याप्त छन्‌।

हो, यहोवा परमेश्‍वरले एउटा निश्‍चित प्रकारको उपासना मात्रै स्वीकार्नुहुन्छ। अनि त्यो कस्तो प्रकारको उपासना हो? अर्को अवसरमा येशूले यसो भन्‍नुभयो: “तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।”— यूहन्‍ना ४:२३, २४.

के परमेश्‍वर जो “आत्मा हुनुहुन्छ,” उहाँलाई भौतिक प्रतिमाहरूद्वारा प्रतिनिधित्व गर्न मिल्छ? अहँ, मिल्दैन। चाहे चित्र जतिसुकै सुन्दर होस्‌, यो परमेश्‍वरको महिमाको बराबरीमा आउन सक्दैन। त्यसकारण प्रतिमाहरूले कहिल्यै पनि परमेश्‍वरको साँचो प्रतिनिधित्व गर्न सक्दैनन्‌। (रोमी १:२२, २३) कुनै व्यक्‍तिले परमेश्‍वरको उपासना गर्न मानव निर्मित चित्रको प्रयोग गर्छ भने, के उसले ‘सत्यतामा पुजिरहेको’ हुनेछ होला र?

स्पष्ट बाइबल शिक्षा

परमेश्‍वरको व्यवस्थाले उपासना गर्न प्रतिमाहरू बनाउन निषेध गरेको थियो। दस आज्ञाहरूमध्येका दोस्रो आज्ञाले यसो भन्छ: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू।” (प्रस्थान २०:४, ५) प्रेरित मसीही धर्मशास्त्रले पनि यस्तो आज्ञा दिन्छ: “मूर्तिपूजाबाट अलग रहो।”—१ कोरिन्थी १०:१४.

हो, धेरै जना आफूले प्रतिमाहरू चलाए तापनि यो मूर्तिपूजा होइन भनेर जिद्दी गर्छन्‌। उदाहरणका लागि, अर्थोडक्स मसीहीहरूले चित्रलाई घुँडा टेकेर ढोग्ने र प्रार्थना गर्ने गरे तापनि प्रायजसोले आफूले त्यसलाई उपासना गरेको हो भन्‍ने कुरा भने मानी लिंदैनन्‌। एक जना अर्थोडक्स पादरीले यस्तो लेखे: “ती पवित्र वस्तु भएकाले र हामीहरू चित्रहरूले वर्णन गरेका कुराहरूलाई श्रद्धा गर्ने हुनाले हामीहरू त्यसलाई सम्मान गर्छौं।”

तैपनि यस्ता प्रश्‍नहरू खडा हुन्छन्‌: अप्रत्यक्ष श्रद्धाको लागि भनिए तापनि के परमेश्‍वरले चित्रहरूको प्रयोगलाई अनुमोदन गर्नुहुन्छ? बाइबलमा कतै पनि यस्तो प्रचलनलाई मान्यता दिइएको छैन। यहोवाको श्रद्धा गर्नको लागि भन्‍ने दाबी गर्दै जब इस्राएलीहरूले बाछोको मूर्ति बनाए, यहोवाले आफूलाई त्यो ग्रहणयोग्य नभएको स्पष्टसँग व्यक्‍त गर्नुभयो र तिनीहरू धर्मत्यागी भएका छन्‌ भनी भन्‍नुभयो।—प्रस्थान ३२:४-७.

अप्रत्यक्ष खतरा

उपासनामा चित्रहरूको प्रयोग गर्नु खतरनाक प्रचलन हो। यसले मानिसहरूलाई त्यस चित्रले तथाकथित रूपमा प्रतिनिधित्व गरिरहेको परमेश्‍वरभन्दा त्यस चित्रलाई नै उपासना गर्नको लागि सजिलै लोभ्याउन सक्छ। अर्को शब्दमा भन्‍ने हो भने, चित्र मूर्तिपूजाको लागि प्रमुख आकर्षण हुन्छ।

इस्राएलीहरूको समयमा पनि थुप्रै चीजहरूको सन्दर्भमा यस्तै भयो। उदाहरणका लागि, उजाडस्थानको यात्राको दौडान मोशाले एउटा पीतलको साँप बनाए। सुरुमा, खम्बामा झुन्ड्‌याइएको साँपले बचाउको उपायको प्रतिनिधित्व गर्थ्यो। साँपको डसाइको सजाय पाएकाहरूले पीतलको साँपलाई हेरेर परमेश्‍वरको मदत पाउन सक्थे। तर इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा बसोबास गरिसकेपछि पनि तिनीहरूले पीतलको साँपमै निको पार्ने शक्‍ति छ भनेझैं गरी यस खम्बालाई मूर्तिको रूपमा प्रयोग गरे। तिनीहरूले यसको लागि धूप बाल्थे र यसलाई नहूश्‍तान भन्‍ने नाउँ दिए।—गन्ती २१:८, ९; २ राजा १८:४.

इस्राएलीहरूले करारको सन्दूकलाई पनि आफ्ना शत्रुहरूको विरुद्ध जादुको छडीको रूपमा प्रयोग गर्न खोजे तर नतिजा विपत्तिजनक भयो। (१ शमूएल ४:३, ४; ५:११) अनि यर्मियाको दिनमा पनि यरूशलेमका बासिन्दाहरूले मन्दिरमा उपासना गरिने परमेश्‍वरको भन्दा त्यस मन्दिरको बढी ख्याल गरे।—यर्मिया ७:१२-१५.

परमेश्‍वरको सट्टा चीजबीजहरूलाई उपासना गर्ने झुकाउ अहिले पनि उत्तिकै व्याप्त छ। अनुसन्धाता भिटालिज इभानोभिच पेट्रेन्कोले यसो भने: “चित्र . . . उपासना गर्ने वस्तु हुन्छ र यसले गर्दा मूर्तिपूजा गर्ने खतरा हुन्छ . . . यो प्रचलित विश्‍वासद्वारा चित्रको उपासनामा भित्रिएको गैरमसीही विचारधारा हो भनेर स्वीकार्नै पर्ने हुन्छ।” त्यसै गरी ग्रीक अर्थोडक्स पादरी डिमिट्रिओस कोन्स्टान्टिलोस आफ्नो पुस्तक अन्डरस्टान्डिङ द ग्रीक अर्थोडक्स चर्च-मा यसो भन्छन्‌: “मसीहीहरूले चित्रलाई उपासनाको वस्तुको रूपमा प्रयोग गर्नु उचित छ।”

चित्रहरू उपासना चढाउनको लागि प्रयोग गरिने वस्तुहरू मात्र हुन्‌ भन्‍ने दाबी एकदमै चित्त नबुझ्दो छ। किन? मरियम वा “सन्तहरूको” कुनै-कुनै चित्रहरूलाई धेरै अघि मृत्युभएका सोही व्यक्‍तिको अरू चित्रहरूभन्दा बढ्‌ता भक्‍तिको योग्य र प्रभावकारी ठानिन्छ नि, होइन र? उदाहरणका लागि, भक्‍तालु अर्थोडक्सहरू टिनोस, ग्रीसमा भएको मरियमको चित्रलाई उपासना गर्छन्‌ भने त्यसको ठीक विपरीत अरू त्यत्तिकै विश्‍वासी भक्‍तालु जनहरू उत्तरी ग्रीसको सूमेलामा अवस्थित मरियमको चित्र भएको ठाउँमा जान्छन्‌। दुवै चित्रहरू धेरै अघि मृत्यु भइसकेको एउटै व्यक्‍तिको भए तापनि दुवै समूहहरू आ-आफ्नो चित्रहरूलाई श्रेष्ठ र अझ ठूला चमत्कारहरू गर्न सक्ने ठान्छन्‌। त्यसकारण व्यवहारमा हेर्ने हो भने, चित्रहरूलाई मानिसहरूले नै शक्‍ति दिन्छन्‌ र यसको उपासना गर्छन्‌।

“सन्तहरू” वा मरियमलाई प्रार्थना गर्ने ?

मरियम वा “सन्तहरू” जस्ता व्यक्‍तिहरूको श्रद्धाबारे के भन्‍न सकिन्छ नि? शैतानले ल्याएको परीक्षाको सामना गर्दा येशूले व्यवस्था ६:१३ लाई संकेत गर्दै यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू, औ उहाँको मात्र सेवा गर्नू।” (मत्ती ४:१०) पछि उहाँले भन्‍नुभयो साँचो उपासकहरूले अरूलाई होइन “पितालाई” मात्र पुज्नेछन्‌। (यूहन्‍ना ४:२३) यूहन्‍नाले स्वर्गदूतलाई दण्डवत्‌ गर्न खोज्दा, यसै कुरालाई मनमा राख्दै तिनले यूहन्‍नालाई यसरी नसिहत दिए: “तिमीले यसो नगर . . . परमेश्‍वरलाईनै दण्डवत्‌ गर।”—प्रकाश २२:९.

आफ्नो लागि परमेश्‍वरसँग मध्यस्थको काम गरिदिन येशूको पार्थिव आमा मरियम वा कुनै “सन्तहरू[लाई]” बिन्ती गर्नु के उचित होला र? बाइबलले यस्तो सीधा जवाफ दिन्छ: “परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात्‌ ख्रीष्ट येशू, जो मानिस हुनुहुन्छ।”—१ तिमोथी २:५.

परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई सुरक्षित राख्नुहोस्‌

उपासना गर्दा चित्रहरूको प्रयोग गर्नु स्पष्टतया बाइबल शिक्षा विपरीत भएकोले, यसले मानिसहरूलाई परमेश्‍वरको अनुमोदन प्राप्त गर्न तथा मुक्‍ति पाउन मदत गर्न सक्दैन। त्यसको विपरीत, अनन्त जीवन एक मात्र साँचो परमेश्‍वरको ज्ञान लिनु र उहाँका अतुलनीय गुणहरूका साथ-साथै उहाँका उद्देश्‍य तथा मानिसहरूसँग उहाँले गर्नुहुने व्यवहारसँग परिचित हुनुमा निर्भर छ भनी येशूले बताउनुभयो। (यूहन्‍ना १७:३) देख्न, महसुस गर्न वा बोल्न नसक्ने चित्रहरूले परमेश्‍वरलाई चिन्‍न तथा उहाँलाई स्वीकार्य उपासना चढाउन मदत गर्दैनन्‌। (भजन ११५:४-८) एक मात्र साँचो परमेश्‍वरबारे हामी उहाँको वचन बाइबल अध्ययन गरेर मात्र बुझ्न सक्छौं।

केही लाभ नपुऱ्‍याउनुको अलावा चित्रको उपासना गर्नु आध्यात्मिक तवरमा खतरनाक पनि हुन सक्छ। कसरी? पहिलो र महत्त्वपूर्ण कुरा त यसले यहोवासँगको सम्बन्धमा फाटो ल्याउन सक्छ। ‘घृणित थोकहरूद्धारा उहाँलाई रिस उठाउने’ इस्राएलको सन्दर्भमा परमेश्‍वरले यसो भन्‍नुभयो: “म तिनीहरूबाट आफ्नो मुख लुकाउनेछु।” (व्यवस्था ३२:१६, २०) परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध पुनर्स्थापित गर्न सकिने एउटै मात्र तरिका तिनीहरूले आफ्ना ‘मूर्तिहरू फालिदिनु’ थियो।—यशैया ३१:६, ७.

त्यसकारण यो धर्मशास्त्रीय सल्लाह कत्ति उपयुक्‍त छ: “हे मेरा साना केटा-केटी हो, मूर्तिहरूबाट जोगिएर बस।”—१ यूहन्‍ना ५:२१.

[पृष्ठ ६-मा भएको पेटी]

‘आत्मामा’ पुज्न मदत गरियो

ओलिभेरा अल्बानियाको अर्थोडक्स चर्चकी भक्‍तालु सदस्य थिइन्‌। सन्‌ १९६७ मा त्यस देशको सरकारले धर्ममाथि प्रतिबन्ध लगाएपछि ओलिभेराले लुकीछिपी आफ्नो धार्मिक रीतिथितिहरूमा भाग लिन थालिन्‌। तिनी आफूले पाउने थोरै पेन्सन पनि सुन र चाँदीका प्रतिमा, धूप र मैनबत्तीहरू किन्‍नमा खर्च गर्थिन्‌। तिनी यी सबै चीजहरू आफ्नो ओछ्यानमा लुकाउँथिन्‌ र अरूले यो देख्लान्‌ वा चोर्लान्‌ भन्‍ने डरले प्रायजसो नजिकैको मेचमा सुत्थिन्‌। सन्‌ १९९० को दशकको सुरुतिर यहोवाका साक्षीहरूले ओलिभेरालाई भेट्‌दा तिनले तिनीहरूको सन्देशमा बाइबल सच्चाइको आभास पाइन्‌। साँचो उपासना ‘आत्मामा’ गर्नुपर्नेबारे बाइबलले के भन्छ र चित्रहरूको प्रयोगलाई परमेश्‍वरले कुन दृष्टिकोणले हेर्नुहुन्छ भनेर तिनले बुझिन्‌। (यूहन्‍ना ४:२४) ओलिभेरालाई बाइबल अध्ययन गराउँदै गरेकी साक्षीले हरेक पटक तिनको घरमा जाँदा चित्रहरूको संख्या घट्‌दै-घट्‌दै गएको कुरा याद गरिन्‌। अन्ततः एउटा पनि चित्र बाँकी थिएन। ओलिभेराले आफ्नो बप्तिस्मापछि यसो भनिन्‌: “काम नलाग्ने चित्रहरूको सट्टा आज मसँग यहोवाको पवित्र आत्मा छ। चित्रहरू प्रयोग नगरिकन पनि उहाँको आत्मा पाउँदा म एकदमै धन्यवादी छु।”

ग्रीसको लेजभोस टापुकी एथिना, अर्थोडक्स चर्चको एकदमै सक्रिय सदस्य थिइन्‌। तिनी गायन समूहकी सदस्य पनि थिइन्‌ र चित्रहरूको प्रयोग गर्ने लगायतका अरू सबै धार्मिक परम्परा निष्कपटतासाथ पछ्याउँथिन्‌। आफूलाई सिकाइएका सबै कुराहरू बाइबलअनुरूप छैनन्‌ भनी बुझ्न यहोवाका साक्षीहरूले एथिनालाई मदत गरे। यसमा उपासनाको दौडान चित्र र क्रूसहरूको प्रयोग गर्नु पनि समावेश थियो। एथिनाले यी धार्मिक चीजबीजहरूको सुरुआतबारे आफैले अनुसन्धान गर्ने दृढता व्यक्‍त गरिन्‌। विभिन्‍न स्रोतहरू चलाएर विस्तृत अनुसन्धान गरिसकेपछि, यी चीजबीजहरूको सुरुआत मसीहीधर्ममा भएको होइन रहेछ भनेर तिनी विश्‍वस्त भइन्‌। परमेश्‍वरलाई ‘आत्मामा’ पुज्ने इच्छाको कारण तिनले आफूसँग भएका चित्रहरू एकदमै महंगा भए तापनि हटाइन्‌। तैपनि, परमेश्‍वरलाई आध्यात्मिक तवर शुद्ध र स्वीकार्य उपासना चढाउनको लागि जस्तोसुकै नोक्सान बेहोर्नुपरे तापनि एथिना खुसी थिइन्‌।—प्रेरित १९:१९.

[पृष्ठ ७-मा भएको पेटी/चित्रहरू]

के धार्मिक चित्रहरू कला मात्रै हुन्‌?

हालसालैका वर्षहरूमा विश्‍वभर अर्थोडक्स चित्रहरू संकलन गरिएका छन्‌। संकलनकर्ताहरूले ती चित्रलाई प्रायजसो पवित्र धार्मिक वस्तुको रूपमा होइन तर बाइजान्टिन संस्कृति झल्काउने कलाको रूपमा हेर्छन्‌। आफू नास्तिक भएको दाबी गर्ने थुप्रै व्यक्‍तिहरूको घर वा कार्यालयमा समेत यस्ता धार्मिक चित्रहरू सजावटका सामग्रीको रूपमा प्रयोग गरिएको देख्नु कुनै अनौठो कुरा होइन।

तथापि, साँचो मसीहीहरूले धार्मिक चित्रको प्रमुख उद्देश्‍यलाई बिर्संदैनन्‌। यो उपासना चढाउने वस्तु हो। चित्रहरू राख्ने अरूको अधिकारको मसीहीहरूले विरोध गर्दैनन्‌। तर तिनीहरू भने संकलनको लागि पनि यस्ता चित्रहरू आफूसँग राख्दैनन्‌। यो व्यवस्था ७:२६ मा पाइने सिद्धान्तअनुरूप छ: “तिमीहरूले कुनै घृणित कुरो [उपासनामा प्रयोग गरिने प्रतिमाहरू] आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि तीजस्तै श्रापित हुनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू।”

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरले उपासनामा प्रतिमाहरू प्रयोग गर्न दिनुभएन

[पृष्ठ ८-मा भएको चित्र]

बाइबलको ज्ञानले हामीलाई परमेश्‍वरको उपासना आत्मामा गर्न मदत गर्छ