सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ

यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ

यहोवाको महिमा उहाँका जनहरूमा चम्कन्छ

“परमप्रभु तेरो निम्ति सदाको ज्योति हुनुहुनेछ।”—यशैया ६०:२०.

१. यहोवाले आफ्ना विश्‍वासी जनहरूलाई कसरी आशिष्‌ दिनुहुन्छ?

 “परमप्रभु आफ्ना प्रजासँग खुशी हुनुहुन्छ, उहाँले नम्रहरूलाई मुक्‍तिले शोभायमान गराउनुहुन्छ।” (भजन १४९:४) यो थियो पुरातन समयका भजनहारको भनाइ र उनले भनेका कुराको सत्यताको इतिहास गवाही छ। यहोवाका जनहरू विश्‍वासी रहँदा उहाँले तिनीहरूको ख्याल राख्नुहुन्छ, तिनीहरूलाई फलदायी बनाउनुहुन्छ र सुरक्षा प्रदान गर्नुहुन्छ। पुरातन समयमा उहाँले तिनीहरूलाई आफ्नो शत्रुमाथि विजयी बनाउनुभयो। आज उहाँले तिनीहरूलाई आध्यात्मिक तवरमा बलिया बनाउनुका साथै येशूको बलिदानको आधारमा उद्धार गर्ने आश्‍वासन दिनुहुन्छ। (रोमी ५:९) तिनीहरू उहाँको नजरमा शोभायमान भएकोले यसो गर्नुहुन्छ।

२. परमेश्‍वरका जनहरूले विरोधको सामना गर्नुपरे तापनि तिनीहरू कुन कुरामा विश्‍वस्त छन्‌?

निस्सन्देह, यस अन्धकारले छाएको संसारमा “भक्‍तिसँग जीवन” बिताउनेहरूले विरोधको सामना गर्नेछन्‌। (२ तिमोथी ३:१२) यद्यपि, यहोवाले विरोधीहरूको याद राख्नुहुन्छ र तिनीहरूलाई यस्तो चेताउनी दिनुहुन्छ: “तेरो सेवा गर्ने त्यो जाति र राज्य नष्ट हुनेछन्‌। ती जाति बिलकुलै नाश हुनेछन्‌।” (यशैया ६०:१२) आज, विभिन्‍न तरिकामा विरोध आउन सक्छ। साँचो मसीहीहरूले यहोवालाई चढाउने उपासनामा कुनै-कुनै ठाउँमा विरोधीहरूले बन्देज वा प्रतिबन्ध लगाउने कोसिस गर्छन्‌। अन्य ठाउँमा चाहिं हठधर्मीहरूले यहोवाका उपासकहरूलाई शारीरिक यातना दिन्छन्‌ र तिनीहरूका सरसम्पत्ति जलाइदिन्छन्‌। तर यहोवाको इच्छा पूरा गर्ने बाटोमा खडा हुने विरोधीहरूले कस्तो नतिजा भोग्नेछन्‌ भनी उहाँले निर्णय गरिसक्नुभएको छ भनी नबिर्सनुहोस्‌। विरोधीहरू सफल हुने छैनन्‌। आज पृथ्वीमा बाँकी सियोनका छोराछोरीले सियोनको प्रतिनिधित्व गर्छन्‌ र तिनीहरू विरुद्ध लड्‌नेहरू सफल हुनेछैनन्‌। के यो हाम्रा महान्‌ परमेश्‍वर, यहोवाले दिनुहुने हृदयस्पर्शी आश्‍वासन होइन र?

आशा गरेभन्दा धेरै आशिष्‌

३. यहोवाका उपासकहरूको महिमा र संवृद्धि कसरी स्पष्ट पारिएको छ?

साँचो कुरा के हो भने, यस दुष्ट रीतिरिवाजको आखिरी दिनमा यहोवाले आफ्ना जनहरूलाई आशा गरेभन्दा धेरै आशिष्‌ दिनुभएको छ। विशेष गरी उहाँले क्रमबद्ध ढंगमा आफ्नो उपासना स्थल र उहाँको नाउँ वहन गर्नेहरूमाझ महिमा बढाउनुभएको छ। यशैयाको भविष्यवाणीअनुसार उहाँ सियोनलाई यसो भन्‍नुहुन्छ: “लबानोनको शोभा तँकहाँ आउनेछ—सत्तिसाल, साल र धूपीका रूखसमेत मेरो बासस्थान सुन्दर बनाउनलाई आउनेछन्‌, र म मेरो चरणको स्थानलाई शोभायमान बनाउनेछु।” (यशैया ६०:१३) सदाबहार जंगलले भरिएको पहाडको दृश्‍य मनमोहक हुन्छ। त्यसकारण हरियाभरिया रूखहरू यहोवाका उपासकहरूको महिमा र संवृद्धिको सुहाउँदा प्रतीकहरू हुन्‌।—यशैया ४१:१९; ५५:१३.

४. “बासस्थान” र “[यहोवाको] चरणको स्थान” भनेको के हो अनि यिनीहरूलाई कसरी महिमित पारिएको छ?

यशैया ६०:१३ मा उल्लिखित “बासस्थान” र “[यहोवाको] चरणको स्थान” भनेको के हो? यी पदावलीहरूले यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको चोकहरूलाई बुझाउँछ र त्यो येशू ख्रीष्टमार्फत यहोवाको उपासना गर्ने प्रबन्ध हो। (हिब्रू ८:१-५; ९:२-१०, २३) यहोवाले सबै राष्ट्रका मानिसहरूलाई त्यहाँ उपासना गर्न भेला गराएर आध्यात्मिक मन्दिरको महिमा गर्ने आफ्नो उद्देश्‍यबारे उल्लेख गर्नुभएको छ। (हाग्गै २:७) यशैया आफैले पनि सबै जातिहरूको भीड यहोवाको उपासनाको उच्च पर्वतमा ओइरिरहेको देखिसकेका थिए। (यशैया २:१-४) सयौं वर्षपछि प्रेरित यूहन्‍नाले दर्शनमा “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” देखे। तिनीहरू “सिंहासन[को] . . . अगाडि . . . दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्‌।” (प्रकाश ७:९, १५) यी भविष्यवाणीहरू हाम्रो समयमा पूरा भएकोले यहोवाको मन्दिर हाम्रो आफ्नै आँखाअघि महिमित भएको छ।

५. सियोनका छोराछोरीले कस्ता राम्रा परिवर्तनहरू अनुभव गरे?

सियोनको लागि यो कस्तो ठूलो परिवर्तन! यहोवा यसो भन्‍नुहुन्छ: “तँ त्यागिएकी र घृणित भएकी छस्‌—यतिसम्म कि तँबाट भएर कोही पनि जाँदैन थियो। तर म तँलाई सदाको महिमा र धेरै पुस्तासम्मको निम्ति रमाहटको कारण तुल्याउनेछु।” (यशैया ६०:१५) प्रथम विश्‍वयुद्धको अन्ततिर “परमेश्‍वरको इस्राएल[ले]” साँच्चै केही समय दुःख भोग्नुपऱ्‍यो। (गलाती ६:१६) तिनले पृथ्वीमा “त्यागिएकी” महसुस गरिन्‌ किनभने पृथ्वीमा आफ्ना छोराछोरीले परमेश्‍वरको इच्छा स्पष्टसित बुझ्न सकेनन्‌। तर सन्‌ १९१९ मा यहोवाले आफ्ना अभिषिक्‍त जनहरूलाई पुनर्जीवित पार्नुभयो र त्यतिबेलादेखि तिनीहरूको आध्यात्मिक फलिफाप गराउनुभएर प्रशस्त आशिष्‌ दिनुभएको छ। यसबाहेक, के यस पदमा गरिएको प्रतिज्ञा रोमाञ्चक छैन? यहोवाले सियोनलाई “महिमा[को]” रूपमा लिनुहुन्छ। हो, सियोनका छोराछोरी र यहोवा स्वयम्‌ले सियोनको गर्व गर्नुहुनेछ। तिनी असीमित “रमाहटको कारण” हुनेछिन्‌। अनि त्यो थोरै समयको लागि मात्र हुनेछैन। सियोनको पार्थिव छोराछोरीले प्रतिनिधित्व गरेझैं तिनको अनुग्रहप्राप्त अवस्था “धेरै पुस्तासम्मको निम्ति” रहनेछ। यो कहिल्यै अन्त हुनेछैन।

६. साँचो मसीहीहरूले जाति जातिहरूबाट प्राप्त स्रोतसाधन कसरी प्रयोग गर्छन्‌?

अब, अर्को ईश्‍वरीय प्रतिज्ञा सुन्‍नुहोस्‌। सियोनसँग कुरा गर्दै यहोवा यसो भन्‍नुहुन्छ: “तैंले जाति जातिहरूका दूध र राजाहरूको थुन चुस्नेछस्‌। तब तैंले यो जान्‍नेछस्‌, कि म परमप्रभु तेरा मुक्‍तिदाता र तेरो उद्धार गर्ने, याकूबको शक्‍तिशाली परमप्रभु हुँ।” (यशैया ६०:१६) सियोनले कसरी “जाति जातिहरूका दूध र राजाहरूको थुन चुस्नेछ”? अभिषिक्‍त मसीही तथा तिनीहरूको “अरू भेडा[का]” सँगीहरूले शुद्ध उपासनालाई अघि बढाउन जाति जातिहरूबाट प्राप्त बहुमूल्य स्रोतसाधन प्रयोग गर्छन्‌। (यूहन्‍ना १०:१६) स्वेच्छासाथ दिइएको आर्थिक सहयोगले महान्‌, अन्तरराष्ट्रिय प्रचार तथा शिक्षण कार्य गर्न मदत पुऱ्‍याउँछ। आधुनिक प्रविधिको पूर्ण सदुपयोग गर्दा सयौं भाषाहरूमा बाइबल तथा बाइबल साहित्यहरू प्रकाशित गर्न सम्भव भएको छ। आज जति बाइबल सत्य मानव इतिहासमा पहिला कहिल्यै उपलब्ध भएको थिएन। आफ्ना अभिषिक्‍त सेवकहरूलाई आध्यात्मिक बन्दीबाट पुनः किन्‍नुहुने यहोवा साँच्चै मुक्‍तिदाता हुनुहुन्छ भनी थुप्रै राष्ट्रका नागरिकहरूले थाह पाएका छन्‌।

संगठनात्मक प्रगति

७. सियोनको छोराछोरीले कस्तो उल्लेखनीय वृद्धि अनुभव गरेका छन्‌?

यहोवाले अर्को तरिकामा पनि आफ्नो जातिको महिमा बढाउनुभएको छ। उहाँले तिनीहरूको संगठनात्मक प्रगति गरेर आशिष्‌ दिनुभएको छ। यशैया ६०:१७ मा यस्तो लेखिएको पाउँछौं: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुङ्‌गाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” काँसाको सट्टा सुन हुनु पनि प्रगति नै हो र उल्लिखित अन्य धातुहरूको कुरा पनि त्यस्तै हो। यसअनुरूप, परमेश्‍वरको इस्राएलले यस आखिरी दिनमा एकपछि अर्को संगठनात्मक प्रगति महसुस गरिरहेको छ। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

८-१०. सन्‌ १९१९ देखि भएका केही संगठनात्मक प्रगतिहरू बताउनुहोस्‌।

सन्‌ १९१९ अघि प्राचीन तथा डिकनहरू परमेश्‍वरका जनहरूको मण्डलीमा सेवा गर्थे र तिनीहरू सबै मण्डलीका सदस्यहरूद्वारा प्रजातान्त्रिक ढंगमा निर्वाचित हुन्थे। त्यस वर्षदेखि “विश्‍वासी र बुद्धिमान दास[ले]” हरेक मण्डलीको क्षेत्र सेवकाईसम्बन्धी गतिविधिको देखभाल गर्न सेवा निर्देशक नियुक्‍त गऱ्‍यो। (मत्ती २४:४५-४७) तथापि, कोही-कोही निर्वाचित प्राचीनहरूले सुसमाचार प्रचार गर्ने कार्यमा पूर्णतया सहयोग नगरेको कारण थुप्रै मण्डलीमा त्यो प्रबन्ध त्यति प्रभावकारी हुन सकेन। यसर्थ, १९३२ मा मण्डलीहरूलाई प्राचीन तथा डिकनहरू निर्वाचित गर्न बन्द गर्ने निर्देशन दिइयो। त्यसको सट्टा सेवा निर्देशकसँगसँगै सेवा समितिमा सेवा गर्न पुरुषहरू नियुक्‍त गर्नुपर्ने भयो। त्यो “काठ[को]” सट्टा “पित्तल” अर्थात्‌ निकै ठूलो प्रगति थियो!

सन्‌ १९३८ मा विश्‍वभरिका मण्डलीहरूले थप छाँटकाँट स्वीकार्ने निर्णय गरे र यो धर्मशास्त्रीय नमुनाअनुरूप थियो। मण्डलीको सारा प्रशासन कम्पनी सेवक र अन्य सेवकहरूको जिम्मामा सुम्पियो अनि यी सबै विश्‍वासी र बुद्धिमान्‌ दासको निगरानीमा नियुक्‍त हुन्थे। यसरी निर्वाचन कार्य बन्द भयो! अतः मण्डलीमा नियुक्‍तिहरू ईश्‍वरतान्त्रिक ढंगमा हुन थाले। यो “ढुंगाको” सट्टा “फलाम” वा “काँसाको” सट्टा “सुन” जस्तै भयो।

१० त्यस बेलादेखि प्रगतिको क्रम जारी छ। उदाहरणका लागि, १९७२ मा मण्डलीको निगरानी राख्न ईश्‍वरतान्त्रिक ढंगमा प्राचीनहरूको निकाय नियुक्‍त गर्ने गर्दा कुनै पनि प्राचीनले अरूमाथि अधिकार नजमाउने प्रथम शताब्दीको मसीही मण्डलीहरूको प्रबन्धअनुरूप रहेछ भन्‍ने कुरा बुझियो। अनि झन्डै दुई वर्षअघि अर्को एउटा कदम चालियो। केही खास कानूनी संस्थानको निर्देशक पदमा नियुक्‍तिको सन्दर्भमा छाँटकाँट गरियो र यसो गर्दा परिचालक निकाय कानूनी मामिलाहरूमा नअलमलिई परमेश्‍वरका जनहरूको आध्यात्मिक गतिविधिमा पूर्णतया ध्यान दिनसक्ने भयो।

११. यहोवाका जनहरूमाझ संगठनात्मक परिवर्तनहरूको पछाडि कसको हात छ र यी परिवर्तनहरूको नतिजा कस्तो भएको छ?

११ यी प्रगतिशील परिवर्तनहरूको पछाडि कसको हात छ? यहोवा परमेश्‍वरको। उहाँले यसो भन्‍नुभएको छ: ‘म सुन ल्याउनेछु।’ अनि उहाँले यसो पनि भन्‍नुभएको छ: “म तेरा हाकिमहरूलाई मेल–मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” हो, यहोवा आफ्ना जनहरूको निगरानीको निम्ति जिम्मेवार हुनुहुन्छ। उहाँले आफ्ना जनहरूलाई महिमित तुल्याइरहनुभएको अर्को तरिका भविष्यवाणी गरिएको प्रगतिशील परिवर्तनहरू हुन्‌। यसले गर्दा यहोवाका साक्षीहरूले थुप्रै तरिकामा आशिष्‌ पाएका छन्‌। यशैया ६०:१८ मा हामी यस्तो लेखिएको पाउँछौं: “तेरो देशमा उपद्रव सुनिनेछैन। तेरा सीमानामा उजाड़ र नष्टकारी कुरा सुनिनेछैन। तर तैंले तेरो पर्खाललाई मुक्‍ति भन्‍नेछस्‌, र तेरा मूलढोकालाई प्रशंसा।” ती शब्दहरू कत्ति सुन्दर छन्‌! तर ती कसरी पूरा भएका छन्‌?

१२. साँचो मसीहीहरूमाझ शान्तिले कसरी प्रमुख भूमिका खेल्न थालेको छ?

१२ साँचो मसीहीहरू निर्देशन र डोऱ्‍याइको लागि यहोवामै भर पर्छन्‌ र यसको नतिजा यशैयाले भविष्यवाणी गरेझैं भएको छ: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्‌, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) साथै, परमेश्‍वरका जनहरूमाथि उहाँको आत्मा सक्रिय हुन्छ र उहाँको आत्माका फलहरूमध्ये एउटा शान्ति हो। (गलाती ५:२२, २३) यसले गर्दा उत्पन्‍न यहोवाका जनहरूको शान्तिप्रिय मनोभावले यस हिंस्रक संसारमा कुवाको मीठो पानीजस्तै निकै स्फूर्ति प्रदान गर्छ। साँचो मसीहीहरूको आपसमा भएको प्रेममा आधारित शान्तिमय अवस्था नयाँ संसारमा हुने जीवनको पूर्वझलक हो। (यूहन्‍ना १५:१७; कलस्सी ३:१४) हामी प्रत्येक जना त्यस्तो आनन्द पाउन र त्यसलाई अझ बढाउन पाएकोमा हर्षित छौं, जसले हाम्रो परमेश्‍वरको महिमा र आदर गर्छ अनि यो हाम्रो आध्यात्मिक प्रमोदवनको प्रमुख पक्ष हो!—यशैया ११:९.

यहोवाको ज्योति चम्किरहनेछ

१३. यहोवाको ज्योति उहाँका जनहरूमा सधैं चम्किरहनेछ भनी हामी किन पक्का हुन सक्छौं?

१३ के यहोवाको ज्योति उहाँका जनहरूमा चम्किरहनेछ? अवश्‍य! यशैया ६०:१९ २० मा हामी यस्तो लेखिएको पाउँछौं: “दिनमा सूर्यले फेरि कहिल्यै तँलाई ज्योति दिनु पर्नेछैन, औ प्रकाशको निम्ति राती चान्द्रमाले तँलाई ज्योति दिनु पर्नेछैन। तर परमप्रभु तेरो निम्ति सदाको ज्योति, र परमेश्‍वर तेरो निम्ति महिमा हुनुहुनेछ। तेरो सूर्य फेरि कहिल्यै डुब्नेछैन, औ न तेरो चन्द्रमा अस्ताउनेछ, किनकि परमप्रभु तेरो निम्ति सदाको ज्योति हुनुहुनेछ, र तेरो विलाप गर्ने दिनको अन्त्य हुनेछ।” सन्‌ १९१९ मा आध्यात्मिक कैदीहरूको “विलाप” अन्त भएपछि तिनीहरूमाथि यहोवाको ज्योति चम्किन थाल्यो। त्यसको झन्डै ८० वर्षपछि पनि तिनीहरूमा उहाँको ज्योति चम्किरहेको कारण यहोवाको अनुमोदन पाएर आनन्द उठाइरहेका छन्‌। अनि यो बन्द हुने छैन। आफ्ना उपासकहरूको सन्दर्भमा हाम्रा परमेश्‍वर सूर्यजस्तै “डुब्ने” वा चन्द्रमा जस्तै ‘अस्ताउनुहुने’ छैन। बरु, उहाँले सदाको लागि तिनीहरूमाथि आफ्नो ज्योति चम्काउनुहुनेछ। यस अन्धकारमय संसारको आखिरी दिनमा बाँचिरहेका हामीहरूको लागि कस्तो अद्‌भुत आश्‍वासन!

१४, १५. (क) परमेश्‍वरका जनहरू सबै कुन तरिकामा “धर्मी” छन्‌? (ख) यशैया ६०:२१ को सन्दर्भमा अरू भेडाले कुन महत्त्वपूर्ण भविष्यवाणी पूरा हुने प्रतीक्षा गर्छन्‌?

१४ सियोनको पार्थिव प्रतिनिधि अर्थात्‌ परमेश्‍वरको इस्राएलबारे यहोवा अझ के प्रतिज्ञा गर्नुहुन्छ, सुन्‍नुहोस्‌। यशैया ६०:२१ मा यस्तो लेखिएको छ: “तेरा सबै प्रजा धर्ममा चल्ने हुनेछन्‌—तिनीहरूले सदाको निम्ति देशको अधिकार गर्नेछन्‌, मेरो विरुवाको हाँगा, मेरो हातको काम, जसबाट म महिमित हुनेछु।” सन्‌ १९१९ मा अभिषिक्‍त मसीहीहरू थप गतिविधिको लागि सक्रिय हुन थाल्दा तिनीहरू एउटा असामान्य समूह थियो। अत्यन्तै पापी संसारमा तिनीहरू ख्रीष्ट येशूको छुडौतीको बलिदानमा दृढ विश्‍वासको आधारमा “धर्मी ठहरिएका” थिए। (रोमी ३:२४; ५:१) अनि बेबिलोनी कैदबाट छुटकारा पाएका इस्राएलीहरूले जस्तै तिनीहरूले आध्यात्मिक “देश” अधिकार गरे जहाँ तिनीहरूले आध्यात्मिक प्रमोदवनको आनन्द उठाउनेछन्‌। (यशैया ६६:८) त्यो देशको प्रमोदवनरूपी आध्यात्मिक सौन्दर्य कहिल्यै ओइलाउनेछैन, पुरातन इस्राएलले जस्तो यो राष्ट्ररूपी परमेश्‍वरको इस्राएलले धोका दिनेछैन। तिनीहरूको विश्‍वास, धीरज र जोसले सधैं परमेश्‍वरको नाउँको आदर गर्नेछ।

१५ आध्यात्मिक राष्ट्रका सबै सदस्यहरू नयाँ करारमा बाँधिएका छन्‌। सबै जनाले आ-आफ्नो हृदयमा परमेश्‍वरको व्यवस्था लेखेका छन्‌ अनि येशूको छुडौतीको बलिदानको आधारमा यहोवाले तिनीहरूको पाप क्षमा गर्नुभएको छ। (यर्मिया ३१:३१-३४) उहाँले तिनीहरूलाई “पुत्र[को]” रूपमा धर्मी ठहऱ्‍याउनुहुन्छ र तिनीहरूसित सिद्ध मानिसहरूसित जस्तै व्यवहार गर्नुहुन्छ। (रोमी ८:१५, १६, २९, ३०) तिनीहरूको अरू भेडाका सँगीहरूले पनि येशूको छुडौतीको बलिदानको आधारमा पापहरूको क्षमा पाएका छन्‌ र अब्राहामजस्तै परमेश्‍वरको मित्रको रूपमा विश्‍वासको कारण धर्मी ठहरिएका छन्‌। “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” अनि यी अरू भेडाका सँगीहरूले अन्य अद्‌भुत आशिष्‌हरूको उत्कट इच्छा गर्छन्‌। “महा संकष्टबाट” बचेपछि वा पुनरुत्थान भएपछि सारा पृथ्वी प्रमोदवनमा परिणत भई यशैया ६०:२१ का शब्दहरू अक्षरशः पूरा भएको देख्नेछन्‌। (प्रकाश ७:१४; रोमी ४:१-३) त्यतिबेला “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:११, २९.

वृद्धि भइरहन्छ

१६. यहोवाले कुन उल्लेखनीय प्रतिज्ञा गर्नुभयो र यो कसरी पूरा भएको छ?

१६ यशैया ६० को अन्तिम पदमा यहोवाको अन्तिम प्रतिज्ञा पढ्‌न सक्छौं। उहाँ सियोनलाई यसो भन्‍नुहुन्छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।” (यशैया ६०:२२) हाम्रो समयमा यहोवाले आफ्नो वचन पूरा गर्नुभएको छ। सन्‌ १९१९ मा अभिषिक्‍त जनहरू थप गतिविधिको लागि पुनः सक्रिय हुँदा तिनीहरू एकदमै “थोरै” थिए। थप आध्यात्मिक इस्राएलीहरू जम्मा गरिंदै लैजाँदा तिनीहरूको संख्यामा वृद्धि भयो। अनि अरू भेडाको ठूलो संख्या पनि ओइरिन थाल्यो। परमेश्‍वरका जनहरूको शान्ति र तिनीहरूको “देश[मा]” भएको आध्यात्मिक प्रमोदवनले थुप्रै निष्कपट हृदय भएकाहरूलाई आकर्षित गरेको हुँदा “थोरै चाहिं” साँच्चै “सामर्थी जाति” भएको छ। हाल, परमेश्‍वरको इस्राएल र साठी लाखभन्दा बढी समर्पित “परदेशीहरूले” बनेको यो “जाति” संसारका थुप्रै सार्वभौम राष्ट्रहरूभन्दा ठूलो भएको छ। (यशैया ६०:१०) यसका सबै प्रजाहरू यहोवाको ज्योति चम्काउने कार्यमा भाग लिन्छन्‌ र उहाँको नजरमा मूल्यवान्‌ छन्‌।

१७. यशैया अध्याय ६० को छलफलले तपाईंलाई कसरी प्रभाव पारेको छ?

१७ हो, यशैया अध्याय ६० का यी मूल बुँदाहरू छलफल गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ। आफ्नो जाति आध्यात्मिक निर्वासनमा जानेछन्‌ र त्यसपछि पुनर्स्थापित हुनेछन्‌ भनी यहोवालाई धेरै पहिला नै थाह हुनु सान्त्वनादायी कुरा हो। हाम्रो समयमा साँचो उपासकहरूको संख्यामा कत्ति वृद्धि हुनेछ भनी उहाँले पहिल्यै थाह पाउनु साँच्चै रोमाञ्चकारी कुरा हो। साथै, यहोवाले हामीलाई त्याग्नुहुनेछैन भनी थाह पाउनु कत्ति सान्त्वनादायी छ! “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू[को]” सत्कार गर्न शहरका “ढोकाहरू” सधैं खुला हुनेछन्‌ भनी थाह पाउनु कस्तो मायालु आश्‍वासन हो! (प्रेरित १३:४८) यहोवा आफ्ना जनहरूमाथि चम्किरहनुहुनेछ। सियोनका छोराछोरीले मानिसहरूसामु आफ्नो ज्योति झन्‌ झनै चम्किलो बनाउँदै लैजाँदा झनै महिमाको कारण हुनेछन्‌। (मत्ती ५:१६) साँच्चै, हामी पहिलाभन्दा अझ बढी परमेश्‍वरको इस्राएलसँग नजिक रहन र यहोवाको ज्योति चम्काउने सुअवसरको कदर गर्न कटिबद्ध भएका छौं!

के तपाईं बुझाउन सक्नुहुन्छ?

• विरोधको सन्दर्भमा हामी कुन कुराबारे विश्‍वस्त छौं?

• सियोनका छोराछोरीले कसरी ‘जाति जातिहरूका दूध चुसेका’ छन्‌?

• कुन तरिकामा यहोवाले “काठको सट्टा पीतल” ल्याउनुभएको छ?

यशैया ६०:१७, २१ मा यहोवाका जनहरूको कुन दुईवटा गुण प्रकाश पारिएको छ?

• “थोरै चाहिं” साँच्चै “सामर्थी जाति” कसरी भएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको पेटी/चित्रहरू]

आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड

यस अध्ययन लेखमा छलफल गरिएका प्रायजसो विषयवस्तु २००१/०२ “परमेश्‍वरको वचनका शिक्षकहरू” जिल्ला अधिवेशन कार्यक्रमको दौडान भाषणको रूपमा प्रस्तुत गरिएको थियो। वक्‍ताले भाषणको अन्तमा प्रायजसो ठाउँमा आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड, खण्ड २ शीर्षक भएको नयाँ पुस्तक विमोचन गरेका थिए। अघिल्लो वर्ष आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड, खण्ड १ विमोचन भएको थियो। यस नयाँ पुस्तकको विमोचनपछि यशैया पुस्तकको सबैजसो पद एक एक गरेर छलफल गरिएको छ। यी खण्डहरू यशैयाको भविष्यसूचक पुस्तक गहिरिएर अध्ययन गर्न र यसप्रति मूल्यांकन बढाउन राम्रो मदत साबित भइरहेको छ।

[पृष्ठ १५-मा भएका चित्रहरू]

भीषण विरोधको बावजूद ‘यहोवाले आफ्ना जनहरूलाई मुक्‍तिले शोभायमान गराउनुहुन्छ’

[पृष्ठ १६-मा भएका चित्रहरू]

परमेश्‍वरका जनहरूले जाति जातिहरूबाट प्राप्त बहुमूल्य स्रोतसाधनहरू साँचो उपासनालाई अझ बढाउन चलाउँछन्‌

[पृष्ठ १७-मा भएका चित्रहरू]

यहोवाले आफ्ना जनहरूलाई संगठनात्मक प्रगति र शान्ति दिनुभएर आशिष्‌ वर्षाउनुभएको छ