सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ

यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ

यहोवाले आफ्ना जनहरूलाई ज्योति प्रदान गर्नुभएर महिमित पार्नुहुन्छ

“उठ्‌, प्रकाशमान हो, किनकि मेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ।”—यशैया ६०:१.

१, २. (क) मानिसहरूको कस्तो अवस्था छ? (ख) मानिसजातिको अन्धकारको लागि को दोषी छ?

 “हामीसित यशैया वा सन्त पावल भइदिएको भए कत्ति बेस हुन्थ्यो होला!” सन्‌ १९४० को दशकमा अमेरिकी राष्ट्रपति ह्‍यारी ट्रुमनले त्यसरी बिलौना गरेका थिए। तिनले किन त्यसरी बिलौना गरे? किनभने तिनले त्यतिबेला उच्च नैतिक स्तर भएका नेताहरूको आवश्‍यकता महसुस गरे। संसारले भर्खरै मात्र २० औं शताब्दीको सबैभन्दा अन्धकारमय समय अर्थात्‌ दोस्रो विश्‍वयुद्धको पीडा भोगेको थियो। युद्ध अन्त भए तापनि विश्‍वमा शान्ति थिएन। अझै अन्धकार छाइरहेको थियो। हो, अहिले त्यो युद्ध अन्त भएको ५७ वर्षपछि पनि संसार अन्धकारमै छ। आज राष्ट्रपति ट्रुमन जीवित हुँदा हुन्‌ त, तिनले यशैया वा पावलजस्ता नीतिवान्‌ नेताहरूको आवश्‍यकता अझै पनि महसुस गर्ने थिए।

राष्ट्रपति ट्रुमनलाई थाह थियो कि थिएन तर प्रेरित पावलले मानिसजातिलाई पिरोलिरहेको अन्धकारबारे बताए र तिनले आफ्नो लेखोटमा यसबारे चेताउनी दिए। उदाहरणका लागि, पावलले सँगी विश्‍वासीहरूलाई यस्तो चेताउनी दिए: “हाम्रो यो लडन्त मनिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) पावलका यी शब्दहरूबाट तिनी यस संसारमा आध्यात्मिक अन्धकार छाएको छ भनेर मात्र होइन तर यसको साँचो स्रोत अथवा “सांसारिक शासकहरू” भनिने शक्‍तिशाली दुष्ट शक्‍तिहरूबारे पनि सजग थिए भनी थाह पाउन सक्छौं। शक्‍तिशाली दुष्ट शक्‍तिहरूले गर्दा यस संसारमा अन्धकार छाएको हुँदा मानिसले त्यो अन्धकार हटाउन के गर्न सक्छन्‌ र?

३. मानिसजातिको अन्धकारमय अवस्थाको बावजूद यशैयाले विश्‍वासी जनहरूको लागि कस्तो भविष्यवाणी गरे?

त्यस्तै गरी, यशैयाले पनि मानिसजातिलाई पिरोलिरहेको अन्धकारबारे लेखे। (यशैया ८:२२; ५९:९) तथापि, हाम्रो समयको उत्कट प्रतीक्षा गर्दै यस्तो अन्धकारमय समयमा पनि ज्योति रुचाउनेहरूको मनोवृत्तिलाई यहोवाले उज्यालो पार्नुहुनेछ भनी यशैयाले प्रेरणा पाएर भविष्यवाणी गरे। त्यसकारण हामीमाझ पावल र यशैया नभए तापनि हाम्रो डोऱ्‍याइको लागि तिनीहरूका प्रेरित लेखोटहरू छन्‌। आउनुहोस्‌, त्यो कस्तो आशिष्‌ हो भनी बुझ्न, हामी यशैयाको पुस्तकको अध्याय ६० मा पाइने भविष्यसूचक वचनहरू विचार गरौं।

एक भविष्यसूचक स्त्रीले ज्योति प्रदान गर्छिन्‌

४, ५. (क) यहोवाले एउटी स्त्रीलाई के गर्ने आज्ञा दिनुहुन्छ र उहाँले कस्तो प्रतिज्ञा गर्नुहुन्छ? (ख) यशैया अध्याय ६० मा कस्ता रोमाञ्चकारी जानकारीहरू छन्‌?

यशैयाको पुस्तक अध्याय ६० को सुरुको पदमा असाध्यै दुःखद्‌ अवस्थामा परेकी स्त्रीको वर्णन गरिएको छ। तिनी अन्धकारमा भुइँमा घोप्टो परिरहेकी छिन्‌। अकस्मात्‌ त्यस अन्धकारमा ज्योतिको किरण देखा पर्छ र यहोवा यसो भन्‍नुहुन्छ: “उठ्‌, प्रकाशमान हो, किनकि मेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ।” (यशैया ६०:१) हो, त्यो स्त्री उठेर परमेश्‍वरको ज्योति अथवा उहाँको महिमा फैलाउने समय आएको छ। किन? यसको जवाफ हामी अर्को पदमा पाउँछौं: “हेर्‌, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ। तर तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ, र उहाँको महिमा तँमाथि प्रकट हुनेछ।” (यशैया ६०:२) त्यस स्त्रीले यहोवाको आज्ञा पालन गरेको खण्डमा राम्रो परिणाम पाउने आशा गर्न सकिन्थ्यो। यहोवा यसो भन्‍नुहुन्छ: “जाति जातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्‌।”—यशैया ६०:३.

यी तीनवटा पदका रोमाञ्चकारी शब्दहरू यशैया अध्याय ६० को बाँकी पदमा भएका कुराहरूको परिचय र सारांश दुवै हुन्‌। ती पदहरूले भविष्यसूचक स्त्रीको अनुभवका साथै मानिसजातिमा छाएको अन्धकारको बावजूद हामी कसरी यहोवाको ज्योतिमा बस्न सक्छौं भनी देखाउँछन्‌। तर यी तीनवटा परिचयात्मक पदमा प्रयोग गरिएका भविष्यसूचक प्रतीकहरूका अर्थ के हुन्‌?

६. यशैया अध्याय ६० को स्त्री को हुन्‌ र पृथ्वीमा तिनको प्रतिनिधित्व कसले गर्छ?

यशैया ६०:१-३ मा वर्णन गरिएकी स्त्री सियोन, यहोवाका आत्मिक प्राणीहरूको स्वर्गीय संगठन हो। आज, पृथ्वीमा सियोन भन्‍नाले “परमेश्‍वरका इस्राएल[का]” शेष जन अर्थात्‌ ख्रीष्टसित स्वर्गमा शासन गर्ने आत्मा-अभिषिक्‍त मसीहीहरूको अन्तरराष्ट्रिय मण्डली हो। (गलाती ६:१६) यस आत्मिक राष्ट्रको कुल संख्या १,४४,००० हुनेछ र यशैया अध्याय ६० को आधुनिक पूर्ति, यस “आखिरी दिन[मा]” पृथ्वीमा जीवित ती शेष जनहरूमा केन्द्रित छ। (२ तिमोथी ३:१; प्रकाश १४:१) यो भविष्यवाणीले यी अभिषिक्‍त मसीहीहरूको सहयोगी, “अरू भेडा[को]” “ठूलो भीड[बारे]” पनि निकै कुरा बताउँछ।—प्रकाश ७:९; यूहन्‍ना १०:१६.

७. सन्‌ १९१८ मा सियोनको अवस्था कस्तो थियो र यसको भविष्यवाणी कसरी गरिएको थियो?

उक्‍त भविष्यसूचक स्त्रीको अवस्थाले पूर्वचित्रण गरेझैं के “परमेश्‍वरको इस्राएल” कहिल्यै अन्धकारमा परेको थियो? थियो। यो ८० वर्षभन्दा अघि भएको थियो। प्रथम विश्‍वयुद्धको दौडान अभिषिक्‍त मसीहीहरूले साक्षीकार्य कायम राख्न मात्रै पनि कडा संघर्ष गर्नुपऱ्‍यो। तर सन्‌ १९१८ मा अर्थात्‌ युद्धको अन्तिम वर्षमा व्यवस्थित प्रचारकार्य लगभग ठप्पै बन्द भयो। विश्‍वव्यापी प्रचारकार्यको निरीक्षण गरिरहेका भाइ जोसेफ एफ. रदरफोर्डलगायत अन्य जिम्मेवार प्राप्त मसीहीहरूलाई झूटो आरोपमा लामो जेल सजाय दिइयो। प्रकाशको पुस्तकले त्यतिबेला पृथ्वीमा भएका अभिषिक्‍त मसीहीहरूलाई ‘दृष्टान्तको रूपमा सदोम र गमोरा भनिने त्यस ठूलो शहरका गल्लीमा’ पस्रिरहेका लासहरू भनी भविष्यसूचक ढंगमा वर्णन गरेको थियो। (प्रकाश ११:८) त्यो, पृथ्वीमा अभिषिक्‍त सन्तानहरूले प्रतिनिधित्व गर्ने सियोनको लागि साँच्चै अन्धकारमय समय थियो!

८. सन्‌ १९१९ मा कस्तो ठूलो परिवर्तन भयो र यसको नतिजा कस्तो भयो?

तथापि, सन्‌ १९१९ मा एउटा ठूलो परिवर्तन भयो। यहोवाले सियोनमा ज्योति छर्नुभयो! परमेश्‍वरको इस्राएलका शेष जनहरूले परमेश्‍वरको ज्योति प्रतिबिम्बित गर्नको लागि निडरतासाथ सुसमाचार घोषणा गर्न फेरि कदम चाले। (मत्ती ५:१४-१६) यी मसीहीहरूको नवजागृत जोसले गर्दा अरू पनि यहोवाको ज्योतितर्फ आकर्षित भए। सुरुमा ती नयाँ सदस्यहरू परमेश्‍वरको इस्राएलका थप सदस्यहरूको रूपमा अभिषिक्‍त भए। तिनीहरूलाई यशैया ६०:३ मा राजाहरू भनिएको छ किनभने तिनीहरू परमेश्‍वरको स्वर्गीय राज्यमा सहशासकहरू हुनेछन्‌। (प्रकाश २०:६) पछि, अरू भेडाको ठूलो भीड यहोवाको ज्योतितर्फ आकर्षित भयो। भविष्यवाणीमा वर्णन गरिएका “जाति जातिहरू” यिनै हुन्‌।

स्त्रीका छोराछोरीहरू घर फर्कन्छन्‌ !

९, १०. (क) स्त्रीले कस्तो उल्लेखनीय दृश्‍य देखिन्‌ र यसले के पूर्वचित्रण गर्छ? (ख) सियोन आनन्दित हुने कस्ता कारणहरू छन्‌?

यहोवाले, यशैया ६०:१-३ को भविष्यसूचक वृत्तान्तबारे थप जानकारी दिनुहुन्छ। उहाँ उक्‍त स्त्रीलाई अर्को आज्ञा दिनुहुन्छ। उहाँ के भन्‍नुहुन्छ, सुन्‍नुहोस्‌: “तेरो आँखा उठाएर चारैतिर हेर।” स्त्रीले कुरा मान्छिन्‌ र तिनले साह्रै हृदयस्पर्शी दृश्‍य देख्छिन्‌! तिनका छोराछोरीहरू घर फर्कंदैछन्‌। शास्त्रपद अझ यसो भन्छ: “तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँदैछन्‌। तेरा छोराहरू टाढ़ाबाट आउनेछन्‌, र तेरा छोरीहरू हात हातमा बोकेर ल्याइनेछन्‌।” (यशैया ६०:४) सन्‌ १९१९ मा सुरु भएको विश्‍वव्यापी प्रचारकार्यले हजारौं नयाँ व्यक्‍तिहरूलाई परमेश्‍वरको सेवामा आकर्षित गऱ्‍यो। यिनीहरू पनि सियोनका “छोरा” तथा “छोरीहरू” अथवा परमेश्‍वरको इस्राएलका अभिषिक्‍त सदस्यहरू भए। यसरी यहोवाले १,४४,००० को पूरै संख्या जम्मा गर्नुभएर सियोनलाई महिमित तुल्याउनुभएको छ।

१० आफ्ना छोराछोरी फर्कंदा सियोन कत्ति रमाइन्‌ होली, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यद्यपि, यहोवाले सियोनलाई आनन्दित हुने थप कारणहरू दिनुभएको छ। हामी यस्तो लेखिएको पढ्‌न सक्छौं: “तब यो देखेर तँ आनन्दित हुनेछस्‌, र तेरो हृदय हर्षले गद्‌गद्‌ हुनेछ” किनभने “समुद्रका सम्पूर्ण धन तँतर्फ फर्कनेछ। जाति जातिको सम्पत्ति तँकहाँ आउनेछ।” (यशैया ६०:५) यी भविष्यसूचक शब्दहरूअनुरूप सन्‌ १९३० को दशकदेखि पार्थिव आशा भएका लाखौं मानिसहरू सियोनतिर ओइरिरहेका छन्‌। तिनीहरू परमेश्‍वरबाट तर्किएको मानिसजातिको “समुद्र[बाट]” निस्केर आएका छन्‌ र तिनीहरूले सबै जातिहरूका सम्पत्तिको प्रतिनिधित्व गर्छन्‌। तिनीहरू “सबै जाति जातिका धन-सम्पत्तिहरू” हुन्‌। (हाग्गै २:७; यशैया ५७:२०) याद गर्नुहोस्‌, यी “जाति जातिका धन-सम्पत्तिहरू” आफू खुसी यहोवाको सेवा गर्दैनन्‌। तिनीहरू अभिषिक्‍त भाइहरूसित मिलेर उपासना गर्न भेला हुन्छन्‌ र “एकै बगाल र एकै गोठालाका” भएर सियोनको महिमा बढाउँछन्‌।—यूहन्‍ना १०:१६.

व्यापारी, गोठाला तथा अफिसरहरू सियोनमा आउँछन्‌

११, १२. सियोनतर्फ आइरहेको भीडको व्याख्या गर्नुहोस्‌।

११ भविष्यवाणी गरिएको यो जम्मा गर्ने कामको फलस्वरूप यहोवाका उपासकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। भविष्यवाणीमा यसबारे तल दिइएझैं वर्णन गरिएको छ। सियोन डाँडामा भविष्यसूचक स्त्रीसित तपाईं उभिरहनुभएको कल्पना गर्नुहोस्‌। पूर्वतिर हेर्नुहोस्‌, तपाईं के देख्नुहुन्छ? “ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तँ भरिपूर्ण हुनेछस्‌। तिनीहरू सबै शबाबाट आउनेछन्‌। तिनीहरूले सुन र धूप ल्याउनेछन्‌, र परमप्रभुको प्रशंसाको प्रचार गर्नेछन्‌।” (यशैया ६०:६) ऊँटको बथानलाई डोऱ्‍याउँदै व्यापारीहरू यरूशलेमतिर आइरहेका छन्‌। ऊँटको बथानबाहेक अरू केही पनि देखिंदैन! यी व्यापारीहरूसित महँगा महँगा “सुन र धूप” छन्‌। सबैको सामु ‘परमप्रभुको प्रशंसाको प्रचार गर्न’ तिनीहरू उहाँको ज्योतितर्फ आउँछन्‌।

१२ यसरी यात्रा गर्नेहरू व्यापारीहरू मात्र होइनन्‌। गोठालाहरू पनि सियोनमा आइरहेका छन्‌। भविष्यवाणीमा यस्तो लेखिएको पाउँछौं: “केदारका सबै भेड़ा-बाख्राहरू तँकहाँ जम्मा हुनेछन्‌। नबाओतका साँढ़भेड़ाहरूले तेरो सेवा गर्नेछन्‌।” (यशैया ६०:७क) तिनीहरू आफ्नो बगालको सर्वोत्तम बलि चढाउन पवित्र शहरमा आउँदैछन्‌। तिनीहरू सियोनमा सेवा गर्न आफैलाई समेत अर्पण गर्छन्‌! यहोवाले यी विदेशीहरूको कसरी स्वागत गर्नुहुनेछ? परमेश्‍वर आफैले यस्तो जवाफ दिनुहुन्छ: “तिनीहरू मेरो वेदीमा ग्रहणयोग्य भएर आउनेछन्‌, र महिमाको भवनलाई म महिमित पार्नेछु।” (यशैया ६०:७ख) यहोवाले विदेशीहरूको भेटी र सेवा खुसीसाथ ग्रहण गर्नुहुन्छ। तिनीहरूको उपस्थितिले उहाँको मन्दिरको महिमा बढाउँछ।

१३, १४. पश्‍चिमबाट के आइरहेको देखिन्छ?

१३ अब पश्‍चिमतिर हेर्नुहोस्‌। तपाईं के देख्नुहुन्छ? टाढा समुद्रको सतहमाथि यत्रतत्र बादल छरिए जस्तो देखिन्छ। तपाईंको मनमा उठिरहेको कुरा नै यहोवाले यसरी सोध्नुहुन्छ: “बादलझैं उड़ने र ढुकुरझैं तिनीहरूका झ्यालमा उड़ने यी को हुन्‌?” (यशैया ६०:८) स्वयम्‌ यहोवाले त्यसको जवाफ दिनुहुन्छ: “निश्‍चय, समुद्र किनारका देशहरूले मेरो बाटो हेर्नेछन्‌। तेरा परमप्रभु परमेश्‍वरको निम्ति, अर्थात्‌ इस्राएलका पवित्र परमप्रभुको निम्ति, तेरा छोराहरूलाई तिनका सुन र चाँदीहरूसमेत टाढ़ा टाढ़ाबाट ल्याउन तर्शीशका जहाजहरू पहिला हुनेछन्‌। किनभने उहाँले तँलाई महिमित पार्नुभएको छ।”—यशैया ६०:९.

१४ के तपाईं यो दृश्‍य कल्पना गर्न सक्नुहुन्छ? त्यो सेतो बादल नजिक आएको छ र अब टाढा पश्‍चिममा बादलको सेता थोप्लाहरूजस्तै देखिन्छन्‌। तिनीहरू पंक्‍ति मिलाएर उडेका चराहरूको बथानजस्तै देखिन्छन्‌। तर नजिकैबाट हेर्दा ती त जहाजहरू पो रहेछन्‌ र हावाले यसका पालहरू फरफराइरहेका छन्‌। यरूशलेमतर्फ थुप्रै जहाजहरू आइरहेको हुँदा परेवाको बथानजस्तै देखिन्छ। यी जहाजहरूले यहोवाको उपासना गर्न यरूशलेमतिर ओइरिएका उपासकहरूलाई ल्याइरहेका छन्‌।

यहोवाको संगठन विस्तार हुन्छ

१५. (क) यशैया ६०:४-९ मा कस्तो वृद्धिबारे भविष्यवाणी गरिएको छ? (ख) साँचो मसीहीहरूले कस्तो मनोभाव प्रकट गर्छन्‌?

१५ पद ४ देखि ९ ले १९१९ देखि यता भइरहेको विश्‍वव्यापी विस्तारको एकदमै जीवन्त भविष्यसूचक दृश्‍य चित्रण गर्छ! यहोवाले सियोनमा किन यति धेरै वृद्धि गराउनुभयो? किनभने सन्‌ १९१९ देखि परमेश्‍वरको इस्राएलले आज्ञाकारी भई निरन्तर रूपमा यहोवाको ज्योति चम्काइरहेको छ। तर के तपाईंले याद गर्नुभयो, पद ७ अनुसार यी नवआगन्तुकहरू “[परमेश्‍वरको] वेदीमा” आउँदैछन्‌? वेदीमा बलिदान चढाइन्छ र भविष्यवाणीको यस पक्षले यहोवाको सेवामा बलिदान पनि समावेश छ भनी सम्झाउँछ। प्रेरित पावलले यसप्रकार लेखे: “ए भाइ हो, . . . म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) पावलका शब्दहरूअनुरूप साँचो मसीहीहरू हरेक हप्ता धार्मिक सेवाहरूमा उपस्थित हुनु मात्र पर्याप्त ठान्दैनन्‌। तिनीहरू शुद्ध उपासनालाई अघि बढाउन आफ्नो समय, शक्‍ति र स्रोतसाधन खर्च गर्छन्‌। के यस्ता समर्पित उपासकहरूको उपस्थितिले यहोवाको भवनको महिमा बढाउँदैन र? अवश्‍य बढाउनेछ भनी यशैयाको भविष्यवाणीले बताउँछ। अनि त्यस्ता जोसिला उपासकहरू यहोवाको नजरमा साँच्चै मूल्यवान्‌ हुन्छन्‌ भनी हामी पक्का हुन सक्छौं।

१६. पुरातन समय र आधुनिक समयको पुनर्निर्माण कार्यमा कसले सघाए?

१६ नवआगन्तुकहरू काम गर्न चाहन्छन्‌। भविष्यवाणीले अझ यसो भन्छ: “परदेशीहरूले तेरा पर्खाल बनाउनेछन्‌, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्‌।” (यशैया ६०:१०) बेबिलोनी कैदबाट फर्कंदा यी शब्दहरूको पहिलो पूर्ति हुँदा राजा तथा राष्ट्रका अन्य मानिसहरूले मन्दिर र यरूशलेम शहरको पुनर्निर्माण कार्यमा साँच्चै मदत गरे। (एज्रा ३:७; नहेम्याह ३:२६) भविष्यवाणीको आधुनिक पूर्तिमा साँचो उपासनालाई बढाउन ठूलो भीडले शेष अभिषिक्‍त जनलाई सहयोग गरेका छन्‌। तिनीहरूले मसीही मण्डलीहरू निर्माण गर्न मदत गरेर यहोवाको संगठनको शहररूपी “पर्खाल” बलियो बनाउँछन्‌। तिनीहरू राज्यभवन, सम्मेलन भवन र बेथेल भवनहरूको निर्माणजस्ता साँच्चैको निर्माण कार्यमा पनि भाग लिन्छन्‌। यसरी तिनीहरूले यहोवाको विस्तार भइरहेको संगठनको हेरचाह गर्न अभिषिक्‍त भाइहरूलाई सहयोग गर्छन्‌!

१७. यहोवाले आफ्ना जनहरूलाई महिमित पार्नुहुने एउटा तरिका के हो?

१७ यशैया ६०:१० को अन्तमा भनिएका शब्दहरू कत्ति प्रोत्साहनजनक छन्‌। यहोवा यसो भन्‍नुहुन्छ: “मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, र मेरो निगाहमा तँलाई मैले कृपा गरेको छु।” हो, यहोवाले १९१८/१९ तिर आफ्ना जनहरूलाई अनुशासन दिनुभएको थियो। तर त्यो अतीतको कुरा हो। आफ्ना अभिषिक्‍त जन तथा तिनीहरूका संगी अरू भेडालाई यहोवाले कृपा देखाउने समय अहिले हो। उहाँले तिनीहरूलाई दिनुभएको आशिष्‌ वा ‘महिमित पार्नुभएको’ प्रमाण, तिनीहरूको बगालमा भइरहेको असाधारण वृद्धि हो।

१८, १९. (क) आफ्नो संगठनमा आउने नवआगन्तुकहरूको लागि यहोवाले कस्तो प्रतिज्ञा गर्नुहुन्छ? (ख) यशैया ६० को बाँकी पदहरूले के बताउँछ?

१८ हरेक वर्ष हजारौं हजार थप “विदेशीहरू” यहोवाको संगठनसँग संगत गर्छन्‌ र अझ थुप्रैको लागि बाटो खुला रहनेछ। यहोवाले सियोनलाई यसो भन्‍नुहुन्छ: “तेरा शहरका मूल–ढोकाहरू पनि निरन्तर खुला रहनेछन्‌। मानिसहरूले तँकहाँ जाति जातिका धन–सम्पत्ति र तिनका राजाहरूलाई साथमा ल्याउन ती ढोकाहरू न दिउँसो न राती बन्द हुनेछन्‌।” (यशैया ६०:११) केही विरोधीहरूले ती “मूल-ढोकाहरू” बन्द गर्न खोज्नेछन्‌ तर तिनीहरू सफल हुनेछैनन्‌ भनी हामीलाई थाह छ। ती ढोका वा अरू खुला रहनेछन्‌ भनेर यहोवा आफैले भन्‍नुभएको छ। वृद्धि निरन्तर भइरहनेछ।

१९ यस आखिरी दिनमा आफ्ना जनहरूलाई महिमित पार्न यहोवाले अझ थप तरिकामा तिनीहरूलाई आशिष्‌ दिनुभएको छ। यशैया ६० को बाँकी पदहरूले ती तरिकाहरू भविष्यसूचक ढंगमा प्रकाश पार्छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• परमेश्‍वरको “स्त्री” को हुन्‌ र पृथ्वीमा तिनको प्रतिनिधित्व कसले गर्छ?

• सियोनको छोराछोरी कहिले घोप्टो परेर बसिरहेका थिए र तिनीहरू कहिले र कसरी ‘उठे’?

• विभिन्‍न प्रतीकहरू चलाएर यहोवाले राज्य प्रचारकहरूको संख्यामा अहिले भइरहेको वृद्धिबारे कसरी भविष्यवाणी गर्नुभयो?

• यहोवाले कसरी आफ्ना जनहरूमा ज्योति चम्काउनुभएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

यहोवाको “स्त्री[लाई]” उठ्‌ने आज्ञा दिइएको छ

[पृष्ठ १२-मा भएको चित्र]

जहाजहरू टाढा क्षितिजमा परेवाहरूजस्तो देखिन्छन्‌