सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू सत्यमा हिंडिरहन्छन्‌

तिनीहरू सत्यमा हिंडिरहन्छन्‌

तिनीहरू सत्यमा हिंडिरहन्छन्‌

“मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।”—३ यूहन्‍ना ४.

१. “सुसमाचारको सत्यता” कुन कुरामा केन्द्रित छ?

 यहोवाले “आत्मा र सत्यतामा” उपासना गर्नेहरूलाई मात्र अनुमोदन गर्नुहुन्छ। (यूहन्‍ना ४:२४) तिनीहरू सत्यअनुसार हिंड्‌छन्‌, परमेश्‍वरको वचनमा आधारित सबै मसीही शिक्षाहरू स्वीकार्छन्‌। यो “सुसमाचारको सत्यता[ले]” येशू ख्रीष्ट अनि राज्यद्वारा उच्च पार्ने यहोवाको सार्वभौमिकतामा ध्यान केन्द्रित गर्छ। (गलाती २:१४) झूट रुचाउनेहरूलाई परमेश्‍वरले “भर्माउने शक्‍ति” रहन दिनुहुन्छ तर सुसमाचारमा विश्‍वास गर्नु र सत्यमा हिंड्‌नुमा उद्धार निर्भर छ।—२ थिस्सलोनिकी २:९-१२; एफिसी १:१३, १४.

२. प्रेरित यूहन्‍ना विशेष गरी आनन्दित हुनुको कारण के थियो अनि गायससित तिनको कस्तो सम्बन्ध थियो?

परमेश्‍वरको राज्यका उद्‌घोषकहरू “सत्यका सहकर्मी” हुन्‌। प्रेरित यूहन्‍ना र तिनका मित्र, गायसले जस्तै तिनीहरू अटल भएर सत्यलाई पक्रिराख्छन्‌ र सत्यमै हिंड्‌छन्‌। गायसलाई मनमा राख्दै यूहन्‍नाले यस्तो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्‍ना ३-८) वृद्ध भइसकेका यूहन्‍नाले गायसलाई सत्य नबताएको भए तापनि प्रेरितको ढल्कँदो उमेर, मसीही परिपक्वता तथा बुबाको जस्तो स्नेहले गर्दा उमेरमा कान्छो गायसलाई यूहन्‍नाको आध्यात्मिक छोराछोरीसरह ठान्‍नु उपयुक्‍त थियो।

सत्य तथा मसीही उपासना

३ प्रारम्भिक मसीहीहरूले सभा गर्नुको उद्देश्‍य तथा लाभ के थियो?

सत्य सिक्न प्रारम्भिक मसीहीहरू मण्डलीको रूपमा प्रायजसो निजी घरहरूमा भेला हुन्थे। (रोमी १६:३-५) यसरी तिनीहरूले प्रोत्साहन पाए अनि एकअर्कालाई प्रेम र सुकर्ममा उत्तेजित गराए। (हिब्रू १०:२४, २५) अलि पछिका मसीही भनौंदाहरूबारे टर्टुलियनले (सा.यु. १५५ तिरदेखि–सा.यु. २२० पछिसम्म) यस्तो लेखे: “हामी परमेश्‍वरका पुस्तकहरू पढ्‌न भेला हुन्छौं . . . ती पवित्र वचनहरूद्वारा हामी आफ्नो विश्‍वासलाई बलियो बनाउँछौं, आशालाई सक्रिय बनाउँछौं अनि विश्‍वस्ततालाई सबल बनाउँछौं।”—अपोलोजी, अध्याय ३९.

४. गीत गाउनुले मसीही सभाहरूमा कस्तो भूमिका खेलेको छ?

सम्भवतः गीत गाउनु प्रारम्भिक मसीहीहरूको सभाको भाग थियो। (एफिसी ५:१९; कलस्सी ३:१६) प्राध्यापक हेन्री चाडविकले लेखेअनुसार दोस्रो शताब्दीका आलोचक सेल्ससलाई मसीही भनौंदाहरूले प्रयोग गर्ने गरेको सांगीतिक धून “असाध्यै राम्रो लागेको हुँदा त्यसले आफ्नो भावनामा पारेको प्रभावप्रति विचलित हुन्थे।” चाडविक थप लेख्छन्‌: “अलेक्जेन्ड्रियाको क्लेमेन्ट प्रारम्भिक मसीही लेखकहरूमध्ये हुन्‌ जसले मसीहीहरूको लागि कस्तो प्रकारको संगीत उपयुक्‍त होला भनेर छलफल गरेका थिए। तिनले यो संगीत कामवासनाले भरिएको नाच धून हुनुहुँदैन भनेका थिए।” (दी अर्ली चर्च, पृष्ठ २७४-५) प्रारम्भिक मसीहीहरूले एकसाथ भेला हुँदा गीत गाउने गरेजस्तै यहोवाका साक्षीहरू पनि बाइबल आधारित गीतहरू गाउँछन्‌ र त्यसको बोलमा परमेश्‍वर र उहाँको राज्यलाई जोडदार प्रशंसा गरिएको हुन्छ।

५. (क) प्रारम्भिक मसीही मण्डलीमा कसरी आध्यात्मिक निर्देशन प्रदान गरिन्थ्यो? (ख) साँचो मसीहीहरूले मत्ती २३:८, ९ मा लिपिबद्ध येशूका शब्दहरू कसरी लागू गरेका छन्‌?

प्रारम्भिक मसीही मण्डलीहरूमा निरीक्षकहरूले सत्य सिकाउँथे अनि सेवकाई सेवकहरूले सँगी विश्‍वासीहरूलाई विभिन्‍न तरिकामा सहयोग पुऱ्‍याउँथे। (फिलिप्पी १:१) परमेश्‍वरको वचन र पवित्र आत्मामा निर्भर परिचालक निकायले आध्यात्मिक निर्देशन प्रदान गर्थ्यो। (प्रेरित १५:६, २३-३१) धार्मिक पदवीहरू प्रयोग गरिंदैनथ्यो किनभने येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभएको थियो: “तिमीहरूलाई कसैले गुरु नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ।” (मत्ती २३:८, ९) यी तथा अन्य सन्दर्भमा प्रारम्भिक मसीही तथा यहोवाका साक्षीहरूबीच समानता पाइन्छ।

सत्य प्रचार गरेकोमा सताइएका

६, ७. साँचो मसीहीहरूले शान्तिपूर्ण सुसमाचार घोषणा गरे तापनि तिनीहरूप्रति कस्तो व्यवहार गरिएको छ?

प्रारम्भिक मसीहीहरूले शान्तिपूर्ण राज्यको सुसमाचार घोषणा गरे तापनि तिनीहरू येशूजस्तै सताइए। (यूहन्‍ना १५:२०; १७:१४) इतिहासकार जोन एल. फोन मोशाइमको विवरणअनुसार प्रथम शताब्दीका मसीहीहरू “अहानिकारक मानिसहरूको समूह थियो जसले राष्ट्र विरुद्ध कुनै पनि गलत सोचाइ वा हानि पुऱ्‍याउने विचार राख्दैनथे।” डा. मोशाइमले बताएअनुसार “रोमीहरूलाई मसीहीहरूसित रिस उठ्‌नुको कारण तिनीहरूको उपासनाको सरलता थियो किनभने यसमा गरिने पवित्र धर्मकर्म अरू कुनै जातिसित मिल्दैनथ्यो।” तिनले अझै यसो भने: “तिनीहरूले बलिदान चढाउँदैनथे, तिनीहरूको मन्दिर, मूर्ति, वेदी वा पूजाहारीवर्गबाट आएको आदेश हुँदैनथ्यो; अनि यी कुराहरूविनाको धर्म हुन सक्दैन भन्‍ने सोचाइ राख्ने अबुझ जनसाधारणको आलोचनाको योग्य हुन पर्याप्त थियो। यसकारण तिनीहरूलाई नास्तिकजस्तो ठानिन्थ्यो; अनि नास्तिक भएको आरोप लगाउन सकिने व्यक्‍तिहरूलाई रोमी नियमअनुसार मानव समाजको कीरो भन्‍न सकिन्थ्यो।”

मूर्तिपूजासम्बन्धी कार्यहरूबाट जीविकोपार्जन गरिरहेका पूजाहारी, कालिगढ तथा अन्य व्यक्‍तिहरूले मूर्तिपूजासम्बन्धी प्रचलनहरूमा भाग नलिने मसीहीहरूको विरोध गर्न जनसाधारणलाई उक्साउँथे। (प्रेरित १९:२३-४०; १ कोरिन्थी १०:१४) टर्टुलियनले यस्तो लेखे: “देशमाथि आइपरेको कुनै पनि विपत्ति, मानिसहरूले भोग्नुपरेको कुनै पनि दुर्दशाको दोष मसीहीहरूलाई लगाउँथे। शहरका पर्खालहरूको माथिसम्म बाढी आयो, नाइल नदीको पानी खेतहरूमा सिंचाइको लागि पर्याप्त भएन, वर्षा भएन वा भूकम्प गयो, अनिकाल, रूढी भयो भने तिनीहरूले तुरुन्तै यस्तो आवाज उठाइहाल्थे: “मसीहीहरूलाई सिंहको खोरमा फ्याँकिदेऊ!” जस्तोसुकै परिणाम भोग्नुपरे तापनि साँचो मसीहीहरू ‘मूर्तिहरूबाट जोगिएर बस्छन्‌।’—१ यूहन्‍ना ५:२१.

सत्य तथा धार्मिक पर्वहरू

८. सत्यको मार्गमा हिंड्‌नेहरूले किन क्रिसमस मनाउँदैनन्‌?

सत्यको मार्गमा हिंड्‌नेहरूले गैरशास्त्रीय पर्वहरूमा भाग लिंदैनन्‌ किनभने ‘अँध्यारोको उज्यालोसित संगति हुँदैन।’ (२ कोरिन्थी ६:१४-१८) उदाहरणका लागि, तिनीहरू डिसेम्बर २५ मा मनाइने क्रिसमस मनाउँदैनन्‌। “ख्रीष्ट जन्मनुभएको मिति यही हो भनेर कसैलाई पनि थाह छैन” भनी द वर्ल्ड बूक इन्साइक्लोपीडिया मानिलिन्छ। दी इन्साइक्लोपीडिया अमेरिकाना (१९५६ संस्करण) यसो भन्छ: “डिसेम्बर महिनाको बीचतिर मनाइने सार्टनालियाकै आधारमा क्रिसमसको रमझम गर्न थालियो।” म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “क्रिसमस मनाउनू भनेर परमेश्‍वरले कुनै आज्ञा दिनुभएको छैन न त यसको सुरुआतबारे नयाँ नियममै लेखिएको पाउँछौं।” डेली लाइफ इन द टाइम अफ जिजस भन्‍ने पुस्तक यसो भन्छ: “हिउँदको समय भएको हुँदा . . . गाईवस्तु भित्र गोठमा थिए; अनि यही कुराबाट मात्रै पनि हिउँदमा क्रिसमसको मिति परेको हुन सक्दैन किनभने सुसमाचारका पुस्तकहरूले गोठालाहरू बाहिर चौरमा थिए भनेका छन्‌।”—लूका २:८-११.

९. यहोवाका विगत तथा वर्तमानका सेवकहरूले किन इस्टर उत्सव मनाएका छैनन्‌?

इस्टर पर्वले ख्रीष्टको पुनरुत्थानको सम्झना गर्छ भन्‍ने गरिन्छ तर भरपर्दा स्रोतहरूले बताएअनुसार यो झूटो उपासनासित सम्बन्धित छ। द वेस्टमिनिस्टर डिक्सनरी अफ द बाइबल-ले बताएअनुसार इस्टर “ज्योति र वसन्तका ट्युटोनिक देवीको सम्मानमा मनाइने पर्व थियो जसलाई एंग्लो-साक्सनमा एस्ट्रे” वा इयोस्तर भनिन्थ्यो। जे होस्‌, इन्साइक्लोपीडिया ब्रिटानिका (११ औं संस्करण) यसो भन्छ: “इस्टर पर्व मनाइएको कुनै पनि संकेत नयाँ नियममा पाइँदैन।” प्रारम्भिक मसीहीहरूले इस्टर मनाउँदैनथे र यहोवाका वर्तमान सेवकहरूले पनि मनाउँदैनन्‌।

१०. येशूले कुन उत्सव स्थापना गर्नुभयो अनि यो आजसम्म कसले मनाइरहेका छन्‌?

१० येशूले आफ्ना चेलाहरूलाई उहाँको जन्म वा पुनरुत्थानको सम्झना गर्नु भन्‍ने आज्ञा दिनुभएन तर उहाँले आफ्नो छुडौतीरूपी मृत्युको सम्झनामा स्मरणार्थ उत्सव स्थापना गर्नुभयो। (रोमी ५:८) निस्सन्देह, उहाँले आफ्ना चेलाहरूलाई मनाउने आज्ञा दिनुभएको एक मात्र उत्सव यही हो। (लूका २२:१९, २०) यसलाई प्रभुको साँझको भोज पनि भनिन्छ र यो यहोवाका साक्षीहरूले मनाउने वार्षिक उत्सव हो।—१ कोरिन्थी ११:२०-२६.

पृथ्वीभरि घोषणा गरिएको सत्य

११, १२. सत्यको मार्गमा हिंड्‌नेहरूले प्रचारकार्यलाई कसरी सधैं टेवा पुऱ्‍याइरहेका छन्‌?

११ सत्य थाह पाइसकेकाहरूले सुसमाचार प्रचार गर्न आफ्नो समय, शक्‍ति तथा अन्य स्रोतसाधन खर्च गर्नु आफ्नो सुअवसर ठान्छन्‌। (मर्कूस १३:१०) प्रारम्भिक मसीहीहरूको प्रचारकार्यलाई स्वेच्छिक अनुदानले टेवा पुऱ्‍याइरहेको थियो। (२ कोरिन्थी ८:१२; ९:७) टर्टुलियनले यस्तो लेखे: “पैसा संकलन गर्न कुनै प्रकारको बाकस राखिए तापनि धर्म भनेको व्यापारिक लेनदेनको कुरा जस्तो गरी प्रवेश शुल्कबाट संकलन गरिएको पैसाबाट बनाइएको थिएन। हरेक व्यक्‍तिले प्रत्येक महिना वा आफूलाई अनुकूल समयमा थोरै रकम ल्याउँथे र त्यो पनि आफूले चाहेको वा अनुदान दिन सक्ने खण्डमा; किनभने कसैलाई जबरजस्ती छैन; यो स्वेच्छिक भेटी हो।”— अपोलोजी, अध्याय ३९.

१२ यहोवाका साक्षीहरूको विश्‍वव्यापी राज्य प्रचारकार्यलाई पनि स्वेच्छिक अनुदानहरूले टेवा पुऱ्‍याइरहेको छ। साक्षीहरूबाहेक अरू कृतज्ञ जिज्ञासु व्यक्‍तिहरू पनि आफूले अनुदान दिएर यो कार्यलाई सहयोग गर्नु आफ्नो सुअवसर ठान्छन्‌। यस सन्दर्भमा पनि प्रारम्भिक मसीहीहरू तथा यहोवाका साक्षीहरूबीच समानता पाइन्छ।

सत्य तथा व्यक्‍तिगत आचरण

१३. आचरणको सन्दर्भमा यहोवाका साक्षीहरूले पत्रुसको कुन सल्लाह पालन गर्छन्‌?

१३ सत्यको मार्गमा हिंड्‌ने व्यक्‍तिहरूको हैसियतमा प्रारम्भिक मसीहीहरूले प्रेरित पत्रुसको यो सल्लाह पालन गरे: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रुस २:१२) यहोवाका साक्षीहरूले यी शब्दहरूलाई गम्भीरतापूर्वक लिन्छन्‌।

१४. मसीहीहरूले अनैतिक मनोरञ्जनप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

१४ धर्मत्यागले टाउको उठाउन थालिसकेपछि पनि मसीही भनौंदाहरू अनैतिक आचरणहरूमा सहभागी भएनन्‌। चर्चको इतिहाससम्बन्धी प्राध्यापक, डब्ल्यु. डि. किलेनले यस्तो लेखे: “दोस्रो र तेस्रो शताब्दीका सबै ठूलठूला शहरहरूको प्रमुख आकर्षणको केन्द्र भनेको रंगमञ्च थियो; अनि रंगकर्मीहरूको नैतिक स्तर एकदमै पतित हुन्थ्यो र त्यस युगका मानिसहरूको कामवासनालाई तृप्त पारिरहेको हुन्थ्यो। . . . सबै साँचो मसीहीहरूले रंगमञ्चलाई घृणित कुरा ठान्थे। . . . त्यसको अभद्रता देखेर नाक खुम्च्याउँथे; अनि सधैंजसो मूर्तिपूजक देवदेवीहरूलाई गुणगान गर्ने हुँदा मसीहीहरूको धार्मिक विश्‍वासलाई सह्‍य हुँदैनथ्यो।” (दी एन्शियन्ट चर्च, पृष्ठ ३१८-१९) अहिले येशूका साँचो अनुयायीहरूले पनि अभद्र तथा पतित मनोरञ्जनबाट टाढै बस्छन्‌।—एफिसी ५:३-५.

सत्य तथा “उच्च अख्तियारवालाहरू”

१५, १६. “उच्च अख्तियारवालाहरू” को हुन्‌ अनि सत्यको मार्गमा हिंड्‌नेहरूले तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

१५ प्रारम्भिक मसीहीहरूको असल आचरणको बावजूद अधिकांश रोमी सम्राट्‌हरूले तिनीहरूको गलत अर्थ लगाए। इतिहासकार इ. जि. हार्डीका अनुसार सम्राट्‌हरूले तिनीहरूलाई “अलि निन्दनीय” ठान्थे। बिथिनियाको बडाहाकिम प्लाइनी द यंगर र सम्राट्‌ ट्राजानबीच आदानप्रदान भएको चिठीपत्रअनुसार शासक वर्गलाई मसीहीधर्म वास्तवमा के हो भनेर थाह थिएन। मसीहीहरूले सरकारप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

१६ येशूका प्रारम्भिक अनुयायीहरूजस्तै यहोवाका साक्षीहरू सरकारी “उच्च अख्यितारवालाहरूका” सापेक्षिक अधीनतामा बस्छन्‌। (रोमी १३:१-७) मानिसको माग र ईश्‍वरीय इच्छाबीच द्वन्द्व भएको खण्डमा तिनीहरूले यस्तो अडान लिनेछन्‌: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) आफ्टर जिजस द ट्रायम्फ अफ क्रिश्‍चियानिटी भन्‍ने पुस्तक यसो भन्छ: “हुन त मसीहीहरूले सम्राट्‌को उपासनामा भाग लिएनन्‌ तर तिनीहरू हुलदंगा मच्चाउने मानिसहरू थिएनन्‌ र तिनीहरूको धर्म, गैरमसीही धर्मको दृष्टिकोणबाट अनौठो देखिए तापनि सम्राट्‌को लागि भने कुनै खतरा थिएन।”

१७. (क) प्रारम्भिक मसीहीहरू कुन सरकारका समर्थक थिए? (ख) ख्रीष्टका साँचो अनुयायीहरूले यशैया २:४ आफ्नो जीवनमा कसरी लागू गरेका छन्‌?

१७ प्रारम्भिक मसीहीहरूले परमेश्‍वरको राज्यलाई समर्थन गर्थे जसरी कुलपिता अब्राहाम, इसहाक अनि याकूबले ‘परमेश्‍वरले बनाउनु भएको शहरको’ प्रतिज्ञामा विश्‍वास राख्थे। (हिब्रू ११:८-१०) आफ्नो मालिक, येशूजस्तै उहाँका चेलाहरू “संसारका” भाग थिएनन्‌। (यूहन्‍ना १७:१४-१६) अनि मानव युद्ध तथा कलहको बेला तिनीहरूले ‘तरवार पिटेर हलोको फाली’ बनाएर शान्ति पछ्याएका छन्‌। (यशैया २:४) यसैसित मिल्ने कुराबारे चर्चको इतिहाससम्बन्धी प्राध्यापक जेफ्री एफ. नटलले यस्तो टिप्पणी गरे: “युद्धप्रति प्रारम्भिक मसीहीहरूको दृष्टिकोण अहिले आफूलाई यहोवाका साक्षी भन्‍ने मानिसहरूसित मिल्दोजुल्दो छ तर हामीलाई यो कुरा स्वीकार्न साह्रै गाह्रो लाग्छ।”

१८. यहोवाका साक्षीहरूसित किन कुनै पनि सरकार डराउनुपर्ने कारण छैन?

१८ “उच्च अख्तियारवालाहरू[को]” अधीनमा बस्ने तटस्थ व्यक्‍तिहरूको हैसियतमा प्रारम्भिक मसीहीहरू कुनै पनि राजनैतिक शक्‍तिको लागि खतरा थिएन र यहोवाका साक्षीहरूको कुरा पनि त्यही हो। “यहोवाका साक्षीहरू कुनै राजनैतिक शक्‍तिको लागि खतरा हुन भन्‍ने सोचाइ राख्नु पक्षपातपूर्ण तथा अतार्किक धारणाको उपज हो” भनी उत्तर अमेरिकी सम्पादकले लेखे। “तिनीहरू जत्तिको आज्ञाकारी तथा शान्तिप्रिय समूह अरू छँदैछैनन्‌।” सही ज्ञान पाएका अख्तियारवालाहरूलाई यहोवाका साक्षीहरू कुनै प्रकारको खतरा होइन भनेर राम्ररी थाह छ।

१९. कर तिर्ने सन्दर्भमा प्रारम्भिक मसीही तथा यहोवाका साक्षीहरूबारे के भन्‍न सकिन्छ?

१९ प्रारम्भिक मसीहीहरूले “उच्च अख्तियारवालाहरू[लाई]” आदर देखाएको एउटा तरिका, कर तिरेर थियो। “अरू मानिसहरूले भन्दा” मसीहीहरूले कर तिर्छन्‌ भनेर जस्टिन मार्टियरले रोमी सम्राट्‌ एन्टोनियस पायसलाई (१३८-१६१ सा.यु.) पत्र लेखेका थिए। (फर्स्ट अपोलोजि, अध्याय १७) अनि टर्टुलियनले रोमी शासकहरूलाई भने, तिनीहरूका कर संकलकहरू “मसीहीहरूप्रति कृतज्ञ हुनुपर्छ” किनभने तिनीहरूले कर तिर्ने सन्दर्भमा कुनै जालझेल गरेका छैनन्‌। (अपोलोजि, अध्याय ४२) मसीहीहरूले पाक्स रोमाना वा रोमी शान्तिबाट लाभ उठाए किनभने यसले गर्दा सुव्यवस्था हुनुका साथै बाटोघाटो राम्रो र समुद्री यात्रा पनि सुरक्षित थियो। समाजप्रतिको दायित्वलाई मानि लिंदै तिनीहरूले येशूको यो आज्ञा पालन गरे: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” (मर्कूस १२:१७) यहोवाका जनहरूले आज यो आज्ञा पालन गर्छन्‌ अनि तिनीहरूले कर तिर्ने सन्दर्भमा देखाएको इमानदारीताको निकै प्रशंसा गरिएको छ।—हिब्रू १३:१८.

सत्य—एकतामा बाँध्ने शक्‍ति

२०, २१. शान्तिप्रिय भ्रातृत्वको सन्दर्भमा प्रारम्भिक मसीहीहरू तथा यहोवाका वर्तमान सेवकहरूमाझ कुन कुरा साँचो साबित भएको छ?

२० प्रारम्भिक साँचो मसीहीहरू सत्यको मार्गमा हिंडेको हुँदा तिनीहरू शान्तिमय भ्रातृत्वमा बाँधिए र आज यहोवाका साक्षीहरू पनि त्यसरी नै बाँधिएका छन्‌। (प्रेरित १०:३४, ३५) द मस्को टाइम्स-मा छापिएको एउटा पत्रमा यसो भनिएको थियो: “[यहोवाका साक्षीहरू] एकदमै मित्रैलो, दयालु अनि नम्र व्यक्‍तिहरू भनेर चिनिन्छन्‌, अरू मानिसहरूसित मिलनसार व्यवहार गर्छन्‌, कुनै दबाउ दिंदैनन्‌ अनि सधैं शान्तिपूर्ण सम्बन्ध राख्ने प्रयास गर्छन्‌ . . . तिनीहरूमध्ये कसैले घूस लिंदैनन्‌, मात्तिंदैनन्‌ वा लागूपदार्थको दुर्व्यसन गर्दैनन्‌ अनि यसको कारण सरल छ: तिनीहरू आफूले गर्ने वा भन्‍ने सबै कुरामा बाइबल आधारित विश्‍वासअनुसार चल्ने प्रयास गर्छन्‌। यो संसारमा सबै मानिसहरू बाइबलमा बताइएअनुसार यहोवाका साक्षीहरूले जस्तो मात्र जीवन बिताउने कोसिस गरेका भए यो क्रूर संसार अर्कै हुनेथियो।”

२१ इन्साइक्लोपीडिया अफ अर्ली क्रिश्‍चियानिटी यसो भन्छ: “प्रारम्भिक चर्चले आफू एउटा नयाँ जातिजस्तो ठान्थ्यो जसमा कुनै समय दुस्मन रहेका यहूदी तथा अन्यजातिहरू एकसाथ मिलेर शान्तिसित बस्न सक्थे।” यहोवाका साक्षीहरू पनि शान्तिप्रिय अन्तरराष्ट्रिय भ्रातृत्व हो, साँच्चै एउटा नयाँ विश्‍व समाज हो। (एफिसी २:११-१८; १ पत्रुस ५:९; २ पत्रुस ३:१३) दक्षिण अफ्रिकाको प्रिटोरिया रंगशालाका प्रमुख सुरक्षा अधिकृतले सबै जातिका साक्षी प्रतिनिधिहरू शान्तिसित मिलेर बसिरहेको देखेपछि यस्तो टिप्पणी गरे: “सबै शिष्ट थिए र छन्‌ अनि एकअर्कासित मित्रैलो ढंगमा कुरा गरिरहेका थिए र विगत केही दिनमा तिनीहरूले यस्तै मनोभाव देखाए—यसले तपाईंको समाजका सदस्यहरूको नैतिक गुणस्तर झल्काउँछ र सबै एउटा सुखी परिवारजस्तो बसिरहेका छन्‌।”

सत्य सिकाएकोले आशिषित्‌

२२. मसीहीहरूले सत्य सिकाउन थालेदेखि के भइरहेको छ?

२२ पावल र अरू मसीहीहरूले आफ्नो आचरण तथा प्रचारकार्यद्वारा ‘सत्य देखाए।’ (२ कोरिन्थी ४:२) के यहोवाका साक्षीहरूले यही काम गरिरहेका छन्‌ र सबै राष्ट्रका मानिसहरूलाई सत्य सिकाइरहेका छन्‌ भनेर तपाईं सहमत हुनुहुन्‍न र? संसारभरिका मानिसहरूले साँचो उपासनालाई अंगालिरहेका छन्‌ र बढ्‌दो संख्यामा ‘यहोवाको पर्वतमा उक्लिरहेका’ छन्‌। (यशैया २:२, ३) हरेक वर्ष हजारौं व्यक्‍तिहरूले परमेश्‍वरप्रति आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रकट गर्छन्‌ अनि फलस्वरूप थुप्रै नयाँ मण्डलीहरू स्थापना भइरहेका छन्‌।

२३. सबै राष्ट्रलाई सत्यको मार्ग सिकाउनेहरूप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ?

२३ विभिन्‍न पृष्ठभूमिबाट आएका भए तापनि यहोवा जनहरू साँचो उपासनामा एकताबद्ध छन्‌। तिनीहरूले देखाउने प्रेमले तिनीहरूलाई ख्रीष्टका चेलाहरू भनी चिनाउँछ। (यूहन्‍ना १३:३५) के तपाईं ‘परमेश्‍वर तिनीहरूका बीचमा हुनुहुन्छ’ भनेर महसुस गर्नुहुन्छ? (१ कोरिन्थी १४:२५) के तपाईं सबै राष्ट्रलाई सत्यको मार्ग सिकाउने व्यक्‍तिहरूलाई साथ दिनुहुन्छ? दिनुहुन्छ भने, तपाईंले सत्यप्रति अनन्त कृतज्ञता देखाउन र त्यसैको मार्गमा सदा सर्वदा हिंडिरहन सकून्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• उपासनाको सन्दर्भमा प्रारम्भिक मसीही तथा यहोवाका साक्षीहरूबीच कस्तो समानता छ?

• सत्यको मार्गमा हिंड्‌नेहरूले मनाउने एक मात्र धार्मिक उत्सव कुन हो?

• “उच्च अख्तियारवालाहरू” को हुन्‌ र मसीहीहरूले तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

• सत्यले कसरी मानिसहरूलाई एकतामा बाँधेको छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

सत्यको मार्गमा हिंड्‌नेहरूको लागि मसीही सभाहरू सधैं इनामदायी साबित भएको छ

[पृष्ठ २३-मा भएका चित्रहरू]

येशूले आफ्ना अनुयायीहरूलाई उहाँको छुडौतीरूपी मृत्युको स्मरणार्थ मनाउने आज्ञा दिनुभयो

[पृष्ठ २४-मा भएको चित्र]

प्रारम्भिक मसीहीहरूजस्तै यहोवाका साक्षीहरूले “उच्च अख्तियारवालाहरू[ लाई]” आदर देखाउँछन्‌