सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धार्मिकता छर्नुहोस्‌, परमेश्‍वरको दया कटनी गर्नुहोस्‌

धार्मिकता छर्नुहोस्‌, परमेश्‍वरको दया कटनी गर्नुहोस्‌

धार्मिकता छर्नुहोस्‌, परमेश्‍वरको दया कटनी गर्नुहोस्‌

“अपरिचित मानिसको जमानी बस्नाले कहिल्यै शान्ति हुँदैन, तर कसैको जमानी नबस, र सुरक्षित होऊ।” (हितोपदेश ११:१५) यो सारगर्भित हितोपदेशले सोचविचार गरेर मात्र कदम चाल्न कस्तो सुस्पष्ट प्रोत्साहन दिन्छ! अपरिचित व्यक्‍तिको जमानी बस्नु भनेको समस्या निम्त्याउनु हो। पैसाको समस्यामा फस्नदेखि जोगिन हात नमिलाउनुहोस्‌ किनकि पुरातन इस्राएलमा हात मिलाएर कसैको जमानी बस्न सहमति जनाइन्थ्यो।

स्पष्टतः यहाँ लागू हुने सिद्धान्त हो: “मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) अगमवक्‍ता होशेले यसो भने: “आफ्ना धर्मको निम्ति बिउ रोप, दयाअनुसार कटनी गर।” (होशे १०:१२) हो, परमेश्‍वरको इच्छाअनुसार गरेर धार्मिकता छर्नुहोस्‌ अनि दयाको कटनी गर्नुहोस्‌। बारम्बार यो सिद्धान्त लागू गर्दै इस्राएलका राजा सुलेमानले सही कदम चाल्न, सत्य बोल्न तथा उचित मनोभाव देखाउन जोडदार प्रोत्साहन दिए। ती शब्दहरूलाई गहिरिएर केलाउँदा हामी धार्मिकताको निम्ति बीउ रोप्न प्रोत्साहन पाउनेछौं।—हितोपदेश ११:१५-३१.

“दया” छर्नुहोस्‌, “आदर” कटनी गर्नुहोस्‌

बुद्धिमान राजा यसो भन्छन्‌, “दयालु स्त्रीले आदर पाउँछिन्‌, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ।” (हितोपदेश ११:१६, नयाँ संशोधित संस्करण) यो पदले “दयालु स्त्रीले” पाउन सक्ने आदर र निर्दयी व्यक्‍तिले कमाउने क्षणिक सम्पत्तिबीचको भिन्‍नतालाई स्पष्ट पार्छ।

एक जना व्यक्‍तिले कसरी आदर पाउने दया हासिल गर्न सक्छन्‌? सुलेमान यस्तो सल्लाह दिन्छन्‌, “आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्‌, तेरो दृष्टिबाट ती फुत्केर नजाउन्‌। ती . . . तेरो छातीमा हारझैं हुनेछन्‌।” (हितोपदेश ३:२१, २२) अनि भजनरचयिताले ‘राजाको ओठ अनुग्रहले भरपूर भएको छ’ भनी बताउँछन्‌। (भजन ४५:१, २) हो, योग्यता, विवेक अनि जिब्रोको सही प्रयोगले कुनै पनि व्यक्‍तिको महत्त्व र दयालु स्वभावमा योगदान पुऱ्‍याउँछ। निस्सन्देह, विवेकशील स्त्रीमा यी गुणहरू हुन्छन्‌। यसको एउटा ज्वलन्त उदाहरण मूर्ख नाबालकी पत्नी अबीगेल हुन्‌। तिनी “सुन्दरी र बुद्धिमानी स्त्री थिइन्‌,” अनि राजा दाऊदले तिनको “बुद्धि[को]” प्रशंसा गरे।—१ शमूएल २५:३, ३३.

साँचो अनुग्रह हुने ईश्‍वरभीरु स्त्रीले पक्कै पनि आदर पाउनेछिन्‌। तिनले अरूबाट राम्रो नाम कमाउनेछिन्‌। यदि तिनी विवाहित हुन्‌ भने तिनले आफ्नो पतिबाट आदर पाउनेछिन्‌। वास्तवमा, तिनले गर्दा सम्पूर्ण परिवारले नै आदर पाउनेछन्‌। अनि तिनले पाउने त्यो आदर क्षणिक होइन। “धेरै धन-सम्पत्ति भन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो, सुन अथवा चाँदीभन्दा मान-इज्जत अझ असल हो।” (हितोपदेश २२:१) तिनले परमेश्‍वरसामु बनाएको असल नाउँको स्थायी मोल हुन्छ।

यो स्वभाव “निर्दयी मानिस[को]” स्वभावभन्दा ठीक विपरीत छ। (हितोपदेश ११:१६, नयाँ संशोधित संस्करण) निर्दयी मानिसहरू दुष्ट मानिसहरूको वर्गमा पर्छन्‌ र यिनीहरू यहोवाका उपासकहरूका विरोधी हुन्‌। (अय्यूब ६:२३; २७:१३) यस्ता मानिसहरूले ‘परमेश्‍वरलाई आफ्ना सामने राख्दैनन्‌।’ (भजन ५४:३) निर्दोषहरूलाई दबाएर अनि तिनीहरूबाट नाजायज फाइदा उठाएर यस्ता व्यक्‍तिले ‘कसिङ्‌गरसरह अनगन्ती धन–सम्पत्ति थुपार्न सक्छन्‌।’ (अय्यूब २७:१६) यद्यपि, केही समयपछि त्यो व्यक्‍ति कहिल्यै नउठ्‌ने गरी सुत्न सक्छन्‌, सम्भवतः उसको मृत्यु हुन सक्छ। (अय्यूब २७:१९) त्यसपछि उसका सारा सम्पत्ति अनि सफलताहरूको केही अर्थ रहँदैन।”—लूका १२:१६-२१.

हितोपदेश ११:१६ ले कस्तो महत्त्वपूर्ण पाठ सिकाउँछ! दया र निर्दयताले कटनी गर्ने फलबारे संक्षिप्तमा अनि स्पष्टसित बताएर इस्राएलका राजा हामीलाई धार्मिकता छर्न आग्रह गर्छन्‌।

“उदार” भावले इनाम ल्याउँछ

मानव सम्बन्धबारे अर्को व्यावहारिक पाठ सिकाउँदै सुलेमान यसो भन्छन्‌, “उदार मानिसले आफ्नै कल्याण ल्याउँछ, तर निष्ठूर मानिसले आफ्नै भाइबन्धुलाई कष्टमा पार्छ।” (हितोपदेश ११:१७) एक जना विद्वान्‌ यसो भन्छन्‌, “कुनै व्यक्‍तिले अरूसित चाहे राम्रो व्यवहार गरोस्‌ या नराम्रो, चिताउँदै नचिताएको वा अप्रत्याशित फल आफैले भोग्नुपर्छ।” लिसा a नाउँ गरेकी एक जवान स्त्रीलाई विचार गर्नुहोस्‌। राम्रै मनसाय भए तापनि तिनी आफूले दिएको समयमा कहिल्यै पुग्दिनन्‌। प्रचारकार्यमा जान अरू राज्य उद्‌घोषकहरूलाई भेट्‌नको लागि आफूले दिएको समयभन्दा ३० मिनेट वा त्योभन्दा ढिलो पुग्नु तिनको लागि साधारण कुरा हो। यसले लिसालाई कुनै लाभ पुऱ्‍याइरहेको छैन। आफ्नो अमूल्य समय खेर गएकोले तिनीहरू दिक्क भएमा र तिनीहरूले आइन्दा लिसासित भेट्‌न समय मिलाउन इन्कार गरेकोमा, के लिसाले त्यसको दोष अरू कसैलाई दिन सक्छिन्‌ र?

सिद्धताको अपेक्षा राख्ने वा कुनै पनि काममा अत्यन्तै उच्च स्तर कायम राख्ने व्यक्‍ति पनि आफूमाथि निष्ठुर भइरहेको हुन्छ। सधैं अप्राप्य लक्ष्यहरू प्राप्त गर्ने कोसिस गर्दा त्यस व्यक्‍तिले आफैंलाई अति थकित अनि निरुत्साहित बनाउँछ। अर्कोतिर, व्यावहारिक लक्ष्यहरू राखेको खण्डमा हामीले आफैलाई लाभ हुने कार्यहरू गरिरहेका हुन्छौं। सायद, हामी अरूजति कुनै कुरा छिट्टै बुझ्न नसकौंला अथवा रोग वा ढल्कँदो उमेरले हामीलाई कठिनाइ भइरहेको होला। आफ्नो आध्यात्मिक उन्‍नतिमा कहिल्यै दिक्क नहोऔं, तर आफ्ना सीमितताहरूसित डट्‌नु पर्दा सधैं व्यावहारिक भइ रहौं। आफ्नो क्षमताले भ्याएसम्म यथासक्दो गर्दा हामी खुसी हुन्छौं।—२ तिमोथी २:१५; फिलिप्पी ४:५.

धार्मिक व्यक्‍तिले कसरी आफ्नो हित गर्छ अनि निर्दयी व्यक्‍तिले कसरी हानि गर्छ भनी विस्तृत व्यख्या गर्दै बुद्धिमान्‌ राजा यसो भन्छन्‌: “दुष्ट मानिसले सत्यको धन कमाउँदैन, भलाइ रोप्नेले निश्‍चयनै प्रतिफल पाउँछ। धार्मिकतामा लाग्ने मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ। कुटिल हृदयलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर निर्दोष स्वभाव हुनेलाई उहाँले प्रिय ठान्‍नुहुन्छ। यो कुरा साँचो हो–दुष्ट मानिस सजायबाट उम्कनेछैन, तर धर्मी र त्यसका सबै सन्तानको केही हानि हुनेछैन।”हितोपदेश ११:१८-२१.

यी पदहरूले विभिन्‍न तरिकाहरूबाट यस मुख्य बुँदालाई जोड दिन्छ: धार्मिकतामा छर्नुहोस्‌ अनि यसका इनामहरू कटनी गर्नुहोस्‌। दुष्ट व्यक्‍तिले केही परिश्रम नगरी केही पाउन ठगी गर्ने वा जुवा खेल्ने जस्ता कार्य गर्न सक्छन्‌। यसरी आय आर्जन गर्नु गलत भएको हुँदा तिनी निराश हुन सक्छन्‌। इमानदार काम गर्ने व्यक्‍तिले सत्यको धन कमाउने हुनाले त्यसले उसलाई सुरक्षा प्रदान गर्छ। परमेश्‍वरको अनुमोदन पाउने हुनाले निर्दोष व्यक्‍तिले अनन्त जीवनको आशा राख्न सक्छ। तर खराब मानिसहरूलाई के हुनेछ? “यो कुरा साँचो हो” विश्‍वासघातको षड्यन्त्र गर्ने दुष्टहरू सजायबाट उम्कनेछैनन्‌। (हितोपदेश २:२१, २२) धार्मिकतामा छर्न कस्तो राम्रो सल्लाह!

विवेकी व्यक्‍तिको लागि साँचो सुन्दरता

सुलेमान अझ यसो भन्छन्‌, “विवेक नभएकी सुन्दरी स्त्री सुङगूरको थुतुनामा सुनको नत्थ लाएझैं हो।” (हितोपदेश ११:२२) बाइबल समयमा नत्थ एउटा लोकप्रिय श्रृंगार सामग्री थियो। नाकको एकापट्टिको भागमा वा नाकका प्वालहरूको बीचमा भएको पटमा छिराइने नत्थ स्त्रीहरू मुहारमा प्रस्टै देख्न सकिन्छ। यस्तो अति सुन्दर गहना सुंगुरको थुतुनामा लगाइदिंदा कति असुहाउँदो हुनेथियो! “विवेक” नभएको र केवल बाहिरी सुन्दरता भएको व्यक्‍ति पनि त्यस्तै हो। चाहे पुरुष हुन्‌ या स्त्री, यस्तो व्यक्‍तिलाई श्रृंगार सुहाउँदैन। त्यस्तो व्यक्‍तिलाई श्रृंगार असुहाउँदो हुनुका साथै अलिकता पनि आकर्षक बनाउँदैन।

हो, आफू अरूको अगाडी कस्तो देखिन्छु भनी चिन्ता लाग्नु स्वाभाविक हो। तर किन आफ्नो रूप वा शारीरिक बनौटप्रति अचाक्ली चिन्तित वा असन्तुष्ट हुने? जीवनमा धेरै कुराहरू हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन्‌। अनि शारीरिक बनौट नै सबै कुरा होइन। हामीलाई मनपर्ने अनि हामी आकर्षित भएका अधिकांश मानिसहरूको रूप रंग प्रायः साधारण नै हुन्छन्‌, होइन र? आनन्दित हुन नभई नहुने कुरा शारीरिक होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा त ईश्‍वरीय व्यक्‍तित्व झल्काउने चिरस्थायी गुणहरूको भित्री सौन्दर्य हो। त्यसैले हामी समझदार होऔं अनि यस्ता गुणहरू खेती गरौं।

“उदार मानिसको उन्‍नति हुन्छ”

राजा सुलेमान यसो भन्छन्‌, “धर्मी मानिसले असल कुराको मात्र लालसा गर्छ, तर दुष्टको आशा निष्फल हुन्छ।” यो कसरी हुन्छ देखाउन उनी फेरि यसो भन्छन्‌, “कोही मानिस उदार हातले खर्च गरेर पनि धनीनै हुन्छ, अर्कोले असाध्य जोहो गर्छ, रपनि गरीब भएरै मर्छ।”—हितोपदेश ११:२३, २४.

हामी आनन्दित भई परमेश्‍वरको वचन अरूलाई छर्छौं अर्थात्‌ सुनाउँछौं भने, हामीले पक्कै पनि यसको “चौडाइ, लमाइ, उँचाइ र गहराइ” बुझ्ने आफ्ना क्षमता विकास गरिरहेका हुन्छौं। (एफिसी ३:१८) अर्कोतिर, यो ज्ञान सदुपयोग नगरी त्यतिकै राख्ने व्यक्‍तिले आफूसित भएको ज्ञानसमेत गुमाउने डर हुन्छ। हो, “किफायतीसँग छर्नेले किफायतीसँगै काट्‌छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्‌छ।”—२ कोरिन्थी ९:६.

राजा फेरि यसो भन्छन्‌, “उदार मानिसको उन्‍नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।” (हितोपदेश ११:२५) साँचो उपासना अघि बढाउन उदार भई आफ्नो समय अनि भौतिक साधनहरू खर्च गर्दा यहोवा हामीसित प्रसन्‍न हुनुहुनेछ। (हिब्रू १३:१५, १६) उहाँले ‘स्वर्गका झ्यालहरू उघारेर हामीमाथि अटाउने ठाउँ पनि नहुने सम्मका आशिष्‌ वर्षाउनु हुनेछ।’ (मलाकी ३:१०) वर्तमान समयमा उहाँका सेवकहरूको आध्यात्मिक प्रगति हेर्नुहोस्‌ त!

धर्मी अनि दुष्टको लालसाबारे भिन्‍नता देखाउन अर्को उदाहरण दिंदै सुलेमान यसो भन्छन्‌, “अरूलाई अन्‍न नदिएर सञ्चय मात्र गर्नेलाई मानिसहरूले सराप्छन्‌, तर आफ्नो अन्‍न बेच्नेले आशिष पाउँछ।” (हितोपदेश ११:२६) मूल्य घटेको बेला प्रशस्त सामानहरू किनेर सञ्चय गर्नु अनि सामानको अभाव र भाऊ बढेको बेला बेच्नु मुनाफादायी हुन सक्छ। वस्तुको उपभोगलाई सीमित पारी सञ्चय गरेर केही फाइदा हासिल गर्न सक्ने भए तापनि साधारणतया मानिसहरूले त्यस्तो मानिसलाई मन पराउँदैन किनभने ऊ स्वार्थी हुन्छ। अर्कोतिर, आर्थिक लाभको लागि आपत्‌कालीन परिस्थितिबाट अचाक्ली फाइदा उठाउन नखोज्ने मानिस अरूको मन जित्न सफल हुन्छ।

जुन कुरा असल अनि धार्मिक छन्‌, तिनै कुराको लालसा गरिरहन प्रोत्साहित गर्दै इस्राएलका राजा यसो भन्छन्‌, “यत्नसित असल कुरो खोज्नेले निगाह प्राप्त गर्छ, तर मानिसले दुष्ट काम गर्न खोज्यो भने त्यो त्यसकै शिरमा आइलाग्छ। आफ्नो धन-सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ, तर धर्मी मानिस हरियो पातजस्तै लहलह भएर बढ़छ।”हितोपदेश ११:२७, २८.

धर्मात्माले उद्धार पाउँछ

मूर्ख कार्यले कसरी हानिकारक परिस्थितिलाई निम्त्याउँछ भनी देखाउँदै सुलेमान यसो भन्छन्‌, “आफ्नो सन्तानमाथि दु:ख ल्याउनेको भाग हावा हुन्छ।” (हितोपदेश ११:२९क) आकानको गलत कार्यले ‘तिनीमाथि संकष्ट ल्यायो,’ र तिनीलगायत तिनका परिवारका सदस्यहरूलाई ढुंगा हानेर मारियो। (यहोशू अध्याय ७) आज, मसीही परिवारको शिर तथा परिवारका अन्य सदस्यहरू गलत काममा संलग्न हुन सक्छन्‌ र फलतः मसीही मण्डलीबाट बहिष्कार हुन पुग्छन्‌। परमेश्‍वरको आज्ञाअनुसार नचलेर अनि परिवारमा गम्भीर गलत कार्यलाई हुन दिएर मानिसले आफ्नो परिवारमाथि संकष्ट ल्याउँछ। तिनीलगायत तिनको परिवारका अन्य सदस्यहरूलाई अपश्‍चात्तापी पापी भएको कारण मसीही संगतिबाट अलग गरिन्छ। (१ कोरिन्थी ५:११-१३) अनि तिनले के प्राप्त गर्नेछन्‌? केवल हावा—जसको कुनै महत्त्व र मूल्य हुँदैन।

उक्‍त पदको बाँकी भागले यसो भन्छ, “मूर्ख चाहिं बुद्धिमानको सेवक हुन्छ।” (हितोपदेश ११:२९ख) मूर्ख मानिससित व्यावहारिक बुद्धि नहुने हुनाले त्यस व्यक्‍तिलाई धेरै जिम्मेवारीहरू सुम्पन सकिंदैन। साथै आफ्नो व्यक्‍तिगत मामिलालाई व्यवस्थित रूपमा सुल्झाउन नसक्दा त्यस व्यक्‍ति कुनै न कुनै रूपले अरूप्रति भर पर्नुपर्ने हुन सक्छ। यस्ता मूर्ख व्यक्‍ति “बुद्धिमानको सेवक” बन्‍नु नै बेस हुनेछ। त्यसैले आफ्ना सबै व्यवहारहरूमा सही समझ अनि व्यावहारिक बुद्धि प्रयोग गर्नु नितान्त आवश्‍यक छ।

बुद्धिमान राजा हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌, “धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान्‌ हो।” (हितोपदेश ११:३०, नयाँ संशोधित संस्करण) यो कसरी हुन्छ? आफ्नो बोली अनि आचरणद्वारा धर्मी मानिसले अरूलाई आध्यात्मिक पोषण दिन्छ। तिनीहरू यहोवालाई सेवा गर्न उत्प्रेरित हुन्छन्‌ अनि अन्ततः परमेश्‍वरले सम्भव बनाउनु भएको जीवन पाउन सक्छन्‌।

‘पापीहरूले झन्‌ धेरै प्रतिफल पाउनेछन्‌’

माथि उल्लिखित हितोपदेशहरूले हामीलाई कति चित्त बुझ्ने किसिमले धार्मिकता छर्न आग्रह गर्छ! “मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ” भन्‍ने सिद्धान्तलाई प्रयोगमा ल्याउँदै सुलेमान यसो भन्छन्‌, “यदि देशका धर्मी मानिसले आफ्नो प्रतिफल पाउँछ भने झन्‌ बढ़ी दुष्ट मानिस र पापीले किन पाउँदैन र?”—हितोपदेश ११:३१.

धर्मी मानिसले असल कार्य गर्ने प्रयास गर्दा गर्दै पनि कहिलेकाहीं गल्ती गर्छ। (उपदेशक ७:२०) अनि आफ्नो गलत कार्यको लागि अनुशासित हुँदा तिनले “प्रतिफल” पाउँछन्‌। यद्यपि, जानाजानी खराब मार्ग रोज्ने अनि धार्मिकताको मार्गमा हिंड्‌न अलिकता पनि चेष्टा नगर्ने दुष्ट व्यक्‍तिलाई के हुन्छ? के त्यो व्यक्‍ति कठोर सजायको ‘प्रतिफल’ पाउन योग्यको हुँदैन र? प्रेरित पत्रुसले यस्तो लेखे, “धर्मात्माको कठिनसँग उद्धार हुन्छ भनेता अभक्‍त र पापीहरूको के ठेगान लाग्ला?” (१ पत्रुस ४:१८) त्यसैले धार्मिकतामा बिउ छरेर आफैलाई फाइदा पुऱ्‍याउन सधैं कटिबद्ध होऔं।

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

[पृष्ठ २८-मा भएको चित्र]

“दया” देखाउँदा अबिगेलले “आदर” पाइन्‌

[पृष्ठ ३०-मा भएका चित्रहरू]

‘दुष्ट मानिसले सत्यको धन कमाउँदैन, धर्मीले प्रतिफल पाउँछ’

[पृष्ठ ३१-मा भएको चित्र]

‘प्रशस्तसँग छर्नुहोस्‌, प्रशस्तसँगै काट्‌नुहोस्‌’