सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नरकको आगो के भएको छ?

नरकको आगो के भएको छ?

नरकको आगो के भएको छ?

नरक भन्‍ने शब्द सुन्‍ने बित्तिकै तपाईंको मनमा कस्तो चित्र आउँछ? के यो अनन्त यातना अनि पीडा दिने आगो र गन्धक दन्किरहेको साँच्चैको ठाउँ हो? अथवा नरक कुनै अवस्थाको प्रतीकात्मक वर्णन मात्र पो हो कि?

शताब्दीयौं देखि मसीहीजगत्‌का धार्मिक नेताहरूले, पापीहरूले असह्‍य पीडा दिने दन्किरहेको नरकमा सास्ती भोग्नुपर्छ भन्‍ने भान मानिसहरूमा पारेका छन्‌। अन्य थुप्रै धार्मिक समुदायहरूमा अहिले पनि यो विचार त्यतिकै प्रचलित छ। यू.एस न्युज एण्ड वर्ल्ड रिपोर्ट यसो भन्छ, “नरक भन्‍ने शब्दलाई यति व्यापक बनाउनुमा मसीहीधर्मकै हात हुन सक्छ। तर यो सिद्धान्तमा मसीहीधर्मको मात्र एकाधिकार छैन। प्रायः विश्‍वका सबै प्रमुख तथा केही साना धर्महरूमा मृत्यपछि पाइने पीडादायी दण्डको डर विद्यमान छ।” हिन्दू, बौद्ध, मुसलमान, जैन तथा ताओ धर्मावलम्बीहरूले नरकलाई कुनै न कुनै रूपमा विश्‍वास गरेकै हुन्छन्‌।

यद्यपि, आधुनिक मानसपटलमा नरकको बेग्लै चित्र छ। माथि उल्लिखित पत्रिका अझ यसो भन्छ, “साँच्चैको दन्किरहेको नरकप्रति विश्‍वास गर्ने मानिसहरू अझै भए तापनि अनन्त नारकीय यातना भनेको अहिल्यै घोर दुःख खपेर एक्लै बस्नुपर्ने अवस्था हो भन्‍ने धारणा पनि विकास हुन थालेका छन्‌। त्यसैले मानिसहरूले विश्‍वास गरेजस्तो नरक साँच्चैको अग्निकुण्ड नहुन सक्छ।”

जेसुइट पत्रिका ला सिभिल्टा काटोलिका-ले यसो भन्यो: “परमेश्‍वरले दण्डस्वरूप प्रेतहरूलाई चलाएर दन्किरहेको आगोमा क्रूर यातना दिनुहुन्छ भनी विचार गर्नु . . . एउटा भ्रम हो।” उक्‍त पत्रिका अझै यसो भन्छ: “नरक कुनै एउटा निश्‍चित स्थान होइन तर यसले परमेश्‍वरसित अलग रहँदा एउटा व्यक्‍तिले भोग्ने मानसिक पीडालाई चित्रित गर्छ।” पोप जोन पल द्वितीयले १९९९ मा यसो भने: “नरकले कुनै एउटा निश्‍चित स्थानलाई होइन तर सारा जीवन अनि आनन्दको स्रोत परमेश्‍वरबाट आफैलाई स्वेच्छाले अनि पूर्णतया अलग राख्ने व्यक्‍तिको अवस्थालाई जनाउँछ।” नरकलाई अग्निकुण्डको रूपमा देखाइएका तस्वीरहरूबारे उनले यसो भने: “त्यसले परमेश्‍वरबाट अलग्गिएको जीवन कत्तिको निराशजनक र अर्थहीन हुन्छ भनी बोध गराउँछ।” चर्चका इतिहासकार मार्टिन मार्टिको भनाइअनुसार यदि पोपले नरकमा “दन्किरहेको आगो अनि दाँतेसहितको रातो वस्त्र लगाएको शैतान” हुन्छ भनी व्याख्या गरेको भए मानिसहरूले तिनलाई विश्‍वासै गर्ने थिएनन्‌।”

अन्य धार्मिक समूहहरूमा पनि यस्तै परिवर्तनहरू आएका छन्‌। चर्च अफ इंगल्याण्डको सैद्धान्तिक नियोगले जारी गरेको रिपोर्टले यसो भन्यो: “नरक अनन्त यातना होइन तर परमेश्‍वरबाट पूर्णतया विमुख रहने जीवन शैली हो, यसको परिणाम सदाको लागि अस्तित्वबाट मेटिनु हो।”

युनाइटेड स्टेट इपिस्कोपल चर्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमले नरकलाई “परमेश्‍वरलाई इन्कार गर्दा प्राप्त हुने अनन्त मृत्यु” भनी व्याख्या गऱ्‍यो। यू. एस न्युज एण्ड वर्ल्ड रिपोर्ट-का अनुसार “दुष्ट मानिसहरूको अन्त अनन्त यातना नभएर विनाश हो भन्‍ने धारणालाई बढवा दिने मानिसहरूमा वृद्धि भइरहेको छ। . . . [तिनीहरूको] विचारमा परमेश्‍वरलाई पूर्णतया इन्कार गर्नेहरूलाई अस्तित्व नै मेटिने गरी ‘अग्निकुण्डमा’ फ्याँकिनेछन्‌।

आधुनिक समाज आगो र गन्धकको मानसिकताबाट उम्कन खोजे तापनि नरक साँच्चैको याताना दिइने ठाउँ हो भन्‍ने विश्‍वास धेरैको मनबाट हट्‌न सकेको छैन। संयुक्‍त राज्य अमेरिका, ल्युइसभिल, केन्टकीस्थित साउथन बप्तिस्ट थियोलोजिकल सेमिनरीका अल्बर्ट मोलर यसो भन्छन्‌, “धर्मशास्त्रले स्पष्टसित नरक साँच्चैको यातना दिइने अग्निकुण्ड हो भनेर बताउँछ।” अनि इभान्जेलिकल अलायन्स कमीशनद्वारा तयार पारिएको नेचर अफ हेल शीर्षकको रिपोर्टमा यसो भनिएको छ: “नरक भनेको इन्कार अनि यातनाको अनुभूति मात्र हो।” सोही रिपोर्टले अझ यसो भन्छ: “नरकमा दिइने सजाय अनि यातनाको मात्रा पृथ्वीमा कत्तिको पाप गरेको छ त्यसमा निर्भर हुन्छ।”

फेरि एकचोटि, के नरक अनन्त यातना वा विनाशको दन्किरहेको अग्निकुण्ड हो? वा यो केवल परमेश्‍वरबाट विमुख भएको अवस्था हो? वास्तवमा नरक भनेको के हो?

[पृष्ठ ४-मा भएको पेटी/चित्रहरू]

नरकको संक्षिप्त इतिहास

मसीही भनौंदाहरूले कहिलेदेखि नरकको विश्‍वास ग्रहण गरे? येशू अनि उहाँका प्रेरितहरूको समय पछि। फ्रान्सिसी इन्साइक्लोपीडिया यूनिभर्सल यसो भन्छ, “नरकमा पापीहरूलाई दिइने सजाय र यातनाको रूपमा वर्णन गर्ने पहिलो [सन्दिग्ध] मसीही एपोक्यास्पी अफ पिटर (सा.यू. दोस्रो शताब्दी) थिए।”

यद्यपि, पुरातन चर्चका फादरहरू नरकको कुरामा असहमति थियो। जस्टिन मार्टर, क्लिमेन्ट अफ एलेक्सजान्ड्रिया, टर्टुलियन अनि किपराइन नरक एउटा दन्किरहेको अग्निकुण्ड हो भनी विश्‍वास गर्थे। अर्जन र धर्मविज्ञानी नीसका ग्रेगोरीको सोचाइमा नरक परमेश्‍वरबाट विमुख हुने अर्थात्‌ आध्यात्मिक पीडा भोग्ने स्थान हो। अर्कोतिर, हिप्पोका अगस्टिनको विश्‍वासमा नरक आध्यात्मिक अनि अनुभूति गर्न सक्ने पीडा हो र यस विचारले मान्यता पनि पायो। प्राध्यापक जे. एन. डि केलीले यस्तो लेखे, “पापीहरूले हालको जीवनपछि दोस्रो मौका पाउनेछैनन्‌ अनि तिनीहरूलाई सखाप पार्ने आगोलाई कहिल्यै निभाइने छैन भन्‍ने कठोर सिद्धान्त पाँचौं शताब्दीदेखि यता व्याप्त हुनथाल्यो।”

सोह्रौं शताब्दीमा मार्टिन लुथर र जोन क्यालभीन जस्ता प्रोटेस्टेन्ट सुधारवादीहरूले नरकको अग्निकुण्डमा दिइने यातनाको अर्थ परमेश्‍वरबाट सधैंको लागि विमुख भएर बिताइने लाक्षणिक जीवन हो भनेर बुझे। यद्यपि, त्यसपछिको दुई शताब्दीहरूमा नरक एउटा यातना दिइने ठाउँ हो भन्‍ने विचारको पुनरागमन भयो। प्रोटेस्टेन्ट प्रचारक जोनाथन एडवार्डस्‌ले नरकलाई चित्रण गर्ने विभिन्‍न चित्रहरू चलाएर १८ औं शताब्दीका प्रवासी अमेरिकीहरूको मनमा डर पैदा गरिदिए।

यद्यपि, त्यसको केही समयपछि नरकको ज्वाला बिस्तारै निभ्दै गयो। यू. यस न्युज एण्ड वर्ल्ड रिपोर्ट यसो भन्छ, “बीसौं शताब्दीमा त झन्‌ नरकको मृत्यु नै हुनलागेको थियो।”

[चित्रहरू]

नरक एउटा दन्किरहेको अग्निकुण्ड हो भनी जस्टिन मार्टर विश्‍वास गर्थे

हिप्पोका अगस्टिनले नरकको पीडा आध्यात्मिक अनि शारीरिक हो भनी सिकाए