सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नरक वास्तवमा के हो?

नरक वास्तवमा के हो?

नरक वास्तवमा के हो?

“नरक भन्‍ने बित्तिकै तपाईंको मानसपटलमा जस्तोसुकै चित्र आए तापनि सामान्यतया नरक भनेको पापको दण्ड दिने स्थान हो भन्‍ने सोचाइ राखिन्छ। पाप तथा यसको असरबारे बाइबल यसो भन्छ, “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) धर्मशास्त्रले यसो पनि भन्छ: “पापको ज्याला मृत्यु हो।” (रोमी ६:२३) पापको दण्ड मृत्यु भएकोले वास्तवमा नरक के हो भन्‍ने प्रश्‍नको जवाफ दिने मूलभूत प्रश्‍न हो: हामी मरेपछि के हुन्छ?

के मृत्युपछि कुनै प्रकारको जीवन, कुनै अवस्थामा बाँचिरहन्छ? नरक भनेको के हो अनि कस्ता प्रकारका मानिसहरू त्यहाँ जान्छन्‌? के नरकमा भएकाहरूको लागि कुनै आशा छ? बाइबलले यी प्रश्‍नहरूको सत्य अनि चित्तबुझ्दो जवाफ दिन्छ।

मृत्यु पछिको जीवन ?

के शरीरको मृत्यु भएपछि मानौं हामी भित्र रहेको आत्मा जीवित रहिरहन्छ? प्रथम पुरुष आदम कसरी जीवित भए, ध्यान दिनुहोस्‌। बाइबल यसो भन्छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) ध्यान दिनुहोस्‌, मानिसलाई आत्मा दिइएको थिएन; त्यसैले एउटा चेतनशील व्यक्‍तिको रूपमा जीवित रहन मानिस भित्र आत्मा हुनु आवश्‍यक छैन। सासले उनलाई जीवित राखे तापनि उनको नाकमा “जीवनको सास” राखिदिनुको अर्थ फोक्सोमा हावा फुकिदिनु मात्र थिएन। तर परमेश्‍वरले आदमको निर्जीव शरीरमा जीवनको फिलिङ्‌गो अर्थात्‌ “जीवनको सास” राखिदिनुभयो जुन पृथ्वीका सबै प्राणीहरूमा सक्रिय छ। (उत्पत्ति ६:१७; ७:२२) त्यस जीवनको फिलिङ्‌गो वा शक्‍तिलाई विद्युतीय करेन्टसित तुलना गर्न सकिन्छ जसद्वारा कुनै पनि यन्त्र वा उपकरण क्रियाशील हुन्छ र त्यसलाई काम गर्न सक्षम बनाउँछ। जसरी करेन्टद्वारा चल्ने उपकरणहरूका विशेषताहरू करेन्टमा हुँदैन त्यसरी नै प्राणीलाई सजीव तुल्याउने जीवनशक्‍तिमा प्राणीको कुनै पनि गुण हुँदैन। जीवनशक्‍तिको कुनै व्यक्‍तित्व वा सोच्ने क्षमता हुँदैन।

तर भजन १४६:४ मा संकेत गरिएको “सास” को अर्थ के हो अनि व्यक्‍तिको मृत्यु भएपछि यसलाई के हुन्छ? उक्‍त पदले यसो भन्छ: “त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” बाइबल लेखकहरूले “सास” भन्‍ने शब्द चलाउँदा शरीर मरेपछि आत्मा शरीरबाट अलग भएर बाँचिरहन्छ भन्‍ने विचार मनमा राखेका थिएनन्‌ तर तिनीहरूले सृष्टिकर्तामा निहित जीवन-शक्‍तिलाई संकेत गरे। कुनै व्यक्‍तिको मृत्यु हुँदा उसको “सास” (जीवन शक्‍ति) रोकिन्छ र उसको मानव शरीर पनि मर्छ अर्थात्‌ सम्पूर्ण व्यक्‍ति नै मर्छ। (भजन १०४:२९) त्यसो भए उपदेशक १२:७ को अर्थ के हो, जहाँ यसो भनिएको छ: “आत्मा दिने परमेश्‍वरकहाँ [जान्छ]।” यहाँ “आत्मा” भन्‍ने शब्दको लागि प्रयोग गरिएको हिब्रु शब्दले जीवन-शक्‍तिलाई संकेत गर्छ। त्यस व्यक्‍तिको भावी जीवनको सारा आशा अब परमेश्‍वरमा निहित हुने गरी मृत्युपछि यो जीवनशक्‍ति “परमेश्‍वरकहाँ [जान्छ]।”

त्यसोभए, मृतकहरूको अवस्था कस्तो हुन्छ? आदममाथि यहोवाले यस्तो दण्ड सुनाउनुभयो: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) परमेश्‍वरले आदमलाई भूमिको माटोबाट बनाएर जीवन दिनु अघि आदम कहाँ थिए? उनको कुनै अस्तित्व नै थिएन! मृत्यु हुँदा पनि आदमको कुनै अस्तित्व रहेन। उपदेशक ९:५, १० ले मृतकको अवस्थालाई प्रस्ट पार्दै यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ। बाइबलअनुसार मृत्यु अस्तित्वविहीन अवस्था हो। मृतकहरूको चेतना, भावना, विचार केही हुँदैन।

अनन्त यातना वा सामान्य चिहान ?

मृतकहरूको कुनै अस्तित्व नहुने हुनाले दुष्टहरूलाई मृत्युपश्‍चात्‌ यातना दिने नरक भनिने अग्निकुण्ड हुनै सक्दैन। गोलमाल उत्पन्‍न भएको छ किनभने बाइबल लेखकहरूले चलाएको युनानी शब्द हेडिज-लाई अक्सर पुरातन युनानीहरूले मृतकहरूको आत्मालाई सजाय दिइने मृतकहरूको संसारलाई संकेत गर्न चलाउँथे। कुनै-कुनै ठाउँमा त यस शब्दलाई नरक भनेर पनि अनुवाद गरिएको छ। यद्यपि, बाइबल लेखकहरूले हेडिज भन्‍ने शब्द चलाउँदा तिनीहरूको आशय के थियो? हाम्रो नेपाली बाइबलमा यस शब्दलाई कसरी अनुवाद गरिएको छ भनी जाँचेर यस प्रश्‍नको जवाफ पाउन सक्छौं। बाइबल लेखक लूकाले येशूको मृत्युपश्‍चात्‌को अवस्थाबारे यसो भने: “[येशू] न पातालमा [युनानी, “हेडिज”] छोडिनुभयो, नता उहाँको शरीरनै कुह्‍यो।” a (प्रेरित २:३१) येशू समेत जानु भएको त्यो पाताल वा हेडिज कहाँ थियो? प्रेरित पावलले यस्तो लेखे: “सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिएँ . . . ख्रीष्ट हाम्रा पापको निम्ति मरे, र गाडिए, औ धर्मशास्त्रैअनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो।” (१ कोरिन्थी १५:३, ४) त्यसैले येशू पाताल वा हेडिज अर्थात्‌ चिहानमा हुनुहुन्थ्यो तर उहाँलाई त्यहाँ त्यतिकै छोडिएको थिएन किनभने उहाँलाई ब्यूँताइयो अथवा पुनरुत्थान गरियो।

धर्मी पुरुष अय्यूबको घटनालाई पनि ध्यान दिनुहोस्‌ जसले धेरै कष्ट भोग्नुपऱ्‍यो। आफ्नो दुर्दशाबाट उम्कने इच्छा व्यक्‍त गर्दै उनले यस्तो बिन्ती गरे: “तपाईंले मलाई पाताल-मा [ हिब्रु “शिओल”, युनानी “हेडिज”] लुकाउनुभएता, औ तपाईंको रीस नमरूञ्जेल मलाई गुप्तमा राख्नुभएता . . . हुनेथियो!” b (अय्यूब १४:१३) अय्यूबको लागि “शिओल” वा “हेडिज” पाताल वा चिहान मात्र थियो जहाँ उनको कष्टको अन्त हुनेथियो। त्यसोभए, बाइबलमा बताइएको शिओल वा हेडिज मानिसजातिको सामान्य चिहान हो जहाँ असल र खराब दुवै थरीका मानिसहरू जान्छन्‌।

दन्किरहेको नरक —अनन्त विनाश ?

नरकको आगो अनन्त विनाश वा पूर्ण विनाशको प्रतिक पो हो कि? प्रकाश २०:१३ मा आगोलाई कसरी प्रयोग गरिएको छ, ध्यान दिनुहोस्‌। यहाँ यसो भनिएको छ: “मृत्यु र पाताल (युनानी, हेडिज) अग्नि-कुण्डमा फालिए।” अग्नि-कुण्डमा फालिएको मृत्यु र पाताल (हेडिज) साँच्चै जलिरहन नसक्ने हुनाले यहाँ उल्लेख गरिएको “कुण्ड” प्रतिकात्मक हो। “योचाहिं, अर्थात्‌ अग्नि-कुण्ड, दोस्रो मृत्यु हो” र यो त्यस्तो मृत्यु हो जहाँबाट फेरि जीवन पाउने आशा छैन।—प्रकाश २०:१४.

येशूले भन्‍नु भएको “नरकको आगो [युनानी, गेहेन्‍ना]” र अग्नि-कुण्डको अर्थ एउटै हो। (मत्ती ५:२२; मर्कूस ९:४७, ४८) मसीही युनानी धर्मशास्त्रमा गेहेन्‍ना १२ पटक उल्लेख गरिएको छ, अनि यसले यरूशलेमको पर्खाल बाहिर रहेको हिन्‍नोनको बेंसीलाई संकेत गर्छ। येशू पृथ्वीमा हुनुहुँदा उक्‍त बेंसीलाई फोहोर-मैला फ्याँक्ने खाल्डोको रूपमा प्रयोग गरिन्थ्यो, “जहाँ अपराधीहरूको मृत शरीर, र पशुहरूको सिनु, हरेक प्रकारका फोहोरहरू फालिन्थ्यो।” (स्मीथ्स डिक्सनरी अफ द बाइबल) फोहोर-मैला सधैं बालेर राख्नका लागि गन्धक बराबर थप्दै त्यस ठाउँमा आगो दन्काइ राखिन्थ्यो। येशूले त्यस बेंसीलाई अनन्त विनाशको सही प्रतीकको रूपमा चलाउनुभयो।

गेहेन्‍नाले जस्तै अग्निकुण्डले पनि अनन्त विनाशलाई संकेत गर्छ। मानिसजाति पाप अनि मृत्युको दासत्वबाट मुक्‍त हुँदा मृत्यु र पाताल (हेडिज) अग्निकुण्डमा फालिनेछ अर्थात्‌ नष्ट हुनेछन्‌। जानाजानी पाप गर्ने अपश्‍चात्तापी पापीहरूको “भाग” त्यस कुण्डमा हुनेछ। (प्रकाश २१:८) तिनीहरू पनि सधैंको लागि नष्ट गरिनेछन्‌। अर्कोतिर, परमेश्‍वरको सम्झनामा रहेकाहरू जो पाताल (हेडिज) अर्थात्‌ मानवजातिको चिहानमा छन्‌ तिनीहरूको सामु अद्‌भुत भविष्य छ।

हेडिज रित्त्याइयो !

प्रकाश २०:१३ यसो भन्छ, “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले (हेडिज) पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।” हो, बाइबलमा बताइएको नरक रित्त्याइनेछ। येशूले प्रतिज्ञा गर्नुभएझैं “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . र निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) हाल जीवित नभए तापनि यहोवा परमेश्‍वरको सम्झनामा हुने ती लाखौं मरेका व्यक्‍तिहरूलाई पुनर्स्थापित प्रमोदवनमा पुनरुत्थान गर्नुहुनेछ।—लूका २३:४३; प्रेरित २४:१५.

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा परमेश्‍वरको धार्मिक नियमअनुसार चल्ने पुनरुत्थान भएका मानिसहरू फेरि कहिल्यै मर्ने छैनन्‌। (यशैया २५:८) यहोवाले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।” वास्तवमा “पहिलेका कुराहरू बितिसकेका [हुनेछन्‌]।” (प्रकाश २१:४) पाताल (हेडिज) अर्थात्‌ “चिहानमा हुनेहरू”-को लागि कस्ता आशिष्‌हरू साँचेर राखिएका छन्‌। वास्तवमा यी आशिष्‌हरू यहोवा अनि उहाँको पुत्रको अझ बढी ज्ञान लिन उत्प्रेरित गर्न यथेष्ट छन्‌।—यूहन्‍ना १७:३.

[फुटनोटहरू]

a नेपाली बाइबलमा मसीही युनानी धर्मशास्त्रको युनानी शब्द हेडिज-लाई अधिकांश ठाउँमा पाताल भनी अनुवाद गरिएको छ। लूका १६:१९-३१ मा कष्टबारे उल्लेख गरिएको भए तापनि त्यो पूरै विवरणको लाक्षणिक अर्थ छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकको अध्याय ८८ हेर्नुहोस्‌।

b मूल हिब्रू धर्मशास्त्रमा शिओल भन्‍ने हिब्रू शब्द ६५ पटक उल्लेख गरिएको छ अनि यो शब्दलाई नेपाली बाइबलमा-मा “पाताल,” “मृत्यु,”“चिहान” भनेर अनुवाद गरिएको छ।

[पृष्ठ ५-मा भएको चित्र]

अय्यूबले पातालमा सुरक्षा दिनुहोस्‌ भनी प्रार्थना गरे

[पृष्ठ ६-मा भएको चित्र]

दन्किरहेको नरक—अनन्त विनाशको प्रतीक

[पृष्ठ ७-मा भएको चित्र]

‘चिहानमा हुने व्यक्‍तिहरू निस्किआउनेछन्‌’