सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बेनाम देवताको निम्ति वेदी

बेनाम देवताको निम्ति वेदी

बेनाम देवताको निम्ति वेदी

सा.यु. ५० तिर प्रेरित पावलले एथेन्स, ग्रीसको भ्रमण गरे। त्यहाँ तिनले नजानिएका देवतालाई समर्पित वेदी देखे र यहोवाबारे जोडदार साक्षी दिंदा तिनले यसबारे उल्लेख गरे।

पावलले मार्स डाँडा वा अरैयापागसमा आफ्नो भाषणको सुरुमै यसो भने: “हे एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु, किनकि घुमफिर गर्दा, र तपाईंहरूका भक्‍ति गर्ने ठाउँहरू हेर्न जाँदा, मैले एउटा यस्तो स्थान पनि भेट्‌टाएँ जसमा ‘नजानिएका देवताका निम्ति’ भन्‍ने खोपिएको रहेछ। यसैले जसको भक्‍ति तपाईंहरू नजानीकन गर्नुहुन्छ उहाँकै विषयमा म तपाईंहरूलाई बताउँछु।”—प्रेरित १७:२२-३१.

एथेन्सको वेदी अहिलेसम्म फेला नपरे तापनि त्यस्तै प्रकारका वेदीहरू भने ग्रीसको अन्य भागहरूमा थिए। उदाहरणका लागि, दोस्रो शताब्दीका युनानी भूगोलविद्‌ पाउसानियसले एथेन्स नजिकै, फालरन भन्‍ने ठाउँमा “नजानिएका देवताहरू”-लाई समर्पण गरिएका वेदीहरूबारे बताए। (डिस्क्रिप्सन अफ ग्रीस, अट्टिका प्रथम, ४) त्यही पुस्तकअनुसार ओलम्पियामा पनि “नजानिएका देवताहरूको वेदी” थियो।—इलिया प्रथम, चौधौं, ८.

आफ्नो पुस्तक द लाइफ अफ अप्पोलोनियस अफ ट्याना-मा (छैटौं, तेस्रो), युनानी लेखक फिलोस्ट्राटसले (सा.यु. १७०-२४५ तिर) एथेन्समा “नजानिएका देवताहरूको सम्मानमा वेदीहरू बनाइएका छन्‌” भने। अनि लाइभस्‌ अफ फिलोसफर्स (१.११०) नामक पुस्तकमा डायोजिनस लेयरटिसले (सा.यु. २००-२५० तिर) “बेनाम वेदीहरू” एथेन्सका विभिन्‍न ठाउँमा देखिन्थे भनी लेखे।

रोमीहरूले पनि बेनाम देवताको नाउँमा वेदीहरू खडा गरेका थिए। यहाँ चित्रमा देखाइएको वेदी सा.यु.पू. प्रथम वा दोस्रो शताब्दीतिरको हो र यो रोमको इटालीमा पालाटाइन एन्टीक्योरियममा सुरक्षित छ। यसको ल्याटिन अभिलेखले यो वेदी कुनै “देव वा देवी”-लाई सम्पर्ण गरिएको थियो भनेर संकेत गर्छ। यो ‘देव वा देवी’ भन्‍ने पदावली प्रायः अभिलेख तथा साहित्यिक लेखोटहरूमा “प्रार्थना वा कसैप्रति समर्पित जपहरूमा पाइन्छ।”

“जुन परमेश्‍वरले संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो” उहाँबारे अझै पनि थुप्रै मानिसहरूलाई थाह छैन। तर पावलले एथेन्सवासीहरूलाई बताएझैं यो परमेश्‍वर अर्थात्‌ यहोवा “हामी हरेकबाट टाढा हुनुहुन्‍न।”—प्रेरित १७:२४, २७.

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Altar: Soprintendenza Archeologica di Roma