सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌

मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌

मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌

“परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।”—यूहन्‍ना ४:२४.

१. परमेश्‍वरलाई कस्तो किसिमको उपासना मन पर्छ?

 यहोवाको एक मात्र पुत्र, येशू ख्रीष्टले स्वर्गमा हुनुहुने पितालाई मनपर्ने उपासनाबारे स्पष्टसित बताउनुभयो। सामरियाको सुखार शहर नजिकैको एउटा इनारमा एउटी सामरी स्त्रीलाई हृदयस्पर्शी साक्षी दिंदै येशूले यसो भन्‍नुभयो: “तिमीहरू जे जान्दैनौ, त्यो पुज्दछौ। हामी जे जान्दछौं, त्यो पुज्दछौ, किनभने मुक्‍ति चाहिं यहूदीहरूबाट छ। तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्‍ना ४:२२-२४) यी शब्दहरूले हामीलाई कस्तो अर्थ राख्छ?

२. सामरीहरूको उपासना कुन कुरामा आधारित थियो?

सामरीहरूको गलत धार्मिक दृष्टिकोण थियो। तिनीहरूले पवित्र धर्मशास्त्रको सुरुका पाँचवटा पुस्तकलाई मात्र प्रेरित वचन ठान्थे र तिनीहरूको आफ्नै अनुवादमा यसलाई सामरी पेन्टाटुक भनिन्थ्यो। सामरीहरूले परमेश्‍वरलाई राम्ररी चिनेका थिएनन्‌ भने यहूदीहरूलाई चाहिं धर्मशास्त्रीय ज्ञान सुम्पिएको थियो। (रोमी ३:१, २) विश्‍वासी यहूदी तथा अन्य व्यक्‍तिहरूले यहोवाको अनुग्रह पाउन सक्थे। तर तिनीहरूले के गर्नुपर्थ्यो?

३. परमेश्‍वरलाई “आत्मा र सत्यतामा” उपासना गर्न के आवश्‍यक छ?

यहोवालाई खुसी तुल्याउन यहूदी, सामरी तथा विगतका अन्य व्यक्‍तिहरूले के गर्नुपर्थ्यो? तिनीहरूले उहाँको “आत्मा र सत्यतामा” उपासना गर्नुपर्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। हुन त, परमेश्‍वरलाई चढाउने सेवा सक्रिय वा जोसिलो र प्रेम अनि विश्‍वासले भरिएको हृदयबाट उत्प्रेरित हुनुपर्छ तर परमेश्‍वरलाई आत्माले उपासना गर्न हामीसित उहाँको पवित्र आत्मा हुनु अनि त्यसको निर्देशनअनुसार चल्नु आवश्‍यक छ। परमेश्‍वरको वचन अध्ययन गर्नुका साथै त्यसलाई व्यवहारमा उतारेर हाम्रो आत्मा अथवा मनोभाव, परमेश्‍वरको अनुरूप हुनुपर्छ। (१ कोरिन्थी २:८-१२) यहोवालाई हाम्रो उपासना ग्रहणयोग्य हुन हामीले उहाँलाई सत्यतामा उपासना गर्नुपर्छ। यो परमेश्‍वरको वचन, बाइबलले उहाँ र उहाँको उद्देश्‍यबारे के बताउँछ, त्यसअनुरूप हुनुपर्छ।

सत्य भेट्टाउन सकिन्छ

४. सत्यप्रति कसै-कसैले कस्तो दृष्टिकोण राख्छन्‌?

दर्शनशास्त्रका केही विद्यार्थीहरूले, पूर्ण सत्य मानिसजातिले कहिल्यै पाउन सक्दैन भन्‍ने धारणा विकास गरेका छन्‌। वास्तवमा, स्वीडेनका लेखक आल्फ आल्वर्गले यस्तो लेखे: “विभिन्‍न दर्शनसित सम्बन्धित थुप्रै प्रश्‍नहरूको निश्‍चित जवाफ दिनै सकिंदैन।” कतिपयले सत्य भनेको सापेक्षिक हुन्छ भने तापनि वास्तवमा के त्यो सही हो त? येशू ख्रीष्टले त्यस्तो सोचाइ राख्नुभएन।

५. येशू यस संसारमा किन आउनुभयो?

यहाँ वर्णन गरिएको दृश्‍यमा आफूलाई दर्शकको रूपमा कल्पना गरौं: यो सा.यु. ३३ को सुरुतिरको कुरा हो अनि येशू, रोमी बडाहाकिम पन्तियस पिलातससामु खडा हुनुहुन्छ। येशूले पिलातसलाई यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र म त्यसैको [सत्यको] निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” पिलातसले सोधे: “सत्य के हो?” तर तिनले येशूको जवाफ पर्खन चाहेनन्‌।—यूहन्‍ना १८:३६-३८.

६. (क) “सत्य”-लाई कसरी परिभाषित गरिएको छ? (ख) येशूले आफ्ना अनुयायीहरूलाई कस्तो आज्ञा दिनुभयो?

“सत्य” भनेको “यथार्थ कुरा, घटना अनि तथ्यहरूको संगालो” भनी वर्णन गरिएको छ। तथापि, के येशूले सामान्य अर्थमा मात्र सत्यको गवाही दिनुभएको थियो? थिएन। उहाँले खास सत्यबारे भन्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना अनुयायीहरूलाई त्यही सत्यबारे घोषणा गर्ने आज्ञा दिनुभयो किनभने उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) “जगत्‌को अन्त” आउनुअघि येशूका साँचो चेलाहरूले संसारभरि “सुसमाचारको सत्यता” घोषणा गर्नेथिए। (मत्ती २४:३; गलाती २:१४) यो येशूका यी शब्दहरूको पूर्तिअनुरूप हुनेथियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) त्यसकारण हामीले, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेर सबै जातिहरूलाई सत्य सिकाइरहेका मानिसहरू चिन्‍नु अत्यावश्‍यक छ।

हामी कसरी सत्य सिक्न सक्छौं

७. यहोवा सत्यको स्रोत हुनुहुन्छ भनेर तपाईं कसरी प्रमाणित गर्न सक्नुहुन्छ?

यहोवा आध्यात्मिक सत्यको स्रोत हुनुहुन्छ। वास्तवमा, भजनहार दाऊदले यहोवालाई “सत्य परमेश्‍वर” भने। (भजन ३१:५; ४३:३) येशूले आफ्नो पिताको वचन सत्य हो भनेर मानिलिनुभयो अनि यस्तो घोषणा गर्नुभयो: “ती सबै जना परमेश्‍वरबाट सिकाइएका हुनेछन्‌ भनी अगमवक्‍ताहरूका पुस्तकमा लेखिएको छ। पिताबाट सुन्‍ने र सिक्ने प्रत्येक मकहाँ आउँछ!” (यूहन्‍ना ६:४५; १७:१७; यशैया ५४:१३) त्यसो भए यो कुरा स्पष्ट छ, सत्यको खोजी गरिरहेकाहरूलाई महान्‌ शिक्षक, यहोवाले सिकाउनुपर्छ। (यशैया ३०:२०, २१) सत्यको खोजी गर्नेहरूले “परमेश्‍वरको ज्ञान” प्राप्त गर्नुपर्छ। (हितोपदेश २:५) अनि यहोवाले पनि मायालु ढंगमा विभिन्‍न तरिकाले सत्य सिकाउनुभएको वा बताउनुभएको छ।

८. परमेश्‍वरले कसरी सत्य सिकाउनुभएको वा बताउनुभएको छ?

उदाहरणका लागि, परमेश्‍वरले स्वर्गदूतहरूद्वारा इस्राएलीहरूलाई आफ्नो व्यवस्था दिनुभयो। (गलाती ३:१९) उहाँले कुलपिता अब्राहाम र याकूबलाई सपनामा आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति १५:१२-१६; २८:१०-१९) परमेश्‍वरले स्वर्गबाट बोल्नुसमेत भयो, येशूले बप्तिस्मा लिनुहुँदा यी रोमाञ्चकारी शब्दहरू पृथ्वीमा सुनिएका थिए: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१७) परमेश्‍वरले बाइबल लेखकहरूलाई प्रेरित गर्नुभएर सत्य बताउनुभएकोमा हामी कृतज्ञ हुन सक्छौं। (२ तिमोथी ३:१६, १७) अतः परमेश्‍वरको वचनबाट सिकेर हामी “सत्यताको विश्‍वास” पाउन सक्छौं।—२ थिस्सलोनिकी २:१३.

सत्य तथा परमेश्‍वरको पुत्र

९. परमेश्‍वरले सत्य प्रकट गर्न आफ्नो पुत्रलाई कसरी चलाउनुभएको छ?

परमेश्‍वरले मानिसजातिलाई सत्य प्रकट गर्न विशेष गरी आफ्नो पुत्र, येशू ख्रीष्टलाई चलाउनुभएको छ। (हिब्रू १:१-३) वास्तवमा येशूले जस्तो सत्य अरू कुनै मानिसले बोलेको थिएन। (यूहन्‍ना ७:४६) आफ्नो स्वर्गारोहण भइसकेपछि पनि उहाँले पिताबारे सत्य प्रकट गर्नुभयो। उदाहरणका लागि, प्रेरित यूहन्‍नाले “येशू ख्रीष्टको प्रकाश” पाए “जो परमेश्‍वरले चाँडै हुन आउने कुरा के हो, त्यो आफ्ना जनहरूलाई देखाउनालाई” दिनुभएको थियो।—प्रकाश १:१-३.

१०, ११. (क) येशूले गवाही दिनुभएको सत्य कुन कुरासित सम्बन्धित छ? (ख) येशूले कसरी सत्यलाई वास्तविकतामा परिणत गर्नुभयो?

१० येशूले पन्तियस पिलातसलाई आफू सत्यको गवाही दिन आएको हुँ भनेर बताउनुभयो। आफ्नो सेवकाईको दौडान येशूले त्यो सत्य, ख्रीष्ट राजा हुनुभएको परमेश्‍वरको राज्यमार्फत यहोवाको सार्वभौमिकता उच्च पार्नुसित सम्बन्धित छ भनेर प्रकट गर्नुभयो। तर सत्यको गवाही दिन येशूले प्रचार गर्नु तथा सिकाउनु मात्र पर्याप्त थिएन। येशूले त्यो सत्य पूरा गर्नुभएर त्यसलाई वास्तविकतामा परिणत गर्नुभयो। यसैअनुरूप प्रेरित पावलले यस्तो लेखे: “कुनै मानिसले तिमीहरूलाई खानामा, अथवा पिउनामा, या पर्वको दिन, वा औंसी, कि विश्रामको दिन मान्‍ने विषयमा इन्साफ गर्न नपाओस्‌, यी चाहिं आउने कुराका छाया हुन्‌, तर मूल कुरो चाहिं ख्रीष्टको हो।”—कलस्सी २:१६, १७.

११ सत्य वास्तविकतामा परिणत भएको एउटा तरिका, येशू बेतलेहेममा जन्मनुहुनेछ भन्‍ने भविष्यवाणी हो। (मीका ५:२; लूका २:४-११) अनि ६९ ‘हप्ताको’ अन्तमा मसीह देखा पर्नेछ भन्‍ने दानियलको भविष्यसूचक वचन पूरा हुँदा पनि सत्य वास्तविकतामा परिणत भयो। भविष्यवाणी गरिएझैं यो घटना सा.यु. २९ मा येशूले बप्तिस्माको बेला परमेश्‍वर समक्ष आफूलाई अर्पण गर्नुभएर पवित्र आत्माद्वारा अभिषिक्‍त हुनुहुँदा पूरा भयो। (दानियल ९:२५; लूका ३:१, २१, २२) यो सत्य येशूले परमेश्‍वरको राज्य उद्‌घोषकको रूपमा आफ्नो सेवकाईद्वारा अझ प्रकाश पार्नुहुँदा झन्‌ वास्तविक भयो। (यशैया ९:१, २, ६, ७; ६१:१, २; मत्ती ४:१३-१७; लूका ४:१८-२१) उहाँको मृत्यु र पुनरुत्थानद्वारा पनि यो सत्य वास्तविक भयो।—भजन १६:८-११; यशैया ५३:५, ८, ११, १२; मत्ती २०:२८; यूहन्‍ना १:२९; प्रेरित २:२५-३१.

१२. येशूले किन ‘म सत्य हुँ’ भन्‍न सक्नुभयो?

१२ यो सत्य येशू ख्रीष्टमा केन्द्रित भएको हुँदा उहाँले यसो भन्‍न सक्नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) मानिसहरूले परमेश्‍वरको उद्देश्‍यमा येशूको भूमिका स्वीकारेर “सत्यको” पक्षमा खडा हुनेहरू आध्यात्मिक अर्थमा स्वतन्त्र हुन्छन्‌। (यूहन्‍ना ८:३२-३६; यूहन्‍ना १८:३७) भेडाखाले मानिसहरूले सत्य स्वीकारेर विश्‍वासमा ख्रीष्टको अनुकरण गर्दा तिनीहरूले अनन्त जीवन पाउनेछन्‌।—यूहन्‍ना १०:२४-२८.

१३. हामी कुन तीनवटा पक्षसित सम्बन्धित धर्मशास्त्रीय सत्य केलाउनेछौं?

१३ येशू र उहाँका प्रेरित चेलाहरूले बताएको सत्यको संगालो नै साँचो मसीही विश्‍वास हो। अतः यो विश्‍वास ‘मान्‍ने’ व्यक्‍तिहरू ‘सत्यमा चल्न’ थाल्छन्‌। (प्रेरित ६:७; ३ यूहन्‍ना ३, ४) त्यसोभए, आज सत्यमा हिंड्‌नेहरू को हुन्‌? कसले सबै जातिहरूलाई सत्य सिकाइरहेका छन्‌? यस्ता प्रश्‍नहरूको जवाफ दिन हामी प्रारम्भिक मसीहीहरूमा ध्यान केन्द्रित गर्नेछौं अनि (१) धार्मिक विश्‍वास (२) उपासना गर्ने तरिका तथा (३) व्यक्‍तिगत आचरणसित धर्मशास्त्रीय सत्य कसरी सम्बन्धित छन्‌ भनेर केलाउनेछौं।

सत्य तथा धार्मिक विश्‍वास

१४, १५. धर्मशास्त्रप्रति प्रारम्भिक मसीहीहरू तथा यहोवाका साक्षीहरूको मनोवृत्तिबारे तपाईं कस्तो धारणा राख्नुहुन्छ?

१४ प्रारम्भिक मसीहीहरूले यहोवाको लिखित वचनको उच्च सम्मान गर्थे। (यूहन्‍ना १७:१७) तिनीहरू यसलाई नै आफ्नो धार्मिक विश्‍वास तथा प्रचलनहरूको स्तर मान्थे। दोस्रो तथा तेस्रो शताब्दीका, अलेक्जेन्ड्रियाका क्लेमेन्टले यसो भने: “उत्कृष्टताको खोजीमा लागेकाहरूले सत्य पत्ता लागेपछि, आफूले विश्‍वास गरेका कुराहरूमा धर्मशास्त्रबाटै प्रमाण पाएपछि आफ्नो खोज त्याग्नेछन्‌।”

१५ प्रारम्भिक मसीहीहरूजस्तै यहोवाका साक्षीहरूले बाइबलको उच्च सम्मान गर्छन्‌। तिनीहरू ‘सम्पूर्ण धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको हो र सिकाउनलाई उपयोगी हुन्छ’ भन्‍ने विश्‍वास गर्छन्‌। (२ तिमोथी ३:१६) त्यसकारण आउनुहोस्‌, यहोवाका वर्तमान सेवकहरूले प्रारम्भिक मसीहीहरूले विश्‍वास गर्ने केही कुराहरूबाट के सिकेका छन्‌, हेरौं किनभने तिनीहरू पनि आफ्नो प्रमुख पाठ्यपुस्तक बाइबल मान्छन्‌।

मृतजनबारे सत्य

१६. मृतजनबारे सत्य के हो?

१६ प्रारम्भिक मसीहीहरूले धर्मशास्त्रमा विश्‍वास राख्ने हुँदा तिनीहरूले मृतजनबारे सत्य कुरा सिकाए। मानिस मरेपछि शरीरको कुनै पनि भाग जीवित रहँदैन भनेर तिनीहरूले मानिलिए। यसबाहेक, तिनीहरूलाई “मरेकाहरूले ता केही पनि जान्दैनन्‌” भनेर पनि थाह थियो।—उपदेशक ९:५, १०.

१७. तपाईं पुनरुत्थानको आशाबारे कसरी बुझाउन सक्नुहुन्छ?

१७ यद्यपि, येशूका प्रारम्भिक चेलाहरूलाई परमेश्‍वरको सम्झनामा भएका मृत जनहरूको पुनरुत्थान हुनेछ अथवा तिनीहरूले फेरि जीवन पाउनेछन्‌ भन्‍ने निश्‍चित आशा थियो। त्यही आशाबारे पावलले यसरी स्पष्टसित घोषणा गरे: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।” (प्रेरित २४:१५) यसभन्दा पछि मसीही भनौंदा मिनुकियस फेलिक्सले यस्तो लेखे: “परमेश्‍वरले नै सुरुमा रच्नुभएको मानिस उहाँले फेरि नयाँ बनाउन सक्नुहुन्‍न भन्‍ने मूर्ख वा बेसमझ मानिस को होला र?” प्रारम्भिक मसीहीहरूजस्तै यहोवाका साक्षीहरूले मृत्यु र पुनरुत्थानबारे धर्मशास्त्रीय सत्य पालन गर्छन्‌। आउनुहोस्‌ अब हामी परमेश्‍वर र ख्रीष्टको चिनारीबारे विचार गरौं।

सत्य तथा त्रिएक

१८, १९. त्रिएक किन धर्मशास्त्रीय शिक्षा होइन भन्‍न सकिन्छ?

१८ प्रारम्भिक मसीहीहरूले परमेश्‍वर, ख्रीष्ट र पवित्र आत्मालाई त्रिएकको भाग ठान्दैनथे। दी इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “त्रिएक भन्‍ने शब्द वा त्यससित सम्बन्धित धर्मसिद्धान्त नयाँ नियममा पाइँदैन न त येशू र उहाँका अनुयायीहरूले पुरानो नियममा शेमालाई [हिब्रू प्रार्थना] खण्डन गर्न खोजेका थिए: ‘हे इस्राएली हो सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ’ (व्यव. ६:४)।” मसीहीहरूले रोमी त्रिएक वा अन्य देवहरूको उपासना गर्दैनथे। तिनीहरूले यहोवालाई मात्र उपासना गर्नुपर्छ भन्‍ने येशूको भनाइलाई स्वीकारे। (मत्ती ४:१०) यसबाहेक, तिनीहरूले येशूका यी शब्दहरूमा विश्‍वास गर्थे: “पिता मभन्दा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) यहोवाका वर्तमान साक्षीहरूले पनि त्यही दृष्टिकोण राख्छन्‌।

१९ येशूका प्रारम्भिक अनुयायीहरूले परमेश्‍वर, ख्रीष्ट र पवित्र आत्माबीच स्पष्ट भिन्‍नता छुट्याएका थिए। वास्तवमा भन्‍ने हो भने, तिनीहरूले चेलाहरूलाई (१) पिताको नाउँमा (२) पुत्रको नाउँमा र (३) पवित्र आत्माको नाउँमा बप्तिस्मा दिए, त्रिएकको नाउँमा होइन। यहोवाका साक्षीहरूले पनि त्यसरी नै धर्मशास्त्रीय सत्य सिकाउँछन्‌ अनि परमेश्‍वर, उहाँको पुत्र र पवित्र आत्माबीच भिन्‍नता छुट्याउँछन्‌।—मत्ती २८:१९, २०.

सत्य र बप्तिस्मा

२०. बप्तिस्मा लिन तयार व्यक्‍तिहरूसित कस्तो ज्ञान हुनुपर्छ?

२० येशूले मानिसहरूलाई सत्य सिकाएर चेला बनाउने आज्ञा आफ्ना अनुयायीहरूलाई दिनुभयो। बप्तिस्माको लागि योग्य हुन तिनीहरूसित धर्मशास्त्रको आधारभूत ज्ञान हुनुपर्छ। उदाहरणका लागि, तिनीहरूले पिता र उहाँको पुत्र, येशू ख्रीष्टको ओहदा र अख्तियार मानिलिनुपर्छ। (यूहन्‍ना ३:१६) बप्तिस्मा लिन तयार व्यक्‍तिहरूले पवित्र आत्मा व्यक्‍ति होइन तर परमेश्‍वरको सक्रिय शक्‍ति हो भनेर पनि बुझेको हुनुपर्छ।—उत्पत्ति १:२.

२१, २२. बप्तिस्मा भनेको विश्‍वास गर्नेहरूको लागि मात्र हो भनेर तपाईं किन भन्‍नुहुन्छ?

२१ प्रारम्भिक मसीहीहरूले परमेश्‍वरको सेवा गर्न विना कुनै शर्त समर्पण गरेका, ज्ञान हासिल गरेका तथा पश्‍चात्तापी व्यक्‍तिहरूलाई मात्र बप्तिस्मा दिन्थे। सा.यु. ३३ पेन्तिकोसमा यरूशलेममा भेला भएका यहूदी तथा धर्म परिवर्तन गरेका यहूदी मत स्वीकारेकाहरू सबैसित हिब्रू धर्मशास्त्रको ज्ञान थियो। प्रेरित पत्रुसले येशू मसीहबारे भनेका कुरा सुनिसकेपछि ३,००० जतिले “तिनको कुरा ग्रहण गरे” अनि “बप्तिस्मा लिए।”—प्रेरित २:४१; ३:१९–४:४; १०:३४-३८.

२२ मसीही बप्तिस्मा भनेको विश्‍वास स्वीकार्नेहरूको लागि हो। सामरियाका मानिसहरूले सत्य स्वीकारे अनि “जब तिनीहरूले परमेश्‍वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपलाई विश्‍वास गरे, तब पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए।” (प्रेरित ८:१२) यहोवाको ज्ञान स्वीकारेपछि धर्म परिवर्तन गर्ने भक्‍तालु इथियोपियाली नपुंसकले पहिला मसीहसम्बन्धी भविष्यवाणीको पूर्तिबारे फिलिपको कुरा स्वीकारे अनि त्यसपछि बप्तिस्मा लिए। (प्रेरित ८:३४-३६) पछि, पत्रुसले कर्नीलियस तथा अन्य जातिहरूलाई यसो भने “हरेक जातिमा जो [परमेश्‍वरसँग] डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” येशू ख्रीष्टमाथि विश्‍वास राख्ने सबैको पाप क्षमा गरिनेछ। (प्रेरित १०:३५, ४३; ११:१८) यी सबै कुराहरू येशूले ‘चेला बनाओ, जे जे उहाँले आज्ञा गर्नुभयो, ती सबै गर्नालाई सिकाओ’ भन्‍नुभएको आज्ञाअनुरूप छ। (मत्ती २८:१९, २०; प्रेरित १:८) यहोवाका साक्षीहरूले त्यही स्तर पालन गर्छन्‌ अनि धर्मशास्त्रको आधारभूत ज्ञान पाएर परमेश्‍वरलाई समर्पण गरिसकेकाहरू मात्र बप्तिस्मा लिन योग्य हुन्छन्‌ भनेर विश्‍वास गर्छन्‌।

२३, २४. मसीही बप्तिस्माको सही तरिका के हो?

२३ विश्‍वास गर्ने व्यक्‍तिहरूलाई पानीमा चुर्लुम्मै डुबाएर बाहिर निकाल्नु बप्तिस्मा दिने सही तरिका हो। येशूले यर्दन नदीमा बप्तिस्मा लिइसक्नुभएपछि उहाँ “पानीबाट उक्ली” आउनुभयो। (मर्कूस १:१०) इथियोपियाली नपुंसकलाई “पानी[मा]” बप्तिस्मा दिइएको थियो। तिनी र फिलिप “पानीमा ओर्ले” अनि “पानीबाट बाहिर उक्लिआए।” (प्रेरित ८:३६-४०) लाक्षणिक अर्थमा गाडिनु भन्‍ने धर्मशास्त्रीय बुँदाले पनि पानीमा चुर्लुम्मै डुब्नु भन्‍ने अर्थ बुझाउँछ।—रोमी ६:४-६; कलस्सी २:१२.

२४ दि अक्सफर्ड कम्पानियन टु द बाइबल यसो भन्छ: “नयाँ नियममा तोकेरै बताइएको बप्तिस्माको विवरणले मानिसलाई पानीमा चुर्लुम्मै डुबाउनु भन्‍ने संकेत दिन्छ।” लारोस डु XXe सिकल (पेरिस, १९२८) भन्‍ने फ्रान्सेली कृतिअनुसार “प्रारम्भिक मसीहीहरूले पानी भएको जुनसुकै ठाउँमा बप्तिस्मा लिन्थे।” अनि आफ्टर जिजस द ट्रायम्फ अफ क्रिश्‍चियानिटी पुस्तक यस्तो टिप्पणी गर्छ: “अत्यन्तै आधारभूत रूपमा हेर्ने हो भने [बप्तिस्मा] गर्न सो व्यक्‍तिले विश्‍वास गरेको आमघोषणा गर्नुपर्थ्यो अनि त्यसपछि येशूको नाउँमा पानीमा चुर्लुम्मै डुब्नुपर्थ्यो।”

२५. यसपछिको लेखमा कुन कुरा छलफल गरिनेछ?

२५ माथि उल्लेख गरिएझैं प्रारम्भिक मसीहीहरूको बाइबलमा आधारित विश्‍वास तथा प्रचलनहरू केवल उदाहरण हुन्‌। तिनीहरूको तथा यहोवाका साक्षीहरूको विश्‍वासबारे अन्य समान कुराहरू उल्लेख गर्न सम्भव छ। यसपछिको लेखमा हामी मानिसहरूलाई सत्य सिकाइरहेका मानिसहरू चिन्‍ने थप तरिकाहरूबारे छलफल गर्नेछौं।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• परमेश्‍वरले कस्तो उपासना चाहनुहुन्छ?

• येशू ख्रीष्टद्वारा सत्य कसरी वास्तविक भयो?

• मृतजनबारे सत्य के हो?

• मसीही बप्तिस्मा कसरी गरिन्छ अनि बप्तिस्मा लिन तयार भएका व्यक्‍तिहरूबाट के आशा राखिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

येशूले पिलातसलाई भन्‍नुभयो: ‘म सत्यको निम्ति गवाही दिन आएको हुँ’

[पृष्ठ १७-मा भएको चित्र]

येशूले ‘म सत्य हुँ’ भन्‍नुको कारण के तपाईं बुझाउन सक्नुहुन्छ?

[पृष्ठ १८-मा भएको चित्र]

मसीही बप्तिस्माको सत्य के हो?