सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सबै मानिसतर्फ . . . भलाइको काम गरौं”

“सबै मानिसतर्फ . . . भलाइको काम गरौं”

“मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” Nw] दिनेछु।”

“सबै मानिसतर्फ . . . भलाइको काम गरौं”

परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु अनि सिकाउनु नै येशूको मुख्य काम थियो। (मर्कूस १:१४; लूका ८:१) ख्रीष्टका अनुयायीहरू उहाँको अनुकरण गर्न चाहने हुनाले परमेश्‍वरको राज्यबारे बाइबलको सन्देश सिकाउने कार्यलाई तिनीहरू आफ्नो जीवनको सबैभन्दा प्रमुख काम ठान्छन्‌। (लूका ६:४०) येशू यस पृथ्वीमा हुनुहुँदा जसरी उहाँको सन्देशले मानिसहरूलाई चिरकालीन स्फूर्ति दियो त्यसरी नै आज राज्य सन्देश स्वीकार्नेहरूलाई यसले चिरकालीन स्फूर्ति प्रदान गरेको देख्न पाउनु यहोवाका साक्षीहरूको लागि साँच्चै हृदयस्पर्शी कुरा हो।—मत्ती ११:२८-३०.

परमेश्‍वरको वचन सिकाउनुको अलावा येशूले बिरामीलाई निको पार्ने र भोकालाई खुवाउने जस्ता भलाइका कामहरू पनि गर्नुभयो। (मत्ती १४:१४-२१) त्यसै गरी, यहोवाका साक्षीहरूले खाँचोमा परेका मानिसहरूलाई मदत दिएर आफूले सिकेको बाइबल शिक्षालाई पूर्णता दिन्छन्‌। वास्तवमा, धर्मशास्त्रले मसीहीहरूलाई “हरेक सुकर्ममा” सुसज्जित पार्छ अनि “सबै मानिसतर्फ . . . भलाइको काम गर्न” आग्रह गर्छ।—२ तिमोथी ३:१६, १७; गलाती ६:१०.

“हामीलाई मदत गर्न हाम्रा भाइहरू थिए”

सेप्टेम्बर १९९९ मा विपत्तिजनक भैंचालोद्वारा ताइवान तहसनहस भयो। केही महिनापछि, मुसलधारे वर्षा अनि हिमपहिरोले गर्दा भेनेजुएलाको इतिहासमै सबैभन्दा डरलाग्दो प्राकृतिक प्रकोप आइपऱ्‍यो। हालै मात्र भयंकर बाढीले मोजाम्बिक मुलुकलाई तहसनहस पाऱ्‍यो। यी तीनैवटा घटनामा पीडितहरूको लागि खाना, पानी, औषधी, लत्ताकपडा, पाल अनि खाना पकाउने सामग्रीहरू लिएर यहोवाका साक्षीहरू यथाशीघ्र घटनास्थलमा पुगे।

चिकित्सासम्बन्धी दक्षता हासिल गरेका स्वयम्‌सेवकहरूले घाइतेहरूलाई उपचार गर्न अस्थायी स्वास्थ्य शिविरहरू खडा गरे भने, निर्माण स्वयम्‌सेवकहरूले घरबारविहीन अवस्थाका मानिसहरूको लागि नयाँ आवासहरू बनाइदिए।

चाहिएकै बखतमा मदत पाउँदा पीडितहरूको मन छोयो। भेनेजुएलामा हिमपहिरोद्वारा आफ्नो घर क्षतिग्रस्त भएका मलयोरी नाउँ गरेकी एक महिलाले यसो भनिन्‌: “हामीलाई खाँचो परेको बेला मदत गर्न हाम्रा भाइहरू थिए।” आफ्नो परिवारको लागि स्वयम्‌सेवकहरूले बिलकुलै नयाँ घर बनाइदिइ सकेपछि खुसीले गद्‌गद्‌ हुँदै मलयोरीले यसो भनिन्‌: “यहोवाले हाम्रो लागि गरिदिनुभएका कुराहरूको लागि हामीले उहाँलाई जति धन्यवाद दिए पनि पुग्दैन!” जब मोजाम्बिकका बाढी पीडितहरूले आफ्नो नयाँ घरको साँचो पाए, पूरै समूहले एक्कासि चर्को स्वरमा यो राज्य गीत गाउन थाले, “यहोवा हाम्रो शरणस्थल हुनुहुन्छ।” a

खाँचोमा परेकाहरूलाई मदत गर्नु स्वयम्‌सेवकहरूको लागि पनि स्फूर्तिदायी थियो। मोजाम्बिकको शरणार्थी शिविरमा नर्सको काम गरेकी मार्सीलोले यसो भनिन्‌, “साह्रै दुःख पाएका यी भाइहरूको लागि केही गर्न सकेकोमा मलाई खुसी लागेको छ।” ताइवानका हंङ नाउँ गरेका एक स्वयम्‌सेवकले यसो भने, “खाँचोमा परेका भाइहरूको लागि खाना अनि पालहरू वितरण गर्ने काममा भाग लिन पाउनु साह्रै आनन्दको कुरा थियो। यी कार्यहरूले विश्‍वासलाई बलियो बनायो।”

स्वयम्‌सेवक कार्यक्रम फलदायी हुन्छ

स्वयम्‌सेवाको कार्यले विश्‍वभर रहेका हजारौं कैदीहरूलाई पनि आध्यात्मिक स्फूर्ति दिएको छ। कसरी? हालैका वर्षहरूमा यहोवाका साक्षीहरूले अमेरिकाको ४००० वटा जेलमा थुनिएका ३०,००० भन्दा धेरै कैदीहरूलाई बाइबल साहित्यहरू वितरण गरेका छन्‌। यसको अतिरिक्‍त, साक्षीहरू सम्भव भएसम्म जेलमै गई कैदीहरूसित बाइबल अध्ययन र मसीही सभाहरू सञ्चालन गर्छन्‌। के कैदीहरूले लाभ उठाउँछन्‌?

बाइबल अध्ययन गर्ने केही कैदीहरूले परमेश्‍वरको वचनको स्फूर्तिदायी शिक्षाहरू आफ्ना सँगी कैदीहरूलाई बताउन थाले। फलस्वरूप, हाल विश्‍वभरिका धेरै जेलहरूमा सँगै मिलीजुली यहोवाको उपासना गर्ने कैदीहरूको समूह छन्‌। सन्‌ २००१ मा संयुक्‍त राज्य अमेरिका ओरिगनका एक कैदीले यस्तो रिपोर्ट दिए, “हाम्रो समूहको उन्‍नति हुँदै गइरहेको छ। हामी जम्मा ७ जना राज्य प्रकाशकहरू छौं र हामीले ३८ जना बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छौं। जनभाषण र प्रहरीधरहरा अध्ययनमा २५ जना भन्दा धेरै मानिसहरू उपस्थित हुन्छन्‌ र [ख्रीष्टको मृत्युको] स्मरणार्थमा ३९ जना उपस्थित भए। अब छिट्टै ३ जना थप व्यक्‍तिहरूले बप्तिस्मा लिनेछन्‌!”

लाभ तथा आनन्दहरू

यस स्वयम्‌सेवा कार्यक्रम फलदायी भएको कुरा जेलका अधिकारीहरूले याद गरेका छन्‌। अधिकारीहरूलाई यस स्वयम्‌सेवा कार्यक्रमको दीर्घकालीन फाइदाले सबैभन्दा बढी प्रभाव पार्छ। एउटा रिपोर्टले यसो भन्छ, “यस कार्यक्रम लागू गरिएको दस वर्ष भित्रमा जेलमा बप्तिस्मा लिएका कैदीहरू पुनः जेलमा फर्केको एउटा पनि घटना छैन, त्यसको तुलनामा अन्य समूहहरूमा ५० देखि ६० प्रतिशत कैदीहरू पुनः जेलमा फर्कन्छन्‌।” साक्षी स्वयम्‌सेवकहरूले प्राप्त गरेको परिणामबाट उत्प्रेरित भई इडाहोका जेल पादरीले यहोवाका साक्षीहरूको मुख्यालयलाई लेखेको पत्रमा यसो भने, “हुन त व्यक्‍तिगत रूपमा तपाईंहरूको धार्मिक विश्‍वासप्रति मेरो सहमति छैन तर म तपाईंहरूको संगठनबाट प्रभावित भएको छु।”

जेलमा भएका कैदीहरूलाई मदत गर्नु स्वयम्‌सेवकहरूको लागि पनि इनामदायी साबित भएको छ। कैदीहरूको एउटा समूहसित सभा सञ्चालन गरिसकेपछि पहिलो चोटि त्यस समूहले राज्य गीत गाएको देख्दा एक स्वयम्‌सेवकले यस्तो लेखे: “२८ जना मानिसहरूले यहोवाको प्रशंसा गर्दै गीत गाएको हेर्न पाउनु साह्रै प्रोत्साहनदायी थियो। अनि तिनीहरूले ठूलो स्वरले गाए! त्यस्तो अवसरमा उपस्थित हुन पाउनु मेरो लागि विशेष सुअवसर थियो!” एरिजोनाको जेलहरूमा भ्रमण गरिरेहका एक स्वयम्‌सेवकले यसो भने, “यस विशेष कार्यमा भाग लिन पाउनु साँच्चै कस्तो आशिष्‌को कुरा हो!”

विश्‍वभर रहेका साक्षी स्वयम्‌सेवकहरू येशूको यो भनाइसित बिलकुलै सहमत छन्‌, उहाँले यसो भन्‍नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) तिनीहरू सबै मानिसतर्फ भलाइको काम गर्ने बाइबलको सल्लाह पालन गर्दा साँच्चै स्फूर्ति पाइन्छ भन्‍ने कुरामा पनि निर्धक्क छन्‌।—हितोपदेश ११:२५.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वार प्रकाशित सिङ प्रेजेज टु जेहोभा पुस्तकको गीत संख्या ८५ हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्र]

भेनेजुएला

[पृष्ठ ८-मा भएको चित्र]

ताइवान

[पृष्ठ ८-मा भएको चित्र]

मोजाम्बिक