के तपाईंको जीवन आन्धविश्वासमा जकडिएको छ?
के तपाईंको जीवन आन्धविश्वासमा जकडिएको छ?
अन्धविश्वास संसारभरि व्याप्त छ। अन्धविश्वासलाई कहिलेकाहीं सांस्कृतिक सम्पदाको रूपमा बहुमूल्य मानिन्छ। वा यसलाई जीवन रोचक बनाउन गरिने सानोतिनो कुरा मानिन्छ। पश्चिमेली मुलुकहरूमा अन्धविश्वासलाई प्रायजसो गम्भीरता साथ लिइँदैन। अफ्रिका जस्तै अरू ठाउँहरूमा अन्धविश्वासले मानिसहरूलाई गम्भीर असर पुऱ्याउन सक्छ।
अफ्रिकी संस्कृति प्रायजसो अन्धविश्वासमै आधारित छ। अफ्रिकामा बन्ने चलचित्र, रेडियो कार्यक्रम अनि साहित्यहरूमा प्रायजसो अन्धविश्वास र रहस्यमय कुराहरू जस्तै जादु, पूर्वजहरूको उपासना र जन्तर इत्यादिलाई विशेष जोड दिएको पाइन्छ। मानिसहरू अन्धविश्वासबाट किन यतिबिघ्न प्रभावित छन् अनि अन्धविश्वासको सुरुआत कसरी भयो?
अन्धविश्वासको पछाडि के छ?
थुप्रै अन्धविश्वासहरू मुख्यतया मृतकहरूको आत्माको डर वा अन्य प्रकारका आत्माहरूको डरबाट उब्जिएको हुन्छ। खास-खास घटनाहरू मार्फत यी आत्माहरूले जीवित मानिसहरूलाई तर्साउने, चेताउनी दिने वा आशिष् दिने गर्छन् भनिन्छ।
उपचार र चिकित्सासित पनि अन्धविश्वासको नजिकको सम्बन्ध रहेको पाइन्छ। विकासोन्मुख संसारका थुप्रै मानिसहरूका लागि आधुनिक चिकित्सा साह्रै महँगो भएकोले सर्वसुलभ छैन। यद्यपि, थुप्रै मानिसहरू आफ्ना पुर्ख्यौली चलन, प्रेतवाद र अन्धविश्वासतिर लागेर रोग निको पार्ने वा प्राथमिक उपचार गर्ने प्रयास गर्छन्। तिनीहरू चिकित्सकहरूलाई देखाउनुभन्दा आफ्ना परम्परा तथा भाषा जान्ने झाँक्रीलाई देखाउन सजिलो मान्छन्। यसरी अन्धविश्वास अझै पनि फस्टाइरहेको छ।
अन्धविश्वासका परम्पराहरूअनुसार रोगबिमार तथा दुर्घटनाहरू अकस्मात् हुने नभई आत्मिक संसारका शक्तिहरूले गराउने घटनाहरू हुन्। झाँक्रीहरूले मृत पुर्खा कुनै कुरादेखि खुसी नभएको दाबी गर्लान्। अरूको बिगार गर्न कसैले टुनामुना गरेको हुँदा त्यस्तो रोगबिमार वा दुर्घटनाको सिकार हुनुपरेको हो भनेर प्रेतात्मा खेलाउनेहरूले बताउलान्।
संसारमा बेग्लाबेग्लै प्रकारका अन्धविश्वास छन् र तिनीहरूको प्रचार-प्रसार पनि स्थानीय जनजाती, पौराणिक कथा तथा परिस्थितिअनुसार फरक-फरक हुन्छ। कुरा जस्तोसुकै भए पनि सबै जना अदृश्य संसारको कुनै व्यक्ति वा केही वस्तुलाई भने खुसी तुल्याउनै पर्छ भन्ने कुरामा सहमत हुन्छन् र त्यसैमा विश्वास गर्छन्।
हानिकारक वा खतरनाक?
प्रायजसो परिवारहरूको लागि जुम्ल्याहा बच्चा जन्मनु असाधारण अनि रोमाञ्चकारी घटना हो। तथापि, अन्धविश्वासीहरूले भने यसलाई चिह्नको रूपमा लिन सक्छन्। पश्चिम अफ्रिकाका केही इलाकाहरूमा थुप्रै मानिसहरू यसलाई देवताको जन्म मान्दै ती जुम्ल्याहाहरूको उपासना गर्छन्।
ती जुम्ल्याहामध्ये एक जना वा दुवैको मृत्यु भए तापनि दुवैको स-सानो मूर्ति बनाइन्छ र परिवारले ती मूर्तिहरूलाई भोजन चढाउनै पर्ने हुन्छ। अथवा, जुम्ल्याहाको जन्म हुनु भनेको सराप ठान्दै आमाबाबुले एक जना बच्चाको हत्या समेत गर्न पुग्छन्। किन? किनभने ती जुम्ल्याहा बच्चाहरू दुवै बाँचेको खण्डमा तिनीहरूले कुनै दिन आमाबाबुलाई मार्नेछन् भन्ने विश्वास गर्छन्।केही अन्धविश्वासहरू मनमोहक र अहानिकारक देखिए तापनि अरूचाहिं खतरनाक र अझ घातक हुँदोरहेछ भनेर यस्ता उदाहरणहरूले देखाउँछ। एउटा अहानिकारक घटनालाई पनि अनिष्टकारी अर्थ लगाउँदा खतरनाक साबित हुन सक्छ।
हो, वास्तवमा अन्धविश्वास भनेको पनि एक प्रकारको धर्म नै हो। अन्धविश्वासका खतरनाक पक्षहरूलाई विचार गर्दा यस्तो प्रश्न सोध्नु प्रासंगिक देखिन सक्छ: अन्धविश्वासी धारणा तथा चलनहरूले गर्दा वास्तवमा कसको फाइदा भइरहेको हुन्छ?
अन्धविश्वासको स्रोत
शैतानको अस्तित्व छ भनेर प्रमाणित गर्ने प्रमाणहरूका बावजूद केही मानिसहरू आज शैतान वा दुष्ट आत्माहरूको अस्तित्वलाई इन्कार गर्छन्। तथापि, युद्धको समयमा आफ्नो शत्रु आफूभन्दा शक्तिशाली छ भन्ने कुरा नस्वीकार्दा परिणाम विनाशकारी हुन सक्छ। त्यही कुरा अमानवीय आत्मिक प्राणीहरूसितको द्वन्द्वमा पनि साँचो साबित हुन सक्छ। किनभने प्रेरित पावल यस्तो लेख्छन्: “हाम्रो यो लडन्त . . . दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।”—एफिसी ६:१२.
हामीले देख्न नसके तापनि दुष्ट आत्मिक प्राणीहरूको अस्तित्व छ। चटकेले कुनै कठपुतलीको प्रयोग गरेझैं, अदृश्य आत्मिक व्यक्तिले प्रथम स्त्री हव्वासित कुरा गर्न सर्पलाई चलायो भनेर बाइबलले बताएको छ। (उत्पत्ति ३:१-५) बाइबलले त्यस आत्मिक प्राणीलाई “त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने” भनेर चिनाएको छ। (प्रकाश १२:९) त्यो शैतानले अरू स्वर्गदूतहरूलाई पनि विद्रोह गर्न उक्सायो। (यहूदा ६) यी दुष्ट स्वर्गदूतहरू परमेश्वरका शत्रु प्रेतात्माहरू भए।
येशूले मानिसहरूबाट प्रेतात्माहरूलाई हटाउनुभयो अनि उहाँका चेलाहरूले पनि त्यसै गरे। (मर्कूस १:३४; प्रेरित १६:१८) यी आत्माहरू मरेका पुर्खाहरू होइनन् किनभने मरेकाहरूले “केही पनि जान्दैनन्।” (उपदेशक ९:५) बरु, तिनीहरू विद्रोही स्वर्गदूतहरू हुन् जसलाई शैतानले बहकाएको थियो। तिनीहरूसित सम्पर्क गर्नु वा तिनीहरूको प्रभावमा पर्न दिने कुरालाई हल्कासित लिन सकिंदैन। किनकि तिनीहरू पनि आफ्ना नेता शैतानझैं हामीलाई निलिहाल्न चाहन्छन्। (१ पत्रुस ५:८) तिनीहरूको उद्देश्य हामीलाई मानिसजातिको एकमात्र आशा परमेश्वरको राज्यबाट टाढा लैजानु हो।
शैतान तथा त्यसका प्रेतहरूले प्रयोग गर्ने एउटा तरिकाबारे बाइबलले यसरी प्रस्ट पार्छ: “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ।” (२ कोरिन्थी ११:१४) शैतानले हामीलाई उत्तम जीवन दिन सक्छु भनेर छक्याउन चाहन्छ। यद्यपि, दुष्टात्माहरूको हस्तक्षेपद्वारा केही अस्थायी लाभहरू प्राप्त भएझैं देखिन सक्छ। तर तिनीहरूले कुनै स्थायी समाधान दिन सक्दैनन्। (२ पत्रुस २:४) तिनीहरूले कसैलाई पनि अनन्त जीवनको आशिष् दिन सक्दैन र तिनीहरू चाँडै नाश गरिनेछन्। (रोमी १६:२०) अनन्त जीवन, साँचो आनन्द र दुष्ट आत्मिक शक्तिहरूका विरुद्धमा सुरक्षा दिन सक्ने एकमात्र स्रोत हाम्रा सृष्टिकर्ता हुनुहुन्छ।—याकूब ४:७.
भूतप्रेत खेलाएर मदत खोज्ने कार्यको परमेश्वर भर्त्सना गर्नुहुन्छ। (व्यवस्था १८:१०-१२; २ राजा २१:६) त्यसो गर्नु भनेको परमेश्वरलाई धोका दिने उहाँका शत्रुहरूसित संगत गरेर साँठगाँठ गर्नु जस्तै हो! राशिफल हेर्नु, धामी देखाउनु वा कुनै पनि किसिमका अन्धविश्वाससित सम्बन्धित कार्यहरूमा लाग्नुको अर्थ तपाईंका निर्णयहरूमा दुष्ट आत्माहरूलाई नियन्त्रण गर्न दिनु हो। यसो गर्नु भनेको परमेश्वरको विद्रोहमा त्यसलाई साथ दिनुसरह हो।
दुष्टबाट सुरक्षा —के यो सम्भव छ?
नाइजरमा बसोबास गरिरहेका आडे a यहोवाका साक्षीहरूको पूर्ण-समय प्रचारकसित बाइबल अध्ययन गरिरहेका थिए। आडेले आफ्नो पसलमा जन्तर राख्नुको कारणबारे यसो भने: “थुप्रै शत्रुहरू भएकोले।” आडेसित बाइबल अध्ययन गर्ने शिक्षकले साँचो सुरक्षाको लागि यहोवामाथि मात्र भर गर्न सकिन्छ भनेर तिनलाई देखाए। तिनले आडेलाई भजन ३४:७ पढेर सुनाए, जहाँ यस्तो लेखिएको छ: “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्, र तिनीहरूलाई छुटकारा दिन्छन्।” तिनी यस्तो निष्कर्षमा पुगे: “यहोवाले मलाई साँच्चै सुरक्षा दिन सक्नुहुन्छ भने त्यो जन्तर हटाउनेछु।” आज, वर्षौंपछि तिनी प्राचीन तथा पूर्ण-समय सेवकको हैसियतमा काम गरिरहेका छन्। तिनका कुनै पनि शत्रुले तिनलाई हानि पुऱ्याएका छैनन्।
हामी अन्धविश्वासमा आस्था राख्ने मानिसहरू होऔं या नहोऔं हामीलाई समय र अवसरले वशमा पारेको हुन्छ भनेर बाइबलले देखाउँछ। (उपदेशक ९:११) तर यहोवाले कहिले पनि खराब कुराहरूद्वारा हाम्रो परिक्षा गर्नुहुन्न। (याकूब १:१३) मृत्यु र असिद्धता आदमबाट आएको वंशानुगत पापले गर्दा भएका हुन्। (रोमी ५:१२) यसैकारण सबै जना यदाकदा बिमार हुन्छन् साथै गल्तीहरू गर्छन् जसले गर्दा खराब परिस्थितिहरूको सामना गर्नुपर्ने हुन सक्छ। तसर्थ, जम्मै रोगबिमार वा जीवनका सबै समस्याहरू दुष्टात्माहरूले गर्दा भएका हुन् भनेर दोष दिनु गलत हुनेछ। त्यस्तो धारणाले हामीलाई ती आत्माहरूलाई कुनै न कुनै तरिकामा खुसी तुल्याउने दबाउ दिन सक्छ। b हामी बिरामी हुँदा उचित चिकित्सा उपचार गर्नेतिर सोच्नुपर्छ, “झूट र झूटको पिता” शैतान अर्थात् दियाबलसित सल्लाह माग्ने होइन। (यूहन्ना ८:४४) अरू राष्ट्रका मानिसहरूको तुलनामा अन्धविश्वासका चलनहरू व्याप्त भएका मुलुकका मानिसहरूले लामो वा उत्तम जीवन बिताइरहेको पाइँदैन भनेर तथ्याङ्कहरूले देखाउँछ। उसोभए, अन्धविश्वासको पछि लाग्दा स्वास्थ्य लाभ हुँदैन भन्ने कुरा स्पष्ट छ।
परमेश्वर कुनै पनि दुष्टात्माभन्दा शक्तिशाली हुनुहुन्छ र हाम्रो भलो चाहनुहुन्छ। “प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ।” (१ पत्रुस ३:१२) सुरक्षा र बुद्धिको लागि उहाँलाई प्रार्थना गर्नुहोस्। (हितोपदेश १५:२९; १८:१०) उहाँको पवित्र वचन बाइबल बुझ्ने प्रयास गर्नुहोस्। हामीले पाउन सक्ने उत्तम सुरक्षा भनेको बाइबलको सत्य ज्ञान नै हो। यसले हामीलाई खराब कुराहरू किन हुन्छन् र सर्वशक्तिमान् परमेश्वरको निगाह कसरी प्राप्त गर्न सकिन्छ भनेर थाह पाउन मदत गर्छ।
परमेश्वरको ज्ञानबाट पाइने लाभहरू
अज्ञानता र अन्धविश्वासको ठीक विपरीत यहोवा र उहाँका उद्देश्यहरूको सही ज्ञान, साँचो सुरक्षा पाउने कुञ्जी हो। यो कुरा बेनिनका झाँको अनुभवबाट प्रस्ट हुन्छ। झाँको परिवारमा अन्धविश्वासले गहिरो जरा गाडेको थियो। त्यहाँको जातीय परम्परागत अन्धविश्वासअनुसार कुनै आइमाईले छोरा जन्माएको खण्डमा नौ दिनसम्म एउटा विशेष प्रकारले बनाइएको छाप्रोमा बस्नुपर्थ्यो। छोरी जन्माइन् भने चाहिं सात दिन सम्म त्यस छाप्रोमा थुनिनु पर्थ्यो।
सन् १९७५ मा झाँकी श्रीमतीले सुन्दर बालकलाई जन्माइन् र त्यसको नाउँ मार्क राखियो। तिनीहरूसित बाइबलको ज्ञान भएको हुनाले झाँ र तिनकी श्रीमती दुष्टात्माहरूसित मुछिन चाहेनन्। तर के तिनीहरू डराएर अनि अन्धविश्वासलाई पछ्याउने दबाउ सहेर आमालाई छाप्रोमा राखे? राखेनन्। तिनीहरूले यस जातीय अन्धविश्वासलाई इन्कार गरे।—रोमी ६:१६; २ कोरिन्थी ६:१४, १५.
के झाँको परिवारलाई कुनै हानि पुग्यो? धेरै वर्ष बितिसकेको छ अनि मार्क अहिले यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा सेवकाई सेवकको हैसियतमा सेवा गरिरहेका छन्। आफ्नो जीवनमा अन्धविश्वासले असर पर्न नदिनुका साथै आफ्नो आध्यात्मिकतालाई जोखिममा पर्न नदिएकोमा उक्त परिवार खुसी छ।—१ कोरिन्थी १०:२१, २२.
साँचो मसीहीहरूले अन्धकारका दुष्कर्महरूलाई आफ्नो जीवनबाट निकाल्दै सृष्टिकर्ता यहोवा तथा उहाँको पुत्र येशू ख्रीष्टले दिनुहुने आध्यात्मिक ज्योतिलाई अपनाउनुपर्छ। यसरी तिनीहरूले आफूले जे गर्दैछ त्यो परमेश्वरको दृष्टिकोणमा सही छ भन्ने ज्ञानबाट प्रेरित भएर साँचो मानसिक शान्तिको आनन्द अनुभव गर्न सक्नेछन्।—यूहन्ना ८:३२.
[फुटनोटहरू]
a नाउँहरू परिवर्तन गरिएका छन्।
b प्रहरीधरहरा सेप्टेम्बर १, १९९९ को “के दियाबलले हामीलाई बिरामी पार्छ?” विषयक लेख हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
संसारमा प्रचलित केही अन्धविश्वासहरू
• भात राखेको कचौरामा चप्स्टिक ठाडो अवस्थामा हुनु मृत्युको संकेत हो
• दिउँसो उज्यालोमा उल्लु देख्नु अपशकुन हो
• कुनै उत्सवमा मैनबत्ती निभ्नुको अर्थ दुष्टात्माहरू नजिकै हुनुको संकेत हो
• भुईंमा छाता खस्नुको अर्थ त्यस घरमा हत्या हुनेछ
• खाटमा टोप राख्दा अपशकुन हुन्छ
• घण्टीको आवाजले प्रेतहरूलाई भगाउँछ
• जन्मदिनको केकमा बालिने सम्पूर्ण मैनबत्तीहरूलाई एकैपल्ट निभाउन सकियो भने त्यस व्यक्तिको मनोकामना पूरा हुन्छ
• कुचोलाई खाटमा अड्याएर राख्दा त्यसमा भएका दुष्टात्माहरूले खाटमा मोहनी लाउँछ
• कालो बिरालोले बाटो काट्यो भने अपशकुन हुन्छ
• काँटा भुईंमा खस्नुको अर्थ पाहुना आउँदैछ भन्ने संकेत हो
• हात्तीको चित्र ढोकातिर फर्काएर राख्यो भने त्यसले भाग्य राम्रो बनाउँछ
• ढोकामाथि घोडाको खुर राख्नाले पनि राम्रो हुन्छ
• घरमा हुने काठे लहरोको बोटले दुष्टात्माबाट जोगाउँछ
• भऱ्याङ मुनि हिंड्दा अपशकुन हुन्छ
• ऐना फुट्नुको अर्थ सात वर्षसम्म भाग्य राम्रो नहुनु हो
• मरीच पोखियो भने आफ्नो सबैभन्दा मिल्ने साथीसित झगडा हुने संकेत हो
• नुन पोखिएपछि बायाँ कुमपछाडितिर एक चिम्टी नुन नछर्केसम्म अपशकुन हट्दैन
• कोही नबसी झुल्ने मेचलाई त्यत्तिकै हल्लाएर छोड्नु भनेको दुष्टात्मालाई त्यहाँ बस्न निम्त्याउनु सरह हो
• उल्टो फर्केको जुत्ताले अपशकुन ल्याउँछ
• कसैको मृत्यु हुँदा तिनको आत्मा बाहिर जाओस् भनेर झ्याल खुल्लै राख्नुपर्छ
[पृष्ठ ६-मा भएको पेटी]
अन्धविश्वासको जकड तथा प्रभावहरूबाट स्वतन्त्र
यहोवाका साक्षीहरू दक्षिण अफ्रिकाको एउटा क्षेत्रमा प्रचार गर्दै थिए। तिनीहरूले ढोका ढक्ढक्याइसकेपछि ती साक्षीहरूको सामु साङ्गोमा-को (धामी) भव्य पहिरनमा एक जना आइमाई खडा भइन्। तिनीहरू त्यहाँबाट जान चाहन्थे तर त्यस आइमाईले आफ्नो सन्देश सुनाइसकेपछि मात्र जान जिद्दी गरिन्। एक जना साक्षीले व्यवस्था १८:१०-१२ पदहरू पढेर प्रेतात्माहरू खेलाउने सन्दर्भमा बाइबलको कस्तो दृष्टिकोण छ भनेर देखाइन्। त्यस धामीले त्यो सन्देश स्वीकारेर बाइबल अध्ययन गर्न राजी भइन्। यदि साङ्गोमा यहोवाको इच्छा विरुद्धको कार्य हो भन्ने कुरा बाइबल अध्ययनबाट तिनी विश्वस्त भएमा आफूले त्यो गर्न छोड्नेछु भनेर बताइन्।
बाइबलको साथै पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको अध्याय १० अध्ययन गरेपछि तिनले बोक्सीविद्यासित सम्बन्धित सबै चीजबीजहरू जलाइन् र राज्यभवनमा सभाहरू धाउन थालिन्। त्यसबाहेक, १७ वर्षसम्म आफ्नो श्रीमान्बाट छुट्टिएर बसेकी भए तापनि तिनले आफ्नो वैवाहिक बन्धन पुनः स्थापना गरिन्। अहिले तिनीहरू दुवै यहोवाका समर्पित बप्तिस्माप्राप्त साक्षी भएका छन्।
[पृष्ठ ६-मा भएको चित्र]
रोगीको समस्याको कारण के हो भनेर थाह पाउन “साङ्गोमाले” हड्डी फ्याँक्ने गर्छन्
[पृष्ठ ७-मा भएका चित्रहरू]
परमेश्वरको सही ज्ञानले साँचो सुरक्षा तथा आनन्द ल्याउँछ