सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरका महाकार्यहरूका विषयमा” सुनेर उत्प्रेरित

“परमेश्‍वरका महाकार्यहरूका विषयमा” सुनेर उत्प्रेरित

“परमेश्‍वरका महाकार्यहरूका विषयमा” सुनेर उत्प्रेरित

“तिनीहरूले हाम्रा भाषामा परमेश्‍वरका महाकार्यहरूका विषयमा बोलिरहेका हामी सुन्छौं।”—प्रेरित २:११.

१, २. सा.यु. ३३ पेन्तिकोसमा कस्तो अचम्मको घटना घट्यो?

 सा. यु. ३३ को वसन्त ऋतुको अन्ततिर एक बिहान यरूशलेमको एउटा घरमा भेला भएका येशू ख्रीष्टका चेलाहरू, पुरुष तथा स्त्रीहरूको समूहमा एउटा अचम्मको घटना घट्यो। “अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हरूरूरू शब्द आयो, र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो। औ आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, . . . अनि तिनीहरू सबै पवित्र आत्माले भरिए, र आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्नलागे।”—प्रेरित २:२-४, १५.

घरको अगाडि ठूलो भीड जम्मा भयो। त्यो भीडमा विदेशी भूमिमा जन्मेका “भक्‍त यहूदीहरू” पनि थिए, तिनीहरू पेन्तिकोसको चाड मनाउन यरूशलेम आएका थिए। तिनीहरू छक्क परे किनभने चेलाहरूले तिनीहरूको भाषामा “परमेश्‍वरका महाकार्यहरूका विषयमा बोलिरहेका” थिए। ती बोल्नेहरू सबै गालीलीहरू भएकोले त्यो कसरी हुन सक्थ्यो?—प्रेरित २:५-८, ११.

३. पेन्तिकोसमा जम्मा भएका भीडलाई प्रेरित पत्रुसले कस्तो सन्देश दिए?

ती गलीलीहरूमध्ये एक जना प्रेरित पत्रुस थिए। अधर्मी मानिसहरूद्वारा केही हप्ताअघि येशू ख्रीष्टको हत्या भएको कुरा तिनले बताए। तथापि, परमेश्‍वरले आफ्नो पुत्रलाई मृत्युबाट बिउँताउनुभयो। त्यसपछि पत्रुसलगायत अहिले उपस्थित थुप्रै चेलाहरूसामु येशू देखा पर्नुभयो। दस दिनअघि मात्र येशू स्वर्गमा उक्लनुभएको थियो। उहाँले नै आफ्ना चेलाहरूमाथि पवित्र आत्मा खन्याउनुभएको थियो। के यसले पेन्तिकोसका दिन चाड मनाइरहेकाहरूलाई केही अर्थ राख्थ्यो? अवश्‍य, राख्थ्यो। येशूको मृत्यु तिनीहरूको पापको क्षमा र “पवित्र आत्माको वरदान” पाउने आधार भयो तर यसको लागि तिनीहरूले उहाँमा विश्‍वास गर्नुपर्थ्यो। (प्रेरित २:२२-२४, ३२, ३३, ३८) त्यसोभए त्यहाँ उपस्थित मानिसहरूले आफूले सुनिरहेको “परमेश्‍वरका महाकार्यहरूका विषयमा” कस्तो प्रतिक्रिया देखाए? यस विवरणले यहोवाप्रति हामी प्रत्येकको सेवा विश्‍लेषण गर्न कसरी मदत गर्छ?

ठोस कदम चाल्न उत्प्रेरित!

४. सा.यु. ३३ पेन्तिकोसको दिन योएलको कुन भविष्यवाणी पूरा भयो?

पवित्र आत्मा पाएपछि यरूशलेममा भेला भएका चेलाहरूले अरूलाई मुक्‍तिको सुसमाचार सुनाउन बसिबियाँलो गरेनन्‌। सबैभन्दा पहिला त्यस बिहानी जम्मा भएका भीडलाई सुनाउन थाले। तिनीहरूको प्रचारकार्यले आठ शताब्दीअघि पतुएलको छोरा, योएलले भविष्यवाणी गरेका उल्लेखनीय कुरा पूरा गऱ्‍यो: “म मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्‌, तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्‌, र तिमीहरूका तन्हेरीहरूले दर्शन देख्नेछन्‌। औ ती दिनमा तिमीहरूका दास र तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु। परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि।”—योएल १:१; २:२८, २९, ३१; प्रेरित २:१७, १८, २०.

५. कुन अर्थमा प्रथम शताब्दीका मसीहीहरूले भविष्यवाणी गरे? (पादटिप्पणी हेर्नुहोस्‌।)

के यसको अर्थ परमेश्‍वरले दाऊद, योएल र दबोराजस्ता थुप्रै पुरुष तथा स्त्री अगमवक्‍ताहरू खडा गरेर तिनीहरूलाई भविष्यमा हुने घटनाहरूबारे भविष्यवाणी गर्न लगाउनुहुने थियो? होइन। मसीही ‘छोरा-छोरी, दास र दासीहरूले’ यो अर्थमा भविष्यवाणी गर्ने थिए कि, तिनीहरू यहोवाको आत्माद्वारा उत्प्रेरित भएर उहाँले गर्नुभएका र गर्नुहुने “परमेश्‍वरका महाकार्यहरूका विषयमा” बोल्ने थिए। अतः तिनीहरू सर्वोच्चका प्रवक्‍ताको हैसियतमा सेवा गर्ने थिए। a तर भीडले कस्तो प्रतिक्रिया देखाए?—हिब्रू १:१, २.

६. पत्रसुको भाषण सुनेपछि भीडका थुप्रै मानिसहरू के गर्न उत्प्रेरित भए?

भीडले पत्रुसको वर्णन सुनेपछि तिनीहरू ठोस कदम चाल्न उत्प्रेरित भए। तिनीहरूले “तिनको कुरा ग्रहण गरे” र “बप्तिस्मा लिए, र त्यसै दिन प्रायः तीन हजार प्राणीहरू तिनीहरूमा थपिए।” (प्रेरित २:४१) जन्मजात यहूदी र पछि परिवर्तन गरेर यहूदी मत मान्‍ने मानिसहरू भएको कारण तिनीहरूसँग धर्मशास्त्रको आधारभूत ज्ञान थियो। त्यो ज्ञानका साथसाथै पत्रुसबाट सिकेको कुरामा विश्‍वासले तिनीहरूलाई “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिने आधार प्रदान गऱ्‍यो। (मत्ती २८:१९) बप्तिस्मापछि “तिनीहरू प्रेरितहरूका शिक्षा[मा] . . . लागिरहे।” साथै तिनीहरूले आफ्नो नयाँ विश्‍वासबारे अरूलाई बताउन थाले। साँच्चै “दिनहुँ एकै मनका भई एकोहोरो मन्दिरमा धाएर, . . . परमेश्‍वरको स्तुति गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे।” यस साक्षीकार्यले गर्दा “उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूमा बढ़ती गराउनु[भयो]।” (प्रेरित २:४२, ४६, ४७) ती नयाँ विश्‍वासीहरू बस्ने थुप्रै नयाँ ठाउँहरूमा मसीही मण्डलीहरू स्थापना भए। निस्सन्देह, यस्तो वृद्धि हुनुको एउटा कारण थियो, आ-आफ्नो घर फर्केपछि पनि तिनीहरूले जोसका साथ सुसमाचार घोषणा गर्न थाले।—कलस्सी १:२३.

परमेश्‍वरको वचन प्रबल छ

७. (क) सबै राष्ट्रका मानिसहरू आज यहोवाको संगठनप्रति कुन कुराले आकर्षित हुन्छन्‌? (ख) विश्‍वभरि र स्थानीय तवरमा तपाईं थप वृद्धिको कस्तो सम्भावना देख्नुहुन्छ? (पादटिप्पणी हेर्नुहोस्‌।)

आज परमेश्‍वरको सेवक हुन चाहनेहरूबारे के भन्‍न सकिन्छ? तिनीहरूले पनि परमेश्‍वरको वचन ध्यान दिएर अध्ययन गर्नुपर्छ। तिनीहरूले त्यसरी अध्ययन गरेपछि यहोवा परमेश्‍वर “टिठाउनमा भरिपूर्ण र दयालु . . . रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भनी थाह पाउनेछन्‌। (प्रस्थान ३४:६; प्रेरित १३:४८) तिनीहरूले येशू ख्रीष्टको छुडौतीको बलिदानमार्फत यहोवाले गर्नुभएको मायालु प्रबन्धबारे सिक्नेछन्‌ र त्यसरी बगाउनुभएको रगतद्वारा तिनीहरू पापबाट शुद्ध हुन सक्नेछन्‌। (१ यूहन्‍ना १:७) तिनीहरू “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान” गर्ने परमेश्‍वरको उद्देश्‍यको पनि मूल्यांकन गर्न थाल्छन्‌। (प्रेरित २४:१५) यी “महाकार्यहरू[को]” स्रोतप्रतिको प्रेमले तिनीहरू ओतप्रोत हुन्छन्‌ र यी अनमोल सत्य कुराहरू प्रचार गर्न उत्प्रेरित हुन्छन्‌। अनि तिनीहरू यहोवाको समर्पित, बप्तिस्माप्राप्त सेवक हुन्छन्‌ र “परमेश्‍वरको ज्ञानमा बढ़दै” जान्छन्‌। bकलस्सी १:१०ख; २ कोरिन्थी ५:१४.

८-१०. (क) परमेश्‍वरको वचन “प्रबल” छ भनेर एक जना मसीही स्त्रीको अनुभवबाट कसरी प्रमाणित हुन्छ? (ख) यो अनुभवबाट यहोवा अनि उहाँले आफ्ना सेवकहरूसँग गर्नुहुने व्यवहारबारे तपाईंले के सिक्नुभयो? (प्रस्थान ४:१२)

परमेश्‍वरका सेवकहरूले बाइबल अध्ययनबाट हासिल गर्ने ज्ञान सतही होइन। त्यस्तो ज्ञानले तिनीहरूको हृदय उत्प्रेरित हुन्छ, तिनीहरूको सोचाइमा परिवर्तन ल्याउँछ र यो तिनीहरूको अभिन्‍न भाग बन्छ। (हिब्रू ४:१२) उदाहरणका लागि, क्यामिली नाउँ गरेकी एक स्त्री वृद्धहरूको स्याहार गर्ने काम गर्थिन्‌। तिनले स्याहार गर्नुपर्ने व्यक्‍तिहरूमध्ये मार्था पनि एक जना थिइन्‌ जो यहोवाको साक्षी थिइन्‌। मार्थालाई स्मरणशक्‍ति हराउँदै जाने रोगले ग्रस्त पारेको हुँदा तिनलाई चौबीसै घण्टा स्याहारसुसारको जरुरत थियो। तिनलाई खान र खाना निल्नसमेत सम्झाइ रहनुपर्थ्यो। तथापि, एउटा कुरा भने मार्थाको मनमा ठप्पै बसेको थियो, त्यो के हो आउनुहोस्‌ हामी हेरौं।

एक दिन मार्थाले, क्यामिली आफ्नो केही व्यक्‍तिगत समस्याको कारण निराश भएर रोइरहेकी देखिन्‌। मार्थाले क्यामिलीलाई अँगालो हालिन्‌ र तिनीसँग बाइबल अध्ययन गर्न बोलाइन्‌। तर के त्यस्तो अवस्थामा भएकी मार्थाले बाइबल अध्ययन सञ्चालन गर्न सक्थिन्‌? सक्थिन्‌! मार्थाले प्रायजसो कुरा बिर्सिसके तापनि आफ्नो अद्‌भुत परमेश्‍वर अनि बाइबलबाट सिकेको अनमोल सत्य भने बिर्सेकी थिइनन्‌। अध्ययन गर्दा मार्थाले क्यामिलीलाई प्रत्येक अनुच्छेद र उद्धृत शास्त्रपद पढ्‌न लगाउँथिन्‌ अनि पृष्ठको तल दिइएको प्रश्‍न पढेर त्यसबाट जवाफ दिन भन्थिन्‌। केही समयको निम्ति यस्तै प्रक्रिया चल्यो र मार्थाको सीमितताको बावजूद क्यामिलीले बाइबलबारे थुप्रै कुरा सिकिन्‌। मार्थाले, अब क्यामिलीले परमेश्‍वरको सेवा गर्न इच्छुक अन्य व्यक्‍तिहरूसँग संगत गर्नुपर्ने आवश्‍यकता महसुस गरिन्‌। त्यस कुरालाई मनमा राख्दै क्यामिलीले आफ्नो विद्यार्थी पहिलो चोटि राज्यभवनमा सभा धाउँदा तिनको उपयुक्‍त पहिरन होस्‌ भनेर एउटा लुगा र एक जोर जुत्ता दिइन्‌।

१० मार्थाको मायालु चासो, उदाहरण र विश्‍वास देखेर क्यामिली प्रभावित भइन्‌। मार्थाले तिनलाई बाइबलबाट सिकाउन कोसिस गरिरहेको कुरा एकदमै महत्त्वपूर्ण हो भन्‍ने निष्कर्षमा पुगिन्‌ किनभने मार्थाले धर्मशास्त्रबाट सिकेका कुराहरूबाहेक अरू सबै कुरा बिर्सिसकेकी थिइन्‌। पछि, क्यामिलीलाई अर्को ठाउँमा सरुवा गर्दा तिनले अब ढिलासुस्ती गर्ने बेला होइन भनेर बुझिन्‌। मौका मिल्ने बित्तिकै तिनी मार्थाले दिएको लुगा र जुत्ता लगाएर राज्यभवन गइन्‌ र बाइबल अध्ययनको लागि आग्रह गरिन्‌। क्यामिलीले राम्रो प्रगति गरिन्‌ र बप्तिस्मा लिइन्‌।

यहोवाका स्तरहरू झल्काउन उत्प्रेरित

११. जोसका साथ प्रचार गर्नुको अलावा अन्य कुन तरिकामा हामी राज्य सन्देशद्वारा उत्प्रेरित भएका छौं भनेर देखाउन सक्छौं?

११ आज मार्था र क्यामिली जस्तै साठी लाखभन्दा बढी यहोवाका साक्षीहरूले विश्‍वभरि “राज्यको यो सुसमाचार” प्रचार गरिरहेका छन्‌। (मत्ती २४:१४; २८:१९, २०) प्रथम शताब्दीका मसीहीहरूजस्तै तिनीहरू “परमेश्‍वरका महाकार्यहरू” देखेर उत्प्रेरित भएका छन्‌। यहोवाको नाउँ वहन गर्ने सुअवसर र उहाँले तिनीहरूमाथि पवित्र आत्मा खन्याउनुभएकोमा त्यसको मूल्यांकन गर्छन्‌। फलस्वरूप, तिनीहरू आफ्नो जीवनको हरेक पक्षमा उहाँका स्तरहरू लागू गर्न “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” प्रयास गर्छन्‌। यसमा आफ्नो पहिरन र कोरीबाटीमा पनि परमेश्‍वरका स्तरहरू पालन गर्नु समावेश छ।—कलस्सी १:१०क; तीतस २:१०.

१२. पहिलो तिमोथी २:९, १० मा पहिरन र कोरीबाटीको सन्दर्भमा कस्तो सुस्पष्ट सल्लाह पाउँछौं?

१२ हो, यहोवाले हाम्रो बाह्‍य रूपको सन्दर्भमा स्तर कायम गर्नुभएको छ। यस सन्दर्भमा प्रेरित पावलले परमेश्‍वरले हामीबाट चाहनुहुने केही कुराहरू औंल्याए। “स्त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्‌, केशको बढ़ी सिंगार गरेर, सुन, मोती र बहुमूल्य वस्त्र पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होऊन्‌, जो परमेश्‍वरको भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।” c यी शब्दहरूबाट हामी के सिक्न सक्छौं?—१ तिमोथी २:९, १०, नयाँ संशोधित संस्करण।

१३. (क) “सुहाउँदो वस्त्र पहिरून्‌” भन्‍नुको अर्थ के हो? (ख) यहोवाका स्तरहरू व्यावहारिक छन्‌ भनी किन भन्‍न सकिन्छ?

१३ पावलले मसीहीहरूले “सुहाउँदो वस्त्र पहिरून्‌” भनेका छन्‌। तिनीहरू जथाभावी लुगा लगाएर फ्याङलाङफुङलुङ वा लथालिंग देखिनुहुँदैन। सीमित आयस्रोत भएकाहरूलगायत सबैले आफ्नो लुगा सफा, चिटक्क र राम्ररी लगाएर त्यस्तो व्यावहारिक स्तर पालन गर्न सक्छन्‌। उदाहरणका लागि, दक्षिण अमेरिकाको एउटा देशमा साक्षीहरू प्रत्येक वर्ष जिल्ला अधिवेशन धाउन जंगलहरू हुँदो निकै किलोमिटर हिंड्‌छन्‌ र त्यसपछि डुंगामा घण्टौं लामो यात्रा गर्छन्‌। यात्राको दौडान नदीमा खस्नु वा काँडामा लुगा अड्‌किएर च्यातिनु कुनै असामान्य कुरा होइन। त्यसैले अधिवेशन आयोजन हुने स्थानमा पुगुन्जेल तिनीहरू अलि लथालिंग अवस्थामा हुन्छन्‌। त्यसैले तिनीहरूले अधिवेशनमा लगाउने लुगाको टाँक सिलाउँछन्‌, बिग्रेको जिप्पर मर्मत गर्छन्‌, लुगा धुन्छन्‌ अनि इस्तिरी गर्छन्‌। यहोवाको टेबुलमा भोजन गर्ने निमन्त्रणाको तिनीहरू कदर गर्छन्‌ र अवसर सुहाउँदो पहिरन लगाउन चाहन्छन्‌।

१४. (क) “सरलता र भद्रतासाथ” वस्त्र पहिरून्‌ भन्‍नुको अर्थ के हो? (ख) ‘परमेश्‍वरको भक्‍ति’ झल्किने खालको पहिरन लगाउनुमा के समावेश छ?

१४ पावलले “सरलता र भद्रतासाथ” वस्त्र पहिरून्‌ पनि भनेका छन्‌। यसको अर्थ हाम्रो बाहिरी रूप भड्‌किलो, बेढंगी, उत्ताउलो, अंग प्रदर्शन गर्ने खालको हुनुहुँदैन। यसबाहेक हाम्रो पहिरन ‘परमेश्‍वरको भक्‍ति’ झल्किने खालको हुनुपर्छ। यो हामी सबैले विचार गर्नुपर्ने कुरा हो, होइन र? मण्डलीका सभाहरू धाउँदा मात्र उचित पहिरन लगाउने अनि अरू समयमा चाहिं वास्तै नगर्ने हुनु हुँदैन। हाम्रो बाह्‍य रूपले सधैं श्रद्धेय वा आदरणीय मनोवृत्ति झल्काउनुपर्छ किनभने हामी दिनको चौबिसै घण्टा मसीही सेवकहरू हौं। निस्सन्देह, हामीले काम गर्दा लगाउने लुगा र स्कूलको लुगा ठाउँअनुसार फरक फरक हुन्छन्‌। तैपनि हाम्रो पहिरन भद्र र मर्यादित हुनुपर्छ। हाम्रो लुगाले सधैं परमेश्‍वरमा हाम्रो विश्‍वास झल्काउँछ भने हामी कहिल्यै पनि आफ्नो बाहिरी रूपको कारण अनौपचारिक साक्षी दिनदेखि पछि हट्‌नु पर्दैन।—१ पत्रुस ३:१५.

‘संसारलाई प्रेम नगर’

१५, १६. (क) पहिरन र कोरीबाटीको सन्दर्भमा संसारको अनुकरण नगर्नु किन महत्त्वपूर्ण छ? (१ यूहन्‍ना ५:१९) (ख) पहिरन र कोरीबाटीका स्टाइलहरूको पछि-पछि नलाग्न हामीसित कस्तो व्यावहारिक कारण छ?

१५ पहिलो यूहन्‍ना २:१५, १६ मा लिपिबद्ध सल्लाहबाट हाम्रो पहिरन र कोरीबाटीको छनौटमा पनि डोऱ्‍याइ पाउँछौं। त्यहाँ यसो लेखिएको छ: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।”

१६ कस्तो सामयिक सल्लाह! साथीहरूको दबाउ अत्यन्तै प्रबल भएको युगमा हामी आफ्नो पहिरनमा संसारको लहैलहैमा लाग्नु हुँदैन। हालका वर्षहरूमा पहिरन तथा कोरीबाटीका स्टाइलहरू झन्‌ झनै खस्कँदै गएका छन्‌। व्यापार तथा पेशेवर काममा लागेका मानिसहरूको पहिरन समेत मसीहीहरूको निम्ति सधैं भरपर्दो स्तर हुँदैन। परमेश्‍वरका स्तरहरूअनुरूप जीवन बिताउँदै “परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा” बढाउने हो भने ‘यस संसारसित एकै चालका नहुने’ कुराप्रति सजग हुन हामी अझ थप कारण पाउँछौं।—तीतस २:१०; रोमी १२:२.

१७. (क) कुनै लुगा किन्दा वा स्टाइल छान्दा हामीले कस्ता प्रश्‍नहरूमाथि विचार गर्न सक्छौं? (ख) किन परिवारको शिरले परिवारका सदस्यहरूको पहिरनमा ध्यान दिनुपर्छ?

१७ कुनै लुगा किन्‍ने निर्णय गर्नुअघि तपाईंले आफैलाई यी प्रश्‍नहरू सोध्नु बुद्धिमानी हुनेछ: ‘मलाई यो स्टाइल मन पर्नुको कारण के हो? मलाई मनपर्ने कुनै लोकप्रिय अभिनेताको स्टाइल जस्तो भएकोले पो हो कि? के यस्तो लुगा कुनै गुण्डाको समूह वा विद्रोही मनोभाव देखाउने समूहले लगाएका छन्‌ कि?’ हामीले लुगाको डिजाइन पनि राम्ररी हेर्नुपर्छ? लुगा वा स्कर्ट हो भने यसको लम्बाइ कस्तो छ? डिजाइन नि? के लुगा भद्र, उचित र मर्यादा झल्कने किसिमको छ वा जीउमा टिमिक्क कसिएको, उत्ताउलो छ? आफैलाई प्रश्‍न गर्नुहोस्‌, ‘के मैले यस्तो लुगा लगाउँदा कसैलाई ठेस पुग्न सक्छ?’ (२ कोरिन्थी ६:३, ४) यी कुराहरूबारे हामीले किन विचार गर्नुपर्छ? किनभने बाइबल यसो भन्छ: “ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन।” (रोमी १५:३) मसीही परिवारको शिरले आफ्नो परिवारका सदस्यहरूको पहिरनमा पनि ध्यान दिनुपर्छ। तिनीहरूले उपासना गर्ने महिमित परमेश्‍वरप्रतिको आदरको कारण परिवारका शिरहरू आवश्‍यक परेको बेला दृढ मायालु सल्लाह दिन हिचकिचाउनु हुँदैन।—याकूब ३:१३.

१८. तपाईंको पहिरन र कोरीबाटीमा ध्यान दिन तपाईंलाई कुन कुराले उत्प्रेरित गर्छ?

१८ हामीले बताउने सन्देश यहोवाबाटको हो जो सम्मान र पवित्रताको मूर्तरूप हुनुहुन्छ। (यशैया ६:३) बाइबलले हामीलाई “प्रिय बालकहरूझैं” उहाँको देखासिकी गर्न आग्रह गर्छ। (एफिसी ५:१) हाम्रो पहिरन र कोरीबाटीले हाम्रो स्वर्गमा हुनुहुने पिताको राम्रो या नराम्रो चित्रण गर्न सक्छ। हामी अवश्‍य उहाँको हृदय आनन्दित तुल्याउन चाहन्छौं!—हितोपदेश २७:११.

१९. “परमेश्‍वरका महाकार्यहरू[बारे]” अरूलाई थाह दिंदा कस्ता फाइदाहरू हुन्छन्‌?

१९ तपाईंले सिक्नुभएको “परमेश्‍वरका महाकार्यहरू[बारे]” कस्तो महसुस गर्नुहुन्छ? साँच्चै, सत्य सिक्न पाउनु कस्तो ठूलो सुअवसर हो! येशू ख्रीष्टले बगाउनुभएको रगतमा विश्‍वास गरेको कारण हाम्रा पापहरू क्षमा भएका छन्‌। (प्रेरित २:३८) फलस्वरूप, हामी परमेश्‍वरसामु विना रोकटोक बोल्न सक्छौं। आशाविहीन मानिसहरू जस्तो हामी मृत्युदेखि डराउँदैनौं। बरु, “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ [र] . . . निस्किआउनेछन्‌” भन्‍ने आश्‍वासन पाएका छौं। (यूहन्‍ना ५:२८, २९) यहोवा अति उदार हुनुभएर हामीलाई सबै कुरा प्रकट गर्नुभएको छ। साथै, उहाँले हामीमाथि आफ्नो पवित्र आत्मा पनि खन्याउनुभएको छ। अतः यी सबै असल वरदानहरूप्रतिको कृतज्ञताले हामीलाई उहाँका उच्च स्तरहरूको आदर गर्न र उहाँका “महाकार्यहरू” अरूलाई जोसका साथ प्रचार गर्न उत्प्रेरित गर्नुपर्छ।

[फुटनोटहरू]

a यहोवाले मोशा र हारूनलाई उहाँका जनहरूको खातिर फिरऊनसामु बोल्न नियुक्‍त गर्नुहुँदा मोशालाई यसो भन्‍नुभयो: “हेर्‌, मैले तँलाई फिरऊनको निम्ति ईश्‍वरतुल्य बनाएको छु, औ तेरो दाज्यू हारून तेरो प्रवक्‍ता हुनेछ।” (प्रस्थान ७:१) यहाँ भनिएझैं हारूनले भविष्यमा हुने घटनाहरूबारे अग्रिमवाणी गर्ने अर्थमा अगमवक्‍ताको रूपमा होइन तर मोशाको प्रवक्‍ता भएर सेवा गरे।

b मार्च २८, २००२ मा प्रभुको साँझको भोजमा भेला भएका ठूलो भीडमध्येका लाखौं व्यक्‍तिहरू परमेश्‍वरको सेवामा सक्रिय भइसकेका छैनन्‌। यी थुप्रै जिज्ञासु व्यक्‍तिहरू सुसमाचारको प्रकाशक हुन अघि बढ्‌न उत्प्रेरित हुनेछन्‌ भनी प्रार्थना गर्दछौं।

c पावलका यी शब्दहरू मसीही स्त्रीहरूको लागि भए तापनि सो सिद्धान्त मसीही पुरुष तथा जवानहरूलाई पनि लागू हुन्छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• सा.यु. ३३ पेन्तिकोसमा मानिसहरूले कस्ता “महाकार्यहरू” सुने र तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

• कसरी येशू ख्रीष्टको चेला बन्‍न सकिन्छ र चेला हुनुमा के के समावेश छ?

• हाम्रो पहिरन र कोरीबाटीमा ध्यान दिनु किन महत्त्वपूर्ण छ?

• कुनै लुगाको स्टाइल उचित छ कि छैन भनी निर्णय गर्दा कस्ता पक्षहरू विचार गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र

पत्रुसले येशू मृत्युबाट बिउँताइनुभएको घोषणा गरे

[पृष्ठ १७-मा भएका चित्रहरू

के तपाईंको बाह्‍य रूपले परमेश्‍वरको उपासनामा राम्रो प्रभाव पार्छ?

[पृष्ठ १८-मा भएका चित्रहरू

मसीही आमाबाबुले आफ्नो परिवारका सदस्यहरूको बाह्‍य रूपमा ध्यान दिनुपर्छ