सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परमेश्‍वरको वचन प्रबल हुन्छ’

‘परमेश्‍वरको वचन प्रबल हुन्छ’

राज्य उद्‌घोषकहरूको रिपोर्ट

‘परमेश्‍वरको वचन प्रबल हुन्छ’

जमैकाको घमाइलो क्यारिबियन टापुका अधिकांश मानिसहरू बाइबलसित चिरपरिचित छन्‌। साँच्चै भन्‍ने हो भने, प्रायजसो सबै घरहरूमा किङ जेम्स भर्सन छ र कोही-कोही मानिसहरूले त “परमेश्‍वरको वचन जीवित र प्रबल हुन्छ” भन्‍ने कुरा अनुभवसमेत गरिसकेका छन्‌। (हिब्रू ४:१२) निम्न अनुभवले देखाएअनुसार यस शक्‍तिले जीवन परिवर्तन गर्न सक्छ।

क्लिभल्याण्ड नाउँ गरेका मानिस कामबाट भर्खरै घर फर्केका मात्र के थिए, एक जना यहोवाको साक्षी तिनको घरमा टुप्लुक्क आइपुगे। धर्मशास्त्रबाट केही कुरा बताइसकेपछि साक्षीले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने बाइबल अध्ययन सहायक तिनलाई दिए। आफ्नो जीवनमा परमेश्‍वरको वचनले कस्तो प्रभाव पार्नेछ भनेर क्लिभल्याण्डलाई रत्तीभर थाह थिएन।

उपासना गर्ने सही तरिका भेट्टाउन मदत गर्नुहोस्‌ भन्दै क्लिभल्याण्डले परमेश्‍वरलाई दिनको तीन चोटि प्रार्थना गर्थे। आफ्ना आमाबाबुले सही तरिकामा उपासना गरेनन्‌ भन्‍ने कुरा क्लिभल्याण्डलाई राम्रोसित थाह थियो तर अन्य धर्महरू जाँचिसकेपछि तिनी अलमल्लमा परेका थिए। यहोवाका साक्षीहरूबारे तिनले सुनेका भए तापनि उनीहरूसित पनि सत्य छैन होला जस्तो तिनलाई लागेको थियो। मनमा अनेकौं शंका उपशंका भए तापनि तिनको ढोकामा प्रचार गर्न आएका साक्षीसित बाइबल अध्ययन गर्न क्लिभल्याण्ड राजी भए। किन? किनभने तिनी साक्षीहरूलाई झूटो साबित गर्न चाहन्थे!

दुई जना पराई स्त्रीहरूसित आफूले राखिरहेको अनैतिक सम्बन्धले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने रहेछ भनी क्लिभल्याण्डले चाँडै बुझे। (१ कोरिन्थी ६:९, १०) दुई चोटि अध्ययन गरिसकेपछि नै तिनले ती स्त्रीहरूसितको सम्बन्धलाई तोड्‌ने साहस बटुले। तिनले राज्यभवनमा मसीही सभाहरू पनि धाउन थाले। तर यसो गर्दा तिनले अर्को परीक्षाको सामना गर्नुपऱ्‍यो।

क्लिभल्याण्ड आफ्नो समुदायको फुटबल टोलीको सक्रिय सदस्य थिए। यस खेलले गर्दा तिनलाई सभामा उपस्थित हुन बाधा पुगिरहेको थियो। अब के गर्ने? आफ्नो टोलीका अन्य खेलाडी, प्रशिक्षक तथा साथीहरूको तीव्र दबाउको बावजूद क्लिभल्याण्डले फुटबल टोली परित्याग गर्ने निर्णय गरे। हो, तिनलाई भलाइ गर्न उत्प्रेरित गरेर परमेश्‍वरको वचनले प्रभाव पार्न थालिसकेको थियो!

क्लिभल्याण्डले आफूसित भएको बाइबलको ज्ञान अरूलाई सुनाउन थाल्दा परमेश्‍वरको वचनको शक्‍ति फेरि एक चोटि प्रकट भयो। (प्रेरित १:८) फलस्वरूप, तिनको पहिलाको फुटबल टोलीका केही साथीहरू यहोवाका साक्षीहरूका सभाहरू धाउन थाले। क्लिभल्याण्ड सुसमाचारका योग्य प्रकाशक भइसकेपछि परमेश्‍वरको वचन चलाएर अरूलाई मदत गर्न पाउँदा तिनले सेवकाईमा असीम आनन्द प्राप्त गरे।

परमेश्‍वरको वचनको शक्‍तिद्वारा निरन्तर उत्प्रेरित भएको कारण क्लिभल्याण्डले अन्तमा यहोवाप्रतिको आफ्नो समर्पण पानीको बप्तिसमाद्वारा प्रकट गर्नुका साथै पूर्ण-समय सेवक र मण्डलीमा सेवकाई सेवकको रूपमा सेवा गर्ने विशेषाधिकार पाए।

जमैकालगायत विश्‍वभरि हजारौं हजार मानिसहरूले परमेश्‍वरको वचन साँच्चै “जीवित र प्रबल हुन्छ” भनी थाह पाएका छन्‌।

[पृष्ठ ८-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जमैका

[स्रोत]

Map and globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.