सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के हाबिललाई परमेश्‍वरको अनुग्रह प्राप्त गर्न पशु बलि चढाउनु आवश्‍यक छ भनी थाह थियो?

कयिन र हाबिलले चढाएको भेटीसम्बन्धी बाइबल विवरण एकदमै छोटो छ। उत्पत्ति ४:३-५ मा हामी यस्तो लेखिएको पाउँछौं: “केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए। हाबिलले पनि आफ्ना भेडाका बगालबाट पहिले जन्मेका पाठाहरू र तिनका उत्तम भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो। तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन।”

यो घट्‌ना घट्‌नुअघि यहोवाले बलिदानबारे कुनै पनि किसिमको निश्‍चित जानकारी वा कस्तो प्रकारका बलिदानहरू ग्रहणयोग्य छ भन्‍नेबारे बाइबलमा कतै उल्लेख गरिएको छैन। तसर्थ, कयिन र हाबिलले स्पष्टतः आ-आफ्नै इच्छाअनुसार भेटी चढाए। उनीहरूलाई आफ्ना मातापिताको सुरुको प्रमोदवनरूपी घरभित्र प्रवेश गर्नदेखि रोक लगाइएको थियो; उनीहरूले पापको असर महसुस गर्न थाले; अनि उनीहरू परमेश्‍वरबाट बिराना भए। आफूलाई पापी तथा दयनीय अवस्थामा पाउँदा तिनीहरूले मदतको लागि परमेश्‍वरलाई पुकार्नुपर्ने आवश्‍यकता महसुस गरेको हुनुपर्छ। परमेश्‍वरलाई उपहार चढाउनु सम्भवतः परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने तिनीहरूको एउटा स्वेच्छिक कार्य थियो।

परिणामस्वरूप, परमेश्‍वरले हाबिलको भेटी स्वीकार्नुभयो तर कयिनको भने स्वीकार्नुभएन। किन? के यो हाबिलले सही कुरा चढाएको र कयिनले चाहिं नचढाएकोले गर्दा हो? यो कुरा भेटीसित सम्बन्धित थियो, थिएन हामी ठोकेर भन्‍न सक्दैनौं किनभने तिनीहरू दुवैलाई के ग्रहणयोग्य छ, के ग्रहणयोग्य छैन भनेर केही पनि बताइएको थिएन। तथापि, हुनसक्छ दुवै भेटी स्वीकार्य थियो। यहोवाले अन्तमा इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा, स्वीकार्य बलिदानहरूमा पशु वा पशुका अंगहरू मात्र नभई सुकाएको अन्‍न, जौको बिटा, मसिनो पीठो, सेकेको खाद्य पदार्थ र मद्य पनि समावेश थियो। (लेवी ६:१९-२३; ७:११-१३; २३:१०-१३) स्पष्टतः परमेश्‍वरले एउटा बलिदान स्वीकार्नु र अर्कोचाहिं अस्वीकार गर्नुमा कयिन र हाबिलले चढाएको बलिदानले गर्दा मात्र थिएन।—यशैया १:११; आमोस ५:२२ तुलना गर्नुहोस्‌।

शताब्दीयौंपछि प्रेरित पावलले यसो भने: “विश्‍वासबाटै हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्‍वरमा चढाए, जसद्वारा तिनी धर्मी हुन्‌ भन्‍ने तिनको गवाही भयो। तिनका भेटी विषयमा परमेश्‍वरलेनै गवाही दिनुभयो।” (हिब्रू ११:४) यसप्रकार, विश्‍वासको कारण हाबिल परमेश्‍वरद्वारा धर्मी ठहरिए। तर केमा विश्‍वास? यहोवाको प्रतिज्ञामा। किनभने ‘साँपको शिर कुच्याउने’ सन्तानको प्रबन्ध र कुनै समय मानिसजातिले आनन्द उठाइरहेको शान्ति तथा सिद्धता पुनर्स्थापित गर्नेछु भनी उहाँले प्रतिज्ञा गर्नुभएको थियो। सन्तानको ‘कुर्कुच्चो डसिनेछ’ भन्‍ने भनाइबाट हाबिलले बलिदान चढाउँदा रगत बगाउनु आवश्‍यक छ भन्‍ने कुरा बुझेको हुनुपर्छ। (उत्पत्ति ३:१५) जे होस्‌, वास्तवमा हाबिलको विश्‍वासको अभिव्यक्‍तिले गर्दा नै तिनले “कयिनभन्दा उत्तम बलिदान” चढाए।

त्यस्तै गरी, कयिनलाई भने तिरस्कार गरियो। तिनले गलत प्रकारको बलिदान चढाएकोले गर्दा होइन तर तिनको कामले देखाएअनुसार तिनीसित विश्‍वासको कमी थियो। यहोवाले कयिनलाई स्पष्टसित यसो भन्‍नुभएको थियो: “तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र?” (उत्पत्ति ४:७) तिनले चढाएको भेटीसित अप्रसन्‍न हुनुभएको कारण परमेश्‍वरले कयिनलाई तिरस्कार गर्नुभएको थिएन। बरु, “त्यसको काम खराब” भएकोले अर्थात्‌ डाह, घृणा र अनन्तः हत्याजस्तो कामले गर्दा परमेश्‍वरले कयिनलाई तिरस्कार गर्नुभयो।—१ यहून्‍ना ३:१२.