लगनशील प्रयत्न यसमा यहोवाले कहिले आशिष् दिनुहुन्छ?
लगनशील प्रयत्न यसमा यहोवाले कहिले आशिष् दिनुहुन्छ?
“उज्यालो हुनलाग्यो। मलाई जान देऊ।”
“मलाई आशीर्वाद नदिउञ्जेल म तपाईंलाई जानदिन्नँ।”
“तिम्रो नाउँ के हो?”
“याकूब।”
“अब उप्रान्त तिम्रो नाउँ याकूब होइन, तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गऱ्यौ, अनि विजयी भयौ।”—उत्पत्ति ३२:२६-२८.
यो चाखलाग्दो संवाद ९७ वर्षीय वृद्ध याकूबले देखाएको असाधारण तन्दुरुस्तीको परिणाम थियो। बाइबलले तिनी एक जना खेलाडी थिए वा थिएनन् भन्ने कुरा नबताए तापनि तिनले स्वर्गदूतसँग रातभरि कुस्ती खेले। किन? याकूब आफ्नो सम्पदाबारे तिनका पुर्खाहरूसँग गरिएको यहोवाको प्रतिज्ञामा गहिरो चासो राख्थे।
निकै वर्षअघि याकूबका दाजु एसावले एक कचौरा सुरुवाको लागि आफ्नो जेष्ठ अधिकार त्यागेका थिए। अब याकूब एसावले ४०० मानिसहरू लिएर आफूकहाँ आइरहेको कुरा सुन्छन्। यस कुराले चिन्तित भएका याकूबले पक्कै पनि आफ्ना सन्तानहरू यर्दन नदी पारिको देशमा फैलँदै जानेछन् भन्ने यहोवाको प्रतिज्ञाको पुष्टि खोज्छन्। आफ्नो प्रार्थनाअनुसारै याकूबले निर्णायक कदम चाल्छन्। आफूतिर आइरहेका एसावलाई तिनले प्रशस्त सौगातहरू पठाउँछन्। आफ्नो दललाई दुई भागमा बाँडेर आफ्ना पत्नी र छोराछोरीहरूलाई यब्बोकको जँघार तारेर तिनले बचाउको लागि सुरक्षात्मक कदम चाल्छन्। कठिन प्रयत्न र आँसु बगाउँदै रातभर स्वर्गदूतसँग कुस्ती खेलेर याकूबले निगाहको लागि ‘बिन्ती गर्छन्।’—होशे १२:४; उत्पत्ति ३२:१-३२.
याकूबको दोस्रो तथा तिनलाई सबैभन्दा मन परेकी पत्नी राहेलको उदाहरणलाई विचार गर्नुहोस्। याकूबलाई आशिष् दिने सन्दर्भमा यहोवाले गर्नुभएको प्रतिज्ञाबारे राहेललाई राम्ररी थाह छ। तिनकी दिदी, याकूबकी जेठी पत्नी लेआको चार जना छोराहरू छन् तर राहेल भने अझै बाँझी छिन्। (उत्पत्ति २९:३१-३५) आफूलाई निस्सहाय ठान्नुको सट्टा तिनले प्रार्थनामा यहोवालाई बिन्ती गरिरहन्छिन् र आफ्नो प्रार्थनाअनुसारै निर्णायक कदम चाल्छिन्। आफ्नो पुर्खा साराले हागारसँग गरेझैं राहेलले पनि आफ्नी दासी बिल्हालाई याकूबकी पत्नीको रूपमा दिन्छिन्, किनभने राहेलले यसो भन्छिन्, “मेरो काखमा खेल्नलाई त्यसले मेरो निम्ति नानी जन्माओस्।” a बिल्हाले याकूबबाट दुई छोरा, दान र नप्तालीलाई जन्माउँछिन्। तिनले कुन हदसम्म भावनात्मक संघर्ष गरेकी थिइन् भन्ने कुरा नप्तालीको जन्म हुँदा राहेलले यसरी व्यक्ति गर्छिन्: “ज्यादै लडन्त गरेर मैले मेरी दिदीलाई जितें।” पछि राहेल आफैले पनि दुई छोरा यूसुफ र बिन्यामीनलाई जन्माउँछिन्।—उत्पत्ति ३०:१-८; ३५:२४.
यहोवाले याकूब र राहेलको शारीरिक तथा भावनात्मक प्रयत्नहरूलाई किन आशिष् दिनुभयो? तिनीहरूले यहोवाको इच्छालाई प्राथमिकता दिए र आफ्नो सम्पदाको कदर गरे। तिनीहरूले आफ्नो जीवनमा उहाँको आशिष्को लागि एकाग्रचित्त भई प्रार्थना गरे र परमेश्वरको इच्छा तथा आफ्ना बिन्तीहरूअनुरूप आवश्यक कदम चाले।
यहोवाको आशिष् प्राप्त गर्न लगनशील प्रयत्न आवश्यक छ भनी याकूब र राहेलले झैं आज पनि थुप्रैले पुष्टि गर्न सक्छन्। तिनीहरूले यस्तो प्रयत्न गर्न निकै आँसु बगाउँछन्, निरुत्साह र नैराश्य पनि भोग्छन्। निकै लामो समयसम्म सभामा अनुपस्थित भएपछि फेरि सभामा उपस्थित हुनको लागि गर्नु परेको लगनशील प्रयत्नबारे एक जना मसीही आमा, एलिजाबेथ स्मरण गर्छिन्। पतिको बेग्लै विश्वास, पाँच जना साना छोरा अनि सबैभन्दा नजिकको राज्यभवन ३० किलोमिटर टाढा भएको हुँदा साँच्चै चुनौतीपूर्ण थियो। “म र मेरा छोराहरूका लागि सभाहरू लाभदायक छन् भन्ने थाह भएकोले त्यहाँ नियमित तवरमा उपस्थित हुने कोसिस गर्न ठूलो आत्म-अनुशासनको खाँचो पऱ्यो। यसले तिनीहरूलाई यो मार्ग पछ्याउनु सार्थक छ भनी बुझ्न मदत गऱ्यो।” यहोवाले तिनका प्रयत्नहरूमाथि आशिष् दिनुभयो। मसीही मण्डलीमा सक्रिय रहेका तिनका तीन जना छोराहरूमध्ये दुई जना पूर्ण-समय सेवकाईमा लागेका छन्। तिनीहरूको आध्यात्मिक प्रगतिमा खुसी व्यक्त गर्दै तिनी यसो भन्छिन्: “आध्यात्मिक प्रगतिमा तिनीहरूले मलाई जितेका छन्।” तिनको लगनशील प्रयत्नले कत्ति ठूलो इनाम प्राप्त गऱ्यो!
यहोवाले आशिष् दिनुहुने लगनशील प्रयत्न
लगनशील प्रयत्न र कडा मेहनत गर्दा पक्कै इनाम पाइन्छ। कुनै काम वा जिम्मेवारीमा हामीले जति धेरै प्रयत्न गर्छौं त्यति नै धेरै सन्तुष्टि प्राप्त हुन्छ। यहोवाले हामीलाई यस्तै प्रकारले बनाउनुभएको छ। “आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्वरको दान हो” भनी राजा सुलेमानले लेखे। (उपदेशक ३:१३; ५:१८, १९) तथापि, परमेश्वरको आशिष् प्राप्त गर्ने हो भने हाम्रा प्रयत्नहरू सही लक्ष्यतर्फ निर्देशित हुनुपर्छ। उदाहरणका लागि, के आध्यात्मिक कुराहरूलाई दोस्रो स्थानमा राख्ने जीवन शैलीमाथि परमेश्वरको आशिष् आशा गर्नु तार्किक होला? के विश्वासलाई बलियो पार्ने संगति तथा मसीही सभाहरूबाट प्राप्त हुने निर्देशन नियमित तवरमा छुट्ने खालको जागिर वा पदोन्नति स्वीकार्ने समर्पित मसीहीले यहोवाको अनुमोदनको आशा गर्न सक्छन्?—हिब्रू १०:२३-२५.
कसैले सांसारिक ओहदा वा भौतिक सम्पदाको लागि आध्यात्मिक कुरालाई लत्याएर जीवनभर संघर्ष गरे तापनि उसले “आनन्द उपभोग” गर्न सक्छ नै भन्ने छैन। गलत लक्ष्यतर्फ केन्द्रित प्रयत्नको नतिजाबारे येशूले बीउ छर्नेको उखानमा बताउनुभयो। “काँढाहरूमा छरिएको” बीउबारे येशूले भन्नुभयो, “त्यो हो, जसले वचन सुन्छ, र यस संसारको फिक्री र धनसम्पत्तिको मायाले वचनलाई निसासिदिन्छ, र त्यो फल नदिने हुन्छ।” (मत्ती १३:२२) पावलले पनि यस्तै पासोबारे चेताउनी दिए र भौतिकवादी मार्ग पछ्याउनेहरू “सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्” भने। आध्यात्मिकतालाई खतरामा पार्ने यस्तो खालको जीवन पद्धतिको उपचार के हो? पावलले अझै यसो भने: ‘यी कुराहरूबाट दूर बस र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्वरमाथिनै आशा राख।’—१ तिमोथी ६:९, ११, १७.
हाम्रो उमेर जतिसुकै होस् वा हामीले जतिसुकै लामो समयदेखि यहोवाको सेवा गरिरहेका भए तापनि हामी सबैले याकूब र राहेलले प्रदर्शन गरेको लगनशील प्रयत्नको अनुकरण गरेर लाभ उठाउन सक्छौं। आफ्नो परिस्थिति जतिसुकै डरलाग्दो वा नैराश्यपूर्ण किन नहोस्, तिनीहरूले ईश्वरीय अनुमोदन प्राप्त गर्ने कोसिस गर्दा आफ्नो सम्पदालाई कहिल्यै बिर्सेनन्। आज पनि हामीले सामना गर्ने दबाउ तथा अप्ठ्याराहरू त्यत्तिकै डरलाग्दा, नैराश्यपूर्ण वा निरुत्साहित पार्ने हुन सक्छन्। यसो हुँदा संघर्ष गर्न छोड्ने र शैतानको आक्रमणको सिकार हुने प्रलोभन आउन सक्छ। त्यसले आफ्नो उद्देश्य पूरा गर्नको लागि मनोरञ्जन वा मोजमज्जा, खेदकुद वा सोख, जागिर वा भौतिक सम्पन्नता जस्ता आफ्नो क्षमतामा भएका सबै कुराहरू चलाउन सक्छ। प्रायजसो एकदमै आकर्षक परिणामहरू देखाइन्छ, तर ती विरलै पूरा हुन्छन्। ठगिएका वा यस्ता कुराहरूको पछि लाग्न लालायित भएकाहरू प्रायजसो केवल असन्तुष्ट हुन्छन्। पुरातन समयका याकूब र राहेल जस्तै, हामी पनि लगनशील भई संघर्ष गर्ने आत्मा खेती गरौं र शैतानका धूर्त्याइँहरूमाथि विजयी होऔं।
‘परिस्थिति एकदमै निराशाजनक छ। अब केही पनि गर्न सकिंदैन। अब जेसुकै गरे पनि केही हुनेवाला छैन’ भन्ने जस्ता विचारहरू उत्पन्न गराएर शैतानले हामीलाई थकित तुल्याउन पाए त्यो एकदमै खुसी हुनेछ। त्यसोभए, ‘मलाई कसैले पनि माया गर्दैन’ र ‘यहोवाले समेत मलाई बिर्सिसक्नुभयो’ भन्ने जस्ता लत्तो छाड्ने मनोवृत्ति विकास गर्नदेखि सजग रहनु हामी सबैको लागि कत्ति महत्त्वपूर्ण छ। यस्ता विचारहरूको अगाडि पराजित हुनु भनेको आफ्नै हानि व्यहोर्नु हो। के यसले हामी हरेस खाएको र आशिष् पाउन संघर्ष गर्न छोडेको संकेत गर्दैन र? यो कुरा नबिर्सनुहोस्, यहोवाले हाम्रो लगनशील प्रयत्नमा आशिष् दिनुहुन्छ।
यहोवाको अशिष्को लागि संघर्ष गरिरहनुहोस्
हाम्रो आध्यात्मिक हित धेरै हदसम्म यहोवाको सेवकको हैसियतमा हाम्रो जीवनबारे दुईवटा महत्त्वपूर्ण कुराहरू बुझ्नुमा निर्भर छ। (१) जीवनमा आइपर्ने समस्या, दुःख वा अप्ठ्यारा परिस्थितिहरू कसैको पनि आफ्नो हातमा हुँदैन र (२) यहोवाले मदत र आशिष्को लागि उहाँसँग व्यग्र बिन्ती गर्नेहरूको पुकारा सुन्नुहुन्छ।—प्रस्थान ३:७-१०; याकूब ४:८, १०; १ पत्रुस ५:८, ९.
तपाईंको परिस्थिति जतिसुकै गाह्रो होस् वा तपाईंले आफूले जति नै सीमित मात्र काम गर्न सकेको महसुस गर्नुहोस्, तर “हामीलाई सजिलैसित अल्मल्याउने पाप” अर्थात् विश्वासको कमीसँग कहिल्यै पराजित नहुनुहोस्। (हिब्रू १२:१) तपाईंले आशिष् प्राप्त नगरुन्जेलसम्म संघर्ष गरिरहनुहोस्। आशिष् पाउनको लागि रातभरि कुस्ती खेलेका वृद्ध याकूबलाई सम्झेर धैर्य धारण गर्नुहोस्। वसन्तमा छरेर कटनीको लागि कुर्ने किसानझैं, तपाईंलाई आफ्नो आध्यात्मिक क्रियाकलाप जति नै सीमित लागे तापनि धैर्यतासाथ आफ्नो क्रियाकलापमाथि परमेश्वरको आशिष्को बाटो हेर्नुहोस्। (याकूब ५:७, ८) अनि भजनहारका यी शब्दहरू कहिल्यै नबिर्सनुहोस्: “रूँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्।” (भजन १२६:५; गलाती ६:९) दृढ रहनुहोस् र संघर्ष गर्नेहरूमध्ये रहिरहनुहोस्।
[फुटनोट]
a व्यवस्थाको करार लागू हुनुभन्दा अघि उपपत्नीहरू राख्ने चलन थियो र व्यवस्थाले यसलाई स्वीकार्नुका साथै व्यवस्थाअनुसारै गरिन्थ्यो। येशू ख्रीष्ट नआउन्जेलसम्म यहोवाले अदनको बगैंचामा स्थापना गरिएकोजस्तै एक जना मात्र विवाह गर्ने चलन पुनर्स्थापना गर्ने बेला भइसकेको ठान्नुभएन, तर उहाँले कानूनन् उपपत्नीलाई संरक्षण प्रदान गर्नुभयो। उपपत्नी राख्ने चलनले इस्राएलको जनसंख्यामा तीव्र वृद्धि गर्न मदत गऱ्यो।