सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुहोस्‌

वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुहोस्‌

वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुहोस्‌

“परमप्रभु हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ।”—यशैया ३३:२२.

१. राष्ट्रहरूमध्ये पुरातन इस्राएल कसरी विशेष थियो?

 इस्राएल राष्ट्रको स्थापना सा.यु.पू. १५१३ मा भयो। त्यतिबेला यसको राजधानी, जन्मभूमि र कुनै दृश्‍य राजा थिएन। यस देशका जनता पहिला दासहरू थिए। तथापि, यो नयाँ राष्ट्र अर्को तरिकामा भने झनै विशेष थियो। यहोवा परमेश्‍वर यस देशको अदृश्‍य न्यायकर्ता, शासक र राजा हुनुहुन्थ्यो। (प्रस्थान १९:५, ६; यशैया ३३:२२) अरू कुनै राष्ट्रले त्यस्तो दाबी गर्न सक्दैनथ्यो।

२. इस्राएललाई व्यवस्थित बनाइएको सन्दर्भमा कस्तो प्रश्‍न खडा हुन्छ र यसको उत्तर हाम्रोनिम्ति किन महत्त्वपूर्ण छ?

यहोवा व्यवस्थित हुनुका साथै शान्तिका परमेश्‍वर हुनुभएको कारण उहाँले शासन गर्नुहुने कुनै पनि राष्ट्र गोलमाल अवस्थामा भएको हामी कल्पना गर्न सक्दैनौं। (१ कोरिन्थी १४:३३) इस्राएल राष्ट्रको कुरा पनि त्यही हो। तर एउटा पार्थिव दृश्‍य संगठन कसरी अदृश्‍य परमेश्‍वरको निर्देशनमा चल्न सक्छ? यहोवाले पुरातन इस्राएलमाथि कसरी शासन गर्नुभयो र विशेष गरी उहाँले इस्राएलसँग गर्नुभएको व्यवहारबाट वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुको महत्त्व कसरी प्रकाश पार्छ भनी बुझ्नु बेस हुनेछ।

पुरातन इस्राएलमाथि कसरी शासन गरियो

३. यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउन कस्ता व्यावहारिक प्रबन्धहरू मिलाउनुभयो?

यहोवा इस्राएलको अदृश्‍य राजा हुनुभए तापनि उहाँले विश्‍वासी पुरुषहरूलाई आफ्नो दृश्‍य प्रतिनिधिको रूपमा नियुक्‍त गर्नुभएको थियो। तिनीहरू सल्लाहकार र न्यायकर्ताको रूपमा मानिसहरूको सेवा गर्न नाइके, कुलका प्रमुख र बूढा प्रधानहरू नियुक्‍त भएका थिए। (प्रस्थान १८:२५, २६; व्यवस्था १:१५) तथापि, ती जिम्मेवार प्राप्त पुरुषहरूले ईश्‍वरीय निर्देशनविना निष्खोट विवेक र समझका साथ न्याय गर्न सक्थे भन्‍ने निष्कर्षमा हामी पुग्नुहुँदैन। तिनीहरू असिद्ध थिए र तिनीहरूले आफ्ना सँगी उपासकहरूको मन पढ्‌न सक्दैनथे। तैपनि, ईश्‍वरभीरु न्यायाधीशहरूले सँगी विश्‍वासीहरूलाई लाभकारी सल्लाह दिन सक्थे किनभने यो यहोवाको व्यवस्थामा आधारित थियो।—व्यवस्था १९:१५; भजन ११९:९७-१००.

४. इस्राएलका विश्‍वासी न्यायकर्ताहरू कस्ता झुकाउहरू नअपनाउन होसियार हुनुपर्थ्यो र किन?

तथापि, न्यायकर्ता हुन व्यवस्था जान्‍नु मात्र पर्याप्त थिएन। असिद्ध भएको कारण बूढा प्रधानहरू स्वार्थ, पक्षपात र लोभजस्ता कुराको वशमा परेर आफूलाई मन लागेजस्तो गर्ने झुकाउदेखि होसियार हुनुपर्थ्यो जसले तिनीहरूको न्यायिक फैसलामा असर गर्न सक्थ्यो। मोशाले तिनीहरूलाई यसो भने: “न्याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेऊ। तिमीहरूले साना ठूला दुवैको कुरा सुन। कुनै मान्छेसँग नडराओ, किनकि न्यायको फैसला ता परमेश्‍वरको हातमा हुन्छ।” हो, इस्राएलका न्यायकर्ताहरूले परमेश्‍वरको निम्ति न्याय गर्दैथिए। त्यो कस्तो अनुपम सुअवसर थियो! —व्यवस्था १:१६, १७.

५. आफ्ना जनहरूको हेरचाहको निम्ति परमेश्‍वरले न्यायकर्ताहरूबाहेक अन्य कस्ता प्रबन्धहरू मिलाउनुभयो?

यहोवाले आफ्ना जनहरूको आध्यात्मिक आवश्‍यकताको हेरचाह गर्न अन्य प्रबन्धहरू मिलाउनुभयो। तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि नै उहाँले तिनीहरूलाई बासस्थान अथवा साँचो उपासनाको केन्द्र बनाउने आज्ञा गर्नुभयो। उहाँले व्यवस्था सिकाउन, पशु बलि चढाउन अनि बिहान र बेलुकी धूप बाल्न पूजाहारीहरूको प्रबन्ध मिलाउनुभयो। परमेश्‍वरले मोशाका दाइ हारूनलाई इस्राएलको मुख्य पूजाहारी र तिनका छोराहरूलाई आफ्ना बुबाका काममा सघाउन नियुक्‍त गर्नुभयो।—प्रस्थान २८:१; गन्ती ३:१०; २ इतिहास १३:१०, ११.

६, ७. (क) पूजाहारी तथा गैरपूजाहारी लेवीहरूबीच कस्तो सम्बन्ध थियो? (ख) लेवीहरूले गरेका विभिन्‍न कामबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (कलस्सी ३:२३)

लाखौं मानिसहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्नु चानचुने काम थिएन र पूजाहारीहरूको संख्या पनि कमै थियो। त्यसैले, तिनीहरूलाई सघाउन लेवी कुलका अन्य सदस्यहरूको प्रबन्ध मिलाइयो। यहोवाले मोशालाई यस्तो भन्‍नुभयो: “सबै इस्राएलबाट विशेष रूपले छुट्याइएको हुनाले लेवीहरू हारून र त्यसको छोराहरूलाई दिइहाल्नू।”—गन्ती ३:९, ३९.

लेवीहरू सुव्यवस्थित थिए। तिनीहरूलाई गेर्शोन, कहात र मरारी गरी तीनवटा परिवारअनुसार छुट्याइएको थियो र सबैलाई बेग्लाबेग्लै काम अह्राइएको थियो। (गन्ती ३:१४-१७, २३-३७) कुनै काम अरूभन्दा महत्त्वपूर्ण देखिए तापनि सबै अत्यावश्‍यक थिए। कहात लेवीहरूलाई दिइएको कामले गर्दा तिनीहरू पवित्र करारको सन्दूक र बासस्थानको सरसामानको नजिकै हुन्थे। तथापि, कहात होस्‌ वा नहोस्‌, सबै लेवीले अनुपम सुअवसरहरूको आनन्द उठाउन सक्थे। (गन्ती १:५१, ५३) दुःखको कुरा, कोही-कोहीले आफ्ना सुअवसरहरूको मूल्यांकन गरेनन्‌। वफादार भई ईश्‍वरीय अख्तियारको अधीनमा बस्नुको सट्टा तिनीहरूले गनगन गरे अनि घमण्डी, महत्त्वाकांक्षी र ईर्ष्यालु हुन थाले। कोरह नाउँ गरेका लेवी त्यस्तै भए।

“के तिमीहरू पूजाहारी पद पनि खोज्छौ?”

८. (क) कोरह को थिए? (ख) कोरहले पूजाहारीहरूलाई पूर्णतया मानिसको दृष्टिकोणले हेर्न थाल्नुको कारण के हुन सक्छ?

कोरह न त लेवी कुलको न कहात परिवारका प्रमुख नै थिए। (गन्ती ३:३०, ३२) यद्यपि, तिनी इस्राएलमा सबैले सम्मान गर्ने नाइके थिए। कोरह आफ्नो कामले गर्दा हारून र तिनका छोराहरूसँग नजिकको सम्बन्ध भएको हुन सक्छ। (गन्ती ४:१८, १९) ती मानिसहरूको असिद्धता आफूले प्रत्यक्ष देखेपछि कोरहले यस्तो तर्क गरेका हुन सक्छन्‌: ‘यी पूजाहारीहरू पक्कै असिद्ध मानिसहरू हुन्‌ अनि म त्यस्ता मानिसहरूको अधीनमा बस्नुपर्ने! हारूनले सुनको बाछो बनाएको कति नै भयो र? त्यस बाछोलाई उपासना गरेको कारण हाम्रा मानिसहरू मूर्तिपूजामा फसे। अहिले मोशाको दाइ हारून प्रधान पूजाहारीको रूपमा सेवा गरिरहेका छन्‌! कस्तो कृपावाद! अनि हारूनको छोरा, नादाब र अबीहू नि? तिनीहरूले सेवाको सुअवसरप्रति त्यस्तो घोर अनादार देखाएको कारण नै यहोवाले तिनीहरूको ज्यान लिनुभएको थियो!’ a (प्रस्थान ३२:१-५; लेवी १०:१, २) कोरहको तर्क जस्तोसुकै भए तापनि तिनले पूजाहारीगिरीलाई मानिसको दृष्टिकोणले हेर्न थालेको कुरा स्पष्ट छ। फलस्वरूप तिनले मोशा र हारून अनि अन्तमा यहोवा विरुद्ध विद्रोह गरे।—१ शमूएल १५:२३; याकूब १:१४, १५.

९, १०. कोरह र तिनका साथीहरूले मोशा विरुद्ध कस्तो अभियोग लगाए र त्यसो गर्नुअघि तिनीहरूले कुन कुरा राम्ररी थाह पाउनुपर्ने थियो?

प्रभावशाली व्यक्‍तित्व भएको कारण कोरहलाई आफ्नो धारणासित सहमत हुने मानिसहरूको हूल जम्मा गर्न गाह्रो भएन। तिनीलगायत दातान र अबीरामले आफ्नो जस्तै धारणासित सहमत हुने अन्य २५० जना मानिसहरू भेट्टाए र तिनीहरू सबै सभाका प्रमुख थिए। तिनीहरू सबैले मोशा र हारूनलाई भेटर यसो भने: “समुदायका हरेकनै पवित्र छन्‌, र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, र पनि तपाईंहरू किन आफूलाई उच्च तुल्याउनुहुन्छ?”—गन्ती १६:१-३.

१० मोशाको अख्तियारको विरोध गर्नु उचित हुनेछैन भन्‍ने कुरा विद्रोहीहरूलाई राम्ररी थाह हुनुपर्ने थियो। केही समयअघि मात्र हारून र मरियमले त्यस्तै विरोध गरेका थिए। तिनीहरूले पनि कोरहले जस्तै तर्क गरेका थिए! गन्ती १२:१, २ अनुसार तिनीहरूले यस्तो प्रश्‍न गरे: “के परमप्रभु केवल मोशासँग मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीसित पनि कुरा गर्नुभएको छैन र?” यहोवाले सुनिरहनुभएको थियो। उहाँले छान्‍नुभएको नेता को हो भनी देखाउन उहाँले मोशा, हारून र मरियमलाई भेट हुने पालमा आउने आज्ञा गर्नुभयो। त्यसपछि यहोवाले स्पष्टसित यसो भन्‍नुभयो: “तिमीहरूको बीचमा कुनै अगमवक्‍ता छ भने, म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्नेछु। अथवा त्यससँग सपनामा कुरा गर्नेछु। तर मेरो दास मोशासित ता म त्यसो गर्दिनँ। उ ता मेरा सबै घरानामा विश्‍वासी छ।” त्यसपछि यहोवाले केही समयको निम्ति मरियमलाई कोरी हुन दिनुभयो।—गन्ती १२:४-७, १०.

११. कोरह पनि मुछिएको अवस्थालाई मोशाले कसरी सम्हाले?

११ कोरह र तिनको लहैलहैमा लागेका व्यक्‍तिहरूलाई त्यो घटनाबारे थाह हुनुपर्छ। तिनीहरूको विद्रोह निराधार थियो। तैपनि मोशाले धीरजी भई तिनीहरूसित तर्क गर्ने कोसिस गरे। तिनले तिनीहरूलाई आफूले पाएको सुअवसरको मूल्यांकन गर्न आग्रह गर्दै यसो भने: “इस्राएलका परमेश्‍वरले उहाँका नजिकै ल्याएर इस्राएलका समुदायबाट तिमीहरूलाईनै चुन्‍नुभएको के तिमीहरूले ठट्टा सम्झेका छौ?” यो कुनै “ठट्टा[को]” कुरा थिएन! लेवीहरूले थुप्रै सुविधाहरू पाइसकेका थिए। तिनीहरू अझ बढी के चाहन्थे? मोशाले अझ पछि भनेका शब्दहरूबाट तिनीहरूको हृदयको अवस्था स्पष्ट हुन्छ: “के तिमीहरू पूजाहारी पद पनि खोज्छौ?” b (गन्ती १२:३; १६:९, १०) तर यहोवाले ईश्‍वरीय अख्तियारको विद्रोहप्रति कस्तो प्रतिक्रिया देखाउनुभयो?

इस्राएलका न्यायकर्ताले हस्तक्षेप गर्छन्‌

१२. परमेश्‍वरसँग इस्राएलको राम्रो सम्बन्ध कुन कुरामा निर्भर हुनेथियो?

१२ यहोवाले इस्राएललाई व्यवस्था दिनुहुँदा तिनीहरू आज्ञाकारी भएको खण्डमा तिनीहरू “एक पवित्र जाति” हुनेछन्‌ र यहोवाका प्रबन्धहरू स्वीकारुन्जेल पवित्र रहिरहन सक्नेछन्‌ भन्‍नुभएको थियो। (प्रस्थान १९:५, ६) अब यस्तो खुलेआम विद्रोहको कारण इस्राएलका न्यायकर्ता र शासकले हस्तक्षेप गर्ने समय भएको थियो! मोशाले कोरहलाई यसो भने: “तँ र तेरा सबै दल, र हारून, पनि भोलि परमप्रभुको सामने आओ। तिमीहरू हरेकले आफ्नो आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल, र हरेकले आफ्नो आफ्नो धूपौरो, अर्थात्‌ दुइ सय पचास धूपौरा परमप्रभुको सामने ल्याओ। हारून र तैंले पनि आफ्नो आफ्नो धूपौरो ल्याउनू।”—गन्ती १६:१६, १७.

१३. (क) ती विद्रोहीहरूले यहोवासामु धूप बाल्नु किन अहंकारी व्यवहार थियो? (ख) यहोवाले ती विद्रोहीहरूलाई के गर्नुभयो?

१३ परमेश्‍वरको व्यवस्थाअनुसार पूजाहारीले मात्र धूप बाल्न सक्थे। गैरपूजाहारी लेवीको यहोवासामु धूप बाल्ने विचारले मात्र पनि ती विद्रोहीहरूको होस फर्काउनुपर्ने थियो। (प्रस्थान ३०:७; गन्ती ४:१६) तर कोरह तथा तिनका समर्थकहरूको होस फर्केन! भोलिपल्ट तिनले “सारा समुदायलाई [मोशा र हारूनका] विरुद्धमा भेट हुने पालको ढोकामा जम्मा गरे।” विवरण हामीलाई यसो भन्छ: “यस समुदायबाट तिमीहरू अलग होओ, र म एक पलमा यिनीहरूलाई भस्म पार्नेछु।” तर मोशा र हारूनले ती मानिसहरूको ज्यानको खातिर बिन्ती गरे। यहोवाले तिनीहरूको बिन्ती सुन्‍नुभयो। कोरह र तिनका मानिसहरूलाई चाहिं “परमप्रभुकहाँबाट आगो निस्केर धूप चढ़ाउने ती दुइ सय पचास जनालाई भस्म पाऱ्‍यो।”—गन्ती १६:१९-२२, ३५. c

१४. यहोवाले इस्राएलका समुदायको विरुद्धमा किन त्यस्तो कडा कारबाही गर्नुभयो?

१४ छक्कलाग्दो कुरा के छ भने, यहोवाले ती विद्रोहीहरूसँग कस्तो व्यवहार गर्नुभयो भनी देखेका इस्राएलीहरूले अझै पाठ सिकेनन्‌। “भोलिपल्ट इस्राएलीहरूका जम्मै समुदाय मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, ‘तपाईंहरूलेनै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।’ ” इस्राएलीहरूले ती विद्रोहीहरूको पक्ष लिइरहेका थिए! अन्ततः यहोवाको धीरजको सीमा नाघ्यो। अनि मोशा र हारूनलगायत कसैले पनि मानिसहरूको खातिर बोल्न सकेनन्‌। यहोवाले अनाज्ञाकारीहरूलाई भस्म पार्नुभयो र “कोरहको घटनामा मरेकाबाहेक त्यस बेला विपत्तिले मरेकाहरू चौध हजार सात सय थिए।”—गन्ती १६:४१-४९.

१५. (क) कस्ता कारणहरूले गर्दा इस्राएलीहरूले मोशा र हारूनको नेतृत्व गनगन नगरिकन स्वीकार्नुपर्ने थियो? (ख) यस विवरणबाट तपाईंले यहोवाबारे कुन कुरा सिक्नुभयो?

१५ ती सबै मानिसहरूले बेकारमा आफ्नो ज्यान गुमाए। ती मानिसहरूले राम्रोसित सोचविचार गरेको भए बच्ने थिए। तिनीहरूले आफूलाई यस्तो प्रश्‍न गर्न सक्थे: ‘आफ्नो ज्यान खतरामा पारेर फिरऊनसामु देखा पर्ने व्यक्‍ति को थिए? इस्राएलीहरूलाई मुक्‍त गरिदिनु भनी कसले भने? इस्राएलको छुटकारापछि परमेश्‍वरको स्वर्गदूतसँग मुखामुख कुरा गर्न होरेब पर्वतमा उक्लेका व्यक्‍ति को थिए?’ साँच्चै, मोशा र हारूनको उल्लेखनीय रेकर्डहरूले यहोवाप्रति तिनीहरूको वफादारी र मानिसहरूप्रतिको प्रेमको प्रमाण दिन्छ। (प्रस्थान १०:२८; १९:२४; २४:१२-१५) मानिसहरूलाई भस्म पार्दा यहोवालाई खुसी लागेको थिएन। तैपनि, मानिसहरूले विद्रोही मार्ग नत्याग्ने स्पष्ट हुँदा उहाँले निर्णायक कदम चाल्नुभयो। (इजकिएल ३३:११) यी सबै कुराहरूले आज हाम्रोनिम्ति ठूलो महत्त्व राख्छ। किन?

अहिलेको माध्यम चिन्‍ने

१६. (क) येशू नै यहोवाको प्रतिनिधि हुनुहुन्छ भनी प्रथम शताब्दीका यहूदीहरू किन विश्‍वस्त हुनुपर्ने थियो? (ख) लेवी पूजाहारीगिरीको बदलामा यहोवाले के राख्नुभयो र किन?

१६ आज एउटा नयाँ “जाति” छ जसको अदृश्‍य न्यायकर्ता, शासक र राजा यहोवा हुनुहुन्छ। (मत्ती २१:४३) त्यो “जाति[को]” जन्म सा.यु. प्रथम शताब्दीमा भयो। यतिबेलासम्म, मोशाको दिनको बासस्थानको बदलामा यरूशलेममा भव्य मन्दिर स्थापना भइसकेको थियो र त्यहाँ लेवीहरूले नै पूजाहारीको काम गर्दैथिए। (लूका १:५, ८, ९) तथापि, सा.यु. २९ मा स्थापना भएको अर्को आध्यात्मिक मन्दिरको प्रधान पूजाहारी येशू ख्रीष्ट हुनुहुन्थ्यो। (हिब्रू ९:९, ११) फेरि एक चोटि ईश्‍वरीय अख्तियारको प्रश्‍न खडा भयो। यस नयाँ “जाति[लाई]” डोऱ्‍याउन यहोवाले कसलाई चलाउनुहुने थियो? येशूले आफूलाई परमेश्‍वरप्रति पूर्णतया वफादार साबित गर्नुभयो। उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले थुप्रै चमत्कारी कार्यहरू पनि गर्नुभयो। तथापि, तिनीहरूका अरट्ठो पुर्खाहरूजस्तै अधिकांश लेवीहरूले येशूलाई स्वीकार्न इन्कार गरे। (मत्ती २६:६३-६८; प्रेरित ४:५, ६, १८; ५:१७) अन्ततः यहोवाले लेवी पूजाहारीहरूको बदलामा एकदमै फरक, राजकीय पूजाहारीगिरी राख्नुभयो। यो राजकीय पूजाहारीगिरी आज हाम्रो समयमा पनि छ।

१७. (क) आज राजकीय पूजाहारीगिरीको समूहमा को को छन्‌? (ख) यहोवाले राजकीय पूजाहारीगिरी कसरी चलाउनुहुन्छ?

१७ आज यो राजकीय पूजाहारीगिरीमा को को छन्‌? प्रेरित पत्रुसले यस प्रश्‍नको जवाफ आफ्नो पहिलो प्रेरित पत्रमा दिएका छन्‌। ख्रीष्टको शरीरका अभिषिक्‍त सदस्यहरूलाई पत्रुसले यस्तो लेखे: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।” (१ पत्रुस २:९) यी शब्दहरूबाट येशूको पाइलामा टेकेर हिंड्‌ने अभिषिक्‍त जनहरूको समूह नै “राजकीय पूजाहारीगिरी” हुन्‌ भनी स्पष्ट हुन्छ जसलाई पत्रुसले “पवित्र जाति” पनि भने। यहोवाले आज आफ्नो जातिलाई निर्देशन र आध्यात्मिक डोऱ्‍याइ दिन चलाउनुहुने माध्यम तिनीहरू नै हुन्‌।—मत्ती २४:४५-४७.

१८. नियुक्‍त प्राचीनहरू र राजकीय पूजाहारीगिरीबीच कस्तो सम्बन्ध छ?

१८ राजकीय पूजाराहीगिरीको प्रतिनिधित्व नियुक्‍त प्राचीनहरूले गर्छन्‌ जसले सारा संसारभरि यहोवाका जनहरूको मण्डलीमा जिम्मेवारी वहन गरिरहेका छन्‌। यी पुरुषहरू हाम्रो आदरको योग्य छन्‌ र हामीले चाहे तिनीहरू अभिषिक्‍त होऊन्‌ वा नहोऊन्‌, तनमनले तिनीहरूको समर्थन गर्नुपर्छ। किन? किनभने यहोवाले आफ्नो पवित्र आत्माद्वारा प्राचीनहरूलाई नियुक्‍त गर्नुभएको हो। (हिब्रू १३:७, १७) त्यो कसरी हुन सक्छ?

१९. कुन तरिकामा प्राचीनहरू पवित्र आत्माद्वारा नियुक्‍त हुन्छन्‌?

१९ यी बूढा प्रधानहरूले परमेश्‍वरको वचनमा औंल्याइएका आवश्‍यकताहरू पूरा गर्छन्‌ जुन परमेश्‍वरको आत्माको फल हो। (१ तिमोथी ३:१-७; तीतस १:५-९) तसर्थ तिनीहरूको नियुक्‍ति पवित्र आत्माद्वारा गरिएको हो भन्‍न सकिन्छ। (प्रेरित २०:२८) बूढा प्रधान वा प्राचीनहरूलाई परमेश्‍वरको वचन राम्ररी थाह हुनुपर्छ। तिनीहरूलाई नियुक्‍त गर्नुहुने सर्वोच्च न्यायकर्ताजस्तै प्राचीनहरूले पक्षपात जस्तो देखिन सक्ने सबै कुरालाई घृणा गर्नुपर्छ।—व्यवस्था १०:१७, १८.

२०. परिश्रमी प्राचीनहरूको कुन कुराको तपाईं मूल्यांकन गर्नुहुन्छ?

२० तिनीहरूको अख्तियारमाथि चुनौती खडा गर्नुको सट्टा हामी परिश्रमी प्राचीनहरूको साँच्चै मूल्यांकन गर्छौं! तिनीहरूको दशकौंको विश्‍वासी सेवाको रेकर्डले हामीलाई तिनीहरूमाथि भरोसा राख्न प्रेरित गर्छ। तिनीहरू लगनशील भई तयारी गर्नुका साथै सभा सञ्चालन गर्छन्‌, हामीसँग काँधमा काँध मिलाएर “राज्यको . . . सुसमाचार” प्रचार गर्छन्‌ र हामीलाई चाहिएको बेला धर्मशास्त्रीय सल्लाह दिन्छन्‌। (मत्ती २४:१४; हिब्रू १०:२३, २५; १ पत्रुस ५:२) हामी बिरामी परेको बेला तिनीहरू हामीलाई भेट्‌न आउँछन्‌ र शोक परेको बेला सान्त्वना दिन्छन्‌। तिनीहरू वफादार तथा निःस्वार्थ भई राज्य गतिविधिलाई टेवा पुऱ्‍याउँछन्‌। यहोवाको आत्मा तिनीहरूमाथि छ र तिनीहरूले उहाँको अनुमोदन पाएका छन्‌।—गलाती ५:२२, २३.

२१. प्राचीनहरू कुन कुराबारे सजग हुनुपर्छ र किन?

२१ निस्सन्देह, प्राचीनहरू सिद्ध छैनन्‌। आफ्ना सीमितताहरूबारे सजग हुँदै तिनीहरू आफ्नो “जिम्मामा रहेका” बगालहरूमाथि हैकम चलाउने कोसिस गर्दैनन्‌। बरु तिनीहरूले आफूलाई ‘आफ्ना भाइहरूको सहयोगी’ ठान्छन्‌। (१ पत्रुस ५:३; २ कोरिन्थी १:२४) नम्र तथा परिश्रमी प्राचीनहरू यहोवालाई प्रेम गर्छन्‌ र तिनीहरूले जतिसक्दो उहाँको अनुकरण गर्छन्‌, मण्डलीमा त्यत्ति नै राम्रो गर्न सक्नेछन्‌ भनी तिनीहरूलाई थाह छ। यस कुरालाई मनमा राख्दै तिनीहरू प्रेम, अनुकम्पा र धीरजजस्ता ईश्‍वरीय गुणहरू खेती गर्ने प्रयास गर्छन्‌।

२२. कोरहको विवरण पुनरावलोकन गर्दा यहोवाको दृश्‍य संगठनमाथि तपाईंको विश्‍वास कसरी बलियो भएको छ?

२२ यहोवालाई हाम्रो अदृश्‍य शासकको रूपमा, येशू ख्रीष्टलाई हाम्रो प्रधान पूजाहारीको रूपमा, अभिषिक्‍त राजकीय पूजाहारीगिरीका सदस्यहरू हाम्रो शिक्षक र विश्‍वासी मसीही बूढा प्रधानहरू हाम्रो सल्लाहकारको रूपमा पाउनु कस्तो आनन्दको कुरा हो! मानिसहरूद्वारा निर्देशित कुनै पनि संगठन सिद्ध नहुने भए तापनि आनन्दसाथ ईश्‍वरीय अख्तियारको अधीनमा बस्ने सँगी विश्‍वासीहरूको सँगसँगै परमेश्‍वरको सेवा गर्न पाउँदा हामी कत्ति आनन्दित छौं!

[फुटनोटहरू]

a हारूनको अर्का दुई जना छोरा एलाजार र ईतामार यहोवाको सेवामा उदाहरणीय थिए।—लेवी १०:६.

b कोरहसँगसँगै विद्रोह गर्ने दातान र अबीराम रूबेनी खलकका थिए। यसो हेर्दा तिनीहरूको पूजाहारी हुने चाहना थिएन। तिनीहरूले चाहिं मोशाको नेतृत्वको विरोध गरे र त्यो समयसम्मको तथ्य केलाएर हेर्ने हो भने, प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने तिनीहरूको धोको पूरा भइसकेको थिएन।—गन्ती १६:१२-१४.

c कुलपिताहरूको समयमा प्रत्येक परिवारको शिरले परमेश्‍वरसामु आफ्नी पत्नी र छोराछोरीको प्रतिनिधित्व गर्थ्यो र तिनले तिनीहरूको खातिर बलिहरू चढाउँथे। (उत्पत्ति ८:२०; ४६:१; अय्यूब १:५) तथापि, व्यवस्था स्थापना गरिएपछि यहोवाले हारूनको परिवारका पुरुष सदस्यहरूलाई पूजाहारीको रूपमा नियुक्‍त गर्नुभयो र तिनीहरूमार्फत बलिहरू चढाउनुपर्थ्यो। ती २५० जना विद्रोही यस परिवर्तनअनुसार चल्न तयार थिएनन्‌ भन्‍ने कुरा स्पष्ट छ।

तपाईंले के सिक्नुभयो?

• यहोवाले इस्राएलीहरूको हेरचाह गर्न कस्ता मायालु प्रबन्धहरू मिलाउनुभयो?

• कोरहको मोशा र हारून विरुद्धको विद्रोह किन क्षमायोग्य थिएन?

• यहोवाले विद्रोहीहरूसँग गर्नुभएको व्यवहारबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

• आज यहोवाका प्रबन्धहरूको हामी मूल्यांकन गर्छौं भनी कसरी देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

के तपाईं यहोवाको सेवामा जुनसुकै कार्यभारलाई एउटा सुअवसर ठान्‍नुहुन्छ?

[पृष्ठ १०-मा भएको चित्र]

“परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, रपनि तपाईंहरू किन आफूलाई उच्च तुल्याउनुहुन्छ?”

[पृष्ठ १३-मा भएको चित्र]

नियुक्‍त प्राचीनहरूले राजकीय पूजाहारीगिरीको प्रतिनिधित्व गर्छन्‌