सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वृद्ध र पूरा उमेर पुगेकी

वृद्ध र पूरा उमेर पुगेकी

जीवनी

वृद्ध र पूरा उमेर पुगेकी

म्युरिएल स्मिथको वृत्तान्तमा आधारित

अगाडिको ढोका ढकढक्याएको चर्को आवाज सुनियो। त्यतिबेला म बिहानभरि प्रचार कार्यमा भाग लिएर दिउँसोको खाना खान घर फर्केकी मात्र थिएँ। सधैंजसो यतिबेला पनि म चिया बनाउनको लागि पानी उमाल्दै थिएँ र आधा घण्टाजति आराम गर्ने तरखर गर्दै थिएँ। ढकढक गरेको आवाज रोकिएन, त्यसैकारण यतिबेला को चाहिं आयो होला भनेर छक्क पर्दै म ढोकातिर लागें। को आएको रहेछ भन्‍ने कुरा मैले थाह पाइहालें। मेरो ढोकामा उभिरहेका दुई जना व्यक्‍तिहरूले आफू प्रहरी अधिकृतहरू भएको कुरा बताए। तिनीहरूले मेरो घरमा प्रतिबन्धित संस्था अर्थात्‌ यहोवाका साक्षीहरूको साहित्य छ कि भनेर खानतलासी गर्न आएको कुरा बताए।

यहोवाका साक्षीहरू अस्ट्रेलियामा किन प्रतिबन्धित थिए र म कसरी यहोवाको साक्षी बन्‍न पुगें? यी सबै कुराहरू म दस वर्षकी हुँदा, सन्‌ १९१० मा मेरी आमाले दिनुभएको उपहारबाट सुरु भयो।

मेरो परिवार उत्तरी सिड्‌नीमा क्रोज नेस्टको बाहिरी भागको छाप्रोमा बस्थ्यो। एक दिन म स्कूलबाट फर्किंदा, मेरी आमा अगाडिको ढोकामा एक जना मानिससँग कुरा गरिरहनुभएको थियो। सुट लगाएका र झोलाभरि पुस्तकहरू बोकेका यी अपरिचित मानिस को होलान्‌ भनेर जान्‍न म उत्सुक थिएँ। अनकनाउँदै, एक छिन है भनेर म फुत्तै घरभित्र छिरिहालें। तथापि, केही मिनेटपछि नै आमाले मलाई बोलाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “यी मानिससँग धर्मशास्त्रबारे थुप्रै राम्रा-राम्रा पुस्तकहरू छन्‌। अब चाँडै तिम्रो जन्म दिन आउँदैछ, त्यसकारण ल भन तिमी नयाँ लुगा किन्‍ने कि यी पुस्तकहरू? तिमी के चाहन्छ्‌यौ?”

“आमा, म त यही पुस्तकहरू लिन्छु, धन्यवाद।” भनेर मैले जवाफ दिएँ।

यसरी दस वर्षको उमेरमै मैले चार्ल्स टेज रसलद्वारा लिखित स्टडिज इन द स्क्रिप्चर्स-का प्रथम तीन खण्डहरू पाएँ। यी पुस्तकहरू बुझ्न मलाई गाह्रो पर्न सक्ने हुनाले ती पुस्तकहरूबारे बुझाइदिनको लागि ढोकामा उभिएका मानिसले मेरी आमालाई आग्रह गरे। आमाले त्यो काम गर्नको लागि आफू खुसी हुने कुरा बताउनुभयो। तर दुःखको कुरा, यो घटना घटेको केही समयपछि नै मेरी आमाको मृत्यु भयो। बुबाले मेरो भाइ, बहिनी र मेरो हेरविचार गर्न कुनै कसर बाँकी राख्नुभएन, तर ममा केही जिम्मेवारीहरू थपिए र यसले मलाई विचलित पार्न खोज्यो। तर अझ अर्को दुःखलाग्दो घटना आइपर्नै लागेको थियो।

सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु भयो र त्यसको ठीक एक वर्षपछि हाम्रो प्यारो बुबा मारिनुभयो। त्यसपछि हामी टुहुरा भयौं, मेरो भाइ र बहिनीलाई हाम्रा नातेदारहरूसँग राखियो र मलाई चाहिं क्याथोलिक बोर्डिङ स्कूलमा पठाइयो। कहिलेकाहीं मलाई एकाकीपनले छोप्थ्यो। तैपनि, मेरो चासोको विषय अर्थात्‌ संगीत र त्यसमा पनि विशेष गरी पियानो सिक्ने मौका पाएकोमा म कृतज्ञ छु। वर्षहरू बित्दै गए र मैले पनि बोर्डिङ स्कूलको पढाइ पूरा गरें। सन्‌ १९१९ मा मैले वाद्ययन्त्रहरू बेच्ने रोइ स्मिथसँग विवाह गरें। सन्‌ १९२० मा हाम्रो बच्चा जन्मियो र म फेरि जीवनका दैनिक फिक्रीहरूमा व्यस्त हुन थालें। तर ती पुस्तकहरू नि?

एक जना छिमेकीले आध्यात्मिक सच्चाइ बताउँछिन्‌

ती सबै वर्षहरूका दौडान म जताजता जान्थें ती “बाइबल पुस्तकहरू” पनि म सँग-सँगै लैजान्थें। मैले ती पुस्तकहरू कहिल्यै नपढेकी भए तापनि यसमा भएका सन्देशहरू महत्त्वपूर्ण छन्‌ भन्‍ने कुराचाहिं मलाई मन भित्र लागिरहन्थ्यो। अनि सन्‌ १९२० को अन्ततिर, एक दिन हाम्रो छिमेकी लिल बिम्सन हाम्रो घरमा आइन्‌। हामी बैठक कोठामा बसेर चिया खान थाल्यौं।

“ओहो, तपाईंसँग यी पुस्तकहरू छन्‌!” भनेर तिनी एक्कासी कराइन्‌।

छक्क पर्दै मैले सोधें, “कुन पुस्तकहरू?”

तिनले पुस्तक राख्ने दराजमा राखिएको स्टडिज इन द स्क्रिप्चर्स देखाइन्‌। लिलले त्यो दिन ती पुस्तकहरू आफूसँगै घर लगिन्‌ र उत्सुकतापूर्वक पढिन्‌। तिनले पढेका कुराहरूबाट तिनी कत्तिको उत्साहित भएकी थिइन्‌ भन्‍ने कुरा चाँडै प्रस्ट भयो। लिलले त्यतिखेर बाइबल स्टुडेन्टस्‌ भनेर चिनिने यहोवाका साक्षीहरूबाट थप साहित्यहरू प्राप्त गरिन्‌। साथै, तिनी आफूले सिकिरहेका कुराहरू हामीलाई बताउन पनि पछि हटिनन्‌। तिनले प्राप्त गरेको एउटा पुस्तक द हार्प अफ गड थियो र चाँडै नै यो हाम्रो घरमा पुग्यो। अन्ततः बाइबल आधारित प्रकाशनहरू पढ्‌न समय निकालेपछि मैले यहोवाको सेवा गर्न थालें। अन्तमा, मैले मेरो चर्चले जवाफ दिन नसकेका आधारभूत प्रश्‍नहरूका जवाफ पाएँ।

खुसीको कुरा, रोइले बाइबलको सन्देशप्रति विशेष चासो देखाउनुभयो र हामी दुवै उत्सुक बाइबल विद्यार्थीहरू भयौं। रोइ, पहिला फ्रिमासन्स भन्‍ने संगठनको सदस्य हुनुहुन्थ्यो। अब हाम्रो परिवार साँचो उपासनामा एकताबद्ध भयो र एक जना भाइले हाम्रो पूरै परिवारसँग हप्ताको दुई पटक बाइबल अध्ययन सञ्चालन गर्नुहुन्थ्यो। बाइबल स्टुडेन्टस्‌हरूले आयोजना गरेका सभाहरूमा उपस्थित हुन थालेपछि हामीले अझ धेरै प्रोत्साहन पायौं। सिड्‌नीमा न्युटाउनदेखि बाहिर पर्ने भाडामा लिइएको सानो भवनमा सभाहरू हुन्थे। त्यस समयमा पूरै देशभरिमा साक्षीहरूको संख्या ४०० भन्दा पनि कम थियो, त्यसैकारण प्रायजसो भाइहरूले सभामा उपस्थित हुनको लागि लामो यात्रा गर्नुपर्थ्यो।

हाम्रो परिवारले भने सभाहरूमा उपस्थित हुन सधैं सिड्‌नी बन्दरगाह पार गर्नुपर्थ्यो। सन्‌ १९३२ मा सिड्‌नी बन्दरगाहको पुल बन्‍नुभन्दा अघि यो पार गर्न सानो खालको डुंगामा चढ्‌नु पर्थ्यो। यो यात्राको लागि लाग्ने समय र पैसाको बावजूद हामीले यहोवाले प्रबन्ध गर्नुभएका कुनै पनि आध्यात्मिक भोज नछुटाउने कोसिस गऱ्‍यौं। हाम्रो यस्तो प्रयास बेकार गएन किनभने दोस्रो विश्‍वयुद्ध नजिकिंदै थियो र तटस्थताको मामिलाले हाम्रो परिवारलाई प्रत्यक्ष असर गर्नेवाला थियो।

परीक्षा र इनामको समय

सन्‌ १९३० दशकको सुरुतिरको समय म र मेरो परिवारको लागि उत्साहजनक समय थियो। मैले सन्‌ १९३० मा बप्तिस्मा लिएँ र सन्‌ १९३१ मा हामीले यहोवाका साक्षीहरू भन्‍ने सुन्दर नाउँ धारण गर्नको लागि सबै जना उठ्‌दा म पनि त्यस अधिवेशनमा उपस्थित थिएँ। संगठनले प्रोत्साहन दिएका सबै प्रचार शैली र अभियानहरूमा भाग लिएर रोइ र मैले त्यसै नाउँअनुसार जीउने कोसिस गऱ्‍यौं। उदाहरणका लागि, हामीले सन्‌ १९३२ मा सिड्‌नी बन्दरगाहको पुलको उद्‌घाटन हेर्न आएको भीडलाई प्रचार गर्नको लागि प्रबन्ध गरिएको विशेष पुस्तिका अभियानमा भाग लियौं। हाम्रोलागि सबैभन्दा विशेष कुरा भनेको ध्वनि गाडी थियो र हामीले हाम्रो परिवारको गाडीमा ध्वनी प्रणाली जडान गर्ने सुअवसर पायौं। यो प्रविधि प्रयोग गरेर हामीले सिड्‌नीका सडकहरू भाइ रदरर्फोर्डले दिनुभएका रेकर्ड गरिएका भाषणहरूद्वारा गुञ्जयमान पाऱ्‍यौं।

तथापि, परिस्थिति फेरि परिवर्तन भएर झन्‌-झन्‌ गाह्रो हुँदै गइरहेको थियो। सन्‌ १९३२ सम्ममा महामन्दीले अस्ट्रेलियालाई एकदमै असर पारिसकेको थियो, त्यसकारण रोइ र मैले हाम्रो जीवन सरल बनाउने निर्णय गऱ्‍यौं। एउटा त, हामी मण्डलीको नजिकै सरेर यात्रा खर्चमा निकै कटौती गऱ्‍यौं। तथापि, दोस्रो विश्‍वयुद्धको त्रासले संसारलाई छोपेपछि आर्थिक समस्याप्रति त्यति ध्यान गएन।

संसारको भाग नहुनू भन्‍ने येशूको आज्ञा पालन गरेको कारण संसारभरका यहोवाका साक्षीहरू सतावटको तारो भए र अस्ट्रेलियामा पनि यस्तै भयो। युद्धको त्रासले डराएका कतिपयले हामीलाई कम्युनिस्ट भन्‍न थाले। ती विरोधीहरूले, यहोवाका साक्षीहरूले जापानी सेनालाई सन्देश पठाउन अस्ट्रेलियामा भएका आफ्ना चारवटा रेडियो स्टेशनहरू प्रयोग गरिरहेका छन्‌ भन्‍ने आरोप लगाए।

सैन्य सेवाका लागि बोलाइएका जवान भाइहरूले सम्झौता गर्नको लागि अझ धेरै दबाउको सामना गर्नुपऱ्‍यो। हाम्रा तीनै जना छोराहरू आफ्नो विश्‍वासमा दृढ रहे र आफ्नो तटस्थता कायम राखे भन्‍न पाउँदा मलाई गर्व लाग्छ। हाम्रो जेठो छोरो रिचर्डले १८ महिनाको जेल सजाय पायो। हाम्रो माइलो छोरा केभिन धार्मिक सिद्धान्तको खातिर सैन्य सेवामा भाग लिन नसक्ने व्यक्‍तिको रूपमा दर्ता हुन सक्यो। तथापि, दुःखको कुरा, हाम्रो कान्छो छोरा स्टुअर्टको भने तटस्थतासम्बन्धी मुद्दामा आफ्नो बयान दिन अदालत जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। यो घटना साँच्चै पीडादायी थियो। तर हाम्रो ध्यान परमेश्‍वरको राज्य तथा यहोवाले प्रतिज्ञा गर्नु भएको पुनरुत्थानमा केन्द्रित गरेर हामीले सहने बल पायौं।

तिनीहरूले वास्तविक इनाम गुमाए

जनवरी १९४१ मा अस्ट्रेलियामा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइयो। तर येशूका प्रेरितहरूले झैं रोइ र मैले पनि मानिसभन्दा परमेश्‍वरलाई शासकको रूपमा मानेर उहाँको आज्ञा पालन गऱ्‍यौं र साँढे दुई वर्षसम्म हामीले भूमिगत रहेर काम गऱ्‍यौं। मैले अगाडि बताएकी दुई जना सादा पोसाकका प्रहरीहरूले मेरो ढोका ढकढक्याएको समय यही हो। त्यसपछि के भयो?

हो, मैले तिनीहरूलाई भित्र बोलाएँ। तिनीहरू भित्र पसेपछि मैले यसो भनेर सोधें, “तपाईंहरूले मेरो घरको खानतलासी लिनुभन्दा पहिले के म यो एक कप चिया पिउन सक्छु होला?” अचम्मको कुरा, तिनीहरूले अनुमति दिए र त्यसपछि म यहोवालाई प्रार्थना गर्न र तिनीहरूलाई के भन्‍ने होला भनेर सोच्न भान्सातिर गएँ। म फर्किएपछि एउटा प्रहरी हाम्रो पढ्‌ने कोठामा पसे र तिनले मेरो झोलामा भएका साहित्यहरू र बाइबललगायत प्रहरीधरहरा लेखिएको देखेजति सबै साहित्यहरू लगे।

त्यसपछि तिनले सोधे, “कतै तपाईंले अरू साहित्यहरू पनि बाकसभित्र लुकाएर राख्नुभएको त छैन? तपाईं यो सडकको पल्लो छेउमा पर्ने भवनमा हुने सभाहरूमा हरेक हप्ता उपस्थित हुनुहुन्छ रे, अनि तपाईंले त्यहाँ थुप्रै साहित्यहरू पनि लैजानुहुन्छ रे भन्‍ने सूचना हामीले पाएका छौं।”

मैले जवाफ दिएँ, “यो कुरा साँचो हो। तर अहिले त्यहाँ छैन।”

तिनले भने, “श्रीमती स्मिथ, हो, यो कुरा हामीलाई थाह छ। र यस क्षेत्र वरिपरि बस्ने मानिसहरूका घरहरूमा साहित्यहरू राखिएका छन्‌ भन्‍ने कुरा पनि थाह छ।”

तिनीहरूले हाम्रो छोराको सुत्ने कोठामा फ्रिडम अर रोमेनिजम भन्‍ने सानो पुस्तिका भएका पाँचवटा बाकस फेला पारे।

“तपाईंले ग्यारेजमा पनि केही राख्नुभएको छ कि?” तिनले सोधे।

“अहँ, त्यहाँ केही पनि छैन,” मैले भनें।

त्यसपछि तिनले खाना खाने कोठामा भएको दराज खोले। त्यहाँ तिनले मण्डलीको रिपोर्ट भर्नको लागि प्रयोग हुने खाली फारामहरू भेट्टाए। तिनले त्यो पनि लिए र ग्यारेज देखाउनको लागि कर गरे।

“त्यसोभए यताबाट आउनुहोस्‌,” मैले भनें।

तिनीहरू मेरो पछि-पछि ग्यारेजमा आए र त्यहाँ खानतलासी गरेपछि फर्के।

हो, ती प्रहरीहरूले पाँचवटा बाकसमा निकै इनाम भेटियो भनेर मख्ख परे! तथापि, वास्तविक इनाम तिनीहरूले छोडेर गए। त्यो समयमा मैले मण्डलीको सचिवको रूपमा सेवा गरिरहेकी थिएँ र मसँग घरमा मण्डलीका प्रकाशकहरूको नामावली लगायत अन्य महत्त्वपूर्ण जानकारीहरू थियो। धन्‍न, यस्ता खानतलासीको लागि पहिल्यै तयार हुनु भनी भाइहरूले हामीलाई चेताउनी दिएका थिए र मैले यी कागजातहरू राम्ररी लुकाएकी थिएँ। मैले यसलाई खामभित्र राखेर चिया, चिनी र पिठोको डिब्बामुनि राखेकी थिएँ। केही-केहीचाहिं मैले ग्यारेज नजिकैको पिंजडाभित्र पनि राखेकी थिएँ। त्यसकारण प्रहरीहरू तिनीहरूले खोजेको जानकारी भएकै ठाउँ नजिकैबाट गएका थिए।

पूर्ण-समय सेवामा प्रवेश

सन्‌ १९४७ सम्ममा हाम्रा बच्चाहरू हुर्केर आ-आफ्नै परिवार भइसकेको थियो। त्यसैकारण रोइ र मैले हामी पूर्ण-समय सेवामा लाग्न सक्छौं भन्‍ने निर्णय गऱ्‍यौं। अस्ट्रेलियाको दक्षिणी भागमा आवश्‍यकता बढी थियो, त्यसैकारण हामीले आफ्नो घर बेचेर एउटा क्याराभान वा ट्रेलर किन्यौं र यसलाई मिस्पा भन्‍ने नाउँ दियौं जसको अर्थ “प्रहरीधरहरा” हो। हाम्रो यस्तो खालको जीवन पद्धतिले गर्दा हामीले दुर्गम क्षेत्रहरूमा पनि प्रचार गर्न सक्यौं। प्रायजसो, हामी कसैलाई पनि नखटाइएको दुर्गम इलाकामा प्रचार गर्थ्यौं। मसँग त्यस समयका थुप्रै रमाइला सम्झनाहरू छन्‌। मैले अध्ययन गर्नेहरूमध्ये एक जना बेभर्ली नाउँ गरेकी जवान स्त्री थिइन्‌। बप्तिस्मा लिने हदसम्म प्रगति गर्नुअघि तिनी अर्कै ठाउँमा बसाइँ सरिन्‌। वर्षौंपछिको एउटा अधिवेशनमा एक जना बहिनी मकहाँ आएर आफू बेभर्ली भएको कुरा बताउँदा म कत्ति खुसी भएँ होला! तिनी आफ्नो पति र बच्चाहरूसँगै यहोवाको सेवा गरिरहेको देख्न पाउँदा म कत्ति आनन्दित भएँ।

सन्‌ १९७९ मा मैले अग्रगामी सेवा स्कूलमा उपस्थित हुने सुअवसर पाएँ। त्यो स्कूलमा जोड दिइएका कुराहरूमध्ये एउटा थियो, अग्रगामी सेवामा लागिरहने हो भने व्यक्‍तिगत अध्ययनको राम्रो तालिका हुनैपर्छ। त्यो कुरा एकदमै साँचो भएको मैले पाएँ। अध्ययन, सभाहरू र सेवकाई मेरो जीवनका अभिन्‍न भागहरू भएका छन्‌। म ५० वर्षभन्दा लामो समयसम्म नियमित अग्रगामीको रूपमा सेवा गर्न पाउनुलाई आफ्नो सुअवसर ठान्छु।

स्वास्थ्य समस्याहरूको सामना गर्दै

तथापि, बितेका केही दशकहरूदेखि मैले केही विशेष चुनौतीहरूको सामना गर्नु परेको छ। सन्‌ १९६२ मा मलाई जलबिन्दु भएको पत्ता लाग्यो। त्यस समयमा यस रोगको उपचार त्यति उपलब्ध थिएन र मेरो दृष्टि द्रुतगतिमा कमजोर हुन थाल्यो। रोइको स्वास्थ्यस्थिति पनि बिग्रियो अनि सन्‌ १९८३ मा उहाँलाई गम्भीर मस्तिष्कघात भएपछि रोइलाई आंशिक रूपमा पक्षघात भयो र बोल्न नसक्ने हुनुभयो। सन्‌ १९८६ मा उहाँको मृत्यु भयो। उहाँले मलाई मेरो पूर्ण-समय सेवाको दौडान थुप्रै व्यावहारिक सहयोगहरू गर्नुभएको थियो र मलाई साँच्चै उहाँको न्यास्रो लाग्छ।

यी सबै अवरोधहरूको बावजूद मैले राम्रो आध्यात्मिक तालिका कायम राख्ने कोसिस गरें। मैले अर्ध-ग्रामीण इलाकामा क्षेत्र सेवकाईको लागि उपयुक्‍त हुने बलियो खालको गाडी किनें र मेरी छोरी जोइसको मदतद्वारा अग्रगामी सेवा गरिरहें। मेरो दृष्टि झन्‌ झन्‌ बिग्रँदै गयो र अन्ततः एउटा आँखाले त पूरै नदेख्ने भएँ। चिकित्सकहरूले त्यसको सट्टा सिसाको आँखा राखिदिए। तैपनि म्याग्निफाइङ ग्लास र ठूलो अक्षरमा छापिएका साहित्यहरू प्रयोग गरेर म अलि-अलि मात्र देख्ने आँखाको भरमा तीनदेखि पाँच घण्टा पढ्‌थें।

अध्ययन गर्ने समय मेरो लागि सधैं बहुमूल्य साबित भएको थियो। त्यसकारण एक दिन दिउँसो पढिरहेकी बेलामा एक्कासी मैले केही पनि नदेख्दा मलाई कस्तो भयो होला तपाईं कल्पना गर्न सक्नुहुन्छ। कसैले बत्ती निभाइदिएझैं भयो। पटक्कै देख्न नसक्ने भएँ। मैले आफ्नो अध्ययन कसरी कायम राखेकी छु? कान राम्ररी नसुन्‍ने भए तापनि आफूलाई आध्यात्मिक तवरमा बलियो राख्नको लागि म श्रव्य क्यासेटहरू र मेरो परिवारको मायालु सहायतामा निर्भर छु।

अन्तसम्म स्थिर रहने

म सय वर्ष नाघिसकेकी हुँदा मेरा अरू स्वास्थ्य समस्याहरू पनि छन्‌ र मैले थुपै कामहरू गर्न छोड्‌नु परेको छ। कहिलेकाहीं मेरो केही होसै हुँदैन। वास्तवमा म पटक्कै आँखा नदेख्ने भएकी हुँदा कहिलेकाहीं साँच्चै बाटो बिराउँछु! म अझै पनि केही बाइबल अध्ययन सञ्चालन गर्न चाहन्छु, तर मेरो स्वास्थ्यवस्थाको कारण म बाहिर गएर अध्ययन खोज्न सक्दिनँ। यसो हुँदा सुरुमा म निराश भएँ। मैले आफ्नो सीमितताहरू स्वीकार्न र त्यसैअनुसार काम गर्न सिक्नुपऱ्‍यो। यसो गर्न सजिलो भएन। तथापि, हरेक महिना मैले हाम्रा महान्‌ परमेश्‍वर, यहोवाबारे कुरा गर्न बिताएको केही समय रिपोर्ट गर्न सक्दा म कत्ति खुसी छु। नर्स, बिक्रेता र मेरो घरमा आउने अरूहरूलाई बाइबलबारे कुरा गर्ने मौका मिल्ने बित्तिकै म तिनीहरूसँग कौशलतापूर्वक कुरा गर्ने बाटो खोजिहाल्छु।

मेरो परिवारको चार पुस्ताले विश्‍वासी रहेर यहोवाको सेवा गरिरहेको देख्न पाउनु मैले पाएकी थुप्रै सन्तोषजनक इनामहरूमध्ये एउटा हो। यिनीहरूमध्ये केहीले बढी आवश्‍यकता भएको ठाउँमा अग्रगामीको रूपमा सेवा गरिरहेका छन्‌ भने अरूले चाहिं प्राचीन वा सेवकाई सेवकहरूको हैसियतमा र बेथेलमा सेवा गरिरहेका छन्‌। पक्कै पनि मेरो पुस्ताका अरूले झैं मैले पनि यस रीतिरिवाजको अन्त छिट्टै आउनेछ भन्‍ने सोचेकी थिएँ। तर मैले सात दशक लामो सेवाको दौडान धेरै वृद्धि देखेकी छु! यस महान्‌ कार्यमा समावेश हुन पाएकोमा ठूलो सन्तुष्टि महसुस गर्छु।

मलाई भेट्‌न आउने नर्सहरू म अहिलेसम्म बाँचिरहनुको कारक तत्त्व मेरो विश्‍वास नै हुनुपर्छ भन्छन्‌। हो, मलाई पनि त्यस्तै लाग्छ। यहोवाको सेवामा सक्रिय हुँदा सर्वोत्तम जीवन प्राप्त हुन्छ। राजा दाऊदले झैं म पनि साँच्चै भन्‍न सक्छु कि म वृद्ध र पूरा उमेर पुगेकी छु।—१ इतिहास २९:२८.

(यो लेख तयार पार्ने क्रमको अन्त-अन्ततिर अप्रिल १, २००२ मा बहिनी म्युरिएल स्मिथको मृत्यु भयो। त्यतिबेला उहाँ १०२ वर्षको हुन एक महिना मात्र बाँकी थियो। उहाँ विश्‍वास र धैर्यमा साँच्चै अनुकरणीय हुनुहुन्थ्यो।)

[पृष्ठ २४-मा भएका चित्रहरू]

म लगभग पाँच वर्षकी हुँदा र म १९ वर्षकी हुँदा, जब मैले मेरो पति रोइलाई भेटें

[पृष्ठ २६-मा भएको चित्र]

हामीले मिस्पा नाउँ दिएको गाडी र काराभान

[पृष्ठ २७-मा भएको चित्र]

सन्‌ १९७१ मा मेरो पति रोइसँग