सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सारसबाट पाठ

सारसबाट पाठ

सारसबाट पाठ

“अकाशका . . . सारसले आफ्नो फर्कने समय जान्दछ, तर मेरो प्रजाले ता आफ्नो परमप्रभुको धर्म-विधिलाई पालन गर्दैन।” (यर्मिया ८:७) यी शब्दहरूद्वारा अगमवक्‍ता यर्मियाले यहोवा परमेश्‍वरलाई त्यागेर विदेशी देवताहरूको पूजा गर्नतर्फ लागेका धर्मत्यागी यहूदावासीहरू विरुद्ध यहोवाको न्याय घोषणा गरे। (यर्मिया ७:१८, ३१) अवफादार यहूदीहरूलाई पाठ सिकाउनको लागि यर्मियाले किन सारस नै रोजे?

सारसहरू र अझ विशेष गरी सेतो सारस बाइबलीय देशहरू हुँदै बसाइँ सर्ने भएकोले इस्राएलीहरूलाई सारसबारे राम्ररी थाह थियो। लामो खुट्टा भएको र पानीको छेउ-छाउतिर बस्ने यो ठूलो चराको हिब्रू नाउँ “वफादार; करूणा देखाउने” भन्‍ने अर्थ जनाउने शब्दको स्त्रीलिङ्‌गी रूप हो। यो नाउँ सुहाउँदो छ किनभने अरू चराहरू जस्तो नभई सेतो सारसका भाले र पोथी जीवनभर सँगै रहन्छन्‌। न्यानो ठाउँमा गएर जाडो छलिसकेपछि अधिकांश सारसहरू हरेक वर्ष अक्सर आफ्नो पहिलेकै गुँडमा फर्कन्छन्‌।

सारसको बानीले वफादरिता अर्को पनि उल्लेखनीय ढंगमा प्रदर्शन गर्छ। अण्डा कोरल्ने र बचेराहरूलाई खुवाउने काममा भाले र पोथी दुवैले भाग लिन्छन्‌। आवर म्याग्निफिसेन्ट वाइल्डलाइफ पुस्तक यसरी बताउँछ: “आमाबाबुको हैसियतमा सारसहरू एकअर्काप्रति असाधारण किसिमले वफादार छन्‌। जर्मनीमा एउटा भाले सारस उच्च विद्युत्‌ प्रवाह भएको तारमा अल्झिएर करेन्ट लागेर मऱ्‍यो। त्यसकी पोथी ३ दिनसम्म ओथारो बसिरही र त्यस दौडान त्यसले चारा खोज्न छोटो समयको लागि एक पटक मात्र आफ्नो गुँड छोडी। . . . अर्को घटनामा एउटी पोथी सारस गोली लागेर मरेपछि भालेले आफ्ना बचेराहरू हुर्कायो।”

साँच्चै, आफ्नो आजीवनको जोडीप्रति सहज ज्ञानको कारण वफादार रहेर तथा आफ्ना बच्चाहरूको मायालु हेरविचार गरेर सारस आफ्नो नाउँअनुसारै “वफादार” छ। त्यसकारण, अवफादार तथा पथ-भ्रष्ट इस्राएलीहरूको लागि सारस एकदमै सशक्‍त उदाहरण थियो।

आज थुप्रै व्यक्‍तिहरूको लागि वफादारी र विश्‍वास भनेको प्रशंसायोग्य तर अव्यावहारिक अनि पुरानो विचारधारा हो। सम्बन्धविच्छेद, बेवास्ता, आर्थिक हिनामिना र अन्य प्रकारका छलछामहरूको बिगबिगीले अचेल वफादारीको कदर गरिंदैन भन्‍ने कुरा स्पष्ट हुन्छ। यसको विपरीत, बाइबलले प्रेम र दयाद्वारा उत्प्रेरित वफादारीको ठूलो कदर गर्छ। यसले मसीहीहरूलाई ‘परमेश्‍वरअनुसार धार्मिकता र वफादारीमा सृष्टि भएको नयाँ व्यक्‍तित्व धारण गर्न’ सल्लाह दिन्छ। (एफिसी ४:२४) हो, नयाँ व्यक्‍तित्वले हामीलाई वफादार हुन मदत गर्छ तर हामी सारसबाट पनि वफादारीको पाठ सिक्न सक्छौं।