सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसरी सोच्ने क्षमताले तपाईंलाई सुरक्षा दिन सक्छ?

कसरी सोच्ने क्षमताले तपाईंलाई सुरक्षा दिन सक्छ?

कसरी सोच्ने क्षमताले तपाईंलाई सुरक्षा दिन सक्छ?

बडेमानका समुद्री छालहरू हेर्दा विस्मयकारी देखिन्छन्‌ तर नाविकहरूका लागि ती छालहरूले खतराको संकेत दिन्छ। ती उर्लिएका छालहरूले तिनीहरूको ज्यान लिन सक्छ।

त्यसरी नै, परमेश्‍वरका सेवकहरूले सामना गर्नुपर्ने पहाडरूपी दबाउहरूले तिनीहरूलाई विचलित पार्न खोज्छ। तपाईंले पनि मसीहीहरूलाई विचलित पार्ने एक पछि अर्को परीक्षा तथा प्रलोभनहरूबारे बुझ्नुभएको होला। आध्यात्मिक जहाज नडुबाउन कटिबद्ध हुँदै तपाईं पक्कै पनि विवेकी भई त्यस्ता परीक्षा अनि प्रलोभनहरूको सामना गर्न चाहनुहुन्छ। (१ तिमोथी १:१९) तपाईंको सुरक्षाको एउटा महत्त्वपूर्ण भाग सोच्ने क्षमता हो। यो के हो अनि यसलाई कसरी हासिल गर्ने?

“सोच्ने क्षमता” भन्‍ने अभिव्यक्‍ति हिब्रू शब्द मजी-मा-बाट अनुवाद गरिएको हो र यसको मूल शब्दको अर्थ “योजना बनाउनु वा षड्यन्त्र गर्नु” हो। (हितोपदेश १:४) त्यसैले, केही बाइबल संस्करणहरूले मजी-मा-लाई “सुविवेक” वा “दूरदर्शिता” भनेर पनि अनुवाद गरेका छन्‌। बाइबल विद्वान्‌ जेमिसन फसेट र ब्राउनले मजी-मा-लाई “खराबीबाट भाग्ने र असल कुराको खोजी गर्ने सतर्कता” भनी व्याख्या गरेका छन्‌। यसको अर्थ आफ्नो कार्यको तत्काल तथा दीर्घकालीन नतिजाबारे सोच्नु हो। हामीसित सोच्ने क्षमता भएको हुँदा, कुनै पनि काम गर्नुअघि अझ विशेष गरी महत्त्वपूर्ण निर्णय गर्नु पर्दा हामी विकल्पहरूलाई चनाखो भई विचार गर्नेछौं।

सोच्ने क्षमता भएको व्यक्‍तिले आफ्नो भविष्य अनि वर्तमान परिस्थितिबारे निर्णय गर्नु पर्दा सर्वप्रथम सम्भाव्य खतरा तथा पासोहरूलाई विश्‍लेषण गर्छ। सम्भाव्य खतराहरू पत्ता लगाइसकेपछि आफ्नो वरपरको वस्तुस्थिति तथा सरसंगतिले पार्ने असरलाई विचार गर्दै ती सम्भाव्य खतराहरूलाई कसरी हटाउन सकिन्छ भनी विश्‍लेषण गर्छ। यसो गरेपछि असल नतिजा हासिल हुने, सम्भवतः परमेश्‍वरबाट समेत आशिष्‌ पाउने योजना बनाउन तिनी सक्षम हुने छन्‌। यस प्रक्रियालाई अझ स्पष्ट पार्ने केही व्यावहारिक उदाहरणहरू विचार गरौं।

यौन अनैतिकताको पासोमा फस्नदेखि जोगिनुहोस्‌

जब हावाले छाललाई धकेलेर जहाजको अग्रभागमा ठोक्छ त्यस अवस्थालाई जहाजको अग्र भागमा गरिएको आक्रमण भनिन्छ। नाविकहरूले यस्तो आक्रमणलाई कौशलतासाथ सामना नगरेको खण्डमा जहाज पल्टने खतरा हुन्छ।

हामी आज यौन लिप्त संसारमा बाँचिरहेको हुनाले यस्तै परिस्थितिको सामना गर्छौं। दिनहुँ कामुक विचार तथा दृश्‍यहरूको आक्रमक छालहरू हाम्रोसामु देखा पर्छन्‌। त्यसले हाम्रा स्वाभाविक यौन चाहनाहरूमा पार्न सक्ने असरलाई हामी कदापि नकार्न सक्दैनौं। यस्तो बेला केवल खतरनाक परिस्थितितिर बहकिनुको साटो हामीले सोच्ने क्षमताको प्रयोग गर्नुका साथै ती प्रलोभनहरूको निर्णायक फैसला गर्नै पर्छ।

उदाहरणको लागि, मसीही पुरुषहरूले प्रायः महिलाहरूलाई पटक्कै आदर नगर्ने अनि तिनीहरूलाई केवल भोग्य वस्तु सम्झने पुरुषहरूसँग काम गर्नुपर्ने हुन्छ। सहकर्मीहरूले कुराकानी पिच्छे अश्‍लील चुट्‌किला अनि यौनसम्बन्धी व्यङ्‌ग्यहरू गर्न सक्छन्‌। यस्तो वातावरणले अन्ततः एक जना मसीहीको दिमागमा अनैतिक विचारहरू ठप्प बसाल्न सक्छ।

मसीही महिलाले पनि जागिर खानुपर्ने अनि त्यससित सम्बन्धित कठिनाइहरू सामना गर्नुपर्ने हुन सक्छ। तिनले पनि आफ्नो जस्तै नैतिक स्तर नराख्ने पुरुष तथा महिलाहरूसँगै काम गर्नुपर्ने हुन सक्छ। कुनै पुरुष सहकर्मीले तिनीप्रति चासो देखाउलान्‌। सुरुमा त उक्‍त पुरुष सहकर्मीले तिनको धार्मिक विश्‍वासलाई समेत आदर देखाउँदै तिनको निकै ख्याल राखेर व्यवहार गर्लान्‌। त्यस पुरुष सहकर्मीको लगातार ध्यान अनि निकटताले उनीसित नजिक हुने तिनको चाहना बढ्‌न सक्छ।

मसीही भएकोले यस्तो परिस्थितिमा सोच्ने क्षमताले हामीलाई कसरी मदत गर्न सक्छ? सर्वप्रथम, यसले आध्यात्मिक खतराहरूबारे सचेत गराउन सक्छ र दोस्रो, उपयुक्‍त कदम चाल्न उत्प्रेरित गर्न सक्छ। (हितोपदेश ३:२१-२३) यस्ता परिस्थितिहरूमा आफ्ना १हाम्रो धार्मिक विश्‍वासको कारण हाम्रो स्तर फरक छ भन्‍ने स्पष्ट सन्देश दिनुपर्ने हुन सक्छ। (१ कोरिन्थी ६:१८) अनि हाम्रो कुराकानी अनि आचरणले त्यो सन्देशलाई अझ सशक्‍त बनाउन सक्छ। यसको अतिरिक्‍त, केही सहकर्मीहरूसितको व्यवहारलाई सीमित पार्नु पर्ने पनि हुन सक्छ।

यद्यपि, अनैतिक दबाउहरू काम गर्ने ठाउँमा मात्र सीमित हुँदैनन्‌। विवाहित दम्पतीले आफ्नो एकतालाई कमजोर बनाउने गरी समस्यालाई समयमै नसुल्झाएमा यस्तो परिस्थितिको सृजना हुन सक्छ। एक जना परिभ्रमण सेवकले यसो भने: “विवाह अचानक टुक्रिंदैन। जोडी बिस्तारै भावनात्मक रूपमा टाढा हुँदै जाने, एक-आपसमा त्यत्ति कुराकानी नगर्ने वा एक-अर्कासित त्यत्ति समय नबिताउने हुन सक्छ। विवाहको त्यो रित्तोपनालाई पूरा गर्न तिनीहरूले भौतिक वस्तुहरूको सहारा लिन सक्छन्‌। अनि एक-अर्कालाई त्यत्ति आदर नदेखाउने भएकोले विपरीत लिङ्‌गको अर्को व्यक्‍तिसित आकर्षित भएको महसुस गर्न सक्छन्‌।”

यी अनुभवी सेवकले फेरि यसो भने, “विवाहित जोडीहरूले सँगै बसेर आफ्नो सम्बन्धलाई हानि गर्ने कुनै तत्त्व देखापरेका छन्‌ कि भनेर कुराकानी गर्न समय निकाल्नुपर्छ। तिनीहरूले सँगै अध्ययन, प्रार्थना अनि प्रचार गर्ने तरिकाहरूबारे योजना बनाउनुपर्छ। जसरी आमाबाबु अनि छोराछारी कुराकानी गर्छन्‌, तिनीहरूले पनि त्यसरी नै ‘घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा’ एकअर्कासित कुराकानी गरेको खण्डमा प्रशस्त लाभ उठाउनेछन्‌।”—व्यवस्था ६:७-९.

गैरमसीही आचरणको सामना गर्ने

सोच्ने क्षमताले नैतिक प्रलोभनहरूलाई सफलतासाथ सामना गर्न मदत दिनुका साथै सह-मसीहीहरूसित उठ्‌ने समस्याहरूको सामना गर्न पनि मदत दिन सक्छ। हावाले छाललाई धकेलेर जहाजको पछाडिको भागमा ठोक्दा जहाज जुन दिशातर्फ गइरहेको हुन्छ छाल पनि त्यतैतिर बहन्छ। छालले जहाजको पछाडिको भाग उचालेर जहाजलाई अर्कै दिशातर्फ मोडिदिन सक्छ। यसले गर्दा जहाज छालसँगै हुइँकिएर क्षतिग्रस्त हुने खतरा हुन्छ।

हामी पनि आफूले चिताउँदै नचिताएको दिशाबाट आउने खतराहरूको वशमा पर्न सक्छौं। हामी आफ्ना धेरै विश्‍वासी मसीही भाइ तथा बहिनीहरूसित “एकै हृदयको भएर” यहोवाको सेवा गर्छौं। (सपन्याह ३:९) यदि तिनीहरूमध्ये कसैले गैरमसीही आचरण देखाएमा हामीलाई आफ्नो भरोसामै आघात पुगेको जस्तो लाग्न सक्छ र निकै चित्त दुख्छ। सोच्ने क्षमताले हामीलाई आफ्नो सन्तुलन नगुमाउन अनि चित्त नदुखाउन कसरी मदत गर्न सक्छ?

यो कुरा नबिर्सनुहोस्‌, “कुन चाहिं मानिस पापरहित होला र?” (१ राजा ८:४६) त्यसैले, कहिलेकाहीं मसीही भाइहरूले झोक चलाउँदा वा चित्त दुखाउँदा हामी चकित हुनु आवश्‍यक छैन। यस तथ्यलाई बुझेर, हामीले त्यस्तो अवस्था आएको खण्डमा के गर्ने भनी आफूलाई तयार बनाउन सक्छौं अनि आफूले चाल्नु पर्ने कदमबारे मनन गर्न सक्छौं। केही मसीही भाइहरूले चित्त दुख्ने गरी निकै होच्याएर कुरा गर्दा पावलले कस्तो प्रतिक्रिया देखाए? उनले आफ्नो आध्यात्मिक सन्तुलन गुमाउनुको सट्टा मानिसहरूको भन्दा यहोवाको अनुमोदन प्राप्त गर्नु महत्त्वपूर्ण कुरा हो भन्‍ने निष्कर्षमा पुगे। (२ कोरिन्थी १०:१०-१८) त्यस्तो मनोवृत्तिले कसैले आफूलाई रिस उठाइहालेमा झट्टै प्रतिक्रिया नदेखाउन हामीलाई मदत गर्छ।

यस्तो परिस्थितिलाई कुनै बस्तुमा एक्कासी खुट्टाका औंलाहरू ठोकिदाको अवस्थासित तुलना गर्न सकिन्छ। यसो हुँदा एक छिन त हामी ठन्डा दिमागले केही सोच्नै सक्दैनौं। तर दुखाइ बिस्तारै कम भएपछि हामी तर्क गर्न सक्छौं अनि सामान्य रूपले आफ्नो काम गर्न सक्छौं। त्यसरी नै कसैले रूखो टिप्पणी वा आफूलाई रिस उठाउने कार्य गऱ्‍यो भन्दैमा हामीले तुरुन्तै प्रतिक्रिया देखाइहाल्नु हुँदैन। बरु, एक छिन रोकिएर, सोचविचारै नगरी बदला लिनुका परिणामबारे हामीले विचार गर्नुपर्छ।

धेरै वर्ष देखि मिसनरी सेवा गरिरहेका माल्कम कसैले आफ्नो चित्त दुखाउँदा आफूले चाल्ने कदमहरूबारे यसो भन्छन्‌, “म सबैभन्दा पहिले आफूले पहिले नै तयार पारिराखेका प्रश्‍नहरूको सूचीलाई एक-एक गर्दै केलाउँछु: हाम्रो व्यक्‍तित्व पटक्कै नमिलेको कारण के म यो भाइसित रुष्ट भएको हुँ? के उनले भनेका कुराहरू साँच्चै महत्त्वपूर्ण छन्‌? मेरो बिसन्चोले पो मेरा भावनाहरूलाई चर्काइरहेको हो कि? के केही घण्टा पछि मैले परिस्थितीलाई भिन्‍नै दृष्टिकोणले हेर्नेछु?” यी प्रश्‍नहरूमाथि विचार गर्दा अक्सर माल्कमले त्यस्ता मतभेदहरूलाई त्यत्ति महत्त्व दिनु नपर्ने अनि सजिलै बेवास्ता गर्न सकिने पाएका छन्‌। a

माल्कम यसो भन्छन्‌, “कहिलेकाहीं परिस्थितिलाई सुल्झाउन लाख प्रयास गर्दा पनि त्यस भाइको व्यवहार मित्रैलो हुँदैन। यस कुराले आफ्नो शान्ति भंग हुन नदिन म हर प्रयास गर्छु। आफूले गर्न सक्ने सबै कुरा गरिसकेपछि म परिस्थितिलाई बेग्लै दृष्टिकोणबाट हेर्छु। म मानसिक रूपमा ती कुरालाई ‘व्यक्‍तिगत फाइल’ मा नराखी ‘पेन्डिङ फाइलमा’ राख्छु। यी कुराहरूलाई म आफ्नो आध्यात्मिकतामा हानि पुऱ्‍याउन वा यहोवा अनि आफ्नो भाइसितको सम्बन्धमा असर पार्न दिन्‍नँ।”

माल्कमले जस्तै, कसैको दुर्व्यवहारले हामी अति विचलित हुनु हुँदैन। सबै मण्डलीमा रमाइला अनि विश्‍वासी भाइबहिनीहरू थुप्रै हुन्छन्‌। मसीही मार्गमा तिनीहरूसित “एउटै मनको भई” हिंड्‌नु आनन्ददायी हुन्छ। (फिलिप्पी १:२७) स्वर्गमा बस्नु हुने पिता यहोवाको मायालु समर्थनलाई सम्झियौं भने पनि हामी परिस्थितिलाई सही दृष्टिकोणबाट हेर्न मदत पाउँछौं।—भजन २३:१-३; हितोपदेश ५:१, २; हितोपदेश ८:१२.

संसारमा भएका कुराहरूलाई प्रेम नगर्ने

सोच्ने क्षमताले हामीलाई अर्को चालै नपाउने दबाउको सामना गर्न मदत गर्न सक्छ। हावाले छालहरूलाई धकेलेर जहाजको मस्तुल वा छेउतिर ठोक्दा यसलाई मस्तुल आक्रमण भनिन्छ। सामान्य अवस्थामा यस्तो किसिमको छालले जहाजलाई बिस्तारै गलत दिशातर्फ मोड्‌न सक्छ। यद्यपि, आँधी चलेको बेला यस्तो छालले जहाजलाई पल्टाउन सक्छ।

त्यसरी नै, यदि हामीले दुष्ट संसारले प्रदान गर्ने सबै कुराहरूबाट आनन्द उठाउने दबाउहरूको प्रतिरोध गरेनौं भने यस्तो भौतिकवादी जीवन शैलीले हामीलाई आध्यात्मिक बाटोबाट अलग गराउन सक्छ। (२ तिमोथी ४:१०) यदि यसलाई बेलैमा नियन्त्रण गरिएन भने संसारको प्रेमले अन्ततः हामीलाई मसीही मार्गबाट परै हुत्याउन सक्छ। (१ यूहन्‍ना २:१५) यस सन्दर्भमा सोच्ने क्षमताले हामीलाई कसरी मदत गर्न सक्छ?

सर्वप्रथम, सोच्ने क्षमताले हामीलाई सम्भाव्य खतराहरूको लेखाजोखा गर्न मदत गर्छ। संसारले हामीलाई लोभ्याउन हर किसिमको व्यापारिक जुक्‍तिहरूको प्रयोग गर्छ। यसले चमकदमकपूर्ण धनीहरूको जीवन शैली नै आकर्षक र “सफल” हुन्छ भन्‍ने कुरालाई देखाउँदै सबैले यही जीवन शैलीलाई पछ्याउनु पर्ने कुरामा जोड दिन्छ। (१ यूहन्‍ना २:१६) यसो गऱ्‍यौं भने हामीलाई सबैले मन पराउँछन्‌ अनि हामीले सबैबाट विशेष गरी साथी अनि छिमेकीहरूबाट प्रशंसा पाउँछौं भन्‍ने तर्क प्रस्तुत गर्छ। सोच्ने क्षमताले हामीलाई ‘रूपियाँ-पैसाको लोभबाट अलग रहनु’ पर्ने महत्त्वलाई सम्झाउँदै यसको पछाडि नदौडन मदत गर्नेछ किनकि यहोवाले ‘हामीलाई कुनै रीतिले छोड्‌नेछैन’ भनी प्रतिज्ञा गर्नु भएको छ।—हिब्रू १३:५.

दोस्रो, सोच्ने क्षमताले हामीलाई “सत्यबाट तर्किएका[हरूलाई]” पछ्याउनदेखि जोगाउँछ। (२ तिमोथी २:१८) आफूलाई मन परेको अनि आफूले विश्‍वास गरेको व्यक्‍तिलाई इन्कार गर्न साह्रै गाह्रो हुन्छ। (१ कोरिन्थी १५:१२, ३२-३४) मसीही मार्ग त्यागेकाहरूबाट थोरै मात्र प्रभावित भएमा पनि त्यसले हाम्रो आध्यात्मिक प्रगतिमा बाधा उत्पन्‍न गर्न सक्छ। अनि त्यसले अन्ततः खतरातिर धकेल्छ। हामी आफ्नो बाटोबाट एक डिग्रीको कोणमा मोडिएको जहाजजस्तै हुन सक्छौं। लामो यात्रामा त्यो जहाज आफ्नो गन्तव्यभन्दा धेरै टाढा अर्कै ठाउँमा पुग्छ।—हिब्रू ३:१२.

सोच्ने क्षमताले हामीलाई आफ्नो वास्तविक आध्यात्मिक अवस्था कस्तो छ अनि भविष्यमा कस्तो रहनेछ भनी बुझ्न मदत गर्न सक्छ। सायद हामी मसीही गतिविधिमा पूर्णरूपले भाग लिनु पर्ने आवश्‍यकता महसुस गरौंला। (हिब्रू ६:११, १२) एक जना जवान साक्षीले आध्यात्मिक लक्ष्य हासिल गर्ने मदतको लागि कसरी सोच्ने क्षमता चलाए ध्यान दिनुहोस्‌: “मैले पत्रकारितालाई पेसा बनाई यसैमा आफ्नो भविष्य बनाउने अवसर पाएको थिएँ। यो अवसर मेरो लागि साँच्चै आकर्षक थियो तर मैले बाइबलको यो पदलाई सम्झें जहाँ यसो भनिएको छ, “संसार बितिजान्छ . . . तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) आफ्नो जीवन शैलीले आफ्नो विश्‍वास झल्काउनुपर्छ भनी मैले तर्क गरें। मेरा आमाबाबुले मसीही विश्‍वास त्यागेका थिए अनि म तिनीहरूको उदाहरण अनुकरण गर्न चाहन्‍नथें। त्यसैले मैले एउटा उद्देश्‍यपूर्ण जीवन बिताउने निर्णय गरें र नियमित अग्रगामीको रूपमा पूर्ण-समय सेवकाइ सुरु गरें। सन्तोषजनक चार वर्षपछि आफूले सही निर्णय गरेको कुरामा म विश्‍वस्त भएँ।

आध्यात्मिक आँधीको सफलतापूर्वक सामना गर्ने

हामीले आजै देखि सोच्ने क्षमताको अभ्यास गर्नु किन आवश्‍यक छ? खतराका संकेतहरूप्रति विशेष गरी आँधी चलेको बेलामा नाविकहरू सचेत हुनुपर्छ। तापक्रम घटेमा अनि जोडले हावा बग्न थालेमा तिनीहरूले जहाजको तल्लो द्वार बेसरी कसेर बन्द गरी खराब परिस्थितिको सामना गर्न तयार हुन्छन्‌। त्यसरी नै, यस दुष्ट रीतिरिवाजको अन्त नजिकै आउँदा तीव्र दबाउहरू सहन हामीले आफूलाई तयार राख्नै पर्छ। समाजको नैतिक मूल्य झन्‌-झनै खस्कदैछ अनि ‘खराब मानिसहरू झन्‌ झन्‌ खराब हुँदै जाँदैछन्‌।’ (२ तिमोथी ३:१३) जसरी नाविकले मौसमसम्बन्धी भविष्यवाणीलाई नियमित रूपमा ध्यान दिएर सुन्छ, त्यसरी नै हामीले परमेश्‍वरको प्रेरित वचनको भविष्यसूचक चेताउनीलाई ध्यान दिनैपर्छ।—भजन १९:७-११.

सोच्ने क्षमताको प्रयोग गर्दा हामी अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान लागू गरिरहेका हुन्छौं। (यूहन्‍ना १७:३) हामी सम्भाव्य समस्याहरूलाई अघिबाटै ठम्याउनुका साथै त्यसलाई कसरी समाधान गर्ने भनी निर्णय गर्न सक्छौं। यसरी मसीही मार्गबाट नतर्कने आफ्नो संकल्पमा हामी दृढ रहनेछौं र आध्यात्मिक लक्ष्यहरू राखेर अनि त्यो हासिल गर्दै “पछि आउने समयको ख्याल गरेर . . . असल जग” बसाल्न सक्छौं।—१ तिमोथी ६:१९.

हामीले व्यावहारिक बुद्धि र सोच्ने क्षमतालाई जोगाइ राख्यौं भने ‘विनाश आइलाग्दा हामी डराउनु पर्दैन।’ (हितोपदेश ३:२१, २५, २६) बरु, हामीले परमेश्‍वरको यस प्रतिज्ञामा सान्त्वना पाउन सक्छौं: “किनभने बुद्धि तेरो मनभित्र गाड़िनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ।”—हितोपदेश २:१०, ११.

[फुटनोट]

a मसीहीहरूले मत्ती ५:२३, २४ को सल्लाहलाई विचार गर्दै शान्ति कायम राख्ने प्रयास गर्नुपर्छ। यदि कुनै गम्भीर पाप विथोलित छ भने मत्ती १८:१५-१७ मा बताएअनुसार तिनीहरूले भाइलाई आफ्नो बनाउने प्रयास गर्नुपर्छ। अक्टोबर १५, १९९९-को प्रहरीधरहरा, पृष्ठ १७-२२ हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

नियमित कुराकानी गर्नाले वैवाहिक बन्धन बलियो हुन्छ।