सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले आफ्नो निष्ठा कायम राख्नुहुनेछ?

के तपाईंले आफ्नो निष्ठा कायम राख्नुहुनेछ?

के तपाईंले आफ्नो निष्ठा कायम राख्नुहुनेछ?

हिजो कतिवटा भँगेरा मरे? यो कुरा कसैलाई पनि थाहा छैन र यत्तिका धेरै चराहरू भएका कारण सायद कमै मानिसहरूले मात्र यसको ख्याल गर्छन्‌। तथापि, यहोवाले ख्याल गर्नुहुन्छ। नगण्य जस्ता देखिने यी चराहरूबारे संकेत गर्दै येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन।” उहाँले अझै यस्तो थप्नुभयो: “यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।”—मत्ती १०:२९, ३१.

यहोवाले तिनीहरूलाई कत्ति मूल्यवान्‌ ठान्‍नुहुन्छ भन्‍ने कुरा चेलाहरूले पछि बुझे। तिनीहरूमध्ये एक जना अर्थात्‌ प्रेरित यूहन्‍नाले यस्तो लेखे: “यसैमा परमेश्‍वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्‍ने हेतुले परमेश्‍वरले आफ्ना एकले पुत्रलाई यस संसारमा पठाउनुभयो।” (१ यूहन्‍ना ४:९) यहोवाले छुडौतीको प्रबन्ध मात्र होइन तर आफ्ना सबै सेवकहरूलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्यागनेछैनँ।”—हिब्रू १३:५.

स्पष्टतया, आफ्ना जनहरूप्रति परमेश्‍वरको प्रेम अटल छ। तथापि, यस्तो प्रश्‍न खडा हुन्छ, ‘के यहोवासँग हाम्रो कहिल्यै नछुट्टिने खालको बलियो बन्धन छ?’

हाम्रो निष्ठा तोड्‌न शैतानका प्रयासहरू

यहोवाले शैतानको ध्यान अय्यूबको निष्ठातिर खिच्नुहुँदा शैतानले यस्तो प्रत्युत्तर दियो: “परमेश्‍वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” (अय्यूब १:९) त्यसले मानिसहरूले परमेश्‍वरप्रति गर्ने भक्‍ति पूर्णतया ‘तिनीहरूले केही प्राप्त गर्ने कारणले’ हो भन्‍ने आक्षेप लगायो। यो साँचो हुँदो हो त अलिक लोभलाग्दो कुरा देखाएमा मसीही निष्ठा तोड्‌न सकिन्थ्यो।

सुरुमा, अय्यूबले आफ्ना सबै बहुमूल्य धन-सम्पत्तिहरू गुमाएमा यहोवाप्रति तिनको वफादारी तोडिनेछ भन्‍ने आरोप शैतानले लगायो। (अय्यूब १:१०, ११) यो आक्षेप झूटा साबित भएपछि शैतानले फेरि यस्तो आरोप लगायो: “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यूब २:४) शैतानको दाबी कसै-कसैको सन्दर्भमा साँचो होला तर अय्यूबले आफ्नो निष्ठाको सम्झौता गर्न इन्कार गरे। यो कुरा ऐतिहासिक विवरणले प्रमाणित गर्छ। (अय्यूब २७:५; ४२:१०-१७) के तपाईंसँग पनि यस्तै वफादारी छ? अथवा तपाईं शैतनलाई आफ्नो निष्ठा तोड्‌न दिनुहुन्छ? हरेक मसीही बिथोलित भएका केही सच्चाइहरू जाँच्दा आफ्नोबारे विचार गर्नुहोस्‌।

प्रेरित पावललाई साँचो मसीही वफादारी एकदमै बलियो हुन्छ भन्‍ने विश्‍वास थियो। तिनले यस्तो लेखे: “म यो निश्‍चय जान्दछु, कि नता मृत्युले, न जीवनले, . . . न वर्त्तमानको कुराहरूले, न पछि हुने कुराहरूले, . . . न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” (रोमी ८:३८, ३९) यहोवाप्रतिको हाम्रो प्रेम बलियो छ भने हामीसित पनि यस्तै निश्‍चितता हुन सक्छ। यस्तो प्रेम मृत्युले पनि तोड्‌न नसक्ने बलियो गाँठो हो।

परमेश्‍वरसँग हाम्रो यस्तो सम्बन्ध छ भने हामी कहिल्यै यस्तो प्रश्‍न गर्ने छैनौं: ‘के केही वर्षपछि पनि म यहोवाको सेवा गरिरहेको हुन्छु होला?’ यस्तो अनिश्‍चितताले परमेश्‍वरप्रतिको हाम्रो भक्‍ति हाम्रो जीवनमा हुने घटनाहरूमा आधारित छ भन्‍ने संकेत दिनेछ। साँचो निष्ठालाई बाह्‍य परिस्थितिले असर गर्दैन। यो हाम्रो भित्री मनुष्यत्वमा भर पर्छ। (२ कोरिन्थी ४:१६-१८) हामी यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्छौं भने, कहिल्यै पनि उहाँलाई निराश तुल्याउनेछैनौं।—मत्ती २२:३७; १ कोरिन्थी १३:८.

तथापि, शैतानले हाम्रो निष्ठा तोड्‌न लगातार प्रयास गरिरहेको छ भन्‍ने कुरा बिर्सनु हुँदैन। त्यसले हामीलाई शरीरका अभिलाषाहरूमा फस्न, साथीहरूको दबाउसामु झुक्न वा कुनै प्रकारको अप्ठ्यारो परिस्थितिको कारण सच्चाइलाई त्याग्न लोभ्याउन सक्छ। हाम्रो असिद्धताले त्यसको कामलाई अझ सजिलो बनाउने भए तापनि शैतानले यस आक्रमणमा प्रयोग गर्ने प्रमुख हतियार परमेश्‍वरबाट टाढिएको संसार हो। (रोमी ७:१९, २०; १ यूहन्‍ना २:१६) निस्सन्देह, यो लडाइँ जित्नको लागि हाम्रो पक्षमा थुप्रै मदतहरू छन्‌। शैतानका युक्‍तिहरूबारे हामी अजान नहुनु पनि अर्को महत्त्वपूर्ण सहायक हो।—२ कोरिन्थी २:११.

शैतानका युक्‍तिहरू के के हुन्‌? एफिसीहरूलाई लेखेको पत्रमा पावलले यसलाई “युक्‍तिहरू” भनी वर्णन गरे। (एफिसी ६:११) शैतानले हाम्रो निष्ठा तोड्‌नको लागि हाम्रो अगाडि धूर्त अड्‌कोहरू राख्छ। खुसीको कुरा, दियाबलले चलाउने तरिकाहरूबारे परमेश्‍वरको वचनमा बताइएकोले हामी त्यसका धूर्त कामहरू चिन्‍न सक्छौं। येशू र अय्यूबको निष्ठा भंग गर्नको लागि शैतानले गरेका प्रयत्नहरूबाट हाम्रो मसीही निष्ठा तोड्‌नको लागि त्यसले चलाउने केही उपायहरूबारे बुझ्न सकिन्छ।

येशूको निष्ठा तोड्‌न सकिएन

येशूको सेवकाईको सुरुतिर शैतानले ढुंगालाई रोटीमा परिणत गर्ने चुनौती दिएर परमेश्‍वरको पुत्रको परीक्षा गर्ने हिम्मत गऱ्‍यो। कत्ति धूर्त! येशूले केही पनि नखानुभएको ४० दिन भइसकेकोले उहाँ एकदमै भोको हुनुहुन्थ्यो। (लूका ४:२, ३) शैतानले येशूलाई आफ्नो शारीरिक इच्छा तुरुन्तै पूरा गरिहाल्नको लागि यहोवाको इच्छा विपरीतको तरिका अपनाउने सुझाउ दियो। त्यसै गरी आज पनि संसारको अफवाहले नतिजाबारे सोचविचारै नगरी तुरुन्तै आफ्नो इच्छा पूरा गरिहाल्न प्रोत्साहन दिन्छ। यसको मूल सन्देश ‘अहिल्यै गरिहाल्नुहोस्‌’ वा ‘मनमा लागेको कुरा गरिहाल्नुहोस्‌’ हो!

येशूले पछि हुने कुराको विचार नगरी आफ्नो भोक मात्र मेटाउन खोज्नुभएको भए उहाँलाई आफ्नो निष्ठाको सम्झौता गर्न लगाउन शैतान सफल हुने थियो। येशूले यस मामिलालाई आध्यात्मिक दृष्टिकोणबाट हेर्नुभयो र उहाँले दृढतासाथ यस्तो जवाफ दिनुभयो: “ ‘मानिस भोजनले मात्र जिउनेछैन’ भनी लेखिएको छ।”—लूका ४:४; मत्ती ४:४.

शैतानले फेरि कुरा अर्कैतिर मोड्यो। येशूले उल्लेख गर्नुभएको शास्त्रपदलाई बंग्याएर दियाबलले येशूलाई मन्दिरको गजूरबाट हाम्फाल्न उक्सायो। ‘स्वर्गदूतले तपाईंलाई बचाउनेछन्‌’ भनी शैतानले भन्यो। आफूतिर ध्यान खिच्ने उद्देश्‍यले मात्र पिताबाट चमत्कारी ढंगमा बचाउको आशा गर्ने येशूको कुनै आशय थिएन। येशूले भन्‍नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्‌।”—मत्ती ४:५-७; लूका ४:९-१२.

त्यसपछि शैतानले प्रयोग गरेको अन्तिम तरिका झनै सीधा थियो। त्यसले आफूलाई एक चोटि दण्डवत्‌ गरेबापत संसार र यसको सारा गौरव येशूलाई दिने प्रस्ताव राखेर दुवैलाई हित हुने जस्तो कुरा अगाडि साऱ्‍यो। यो शैतानले दिन सक्ने सम्पूर्ण कुराहरू थियो। तर येशूले आफ्ना पिताको प्रमुख शत्रुलाई कसरी दण्डवत्‌ गर्न सक्नुहुन्थ्यो र? सोच्न समेत नसकिने कुरा! येशूले यस्तो जवाफ दिनुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू, औ उहाँको मात्र सेवा गर्नू।”—मत्ती ४:८-११; लूका ४:५-८.

यी तीनवटा परीक्षाहरू असफल भएपछि शैतानले येशूलाई “केही समयसम्म छोडेर गयो।” (लूका ४:१३) यसको मतलब, शैतान सधैं येशूको निष्ठालाई परीक्षामा पार्न सकिने मौकाको खोजीमा थियो। यसको लगभग साढेदुई वर्षपछि, येशूले आफ्नो आउँदै गरेको मृत्युका लागि चेलाहरूलाई तयार गर्नुहुँदा अर्को मौका मिल्यो। प्रेरित पत्रुसले यसो भने: “परमेश्‍वरको कृपा रहोस्‌, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।”—मत्ती १६:२१, २२.

आफ्नो एक जना चेलाले भलो चिताएर भनेको यो गलत कुरा सुन्दा के येशू मख्ख पर्नुभयो होला? यी शब्दहरूले यहोवाको होइन तर शैतानका विचारहरू झल्काउँछ भनी येशूले तुरुन्तै थाह पाउनुभयो। येशूले दृढतासाथ यस्तो जवाफ दिनुभयो: “ए शैतान, मेरो सामनेबाट हटिजा, तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस्‌। किनभने तँ परमेश्‍वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्‌।”—मत्ती १६:२३.

यहोवाप्रति येशूको अटल प्रेमको कारण शैतानले उहाँको निष्ठा तोड्‌न सकेन। जतिसुकै कठोर परीक्षा होस्‌, शैतानले ल्याएका कुनै पनि कुराले स्वर्गमा बस्नु हुने पिताप्रति येशूको वफादारीलाई कमजोर तुल्याउन सकेन। कुनै परिस्थितिहरूले गर्दा निष्ठा कायम गर्न गाह्रो हुँदा के हाम्रो पनि यस्तै कटिबद्धता हुनेछ? अय्यूबको उदाहरणबाट हामीले सामना गर्नुपर्ने चुनौतीहरूबारे अझ राम्रोसँग बुझ्न सक्नेछौं।

दुःखको बेला वफादारी

अय्यूबलाई झैं हामीमाथि कुनै पनि बेला दुःखहरू आउन सक्छन्‌। तिनी विवाहित व्यक्‍ति हुनुका साथै दस छोराछोरीका बुबा थिए अनि आध्यात्मिक कुराहरूमा पनि राम्रो ध्यान दिन्थे। (अय्यूब १:५) तर परमेश्‍वरप्रतिको आज्ञाकारिता स्वर्गीय बासस्थानमा विवादको विषय बनेको कुरा अय्यूबलाई थाहै थिएन र शैतान जुनसुकै तरिका चलाएर पनि तिनको निष्ठा तोड्‌न तल्लीन थियो।

धेरै समय बित्न नपाउँदै अय्यूबले आफ्ना सबै भौतिक धन-सम्पत्तिहरू गुमाए। (अय्यूब १:१४-१७) तैपनि, अय्यूबले कहिल्यै पनि आफ्नो भरोसा पैसामा नराखेको कारण परीक्षासामु पनि निष्ठावान्‌ रहिरहन सके। आफू धनी हुँदाको समय सम्झँदै अय्यूबले यसो भने: “यदि मैले सुनमा मेरो भरोसा राखेको भए, . . . यदि मैले मेरो . . . सम्पत्तिको बढ़तिमा रमाहट गरेको भए, . . . त्यो ता . . . एउटा अपराध हुनेथियो, किनभने म स्वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा अविश्‍वासी हुनेथिएँ।”—अय्यूब ३१:२४, २५, २८.

आज पनि हामीसँग भएका सबै कुराहरू एकै रातमा गुमाउनुपर्ने अवस्था आउन सक्छ। एक जना व्यापारी जो यहोवाको साक्षी हुन्‌, तिनको ठूलो रकम ठगी भयो र तिनी टाट पल्टिए सरह भए। तिनी खुलस्तसँग यो कुरा स्वीकार्छन्‌: “मलाई झन्डै हृदयघात भएको थियो। वास्तवमा भन्‍ने हो भने, परमेश्‍वरसँग मेरो सम्बन्ध नभएको भए मलाई हुन्थ्यो पनि होला। जेसुकै होस्‌, यस अनुभवले मलाई मैले आध्यात्मिक कुराहरूलाई आफ्नो जीवनमा प्रथम स्थान दिइरहेको छैन भन्‍ने कुरा महसुस गरायो। पैसा कमाउने जोसले अरू सबै कुरा धमिल्याइदिएको थियो।” यी साक्षीले त्यसपछि आफ्नो व्यापारिक क्रियाकलापहरूमा कटौती गरे अनि तिनी नियमित तवरमा सहायक अग्रगामीको रूपमा सेवा गरेर हरेक महिना मसीही सेवकाईमा ५० वा सोभन्दा बढी घण्टा बिताउँछन्‌। तथापि, अरू समस्याहरू सम्पत्ति गुमाउनुभन्दा पनि अझ भयावह हुन सक्छन्‌।

अय्यूबले आफ्नो धन-सम्पत्ति गुमेको विवरण राम्रोसँग सुन्‍न पनि नपाउँदै आफ्ना दस जना छोराछोरीहरूको मृत्यु भएको खबर सुन्‍नु पऱ्‍यो। तिनले अझै पनि यसो भनिरहे: “परमप्रभुको नाउँ धन्यको होस्‌।” (अय्यूब १:१८-२१) हाम्रो परिवारका थुप्रै सदस्यहरूको एकैचोटि मृत्यु भयो भने के हामी निष्ठा कायम गरिरहनेछौं? स्पेनका मसीही निरीक्षक फ्रन्सिस्कोका दुई जना बच्चाहरूको बस दुर्घटनामा परेर दुःखद मृत्यु भयो। तिनले यहोवासँग अझ घनिष्ठ भएर तथा मसीही सेवकाईमा अझ बढी भाग लिएर सान्त्वना प्राप्त गरे।

आफ्ना छोराछोरीहरूको दुःखदायी मृत्युपछि समेत अय्यूबको परीक्षा सिद्धिएको थिएन। शैतानले तिनलाई घिनलाग्दो तथा पीडादायी रोग लगाइदियो। यस बेला अय्यूबकी पत्नीले तिनलाई गलत सल्लाह दिइन्‌। “परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ” भनेर तिनले सुझाउ दिइन्‌। अय्यूबले तिनको सल्लाह इन्कार गरे र तिनको “मुखबाट एउटै पापको कुरा निस्केन।” (अय्यूब २:९, १०) तिनको निष्ठा परिवारको समर्थनमा नभई यहोवासँगको व्यक्‍तिगत सम्बन्धमा निर्भर थियो।

आफ्नो पति तथा जेठो छोराले लगभग दस वर्षअघि मसीही मार्ग त्यागेका फ्लोरा अय्यूबलाई कस्तो भयो होला भन्‍ने कुरा बुझ्छिन्‌। तिनी यस्तो स्वीकार्छिन्‌: “एक्कासी आफ्नो परिवारको समर्थन गुमाउनु पर्दा दुःखदायी हुन सक्छ। तर यहोवाको संगठनबाहिर मैले कुनै हालतमा आनन्द पाउन सक्दिनँ भन्‍ने कुरा मलाई थाह थियो। त्यसैकारण मैले दृढ रहेर यहोवालाई प्रथम स्थानमा राखें र असल पत्नी तथा आमा हुने कोसिस गरिरहें। मैले प्रार्थना गरिरहें र यहोवाले मलाई बल दिनुभयो। म खुसी छु किनभने मेरो पतिको लगातार विरोधको बावजूद मैले पूर्णतया यहोवामा भर पर्न सिकेकी छु।”

अय्यूबको निष्ठा तोड्‌नको लागि शैतानले त्यसपछि तिनका तीन जना साथीहरूलाई चलायो। (अय्यूब २:११-१३) तिनीहरूले अय्यूबको निन्दा गर्न थाल्दा कस्तो दुःख लाग्यो होला। तिनीहरूको कुरामा विश्‍वास गरेको भए तिनले यहोवामाथिको आफ्नो भरोसा गुमाउने थिए। तिनीहरूको निरुत्साहित पार्ने सल्लाहले तिनको जोस शिथिल बनाउने तथा तिनको निष्ठा तोड्‌न सक्थ्यो र शैतानको योजना सफल हुने थियो।

तथापि, अय्यूबले अझै यसो भनिरहे: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड़नेछैनँ।” (अय्यूब २७:५) तिनले यसो भनेनन्‌, ‘म तपाईंहरूलाई मेरो निष्ठा भंग गर्न दिन्‍नँ!’ तिनको निष्ठा आफू स्वयम्‌मा र यहोवाप्रतिको आफ्नो प्रेममा आधारित छ भनेर अय्यूबलाई थाहा थियो।

नयाँ सिकार फसाउने पुरानो तरिका

शैतानले अझै पनि साथी तथा सँगी विश्‍वासीहरूको गलत सल्लाह वा सोचविचार नगरी बोलिएका भनाइहरू चलाउँछ। बाहिरबाट आउने सतावटहरूले भन्दा मण्डली भित्रै सामना गर्नुपर्ने निरुत्साहले हाम्रो हौसला सजिलै कमजोर बनाउन सक्छ। पहिले सैनिक सेवामा भएका एक जना मसीही प्राचीनले सँगी मसीहीहरूले सोचविचार नपुऱ्‍याई गरेको कुराकानी तथा व्यवहारको कारण आफूले भोग्नु परेको पीडा र सेनामा हुँदा आफूले देखेको लडाइँबीचको भिन्‍नताबारे बताए। यस्ता बोली र कामबारे तिनले यसो भने: “मैले अनुभव गरेकामध्ये सबैभन्दा गाह्रो कुरा भनेको यही हो।”

अर्को तर्फ, सँगी विश्‍वासीहरूको असिद्धताको कारण निराश भएर हामी ऊसँग बोल्नै छोड्‌न वा मसीही सभाहरू समेत छुटाउन थाल्न सक्छौं। हाम्रो भावनामा लागेको चोट निको हुनु सर्वमहत्त्वपूर्ण विषय जस्तो लाग्ला। यस्तो संकुचित विचारधारा राख्नु र अरूले गरेका वा भनेका कुराहरूद्वारा हाम्रो सबैभन्दा अनमोल सम्पदा अर्थात्‌ यहोवासँगको हाम्रो सम्बन्ध कमजोर हुन दिनु कत्ति दुःखलाग्दो कुरा हो। यसो हुन दियौं भने हामी शैतानको पुरानो चलाखीको सिकार भइरहेका हुनेछौं।

निस्सन्देह, हामी मसीही मण्डलीभित्र उच्च स्तरको आशा गर्छौं। तर हाम्रा असिद्ध सँगी उपासकहरूबाट बढ्‌तै आशा गर्न थाल्यौं भने हामी पक्कै निराश हुनेछौं। त्यसको विपरीत, यहोवा आफ्ना सेवकहरूबाट चाहनुहुने कुरामा व्यावहारिक हुनुहुन्छ। हामीले उहाँको उदाहरण अनुकरण गऱ्‍यौं भने तिनीहरूको असिद्धता सहन तयार हुनेछौं। (एफिसी ४:२, ३२) प्रेरित पावलले यस्तो सल्लाह दिए: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस। शैतानलाई मौका नदेओ।”—एफिसी ४:२६, २७.

बाइलले स्पष्टसँग देखाएअनुसार, शैतानले मसीही निष्ठा तोड्‌न सकिने उपाय पत्ता लगाउनको लागि विभिन्‍न प्रकारका धूर्त तरिकाहरू चलाउँछ। त्यसका केही चलाखीहरू पापी शरीरको लागि आकर्षक देखिन्छ भने अरूचाहिं पीडाको स्रोत हुन्छ। माथि छलफल गरिएको कुराबाट किन सधैं तत्पर भएर बस्नुपर्छ भन्‍ने कुरा बुझ्न सक्नुहुन्छ। हृदयदेखि परमेश्‍वरलाई प्रेम गरेर दियाबललाई झूटो साबित गर्न र यहोवाको हृदयलाई आनन्दित तुल्याउन कटिबद्ध हुनुहोस्‌। (हितोपदेश २७:११; यूहन्‍ना ८:४४) जस्तोसुकै परीक्षाहरू आए तापनि साँचो मसीही निष्ठाको कहिल्यै सम्झौता गर्नु हुँदैन भन्‍ने कुरा नबिर्सनुहोस्‌।