सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तपाईंहरूलाई थाह छ म किन तपाईंहरूको पैसा फिर्ता गर्दैछु?”

“तपाईंहरूलाई थाह छ म किन तपाईंहरूको पैसा फिर्ता गर्दैछु?”

“तपाईंहरूलाई थाह छ म किन तपाईंहरूको पैसा फिर्ता गर्दैछु?”

‘मलाई पैसाको साह्रै दरकार परेको छ” भन्दै गणतन्त्र जर्जियाको कास्पीमा बस्ने तीन छोराकी एक्ली आमा, नानाले सोचिन्‌। एक बिहानी तिनको यो सपना साकार भयो। प्रहरी चौकी नजिकै तिनले ३०० लारी अर्थात्‌ १५० अमेरिकी डलर भेट्टाइन्‌। वरपर कोही पनि थिएन। यो निकै ठूलो रकम थियो। साँच्चै भन्‍ने हो भने, लारी राष्ट्रिय मुद्रा भएको पाँच वर्ष बितिसक्दा पनि नानाले सय लारीको नोट देखेकी थिइनन्‌। स्थानीय व्यापारीहरूले वर्षौं काम गरेपछि पनि त्यति रकम कमाउन सक्दैनन्‌।

नानाले मनमनै सोचिन्‌, ‘यदि मैले मेरो विश्‍वास, ईश्‍वरीय भय र आध्यात्मिकता गुमाएँ भने, यो पैसा के कामको लागि?’ क्रूर सतावट र पिटाइ सहँदै आफ्नो विश्‍वासको खातिर तिनले यस्ता मसीही गुणहरू खेती गरेकी थिइन्‌।

प्रहरी चौकीमा जाँदा नानाले पाँच जना अधिकृतहरू एकदमै अतालिएर केही खोजिरहेको जस्तो देखिन्‌। उनीहरूले पक्कै पैसा खोजिरहेका होलान्‌ भनेर तिनी उनीहरूकहाँ गएर यसो भनिन्‌: “तपाईंहरूले केही हराउनुभयो?”

“पैसा” भन्दै उनीहरूले जवाफ दिए।

“कति?”

“तीन सय लारी!”

नानाले भनिन्‌, “मैले तपाईंहरूको पैसा पाएकी छु।” त्यसपछि तिनले सोधिन्‌: “तपाईंहरूलाई थाह छ म किन तपाईंहरूको पैसा फिर्ता गर्दैछु?” उनीहरूले कारण बताउन सकेनन्‌।

तिनले भन्दै लगिन्‌: “किनभने म एक जना यहोवाको साक्षी हुँ। म साक्षी नभएको भए सायद मैले तपाईंहरूको पैसा फिर्ता गर्ने थिइनँ होला।”

प्रहरी प्रमुख, जसको पैसा हराएको थियो तिनले नानालाई तिनको इमानदार आचरणको मूल्यांकनस्वरूप २० लारी दिए।

यो कुरा कास्पी जिल्लाभरि फैलिन धेरै बेर लागेन। प्रहरी चौकीमा काम गर्ने सफाइ कर्मचारीले भोलिपल्ट आएर नानालाई यसो भनिन्‌: “[प्रमुखले] सधैं तपाईंको साहित्य आफ्नो कार्यालयमा राख्नुहुन्छ। सम्भवतः उहाँले यसलाई अझ बढी मन पराउनुहुनेछ।” एक जना अधिकारीले यसो भने: “सबै जना यहोवाका साक्षीहरू भइदिएका भए कसले पो अपराध गर्ने थिए होलान्‌ र?”