पढ्न सिकेकोमा उनीहरू हर्षित भए!
पढ्न सिकेकोमा उनीहरू हर्षित भए!
सलोमन टापुका केही भागहरूमा हाल यहोवाका साक्षीहरूमध्ये ८० प्रतिशत जतिले लेखपढ गर्न सिक्नको लागि निकै संघर्ष गर्नुपरेको छ। यसले उनीहरूलाई साप्ताहिक मण्डलीका सभाहरूमा भाग लिन मात्र होइन तर राज्य सत्य अरूलाई सिकाउन पनि गाह्रो बनाएको छ। जीवनमा कहिल्यै पेन्सिलसमेत नसमाएका वयस्कहरूको लागि के लेखपढ गर्न जान्ने हुन साँच्चै सम्भव छ?
सलोमन टापुभरिका यहोवाका साक्षीहरूको प्रायजसो सबै मण्डलीमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित अप्लाइ योरसेल्फ टु रिडिङ एण्ड राइटिङ भन्ने पुस्तिका साक्षरता कक्षाहरूमा प्रयोग गरिएको छ। निम्न अनुभवहरू त यस कार्यक्रमले कसरी सयौं जनालाई आफ्नो क्षमता विकास गर्न मदत गरेको छ भन्ने कुराको केही उदाहरण मात्र हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसरी पढ्न सिकेको कारण उनीहरू आफ्नो विश्वासबारे अरूलाई राम्ररी साक्षी दिन उत्प्रेरित भएका छन्।—१ पत्रुस ३:१५.
सय जना भन्दा बढी राज्य प्रकाशकहरू भएको मण्डलीमा खटाइएको एक जना मिसनरीले प्रहरीधरहरा-मार्फत हुने साप्ताहिक बाइबल अध्ययनमा कोही-कोहीसँग मात्रै प्रहरीधरहरा भएको र एकदमै थोरैले मात्र टिप्पणी गरेको याद गरिन्। कारण? असाक्षरता। पढ्न लेख्न सिकाउनको लागि स्कूल सुरु गर्ने कुरा मण्डलीले घोषणा गर्दा उक्त मिसनरी खुसीसाथ शिक्षकको रूपमा काम गर्न अघि सरिन्। सुरु-सुरुमा त थोरै विद्यार्थीहरू मात्र आए तर चाँडै ४० जना भन्दा बढी सबै उमेरका मानिसहरू उपस्थित हुन थाले।
परिणाम कस्तो भयो? मिसनरी यसो भन्छिन्: “साक्षरता कक्षा सुरु भएको केही समयपछि म बिहानको छ बजेतिर मिसनरी गृहको लागि केही खानेकुरा किन्न बजार गएकी थिएँ। त्यहाँ मैले केही विद्यार्थीहरू, स-साना केटाकेटीहरूले समेत नरिवल तथा सागसब्जीहरू बेचिरहेको देखें। किन? किनभने उनीहरू साक्षरता कक्षामा चाहिने कलम र नोटबूक किन्न चाहिने पैसा जुटाउन चाहन्थे! साथै, यस कक्षामा
उपस्थित भएको कारण उनीहरूले प्रहरीधरहरा पत्रिकाको व्यक्तिगत प्रति लिने प्रेरणा पाए।” तिनी अझ यसो भन्छिन्: “अहिले त मण्डलीमा प्रहरीधरहरा अध्ययनको दौडान जवान होस् वा वृद्ध सबैले उत्तिकै भाग लिन्छन् र यसले गर्दा हाम्रो छलफल जीवन्त भएको छ।” विशेष गरी कक्षाका चार जना सदस्यहरूले हामी जनप्रचार कार्यमा भाग लिन सक्छौं कि भनेर सोद्धा यी मिसनरी औधी खुसी भइन् किनभने “अब अलिकति पनि डर लाग्दैन” भनेर उनीहरूले भने।साक्षरता कक्षाले विद्यार्थीहरूमा पारेका सकारात्मक असरहरू पढ्न र लेख्नमा मात्र सीमित छैन। उदाहरणका लागि, एक जना साक्षीको बेग्लै विश्वास गर्ने पत्नी मण्डलीको लागि धेरै वर्षदेखि ठूलो चिन्ताको विषय बनेको थियो। अलिकति रिस उठ्ने बित्तिकै तिनले मानिसहरूलाई ढुंगाले हिर्काउँथिन् र अन्य स्त्रीहरूलाई झटारो हान्नसमेत पछि पर्दिन थिइन्। कहिलेकाहीं आफ्नो पतिसित मसीही सभाहरूमा उपस्थित भएको बेला तिनले आफ्नो पतिसित यत्तिबिघ्न डाह गर्थिन् कि अरू स्त्रीहरूलाई हेऱ्यो भनी दोष नलगाओस् भनेर तिनको पतिले कालो चस्माको सहारा लिनुपर्थ्यो।
तथापि, साक्षरता कक्षा सुरु भएको केही समयपछि यस आइमाईले सुटुक्क यसो भनिन्: “के म पनि कक्षामा भर्ना हुन सक्छु?” जवाफ थियो सक्नुहुन्छ। त्यस बेलादेखि तिनले कक्षा वा मण्डलीका सभाहरू एउटै पनि छुटाइनन्। आफ्नो पढ्ने पाठमा तिनले धेरै मेहनत गर्नुका साथै उल्लेखनीय प्रगति गरिन्। यसले गर्दा तिनी खुसीले गद्गद भइन्। तिनको दोस्रो आग्रह थियो: “के म बाइबल अध्ययन गर्न सक्छु?” तिनको पतिले खुसीसाथ तिनीसित अध्ययन सुरु गरे र तिनले आफ्नो पढ्ने लेख्ने र बाइबलको ज्ञान हासिल गर्ने क्षमतामा प्रगति गरिरहेकी छिन्।
जिन्दगीमा कहिल्यै पेन्सिल नसमाएका ५० वर्ष टेकिसकेका मानिसको लागि कलम समाउनु र वर्णमाला मिलाएर अक्षर सृजना गर्नु मात्र पनि पहाडरूपी अवरोध हुन सक्छ। सुरु-सुरुमा सिक्दा उनीहरूले पेन्सिल जोडले समाएर कापीमा बेस्सरी थिचेर लेखेको कारण कसै-कसैका औंलाहरूमा ठेलासमेत उठेका छन्। हप्तौंसम्म पेन्सिल समाउन र नियन्त्रण गर्न संघर्ष गरेपश्चात् कोही-कोही विद्यार्थीहरूले मीठो मुस्कान छर्दै यस्तो उद्गार व्यक्त गरेका छन्: “अब त म लेख्दा हल्कासित हात सार्न सक्छु!” विद्यार्थीहरूले प्रगति गरेको देख्दा प्रशिक्षकहरू पनि खुसी हुन्छन्। एक जना प्रशिक्षकले यसो भनिन्: “कक्षामा पढाउँदा असीम आनन्द अनुभव हुन्छ र यहोवाले यस्तो प्रबन्ध मिलाउनुभएकोमा कक्षाको अन्तमा विद्यार्थीहरूले आफ्नो निष्कपट मूल्यांकन व्यक्त गर्न ताली बजाउँछन्।”
मिसनरीहरूलगायत यी साक्षर साक्षीहरू अहिले हर्षित छन्। किन? किनभने अब उनीहरूले यहोवाको महिमा गर्न आफ्नो लेखपढ गर्ने क्षमतालाई प्रयोग गर्न सक्छन्।
[पृष्ठ ८, ९-मा भएका चित्रहरू]
जवान तथा वृद्ध दुवैले साक्षरता कक्षाको मूल्यांकन गर्छन्