सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

आमाबाबुमध्ये एक जना मात्र साक्षी छन्‌ भने छोराछोरीहरूलाई प्रशिक्षण दिने सन्दर्भमा धर्मशास्त्रले कस्तो निर्देशन दिन्छ?

अर्कै धर्म मान्‍ने पति वा पत्नी भएका साक्षीले बच्चालाई प्रशिक्षण दिने सन्दर्भमा दुइटा महत्त्वपूर्ण धर्मशास्त्रीय सिद्धान्तले निर्देशन प्रदान गर्छ। प्रथम: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) अर्को: “पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।” (एफिसी ५:२३) यो दोस्रो सिद्धान्त पति पत्नी दुवै साक्षी भएको अवस्थामा मात्र नभई गैर-साक्षी पति हुने साक्षी पत्नीलाई पनि लागू हुन्छ। (१ पत्रुस ३:१) आफ्ना छोराछोरीलाई प्रशिक्षण दिंदा मसीही आमा वा बुबाले यी सिद्धान्तहरूलाई कसरी सन्तुलनमा राख्न सक्छन्‌?

यदि पति एक जना यहोवाका साक्षी हुन्‌ भने परिवारको आध्यात्मिक तथा भौतिक आवश्‍कता पूरा गर्ने जिम्मा पति कै हुन्छ। (१ तिमोथी ५:८) बेग्लै विश्‍वास भएकी आमाले बच्चाहरूसित धेरै समय बिताउने भए तापनि साक्षी पिताले आफ्ना छोराछोरीहरूलाई घरमा आध्यात्मिक प्रशिक्षण दिएर अनि मसीही सभाहरूमा लगेर प्रशिक्षण दिनुपर्छ, जहाँ तिनीहरूले नैतिक शिक्षा तथा लाभदायी संगतिबाट लाभ उठाउनेछन्‌।

यदि बेग्लै विश्‍वास भएकी पत्नीले छोराछोरीलाई आफ्नै उपासनास्थलमा लान वा आफ्नो विश्‍वास सिकाउन जिद्दी गरेमा के गर्ने? देशको कानूनअनुसार तिनले यसो गर्न सक्छिन्‌। यस्ता स्थलहरूमा गरिने उपासनामा बच्चाहरूले देखाउने प्रतिक्रिया धेरै हदसम्म पिताले सिकाएको आध्यात्मिक शिक्षाको गुणस्तरमा निर्भर गर्छ। बच्चाहरू हुर्कदै जाँदा तिनीहरूका पिताले दिएको आध्यात्मिक शिक्षाले तिनीहरूलाई परमेश्‍वरको वचनको सत्य पछ्याउन मदत गर्नुपर्छ। आफ्ना छोराछोरीहरूले सत्यको लागि अडान लिएमा विश्‍वासी पति कत्ति आनन्दित हुनेछन्‌!

यदि आमा एक जना यहोवाका साक्षी हुन्‌ भने आफ्ना छोराछोरीको अनन्त हितलाई ध्यानमा राख्दै तिनले शिरत्वको सिद्धान्तलाई आदर गर्नुपर्छ। (१ कोरिन्थी ११:३) साक्षी पत्नीले छोराछोरीलाई नैतिक तथा आध्यात्मिक शिक्षा दिएमा अक्सर पतिले कुनै विरोध जनाउँदैनन्‌ र यस्तो शिक्षा यहोवाका जनहरूको सभाहरूमा उपलब्ध छन्‌। आफ्ना छोराछोरीले यहोवाको संगठनबाट पाइरहेको उत्थानदायी शिक्षाहरूको फाइदाहरूबारे बुझ्न आमाले बेग्लै विश्‍वास भएको पतिलाई मदत दिन सक्छिन्‌। छोराछोरीहरू नैतिक रूपमा भ्रष्ट संसारमा बसिरहेको हुँदा बाइबलका सल्लाहहरू तिनीहरूको मनमा बसाल्दा हुने फाइदालाई तिनले बुद्धिमानपूर्वक जोड दिन सक्छिन्‌।

यद्यपि, बेग्लै विश्‍वास भएका पतिले आफ्ना छोराछोरीलाई आफ्नो उपासनास्थलमा लगेर अनि आफ्नो विश्‍वासअनुरूपको धार्मिक शिक्षा दिएर आफ्नो धर्म मान्‍न लगाउनै पर्छ भनी जिद्दी गर्लान्‌। अथवा पतिलाई कुनै पनि धर्म मानेको मन लाग्दैन भने आफ्ना छोराछोरीलाई कुनै पनि धर्म मान्‍न नलगाउने जिद्दी गर्लान्‌। परिवारको शिर भएको नाताले निर्णय गर्ने पहिलो अधिकार पति कै हुन्छ। a

एक जना समर्पित मसीहीको हैसियतमा आफ्नो पतिको शिरत्वलाई आदर गर्दै विश्‍वासी पत्नीले प्रेरित पत्रुस तथा यूहन्‍नाको यस्तो मनोभाव आफ्नो मनमा राख्नुपर्नेछ: “किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍तैसक्‍तैनौं।” (प्रेरित ४:१९, २०) छोराछोरीको आध्यात्मिक हितलाई ध्यानमा राख्दै एक जना साक्षी आमाले तिनीहरूलाई नैतिक निर्देशन दिने मौका खोज्नेछिन्‌। आफूले सिकेको सत्यबारे अरूलाई सिकाउने यहोवासामु तिनको जिम्मेवारी छ र तिनको यस जिम्मेवारीमा तिनका छोराछोरीहरू पनि समावेश छन्‌। (हितोपदेश १:८; मत्ती २८:१९, २०) साक्षी आमाले कसरी यस्तो कठिन परिस्थितिको सामना गर्न सक्छिन्‌?

उदाहरणका लागि, परमेश्‍वरमाथि विश्‍वासको कुरालाई लिनुहोस्‌। आफ्नो पतिको प्रतिबन्धको कारण साक्षी पत्नीले आफ्ना छोराछोरीसित औपचारिक बाइबल अध्ययन गर्न नसक्लिन्‌। यसले गर्दा के तिनले आफ्ना छोराछोरीलाई यहोवाबारे सिकाउन ठ्याप्पै बन्द गर्नुपर्छ? पर्दैन। तिनका शब्द अनि कार्यहरूले सृष्टिकर्ताप्रतिको तिनको विश्‍वासलाई झल्काउन सक्छ। यसबारे तिनका छोराछोरीहरूले पक्कै पनि प्रश्‍नहरू गर्नेछन्‌। सृष्टिकर्ताप्रतिको आफ्नो विश्‍वास आफ्ना छोराछोरीहरूलाई व्यक्‍त गरेर आफ्नो धार्मिक स्वतन्त्रताको अभ्यास गर्न तिनले कुनै संकोच मान्‍नु हुँदैन। छोराछोरीसित बाइबल अध्ययन सञ्चालन गर्न वा तिनीहरूलाई नियमित रूपमा सभाहरूमा लान नसके तापनि तिनले छोराछोरीलाई यहोवा परमेश्‍वरको ज्ञान सिकाउन सक्छिन्‌।—व्यवस्था ६:७.

एक जना साक्षी र उनको बेग्लै विश्‍वास भएको पति वा पत्नीबीचको सम्बन्धबारे प्रेरित पावलले यस्तो लेखे: “किनभने विश्‍वास नगर्ने पति, पत्नीमा पवित्र हुन्छ, र विश्‍वास नगर्ने पत्नी, ख्रीष्टियान लोग्नेमा पवित्र हुन्छ, नत्रता तिमीहरूका बालबच्चा अशुद्ध हुनेथिए, तर यसो भएकोले ती पवित्र हुन्छन्‌।” (१ कोरिन्थी ७:१४) विश्‍वास गर्ने पति वा पत्नी र छोराछोरीहरू यहोवाको नजरमा पवित्र हुने हुनाले यहोवा परमेश्‍वरले त्यस वैवाहिक सम्बन्धलाई पवित्र ठान्‍नुहुन्छ। अन्तिम परिणाम यहोवाको हातमा छोड्‌दै साक्षी पत्नीले आफ्ना छोराछोरीलाई सत्य सिकाउन यथासक्य गर्नुपर्छ।

छोराछोरी हुर्कंदै जाँदा आफ्ना आमाबाबुबाट प्राप्त गरेको शिक्षाहरूको आधारमै तिनीहरूले आफूले लिने अडानको निर्णय गर्नुपर्ने हुन्छ। तिनीहरूले येशूका यी शब्दहरूअनुरूप कार्य गर्ने निर्णय लिन सक्छन्‌: “बाबु अथवा आमालाई मभन्दा बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन।” (मत्ती १०:३७) तिनीहरूलाई यस्तो आज्ञा पनि दिइएको छ: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर।” (एफिसी ६:१) गैर-साक्षी आमा वा बाबुबाट कठिनाइहरूको सामना गर्नु परे तापनि धेरै जवानहरूले गैर-साक्षी आमा वा बुबाभन्दा ‘परमेश्‍वरको आज्ञा मान्‍ने’ निर्णय गरेका छन्‌। विरोधको बावजूद आफ्ना छोराछोरीले यहोवाको सेवा गर्ने निर्णय गरेको हेर्न पाउनु साक्षी आमा वा बुबाको लागि कत्ति इनामदायी हुनेछ!

[फुटनोट]

a पत्नीको धार्मिक स्वतन्त्रताको कानूनी अधिकारमा मसीही सभाहरूमा उपस्थित हुन पाउने अधिकार पनि समावेश छ। कुनै-कुनै अवस्थामा, पतिले नाबालिग छोराछोरीहरूको रेखदेख गर्ने इच्छा देखाउँदैनन्‌ त्यसैले, यस्तो बेला मायालु आमाले आफ्ना छोराछोरीलाई सभाहरूमा लानुपर्ने हुन्छ।