सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु”

“मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु”

“मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु”

“यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो।”—हिब्रू ५:१२.

१. हिब्रू ५:१२ का शब्दहरूले किन मसीहीलाई अलि चस्स घोच्न सक्छ?

 यस लेखको मुख्य शास्त्रपदका प्रेरित शब्दहरू पढ्‌दा के तपाईंलाई अलि चस्स घोच्यो? त्यसो हो भने, तपाईं एक्लै हुनुहुन्‍न। ख्रीष्टका अनुयायीहरूको हैसियतमा हामी शिक्षक हुनुपर्छ भनी हामीलाई थाह छ। (मत्ती २८:१९, २०) हामी बाँचिरहेको समयलाई विचार गर्दा सकेसम्म कौशलतासाथ सिकाउनु जरुरी छ भनेर पनि हामीलाई थाह छ। हामी जसलाई सिकाउँछौं, उसको जीवन र मृत्युको कुरासमेत मुछिएको हुन्छ भनी हामीलाई थाह छ! (१ तिमोथी ४:१६) त्यसैले हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नु उचित हुन्छ: ‘के म साँच्चै जस्तो शिक्षक हुनुपर्ने हो, त्यस्तै छु? म कसरी उन्‍नति गर्न सक्छु?’

२, ३. (क) एक जना शिक्षकले असल शिक्षाको जगबारे के बताए? (ख) सिकाउने सन्दर्भमा येशूले हाम्रोलागि कस्तो उदाहरण बसाल्नुभयो?

त्यस्तो चिन्ताको कारण हामी निरुत्साहित हुनुपर्दैन। हामीले सिकाउनको लागि कुनै खास शिक्षण कलाको खाँचो छ भन्‍ने सोचाइ राख्यौं भने हामीलाई उन्‍नति गर्ने विचार मात्र पनि बोझिलो लाग्न सक्छ। असल शिक्षाको आधार शिक्षण प्रविधि होइन तर अझ महत्त्वपूर्ण कुरा मुछिएको छ। यस विषयमा एक जना अनुभवी शिक्षकले एउटा पुस्तकमा के लेखे, विचार गर्नुहोस्‌: “असल शिक्षा, खास प्रविधि वा ढाँचा, योजना वा कार्यको मात्र कुरा होइन . . . सिकाउने कार्यमा मुख्यतया प्रेम मुछिएको हुनुपर्छ।” निस्सन्देह, तिनले एक सामान्य शिक्षकमा हुनुपर्ने गुणबारे बताइरहेका थिए। यद्यपि, तिनले औंल्याएको बुँदा हामीले मसीहीहरूको हैसियतमा सिकाउने कुरामा अझ बढी लागू हुन सक्छ। कसरी?

शिक्षकको रूपमा हाम्रो उदाहरण केवल येशू ख्रीष्ट हुनुहुन्छ जसले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु।” (यूहन्‍ना १३:१५) उहाँले नम्रता देखाउने सन्दर्भमा आफ्नो उदाहरणबारे बताउँदै हुनुहुन्थ्यो। तर येशूले बसाल्नुभएको उदाहरणमा निश्‍चय पनि उहाँ मानिसको रूपमा पृथ्वीमा हुनुहुँदा उहाँको मुख्य कार्य अथवा मानिसहरूलाई परमेश्‍वरको राज्यबारे सुसमाचार सिकाउने पनि समावेश छ। (लूका ४:४३) येशूको सेवकाईलाई एउटा शब्दमा वर्णन गर्नुपऱ्‍यो भने सायद तपाईंले “प्रेम” शब्द छान्‍नुहुन्छ होला, होइन र? (कलस्सी १:१५; १ यूहन्‍ना ४:८) येशूको लागि आफ्नो स्वर्गमा हुनुहुने पिता, यहोवाप्रतिको प्रेम सर्वमहत्त्वपूर्ण थियो। (यूहन्‍ना १४:३१) तथापि, शिक्षकको हैसियतमा येशूले थप दुई तरिकामा प्रेम प्रकट गर्नुभयो। उहाँ आफूले सिकाउनुभएको सत्यलाई अनि मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले बसाल्नुभएको उदाहरणको यी दुई पक्षलाई हामी अझ नजिकबाट नियालौं।

ईश्‍वरीय सत्यप्रति लामो समयदेखिको प्रेम

४. येशूले यहोवाको शिक्षाप्रति कसरी प्रेम विकास गर्नुभयो?

शिक्षकले आफ्नो विद्यार्थीहरूप्रति राख्ने मनोवृत्तिले तिनको शिक्षाको गुणस्तरमा निकै असर गर्छ। विद्यार्थीप्रति खास चासो लिएका छैनन्‌ भने विद्यार्थीहरूले चाल पाइहाल्छन्‌। येशूले यहोवा अनि उहाँको राज्यबारे सिकाउनुभएको अनमोल सत्यप्रति कुनै पनि प्रकारको भावशून्यता महसुस गर्नुभएन। यस सन्दर्भमा येशूको प्रेम एकदमै प्रगाढ थियो। उहाँले त्यस्तो प्रेम विद्यार्थीको हैसियतमा नै विकास गर्नुभएको थियो। पृथ्वीमा आउनुअघि युगानुयुगका एक मात्र प्रिय पुत्र उहाँ अत्यन्तै उत्सुक विद्यार्थी हुनुहुन्थ्यो। यशैया ५०:४, ५ मा यस्ता उपयुक्‍त शब्दहरू लिपिबद्ध गरिएका छन्‌: “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो सो जान्‍नसकूँ भनेर परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेहरूलाई झैं सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्छ। परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म वागी भइनँ। औ पछि पनि हटिनँ।”

५, ६. (क) येशूले आफ्नो बप्तिस्माको बेला कस्तो अनुभव गर्नुभयो र यसले उहाँमाथि कस्तो प्रभाव पाऱ्‍यो? (ख) परमेश्‍वरको वचन प्रयोग गर्ने सन्दर्भमा येशू र शैतानबीच कस्तो भिन्‍नता पाउँछौं?

पृथ्वीमा मानिसको रूपमा हुर्कंदै जानुहुँदा येशूले ईश्‍वरीय बुद्धिलाई प्रेम गर्न छोड्‌नुभएन। (लूका २:५२) अनि उहाँले आफ्नो बप्तिस्माको समयमा एउटा अद्वितीय अनुभव गर्नुभयो। “स्वर्ग उघ्रियो” भनी लूका ३:२२ बताउँछ। सम्भवतः येशूले आफ्नो मानवपूर्व अस्तित्व सम्झन सक्नुभयो। त्यसपछि उहाँले उजाडस्थानमा केही नखाई ४० दिन बिताउनुभयो। स्वर्गमा छँदा यहोवाबाट पाएका थुप्रै निर्देशनहरू मनन गर्दा उहाँ अत्यन्तै आनन्दित भएको हुनुपर्छ। तथापि, केही समय नबित्दै परमेश्‍वरको सत्यप्रतिको उहाँको प्रेमको जाँच भयो।

येशू थकित र भोको हुनुहुँदा शैतानले उहाँलाई प्रलोभनमा पार्ने प्रयास गऱ्‍यो। परमेश्‍वरका यी दुई पुत्रहरूबीच हामी कस्तो भिन्‍नता पाउँछौं! दुवैले हिब्रू धर्मशास्त्रबाट उद्धृत गरे तर मनसाय बिलकुलै फरक थियो। शैतानले परमेश्‍वरको वचन बंग्याएर आफ्नो स्वार्थी इच्छा पूरा गर्न त्यसको अनादर गऱ्‍यो। साँच्चै त्यो विद्रोहीले ईश्‍वरीय सत्यलाई सरासर हेला गर्थ्यो। अर्कोतर्फ, येशूको धर्मशास्त्रप्रतिको प्रेम एकदमै स्पष्ट देखिन्थ्यो र उहाँले परमेश्‍वरको वचनबाट उद्धृत गर्दै सबै जवाफ दिनुहुन्थ्यो। येशू ती प्रेरित शब्दहरू लेखिनुभन्दा धेरैअघि अस्तित्वमा हुनुहुन्थ्यो तैपनि उहाँले ती शब्दहरूको गहिरो सम्मान गर्नुभयो। ती उहाँको स्वर्गमा हुनुहुने पिताबाट आएका अनमोल सत्य थिए! उहाँले ती शब्दहरू भोजनभन्दा पनि अत्यावश्‍यक छन्‌ भनी शैतानलाई भन्‍नुभयो। (मत्ती ४:१-११) हो, येशूले यहोवाले सिकाउनुभएको सबै सत्य कुराहरूलाई प्रेम गर्नुभयो। तर उहाँले शिक्षकको हैसितयमा त्यस्तो प्रेम कसरी देखाउनुभयो?

उहाँले सिकाउनुभएको सत्य कुराहरूप्रति प्रेम

७. येशूले किन आफ्नै धारणाहरू विकास गर्नु भएन?

सत्य कुराहरूप्रति येशूको प्रेम उहाँले सिकाउनुहुँदा सधैं स्पष्ट झल्किन्थ्यो। आखिर, उहाँले आफ्नै धारणाहरू विकास गर्न सक्नुहुन्थ्यो। उहाँ ज्ञान र बुद्धिको अथाह भण्डार हुनुहुन्थ्यो। (कलस्सी २:३) यद्यपि, उहाँले आफ्ना श्रोताहरूलाई उहाँको शिक्षा आफ्नो नभई स्वर्गमा हुनुहुने पिताको हो भनी बारम्बार सम्झाउनुभयो। (यूहन्‍ना ७:१६; ८:२८; १२:४९; १४:१०) उहाँले ईश्‍वरीय सत्यलाई यस्तो प्रगाढ प्रेम गर्नुहुन्थ्यो कि आफ्ना विचारहरू थपथाप गर्ने विचारसमेत पनि गर्नुभएन।

८. येशूले आफ्नो सेवकाईको सुरुमा कसरी परमेश्‍वरको वचनमा भर पर्ने सन्दर्भमा उदाहरण बसाल्नुभयो?

येशूले आफ्नो जन सेवकाई सुरु गर्नुहुँदा चाँडै एउटा उदाहरण बसाल्नुभयो। उहाँले पहिलो चोटि आफू मसीह हुँ भनी घोषणा गर्नुभएको तरिकालाई विचार गर्नुहोस्‌। के उहाँ केवल भीडसामु खडा भई आफू नै ख्रीष्ट हुँ भनी घोषणा गरेर त्यसलाई प्रमाणित गर्न केही उल्लेखनीय चमत्कारहरू गर्नुभयो? गर्नुभएन। उहाँ सभाघरमा जानुभयो जहाँ परमेश्‍वरका जनहरूले धर्मशास्त्र पढ्‌ने गर्थे। त्यहाँ उहाँले ठूलो स्वरमा यशैया ६१:१, २ पढ्‌नुभयो र यी भविष्यसूचक सत्य उहाँमा लागू हुन्छ भनी बताउनुभयो। (लूका ४:१६-२२) येशूले गर्नुभएका थुप्रै चमत्कारहरूद्वारा उहाँले यहोवाको समर्थन पाउनुभएको छ भनी प्रमाणित गर्न सजिलो भयो। तैपनि, उहाँले शिक्षा दिनुहुँदा सधैं परमेश्‍वरको वचनमा भर पर्नुभयो।

९. फरिसीहरूसँग व्यवहार गर्दा येशूले परमेश्‍वरको वचनप्रतिको वफादार प्रेम कसरी प्रदर्शन गर्नुभयो?

धार्मिक विरोधीहरूले येशूलाई चुनौती दिंदा उहाँले तिनीहरूलाई सजिलै परास्त गर्न सक्नुहुने भए तापनि कहिल्यै आफ्नो योग्यताको प्रतिस्पर्धा गर्ने प्रयास गर्नुभएन। बरु, उहाँले परमेश्‍वरको वचनद्वारा नै तिनीहरूको भर्त्सना गर्नुभयो। उदाहरणका लागि, येशूका अनुयायीहरू खेतहरूबाट जाँदै गरेको बेला अन्‍नका बाला टिपेर खाएपछि फरिसीहरूले विश्राम दिन उल्लंघन गरेको दोष लगाएको बेलालाई विचार गर्नुहोस्‌। येशूले यस्तो जवाफ दिनुभयो: “दाऊदले, तिनी र तिनीसँग हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ?” (मत्ती १२:१-५) ती आत्मधर्मी पुरुषहरूले १ शमूएल २१:१-६ मा लिपिबद्ध प्रेरित विवरण पक्कै पढेको हुनुपर्छ। तिनीहरूले पढेको भए तापनि त्यहाँ उल्लिखित महत्त्वपूर्ण पाठ भने बुझ्न सकेनन्‌। तथापि, येशूले त्यो विवरण पढ्‌नु मात्र भएन। उहाँले त्यसबारे विचार गर्नुभयो र यसको सन्देशलाई हृदयंगम गर्नुभयो। उक्‍त विवरणद्वारा यहोवाले सिकाउनुभएको सिद्धान्तलाई उहाँले प्रेम गर्नुभयो। त्यसैले उहाँले व्यवस्था कत्तिको सन्तुलित छ भनी देखाउन त्यस विवरणका साथै मोशालाई दिइएको व्यवस्थाको उदाहरण चलाउनुभयो। त्यस्तै गरी, येशूको वफादार प्रेमले धार्मिक नेताहरूको आफ्नो फाइदाअनुसार परमेश्‍वरको वचनलाई बंग्याउने वा मानव परम्पराहरूले लत्याउने प्रयासको विरोध गर्न उत्प्रेरित गऱ्‍यो।

१०. आफ्नो शिक्षाको गुणस्तरबारे येशूले भविष्यवाणीहरू कसरी पूरा गर्नुभयो?

१० येशूले आफ्ना विद्यार्थीहरूप्रतिको प्रेमको कारण कहिल्यै कण्ठस्थ गरेर पट्यारलाग्दो वा भावशून्य ढंगमा सिकाउनुभएन। प्रेरित भविष्यवाणीहरूले मसीहले ‘अनुग्रहले भरपूर ओठ’ चलाउनुभएर “सुन्दर कुराहरू” बोल्नुहुनेछ भनेर बताएको थियो। (भजन ४५:२; उत्पत्ति ४९:२१, NW) आफूले असाध्यै प्रेम गरेको सत्यका कुराहरू “अनुग्रहका वचन” प्रयोग गर्दै सिकाएर आफ्नो सन्देशलाई जीवन्त र चाखलाग्दो बनाएर येशूले ती भविष्यवाणीहरू पूरा गर्नुभयो। (लूका ४:२२) निस्सन्देह, उहाँको जोस उहाँको अनुहारमा झल्कन्थ्यो र उहाँको आँखा आफ्ना विद्यार्थीहरूप्रतिको चासोले चम्किन्थ्यो। उहाँको कुरा सुन्दा कस्तो आनन्द महसुस हुन्थ्यो होला अनि अरूलाई आफूले सिकेका कुराहरूबारे बताउँदा हामीले अनुसरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण!

११. शिक्षकको हैसियतमा येशू धेरै योग्य हुनु भए तापनि उहाँ किन कहिल्यै घमण्डले फुल्नु भएन?

११ ज्ञानको अथाह भण्डार र अरूको मन जित्ने गरी बोल्न सक्ने क्षमताको कारण के येशू घमण्डले फुल्नुभयो? मानव शिक्षकहरूको कुरा गर्ने हो भने अक्सर त्यस्तो हुन्छ। तर येशू ईश्‍वरीय तौरतरिकामा बुद्धिमान्‌ हुनुहुन्थ्यो भनी नबिर्सनुहोस्‌। त्यस्तो बुद्धि भएको मानिस घमण्डले फुल्दैन किनभने “नम्रताले बुद्धि ल्याउँछ।” (हितोपदेश ११:२, नयाँ संशोधित संस्करण) येशू घमण्ड वा अहंकारले नफुल्नुको एउटा कारण पनि छ।

आफूले सिकाउनुभएका मानिसहरूलाई येशूले प्रेम गर्नुभयो

१२. येशूले आफ्ना अनुयायीहरू उहाँदेखि डराओस्‌ भन्‍ने चाहनुहुन्‍नथ्यो भनेर कसरी देखाउनुभयो?

१२ मानिसहरूप्रति येशूको प्रगाढ प्रेम उहाँको शिक्षामा सधैं स्पष्ट झल्किन्थ्यो। उहाँको शिक्षा ती घमण्डी मानवहरूको जस्तो नभएकोले तिनीहरू उहाँको शिक्षाको कारण कहिल्यै तर्सिएनन्‌। (उपदेशक ८:९) येशूको एउटा चमत्कार देखेपछि पत्रुस यत्ति छक्क परे कि तिनी येशूको पाउमा घोप्टो परे। तर येशू आफ्ना अनुयायीहरू उहाँ देखेर डरले थरथर काँपेको चाहनुहुन्‍नथ्यो। उहाँले दयापूर्वक “नडराऊ” भन्‍नुभयो र त्यसपछि पत्रुसलाई तिनी सहभागी हुने रोमाञ्चकारी चेला बनाउने कार्यबारे बताउनुभयो। (लूका ५:८-१०) येशू आफ्ना चेलाहरू शिक्षकप्रतिको डरले होइन परमेश्‍वरबारे अनमोल सत्यप्रतिको प्रेमले उत्प्रेरित भएको चाहनुहुन्थ्यो।

१३, १४. येशूले मानिसहरूप्रति कुन तरिकाहरूमा समानुभूति देखाउनुभयो?

१३ आफूले सिकाउनुभएका मानिसहरूप्रतिको प्रेम, येशूले देखाउनुभएको समानुभूतिबाट पनि स्पष्ट हुन्छ। “भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) तिनीहरूको दयनीय अवस्था देखेर उहाँ दयाले भरिनुभयो र तिनीहरूलाई मदत गर्न उत्प्रेरित हुनुभयो।

१४ अर्को एउटा अवसरमा येशूले देखाउनुभएको समानुभूति याद गर्नुहोस्‌। रगत बग्ने बेथाले पीडित स्त्रीले भीडमा उहाँको पोसाकको झुम्का छुँदा तिनी चमत्कारपूर्ण ढंगमा तुरुन्तै निको भइन्‌। येशूले आफूबाट शक्‍ति बाहिर निस्केको थाह पाउनुभयो तर निको भएको व्यक्‍तिचाहिं को हो भनेर थाह पाउनुभएन। उहाँले ती स्त्री को हुन्‌ भनेर पत्ता लगाउन चाहनुभयो। किन? उक्‍त स्त्रीले व्यवस्था वा शास्त्री तथा फरिसीहरूको नियम उल्लंघन गरेकीले हप्काउनको लागि होइन। तर हप्काउनु होला कि भनेर उक्‍त स्त्रीलाई डर लागेको हुनुपर्छ। बरु उहाँले तिनलाई यसो भन्‍नुभयो: “ए छोरी तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ। शान्तिसित जाऊ, तिम्रो रोग निको भइजाओस्‌ [“र स्वस्थ रहो।” NW]।” (मर्कूस ५:२५-३४) यी शब्दहरूमा समानुभूति कसरी झल्किएको छ ध्यान दिनुहोस्‌। उहाँले केवल “निको होस्‌” भन्‍नुभएन। बरु, उहाँले ‘तिम्रो रोग निको भइजाओस्‌ र स्वस्थ रहो’ भन्‍नुभयो। मर्कूसले यहाँ चलाएको शब्दको शाब्दिक अर्थ “कोर्रा लगाउने” हुन सक्छ, यस्तो कोर्रा अक्सर सास्ती दिन लगाइन्छ। अतः येशूले तिनको रोगको कारण तिनलाई अत्यधिक शारीरिक र भावनात्मक पीडा भएको हुनुपर्छ भनी मानिलिनुभयो। उहाँले तिनको मर्म बुझ्नुभयो।

१५, १६. येशूले आफ्नो सेवकाईमा मानिसहरूको असल पक्षलाई हेर्नुहुन्थ्यो भनी कस्ता घटनाहरूले देखाउँछ?

१५ येशूले मानिसहरूका असल गुणहरू हेरेर पनि तिनीहरूप्रति प्रेम देखाउनुभयो। उहाँले पछि प्रेरित भएका नथनेललाई भेट्‌दा के भएको थियो, विचार गर्नुहोस्‌। “येशूले नथनेललाई आफूकहाँ आउँदै गरेका देखेर तिनका विषयमा भन्‍नुभयो, ‘हेर, साँच्चै एउटा इस्राएली, जसमा छल छैन।’ ” चमत्कारपूर्ण ढंगमा येशूले नथनेलको हृदय जाँच्नुभएर तिनीबारे धेरै कुरा थाह पाउनुभयो। निस्सन्देह, नथनेल सिद्ध थिएनन्‌। हामी सबैको जस्तै तिनका पनि कमी कमजोरीहरू थिए। वास्तवमा, तिनले येशूबारे सुन्दा यस्तो ठाडो टिप्पणी गरेका थिए “के नासरतबाट केही असल कुरा आउनसक्छ र?” (यूहन्‍ना १:४५-५१) तथापि, येशूले नथनेलको अन्य गुणहरूभन्दा सकारात्मक गुण अर्थात्‌ तिनको इमानदारीमा ध्यान केन्द्रित गर्नुभयो।

१६ त्यस्तै गरी, एक जना सेनाका कप्तान जो सम्भवतः अन्यजाति अथवा रोमी थिए, तिनले येशूकहाँ आएर तिनको बिरामी नोकरलाई निको पारिदिन आग्रह गर्दा येशूलाई उक्‍त कप्तानका कमजोरीहरू छन्‌ भनी थाह थियो। त्यतिबेलाका सेनाका कप्तानको जीवन हिंसा, रक्‍तपातका साथै झूटा उपासनाले भरिएको हुन सक्थ्यो। तैपनि येशूले राम्रो कुरा अथवा त्यस मानिसको उल्लेखनीय विश्‍वासमा ध्यान केन्द्रित गर्नुभयो। (मत्ती ८:५-१३) पछि, येशूले आफूसँगै झुन्ड्याइएको अपराधीसँग कुरा गर्नुहुँदा तिनले पहिले गरेको आपराधिक गतिविधि कोट्याउँदै हप्काउनु भएन तर भविष्यको आशा दिएर प्रोत्साहन दिनुभयो। (लूका २३:४३) अरूको नकारात्मक कुराहरूमा ध्यान केन्द्रित गरेर आलोचना गऱ्‍यो भने तिनीहरू निरुत्साहित मात्र हुनेछन्‌ भन्‍ने कुरा येशूलाई थाह थियो। अरूको सकारात्मक गुण हेर्ने उहाँको प्रयासले थुप्रैलाई अझ राम्रो गर्न प्रोत्साहित गऱ्‍यो।

मानिसहरूको सेवा गर्न इच्छुक

१७, १८. पृथ्वीमा आउने कार्यभार स्वीकार्दा येशूले कसरी अरूलाई सेवा गर्ने इच्छुकता देखाउनुभयो?

१७ मानिसहरूप्रति येशूको प्रेमको अर्को सशक्‍त प्रमाण तिनीहरूको सेवा गर्ने उहाँको इच्छुकता थियो। मानवपूर्व अस्तित्वमा उहाँले सधैं मानिसजातिलाई स्नेह गर्नुभयो। (हितोपदेश ८:३०, ३१) यहोवाको “वचन” वा प्रवक्‍ताको हैसियतमा उहाँले मानिसहरूसँगको व्यवहारबाट आनन्द उठाउनुभएको हुन सक्छ। (यूहन्‍ना १:१) तथापि, मानिसजातिलाई अझ प्रत्यक्ष तवरमा सिकाउन उहाँले स्वर्गको आफ्नो उच्च स्थान त्यागेर “आफूलाई रित्याईकन कमाराको रूप” लिनुभयो। (फिलिप्पी २:७; २ कोरिन्थी ८:९) येशू पृथ्वीमा हुनुहुँदा अरूले उहाँको सेवा गरोस्‌ भनेर कुर्नुभएन। त्यसको विपरीत उहाँले यसो भन्‍नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) येशूले ती शब्दहरूअनुरूप नै आफ्नो जीवन बिताउनुभयो।

१८ येशूले नम्रतापूर्वक आफूले सिकाएका मानिसहरूको आवश्‍यकताहरू पूरा गर्नुभयो र तिनीहरूको खातिर आफूलाई सुम्पनुभयो। सकेसम्म धेरै मानिसहरूलाई प्रचार गर्ने प्रयासमा प्रतिज्ञा गरिएको देशमा उहाँले सयौं किलोमिटर पैदल यात्रा गर्नुभयो। घमण्डी फरिसी र शास्त्रीहरूजस्तो नभई उहाँ नम्र हुनुहुन्थ्यो र अरूले उहाँसँग सजिलै कुरा गर्न सक्थे। उच्च पदस्थ हाकिम, सेना, वकिल, स्त्री, केटाकेटी, गरिब, बिरामी र अछुतहरूले समेत उहाँसँग कुनै डरविना कुरा गर्न सक्थे। येशू सिद्ध हुनुभए तापनि मानव हुनुभएकोले बेला-बेलामा थाक्नुहुन्थ्यो र भोकाउनुहुन्थ्यो। उहाँ थकित हुनुहुँदा वा आरामको आवश्‍यकता पर्दा वा प्रार्थनाको लागि समय चाहिंदा समेत उहाँले अरूको आवश्‍यकतालाई प्राथमिकता दिनुभयो।—मर्कूस १:३५-३९.

१९. आफ्ना चेलाहरूसँग नम्रता, धीरज र दयापूर्वक व्यवहार गर्ने सन्दर्भमा येशूले कसरी उदाहरण बसाल्नुभयो?

१९ येशू आफ्ना चेलाहरूको सेवा गर्न पनि उत्तिकै इच्छुक हुनुहुन्थ्यो। उहाँले दयालु भएर र धीरजसाथ सिकाएर यसो गर्नुभयो। तिनीहरूले केही महत्त्वपूर्ण पाठ तुरुन्तै नबुझ्दा उहाँले हरेस खानुभएन, न त रिसाउनु वा झोकिनु नै भयो। आफ्नो कुरा स्पष्ट पार्न उहाँले अन्य नयाँ तरिकाहरू खोज्नुभयो। उदाहरणका लागि, चेलाहरूले आफूमध्ये को ठूलो भनी कति चोटि झगडा गरे, विचार गर्नुहोस्‌। बारम्बार, उहाँले आफ्नो मृत्युको अघिल्लो रातसम्म पनि तिनीहरूलाई एकअर्कासँग नम्रतापूर्वक व्यवहार गर्न सिकाउन उहाँले नयाँ तरिकाहरू भेट्टाउनुभयो। अन्य कुराहरूमा जस्तै नम्रताको कुरामा पनि येशूले यसो भन्‍नु सक्नुहुन्थ्यो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु।”—यूहन्‍ना १३:५-१५; मत्ती २०:२५; मर्कूस ९:३४-३७.

२०. येशूको कस्तो सिकाउने तरिका फरिसीहरूको भन्दा फरक थियो र त्यो तरिका किन प्रभावकारी थियो?

२० याद गर्नुहोस्‌, येशूले चेलाहरूलाई उदाहरण के हो भनी भन्‍नु मात्र भएन तर ‘उदाहरण दिनुभयो।’ उहाँले उदाहरणद्वारा सिकाउनुभयो। आफूलाई उच्च ठान्दै आफूले भन्‍ने कुरा आफूमा लागू हुँदैन जस्तो गरी बोल्नुभएन। त्यसो त फरिसीहरूले गर्थे। येशूले तिनीहरूबारे यसो भन्‍नुभयो, “तिनीहरूले भन्द ता छन्‌, तर गर्दैनन्‌।” (मत्ती २३:३) येशूले नम्रतापूर्वक आफ्ना विद्यार्थीहरूलाई सिकाएको कुरा व्यवहारमा उतारेर देखाउनुभयो। येशूले आफ्ना अनुयायीहरूलाई भौतिकवादी कुराहरूको पासोमा नपरेर सरल जीवन बिताउन आग्रह गर्नुहुँदा चेलाहरूलाई उहाँले के भन्‍न खोज्नुभएको होला भनेर अलमल भएन। तिनीहरूले उहाँका शब्दको वास्तविकता बुझ्न सके: “फ्याउराहरूका प्वाल र आकाशका चरा-चुरुंगीहरूका गुँड हुन्छन्‌, तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ पनि छैन।” (मत्ती ८:२०) येशूले नम्रतापूर्वक उदाहरण बसाल्नुभएर चेलाहरूको सेवा गर्नुभयो।

२१. अर्को लेखमा के छलफल गरिनेछ?

२१ निस्सन्देह, येशू पृथ्वीमा अहिलेसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक हुनुहुन्छ! उहाँले सिकाउनुभएका कुराप्रतिको प्रेम र उहाँले सिकाउनुभएका मानिसहरूप्रति उहाँको प्रेम उहाँका कुरा सुन्‍ने सबै निष्कपट हृदय भएका मानिसहरूले स्पष्टसित देखे। आज उहाँको उदाहरण अध्ययन गर्ने हामीहरूलाई पनि यो कुरा उत्तिकै स्पष्ट छ। तर हामी कसरी ख्रीष्टको सिद्ध उदाहरणको अनुकरण गर्न सक्छौं? यसपछिको लेखमा यसबारे छलफल गरिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• असल शिक्षाको जग के हो र यसको उदाहरण को हुनुहुन्छ?

• येशूले कुन कुन तरिकामा आफूले सिकाएका सत्य कुराहरूप्रति प्रेम प्रदर्शन गर्नुभयो?

• आफूले सिकाएका मानिसहरूप्रति येशूले कसरी प्रेम देखाउनुभयो?

• आफूले सिकाएका मानिसहरूको नम्रतापूर्वक सेवा गर्ने येशूको इच्छुकता कस्ता उदाहरणहरूबाट स्पष्ट हुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

येशूले परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूलाई प्रेम गर्नुहुन्छ भनी कसरी देखाउनुभयो?