वफादारीप्रति टेढो दृष्टिकोण राख्ने संसार
वफादारीप्रति टेढो दृष्टिकोण राख्ने संसार
शुक्रबारको न्यानो साँझमा एक जना जवान मानिस, इस्राएलको टेल अभिभस्थित एउटा रात्रि क्लब बाहिर उभिरहेका युवाहरूको हूलमा मिसियो। केही समय पछि नै त्यस हूलमा ठूलो विष्फोटन भयो।
अर्को एक जना आत्मघाती बम आक्रमणकारीले आफ्नो ज्यान दियो र अरू १९ जना युवाहरूको पनि ज्यान लियो। “शरीरका अंगहरू जताततै छरपस्ट थिए र तिनीहरू सबै एकदमै जवान थिए। मैले आफ्नो जीवनमा यो जस्तो भयावह दृश्य कहिल्यै देखेको थिइनँ” भनेर एक जना स्वास्थ्यकर्मीले पछि पत्रकारहरूलाई बताए।
“वफादारीजस्ता गुणहरू सबैले मन पराउँछन् . . . यसले युद्ध सुरु गराउने सम्भावना बढी हुन्छ भने अन्त हुन अझै गाह्रो बनाउँछ” भनी द लनसेट-मा थ्रस्टन ब्रूअनले लेखे। हो, मसीहीजगत्को धर्मयुद्धदेखि लिएर जर्मनीमा नाजीको आमविनाशसम्म, मानव इतिहास वफादारीको नाउँमा गरिएका आमहत्याहरूको रगतले पोतिएको छ।
अवफादारीको सिकार हुनेहरूको संख्या अकासिंदो
निस्सन्देह, कट्टर वफादारीता विनाशकारी हुन सक्छ, तर वफादारीको कमीले पनि समाजलाई भताभुंग बनाउन सक्छ। वेब्स्टर्स न्यु इन्साइक्लोपेडिक डिक्सनरी-ले वफादार हुनुको अर्थ ‘कुनै व्यक्ति वा कारणप्रति विश्वासी’ हुनु हो र यसले “त्याग्न वा धोका दिनको लागि सामना गर्नु परेका कुनै पनि प्रलोभनहरूको सामु व्यक्तिगत तवरमा दृढ रहेर साथ दिइरहनुलाई संकेत गर्छ” भनी बताउँछ। अधिकांश व्यक्तिहरूले आफूले यस्तो प्रकारको वफादारीको सम्मान गर्ने कुरा बताए तापनि समाजले भने यसको आधारभूत तह अर्थात् परिवारमा नै वफादारीको ठूलो कमी भोगिरहेको छ। व्यक्तिगत स्वार्थ, दैनिक जीवनको तनाउ तथा चिन्ता र व्याप्त यौन अवफादारीले गर्दा सम्बन्धविच्छेदको दर अकासिएको छ। अनि टेल अभिभको बम विष्फोटनमा मरेकाहरूझैं, प्रायजसो यसका सिकार भने निर्दोष युवाहरू हुन्छन्।
“सम्बन्धविच्छेद, छुट्टिएर अलग्गै बस्ने तथा एक्लो आमाबाबुको कारणले गर्दा उत्पन्न हुने पारिवारिक अस्थिरताका नकारात्मक पक्षहरूमध्ये एउटा बच्चाको पढाइ बिग्रनु हो” भनी एउटा रिपोर्ट बताउँछ। आमा मात्रै भएको परिवारका केटाहरू विशेष गरी शैक्षिक असुविधा, आत्महत्या र किशोरहरूले गर्ने अपराधको खतरामा हुन्छन्। संयुक्त राज्य अमेरिकामा हरेक वर्ष दस लाख बच्चाहरूका आमाबाबुहरू सम्बन्धविच्छेद गर्छन्। त्यस देशमा कुनै एउटा खास वर्षमा विवाहित आमाबाबुबाट जन्मेका बच्चाहरूमध्ये आधाका आमाबाबुले तिनीहरू १८ वर्षको पुगुन्जेलसम्ममा पारपाचुके गरिसकेका हुनेछन्। तथ्यांकले देखाएअनुसार संसारको अन्य भागका युवाहरूको अवस्था पनि त्यत्तिकै दुःखलाग्दो छ।
वफादारी—अति उच्च स्तर?
परम्परागत वफादारी लोप हुँदै गएको आजको संसारमा दाऊदका यी शब्दहरू पहिलेभन्दा झनै उपयुक्त भएका छन्: “हे परमप्रभु, सहायता गर्नुहोस्, किनभने भक्त [वफादार] एउटै पनि बाँकी रहेन। किनकि मानिस लोप भएका छन्।” (भजन १२:१) वफादारीको कमी किन यत्तिको व्याप्त भएको? राजर रोजनब्लाट टाइम पत्रिकामा यस्तो लेख्छन्: “वफादारी एउटा उच्च स्तर भए तापनि हामीभित्र भएको डर, आत्मविश्वासको कमी, मौकावादी प्रवृत्ति र महत्त्वाकांक्षाले गर्दा मानिसहरूलाई वफादार भइरहन गाह्रो हुन्छ।” हामी बाँचिरहेको समयबारे वर्णन गर्दै बाइबलले स्पष्टसँग यसो भन्छ: “मानिसहरू स्वार्थी, . . . अपवित्र, स्वाभाविक प्रेम रहितका . . . हुनेछन्।”—२ तिमोथी ३:१-५.
वफादारीले वा अवफादारीले व्यक्तिको सोचाइ तथा क्रियाकलापमा पार्ने शक्तिशाली प्रभावलाई विचार गर्दा हामी यस्तो प्रश्न सोध्न सक्छौं, ‘वास्तवमा हामी कोप्रति वफादार हुनुपर्छ?’ यसबारे अर्को लेखले के भन्छ ध्यान दिनुहोस्।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Photo above: © AFP/CORBIS