सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल छिमेकीहरू सम्पत्ति हुन्‌

असल छिमेकीहरू सम्पत्ति हुन्‌

असल छिमेकीहरू सम्पत्ति हुन्‌

“नजीकको छिमेकी टाढाको दाज्यू-भाइभन्दा बेस हो।”—हितोपदेश २७:१०, नयाँ संशोधित संस्करण।

प्रथम शताब्दीका एक जना व्यवस्थाका अध्यापकले येशूसित यस्तो प्रश्‍न गरे: “मेरो छिमेकी चाहिं को हो त?” जवाफमा येशूले तिनको छिमेकी को हो भनेर बताउनुभएन तर कुन कुराले साँचो छिमेकी बनाउँछ भनेर बताउनुभयो। येशूको दृष्टान्तसित सायद तपाईंहरू परिचित हुनुहुन्छ होला। थुप्रैले यसलाई असल सामरीको दृष्टान्त भनेर चिन्छन्‌ जुन लूकाको सुसमाचारको पुस्तकमा लिपिबद्ध छ। येशूले त्यो कथा यसरी भन्‍नुभयो:

“कोही एउटा मानिस यरूशलेमबाट यरीहोतिर गइरहँदा डाँकूहरूको फेला पऱ्‍यो, तिनीहरूले त्यसलाई नाङगै पारेर पीटे, र अधमरो पारी छोडेर गए। संयोगले कोही एउटा पूजाहारी त्यही बाटो भएर ओर्लिरहेको थियो, औ त्यसलाई देखेर त्यो अर्कोपट्टिबाट तर्केर गयो। औ त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टिबाट तर्केर गयो। तर कोही एउटा सामरी उसको सफरमा त्यो भएको ठाउँमा आयो, र त्यसलाई देखेर तिनको मन दयाले भरियो, औ त्यसकहाँ गएर तेल र दाख-मद्य लगाएर त्यसका घाउहरू बाँधिदियो, र आफ्नै निज पशुमाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गऱ्‍यो। औ भोलिपल्ट उसले दुइ दिनार झिकेर पौवाका मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढता खर्च परेको म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ तिम्रो विचारमा यी तीन जनामा डाँकूहरूको फेला पर्नेको छिमेकी कुन चाहिं ठहरियो?”—लूका १०:२९-३६.

व्यवस्थाका ती अध्यापकले कथाको मर्म बुझे। उक्‍त घाइते मानिसको लागि छिमेकी को हो भन्‍ने प्रश्‍नको जवाफमा तिनले झट्टै यसो भन्‍न सके: “जसले त्यसमाथि दया देखायो, त्यही चाहिं।” त्यसपछि येशूले तिनलाई यसो भन्‍नुभयो: “जाऊ, तिमी पनि त्यसै गर।” (लूका १०:३७) असल छिमेकी हुनुको अर्थ के हो भन्‍नेबारे कस्तो सशक्‍त उदाहरण! येशूको दृष्टान्तले हामीलाई समेत यस्तो प्रश्‍न सोध्न बाध्य तुल्याउन सक्छ: ‘म कस्तो प्रकारको छिमेकी हुँ? के म आफ्नो जातीय वा राष्ट्रिय पृष्ठभूमिका मानिसहरूलाई मात्र आफ्नो छिमेकी मान्छु? के त्यस्तो झुकाउहरूले गर्दा कुनै मानिस संकटमा परेको देख्दा पनि म पछि हट्‌ने गर्छु? के म असल छिमेकी बन्‍न थप प्रयास गर्छु?’

कहाँबाट सुरु गर्ने ?

हामीलाई यस विषयमा आफूले उन्‍नति गर्नुपर्छ जस्तो लागेमा पहिला आफ्नो मनोवृत्ति जाँच्नुपर्छ। हाम्रो सोचाइ असल छिमेकी हुने कुरातर्फ केन्द्रित हुनुपर्छ। यसले असल छिमेकीहरू बनाउन पनि योगदान पुऱ्‍याउँछ। मानव सम्बन्धको यस महत्त्वपूर्ण सिद्धान्तलाई झन्डै दुई हजार वर्षअघि आफ्नो प्रख्यात डाँडाको उपदेशमा येशूले जोड दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) अरूलाई आदर, सम्मान र दयासाथ व्यवहार गर्दा तिनीहरू पनि तपाईंलाई त्यसरी नै व्यवहार गर्न उत्प्रेरित हुन्छन्‌।

द नेशन सिन्स १८६५ पत्रिकाको पत्रकार तथा लेखिका लिज फुन्डरबर्गद्वारा लिखित “आफ्नो छिमेकीलाई प्रेम गर्ने” लेखमा छिमेकीहरूबीच सौहार्द वातावरणलाई बढवा दिने केही सरल कुराहरूबारे वर्णन गरिन्‌। तिनले यस्तो लेखिन्‌: “म . . . छिमेकीहरूले गर्ने सानातिना दयालु कार्यहरू गरेर तिनीहरूसित व्यक्‍तिगत सम्बन्ध कायम राख्न चाहन्छु। जस्तै: अखबारहरू उठाएर तिनीहरूको हातमा दिनु, बालबच्चाहरूसँग समय बिताइदिनु, छिमेकीलाई चाहिएको केही चीजबीज किनिदिनु आदि। डर र हिंसाले सामाजिक अवस्था नाजुक भएर पृथक हुँदै गइरहेका राष्ट्रहरूमा यस्तो सम्बन्ध होस्‌ भन्‍ने म चाहन्छु।” त्यसपछि तिनले थप यसो भनिन्‌: “तपाईंले कहीं न कहींबाट यसको सुरुआत गर्नुपर्छ। अनि त्यो तपाईंको सबैभन्दा नजिकको छिमेकीबाट सुरु गरे कसो होला।”

क्यानाडियन जियोग्राफिक पत्रिकाले पनि छिमेकीहरूलाई आपसमा स्वस्थ मनोवृत्ति विकास गर्न सहयोग गर्ने केही लाभदायक बुँदाहरू दिएको छ। लेखक मार्नि ज्याक्सन यस्तो टिप्पणी गर्छन्‌: “छिमेकीहरू भनेका परिवारका सदस्यहरू जस्तै हुन्‌ जसलाई तपाईंले छान्‍न सक्नुहुन्‍न। यस्तो सम्बन्धमा सतर्कता अपनाउनुका साथै खास प्रकारका शिष्टाचार र सहिष्णुता पनि देखाउनु आवश्‍यक पर्छ।”

असल छिमेकीहरू —उदार हुन्छन्‌

हो, हामीमध्ये थुप्रैलाई आफ्ना छिमेकीहरूसित कुराकानी थाल्न अप्ठ्यारो लाग्छ होला। तिनीहरूसित सम्पर्क नबढाइकन अलग्गै रहनु नै धेरै सजिलो जस्तो देखिन सक्छ। तथापि, बाइबलले “लिनुभन्दा दिनु अझ असल हो” भनेर बताएको छ। (प्रेरित २०:३५) तसर्थ, असल छिमेकीले आफू वरपरका मानिसहरूसित चिनापर्ची गर्ने प्रयास गर्छ। घनिष्ठ मित्रता बढाउने आवश्‍यकता महसुस नगरे तापनि तिनी समय समयमा मित्रैलो हाँसो वा इसाराद्वारा केही कुराकानी गर्ने अग्रसरता देखाउँछन्‌।

माथि उल्लेख गरिएझैं छिमेकीहरूले गर्ने “सानातिना दयालु कार्यहरू” सौहार्द वातावरण स्थापना गर्न र कायम राख्न नभै नहुने कुरा हो। त्यसैले आफ्ना छिमेकीप्रति दया देखाउन सक्ने स-साना तरिकाहरूबारे विचार गर्नु बेस हुनेछ। किनभने यसले सहयोग तथा पारस्परिक आदरको मनोभावलाई बढाउँछ। यसबाहेक, त्यसो गर्नाले हामीले बाइबलको यो अर्तीलाई पछ्याइरहेका हुनेछौं: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर।”—हितोपदेश ३:२७; याकूब २:१४-१७.

असल छिमेकीहरू —कृतज्ञ हुन्छन्‌

सबैले हाम्रो मदत र उपहारहरू कृतज्ञता साथ स्वीकारेको भए अत्यन्तै राम्रो हुने थियो। दुःखको कुरा सधैं यस्तो हुँदैन। असल मनसायले दिइएका उपहारहरू र थुप्रै मदतप्रति मानिसहरूले कृतघ्न मनोभाव देखाएका छन्‌। जसले गर्दा ती निष्कपट व्यक्‍तिहरूले ‘अबदेखि म कहिल्यै उपहारहरू दिनेछैनँ!’ भनी सोच्न सक्छन्‌। कहिलेकाहीं तपाईंको मित्रैलो अभिवादनको जवाफमा मन नलागी नलागी केवल शिर निहुराएर मात्र अभिवादन गरिन पनि सक्छ।

यद्यपि, प्रायजसो मदत पाउने मानिस यसो हेर्दा कृतघ्न देखिए तापनि तिनी यथार्थमा त्यस्तो नहुन सक्छन्‌। तिनी आफ्नो पृष्ठभूमिले गर्दा हिचकिचाउने वा अप्ठ्यारो महसुस गर्ने हुन सक्छन्‌ र यसले गर्दा तपाईंप्रति चासो नदेखाउने र मित्रैलो व्यवहार नगर्ने हुन सक्छन्‌। अर्कोतिर यस कृतघ्न संसारका केही मानिसहरूलाई तपाईंले देखाउनुभएको मित्रैलोपना असामान्य लाग्न सक्छ वा तिनीहरूले तपाईंको मनोभावमाथि शंकासमेत गर्न सक्छन्‌। तिनीहरूलाई आश्‍वासनको आवश्‍यकता पर्न सक्छ। यसर्थ, मैत्रीपूर्ण सम्बन्ध गाँस्न समय र धैर्यको खाँचो पर्छ। तथापि, उदार हुन र कृतज्ञता व्यक्‍त गर्न सिकेका छिमेकीहरूले शान्ति अनि आनन्दले पूर्ण भएको सौहार्द वातावरण बनाउन ठूलो योगदान पुऱ्‍याउँछन्‌।

दुःख आइपर्दा

असल छिमेकीहरू विशेष गरी विपत्ति आइपर्दा बहुमूल्य सम्पत्ति साबित हुन्छन्‌। दुःखको समयमा असल छिमेकी भनेको कस्तो हुनुपर्छ भन्‍ने कुरा प्रस्ट देखिन्छ। विपत्तिको समयमा छिमेकीहरूले निःस्वार्थ कार्य गरेका थुप्रै अभिलेखहरू पाइन्छन्‌। छरछिमेक सबै विपत्तिको सिकार हुँदा तिनीहरू स्वतः सहयोग गर्न र एकअर्काको लागि मरिमेट्‌न उत्प्रेरित भएको देखिन्छ। भिन्‍नाभिन्‍नै विचारधारा भएकाहरूसमेत अक्सर एकसाथ काम गर्छन्‌।

उदाहरणका लागि, १९९९ मा टर्कीमा विनाशकारी भूकम्प गएको बेला वर्षौंदेखिको वैरभाव भएकाहरूले समेत पारस्परिक भाइचारा देखाए। ग्रीक स्तम्भकार अन्‍ना स्टर्जियोउले एथेन्सको अखबारमा यस्तो लेखिन्‌, “हामीलाई वर्षौंदेखि टुर्कहरूलाई घृणा गर्न सिकाइएको थियो। तर तिनीहरूले भोगिरहेको अवर्णीनीय पीडा देखेर हामी खुसी हुन सकेनौं। मृत बच्चाहरूको दृश्‍य देख्दा हामी मर्माहत भयौं र हाम्रो वर्षौंको घृणा लोप भएझैं गरी रुन थाल्यौं।” आधिकारिक तवरमा उद्धारकार्य बन्द गरिए तापनि ग्रीक उद्धार टोलीहरूले बचेकाहरूको खोजी कार्य रोक्न मानेनन्‌।

त्यस्तो विपत्ति-पछि उद्धार कार्यमा भाग लिनु पक्कै पनि छिमेकीले गर्नुपर्ने उदाहरणीय अनि वीरतापूर्ण कार्य थियो। त्यस्तै गरी छिमेकीहरूको जीवन बचाउन दुःख आउनुअघि नै चेताउनी दिनुलाई पनि झनै बहुमूल्य र उपकारी कार्य मान्‍न सकिन्छ। तर दुःखको कुरा, इतिहासले देखाएअनुसार आउनै लागेको विपत्तिबारे छिमेकीहरूलाई चेताउनी दिने व्यक्‍तिहरूलाई मानिसहरूले मन पराएनन्‌। किनकि चेताउनी दिइएको बेला त्यस्तो आउनै लागेको विपत्तिबारे विचारै गर्न सकिंदैनथ्यो। चेताउनी दिनेहरूलाई प्रायजसो तिरस्कार गरिन्थ्यो। त्यसैले आफ्ना खतरनाक परिस्थितिहरूबारे सजग नभएका मानिसहरूलाई मदत गर्न खोज्नेहरूले अत्यन्तै धैर्य र आत्मत्याग देखाउनुपर्ने हुन्छ।

छिमेकीको सबैभन्दा ठूलो दायित्व

आज, कुनै प्राकृतिक प्रकोप भन्दा पनि अत्यन्तै महत्त्वपूर्ण घटना मानिसहरूमाथि घट्‌न लागिरहेको छ। त्यो घटना भनेको सर्वशक्‍तिमान्‌ परमेश्‍वरले अप राध, दुष्टता तथा त्यसले ल्याएका समस्याहरूलाई पृथ्वीबाट हटाउनुहुनेछ भन्‍ने भविष्यवाणीको पूर्ति हो। (प्रकाश १६:१६; २१:३, ४) यो महत्त्वपूर्ण क्षण सम्भावना मात्र नभई साँच्चै हुने घटना हो! यहोवाका साक्षीहरू यस विश्‍वलाई नै हल्लाउने आउनै लागेको घटनाबाट बच्न आवश्‍यक पर्ने ज्ञान धेरैभन्दा धेरै मानिसहरूसित बाँड्‌न उत्सुक छन्‌। त्यसैकारण त सबैले थाह पाएको विश्‍वव्यापी प्रचार गतिविधिमा तिनीहरू जोडतोडका साथ लागिरहेका छन्‌। (मत्ती २४:१४) तिनीहरू यो काम परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भएर स्वेच्छासाथ गर्छन्‌।

तसर्थ, तपाईंको ढोकामा आउने वा कुनै पनि ठाउँमा तपाईंसित भेट्‌न चाहने साक्षीहरूप्रति पूर्वाग्रह राखेर अथवा झिजो मानेर तिनीहरूको कुरा सुन्‍नदेखि पछि नहट्‌नुहोस्‌। तिनीहरू असल छिमेकीहरू हुने कोसिस गरिरहेका छन्‌। त्यसैले तपाईंसँग बाइबल अध्ययन गर्ने तिनीहरूको प्रस्ताव स्वीकार्नुहोस्‌। परमेश्‍वरको वचनले छिमेकीहरूमाझ हुने सौहार्द वातावरणका साथै आनन्दले भरिएको भविष्य आउनै लागेको छ भनेर कसरी आश्‍वासन दिएको छ भन्‍ने कुरा सिक्नुहोस्‌। त्यसबेला, कुनै जातीय, धार्मिक, वा वर्गीय भेदभावले हामीमध्ये धेरैले चाहेको न्यानो सम्बन्धलाई बिगार्ने छैन।

[पृष्ठ ६, ७-मा भएका चित्रहरू]

आफ्नो छिमेकीलाई देखाउन सक्ने केही दयालु कार्यहरूबारे विचार गर्नु बेस हुन्छ

[स्रोत]

Globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.