कहाँ गए त्यस्ता छिमेकीहरू?
कहाँ गए त्यस्ता छिमेकीहरू?
“आधुनिक समाजमा छिमेकीहरूलाई वास्ता गरिंदैन।”—बेन्जामिन डिजरेली, १९ औं शताब्दीका अंग्रेज राजनीतिज्ञ।
उमेर ढल्कँदै गएका क्युबालीहरूको छरछिमेकमा आपसी हित बढाउने एउटा विशेष तरिका छ: ती छिमेकीहरूको समूह वा तिनीहरूको आफ्नै भाषामा भन्नुपर्दा सर्कुलस डे अब्युलसहरू (बाजेहरूको समूह) हो। सन् १९९७ को एउटा रिपोर्टअनुसार ५ जनामध्ये १ जना क्युबाली त्यस्ता समूहका सदस्य छन् र त्यहाँ तिनीहरू साथीहरू भेट्टाउँछन्, सहयोग अनि स्वस्थ जीवन शैली कायम राख्न व्यावहारिक मदत पाउँछन्। “कुनै स्वास्थ्य केन्द्रका चिकित्सकहरूलाई खोप लगाउने अभियानमा सहयोग चाहिएको बेला ती सर्कुलस डे अब्युलसहरूको समूहमै इच्छुक र सक्षम व्यक्तिहरू भेट्टाउँछन्।”
तथापि, दुःखको कुरा विश्वका धेरैजसो भागका छरछिमेकमा अहिले त्यसरी अरूको ख्याल राख्ने समुदायहरू पाइँदैनन्। उदाहरणका लागि, पश्चिमी युरोपको एउटा देशमा बस्ने वल्फग्याङ डिर्कसको दुःखदायी घटनालाई ध्यान दिनुहोस्। वल्फग्याङको कोठा भएको भवनमा बसोबास गर्ने अन्य १७ परिवारका मानिसहरूले तिनी नदेखिएको याद गरे तापनि “कसैले पनि तिनको ढोकामा घण्टी बजाउने कष्ट गरेनन्” भनेर केही वर्षअघि द क्यानबेरा टाइम्स-ले बतायो। पछि घर मालिक त्यस कोठामा जाँदा पो “टेलिभिजन सेटअघि एउटा कंकाल बसिरहेको भेट्टाए।” त्यस कंकालको काखमा डिसेम्बर ५, १९९३ को टेलिभिजन कार्यक्रमहरूको सूची थियो। वल्फग्याङको मृत्यु भएको पाँच वर्ष भइसकेको थियो। छिमेकीहरूबीच हुनुपर्ने पारस्परिक चासो तथा चिन्ता हराएको छ भन्ने कुराको कस्तो दुःखलाग्दो प्रमाण! द न्यु योर्क टाइम्स म्यागाजिन-मा एक जना निबन्धकारले आफ्नो इलाकाका मानिसहरू पनि अरूजस्तै “अपरिचितहरूको समुदाय” भएको कुरा उल्लेख गर्नु कुनै नौलो कुरा होइन। के तपाईंका छिमेकीहरू पनि त्यस्तै छन्?
हो, केही ग्रामीण समुदायका मानिसहरूबीच अहिले पनि सौहार्द वातावरण छ र केही सहरिया समुदायहरू पनि त्यस्तै वातावरण विकास गर्ने काममा जुटिरहेका छन्। तैपनि, थुप्रै शहरका बासिन्दाहरू आफ्नै छरछिमेकमा पनि एक्लो र निस्सहाय महसुस गर्छन्। तिनीहरू आफ्ना छिमेकीहरूबाट बिरानो भएर आफ्नै दुनियाँमा रमाइरहेका हुन्छन्। कसरी?
आफ्नै दुनियाँमा मग्न
हो, हामीमध्ये धेरैजसोका छिमेकीहरू छन्। टेलिभिजन सेटको पिलपिलाउँदो प्रकाश, झ्यालमा चलमलाउँदो छायाँ, कहिले बालिने त कहिले निभाइने बत्ती, ओहोरदोहोर गरिरहेका गाडीहरूको आवाज, कोठाबाहिर मानिसहरू हिंडेको आवाज, ढोका खोल्दा र बन्द गर्दा आउने आवाज सबैले छिमेकी अझ पनि “जीवितै” छ भन्ने कुराको संकेत गर्छ। तथापि, मानिसहरू एकअर्काको नजिकै भएर पनि आफ्नो घरको चारभित्ताभित्रै बिरानो भएर बस्छन् वा व्यस्त जीवन शैलीले गर्दा एकअर्कालाई हेर्ने फुर्सतै नहुँदा छिमेकी हुनुको वास्तविक अर्थ नै हराउँछ। मानिसहरूले आफ्ना छिमेकीहरूसित घुलमिल हुनु आवश्यक छैन वा तिनीहरूप्रति कुनै पनि तरिकामा आफ्नो दायित्व नभएको कुरा महसुस गर्न सक्छन्। अस्ट्रेलियाली समाचार पत्र हेराल्ड सन यसरी सहमति जनाउँछ: “मानिसहरू आफ्नै नजिकको वातावरणसित बिरानो भएर बस्छन् र यसले गर्दा तिनीहरूलाई रत्तिभर पनि सामाजिक दायित्वको बोध हुँदैन। अहिले समाजमा केही प्रभाव नभएका व्यक्तिहरूलाई बेवास्ता वा वर्जित गर्नु सजिलो भएको छ।”
यस्तो परिवर्तन हुनु कुनै अचम्मको कुरा होइन। “मानिसहरू स्वार्थी” भइरहेको यस संसारमा छिमेकीहरूले आत्म-केन्द्रित जीवन शैलीका परिणामहरू भोगिरहेका छन्। (२ तिमोथी ३:२) परिणामस्वरूप मानिसहरू एक्लो हुनुका साथै बिरानो बन्दै जान्छन्। यसरी बिरानो हुँदा विशेष गरी हिंसा र अपराधले छिमेकीलाई खतरामा पार्दा अविश्वासको वातावरण सिर्जना हुन्छ। परिणामस्वरूप अविश्वासले मानवीय दयालाई नै अचेतनशील बनाइदिन्छ।
तपाईंको छरछिमेकको अवस्था जे जस्तो भए तापनि असल छिमेकीहरू समाजका सम्पत्ति हुन् भन्ने कुरा तपाईं पनि स्वीकार्नुहुन्छ होला। मानिसहरूले समान लक्ष्य प्राप्तिको लागि काँधमा काँध मिलाई काम गर्दा धेरै कुरा पूरा गर्न सक्छन्। असल छिमेकीहरू आशिष् पनि साबित हुन सक्छन्। कसरी त्यसो हुन सक्छ भन्ने कुरा अर्को लेखले प्रष्ट्याउनेछ।