सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌

महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌

महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌

“यसकारण गएर . . . जातिहरूलाई चेला बनाओ . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.

१, २. (क) हामी कसरी कुनै न कुनै तरिकामा शिक्षकहरू हौं? (ख) सिकाउने सन्दर्भमा साँचो मसीहीहरूको कस्तो अनुपम जिम्मेवारी छ?

 के तपाईं शिक्षक हुनुहुन्छ? कुनै न कुनै तरिकामा हामी सबै शिक्षक हौं। बाटो बिराएको यात्रुलाई बाटो देखाइदिंदा, सहकर्मीलाई कुनै काम गर्न सिकाइदिंदा वा बच्चालाई जुत्ताको फित्ता बाँध्न सिकाइदिंदा तपाईंले शिक्षकको काम गरिरहनुभएको हुन्छ। ती तरिकाहरूमा अरूलाई मदत गर्दा केही हदसम्म सन्तुष्ट महसुस हुन्छ, हैन र?

तर सिकाउने सन्दर्भमा साँचो मसीहीहरूको एउटा अनुपम जिम्मेवारी छ। हामीलाई “सबै देशका जातिहरूलाई चेला बनाओ . . . सिकाओ” भन्‍ने आज्ञा दिइएको छ। (मत्ती २८:१९, २०) मण्डलीमा पनि हामीले सिकाउने अवसर पाउँछौं। मण्डलीलाई बलियो बनाउने हेतुले योग्य पुरुषहरू “गोठालो र शिक्षक[को]” रूपमा सेवा गर्न नियुक्‍त गरिएका छन्‌। (एफिसी ४:११-१३) दैनिक मसीही गतिविधिमा परिपक्व स्त्रीहरू जवान स्त्रीहरूको निम्ति “बढिया कुराहरूको शिक्षा दिने” हुनुपर्छ। (तीतस २:३-५) हामी सबैलाई सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिन आग्रह गरिएको छ र हामीले एकअर्कालाई प्रोत्साहन दिन बाइबल प्रयोग गरेर यो सल्लाह पालन गर्न सक्छौं। (१ थिस्सलोनिकी ५:११) परमेश्‍वरको वचनको शिक्षक हुनुका साथै अनन्त हितका आध्यात्मिक कुराहरू बाँड्‌न पाउनु कस्तो सुअवसरको कुरा हो!

३. शिक्षकहरूको हैसियतमा हामी आफ्नो प्रभावकारिता कसरी बढाउन सक्छौं?

उसोभए शिक्षकको हैसियतमा हामी आफ्नो प्रभावकारितालाई कसरी बढाउन सक्छौं? त्यसो गर्ने मुख्य तरिका महान्‌ शिक्षक येशूको अनुकरण गरेर हो। कसै-कसैले विचार गर्लान्‌, ‘तर हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? उहाँ त सिद्ध हुनुहुन्थ्यो।’ हो, हामी सिद्ध शिक्षकहरू हुन सक्दैनौं। तैपनि, हाम्रो योग्यता जस्तोसुकै भए तापनि येशूको शिक्षण शैलीको अनुकरण गर्न यथासक्दो गर्न सक्छौं। उहाँका चारवटा तरिकाहरू जस्तै, सरलता, प्रभावकारी प्रश्‍नहरू, युक्‍तिसंगत तर्क र सुहाउँदा दृष्टान्तहरूलाई हामी कसरी प्रयोग गर्न सक्छौं, आउनुहोस्‌ हामी चर्चा गरौं।

सरल ढंगमा सिकाउनुहोस्‌

४, ५. (क) सरलता किन बाइबल सत्यको मुख्य विशेषता हो? (ख) सरल ढंगमा सिकाउन आफ्ना शब्दहरूमा ध्यान दिनु किन महत्त्वपूर्ण छ?

परमेश्‍वरको वचनका आधारभूत सत्यहरू जटिल छैनन्‌। येशूले प्रार्थनामा यसो भन्‍नुभयो: “हे पिता . . . म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाउनुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो।” (मत्ती ११:२५) यहोवाले निष्कपट र नम्र हृदय भएकाहरूलाई आफ्नो उद्देश्‍य प्रकट गर्नुभएको छ। (१ कोरिन्थी १:२६-२८) अतः बाइबल सत्यको मुख्य विशेषता भनेकै सरलता हो।

तपाईंले गृह बाइबल अध्ययन सञ्चालन गर्नुहुँदा वा जिज्ञासु व्यक्‍तिहरूकहाँ पुनःभेट गर्नुहुँदा सरल ढंगमा कसरी सिकाउन सक्नुहुन्छ? हामीले महान्‌ शिक्षकबाट के सिक्यौं? आफ्ना “अपठित र अजान” श्रोताहरूले राम्ररी बुझुन्‌ भन्‍ने हेतुले येशूले सरल शब्दहरू चलाउनुभयो। (प्रेरित ४:१३) अतः सरल ढंगमा सिकाउन चाहिने सबैभन्दा पहिलो आवश्‍यकता भनेको आफूले प्रयोग गर्ने शब्दहरूमा ध्यान दिनु हो। परमेश्‍वरको वचनका सत्य कुराहरूमा अरूको विश्‍वास बढाउन ठूलठूला शब्द वा वाक्यांशहरू चलाउनु खाँचो छैन। त्यस्तो “ठूला-ठूला कुराहरू” विशेष गरी सीमित शिक्षा वा योग्यता भएकाहरूको निम्ति अत्यासलाग्दो हुन सक्छ। (१ कोरिन्थी २:१, २, नयाँ संशोधित संस्करण) येशूको उदाहरणले प्रकाश पारेझैं होसियारपूर्वक छानेका सरल शब्दहरूले सत्यलाई झनै सशक्‍त रूपमा प्रस्तुत गर्न सक्छ।

६. बाइबल विद्यार्थीलाई तीनथुप्रो जानकारी दिएर अत्यास लाग्दो नबनाउन के गर्न सक्छौं?

सरल ढंगमा सिकाउने हो भने बाइबल विद्यार्थीलाई तीनथुप्रो जानकारीहरू दिएर अत्यास नलगाउन पनि होसियार हुनुपर्छ। येशू आफ्ना चेलाहरूको सीमितताबारे सजग हुनुहुन्थ्यो। (यूहन्‍ना १६:१२) हामीले पनि आफ्नो विद्यार्थीको सीमिततालाई ध्यानमा राख्नुपर्छ। उदाहरणका लागि, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकबाट अध्ययन सञ्चालन गर्दा त्यसमा भएको हरेक जानकरी विस्तृत तवरमा बताउनु जरुरी छैन। a न त तोकिएको विषयवस्तु ढाक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा ठानेर एकदमै चाँडो-चाँडो सिद्धयाउनु बुद्धिमानी हो। त्यसको सट्टा विद्यार्थीको आवश्‍यकता र योग्यताअनुसार कुन गतिमा अध्ययन गर्ने भनी निर्धारण गर्नु बुद्धिमानी हुन्छ। हाम्रो लक्ष्य विद्यार्थीलाई ख्रीष्टको चेला हुन र यहोवाको उपासक हुन मदत गर्नु हो। आफूले सिकिरहेको कुरा स्पष्टसँग बुझ्न जिज्ञासु विद्यार्थीले जति समय लिए तापनि दिनु आवश्‍यक छ। यसरी सत्यले तिनीहरूको हृदय छोएर ठोस कदम चाल्न उत्प्रेरित गर्न सक्छ।—रोमी १२:२.

७. मण्डलीमा भाषण दिंदा सरल ढंगमा सिकाउन कस्ता सुझाउहरू उपयोगी हुन सक्छन्‌?

मण्डलीमा भाषण दिंदा र अझ विशेष गरी श्रोताहरूमाझ नयाँ व्यक्‍तिहरू पनि छन्‌ भने “सजिलैसँग बुझ्नसकिने” भाषामा हामी कसरी बोल्न सक्छौं? (१ कोरिन्थी १४:९) उपयोगी हुन सक्ने तीनवटा सुझाउहरू विचार गर्नुहोस्‌। पहिला, तपाईंले प्रयोग गर्नुपर्ने नौलो लाग्न सक्ने पदावलीहरू स्पष्टसित बुझाउनुहोस्‌। परमेश्‍वरको वचनको समझका कारण हामीले विशेष प्रकारका शब्दहरू सिकेका छौं। हामीले “विश्‍वासी र बुद्धिमान दास,” “अरू भेडा” र “महान्‌ बेबिलोन” जस्ता अभिव्यक्‍तिहरू चलायौं भने यसलाई अझ स्पष्ट पार्न तपाईंले सरल वाक्यांशहरू चलाएर बुझाउनुपर्ने हुन सक्छ। दोस्रो, धेरै शब्दहरू चलाउनदेखि होसियार हुनुहोस्‌। तीनथुप्रो शब्दहरू प्रयोग गर्दा अनि एकदमै बढाइचढाइ गरेर बोल्दा श्रोतागणको चासो हराउन सक्छ। अनावश्‍यक शब्द तथा वाक्यांशहरू हटाउँदा कुरा स्पष्ट हुन्छ। तेस्रो, धेरै विषयवस्तु ढाक्ने कोसिस नगर्नुहोस्‌। हामीले अनुसन्धान गर्दा थुप्रै चाखलाग्दो विवरणहरू भेट्टाउन सक्छौं। आफूलाई तोकिएको समयमा स्पष्टसँग बुझाउन सक्ने गरी दिइएको विषयवस्तुबाट केही मुख्य बुँदाहरू समेटेर ती बुँदाहरूलाई समर्थन गर्ने जानकारीहरू मात्र प्रयोग गर्नु बेस हुन्छ।

प्रभावकारी ढंगमा प्रश्‍नहरू प्रयोग गर्ने

८, ९. हामी घरधनीको चासोको विषयसँग सम्बन्धित प्रश्‍नहरू कसरी छान्‍न सक्छौं? उदाहरणहरू दिनुहोस्‌।

येशू आफ्ना चेलाहरूको मनका कुराहरू व्यक्‍त गराउन, तिनीहरूलाई उत्प्रेरित गर्न र तिनीहरूको सोचाइलाई प्रशिक्षण दिन प्रश्‍नहरू चलाउनमा पोख्त हुनुहुन्थ्यो भनी नबिर्सनुहोस्‌। प्रश्‍नहरूद्वारा उहाँले तिनीहरूको हृदयसम्म पुगेर उत्प्रेरित गर्नुहुन्थ्यो। (मत्ती १६:१३, १५; यूहन्‍ना ११:२६) येशूले जस्तै हामी पनि कसरी प्रश्‍नहरू प्रभावकारी ढंगमा प्रयोग गर्न सक्छौं?

घरघरको प्रचारकार्यमा भाग लिंदा परमेश्‍वरको राज्यबारे कुरा गर्ने बाटो तयार पार्न हामी चासो जगाउने खालका प्रश्‍नहरू सोध्न सक्छौं। हामी कसरी घरधनीको चासोको विषयसँग सम्बन्धित प्रश्‍न सोध्न सक्छौं? अवलोकी हुनुहोस्‌। घरनजिक पुग्दा वरपर हेर्नुहोस्‌। घरमा बच्चाहरू भएको छनक दिने खेलौनाहरू आँगनमा छन्‌ कि? छन्‌ भने हामी यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘तपाईंका बच्चाहरू हुर्कंदा संसारको अवस्था कस्तो होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ?’ (भजन ३७:१०, ११) घरमा थुप्रै ताल्चाहरू वा सुरक्षा व्यवस्था छ कि? हामी यस्तो प्रश्‍न गर्न सक्छौं: ‘के तपाईंलाई हामी आफ्नो घर र सडकमा सुरक्षित भएर हिंड्‌न सक्ने समय कहिल्यै आउला जस्तो लाग्छ?’ (मीका ४:३, ४) घरमा बिरामी मान्छे छ भन्‍ने केही संकेतहरू छन्‌ कि? हामी यस्तो प्रश्‍न गर्न सक्छौं, ‘अहिले बाँचिरहेकाहरू सबैले स्वस्थ जीवन बिताउन पाउने समय आउला जस्तो तपाईंलाई लाग्छ?’ (यशैया ३३:२४) यस्ता थुप्रै सुझाउहरू कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकामा पाउन सकिन्छ। b

१०. हामी कसरी बाइबल विद्यार्थीको विचार र भावनाहरू ‘तानेर निकाल्न सक्ने’ प्रश्‍नहरू सोध्न सक्छौं तर हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१० बाइबल अध्ययन सञ्चालन गर्दा हामीले प्रश्‍नहरूलाई कसरी प्रभावकारी ढंगमा प्रयोग गर्न सक्छौं? येशूले जस्तै हामी मानिसहरूको हृदय पढ्‌न सक्दैनौं। तथापि, युक्‍तिसंगत तर विवेकपूर्ण प्रश्‍न सोधेर विद्यार्थीको विचार र भावनाहरू ‘तानेर निकाल्न सकिन्छ।’ (हितोपदेश २०:५) उदाहरणका लागि, हामी ज्ञान पुस्तकमा “ईश्‍वर भक्‍तिसाथ बिताइएको जीवन किन आनन्ददायी हुन्छ” भन्‍ने अध्याय अध्ययन गर्दैछौं। यसमा बेइमानी, व्यभिचार र अन्य विषयहरूमा परमेश्‍वरको दृष्टिकोण छलफल गरिएको छ। विद्यार्थीले छापिएको प्रश्‍नको सही उत्तर दिन सक्छन्‌ तर के तिनी आफूले पढिरहेको कुरासँग सहमत छन्‌? हामी यस्तो प्रश्‍न गर्न सक्छौं, ‘ती विषयहरूमा यहोवाको दृष्टिकोण के तपाईंलाई व्यावहारिक लाग्छ?’ ‘यी बाइबल सिद्धान्तहरूलाई तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?’ यद्यपि विद्यार्थीको मर्यादालाई ध्यानमा राख्दै आदर देखाउनुपर्ने आवश्‍यकतालाई पनि नबिर्सनुहोस्‌। हामी बाइबल विद्यार्थीलाई अप्ठ्यारोमा पार्ने वा अपमानित महसुस गराउने जस्तो प्रश्‍नहरू सोध्न चाहँदैनौं।—हितोपदेश १२:१८.

११. जनवक्‍ताले कसरी प्रश्‍नहरू प्रभावकारी ढंगमा चलाउन सक्छन्‌?

११ जनवक्‍ताले पनि प्रभावकारी ढंगमा प्रश्‍नहरू चलाउन सक्छन्‌। श्रोताबाट उत्तरका निम्ति होइन तर तिनीहरूलाई सोच्न र तर्क गर्न मदत गर्ने प्रकारका प्रश्‍नहरू गर्न सक्छौं। येशूले अक्सर त्यस्ता प्रश्‍नहरू गर्नुभयो। (मत्ती ११:७-९) यसबाहेक, परिचयमा केही टिप्पणीहरू गरेपछि वक्‍ताले छलफल गरिने मुख्य बुँदाहरू औंल्याउन प्रश्‍नहरू गर्न सक्छन्‌। तिनले यसो भन्‍न सक्छन्‌: “हामी आजको छलफलमा निम्न प्रश्‍नहरूमाथि विचार गर्नेछौं . . .।” त्यसपछि अन्तमा तिनले मुख्य बुँदाहरूलाई पुनरावृत्ति गर्न सोही प्रश्‍नहरूतर्फ पुनः संकेत गर्न सक्छन्‌।

१२. मसीही प्राचीनले कसरी प्रश्‍नहरू चलाएर सँगी विश्‍वासीलाई परमेश्‍वरको वचनबाट सान्त्वना प्राप्त गर्न मदत दिन सक्छन्‌ भनी देखाउन उदाहरण दिनुहोस्‌।

१२ गोठालोरूपी भेटहरूमा मसीही प्राचीनहरूले ‘हरेस खाएकाहरूलाई’ परमेश्‍वरको वचनबाट सान्त्वना दिन प्रश्‍नहरू चलाउन सक्छन्‌। (१ थिस्सलोनिकी ५:१४) उदाहरणका लागि, एकदमै विरक्‍त महसुस भएकाहरूको ध्यान प्राचीनले भजन ३४:१८ तिर (नयाँ संशोधित संस्करण) खिच्न सक्छन्‌। त्यहाँ यसो भनिएको छ: “चूर्ण हृदय भएकाहरू सबैका नजीक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” ती निरुत्साहित व्यक्‍तिलाई यस कुराले कसरी असर पार्नुपर्छ भनेर बुझाउन प्राचीनले यस्तो प्रश्‍न गर्न सक्छन्‌, ‘यहोवा कसको नजिक हुनुहुन्छ? के तपाईं कहिलेकाहीं ‘चूर्ण हृदय’ भएको वा ‘निराश भएको’ महसुस गर्नुहुन्छ? गर्नुहुन्छ भने बाइबलमा भनिएझैं त्यस्ताहरूको नजिक यहोवा हुनुहुन्छ। यसको अर्थ उहाँ तपाईंको पनि नजिक हुनुहुन्छ नि, होइन र?’ त्यस्तो कोमल आश्‍वासनले टुटेको हृदय भएकाहरूलाई फेरि जुरमुऱ्‍याउन मदत गर्नेछ।—यशैया ५७:१५.

युक्‍तिसंगत तर्क

१३, १४. (क) आफूले देख्न नसक्ने परमेश्‍वरलाई विश्‍वास गर्न सक्दिनँ भन्‍ने मानिससँग हामी कसरी तर्क गर्न सक्छौं? (ख) किन सबै जना विश्‍वस्त हुनेछन्‌ भन्‍ने आशा गर्नु हुँदैन?

१३ हामी सेवकाईमा युक्‍तिसंगत र जोडदार तर्क चलाएर मानिसहरूको हृदयसम्म पुग्न चाहन्छौं। (प्रेरित १९:८; २८:२३, २४) के यसको अर्थ मानिसहरूलाई परमेश्‍वरको वचनको सत्यबारे विश्‍वस्त गराउन हामीले एकदमै जटिल तर्कहरू चलाउन सिक्नुपर्छ भनेको हो? पटक्कै होइन। युक्‍तिसंगत तर्क जटिल हुनु आवश्‍यक छैन। सरल ढंगमा प्रस्तुत गरिएका युक्‍तिसंगत तर्कहरू अक्सर एकदमै प्रभावकारी हुन्छन्‌। एउटा उदाहरण विचार गर्नुहोस्‌।

१४ कुनै मानिसले आफ्नो आँखाले देख्न नसक्ने परमेश्‍वरलाई विश्‍वास गर्न सक्दिन भन्यो भने नि? हामी कारण र परिणामको प्राकृतिक नियममाथि तर्क गर्न सक्छौं। हामीले परिणाम देख्दा कारण हुनुपर्छ भनी स्वीकार्छौं। हामी यसो भन्‍न सक्छौं, ‘तपाईं कुनै एउटा अनकन्टार ठाउँमा जाँदा असाध्यै राम्रो घर भेट्टाउनुभयो र त्यहाँ अनाज (परिणाम) पनि टन्‍न राखिएको छ भने तपाईंले सजिलै कसैले (कारण) घर बनाएर खानाहरू राखेको हुनुपर्छ भनेर स्वीकार्नुहुन्थ्यो। त्यस्तै गरी, प्रकृतिका डिजाइनहरू देख्दा र पृथ्वीमा प्रशस्त अनाजहरू (परिणाम) देख्दा के यी सबैको पछाडि कोही (कारण) हुनुहुन्छ भनी विश्‍वास गर्नु जायज होइन र?’ बाइबलले यस तथ्य कुरालाई स्पष्टसँग बताएको छ: “हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) तथापि, हाम्रो तर्क जति नै युक्‍तिसंगत भए तापनि सबै जना विश्‍वस्त हुने छैनन्‌। बाइबलले “नियुक्‍त भएकाहरू” मात्र विश्‍वासी हुनेछन्‌ भनी हामीलाई सम्झाउँछ।—प्रेरित १३:४८; २ थिस्सलोनिकी ३:२.

१५. यहोवाको गुण तथा तौरतरिकाहरू प्रकाश पार्न हामी कस्तो तर्क चलाउन सक्छौं र कुन दुइटा उदाहरणले हामीले त्यस्तो तर्क चलाउन सक्छौं भनी देखाउँछ?

१५ चाहे क्षेत्र सेवकाईमा होस्‌ वा मण्डलीमा, हामी आफ्नो शिक्षामा यहोवाका गुण तथा तौरतरिकाहरू प्रकाश पार्न युक्‍तिसंगत तर्क चलाउन सक्छौं। विशेष गरी, येशूले समय समयमा चलाउनुभएको ‘कति बढ्‌ता गरेर’ भन्‍ने तर्क प्रभावकारी हुन्छ। (लूका ११:१३; १२:२४) तुलना गरेर देखाउँदा यस्तो प्रकारको तर्कले अमेट छाप पार्न सक्छ। नरकको आगोको सिद्धान्त कत्तिको निरर्थक छ भनी देखाउन हामी यसो भन्‍न सक्छौं: ‘कुनै पनि मायालु बुबाले बच्चाको हातलाई आगोमा हालेर कहिल्यै सजाय दिंदैन। त्यसकारण हाम्रो स्वर्गमा हुनुहुने मायालु पितालाई नरकको आगोको शिक्षा झन्‌ कति बढ्‌ता गरेर घीन लाग्छ होला!’ (यर्मिया ७:३१) यहोवाले आफ्ना सेवकहरूमा व्यक्‍तिगत चासो लिनुहुन्छ भनी सिकाउन हामी यसो भन्‍न सक्छौं: ‘यहोवाले अरबौं ताराहरूको त नाउँ लिएर बोलाउनुहुन्छ भने आफ्नो पुत्रको अनमोल रगतद्वारा किनिएको आफूलाई प्रेम गर्ने मानिसहरूको झन्‌ कत्ति बढ्‌ता गरेर ख्याल राख्नुहुन्छ होला!’ (यशैया ४०:२६; प्रेरित २०:२८) त्यस्ता सशक्‍त तर्कहरूले हामीलाई अरूको हृदयसम्म पुग्न मदत गर्न सक्छ।

सुहाउँदा दृष्टान्तहरू

१६. सिकाउँदा दृष्टान्तहरू चलाउनु किन महत्त्वपूर्ण छ?

१६ प्रभावकारी दृष्टान्तहरूले हाम्रो शिक्षालाई एकदमै रुचिकर बनाउँछ। सिकाउँदा दृष्टान्तहरू किन महत्त्वपूर्ण छन्‌? एक जना शिक्षकले यस्तो टिप्पणी गरे: “मानिसहरूले भनिएको कुनै कुराको मनमा चित्र कोर्न सकेन भने त्यो कुरा बुझ्न निकै गाह्रो हुन्छ।” दृष्टान्तहरूले मानिसको मनमा अर्थपूर्ण छाप पार्नुका साथै नयाँ विचारहरू पूर्णतया बुझ्न मदत गर्छ। दृष्टान्तहरू प्रयोग गर्ने सन्दर्भमा येशू उल्लेखनीय हुनुहुन्थ्यो। (मर्कूस ४:३३, ३४) हामी यस शिक्षण शैलीलाई कसरी प्रयोग गर्न सक्छौं, त्यसबारे विचार गरौं।

१७. कुन चारवटा कुराहरूले दृष्टान्तहरूलाई प्रभावकारी बनाउँछ?

१७ दृष्टान्तहरू कसरी प्रभावकारी बनाउन सकिन्छ? सर्वप्रथम, दृष्टान्तहरू श्रोताहरूलाई सुहाउने खालको हुनुपर्छ, श्रोताहरूले सजिलै बुझ्न सक्ने परिस्थितिहरू हुनुपर्छ। येशूका थुप्रै दृष्टान्तहरू आफ्ना श्रोताहरूको दिनचर्यासँग सम्बन्धित हुन्थ्यो भन्‍ने कुरा हामीलाई सम्झना छ। दोस्रो, दृष्टान्त प्रस्ट पार्न खोजिएको बुँदासँग मिल्दो हुनुपर्छ। दृष्टान्त उपयुक्‍त भएन भने यसले श्रोताको ध्यान मात्र विकर्षण गर्छ। तेस्रो, दृष्टान्तमा अनावश्‍यक विवरणहरू समावेश गर्नु हुँदैन। नबिर्सनुहोस्‌, येशूले आवश्‍यक विवरणहरू मात्र समावेश गर्नुभयो। चौथो, हामीले दृष्टान्त प्रयोग गर्दा यो कसरी लागू हुन्छ स्पष्ट हुनुपर्छ। अन्यथा कसै-कसैले नबुझ्न सक्छन्‌।

१८. सुहाउँदा दृष्टान्तहरूबारे हामी कसरी विचार गर्न सक्छौं?

१८ हामी कसरी सुहाउँदो दृष्टान्तहरू विचार गर्न सक्छौं? हामीले लामो कथाहरूबारे विचार गरिरहनु पर्दैन। छोटा दृष्टान्तहरू एकदमै प्रभावकारी हुन सक्छन्‌। केवल छलफल गरिएको बुँदाका उदाहरणहरू विचार गर्नुहोस्‌। उदाहरणका लागि, हामी परमेश्‍वरको क्षमाको विषयमा छलफल गरिरहेका छौं र प्रेरित ३:१९ मा उल्लिखित बुँदालाई स्पष्ट पार्न चाहन्छौं, जहाँ यहोवाले हाम्रा गल्तीहरू ‘मेटाउन’ वा पुछ्‌न चाहनुहुन्छ भनिएको छ। त्यो आफै नै एकदम जीवन्त छ तर त्यसलाई अझ स्पष्ट पार्न कस्तो सही उदाहरण चलाउन सक्छौं—इरेजर? स्पन्ज? हामी यसो भन्‍न सक्छौं: ‘यहोवाले हाम्रो पाप माफ गर्नुहुँदा स्पन्जले (वा इरेजर) मेटाएझैं मेटाउनुहुन्छ।’ त्यस्तो सरल दृष्टान्तबाट स्पष्ट पार्न खोजिएको बुँदा बुझ्न गाह्रो हुँदैन।

१९, २०. (क) हामी उपयुक्‍त दृष्टान्तहरू कहाँ भेट्टाउन सक्छौं? (ख) हाम्रा साहित्यहरूमा छापिएका केही प्रभावकारी दृष्टान्तहरू के के हुन्‌? (पेटी पनि हेर्नुहोस्‌।)

१९ तपाईंले सत्य घटनामा आधारित उदाहरणहरूलगायत सुहाउँदो दृष्टान्तहरू कहाँ पाउन सक्नुहुन्छ? आफ्नै जीवन वा सँगी विश्‍वासीहरूको पृष्ठभूमि र अनुभवहरू विचार गर्नुहोस्‌। अन्य विभिन्‍न स्रोतहरूबाट दृष्टान्तहरू छान्‍न सकिन्छ जस्तै जीव, निर्जीव वस्तु, घरका सामानहरू वा समुदायमा प्रायः सबैलाई थाह भएको हालसालैको घटना। राम्रा दृष्टान्तहरू भेट्टाउने मुख्य तरिका आफू वरपरको दिनचर्या राम्ररी ‘हेर्नु’ हो। (प्रेरित १७:२२, २३) सार्वजनिक कार्यक्रमहरूमा बोल्ने विषयमा लेखिएको एउटा पुस्तक यस्तो भन्छ: “मानव जीवन तथा विभिन्‍न पेसाहरूलाई राम्ररी नियाल्ने वक्‍ताले सबै प्रकारका मानिसहरूसँग कुरा गर्छ, कामकुरालाई नियाल्छ र आफूले नबुझेसम्म प्रश्‍नहरू गर्छ र आवश्‍यक परेको बेला चलाउन सकिने थुप्रै दृष्टान्तहरू बटुल्छ।”

२० उपयुक्‍त दृष्टान्तहरूको अर्को राम्रो स्रोत छ। त्यो हो, यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा, ब्यूँझनुहोस्‌! र अन्य साहित्यहरू। यी प्रकाशनहरूमा दृष्टान्तहरू कसरी प्रयोग गरिएको छ भन्‍ने राम्ररी हेरेर पनि तपाईंले धेरै कुरा सिक्न सक्नुहुन्छ। c उदाहरणका लागि, ज्ञान पुस्तकको अध्याय १७, अनुच्छेद ११ मा प्रयोग गरिएको दृष्टान्तलाई विचार गर्नुहोस्‌। त्यहाँ मण्डलीमा देखिने विविध व्यक्‍तित्वलाई सडकमा गुड्‌ने विभिन्‍न प्रकारका गाडीहरूसँग तुलना गरिएको छ। यो दृष्टान्त किन प्रभावकारी भयो? याद गर्नुहोस्‌, यो दैनिक जीवनसँग सम्बन्धित छ र यो मुख्य बुँदासँग समान र मिल्दो छ। हामीले सिकाउँदा प्रकाशित भइसकेका दृष्टान्तहरू बाइबल विद्यार्थी वा भाषणको आवश्‍यकताअनुसार काँटछाँट गरेर प्रयोग गर्न सक्छौं।

२१. परमेश्‍वरको वचनको प्रभावकारी शिक्षक हुँदा कस्ता इनामहरू पाइन्छन्‌?

२१ प्रभावकारी शिक्षक हुनुका इनामहरू थुप्रै छन्‌। हामीले सिकाउँदा अरूसँग बाँड्‌छौं, हामीले आफूसँग भएको केही कुरा दिन्छौं। त्यस्तो उदारताले गर्दा खुसी पाइन्छ किनभने बाइबल यसो भन्छ: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) परमेश्‍वरका वचनका शिक्षकहरूको निम्ति त्यो खुसी भनेको साँचो र अनन्त महत्त्व भएका केही कुराहरू वा यहोवाबारे सत्य कुरा दिइरहेका छौं भनी थाह पाउँदा पाइने आनन्द हो। महान्‌ शिक्षक, येशू ख्रीष्टको अनुकरण गरिरहेका छौं भनी थाह पाउँदा पनि हामी सन्तुष्टि महसुस गर्न सक्छौं।

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b “क्षेत्र सेवकाईमा प्रयोग गर्ने परिचयहरू” पृष्ठ २-७ हेर्नुहोस्‌।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

c उदाहरणहरू भेट्टाउन वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स १९८६-२००० को “दृष्टान्तहरू” अन्तर्गत हेर्नुहोस्‌।—यहोवाका साक्षीहरूद्वारा विभिन्‍न भाषामा प्रकाशित।

के तपाईंलाई सम्झना छ?

• बाइबल अध्ययन सञ्चालन गर्दा हामी कसरी सिकाउन सक्छौं? अनि मण्डलीमा भाषण दिंदा नि?

• घरघरको प्रचारकार्यमा भाग लिंदा कसरी प्रश्‍नहरू प्रभावकारी ढंगमा चलाउन सक्छौं?

• यहोवाका गुण तथा तौरतरिकाहरू प्रकाश पार्न कसरी युक्‍तिसंगत तर्कहरू प्रयोग गर्न सक्छौं?

• उपयुक्‍त दृष्टान्तहरू हामी कहाँ भेट्टाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

के तपाईंलाई यी दृष्टान्तहरू याद छ?

तल केही प्रभावकारी दृष्टान्तहरू दिइएका छन्‌। ती प्रकाशनहरू हेरेर छलफल गरिएको बुँदालाई दृष्टान्तहरूले कसरी स्पष्ट पाऱ्‍यो भन्‍ने कुरा याद गर्नुभए, कसो होला?

• सर्कस कलाकारको जोडी वा बरफमा स्केटिङ गर्ने एक जोडीजस्तै राम्रो वैवाहिक सम्बन्ध विकास गर्न खोज्नेहरूको धेरै कुरा असल जोडीमा निर्भर हुन्छ।—प्रहरीधरहरा, मे १५, २००१, पृष्ठ १६.

• आफ्ना भावनाहरू व्यक्‍त गर्नु बल फ्याँक्नुजस्तै हो। तपाईंले या त बल बिस्तारै फ्याँक्न सक्नुहुन्छ वा पछारिने गरी बेस्सरी फ्याँक्न सक्नुहुन्छ।—ब्यूँझनुहोस्‌!, फेब्रुअरी ८, २००१, पृष्ठ १०.

• प्रेम व्यक्‍त गर्न सिक्नु भनेको नयाँ भाषा सिक्नु जस्तै हो।—प्रहरीधरहरा, फेब्रुअरी १५, १९९९, पृष्ठ १८, २२-३.

• तपाईंलाई शल्यक्रिया गरेन भने ज्यानै जाने रोग लागेको छ। शल्यक्रिया गर्ने खर्च जुटाउनै सक्नुहुन्‍न भने तपाईंलाई कस्तो लाग्ला? आफ्नो भएभरको सम्पत्ति र साथीभाइबाट पाएको सहायताले पनि खर्च पुगेन भने नि? ज्यानै जानसक्ने यस्तो रोगको सिकार हुनु दुःखदायी हुन सक्छ।—प्रहरीधरहरा, फेब्रुअरी १५, १९९९, पृष्ठ १३.

• शिकारीहरूका लागि जाल जतिको उपयोगी हुन्छ प्रेतहरूको लागि प्रेतवाद पनि त्यतिकै उपयोगी हुन्छ। यसले शिकारहरूलाई आकर्षित गर्छ।—ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, पृष्ठ १११.

• आदमका सन्तानहरूको उद्धारको निम्ति आउनुभएको येशूलाई धनाढ्य उपकारीसँग तुलना गर्न सकिन्छ जसले (बेइमान प्रबन्धकको कारण घाटामा गएको) कम्पनीको ऋण चुक्‍ता गरेर कामदारहरूको फाइदाको निम्ति कारखानालाई पुनः सञ्चालन गर्छ।—प्रहरीधरहरा, फेब्रुअरी १५, १९९९, पृष्ठ १६.

• एक जना महान्‌ चित्रकार जसरी आफ्नो बिग्रिएको सर्वोत्कृष्ट कृतिमा फेरि पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक हुन्छ, त्यसरी नै यहोवा पनि शैतानले बिगारेको आफ्नो सुन्दर सृष्टिलाई पुनर्स्थापित गर्न चाहनुहुन्छ।—ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, पृष्ठ १८१.

[पृष्ठ २०-मा भएका चित्रहरू]

साँचो मसीहीहरू परमेश्‍वरको वचनका शिक्षकहरू हुन्‌

[पृष्ठ २१-मा भएको चित्र]

प्राचीनहरूले सँगी विश्‍वासीहरूलाई परमेश्‍वरको वचनबाट सान्त्वना प्राप्त गर्न प्रश्‍नहरू गर्न सक्छन्‌