“म बिलकुलै अहिलेको जस्तो जीवन चाहन्छु, त्यसमा रत्तीभर परिवर्तन नहोस्!”
जीवनी
“म बिलकुलै अहिलेको जस्तो जीवन चाहन्छु, त्यसमा रत्तीभर परिवर्तन नहोस्!”
ग्लाडिज एलेनको वृत्तान्तमा आधारित
कहिलेकाहीं मलाई यस्तो प्रश्न सोधिन्छ, “यदि तपाईंलाई फेरि बाँच्ने अवसर प्राप्त भयो भने तपाईं कस्तो जीवन चाहनुहुन्छ?” म इमानदारपूर्वक यस्तो जवाफ दिन सक्छु, “म बिलकुलै अहिलेको जस्तो जीवन चाहन्छु, त्यसमा रत्तीभर परिवर्तन नहोस्!” मलाई यस्तो लाग्नुको कारण के हो? ल सुन्नुहोस्, मेरो कथा!
सन् १९२९ को ग्रीष्मऋतुतिरको कुरा हो, त्यतिबेला म भर्खरै दुई वर्ष पुगेकी थिएँ। कहिलेकाहीं मेरो बुबा म्याथ्यु एलेनलाई खै के हुन्थ्यो; उहाँले अन्तरराष्ट्रिय बाइबल स्टुडेन्ट्स नाउँले चिनिने यहोवाका साक्षीहरूद्वारा प्रकाशित मिलियनस् नाउ लिभिङ विल नेभर डाइ! शीर्षकको पुस्तिका पाउनु भएको रहेछ। निकै उत्सुकताकासाथ केही पृष्ठहरू सर्रर पढिसक्नुभएपछि, बुबा अकस्मात् यसरी कराउनुभयो, “मैले आजसम्म पढेका पुस्तकहरूमध्ये उत्तम पुस्तक!”
लगत्तै, बुबाले बाइबल स्टुडेन्ट्सद्वारा प्रकाशित अन्य प्रकाशनहरू पनि प्राप्त गर्नुभयो। आफूले सिकेका कुराहरू आफ्ना छिमेकीहरूलाई बताउन उहाँले अलिकता पनि ढिलो गर्नुभएन। तर हाम्रो गाउँमा यहोवाका साक्षीहरूको मण्डली नै थिएन। मसीही संगतिमा नियमित हुनुपर्ने आवश्यकतालाई बुझ्दै १९३५ मा बुबा सबै परिवार लिएर क्यानाडाको ओन्टारियोस्थित ओरेन्जभिलीमा बसाइँ सर्नुभयो किनकि त्यहाँ एउटा मण्डली थियो।
त्यस बेला बच्चाहरूलाई मण्डलीका सभाहरूमा उपस्थित हुन त्यत्ति प्रोत्साहन दिंइदैनथ्यो। त्यसैले वयस्कहरू सभा सिध्याएर बाहिर ननिस्कुन्जेल बच्चाहरू सभा भवनबाहिर खेलेर समय बिताउँथे। यो कुरा बुबालाई पटक्कै मन परेन। उहाँले यस्तो तर्क गर्नुभयो, “यदि सभाहरूले मलाई फाइदा गर्छ भने मेरा बच्चाहरूलाई नगर्ने त कुरै छैन।” त्यसैले मसीही मण्डलीमा बुबाले भर्खर-भर्खरै संगत गर्न थाल्नु
भएको भए तापनि उहाँले दाइ बब, दिदीहरू इला, रूबी र मलाई वयस्कहरूसितै सभामा बस्ने निर्देशन दिनुभयो र हामीले पनि त्यसै गऱ्यौं। त्यसपछि अरू साक्षीका बच्चाहरू पनि सभामा बस्न थाले। सभा धाउनु अनि टिप्पणी दिनु हाम्रो जीवनको महत्त्वपूर्ण भाग बन्न थाल्यो।बाइबल भनेपछि बुबा हुरुक्कै हुनुहुन्थ्यो। अनि बाइबलका कथाहरूलाई रमाइलो तरिकामा सुनाउने उहाँको आफ्नै शैली थियो। यसद्वारा उहाँले हाम्रो कलिलो हृदयमा महत्त्वपूर्ण पाठहरू ठप्प बसाल्नुभयो जसलाई मैले अझै एकदमै स्नेहपूर्वक सम्हालेर राखेकी छु। त्यसमध्ये उहाँप्रति आज्ञाकारी हुनेहरूलाई यहोवाले आशिष् दिनुहुन्छ भन्ने पाठ मेरो मनमा अझै झलझली आइरहन्छ।
आफ्नो विश्वासको रक्षाको लागि बाइबल चलाउने तरिका पनि बुबाले हामीलाई सिकाउनुहुन्थ्यो। हामी यसको एउटा रमाइलो खेल नै खेल्ने गर्थ्यौं। उदाहरणका लागि, बुबाले यसो भन्ने गर्नुहुन्थ्यो, “म मरेपछि स्वर्ग जान्छु भन्ने कुरामा विश्वास गर्छु। ल, अब यो भनाइ झुटो हो भनी प्रमाणसहित मलाई विश्वास दिलाऊ।” रूबी र म अनुक्रमणिकामा धुइँपत्ता लगाएर त्यस शिक्षालाई गलत प्रमाणित गर्ने बाइबल पद खोज्ने गर्थ्यौं। आफूले भेट्टाएको शास्त्रपद पढेर सुनाइसकेपछि बुबा यसो भन्ने गर्नुहुन्थ्यो, “त्यो पनि ठीकै हो तर मलाई अझै चित्त बुझेको छैन” त्यसैले फेरि अर्को पद खोज्न हामीले शब्दकोशका पनाहरू पल्टाउनैपर्थ्यो। कहिलेकाहीं त बुबालाई चित्त बुझ्दो जवाफ दिन घण्टौं बितेको पनि हामीलाई चालै हुँदैनथ्यो। फलतः आफ्नो विश्वासबारे बताउन अनि आफ्नो विश्वासको रक्षा गर्न रूबी र म सुसज्जित भयौं।
मानिसको डरमाथि विजय हासिल गर्दै
घर अनि मसीही मण्डलीबाट राम्रो प्रशिक्षण पाएकी भए तापनि मसीही हुँदा निभाउनु पर्ने जिम्मेवारीहरूका केही पक्षहरू चुनौतीपूर्ण लागेको कुरालाई मैले स्वीकार गर्नै पर्छ। अधिकांश जवान मानिसहरूलाई जस्तै मलाई पनि विशेष गरी सहपाठीहरूबीच आफू भिन्न हुनुपर्दा कता कता अप्ठ्यारो महसुस हुन्थ्यो। मेरो विश्वासको पहिलो परीक्षा जानकारी पदयात्रा थियो।
जानकारी पदयात्राको मुख्य उद्देश्य चित्र तथा नाराहरू लेखिएका बोर्डहरू बोकेर भाइबहिनीहरूको एक समूह शहरको मुख्य सडक हुँदै बिस्तारै हिंड्नु थियो। करिब ३,००० जति बासिन्दा भएको हाम्रो शहरमा सबैले एकअर्कालाई चिन्थे। एक पटक म जानकारी पदयात्रामा “धर्म पासो र फन्दा हो” भन्ने नारा बोकेर लामको सबैभन्दा अन्तमा हिंडिरहेकी थिएँ। मेरा केही सहपाठीहरूले मलाई देखिहाले अनि तिनीहरू तुरुन्तै मेरो पछि लागेर क्यानाडाको राष्ट्रिय गान गाउन थाले, “ईश्वरले राजालाई चिरायु राखून्।” मैले कसरी त्यस परिस्थितिको सामना गरें? पदयात्रा नत्याग्न बल दिनुहोस् भनी मैले यहोवालाई व्यग्र प्रार्थना गरें। पदयात्रा सकिने बित्तिकै नारा र चित्रहरू जिम्मा दिएर घर फर्कन जब म हतार-हतार राज्यभवनभित्र पसें, त्यसैबेला एक जना निरीक्षकले अर्को पदयात्रा कार्यक्रम छिट्टै सुरु हुन लागेकोले नारा बोक्न अर्को एक जना व्यक्ति चाहिएको कुरा बताउनुभयो। त्यसैले पहिला भन्दा झन् व्यग्र प्रार्थना गर्दै म पुनः अर्को जानकारी पदयात्रामा सामेल भएँ। तर यस पटक भने मेरा सहपाठीहरू थाकेर घर गइसकेका थिए। बलको लागि गरिएको मेरो प्रार्थना धन्यवादको प्रार्थनामा परिणत भयो!—हितोपदेश ३:५.
पूर्ण-समय सेवकहरूका लागि हाम्रो घरको ढोका सधैं खुला हुन्थ्यो। तिनीहरूजस्ता एकदमै आनन्दित मानिसहरूलाई पाहुना सत्कार गर्न पाउनु आनन्दको कुरा थियो। मैले थाह पाए देखिनै मेरा आमाबाबुले सधैं हामी बच्चाहरूलाई पूर्ण-समय सेवकाई नै सर्वोत्तम पेसा हो भनी सिकाउनु भएको थियो।
उहाँहरूको प्रोत्साहनअनुरूप १९४५ मा मैले पूर्ण-समय सेवकाई सुरु गरें। पछि मैले लण्डनको ओन्टारियोमा अग्रगामी
सेवा गरिरहेकी मेरी दिदी इलासितै सेवा गरें। त्यहाँ म सेवकाईका विभिन्न पक्षहरूसित परिचित भएँ जुन मेरो लागि असम्भवजस्तै थियो। हाम्रा भाइहरू स्थानीय भट्टी पसलको टेबल-टेबलमा गएर ग्राहकहरूलाई प्रहरीधरहरा र कन्सोलेसन (हाल ब्यूँझनुहोस्!) प्रस्तुत गर्थे। खुसीको कुरा, यो काम शनिबार दिउँसो गरिने हुनाले मेरोलागि त्यहाँ जान साहस जुटाउनको लागि हप्ताभरि नै प्रार्थना गर्ने समय थियो! साँच्चै, त्यो काम मेरोलागि पटक्कै सजिलो थिएन तर नतिजा फलदायी भयो।अर्कोतिर, मैले नाजी यातना शिविरमा रहेका हाम्रा भाइहरूले भोगिरहेका सतावटतर्फ ध्यानाकर्षित गर्दै विशेष गरी महत्त्वपूर्ण क्यानेडियाली व्यापारी तथा ठूलठूला व्यापारिक संस्थानका अध्यक्षहरूसित सम्पर्क राखी कन्सोलेसनको विशेष अंक वितरण गर्ने तरिकाबारे पनि सिकें। जबसम्म बलको लागि यहोवामा भर पर्छौं, उहाँले हामीलाई त्याग्नुहुन्न भन्ने कुरा वर्षौंको दौडान, मैले राम्ररी बुझें। जस्तो बुबाले भन्ने गर्नुहुन्थो, उहाँका आज्ञा पालन गर्नेहरूलाई यहोवाले आशिष् दिनुहुन्छ।
क्युबेकमा सेवा गर्ने आमन्त्रणलाई स्वीकार्दै
जुलाई ४, १९४० मा क्यानाडामा यहोवाका साक्षीहरूको कार्यमाथि प्रतिबन्ध लगाइयो। पछि प्रतिबन्ध फुकुवा गरियो तर रोमन क्याथोलिकहरूको बाहुल्य रहेको क्युबेकका प्रान्तहरूमा हामीले अझै सतावट भोगिरहेका थियौं। त्यस ठाउँमा हाम्रा भाइहरूमाथि गरिएको दुर्व्यवहारप्रति ध्यानाकर्षण गर्न परमेश्वर, ख्रीष्ट र स्वतन्त्रताप्रति क्युबेकको तीव्र घृणा समस्त क्यानाडाको लागि एउटा लज्जास्पद कुरा हो-जस्ता सशक्त शब्दहरूले भरिएका पर्चा वितरण गर्ने अभियान सुरु गरियो। यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य नेथन एच. नोरले हामीले गर्न लागेको कामको परिणामबारे बताउन मोन्ट्रेल शहरमा हजारौं अग्रगामी भाइहरूलाई भेट्नुभयो। भाइ नोरले हामी उक्त अभियानमा भाग लिन सहमत भएको खण्डमा पक्राउ पर्ने अनि झ्यालखानामा हालिने सम्भावनाबारे बताउनुभयो। साँच्चै उहाँले भनेजस्तै भयो! समयको दौडान म १५ पटक पक्राउ परें। हामी क्षेत्र सेवकाईको लागि निस्कँदा साथमा दाँत माझ्ने बुरुस अनि काँगियो बोक्न बिर्संदैनथ्यौं किनभने यदि जेलमा रात बिताउनु परेको खण्डमा हामीलाई ती चिजहरू चाहिन्थ्यो!
सकभर अरूको ध्यान नखिच्न सुरु-सुरुमा हामी आफ्ना धेरैजसो कार्यहरू राती गर्ने गर्थ्यौं। म थप पर्चाहरू झोलामा बोक्ने गर्थें र त्यो झोलालाई घाँटीमा झुण्डाएर कोटले छोप्थें। पर्चाले भरिएको झोला साह्रै ठूलो भएकोले गर्दा म गर्भवतीजस्तै देखिन्थें। कोचाकोच गाडीमा चढेर प्रचार इलाकामा जाँदा त्यसले मलाई फाइदा पुऱ्यायो। धेरै भद्रपुरुषहरूले “गर्भवती” महिलालाई आफ्नो सीट छोडिदिन्थे।
समय बित्दै जाँदा हामीले दिउँसो पनि पर्चा वितरण कार्य सुरु गऱ्यौं। हामी तीन वा चारवटा ढोकामा पर्चा छोडेपछि अर्कै इलाकामा जान्थ्यौं। अक्सर यो तरिका सफल हुन्थ्यो। यद्यपि, हामी कुन इलाकामा काम गरिरहेका छौं भनेर रोमन क्याथोलिक पादरीहरूले थाह पाएको खण्डमा बित्यासै पर्थ्यो। एक चोटि त एक जना पादरीले ५० वा ६० जना जति वयस्क र बच्चाहरूको भीडलाई हामीमाथि गोलभेंडा र अण्डाले हिर्काउन उक्साए। हामीले एक जना मसीही बहिनीको घरमा शरण लियौं र त्यो रात हामीले भुँइमै काट्यौं।
क्युबेकमा बस्ने फ्रान्सेली भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्न अग्रगामीको तड्कारो खाँचो थियो। त्यसैले डिसेम्बर १९५८ मा मेरी दिदी रूबी अनि मैले फ्रान्सेली भाषा सिक्न थाल्यौं। त्यसपछि, हामीलाई त्यस प्रान्तको फ्रान्सेली भाषा धेरै बोल्ने इलाकाहरूमा खटाइयो। हामीलाई दिइएको प्रत्येक जिम्मेवारीबाट हामीले बेजोड अनुभवहरू संगाल्यौं। एउटा ठाउँमा त कसैले पनि कुरा सुन्न नमाने तापनि दुई वर्षसम्म दिनको आठ घण्टा हामी घरघरको प्रचारकार्यमा गइरह्यौं! मानिसहरू ढोकासम्म आएर पर्दाबाट पुलुक्क चियाउँथे र पर्दा बन्द गरिदिन्थे। तर हामीले हरेस खाएनौं। आज, त्यस शहरमा दुईवटा उन्नतिशील मण्डलीहरू छन्।
हर तरिकामा यहोवाबाट सँभालिदैं
सन् १९६५ मा हाम्रो लागि विशेष अग्रगामीको सेवा गर्ने ढोका खुल्यो। एउटा ठाउँमा हामीलाई विशेष अग्रगामीको रूपमा खटाइँदा हामीले १ तिमोथी ६:८ मा लिपिबद्ध पावलका यी शब्दहरूको आशय राम्ररी बुझ्यौं: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” हामी निकै मितव्ययी हुनुपरेको थियो। त्यसैले हामीले हिटर, घर भाडा, बत्ती अनि खानाको लागि निश्चित खर्च छुट्यायौं। यसरी खर्च छुट्याउँदा महिनाभरि हाम्रो पाकेट खर्चको लागि केवल २५ सेन्ट बाँकी हुन्थ्यो।
रकम निकै सीमित भएकोले राती केही घण्टा मात्र हामीले हिटर चलाउन सक्थ्यौं। त्यसैले हाम्रो सुत्ने कोठाको तापक्रम १५ डिग्री सेन्टिग्रेडभन्दा माथि कहिल्यै पुग्दैनथ्यो र अक्सर तापक्रम त्योभन्दा पनि कम हुन्थ्यो। तर, एक दिनको कुरा हो, रूबीको बाइबल विद्यार्थीको छोरा हामीलाई भेट्न आए। तिनले पक्कै पनि घर गएर आफ्नी आमालाई हाम्रो कोठाको कठाङ्ग्रिने जाडोबारे बताएको हुनुपर्छ। त्यसैले रूबीकी बाइबल भजन ३७:२५ का यी शब्दहरू कति सत्य छन्: “तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ!”
विद्यार्थीले हाम्रो कोठामा चौबिसै घण्टा हिटर चलोस् भनेर तेल किन्नको लागि हरेक महिना दस क्यानेडियन डलर पठाउने गरिन्। हामीले कहिल्यै कुनै कुराबाट वञ्चित भएको महसुस गरेनौं। हामी धनी त थिएनौं तर हामीलाई आवश्यक कुराहरूको अभाव कहिल्यै भएन। थप केही कुरा प्राप्त भएमा हामी त्यसलाई आशिष् सम्झन्थ्यौं।हामीले भोगेको विरोधको बावजूद आफ्ना थुप्रै बाइबल विद्यार्थीहरू सत्यको ज्ञानमा आएको देख्न पाउँदा मलाई आनन्द लाग्थ्यो। तीमध्ये कतिले त पूर्ण-समय सेवकाईलाई नै आफ्नो पेसा बनाएको देख्न पाउँदा मलाई विशेष आनन्दको अनुभूति हुन्थ्यो।
नयाँ परीक्षाहरूको सफलतासाथ सामना गर्दै
सन् १९७० मा हामीलाई कर्नवाल, ओन्टारियोमा खटाइयो। हामी कर्नवालमा पुगेको एक वर्षपछि आमा बिरामी हुनुभयो। सन् १९५७ मा बुबाको मृत्यु भइसकेको थियो र १९७२ मा आमाको निधन नभएसम्म मेरा दुई जना दिदीहरू अनि मैले पालैपालो उहाँको हेरचाह गऱ्यौं। यस बेला हाम्रा विशेष अग्रगामी साथीहरू इला लिजिट्सा अनि एन कोवालिन हामीलाई स्थिर रहन मदत गर्ने बल अनि मायालु सहयोगी साबित भए। हाम्रो अनुपस्थितिमा उहाँहरूले हाम्रा बाइबल अध्ययनहरू गरिदिनुका साथै अन्य जिम्मेवारीहरू पनि सँभालिदिनुभयो। हितोपदेश १८:२४ का यी शब्दहरू कति सत्य छन्, “मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ”!
जीवन साँच्चै, चुनौतीहरूले भरिएको हुन्छ। यहोवाले आफ्नो मायालु हातले थाम्नु भएकोले गर्दा नै मैले ती सब चुनौतीहरूको सामना गर्न सकें। म अहिले पनि आनन्दसाथ पूर्ण-समय सेवा गर्दै जीवन बिताइरहेकी छु। सन् १९९३ मा दाइ बबको मृत्यु भयो। आफ्नो २० वर्षे अग्रगामी जीवनमा उहाँले मूल्यवान् १० वर्षहरू आफ्नी पत्नी डलसित अग्रगामी गरेर बिताउनुभएको थियो। मेरी ठूली दिदी इलाको १९९८ अक्टोबरमा मृत्यु भयो। उहाँले ३० वर्षसम्म अग्रगामी गर्नुभयो अनि सधैं अग्रगामीको मनोभाव कायमै राख्नुभयो। सन् १९९१ मा अर्की दिदी रूबीलाई क्यान्सर भएको पत्ता लाग्यो। तिनी कमजोर हुँदै गए तापनि सुसमाचार सुनाउन तिनले यथासक्दो गरिन्। सन् १९९९ सेप्टेम्बर २६ को बिहान आफ्नो मृत्यु नहुँदासम्म पनि तिनको ठट्यौलो स्वभावमा केही परिवर्तन आएको थिएन। अहिले मेरा दिदीहरू सबै बितिसके। मेरो ठट्यौलो स्वाभावलाई कायमै राख्न आध्यात्मिक भाइ बहिनीहरूको परिवारले मलाई मदत गरिरहेका छन्।
आफ्नो विगतलाई फेर्केर हेर्दा मैले कुन-कुन कुरामा परिवर्तन ल्याउन सक्थें? मैले विवाह त गरिनँ तर मायालु आमाबाबु, दाइ र दिदीहरू पाएँ जसले आफ्नो जीवनमा सत्यलाई प्राथमिकता दिए। मैले उहाँहरू सबैलाई पुनरुत्थानमा भेट्ने उत्कट आशा राखेकी छु। त्यो आशा एकदमै पक्का भएको हुनाले म अहिले पनि बुबाले मलाई अंगालो हाल्नुभएको अनि आमासित न्यानो अंगालोमा बाँधिदा उहाँको आँखाबाट खुसीले आँसु झरेको अनुभूति गर्न सक्छु। अनि त्यतिखेर इला, रूबी र बबको खुसीको सीमा रहने छैन।
त्यतिन्जेल, अहिले आफ्नो शरीर अनि शक्तिलाई सकेजति यहोवाको प्रंशसा अनि आदर गर्ने काममा चलाउने मेरो हार्दिक इच्छा छ। पूर्ण-समय अग्रगामी सेवा साँच्चै अद्भुत र इनामदायी जीवन हो। यसलाई भजनरचयिताले यहोवाको मार्गमा हिंड्नेहरूबारे बताएको जीवन पनि भन्न सकिन्छ: “हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिंड़छ, त्यो धन्यको हो।”—भजन १२८:१, २.
[पृष्ठ २६-मा भएका चित्रहरू]
बुबा बाइबल भनेपछि हुरुक्कै हुनुहुन्थ्यो। हाम्रो विश्वासको रक्षा गर्न उहाँले बाइबल प्रयोग गर्न सिकाउनुभयो
[पृष्ठ २८-मा भएको चित्र]
बायाँबाट दायाँ: सन् १९४७ मा रूबी, म, बब, इला, आमा अनि बुबा
[पृष्ठ २८-मा भएको चित्र]
अगाडि पंक्तिमा; बायाँ देखि दायाँ: १९९८ को जिल्ला अधिवेशनमा म, रूबी, र इला