सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन”

“यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन”

“यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन”

“सबैले उहाँको सह्रनी गरे, र उहाँको मुखबाट निस्केका अनुग्रहका वचनमा छक्क परे।”—लूका ४:२२.

१, २. (क) येशूलाई पक्रन पठाइएका अफिसरहरू किन खाली हात फर्के? (ख) येशूको शिक्षाबाट प्रभावित हुने ती अफिसरहरू मात्र थिएनन्‌ भनेर कुन कुराले देखाउँछ?

 अफिसरहरूले आफूलाई सुम्पिएको काम पूरा गर्न सकेनन्‌। तिनीहरूलाई येशू ख्रीष्टलाई पक्रन पठाइएको थियो तर तिनीहरू खाली हात फर्के। मुख्य पूजाहारी तथा फरिसीहरूले तिनीहरूसँग स्पष्टीकरण मागे: “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” आखिर, अफिसरहरूले आफ्नो बचाउको लागि कुनै प्रतिरोध नगर्ने मानिसलाई पक्रन नसक्नुको कारण के थियो? अफिसरहरूले यस्तो उत्तर दिए: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।” तिनीहरू येशूको शिक्षाबाट यति प्रभावित भए कि तिनीहरूले यी शान्तिप्रिय मानिसलाई पक्रन आँट गर्नै सकेनन्‌। aयूहन्‍ना ७:३२, ४५, ४६.

येशूको शिक्षाबाट प्रभावित भएका मानिसहरू ती अफिसरहरू मात्र थिएनन्‌। उहाँले बोलेको सुन्‍न ठूलो संख्यामा मानिसहरू जम्मा भए भनी बाइबलले बताउँछ। उहाँको गृहनगरका मानिसहरू “उहाँको मुखबाट निस्केका अनुग्रहका वचनमा छक्क परे।” (लूका ४:२२) धेरै चोटि उहाँले गालीलको किनारमा भेला भएको ठूलो भीडलाई डुंगाबाट शिक्षा दिनुभयो। (मर्कूस ३:९; ४:१; लूका ५:१-३) एक चोटि ‘साह्रै ठूलो भीड’ भोकभोकै उहाँको कुरा सुन्‍न बसे।—मर्कूस ८:१, २.

३. येशू उल्लेखनीय शिक्षक हुन सक्नुको प्रमुख कारण के थियो?

येशू कसरी त्यस्तो उल्लेखनीय शिक्षक हुन सक्नुभयो? त्यसको मुख्य कारण थियो, प्रेम। b येशू, आफूले सिकाएको सत्य र आफूले सिकाउने मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। तर येशूसँग प्रभावकारी शिक्षण तरिकाहरू चलाउने विशेष खुबी पनि थियो। यस अंकका अध्ययन लेखहरूमा हामी उहाँले प्रयोग गर्नुभएका केही प्रभावकारी शिक्षण तरिकाहरू र हामी त्यसलाई कसरी अनुकरण गर्न सक्छौं, त्यसबारे छलफल गर्नेछौं।

सरलता र स्पष्टता

४, ५. (क) येशूले आफ्नो शिक्षामा किन सरल शब्दहरू चलाउनुभयो र उहाँले त्यसो गर्नु किन उल्लेखनीय कुरा हो? (ख) येशूले सरल ढंगमा सिकाउनु भएको एउटा उदाहरणको रूपमा डाँडाको उपदेशलाई कसरी लिन सकिन्छ?

शिक्षित मानिसहरूले आफ्ना श्रोताहरूको दिमागैले नभ्याउने कुरा गर्नु कुनै असामान्य कुरा होइन। तर हामीले आफ्नो कुरा स्पष्टसित बताएनौं भने अरू मानिसहरूले हाम्रो ज्ञानबाट कसरी लाभ उठाउन सक्छन्‌? शिक्षकको हैसियतमा येशूले मानिसहरूले बुझ्नै नसक्ने ढंगमा कहिल्यै कुरा गर्नुभएन। उहाँले कत्ति बृहत्‌ शब्दहरू प्रयोग गर्न सक्नुहुन्थ्यो, विचार गर्नुहोस्‌। यद्यपि, आफ्नो अथाह ज्ञानको भण्डारको बावजूद उहाँले आफ्नो होइन तर आफ्ना श्रोताहरूको विचार गर्नुभयो। उहाँलाई तिनीहरूमध्ये थुप्रै “अपठित र अजान” छन्‌ भनी थाह थियो। (प्रेरित ४:१३) उहाँले तिनीहरूलाई स्पष्ट पार्न त्यस्ता मानिसहरूले बुझ्ने भाषा प्रयोग गर्नुभयो। उहाँले प्रयोग गर्नुभएका शब्दहरू सरल थिए तर त्यसले दिने सत्यको सन्देशचाहिं गहिरो थियो।

उदाहरणका लागि, मत्ती ५:३–७:२७ मा लिपिबद्ध डाँडाको उपदेशलाई विचार गर्नुहोस्‌। त्यो उपदेश दिन येशूलाई २० मिनेट मात्र लागेको हुन सक्छ। यद्यपि, यसका शिक्षाहरू गहिरा छन्‌। यसले व्यभिचार, सम्बन्धविच्छेद र भौतिकवादजस्ता विषयहरूको गहिराइसम्म छुन्छ। (मत्ती ५:२७-३२; ६:१९-३४) तथापि, त्यहाँ जटिल वा आडम्बरपूर्ण अभिव्यक्‍तिहरू चलाइएका छैनन्‌। एक जना सानो बच्चाले पनि सजिलै बुझ्न सक्ने शब्दहरू चलाइएका छन्‌! त्यसैकारण उहाँले उपदेश दिन सिध्याउनुहुँदा किसान, गोठाला र जालहारीलगायत अरू थुप्रै मानिसहरू भएको भीड “उहाँका शिक्षाले छक्क परे।”—मत्ती ७:२८.

६. येशूले बोल्नुभएका सरल तर अर्थपूर्ण अभिव्यक्‍तिहरूको उदाहरण दिनुहोस्‌।

अक्सर स्पष्ट र छोटा वाक्यांशहरू चलाएर येशूले सरल तर गहिरो अर्थ भएका कुराहरू भन्‍नुभयो। पुस्तकहरू छापिनुअघिको युगमा उहाँले आफ्ना श्रोताहरूको मन अनि हृदयमा उहाँको सन्देश ठप्प छापिदिनुभयो। केही उदाहरणहरू विचार गर्नुहोस्‌: “कसैले दुइ मालिकको चाकरी गर्नसक्‍तैन। . . . तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।” “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस।” “तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।” “निरोगीहरूलाई वैद्यको आवश्‍यकता हुँदैन, तर रोगीहरूलाई मात्र।” “तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्‌।” “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” “लिनुभन्दा दिनु अझ असल हो।” c (मत्ती ६:२४; ७:१, २०; ९:१२; २६:५२; मर्कूस १२:१७; प्रेरित २०:३५) आज, येशूले भन्‍नुभएको झन्डै २,००० वर्षपछि पनि यी शब्दहरू त्यत्तिकै प्रभावकारी छन्‌।

प्रश्‍नहरूको प्रयोग

७. येशूले किन प्रश्‍नहरू सोध्नुहुन्थ्यो?

येशूले प्रश्‍नहरूको उल्लेखनीय प्रयोग गर्नुभयो। आफ्ना श्रोताहरूलाई मुख्य बुँदा बताउनु मात्र पर्याप्त हुँदा पनि उहाँ प्रश्‍न सोध्नुहुन्थ्यो। त्यसो भए उहाँले प्रश्‍न सोध्नुको कारण के थियो? कहिलेकाहीं उहाँले आफ्ना विरोधीहरूको मनसाय पर्दाफास गर्न सोच्न बाध्य तुल्याउने प्रश्‍न सोध्नुहुँदा तिनीहरू नाजवाफ हुन्थे। (मत्ती १२:२४-३०; २१:२३-२७; २२:४१-४६) तथापि, थुप्रै अवसरमा येशूले सत्यको सन्देश स्पष्ट पार्न प्रश्‍न सोध्नुहुन्थ्यो। आफ्ना श्रोताहरूलाई हृदयको कुरा बताउन लगाउन, आफ्ना चेलाहरूलाई उत्प्रेरित गर्न र प्रशिक्षण दिन प्रश्‍नहरू गर्नुहुन्थ्यो। प्रेरित पत्रुस समावेश भएका दुइटा उदाहरणलाई विचार गरौं।

८, ९. मन्दिरको कर तिर्ने सन्दर्भमा पत्रुसलाई सही निष्कर्षमा पुग्ने मदत दिन येशूले कसरी प्रश्‍नको प्रयोग गर्नुभयो?

सर्वप्रथम, येशूले मन्दिरको कर तिर्नुभयो कि तिर्नुभएन भनेर पत्रुसलाई महसुल उठाउने मानिसले प्रश्‍न गरेको घटनालाई विचार गर्नुहोस्‌। d कहिलेकाहीं सोचविचारै नगरी प्याच्च बोल्ने स्वभावका पत्रुसले यस्तो जवाफ दिए, “हो, तिर्नुहुन्छ।” तथापि, केही समयपछि येशूले तिनीसित यस्तो तर्क गर्नुभयो: “ ‘ए शिमोन, तिमी के विचार गर्छौ? पृथ्वीका राजाहरूले महसूल वा कर कोसँगबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?’ औ जब तिनले पराईबाट भने, तब येशूले तिनलाई भन्‍नुभयो, ‘उसो भए छोरा-छोरीहरूले ता माफी पाएका रहेछन्‌।’ ” (मत्ती १७:२४-२७) येशूले पत्रुसलाई प्रश्‍न गर्नुको उद्देश्‍य तिनले स्पष्ट बुझ्नुपर्ने थियो। किन?

येशूको समयमा राजपरिवारका सदस्यहरूले कर तिर्नु पर्दैनथ्यो। अतः मन्दिरमा उपासना गरिने स्वर्गमा विराजमान्‌ राजाका एक मात्र प्रिय पुत्र येशू हुनुभएकोले उहाँले कर तिर्नुपर्दैनथ्यो। याद गर्नुहोस्‌, येशूले पत्रुसलाई सही उत्तर मात्र दिनुको साटो प्रभावकारी ढंगमा तर कोमलतासाथ प्रश्‍नहरूद्वारा सही निष्कर्षमा पुग्न र तिनलाई बोल्नुअघि विचार गर्नुपर्छ भनी बुझ्न पनि मदत गर्नुभएको हुन सक्छ।

१०, ११. सा.यु. ३३ निस्तार चाडको रात पत्रुसले एक जना मानिसको कान काटिदिंदा येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो र यसबाट येशूले प्रश्‍नको महत्त्व बुझ्नुभएको थियो भनी कसरी स्पष्ट हुन्छ?

१० दोस्रो उदाहरण, सा.यु. ३३ निस्तार चाडको रात येशूलाई पक्रन एक हूल मानिसहरू आउँदाको घटना थियो। चेलाहरूले येशूलाई सुरक्षाको निम्ति प्रतिकार गरौं भनेर सोधे। (लूका २२:४९) जवाफै नपर्खिकन पत्रुसले एक जना मानिसको कान काटिदिए (तर पत्रुसको अझ गहिरो चोट पुऱ्‍याउने मनसाय पनि हुन सक्छ)। पत्रुसले आफ्नो मालिकको इच्छा विपरीत कार्य गरे किनभने येशू आफूलाई अर्पण गर्न पूर्णतया तयार हुनुहुन्थ्यो। येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? सधैंजसो धीरजी हुँदै उहाँले पत्रुसलाई तीनवटा प्रश्‍न सोध्नुभयो: “के पिताले मलाई दिनुभएको कचौराबाट म नपिऊँ?” “तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्नसक्‍तिनँ, र के उहाँले मलाई बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू अहिले जुटाइदिनुहुन्‍न र? हुनुपर्छ भनी लेखिएको शास्त्रको कुरा कसरी पूरा नभै रहनसक्छ?”—यूहन्‍ना १८:११; मत्ती २६:५२-५४.

११ त्यस विवरणलाई एकछिन विचार गर्नुहोस्‌। क्रोधित हूलको बीचमा पर्नुभएको येशूलाई आफ्नो मृत्यु नजिकै छ भनेर थाह थियो र उहाँको पिताको नाउँमा लागेको कलंक हटाउने अनि मानव परिवारको उद्धार पनि उहाँमै निर्भर थियो। तैपनि उहाँले पत्रुसको मनमा महत्त्वपूर्ण सत्य ठप्प बसोस्‌ भनेर त्यहीं त्यतिबेला नै प्रश्‍न सोध्नुभयो। के यसबाट येशूले प्रश्‍न सोध्नुको महत्त्व बुझ्नुभएको थियो भनेर स्पष्ट हुँदैन र?

जीवन्त अत्युक्‍ति

१२, १३. (क) अत्युक्‍ति भनेको के हो? (ख) आफ्नो भाइको सानोतिनो गल्तीको आलोचना गर्नु मूर्खता हो भनी जोड दिन येशूले कसरी अत्युक्‍ति चलाउनुभयो?

१२ येशूले आफ्नो सेवकाईमा अक्सर अर्को प्रभावकारी शिक्षण तरिका चलाउनुभयो। त्यो थियो, अत्युक्‍ति। यो कुनै कुरामा जोड दिन जानाजानी बढाइचढाइ गरिने वर्णन हो। येशूले अत्युक्‍तिद्वारा अविस्मरणीय छाप बसाल्नुभयो। हामी केही उदाहरणहरू विचार गरौं।

१३ डाँडाको उपदेशमा “अर्काको निसाफ नगर” भन्‍ने कुरालाई जोड दिन येशूले यसो भन्‍नुभयो: “किन तिमी आफ्नो भाइको आँखामा भएको कसिंगर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढा चाहिं थाह पाउँदैनौ?” (मत्ती ७:१-३) के तपाईं यो दृश्‍य कल्पना गर्न सक्नुहुन्छ? अरूको आलोचना गर्ने झुकाउ भएका व्यक्‍तिले आफ्नो भाइको “आँखामा” भएको जाबो कंसिगर निकाल्ने कोसिस गर्छ। त्यो आलोचकले आफ्नो भाइले स्वीकार योग्य न्याय गर्न स्पष्टसँग देख्न सक्‍तैन भन्‍ने तर्क गर्छ। तर आलोचकको आफ्नै योग्यता चाहिं “मूढा” अथवा छानामा आडको निम्ति प्रयोग गरिने सक्ने सत्तरीले गर्दा धमिलो भएको हुन सक्छ। आफ्ना ठूलठूला कमजोरीहरू हुँदाहुँदै आफ्नो भाइको सानो गल्तीको आलोचना गर्नु कत्ति मूर्खतापूर्ण हुनेछ भनी जोड दिने कस्तो अविस्मरणीय तरिका!

१४. येशूले भुसुना चाल्ने र ऊँट निल्ने सन्दर्भमा दिनुभएको अत्युक्‍ति किन एकदमै प्रभावकारी थियो?

१४ अर्को अवसरमा येशूले फरिसीहरूको यसरी निन्दा गर्नुभयो, “ए अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिं निलिहाल्दछौ।” (मत्ती २३:२४) यो अत्युक्‍तिको अत्यन्तै शक्‍तिशाली प्रयोग थियो। किन? येशूका श्रोताहरूलाई थाह भएको सबैभन्दा ठूलो जनावर, ऊँट र भुसुनाबीच गरिएको तुलना एकदमै प्रभावकारी थियो। एउटा सामान्य ऊँटको वजन बराबर सात करोड भुसुना हुनेछन्‌ भनी अनुमान गरिएको छ! साथै फरिसीहरूले दाखमद्य मसिनो कपडमा छान्‍ने गर्छन्‌ भनी येशूलाई थाह थियो। ती नियमअनुसार दुरुस्त गर्नुपर्नेहरूले भुसुना निलेर अशुद्ध हुनुपर्ला भनेर त्यसो गर्ने गर्थे। तैपनि तिनीहरूले लाक्षणिक रूपमा ऊँट निल्थे र त्यो पनि त्यत्तिकै अशुद्ध हुन्थ्यो। (लेवी ११:४, २१-२४) येशूको कुरा स्पष्ट थियो। फरिसीहरूले व्यवस्थाको स-साना नियमहरू रीति पुऱ्‍याएर पूरा गर्थे तर तिनीहरूले “न्याय, दया र विश्‍वास” जस्ता गहकिला कुराहरूको बेवास्ता गर्थे। (मत्ती २३:२३) येशूले कस्तो स्पष्ट ढंगमा तिनीहरूको पर्दाफास गर्नुभयो!

१५. येशूले अत्युक्‍ति चलाएर सिकाउनुभएका केही पाठहरू के हुन्‌?

१५ येशूले आफ्नो सेवकाई अवधिभरि नै अक्सर अत्युक्‍ति चलाउनुभयो। केही उदाहरणहरू विचार गर्नुहोस्‌। डाँडालाई हटाउन सक्ने “एउटा रायोको गेडा जति विश्‍वास” अर्थात्‌ थोरै विश्‍वासले पनि धेरै कुरा हासिल गर्न सकिन्छ भनी जोड दिन येशूले योभन्दा प्रभावकारी तरिका भेट्टाउन सक्नुहुन्‍न थियो होला। (मत्ती १७:२०) बडेमाको ऊँट सियोको नाथ्रीबाट छिर्न खोज्नु भनेको आफ्नो भौतिकवादी जीवन शैली नत्यागी परमेश्‍वरको सेवा गर्न कोसिस गर्ने धनी मानिसको अवस्थालाई चित्रण गर्ने कस्तो राम्रो विवरण! (मत्ती १९:२४) येशूको अलंकारयुक्‍त जीवन्त भाषा र थोरै शब्दमा पनि एकदमै प्रभावकारी कुरा बताउन सक्ने योग्यता देखेर के तपाईं छक्क पर्नुभयो?

अखण्डनीय तर्क

१६. येशूले आफ्नो बौद्धिक क्षमतालाई सधैं कुन तरिकामा प्रयोग गर्नुभयो?

१६ येशू सिद्ध मनको हुनुभएकोले उहाँ मानिसहरूसँग तर्कपूर्ण ढंगमा बहस गर्न पोख्त हुनुहुन्थ्यो। तैपनि येशूले आफ्नो योग्यताको कहिल्यै दुरुपयोग गर्नुभएन। उहाँले सिकाउनुहुँदा सधैं सत्यको बढवा गर्न आफ्नो बौद्धिक क्षमता प्रयोग गर्नुभयो। कहिलेकाहीं आफ्ना विरोधीहरूको गलत अभियोगको खण्डन गर्न शक्‍तिशाली तर्क प्रयोग गर्नुभयो। थुप्रै अवसरहरूमा आफ्ना चेलाहरूलाई महत्त्वपूर्ण पाठहरू सिकाउन युक्‍तिसंगत तर्कहरू चलाउनुभयो। कौशलतासाथ तर्क प्रयोग गर्न सक्ने येशूको योग्यतालाई विचार गरौं।

१७, १८. फरिसीहरूको गलत अभियोगको खण्डन गर्न येशूले कस्तो शक्‍तिशाली तर्क चलाउनुभयो?

१७ येशूले भूत लागेको अन्धो र लाटो मानिसलाई निको पार्नुभएको समयलाई विचार गर्नुहोस्‌। यो कुरा सुनेपछि फरिसीहरूले यसो भने: “यस मानिसले विना भूतको मालिक, बालजिबुलद्वारा भूतहरूलाई धपाउँदैन।” ध्यान दिनुहोस्‌, फरिसीहरूले शैतानका प्रेतहरूलाई धपाउन अलौकिक शक्‍ति चाहिन्छ भनेर स्वीकारे। तथापि, मानिसहरूलाई येशूमाथि विश्‍वास गर्नदेखि रोक्न तिनीहरूले उहाँको शक्‍ति शैतानद्वारा हो भने। तिनीहरूले तर्कपूर्ण ढंगमा सोचेका थिएनन्‌ भनी देखाउँदै येशूले यस्तो जवाफ दिनुभयो: “हरेक राज्य आफ्नै विरुद्धमा अलग अलग भएको छ भने उजाड़ पारिन्छ, र हरेक शहर अथवा घर आफैमा फाटो पऱ्‍यो भने टिक्नेछैन।” (मत्ती १२:२२-२६) येशूले वास्तवमा यसो भन्दै हुनुहुन्थ्यो: ‘तिमीहरूले भनेझैं म शैतानको तर्फबाट हुँ र शैतानको कामलाई नै बिगार पुऱ्‍याइरहेको छु भने शैतानले आफ्नै इच्छा विपरीत गरिरहेको हुनेछ र त्यसको चाँडै पतन हुनेछ।’ कस्तो शक्‍तिशाली तर्क, होइन र?

१८ त्यसपछि येशूले यस विषयमा थप तर्क गर्नुभयो। कोही-कोही फरिसीहरूले पनि भूत धपाएका थिए भनी उहाँलाई थाह थियो। तसर्थ, उहाँले सरल तर वाल्लै पार्ने प्रश्‍न गर्नुभयो: “मैले बालजिबुलद्वारा भूतहरू धपाउँदैछु भने, तिमीहरूका छोराहरूले [वा चेलाहरूले] चाहिं कोद्वारा निकाल्छन्‌?” (मत्ती १२:२७) येशूले वास्तवमा यस्तो तर्क गर्दै हुनुहुन्थ्यो: ‘मैले शैतानको शक्‍तिद्वारा भूतहरू हटाएँ भने तिमीहरूका चेलाहरूले पनि त्यसकै शक्‍तिमा गरेको हुनुपर्छ।’ अब फरिसीहरूले के जवाफ दिने? आफ्ना चेलाहरूले शैतानको शक्‍तिद्वारा उक्‍त काम गरेका हुन्‌ भनेर तिनीहरूले कहिल्यै मानिलिने थिएनन्‌। त्यस्तो अखण्डनीय तर्क गर्नुभएर येशूले आफू विरुद्ध लगाइएको अभियोग अतार्किक साबित गर्नुभयो।

१९, २०. (क) येशूले कस्तो सकारात्मक ढंगमा तर्क चलाउनुभयो? (ख) प्रार्थना गर्न सिकाउनुहोस्‌ भनेर चेलाहरूले गरेको आग्रहको जवाफमा येशूले ‘कति बढ्‌ता गरेर’ भन्‍ने अभिव्यक्‍ति कसरी चलाउनुभयो?

१९ आफ्ना विरोधीहरूलाई चुप लगाउन तर्क चलाउनुको अलावा येशूले यहोवाबारे प्रोत्साहनजनक र हृदयस्पर्शी सत्य कुराहरू सिकाउन युक्‍तिसंगत अनि जोडदार तर्क गर्नुभयो। कति चोटि त उहाँले आफ्ना श्रोताहरूलाई तिनीहरूले थाह पाएका सत्यहरूमा बलियो विश्‍वास राख्न मदत गर्न ‘कति बढ्‌ता गरेर’ भन्‍ने अभिव्यक्‍ति चलाउनुभयो। हामी दुइटा उदाहरण हेरौं।

२० येशूलाई चेलाहरूले प्रार्थना गर्न सिकाउने आग्रह गर्दा, उहाँले अनिच्छुक साथीलाई राजी गराउन “खुरन्धार लागेका” मानिसको दृष्टान्त बताउनुभयो। येशूले आफ्ना छोराछोरीलाई “असल कुरो दिन” चाहने आमाबाबुबारे पनि बताउनुभयो। त्यसपछि उहाँले अन्तमा यसो भन्‍नुभयो: “तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१-१३) येशूले यहाँ औंल्याउनुभएको कुराको आधार, समानता होइन तर तुलना हो। अनिच्छुक साथीलाई आफ्नो छिमेकीको आवश्‍यकता पूरा गर्न मनाउन सकिन्छ र असिद्ध आमाबाबुले छोराछोरीको आवश्‍यकता पूरा गर्न सक्छन्‌ भने हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताले नम्रतासाथ माग्ने वफादार सेवकहरूलाई झन्‌ कति धेरै पवित्र आत्मा दिनुहुन्छ होला!

२१, २२. (क) भौतिक कुराहरूको फिक्री सामना गर्ने सन्दर्भमा सल्लाह दिंदा येशूले कस्तो तर्क चलाउनुभयो? (ख) येशूका केही शिक्षण कलाहरू पुनरावृत्ति गरेपछि हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

२१ भौतिक कुराहरूको फिक्रीको सामना गर्ने सन्दर्भमा सल्लाह दिंदा पनि येशूले त्यस्तै प्रकारको तर्क चलाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिनीहरू नता छर्दछन्‌, न कटनी गर्दछन्‌, तिनीहरूका नता भँडार न भकारीनै छ, औ परमेश्‍वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चरा-चुरुङ्‌गीभन्दा कति बढ़ी किम्मती छौ! लिली फूललाई बिचार गर, कसरी तिनीहरू नता कात्‌छन्‌ न बुन्छन्‌, . . . तर आज हुने र भोलि चुल्हामा फालिने मैदानको घाँसलाई परमेश्‍वरले यसरी आभुषित गराउनुहुन्छ भने, ए अल्पविश्‍वासी हो, तिमीहरूलाई कत्ति बढ़ी गर्नुहुनेछ।” (लूका १२:२४, २७, २८) हो, यहोवाले चरा तथा फूलहरूको त हेरविचार गर्नुहुन्छ भने आफ्ना सेवकहरूको झन्‌ कत्ति बढी गर्नुहुन्छ! त्यस्तो कोमल तर शक्‍तिशाली तर्कले निस्सन्देह, येशूका श्रोताहरूको हृदय छोयो।

२२ येशूले प्रयोग गर्नुभएका केही शिक्षण तरिकाहरूको पुनरावृत्ति गरेपछि हामी येशूलाई पक्रन गएका अफिसरहरूले “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन” भन्दा तिनीहरूले बढाइचढाइ गरिरहेका थिएनन्‌ भनेर सजिलै बुझ्न सक्छौं। येशू चिनिनुहुने उहाँको सबैभन्दा प्रख्यात शिक्षण कला, उखान वा दृष्टान्तको प्रयोग हो। उहाँले किन यो तरिका चलाउनुभयो? अनि उहाँका दृष्टान्तहरू कसरी यत्तिको प्रभावकारी भए? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a अफिसरहरू सम्भवतः सभाघरका मानिसहरू थिए र तिनीहरू मुख्य पूजाहारीको आदेशअनुसार काम गर्थे।

b प्रहरीधरहरा, अगस्त १५, २००२ को अंकमा “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु” र “मेरो पछि लागोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

c प्रेरित २०:३५ मा लिपिबद्ध यस अन्तिम उद्धरणलाई प्रेरित पावलले मात्र उल्लेख गरेका छन्‌ तर यस्तै भाव सुसमाचारको पुस्तकमा पनि पाइन्छ। पावलले मौखिक रूपमा (येशूको कुरा सुनेका चेला वा पुनरुत्थान हुनुभएको येशूबाट) वा ईश्‍वरीय प्रकटीकरणबाट यो कुरा थाह पाएका हुन सक्छन्‌।—प्रेरित २२:६-१५; १ कोरिन्थी १५:६, ८.

d यहूदीहरूले वर्षेनी दुई ड्राक्मास मन्दिरको कर तिनुपर्थ्यो (लगभग दुई दिनको ज्याला)। करबाट उठाइएको पैसा मन्दिरको स्याहारसम्भार, त्यहाँ गरिने सेवा र राष्ट्रको खातिर दिनहुँ चढाइने बलिहरूको लागि खर्च गरिन्थ्यो।

के तपाईंले सम्झनुभएको छ?

• येशूले सरल र स्पष्ट ढंगमा सिकाउनुहुन्थ्यो भनेर कुन उदाहरणहरूले देखाउँछ?

• येशूले किन प्रश्‍नहरू चलाएर सिकाउनुभयो?

• अत्युक्‍ति भनेको के हो र येशूले यो शिक्षण कला कसरी चलाउनुभयो?

• येशूले आफ्ना चेलाहरूलाई यहोवाबारे हृदयस्पर्शी सत्य कुराहरू सिकाउन कसरी युक्‍तिसंगत तर्क चलाउनुभयो?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

येशूले साधारण मानिसहरूले बुझ्न सक्ने सरल भाषा चलाउनुभयो

[पृष्ठ १०-मा भएको चित्र]

फरिसीहरूले ‘भुसुना चाल्थे तर ऊँटलाई चाहिं निलिहाल्थे’