“विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन”
“विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन”
“येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तहरूमा भन्नुभयो। औ विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन।”— मत्ती १३:३४, नयाँ संशोधित संस्करण।
१, २. (क) किन प्रभावकारी दृष्टान्तहरू लामो समयसम्म दिमागमा रहिरहन्छन्? (ख) येशूले कस्ता प्रकारका दृष्टान्तहरू प्रयोग गर्नुभयो र उहाँले प्रयोग गर्नुभएका दृष्टान्तहरूबारे कस्ता प्रश्नहरू खडा हुन्छन्? (पादटिप्पणी पनि हेर्नुहोस्।)
के तपाईं थुप्रै वर्षअघि जनभाषणमा बताइएको दृष्टान्त सम्झन सक्नुहुन्छ? प्रभावकारी दृष्टान्तहरू लामो समयसम्म दिमागमा रहिरहन्छन्। एक जना लेखकको भनाइअनुसार दृष्टान्तहरूले “कानलाई आँखा बनाइदिन्छ र श्रोताहरूले दिमागमा आफै चित्र कोर्न थाल्छन्।” किनभने कुनै पनि कुरा बुझ्न चित्रले धेरै मदत गर्छ र दृष्टान्तद्वारा धारणाहरू स्पष्टसित बुझ्न सजिलो हुन्छ। दृष्टान्तले शब्दलाई जीवन्त बनाउन सक्छ र त्यसबाट सिकेको पाठ हाम्रो दिमागमा ठप्प बस्छ।
२ यस पृथ्वीमा देखा परेका शिक्षकहरूमध्ये येशू ख्रीष्टजस्तो दृष्टान्तहरू चलाउन पोख्त शिक्षक अरू कोही छैन। येशूले झन्डै दुई हजार वर्षअघि चलाउनुभएको दृष्टान्त आज पनि सजिलै सम्झन सकिन्छ। a येशूले किन यो शिक्षण तरिका यति धेरै प्रयोग गर्नुभयो? अनि उहाँका दृष्टान्तहरू यत्तिको प्रभावकारी हुनुको कारण के थियो?
येशूले किन दृष्टान्तहरू चलाएर सिकाउनुभयो
३. (क) मत्ती १३:३४, ३५ अनुसार येशूले दृष्टान्त चलाउनुको एउटा कारण के हो? (ख) यहोवा यो शिक्षण तरिका महत्त्वपूर्ण ठान्नुहुन्छ भनी कुन कुराले देखाउँछ?
३ बाइबलमा येशूले दृष्टान्तहरू चलाउनुको दुइवटा उल्लेखनीय कारण दिइएको छ। पहिलो, उहाँले त्यसो गर्नुहुँदा भविष्यवाणी पूरा भयो। प्रेरित मत्तीले यस्तो लेखे: “येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तहरूमा भन्नुभयो। औ विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: ‘म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु।’ ” (मत्ती १३:३४, ३५, नयाँ संशोधित संस्करण) मत्तीले यहाँ उद्धृत गरेका “अगमवक्ता” भजन ७८:२ का रचनाकार थिए। भजनरचयिताले येशू जन्मनुभन्दा शताब्दीयौंअघि परमेश्वरको आत्माबाट प्रेरणा पाएर लेखेका थिए। आफ्नो पुत्रले दृष्टान्तहरूद्वारा सिकाउनेछ भनी यहोवाले सयौं वर्षअघि बताउनु के साँच्चै उल्लेखनीय कुरा होइन र? साँच्चै यहोवाले यो शिक्षण कलालाई महत्त्वपूर्ण ठान्नुहुन्छ!
४. येशूले दृष्टान्तहरू चलाउनुको कारण कसरी बताउनुभयो?
४ दोस्रो, येशू आफैले दृष्टान्तहरू चलाउनुको कारण कठोर हृदय भएकाहरूलाई छुट्याउन हो भन्नुभयो। उहाँले “अपार भीड़[लाई]” बीउ छर्नेको दृष्टान्त बताउनुभएपछि चेलाहरूले यस्तो प्रश्न गरे: “तपाईं तिनीहरूसित किन उखानमा बोल्नुहुन्छ?” येशूले यस्तो जवाफ दिनुभयो: “तिमीहरूलाई ता स्वर्गको राज्यको रहस्यको ज्ञान दिइएको छ, तर तिनीहरूलाई दिइएको छैन। यसैकारण म तिनीहरूसित [दृष्टान्तहरूमा] बोल्दछु, किनभने हेरेर पनि तिनीहरू देख्तैनन्, सुनेर पनि तिनीहरू सुन्दैनन्, नता तिनीहरू बुझ्दछन्। औ तिनीहरूमा यशैयाको अगमवाणी पूरा हुन्छ, जसले भन्दछन्, “सुन्न ता सुन्छौ, तर कुनै किसिमले बुझ्दैनौ, ‘हेर्न ता हेर्छौ, तर कुनै किसिमले देख्तैनौ।’ किनकि यी मानिसहरूको मन भद्दा भएको छ।”—मत्ती १३:२, १०, ११, १३-१५; यशैया ६:९, १०.
५. येशूका दृष्टान्तहरूले नम्र र घमण्डी हृदय भएका श्रोताहरू कसरी छुट्यायो?
५ येशूका उदाहरणहरूमा त्यस्तो के थियो, जसले मानिसहरूलाई छुट्याउन सक्थ्यो? कुनै-कुनै अवसरमा श्रोताहरूले उहाँका शब्दहरूको पूरा अर्थ बुझ्न गहिराइसम्म पुग्नु पर्थ्यो। नम्र व्यक्तिहरू अझ बढी जानकारी लिन प्रोत्साहित हुन्थे। (मत्ती १३:३६; मर्कूस ४:३४) त्यसपछि येशूका दृष्टान्तहरूले सत्य कुराहरूको लागि भोकाहरू को-को हुन् भनेर प्रकट गर्थ्यो भने, अर्कोतिर घमण्डी हृदय भएकाहरूसमक्ष सत्य प्रकट हुँदैनथ्यो। येशू कस्तो विशिष्ट शिक्षक हुनुहुन्थ्यो! उहाँका दृष्टान्तहरू अत्यन्तै प्रभावकारी हुनुका केही कारणहरू जाचौं।
खास विवरणहरूको प्रयोग
६-८. (क) येशूको प्रथम शताब्दीका श्रोताहरूसँग अझैसम्म के थिएन? (ख) येशूले खास विवरणहरू मात्र चलाउनुहुन्थ्यो भनी कुन उदाहरणहरूले देखाउँछ?
६ येशूले सिकाउनुभएका कुराहरू आफ्नै कानले सुनेका ती प्रथम शताब्दीका चेलाहरूले कस्तो महसुस गरे होलान् भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? येशूको स्वर सुन्ने विशेष सुअवसर पाए तापनि उहाँले भन्नुभएका कुराहरू सम्झन तिनीहरूसँग लिखित रूपमा थिएन। बरु तिनीहरूले येशूले भन्नुभएका कुराहरू आफ्नो मन अनि हृदयमा राख्नुपर्थ्यो। कौशलतासाथ दृष्टान्तहरू चलाउनुभएर येशूले आफूले सिकाएका कुराहरू सम्झन सजिलो बनाउनुभयो। कुन तरिकामा?
७ येशूले खास विवरणहरू मात्र चलाउनुहुन्थ्यो। आफूले बताइरहेको कुराको प्रसंगसँग कुनै कथा मिल्थ्यो वा जोड दिन आवश्यक पर्थ्यो भने उहाँले ती विवरणहरू अवश्य समावेश गर्नुहुन्थ्यो। त्यसैले उहाँले गोठालोले हराएका भेडा खोज्दै गर्दा ठ्याक्कै कतिवटा बाँकी थियो, खेतालाले कति घण्टा दाखबारीमा काम गरे र भरोसाको आधारमा कतिवटा तोडा दिइएको थियो भनेर बताउनुभयो।—मत्ती १८:१२-१४; २०:१-१६; २५:१४-३०.
८ अर्कोतर्फ, येशूले दृष्टान्तको अर्थ बुझ्न बाधा पुऱ्याउने अनावश्यक विवरणहरू बताउनुभएन। उदाहरणका लागि, कठोर नोकरको नीति-कथामा त्यो नोकरको ऋण कसरी ६,००,००,००० दिनारसम्म पुग्यो भनेर केही बताइएको छैन। येशूले क्षमाशील हुनुपर्ने कुरामा जोड दिइरहनुभएको थियो। महत्त्वपूर्ण कुरा, नोकर कसरी ऋणमा डुब्यो भन्ने थिएन तर कसरी तिनको ऋण माफी गरियो र तिनले आफूसित अलिकति ऋण लिएका सँगी नोकरसित कस्तो व्यवहार गरे भन्ने थियो। (मत्ती १८:२३-३५) त्यस्तै गरी, उडन्ता पुत्रको दृष्टान्तमा कान्छो छोराले किन अकस्मात् आफ्नो सम्पत्ति माग्यो र किन सबै उडायो भन्नेबारे येशूले केही भन्नुभएको छैन। तर येशूले तिनको बुबाले कस्तो महसुस गरे र आफ्नो छोराले मन परिवर्तन गरी घर फर्कंदा कस्तो प्रतिक्रिया देखाए भनेर विस्तृत वर्णन गर्नुभएको छ। बुबाको प्रतिक्रियाको सन्दर्भमा त्यस्तो विवरण यहोवाले “प्रशस्त गरी क्षमा गर्नुहुनेछ” भनी येशूले बताइरहनुभएको कुरामा जोड दिन आवश्यक थियो।—यशैया ५५:७; लूका १५:११-३२.
९, १०. (क) आफ्नो दृष्टान्तका पात्रहरूको चित्रण गर्दा येशूले कुन कुरामा ध्यान केन्द्रित गर्नुहुन्थ्यो? (ख) येशूले कसरी आफ्ना श्रोता तथा अरूलाई उहाँका दृष्टान्तहरू सम्झन सजिलो बनाउनुभयो?
९ येशूले आफ्नो दृष्टान्तका पात्रहरूको चित्रण एकदमै होसियारीसाथ गर्नुभयो। पात्रको बाह्य रूपबारे विस्तृत विवरण दिनुको साटो अक्सर तिनीहरूले के गर्थे वा उहाँले बताउनुभएको कुराप्रति कस्तो प्रतिक्रिया देखाए, त्यसमा ध्यान केन्द्रित गर्नुहुन्थ्यो। यसर्थ, येशूले असल छिमेकी सामरीको बाह्य रूपरंग कस्तो थियो भनेर व्याख्या गर्नुको साटो त्योभन्दा धेरै महत्त्वपूर्ण कुरा अर्थात् त्यस सामरीले बाटोमा घाइते भएर लडिरहेको यहूदीलाई कस्तो दया देखाए भनेर बताउनुभयो। येशूले छिमेकीप्रतिको प्रेम आफ्नै जात वा राष्ट्रमा मात्र सीमित हुनुहुँदैन भनी सिकाउन आवश्यक विवरणहरू समावेश गर्नुभयो।—लूका १०:२९, ३३-३७.
१० येशूले एकदमै होसियारीसाथ विवरणहरू छान्नुहुने भएकोले उहाँका दृष्टान्तहरू संक्षिप्त हुन्थे र गज्याङमज्याङ हुँदैनथ्यो। अतः प्रथम शताब्दीका उहाँका श्रोताहरूलगायत पछि प्रेरित सुसमाचारका पुस्तक पढ्ने असंख्य व्यक्तिहरूलाई त्यसले सिकाउने अनमोल पाठ सम्झन र सिक्न उहाँले सजिलो बनाउनुभयो।
दिनचर्यासित सम्बन्धित
११. येशूले बाल्यकालमा देख्नुभएका कुराहरूलाई आफ्ना दृष्टान्तहरूमा प्रयोग गर्नुभएको उदाहरणहरू दिनुहोस्।
११ येशू मानिसहरूको जीवनसित सम्बन्धित विवरणहरू प्रयोग गर्न पोख्त हुनुहुन्थ्यो। उहाँले चलाउनुभएका थुप्रै दृष्टान्तहरू आफू गालीलमा हुर्कंदै गर्दा देखेका कुराहरूसित सम्बन्धित छन्। एकछिन उहाँको बाल्यकाल सम्झनुहोस्। उहाँले आफ्नी आमाले खमिरी रोटी बनाउन पहिले बनाएको अलिकता खमिरी पीठो पछिको लागि बचाएर राखेको कति चोटि देख्नुभयो होला? (मत्ती १३:३३) गालीलको समुद्रको स्वच्छ नीलो पानीमा जालहारीहरूले जाल बिछ्याएको कति चोटि देख्नुभयो होला? (मत्ती १३:४७) स-साना केटाकेटीहरू बजारमा खेलिरहेका कति चोटि देख्नुभयो होला? (मत्ती ११:१६) येशूले त्यतिबेलाका अन्य सामान्य कुराहरू पनि आफ्ना दृष्टान्तहरूमा समावेश गर्नुभयो। जस्तै: बीउ रोप्ने, रमाइलो विवाह भोज र सूर्यको किरणमा पाकेको बाली।—मत्ती १३:३-८; २५:१-१२; मर्कूस ४:२६-२९.
१२, १३. येशू स्थानीय अवस्थासित परिचित हुनुहुन्थ्यो भनेर गहुँ र सामाको उखानले कसरी स्पष्ट पार्छ?
१२ तसर्थ, येशूका थुप्रै दृष्टान्तहरूमा दैनिक जीवनका परिस्थिति तथा अवस्थाहरू ठाउँ ठाउँमा समावेश हुनु कुनै छक्कलाग्दो कुरा होइन। तसर्थ, यस्तो शिक्षण तरिका प्रयोग गर्ने सन्दर्भलाई लिएर उहाँको यो सीपको पूर्णतया मूल्यांकन गर्ने हो भने उहाँका शब्दहरूले यहूदी श्रोताहरूलाई के अर्थ राख्थ्यो भनी बुझ्नु लाभदायक हुन्छ। हामी दुइटा उदाहरण हेरौं।
१३ पहिलो, येशूले गहुँ र सामाको उखानमा एक जना मानिसबारे बताउनुभयो। उसले आफ्नो खेतमा गहुँको असल बीउ छऱ्यो तर “शत्रु” आएर गहुँको बीच बीचमा सामा छरेर गयो। येशूले किन त्यस्तो वैरभावी कार्यबारे बताउनुभयो? नबिर्सनुहोस्, येशूले यो उदाहरण गालील समुद्रको किनारको छेउछाउतिर बताउनुभएको थियो र गालीलवासीहरूको मुख्य पेसा कृषि थियो। कृषकको लागि आफ्नो खेतमा शत्रु आएर खतरनाक सामा छरिदिनुभन्दा नोक्सानी अरू के हुन सक्छ र? त्यतिबेलाको नियमकानूनले त्यस्ता कुराहरू हुने गर्थे भनेर देखाउँछ। येशू, आफ्ना श्रोताहरूले बुझ्न सक्ने परिस्थिति चलाउनुहुन्थ्यो भनेर के स्पष्ट हुँदैन र?—मत्ती १३:१, २, २४-३०.
१४. दयालु सामरीको उखानमा येशूले आफ्नो कुरा स्पष्ट पार्न “यरूशलेमबाट यरीहोतिर” जाने बाटो चलाउनु किन उल्लेखनीय छ?
१४ दोस्रो, दयालु सामरीको उखान सम्झनुहोस्। येशूले भन्नुभयो: “कोही एउटा मानिस यरूशलेमबाट यरीहोतिर गइरहँदा डाँकूहरूको फेला पऱ्यो, तिनीहरूले त्यसलाई नाङगै पारेर पीटे, र अधमरो पारी छोड़ेर गए।” (लूका १०:३०) यहाँ उल्लेखनीय कुरा के हो भने, येशूले आफ्नो कुरा स्पष्ट पार्न “यरूशलेमबाट यरीहोतिर” जाने बाटोबारे बताउनुभयो। यो उखान भन्नुहुँदा उहाँ यरूशलेम नजिकै यहूदियामा हुनुहुन्थ्यो। त्यसैले उहाँका श्रोताहरूलाई त्यो बाटोबारे थाह भएको हुनुपर्छ। त्यो बाटो विशेष गरी एक्लै यात्रा गर्नेहरूको लागि खतरनाक भएकोले कुख्यात थियो। अनकन्टार ठाउँमा थुप्रै घुम्तीहरू भएको बाटो भएकोले डाँकूहरू ढुकेर बस्न सक्ने थुप्रै ठाउँहरू थिए।
१५. दयालु छिमेकीको दृष्टान्तमा पूजाहारी र लेवीको भावशून्यताको लागि किन कसैले पनि बहाना बनाउन मिल्दैन?
१५ येशूले “यरूशलेमबाट यरीहोतिर” जाने बाटो प्रयोग गर्नुमा अर्को एउटा कुरा पनि उल्लेखनीय छ। कथाअनुसार पहिला पूजाहारी र त्यसपछि लेवी त्यही बाटोमा यात्रा गरिरहेका थिए तर ती दुवैले घाइतेलाई मदत गर्न वास्ता गरेनन्। (लूका १०:३१, ३२) पूजाहारीहरूले यरुशलेमको मन्दिरमा सेवा गर्थे र लेवीले तिनीहरूलाई सघाउँथे। थुप्रै पूजाहारी तथा लेवीहरू मन्दिरमा काम नगरेको बेला यरीहोमा बस्थे किनभने यरूशलेमबाट यरीहो २३ किलोमिटर मात्र टाढा थियो। यसकारण, तिनीहरू यो बाटो धेरै चोटि ओहरदोहर गर्ने गर्थे। याद गर्नुहोस्, पूजाहारी तथा लेवी ‘यरूशलेमबाट’ अर्थात् मन्दिरबाट अन्तै टाढा गइरहेका थिए। b त्यसैले, यी मानिसहरूको भावशून्यताको कुनै कारण देखाउन सकिंदैन, ‘तिनीहरूले घाइते मानिसलाई बेवास्ता गरे किनभने तिनी मरिसकेका जस्तो देखिन्थे र मरेको लाशलाई छोएमा तिनीहरू केही समयसम्म मन्दिरमा सेवा गर्न अशुद्ध हुन्थे।’ (लेवी २१:१; गन्ती १९:११, १६) के यसबाट येशूले आफ्ना श्रोताहरूलाई थाह भएकै कुरा उखानमा बताउनुहुन्थ्यो भनी स्पष्ट हुँदैन र?
सृष्टिबाट
१६. येशूले सृष्टिको गहिराइसम्म बुझ्न सक्नु किन छक्कलाग्दो कुरा होइन?
१६ येशूका कतिपय उखान तथा दृष्टान्तहरूले उहाँलाई बोटबिरुवा, पशुपंक्षी र मौसमबारे राम्रो ज्ञान थियो भनेर स्पष्ट पार्छ। (मत्ती ६:२६, २८-३०; १६:२, ३) उहाँले त्यस्तो ज्ञान कहाँबाट पाउनुभयो? गालीलमा हुर्कंदा उहाँले निस्सन्देह यहोवाको सृष्टि अध्ययन गर्ने थुप्रै अवसरहरू पाउनुभयो होला। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, येशू “सारा सृष्टिको जेठो हुनुहुन्छ” र यहोवाले उहाँलाई सबै थोक सृष्टि गर्न “मुख्य कालिगढ[को]” रूपमा चलाउनुभयो। (कलस्सी १:१५, १६; हितोपदेश ८:३०, ३१, नयाँ संशोधित संस्करण) त्यसैकारण येशूले सृष्टिको गहिराइसम्म बुझ्नुभएकोमा के छक्क पर्नुपर्ने कुनै कारण छ र? उहाँले यो ज्ञान आफ्नो शिक्षामा कसरी कौशलतासाथ प्रयोग गर्नुभयो, आउनुहोस् हामी हेरौं।
१७, १८. (क) यूहन्ना अध्याय १० मा लिपिबद्ध येशूका शब्दहरूबाट उहाँलाई भेडाको स्वभाव राम्ररी थाह थियो भनेर कसरी थाह पाउन सक्छौं? (ख) बाइबलकालीन देशमा घुम्न जाने व्यक्तिहरूले गोठालो र भेडाबीचको सम्बन्धबारे के याद गरेका छन्?
१७ येशूको कोमल दृष्टान्तहरूमध्ये एउटा यूहन्ना अध्याय १० मा लिपिबद्ध उदाहरण हो जहाँ उहाँले आफ्ना अनुयायीहरूसँगको नजिकको सम्बन्धलाई गोठालो र भेडाबीचको सम्बन्धसित तुलना गर्नुभयो। येशूका शब्दहरूले उहाँलाई भेडाको स्वभाव कस्तो हुन्छ भनेर थाह थियो भनी स्पष्ट हुन्छ। भेडाहरू डोऱ्याउने व्यक्तिको पछि पछि लाग्छन् र तिनीहरूले आफ्नो गोठालोलाई पछ्याउँछन् भनी उहाँले संकेत गर्नुभयो। (यूहन्ना १०:२-४) गोठालो र भेडाबीचको विशेष सम्बन्ध बइबलकालीन देशमा घुम्न जाने मानिसहरूले याद गरेका छन्। उन्नाइसौं शताब्दीका प्रकृतिविद् एच. बि. ट्रिस्ट्रामले यसो भने: “मैले एक चोटि एक जना गोठालो आफ्नो बगालसँग खेलिरहेको देखें। तिनले भागेको जस्तो नाटक गरे र भेडाहरूले तिनलाई लखटेर घेरे . . . अन्तमा पूरै बगालले तिनलाई घेरेर त्योसँग उफ्रेर खेल्न थाले।”
१८ भेडा किन गोठालोको पछि लाग्छ? “किनभने तिनीहरूले उसको सोर चिन्छ” भनी येशूले भन्नुभयो। (यूहन्ना १०:४) के भेडाहरूले साँच्चै गोठालोको स्वर चिन्छन्? द हिस्टोरिकल जियोग्राफी अफ द होलि ल्याण्ड नामक आफ्नो पुस्तकमा जर्ज ए. स्मीथले आफ्नो व्यक्तिगत अनुभवको आधारमा यस्तो लेखे: “कहिलेकाहीं हामी दिउँसो यहूदी इनारको छेउछाउमा आराम गर्थ्यौं र त्यहाँ तीन वा चार जना गोठालाहरू आफ्नो बगालसँग आउँथे। बगालहरू सबै छ्यासमिस हुन्थे र हामीचाहिं गोठालोले आफ्नो भेडा कसरी चिन्छ होला भनेर सोच्ने गर्थ्यौं। तर पानी पिउन र खेल्न सिद्धिएपछि गोठालाहरू बेंसीको आ-आफ्नै बाटो लाग्थे र प्रत्येकले विशेष आवाज निकालेर बोलाउँथे र भेडाहरू छुट्टिएर आ-आफ्नो गोठालोतिर व्यवस्थित ढंगमा लाग्थे।” येशूलाई आफ्नो कुरा स्पष्ट पार्न योभन्दा राम्रो तरिका अरू के हुन्थ्यो होला र? हामीले उहाँका शिक्षाहरू सिक्यौं, पालन गऱ्यौं र उहाँको नेतृत्वलाई स्वीकाऱ्यौं भने हामी “असल गोठालो[को]” कोमल र मायालु निरीक्षणको अधीनमा हुनेछौं।—यूहन्ना १०:११.
आफ्ना श्रोताहरूलाई थाह भएका घटनाहरूबाट
१९. गलत विचारधाराको खण्डन गर्न येशूले स्थानीय दुःखद् घटना कसरी प्रभावकारी ढंगमा प्रयोग गर्नुभयो?
१९ प्रभावकारी दृष्टान्त अनुभव वा उदाहरणहरू पनि हुन सक्छन् जसबाट पाठ सिक्न सकिन्छ। एक चोटि येशूले विपत्ति भोग्न योग्य मानिसहरूमाथि मात्र दुःख आइपर्छ भन्ने गलत धारणालाई खण्डन गर्न भर्खरै घटेको घटना चलाउनुभयो। उहाँले भन्नुभयो: “ती अठाह्र जना, जसमाथि सिलोआमको धरहरा ढलेर तिनीहरूलाई माऱ्यो, के तिमीहरू सम्झन्छौ, कि तिनीहरू सबै यरूशलेमबासीहरूमध्ये बढ़ता अपराधी थिए?” (लूका १३:४) येशूले पूर्व निर्धारित भविष्यको सोचाइलाई सुस्पष्ट खण्डन गर्नुभयो। ती १८ जना व्यक्तिहरू मर्नुको कारण केही पाप गरेकोले भोग्नुपरेको ईश्वरीय रिस थिएन। बरु, तिनीहरूको दुःखद् मृत्यु समय र अवसरले गर्दा भएको थियो। (उपदेशक ९:११) यसरी उहाँले आफ्ना श्रोताहरूलाई राम्ररी थाह भएका घटना प्रयोग गरेर त्यसको खण्डन गर्नुभयो।
२०, २१. (क) फरिसीहरूले येशूका चेलाहरूको किन निन्दा गरे? (ख) परमेश्वरले विश्राम दिनको व्यवस्थालाई कहिल्यै त्यस्तो अरट्ठो बनाउन चाहनुभएको थिएन भनेर देखाउन येशूले कुन धर्मशास्त्रीय विवरण चलाउनुभयो? (ग) अर्को लेखमा के छलफल गरिनेछ?
२० येशूले आफ्नो शिक्षामा धर्मशास्त्रीय उदाहरणहरू पनि चलाउनुभयो। चेलाहरूले विश्रामको दिनमा अन्नको बाला टिपेर खाँदा फरिसीहरूले विरोध गरेको समयलाई विचार गर्नुहोस्। यथार्थमा चेलाहरूले परमेश्वरको व्यवस्था होइन तर फरिसीहरूले ठहर गरेको व्यवस्था उल्लंघन गरेका थिए। परमेश्वरले कहिल्यै व्यवस्थालाई त्यस्तो अरट्ठो बनाउन चाहनुभएको थिएन भनेर देखाउन येशूले १ शमूएल २१:३-६ मा लिपिबद्ध घटनालाई संकेत गर्नुभयो। भोकाएका दाऊद र तिनका मानिसहरू बासस्थानमा रोकिए र भेटीमा ताजा रोटी राखेपछि निकालिएको बासी रोटी खाए। बासी रोटी सामान्यतया पूजाहारीहरूको लागि छुट्याइन्थ्यो। यद्यपि, त्यस अवस्थामा दाऊद र तिनका मानिसहरूले ती रोटीहरू खाए तापनि तिनीहरूको निन्दा गरिएन। तर बाइबलको यसै विवरणमा मात्र गैरपूजाहारीहरूले बासी रोटी खाएको उल्लेख गरिएको छ। येशूलाई समयअनुसार ठीक विवरणहरू चलाउन आउँथ्यो र उहाँका यहूदी श्रोताहरू निश्चय पनि उहाँले बताउनुभएका विवरणहरूसित परिचित थिए।—मत्ती १२:१-८.
२१ साँच्चै, येशू महान् शिक्षक हुनुहुन्थ्यो! आफ्ना श्रोताहरूको हृदयसम्म पुग्न सक्नेगरी महत्त्वपूर्ण सत्य बताउन सक्ने उहाँको अतुलनीय योग्यता देखेर हामी साँच्चै छक्क पर्छौं। तर हामीले आफ्नो शिक्षामा कसरी उहाँको अनुकरण गर्न सक्छौं? यसबारे अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a येशूले बेग्लाबेग्लै ढंगमा दृष्टान्तहरूको प्रयोग गर्नुभयो। जस्तै: उदाहरण, तुलना, उपमा र रूपक। दृष्टान्तहरूको लागि पनि उहाँ सुविख्यात हुनुहुन्छ। नीति-कथा भनेको “प्रायजसो काल्पनिक, छोटो, वर्णनात्मक कथा हो जसबाट नैतिक वा आध्यात्मिक पाठ सिक्न सकिन्छ।”
b यरूशलेम यरीहोभन्दा उच्च ठाउँमा थियो। त्यसकारण, “यरूशलेमबाट यरीहोतिर” जाँदा यात्रु “तलतिर” गइरहेको हुनेछ।
के तपाईंलाई सम्झना छ?
• येशूले किन दृष्टान्तहरू चलाएर सिकाउनुभयो?
• येशूले प्रथम शताब्दीका मानिसहरूले बुझ्न सक्ने दृष्टान्तहरू चलाउनुहुन्थ्यो भनी कस्ता उदाहरणहरूले देखाउँछ?
• येशूले आफ्नो सृष्टिसम्बन्धी ज्ञानलाई कसरी दृष्टान्तहरूमा सीपालु ढंगमा प्रयोग गर्नुभयो?
• येशूले कुन तरिकामा आफ्ना श्रोताहरूलाई थाह भएको घटनाहरू चलाउनुभयो?
[प्रश्नहरू]
[पृष्ठ १५-मा भएका चित्रहरू]
येशूले केही दिनारको ऋण माफी दिन इन्कार गरेको नोकर र आफ्नो पूरा सम्पत्ति उडाएका पुत्रलाई माफी दिने बुबाबारे बताउनुभयो
[पृष्ठ १६-मा भएको चित्र]
असल सामरीको उखानबाट येशूले के बताउन खोज्दै हुनुहुन्थ्यो?
[पृष्ठ १७-मा भएको चित्र]
के भेडाले साँच्चै आफ्नो गोठालोको स्वर चिन्छ?