सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्‌

आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्‌

आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्‌

“तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गऱ्‍यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर, औ शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।”—फिलिप्पी ४:९.

१, २. सामान्यतया धर्ममा आस्था राख्छु भन्‍ने मानिसहरूको जीवनमा के बाइबलले प्रभाव पारेको देखिन्छ? व्याख्या गर्नुहोस्‌।

 “धर्मको प्रभाव बढ्‌दै छ भने नैतिकताको स्तर खस्किंदै छ।” इमर्जिङ ट्रेन्ड्‌स भन्‍ने खबरपत्रको शीर्षसमाचारले संयुक्‍त राज्य अमेरिकाभरि गरेको सर्वेक्षणको नतिजा सारांशमा बतायो। स्पष्टतः उक्‍त देशमा चर्च जाने मानिसहरू र धर्म आफ्नो जीवनको महत्त्वपूर्ण भाग हो भनी स्वीकार्नेहरूको संख्यामा वृद्धि भएको छ। तथापि, उक्‍त रिपोर्टले यसो पनि भन्छ: “यी चित्ताकर्षक तथ्यांकहरूको बावजूद अधिकांश अमेरिकीहरू धर्मले व्यक्‍तिविशेष र पूरा समाजमाथि प्रभाव पारिरहेको छ भन्‍ने कुरामा प्रश्‍न गर्छन्‌।”

यस्तो परिस्थिति त्यस देशमा मात्र सीमित छैन। बाइबललाई स्वीकार्छु र धर्ममा आस्था राख्छु भन्‍ने संसारभरिका थुप्रै मानिसले आफ्नो जीवनमा चाहिं धर्मशास्त्रको प्रभाव पर्न दिएका छैनन्‌। (२ तिमोथी ३:५) एउटा अनुसन्धान समूहका प्रमुखले यस्तो उल्लेख गरे: “हामी अझै पनि बाइबलको धेरै सम्मान गर्छौं तर यो पढ्‌न, अध्ययन गर्न र लागू गर्न समय दिने चाहिं विगतको कुरा भएको छ।”

३. (क) साँचो मसीहीहरूलाई बाइबलले कसरी प्रभाव पार्छ? (ख) येशूका अनुयायीहरूले फिलिप्पी ४:९ मा लिपिबद्ध पावलको सल्लाह कसरी अपनाउँछन्‌?

तथापि, साँचो मसीहीहरू चाहिं फरक छन्‌। परमेश्‍वरको वचनको सल्लाह पालन गर्दा तिनीहरूको सोचाइ र आचरणमा परिवर्तन आएको छ। अनि तिनीहरूको नयाँ व्यक्‍तित्व अरू मानिसहरूले सजिलै याद गर्छन्‌। (कलस्सी ३:५-१०) येशूका अनुयायीहरूको लागि बाइबल त्यतिकै थन्काएर राख्ने एउटा पुस्तक होइन। त्यसको विपरीत प्रेरित पावलले फिलिप्पीका मसीहीहरूलाई यसो भने: “तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गऱ्‍यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर, औ शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:९) मसीहीहरूले परमेश्‍वरको वचनका सत्य कुराहरू स्वीकार्ने मात्र गर्दैनन्‌। तिनीहरू आफूले बाइबलका सल्लाहबाट सिकेको कुरा आफ्नो परिवारमा, जागिर, मण्डली र जीवनका हरेक क्षेत्रहरूमा लागू गर्छन्‌।

४. परमेश्‍वरको व्यवस्था व्यहारमा उतार्नु किन चुनौतीपूर्ण छ?

परमेश्‍वरको व्यवस्था तथा सिद्धान्तहरू व्यवहारमा उतार्नु सजिलो छैन। हामी शैतान अथवा दियाबल अधीनस्थ संसारमा बाँचिरहेका छौं जसलाई बाइबलमा “यस संसारको देव” भनिएको छ। (२ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९) त्यसकारण यहोवा परमेश्‍वरप्रति निष्ठा कायम राख्न बाधा पुऱ्‍याउने कुनै पनि कुरादेखि होसियार हुनु जरुरी छ। हामी कसरी निष्ठा कायम राख्न सक्छौं?

“पक्का कुराहरूको नमूना” पक्रिराख्नुहोस्‌

५. येशूले “दिनहुँ” भन्‍नुको अर्थ के हो?

आफूले सिकेको कुरा व्यवहारमा उतार्नुको एउटा पक्ष अविश्‍वासीहरूबाट आउने विरोधको बावजूद साँचो उपासनालाई वफादारीतासाथ पक्रिराख्नु हो। धैर्य गर्न प्रयास चाहिन्छ। येशूले यसो भन्‍नुभयो: “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (लूका ९:२३) हामीले येशूलाई एक हप्ता, एक महिना वा एक वर्ष मात्र पछ्याउनुपर्छ भनेर उहाँले भन्‍नुभएन। बरु उहाँले ‘दिनहुँ मेरोपछि लागोस्‌’ भन्‍नुभयो। उहाँका शब्दहरूले हामी आफ्नो जीवनको केही समय वा केही क्षणको लागि मात्र चेला हुनेछौं भन्‍ने संकेत गर्दैन। वफादारीतासाथ साँचो उपासना पक्रिराख्नुको अर्थ हामीले रोजेको मार्गमा परिस्थिति जस्तोसुकै भए तापनि धैर्यपूर्वक लागिरहनु हो। हामी कसरी त्यसो गर्न सक्छौं?

६. प्रथम शताब्दीका मसीहीहरूले पावलबाट सिकेका पक्का कुराहरूको नमूना के हो?

पावलले आफ्ना सहकर्मी तिमोथीलाई यस्तो आग्रह गरे: “ख्रीष्ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती पक्का कुराहरूको नमूना पक्रीराख।” (२ तिमोथी १:१३) पावलले के भन्‍न खोज्दै थिए? यहाँ “नमूना” भनी अनुवाद गरिएको युनानी शब्दले कलाकारको चित्रलाई बुझाउँछ। त्यस्ता चित्रहरू एकदमै स्पष्ट नभए तापनि यसका आकारहरू भने बुझ्न सकिने हुन्छन्‌ जसको मदतद्वारा जानकार दर्शकले चित्रलाई पूर्णतामा बुझ्न सक्छ। त्यस्तै गरी, पावलले तिमोथीलाई सिकाएका सत्य कुराहरूको नमुनाले हरेक सम्भाव्य प्रश्‍नको जवाफ दिन सक्दैनथ्यो। यद्यपि, ती सिद्धान्तहरूले पर्याप्त डोऱ्‍याइ वा भन्‍ने हो भने, रूपरेखा प्रदान गर्छ जसको आधारमा इमानदार हृदय भएका व्यक्‍तिहरूले यहोवाले तिनीहरूबाट के चाहनुहुन्छ भनी बुझ्न सक्छन्‌। निस्सन्देह, परमेश्‍वरलाई आनन्दित तुल्याउन तिनीहरूले आफूले सिकेका कुरा व्यवहारमा उतार्न पक्का कुराहरूको नमुना पक्रिराख्नुपर्थ्यो।

७. मसीहीहरूले कसरी पक्का कुराहरूको नमुना पक्रिराख्न सक्छन्‌?

प्रथम शताब्दीमा हाइमिनियस, अलेकज्याण्डर र फिलेतस जस्ता व्यक्‍तिहरूले “पक्का कुराहरूको नमूना[सित]” नमिल्दो विचारधाराहरूको प्रवर्धन गरिरहेका थिए। (१ तिमोथी १:१८-२०; २ तिमोथि २:१६, १७) प्रारम्भिक मसीहीहरू धर्मत्यागीहरूको बहकाउमा पर्नदेखि कसरी जोगिन सक्ने थिए? प्रेरित लेखोटहरू गहिरिएर अध्ययन गर्नुका साथै सिकेका कुराहरू आफ्नो जीवनमा लागू गरेर। पावल तथा अन्य विश्‍वासी जनहरूको नमुना पछ्याउनेहरूले आफूलाई सिकाइएको सत्यका नमुनाहरू बाहेकका कुराहरू थाह पाउन र त्यसलाई तिरस्कार गर्न सक्थे। (फिलिप्पी ३:१७; हिब्रू ५:१४) “सवाल र वाद-विवाद गर्ने रोग[बाट]” ग्रस्त हुनुको सट्टा तिनीहरू ईश्‍वरीय भक्‍तिको सही मार्ग पछ्याउँदै अघि बढे। (१ तिमोथी ६:३-६) हामीले पनि आफूले सिकेको कुरा व्यवहारमा उताऱ्‍यौं भने त्यसै गरिरहेका हुनेछौं। आफूलाई सिकाइएको बाइबलका सत्य कुराहरूको नमुनालाई दृढतासाथ पक्रेर संसारभरि लाखौं मानिसहरूले यहोवाको सेवा गरिरहेको हेर्न पाउँदा यसले हाम्रो विश्‍वासलाई कस्तो बलियो बनाउँछ।—१ थिस्सलोनिकी १:२-५.

“दन्त्यकथाहरू[तिर]” मन नलगाउनुहोस्‌

८. (क) आज शैतानले कसरी हाम्रो विश्‍वास तोड्‌ने कोसिस गर्छ? (ख) दोस्रो तिमोथी ४:३, ४ मा पावलको कस्तो चेताउनी पाइन्छ?

हामीलाई सिकाइएको कुरामा शंकाको बीउ रोपेर शैतानले हाम्रो निष्ठा भंग गर्न खोज्छ। आज, प्रथम शताब्दीमा जस्तै धर्मत्यागीहरू तथा अरूले निर्दोषहरूको विश्‍वास तोड्‌न खोज्छन्‌। (गलाती २:४; ५:७, ८) कहिलेकाहीं तिनीहरूले यहोवाका जनहरूको तौरतरिका तथा मनसायबारे गलत जानकारी वा सरासर झूटो कुरा फैलाउन सञ्चार माध्यमको सहारा लिन्छन्‌। पावलले कोही-कोही विश्‍वासबाट तर्किनेछन्‌ भनी चेताउनी दिए। तिनले यस्तो लेखे: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्‌, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थप्रो लगाउनेछन्‌, र जे सुन्‍नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्‍नेछन्‌, र सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्‌।”—२ तिमोथी ४:३, ४.

९. “दन्त्यकथाहरू” भनेर उल्लेख गर्दा पावलको मनमा कुन कुरा थियो?

पक्का सिद्धान्तहरू पक्रिराख्नुको सट्टा कसै-कसैलाई “दन्त्य कथाहरू” सुन्‍ने चासो जाग्यो। ती दन्त्यकथाहरू के थिए? सम्भवतः पावलको मनमा तोबिट जस्तो अप्रमाणित पुस्तकहरूमा पाइने काल्पनिक कथाहरू हुन सक्छन्‌। a दन्त्यकथाहरूमा सनसनीपूर्ण र अनुमानित हल्लाहरू पनि समावेश हुन सक्छन्‌। अनि “आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने” कोही-कोही परमेश्‍वरका स्तरहरूप्रति टेढो विचार राख्नेहरू वा मण्डलीमा नेतृत्व लिनेहरूप्रति आलोचक भएकाहरूको बहकाउमा परेका हुन सक्छन्‌। (३ यूहन्‍ना ९, १०; यहूदा ४) ठेस पुऱ्‍याउने कुराहरू जस्तोसुकै भए तापनि कोही-कोही परमेश्‍वरको वचनका सत्य कुराहरूभन्दा झूटा कुराहरू रुचाउँथे। चाँडै तिनीहरूले सिकेको कुरा व्यवहारमा उतार्न छोडे जसले तिनीहरूको आफ्नै आध्यात्मिकतालाई हानि पुऱ्‍यायो।—२ पत्रुस ३:१५, १६.

१०. आधुनिक समयका दन्त्यकथाहरू के हुन्‌ र सावधान हुनुपर्ने कुरालाई यूहन्‍नाले कसरी प्रकाश पारे?

१० आफूले सुन्‍ने र पढ्‌ने कुराहरू राम्ररी केलाएर छान्यौं भने हामी दन्त्यकथाहरूतिर आकर्षित हुनबाट जोगिनेछौं। उदाहरणका लागि, सञ्चार माध्यमले अक्सर अनैतिक आचरणको गुणगान गर्छ। आज थुप्रै मानिसहरूले अज्ञेयवाद वा नास्तिकवादलाई प्रोत्साहित गर्छन्‌। बाइबलका आलोचकहरू बाइबल ईश्‍वर प्रेरित हो भन्‍ने कुराको खिसी गर्छन्‌। अनि आधुनिक समयका धर्मत्यागीहरूले मसीहीहरूको विश्‍वास भंग गर्न शंकाका बीउहरू रोप्ने दाउ खोजिरहन्छन्‌। प्रथम शताब्दीमा झूटा अगमवक्‍ताहरूले खडा गरेको खतराको सन्दर्भमा प्रेरित यूहन्‍नाले यस्तो चेताउनी दिए: “हे प्रिय हो, जुनसुकै आत्माको पत्यार नगर, तर परमेश्‍वरबाटका आत्माहरू हो कि होइन भनी जाँच गर। किनभने धेरै झूटा अगमवक्‍ताहरू यस संसारमा निस्किआएका छन्‌।” (१ यूहन्‍ना ४:१) हो, हामी सावधान हुनु जरुरी छ।

११. हामी विश्‍वासमा छौं कि छैनौं भनी जाँच्ने एउटा तरिका के हो?

११ यस सन्दर्भमा पावलले यस्तो लेखे: “विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई” जाँच। (२ कोरिन्थी १३:५) तिनले हामीलाई सम्पूर्ण मसीही विश्‍वासहरूसँग सहमत छौं या छैनौं भनी जाँचिरहन आग्रह गरे। गनगन गर्नेहरूको कुरा सुनेर तिनीहरूसँग सहमत हुने हाम्रो झुकाउ छ भने हामीले प्रार्थनापूर्वक आफूलाई जाँच्नुपर्छ। (भजन १३९:२३, २४) के हाम्रो प्रवृत्ति यहोवाका जनहरूको गल्ती कोट्याउने खालको छ? छ भने, त्यसो हुनुको कारण के हो? के तपाईंलाई कसैको बोली वा कार्यले चोट पुऱ्‍याएको छ? के हामीले कामकुरालाई सही दृष्टिकोणले हेरिरहेका छौं? हामीले यस दुष्ट रीतिरिवाजमा भोग्ने कुनै पनि कष्ट क्षणिक हो। (२ कोरिन्थी ४:१७) हामीले मण्डलीमा कुनै परीक्षा अनुभव गर्नुपरे तापनि किन हामीले परमेश्‍वरको सेवा गर्न छोड्‌ने? हामी केही कुराको कारण निराश भएका छौं भने, त्यसलाई समाधान गर्न आफूले सके जति गरेपछि सम्पूर्ण कुरा यहोवाको हातमा छोडिदिनु बेस होइन र?—भजन ४:४; हितोपदेश ३:५, ६; एफिसी ४:२६.

१२. बिरियावासीहरूले हाम्रोलागि कसरी राम्रो उदाहरण बसाले?

१२ आलोचनात्मक हुनुको साटो व्यक्‍तिगत अध्ययन र मण्डलीका सभाहरूमार्फत प्राप्त भएका जानकारीहरूबारे आध्यात्मिक तवरमा स्वस्थ दृष्टिकोण राखौं। (१ कोरिन्थी २:१४, १५) परमेश्‍वरको वचनमाथि शंका गर्नुको सट्टा धर्मशास्त्रका कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनी खोजी गर्ने प्रथम शाताब्दीका बिरियावासीहरूको जस्तै मनोवृत्ति राख्नु कत्ति बुद्धिमानी कुरा हो! (प्रेरित १७:१०, ११) अनि दन्त्यकथाहरूलाई तिरस्कार गर्दै सत्यलाई बलियो गरी पक्रेर आफूले सिकेकाहरू व्यवहारमा उतारौं।

१३. हामीले कसरी अनजानमै झूटा कुराहरू फैलाइरहेका हुन सक्छौं?

१३ हामी अर्को एक प्रकारको दन्त्यकथाबाट पनि जोगिएर बस्नुपर्छ। अक्सर इमेलमार्फत थुप्रै सनसनीपूर्ण अनुभवहरू प्राप्त हुन्छन्‌। विशेष गरी त्यस्ता कथाहरूको मूल स्रोतबारे हामीलाई थाह छैन भने होसियार हुनु बुद्धिमानी हुनेछ। कुनै अनुभव वा कथा राम्रै नाउँ चलेको मसीहीले पठाएको भए तापनि त्यस व्यक्‍तिलाई मूल स्रोतबाटै जानकारी प्राप्त नभएको हुन सक्छ। त्यसकारण घटनाको अपुष्ट जानकारीहरू अरूलाई भन्‍न वा पठाउनदेखि होसियार हुनुपर्छ। हामी निश्‍चय पनि “भक्‍तिहीन मिथ्या” वा ‘अशुद्ध दन्त्यकथाहरू’ दोहोऱ्‍याउन चाँहदैनौं। (१ तिमोथी ४:७; न्यु इन्टरनेसनल भर्सन) आपसमा साँचो बोल्ने हाम्रो दायित्व पनि भएकोले अनजानमै झूटा कुराहरू फैलाउन सक्ने सम्भावनादेखि होसियार भयौं भने हामीले बुद्धिमानीपूर्वक कार्य गरिरहेका हुनेछौं।—एफिसी ४:२५.

सच्चाइलाई व्यवहारमा उतार्दा हुने फाइदाहरू

१४. परमेश्‍वरको वचनबाट सिकेका कुरा व्यवहारमा उतार्दा कस्ता फाइदाहरू हुन्छन्‌?

१४ व्यक्‍तिगत अध्ययन तथा मसीही सभाहरूमा सिकेका कुराहरू व्यवहारमा उतार्दा थुप्रै फाइदाहरू हुन्छन्‌। उदाहरणका लागि, हामी विश्‍वासका घरानासँग राम्रो सम्बन्ध कायम भएको अनुभव गर्नेछौं। (गलाती ६:१०) बाइबल सिद्धान्तहरू लागू गर्दा हाम्रो आफ्नै प्रवृत्तिमा पनि राम्रो परिवर्तन आउनेछ। (भजन १९:८) यसबाहेक, आफूले सिकेका कुरा व्यवहारमा उतार्दा हामीले ‘परमेश्‍वरको सिद्धान्तको शोभा’ बढाउनेछौं र अरूलाई पनि साँचो उपासनातर्फ आकर्षित गर्नेछौं।—तीतस २:६-१०.

१५. (क) एक किशोरीले स्कूलमा साक्षी दिन कसरी साहस बटुलिन्‌? (ख) यस अनुभवबाट तपाईंले के सिक्नुभयो?

१५ यहोवाका साक्षीहरूमाझ थुप्रै जवान व्यक्‍तिहरू पनि छन्‌ जसले बाइबल तथा मसीही प्रकाशनहरूको व्यक्‍तिगत अध्ययनका साथै मण्डलीका सभाहरूमा नियमित तवरमा उपस्थित भएर सिकेका कुराहरू व्यवहारमा उतार्छन्‌। तिनीहरूको असल आचरण स्कूलमा शिक्षक तथा सहपाठीहरूको निम्ति राम्रो साक्षी बन्‍न पुग्छ। (१ पत्रुस २:१२) संयुक्‍त राज्य अमेरिकाकी १३ वर्षीया लेज्लीलाई विचार गर्नुहोस्‌। आफ्नो विश्‍वासबारे सहपाठीहरूसँग कुरा गर्न गाह्रो लाग्ने गरेको कुरा तिनी स्वीकार्छिन्‌। तर एक दिन एउटा एकदमै भिन्‍नै घटना भयो। “मानिसहरू कुन-कुन तरिकामा सामान बेच्ने प्रयास गर्छन्‌ भनी कक्षामा विद्यार्थीहरू कुरा गरिरहेका थिए। एक जना केटीले हात उठाएर उदाहरणस्वरूप यहोवाका साक्षीहरूको नाउँ उल्लेख गरिन्‌।” एक जना साक्षी भएको नाताले लेज्लीले कस्तो प्रतिक्रिया देखाइन्‌? तिनी भन्छिन्‌, “मैले आफ्नो विश्‍वासको प्रतिवाद गरें। मलाई पूरा विश्‍वास छ यसको कारण सबै चकित परे होलान्‌ किनभने म स्कूलमा धेरै बोल्ने गर्दिनथें।” लेज्लीको निर्भयताको नतिजा कस्तो भयो? “मैले ती विद्यार्थीलाई एउटा पुस्तिका र पर्चा दिन सकें किनभने तिनका अरू थुप्रै प्रश्‍नहरू पनि थिए” भनी लेज्ली भन्छिन्‌। जवानहरूले आफूले सिकेका कुराले गर्दा स्कूलमा साक्षी दिने साहस गर्दा यहोवा कत्ति आनन्दित हुनुहुन्छ होला!—हितोपदेश २७:११; हिब्रू ६:१०.

१६. एक जना युवतीको लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल कसरी लाभकारी भयो?

१६ अर्को उदाहरण एलिजाबेथको हो। सात वर्षको उमेरदेखि आफ्नो प्राथमिक शिक्षाको वर्षहरूभरि नै यस सानी बच्चीले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा असाइनमेन्ट पाउँदा सधैं आफ्ना शिक्षकहरूलाई राज्यभवनमा बोलाउने गर्थिन्‌। कुनै शिक्षक सभामा आउन सकेन भने एलिजाबेथले स्कूल छुट्टि भएपछि शिक्षकलाई आफ्नो भाषण सुनाउने गर्थिन्‌। आफ्नो उच्च माध्यमिक विद्यालयको अन्तिम वर्षमा एलिजाबेथले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलका फाइदाहरूबारे दस पृष्ठे रिपोर्ट लेखिन्‌ र चार जना शिक्षकहरूसामु आफ्नो रिपोर्ट पेस गरिन्‌। तिनलाई ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा दिइने भाषणको नमुना देखाउन पनि भनियो। यसको निम्ति तिनले “परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?” भन्‍ने विषय छानिन्‌। एलिजाबेथले यहोवाका साक्षीहरूले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमार्फत सञ्चालन गरेको शैक्षिक कार्यक्रमबाट लाभ उठाएकी थिइन्‌। परमेश्‍वरको वचनबाट सिकेका कुरा व्यवहारमा उतारेर यहोवाको प्रशंसा गर्ने थुप्रै जवान मसीहीहरूमध्ये तिनी पनि एक हुन्‌।

१७, १८. (क) बाइबलले इमानदारिताको सन्दर्भमा कस्तो सल्लाह दिन्छ? (ख) एक जना मानिस यहोवाका साक्षीहरूको इमानदारिताबाट कसरी प्रभावित भए?

१७ बाइबलले मसीहीहरूलाई सबै कुरामा इमानदार रहने सल्लाह दिन्छ। (हिब्रू १३:१८) बेइमानीको कारण अरूसँगको सम्बन्ध बिग्रन सक्छ र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यहोवासितको सम्बन्धसमेत प्रभावित हुन्छ। (हितोपदेश १२:२२) हाम्रो भरोसायोग्य आचरणले आफूले सिकेका कुरा व्यवहारमा उतारेका छौं भन्‍ने प्रमाण दिन्छ जसले गर्दा मानिसहरूले यहोवाका साक्षीहरूलाई अझ बढी आदर गर्न थालेका छन्‌।

१८ फिलिप नाउँ गरेका सिपाहीको अनुभवलाई विचार गर्नुहोस्‌। तिनले हस्ताक्षर गरेको खाली चेक हराएछन्‌ तर त्यो चेक हुलाकद्वारा प्राप्त नभएसम्म आफूले त्यो चेक हराएछु भन्‍ने कुरा तिनलाई पत्तै थिएन। त्यो चेक एक जना यहोवाको साक्षीले भेट्टाएछन्‌। उक्‍त चेकसँगै पठाइएको छोटो पत्रमा त्यो चेक भेट्टाउने व्यक्‍तिले आफ्नो धार्मिक विश्‍वासले गर्दा फर्काउन उत्प्रेरित भएको कुरा बताएका थिए। फिलिप त वाल्ल परे। तिनले भने, “त्यस व्यक्‍तिले मेरो ९,००० अमेरिकी डलर स्वाहा पार्न सक्थे!” एक पल्ट तिनी चर्चमै आफ्नो टोपी हराएकोले दुःखी भएका थिए। त्यसबेला कोही चिनेकै मानिसले तिनको टोपी लगेको हुनुपर्छ भने अहिलेचाहिं हजारौं डलर मूल्य बराबरको चेक एक जना अपरिचित मानिसले फर्काएका थिए! साँच्चै इमानदार मसीहीहरूले यहोवा परमेश्‍वरको आदर बढाउँछन्‌!

आफूले सिकेका कुरा व्यवहारमा उतारिरहनुहोस्‌

१९, २०. हामीले सिक्ने धर्मशास्त्रीय कुराहरूअनुरूप जीवन बिताउँदा कसरी लाभ उठाउनेछौं?

१९ परमेश्‍वरको वचनबाट सिकेका कुरा व्यवहारमा उतार्ने व्यक्‍तिहरूले थुप्रै लाभहरू उठाउँछन्‌। चेला याकूबले यस्तो लेखे: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्‍याबासी पाउनेछ।” (याकूब १:२५) हो, आफूले सिकेका धर्मशास्त्रीय कुराहरूअनुरूप जीवन बितायौं भने हामीले साँचो आनन्द पाउने छौं र जीवनका दबाउहरू सामना गर्न अझ सुसज्जित हुनेछौं। सबैभन्दा महत्त्वपूर्ण कुरा त हामीले यहोवाको आशिष्‌ र अनन्त जीवनको प्रत्याशा पाउनेछौं!—हितोपदेश १०:२२; १ तिमोथी ६:६.

२० त्यसकारण हर तरिकामा परमेश्‍वरको वचनबाट सिकेको कुरा व्यवहारमा उतार्न नछोड्‌नुहोस्‌। नियमित तवरमा यहोवाका उपासकहरूसँग भेला हुनुहोस्‌ र मसीही सभाहरूमा प्रस्तुत गरिएका विषयवस्तुमा ध्यान दिनुहोस्‌। आफूले सिकेको कुरा व्यवहारमा उतारिरहनुहोस्‌ अनि “शान्तिका परमेश्‍वर [तपाईंहरूसँग] हुनुहुनेछ।”—फिलिप्पी ४:९.

[फुटनोट]

a सम्भवतः सा.यु.पू. तेस्रो शताब्दीमा लेखिएको तोबिटमा तोबियास नाउँ गरेको यहूदीको अन्धविश्‍वासले भरिपूर्ण कथा पनि समावेश थियो। भनिन्थ्यो, तिनीसित अजङ्‌गको माछाको मुटु, पित्ताशय र कलेजो चलाएर निको पार्ने र प्रेतहरू भगाउने शक्‍ति प्राप्त गर्ने क्षमता थियो।

के तपाईंलाई सम्झना छ?

• “पक्का कुराहरूको नमूना” भनेको के हो र हामी कसरी यसलाई पक्रिराख्न सक्छौं?

• हामीले कस्ता “दन्त्यकथाहरू” तिरस्कार गर्नुपर्छ?

• परमेश्‍वरको वचनबाट सिकेका कुराहरू व्यवहारमा उतार्नेहरूले कस्ता लाभहरू उठाउँछन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

प्रारम्भिक मसीहीहरू धर्मत्यागीहरूको बहकाउमा पर्नदेखि कसरी जोगिन सक्थे?

[पृष्ठ १८-मा भएका चित्रहरू]

सञ्चार माध्यम, इन्टरनेट र आधुनिक समयका धर्मत्यागीहरूमार्फत शंकाको बीउ रोपिन सक्छ

[पृष्ठ १९-मा भएको चित्र]

अपुष्ट रिपोर्टहरू अरूलाई पठाउनु बुद्धिमानी कुरा होइन

[पृष्ठ २०-मा भएका चित्रहरू]

काममा, स्कूलमा तथा अन्य ठाउँहरूमा यहोवाका साक्षीहरू आफूले परमेश्‍वरको वचनबाट सिकेका कुराहरू व्यवहारमा उतार्छन्‌