सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के बाइबलले शैतानलाई संकेत गर्न लुसिफर नाउँ चलाएको छ?

धर्मशास्त्रमा लुसिफर भन्‍ने नाउँ एकै ठाउँमा मात्र उल्लेख गरिएको छ र त्यो पनि बाइबलका कुनै-कुनै संस्करणहरूमा मात्र। उदाहरणका लागि, किङ जेम्स भर्सन-ले यशैया १४:१२ लाई यसरी अनुवाद गरेको छ: “ए लुसिफर, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसिस्‌!”

“लुसिफर” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “चम्किलो तारा” हो। सेप्टुआजिन्ट-ले युनानी शब्द प्रयोग गर्छ, जसको अर्थ हो “प्रभातकाल ल्याउने।” तसर्थ, कुनै-कुनै अनुवादहरूले मौलिक हिब्रूलाई “प्रभातको तारा” वा “बिहानको तारा” भनी अनुवाद गर्छन्‌। तर जेरोमको ल्याटिन भलगेट-ले “लुसिफर” (ज्योतिवाहक) भन्‍ने पदावली चलाएको छ र यो विवरण विभिन्‍न बाइबल संस्करणहरूमा प्रयोग हुनुको कारण बताउँछ।

यो लुसिफर को हो? “चम्किलो तारा” वा “लुसिफर” भन्‍ने अभिव्यक्‍ति यशैयाले भविष्यसूचक ढंगमा इस्राएलीहरूलाई ‘बाबेलको राजाको ठट्टा गर्न’ लगाएको आज्ञामा पाइन्छ। यसप्रकार, नबूकदनेसरदेखि सुरु भएको बेबिलोनी राजकुललाई नै मुख्यतया लक्षित गरेर भनिएको ठट्टाको यो एउटा भाग हो। “तँ पातलसम्म, अर्थात्‌ खाडलको तल्लो छेउसम्मै होंच्याइस्‌” भन्‍ने भनाइले पनि “चम्किलो तारा” भन्‍ने वाक्यांश कुनै आत्मिक प्राणीलाई नभई मानिसलाई नै दिइएको हो भन्‍ने कुरा पुष्टि गर्छ। पाताल मानवजातिको सामान्य चिहान हो, शैतान वा दियाबलले कब्जा जमाएको ठाउँ होइन। अझ भन्‍ने हो भने, लुसिफरलाई यस अवस्थामा ल्याएको देख्नेहरूले यसो भन्‍नेछन्‌: ‘पृथ्वीलाई थरथर कमाउने के यो त्यही मानिस हो?’ स्पष्टतया, “लुसिफर”-ले मानिसलाई बुझाउँछ, कुनै आत्मिक प्राणीलाई होइन।—यशैया १४:४, १५, १६.

बेबिलोनी राजकुललाई किन यसरी विशिष्ट तरिकाले वर्णन गरियो? बेबिलोनी राजाको पतनपछि मात्र तिनलाई व्यंग्यात्मक ढंगमा चम्किलो तारा भनिने थियो भनी हामीले बुझ्नुपर्छ। (यशैया १४:३) स्वार्थपूर्ण अहंकारले गर्दा बेबिलोनका राजाहरूले आफूलाई अरूभन्दा माथि उचाले। यस राजकुलको अहंकार यत्ति धेरै थियो कि यसले गरेको घमण्ड यसप्रकार चित्रण गरिएको छ: “म स्वर्गमा उक्लनेछु। परमेश्‍वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, र उत्तरको पल्लो छेउसम्म म सभा-मण्डलको पर्वतमा विराजमान हुनेछु। . . . म परम परमेश्‍वर जत्तिकै हुनेछु।”—यशैया १४:१३, १४.

“परमेश्‍वरका ताराहरू” भनेको दाऊदका शाही घरानाबाट आउने राजाहरू हुन्‌। (गन्ती २४:१७) दाऊददेखि यता यी “ताराहरू[ले]” सियोन डाँडाबाट शासन गरे। यरूशलेममा सुलेमानले मन्दिर निर्माण गरेपछि सियोन भन्‍ने नाउँ सम्पूर्ण शहरमा लागू भयो। व्यवस्था करारअन्तर्गत सबै पुरुष इस्राएलीहरूले वर्षको तीन चोटि सियोनको यात्रा गर्नुपर्थ्यो। यसप्रकार, यो “सभा-मण्डलको पर्वत” हुन गयो। यहूदाका राजाहरूलाई आफ्नो अधीनमा राखेर तिनीहरूलाई त्यस पर्वतबाट हटाउने संकल्प गरेर नबूकदनेसर आफूलाई ती “ताराहरू” भन्दा उच्च पार्ने आफ्नो अभिप्राय घोषणा गर्दैछ। यहूदाका राजाहरूमाथि आफूले विजय हासिल गरेको श्रेय यहोवालाई दिनुको सट्टा घमण्डी भएर तिनले आफूलाई यहोवाको स्थानमा राखे। त्यसैकारण, पतन भइसकेपछि मात्र बेबिलोनी राजकुललाई ठट्टा गरेर “चम्किलो तारा[को]” रूपमा संकेत गरिनेछ।

बेबिलोनका शासकहरूको घमण्डले साँच्चै “यस संसारको देव” शैतान अर्थात्‌ दियाबलको मनोवृत्ति झल्काउँछ। (२ कोरिन्थी ४:४) त्यसले शक्‍तिको लालसा पनि गर्छ र आफूलाई यहोवा परमेश्‍वरभन्दा माथि राख्न चाहन्छ। तर जे होस्‌, लुसिफर भन्‍ने नाउँ धर्मशास्त्रमा शैतानलाई दिइएको नाउँ होइन।

पहिलो इतिहास २:१३-१५ ले किन दाऊदलाई यिशैको सातौं छोरा भनी सम्बोधन गर्छ जबकि १ शमूएल १६:१०, ११ मा तिनलाई आठौं छोरा भनेर संकेत गरेको छ?

पुरातन राजा शाऊल साँचो उपासनादेखि तर्किएपछि यहोवा परमेश्‍वरले अगमवक्‍ता शमूएललाई यिशैका एक जना छोरालाई राजा नियुक्‍त गर्न पठाउनुभयो। सा.यु.पू. ११ औं शताब्दीमा शमूएल स्वयम्‌द्वारा लिखित यस ऐतिसाहिक घटनाको ईश्‍वरीय रेकर्डले दाऊदलाई यिशैको आठौं छोराको रूपमा प्रस्तुत गर्छ। (१ शमूएल १६:१०-१३) तथापि, ६०० वर्षपछि पूजाहारी एज्राद्वारा लिखित विवरण यसो भन्छ: “यिशैका जेठो छोरा एलीआब, माहिला अबीनादाब, साहिंला शिमा, काहिंला नतनेल, अन्तरे रद्दै, जन्तरे ओसेम र कान्छा दाऊद थिए।” (१ इतिहास २:१३-१५) दाऊदका एक जना दाइलाई के भयो अनि किन एज्राले तिनको नाम उल्लेख गरेनन्‌?

धर्मशास्त्रले यिशैका “आठ जना छोराहरू” थिए भनी बताउँछ। (१ शमूएल १७:१२) तिनका छोराहरूमध्ये एक जना स्पष्टतया विवाह गर्ने र बच्चा पाउने उमेरसम्म बाँचेनन्‌। शाखा-सन्तान नभएकोले कुलको उत्तराधिकारीमा तिनको कुनै हक लाग्ने थिएन न त यिशैको वंशको रेकर्डमा तिनको नाउँ नै हुनेथियो।

अब हामी एज्राको समयलाई विचार गरौं। तिनले इतिहासहरू संकलन गरेको पृष्ठभूमिलाई विचार गर्नुहोस्‌। बेबिलोनको निर्वासनबाट छुटकारा पाएको लगभग ७७ वर्ष भइसकेको थियो र यहूदीहरू आफ्नो मातृभूमिमा पुनर्स्थापित भइसकेका थिए। फारसको राजाले एज्रालाई न्यायकर्ता तथा परमेश्‍वरको व्यवस्थाका शिक्षकहरू (राजासमेत) नियुक्‍त गर्ने र यहोवाको भवनलाई सुशोभित पार्ने अधिकार दिएको थियो। जातीय उत्तराधिकारी पक्का गर्न र अधिकार प्राप्त मानिसहरूले मात्रै पूजाहारीको रूपमा सेवा गरून्‌ भन्‍ने कुरा निश्‍चित गर्न सही वंश सूची हुनु आवश्‍यक थियो। त्यसैकारण एज्राले राष्ट्रको इतिहासको सम्पूर्ण विवरणलगायत यहूदा र दाऊदको वंशको स्पष्ट तथा भरपर्दो रेकर्ड तयार पारे। एउटै पनि सन्तान नपाई मृत्यु भएका यिशैको छोराको नाउँ रेकर्डमा आवश्‍यक थिएन। तसर्थ, एज्राले तिनको नाम उल्लेख गरेनन्‌।