सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो सन्तहरूले कसरी तपाईंलाई मदत गर्न सक्छन्‌?

साँचो सन्तहरूले कसरी तपाईंलाई मदत गर्न सक्छन्‌?

साँचो सन्तहरूले कसरी तपाईंलाई मदत गर्न सक्छन्‌?

“सन्त” भन्‍ने अर्थ बुझाउनको लागि धर्मशास्त्रमा प्रयोग गरिएको युनानी शब्दलाई कुनै-कुनै संस्करणमा “पवित्र जन” भनेर पनि अनुवाद गर्न सकिन्छ। यी पदावलीहरूले कसलाई बुझाउँछ? एन एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्‌ यसरी बताउँछ, “विश्‍वासीहरूलाई संकेत गर्नको लागि बहुवचनको रूपमा प्रयोग गर्दा यसले अति नै पवित्र व्यक्‍तिहरू वा मृत्युपछि सन्त घोषित भएकाहरू मात्र नभई सबै विश्‍वासीहरूलाई जनाउँछ।”

त्यसैकारण, प्रेरित पावलले सबै प्रारम्भिक मसीहीहरूलाई साँचो सन्तहरू वा पवित्र जनहरू भनी सम्बोधन गरे। उदाहरणका लागि, सा.यु. प्रथम शताब्दीमा लेखिएको पत्रमा तिनले “कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, र साथै सारा [रोमको प्रान्त] अखैयामा भएका सबै सन्तहरूलाई” सम्बोधन गरे। (२ कोरिन्थी १:१, नयाँ संशोधित संस्करण) पछि पावलले “रोममा भएका परमेश्‍वरका प्रियहरू, अर्थात्‌ पवित्र जन हुनालाई बोलावट भएकाहरूलाई” पत्र लेखे। (रोमी १:७) निस्सन्देह ती पवित्र जनहरू मरिसकेका थिएनन्‌ न त अरू विश्‍वासीहरूको भन्दा उत्कृष्ट गुणहरू भएको कारण तिनीहरूलाई अलग्गै छुट्याइएको नै थियो। त्यसोभए, तिनीहरूलाई सन्तहरू भनिनुको आधार के थियो त?

परमेश्‍वरद्वारा पवित्र पारिएका

कसैलाई कुनै मानिसहरू वा संस्थाले सन्त घोषित गर्दैमा उक्‍त व्यक्‍ति सन्त हुँदैन भनी परमेश्‍वरको वचनले बताउँछ। धर्मशास्त्र यसो भन्छ: “हाम्रा कामबमोजिम ता होइन, तर . . . [परमेश्‍वरको] आफ्नै अभिप्राय र अनुग्रहअनुसार, जसले हाम्रो उद्धार गर्नुभयो, र हामीलाई पवित्र बोलावटले बोलाउनुभयो।” (२ तिमोथी १:९) यहोवाको अनुग्रह र अभिप्रायअनुसार उहाँको बोलावटद्वारा नै कुनै व्यक्‍ति पवित्र हुन्छ।

मसीही मण्डलीका पवित्र जनहरू “नयाँ करारको” सहभागीहरू हुन्‌। येशू ख्रीष्टको बगेको रगतले यस करारलाई वैधता प्रदान गर्छ र यसका सहभागीहरूलाई पवित्र पार्छ। (हिब्रू ९:१५; १०:२९; १३:२०, २४) परमेश्‍वरको नजरमा सफा भएर तिनीहरू “येशू ख्रीष्टद्वारा परमेश्‍वरमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीगिरी” हुन्छन्‌।—१ पत्रुस २:५, ९.

मध्यस्थ तथा मदत गर्न सन्तहरूलाई बिन्ती

“सन्तहरूले” विश्‍वासीहरूलाई विशेष शक्‍ति प्रदान गर्न सक्छन्‌ भन्‍ने विश्‍वासको आधारमा लाखौं व्यक्‍तिहरूले तिनीहरूको अवशेष चलाएर वा तिनीहरूलाई आफ्नो लागि मध्यस्थ गरिदिन आह्वान गरेर सन्तहरूलाई श्रद्धा गर्छन्‌। के यो बाइबलको शिक्षा हो? येशूले डाँडाको उपदेशमा आफ्ना अनुयायीहरूलाई परमेश्‍वरको नजिक कसरी आउने भन्‍ने सन्दर्भमा यसरी सिकाउनु भयो: “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) प्रार्थना परमेश्‍वरतर्फ मात्र निर्देशित हुनुपर्छ।

“सन्तहरूले” पनि मध्यस्थको काम गर्न सक्छन्‌ भनी प्रमाणित गर्न कोही-कोही धर्मविद्‌हरूले रोमी १५:३० चलाउँछन्‌, जहाँ हामी यस्तो लेखिएको पाउँछौं: “ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा, र आत्माको प्रेमद्वारा मेरो निम्ति परमेश्‍वरमा प्रार्थना गर्न मसँगै घोर प्रयत्न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु।” के यहाँ पावलले तिनलाई प्रार्थना गर्नुपर्छ वा परमेश्‍वरको नजिक जान तिनको नाउँमा बिन्ती गर्नुपर्छ भनिरहेका थिए? अहँ, थिएनन्‌। बाइबलमा साँचो सन्त वा पवित्र जनहरूको लागि प्रार्थना गर्न प्रोत्साहन दिइएको भए तापनि परमेश्‍वरले कतै पनि हामीलाई यस्ता पवित्र जनहरू-लाई वा तिनीहरू-मार्फत प्रार्थना गर्ने आज्ञा दिनुभएको छैन।—फिलिप्पी १:१, ३, ४.

तथापि, परमेश्‍वरले हाम्रो प्रार्थनाको लागि एक जना मध्यस्थ नियुक्‍त गर्नुभएको छ। येशू ख्रीष्टले यसो भन्‍नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” येशूले अझै यसो पनि भन्‍नुभयो: “जेसुकै तिमीहरू मेरो नाउँमा मागौला, त्यो पुत्रमा पिताको महिमा होस्‌ भनेर म गर्नेछु। तिमीहरूले मेरो नाउँमा केही माग्यौ भने, त्यो म गर्नेछु।” (यूहन्‍ना १४:६, १३, १४) येशूको नाउँद्वारा चढाइएको प्रार्थना सुन्‍न यहोवा इच्छुक हुनुहुन्छ भनेर हामी निर्धक्क हुन सक्छौं। येशूबारे बाइबल यसो भन्छ: “उहाँद्वारा परमेश्‍वरको नजीक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।”—हिब्रू ७:२५, नयाँ संशोधित संस्करण।

येशू हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुहुन्छ भने मसीहीजगत्‌का उपासकहरूले किन अक्सर “सन्तहरूलाई” बिन्ती गर्छन्‌ त? यस प्रचलनको सुरुआतबारे इतिहासकार विल डुरान्टले आफ्नो पुस्तक दी एज अफ फेथ-मा उल्लेख गरेका छन्‌। सर्वशक्‍तिमान्‌ परमेश्‍वरप्रति मानिसहरूले श्रद्धेय भय राख्ने हुनाले येशूको नजिक जान सजिलो हुने कुरालाई मनमा राख्दै डुरान्ट यसो भन्छन्‌: “[येशूको] डाँडाको उपदेशलाई उपेक्षा गरेपछि उहाँसँग सीधै कुरा गर्न मानिसहरूलाई अप्ठ्यारो लाग्यो। त्यसकारण मृत्युपछि स्वर्ग गएका, सन्त घोषित व्यक्‍तिहरूलाई ख्रीष्टसँगको प्रार्थनामा आफ्नो निम्ति मध्यस्थ गर्न बिन्ती गर्नु बुद्धिमानी जस्तो देखियो।” परमेश्‍वरलाई येशूमार्फत सीधै प्रार्थना गर्ने सन्दर्भमा गरिएका यी चिन्ताहरू के जायज हुन्‌?

हामी प्रार्थनामा “साहस र दृढ भरोसा[सहित]” येशूमार्फत परमेश्‍वरको नजिक जान सक्छौं भनी बाइबलले सिकाउँछ। (एफिसी ३:११, १२, नयाँ संशोधित संस्करण) सर्वशक्‍तिमान्‌ परमेश्‍वर हाम्रो प्रार्थना नै सुन्‍न नसक्ने गरी हामीबाट टाढा हुनुहुन्‍न। भजनहार दाऊदले निर्धक्कसँग यसरी प्रार्थना गरे: “हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।” (भजन ६५:२) मृतक “सन्तहरूका” अवशेषमार्फत शक्‍ति प्रदान गर्नुको सट्टा यहोवाले विश्‍वाससाथ आफूसँग माग्नेहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ। येशूले यसरी तर्क गर्नुभयो: “तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:१३.

पवित्र जनहरूको भूमिका

पावलले पत्र लेखेका पवित्र जनहरू शताब्दीयौं अघि नै मरिसके अनि पछि गएर तिनीहरूले “जीवनको मुकुट” पाए अर्थात्‌ तिनीहरूको स्वर्गमा पुनरुत्थान भयो। (प्रकाश २:१०) यी साँचो सन्तहरूको श्रदा गर्नु धर्मशास्त्र विपरीत हो र यसले हामीलाई रोगबिमार, प्राकृतिक प्रकोप, आर्थिक अस्थिरता, वृद्धावस्था वा मृत्युबाट जोगाउन सक्दैनन्‌ भन्‍ने कुरा परमेश्‍वरका उपासकहरू महसुस गर्छन्‌। तसर्थ, तपाईं यस्ता प्रश्‍नहरू सोध्नु होला, ‘के परमेश्‍वरका पवित्र जनहरूले साँच्चै हाम्रो चिन्ता गर्छन्‌? के हामीले तिनीहरूले हाम्रो खातिर काम गरिदिएको आशा गर्नुहुन्छ?’

मुख्यतया दानियलले लिपिबद्ध गरेको एउटा भविष्यवाणीमा पवित्र जनहरूबारे उल्लेख गरिएको छ। सा.यु.पू. छैठौं शताब्दीमा तिनले एउटा रोमाञ्चक दर्शन देखे जसको पूर्ति आज हाम्रो समयमा समेत हुन्छ। मानिसजातिका वास्तविक आवश्‍यकताहरू पूरा गर्न नसक्ने मानव सरकारहरूलाई संकेत गर्ने चारवटा डरलाग्दा जन्तुहरू समुद्रबाट निस्के। त्यसपछि दानियलले यस्तो भविष्यवाणी गरे: “तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन्‌, र सदा सर्वदैको निम्ति त्यो कायम रहनेछ।”—दानियल ७:१७, १८.

पावलले स्वर्गमा ख्रीष्टसँगै उत्तराधिकारी हुन पाउने ‘पवित्र जनहरूको अधिकारबारे’ पुष्टि दिएका छन्‌। (एफिसी १:१८-२१) येशूको रगतले १,४४,००० पवित्र जनहरूको लागि स्वर्गीय महिमामा पुनरुत्थान हुने बाटो खोलिदियो। प्रेरित यूहन्‍नाले यस्तो घोषणा गरे: “पहिलो पुनरुत्थानमा भाग पाउने धन्य र पवित्र हो! यिनीहरूमाथि दोस्रो मृत्युको शक्‍ति हुँदैन तर तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।” (प्रकाश २०:४, ६; १४:१, ३) स्वर्गीय प्राणीहरूको समूहले महिमित येशूको सामने यसरी गीत गाएको दर्शन यूहन्‍नाले देखे: “तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्‍वरको निम्ति किन्‍नुभयो, औ तिनीहरूलाई हाम्रा परमेश्‍वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।” (प्रकाश ५:९, १०) कस्तो आश्‍वासनदायी कुरा! यी पुरुष तथा स्त्रीहरूलाई यहोवा आफैले होसियारपूर्वक छान्‍नुभएको हो। साथै, तिनीहरूले पृथ्वीमा छँदा मानिसहरूले अनुभव गर्ने हरेक समस्याहरूको सामना गर्दै विश्‍वासपूर्वक सेवा गरेका छन्‌। (१ कोरिन्थी १०:१३) त्यसकारण, पुनरुत्थान भएका यी पवित्र जनहरूले हाम्रा कमजोरी तथा सीमितताहरू बुझेर हामीमाथि कृपालु र सहानुभूतिशील ढंगमा शासन गर्ने छन्‌ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।

राज्य शासनअन्तर्गतका आशिष्‌हरू

पृथ्वीबाट सम्पूर्ण दुष्टता र दुःखकष्ट हटाउन यस राज्य सरकारले चाँडै कदम चाल्नेछ। त्यसबेला मानिसहरू पहिलेभन्दा अझ बढी यहोवाको नजिक हुनेछन्‌। यूहन्‍नाले यस्तो लेखे: “सिंहासनबाट यसो भन्‍ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ।’ ” यसले मानिसहरूमाथि वर्णन गर्नै नसकिने आशिष्‌हरू ल्याउनेछ किनभने भविष्यवाणी अझै यसो भन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

त्यो कस्तो खुसीको समय हुनेछ! येशू ख्रीष्ट तथा १,४४,००० पवित्र जनहरूको सिद्ध शासनको नतिजाबारे मीका ४:३, ४ मा लिपिबद्ध शब्दहरूले अझ यसरी वर्णन गर्छ: “[यहोवाले] धेरै जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढ़ा टाढ़ासम्मका सामर्थी जातिहरूको झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌। जाति जातिहरूले एका अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌, नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्‌। तर तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”

पवित्र जनहरूले यस्ता आशिष्‌हरूको लाभ उठाउने निमन्त्रणा दिन्छन्‌। दुलहीद्वारा चित्रण गरिएका साँचो सन्तहरूले यसो भन्‍न छोड्‌दैनन्‌: “आउनुहोस।” तिनीहरू अझै यसो भन्छन्‌: “औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।” (प्रकाश २२:१७) “जीवनको पानी[मा]” कुन-कुन कुराहरू समावेश छन्‌? अरू थुप्रै कुराहरूलगायत परमेश्‍वरको उद्देश्‍यहरूको सही ज्ञान। येशूले परमेश्‍वरलाई गर्नुभएको प्रार्थनामा यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) यो ज्ञान नियमित बाइबल अध्ययनद्वारा प्राप्त गर्न सकिन्छ। परमेश्‍वरको वचनद्वारा हामीले पवित्र जनहरूको साँचो चिनारी तथा उहाँले तिनीहरूलाई कसरी मानिसजातिको अनन्त भलाइको निम्ति चलाउनुहुन्छ भन्‍ने कुरा बुझ्न सकेकोमा हामी कत्ति खुसी हुन सक्छौं!

[पृष्ठ ४-मा भएको चित्र]

पावलले साँचो सन्तहरूलाई प्रेरित पत्रहरू लेखे

[पृष्ठ ५-मा भएको चित्र]

येशूका विश्‍वासी प्रेरितहरू साँचो सन्त वा पवित्र जनहरू भए

[पृष्ठ ६-मा भएको चित्र]

हामी येशू ख्रीष्टमार्फत परमेश्‍वरलाई निर्धक्कसँग प्रार्थना गर्न सक्छौं

[पृष्ठ ७-मा भएको चित्र]

पुनरुत्थान भएका सन्तहरू अर्थात्‌ पवित्र जनहरू पृथ्वीमाथि शासन गर्ने अनुकम्पापूर्ण शासकहरू हुने छन्‌