सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘आफैलाई तालिम दिनुहोस्‌’

‘आफैलाई तालिम दिनुहोस्‌’

‘आफैलाई तालिम दिनुहोस्‌’

साइटस, अलटियस, फोर्टियस — अर्थात्‌ छिटो, अग्लो, छरितो! पुरातन ग्रीस र रोमका खेलाडीहरू यही आदर्श कुराहरूको चाहना गर्थे। शताब्दीयौंसम्म ओलम्पिया, डेल्फी र निमा तथा कोरिन्थको इथिमसमा देवीदेवताहरूको “आशिष्‌” मागेर भव्यतासाथ खेलहरू सुरु गरिन्थ्यो र ती खेलहरू हेर्न हजारौं उत्सुक दर्शकहरू भेला हुन्थे। धेरै वर्ष अथक परिश्रम गरेपछि मात्र यी खेलहरूमा प्रतिस्पर्धा गर्ने सुअवसर मिल्थ्यो। विजयी भएको खण्डमा विजयी हुनेहरूको मात्र होइन तर तिनीहरूको गृहनगरको पनि मान-सम्मान बढ्‌नेथियो।

यस्तो सांस्कृतिक वातावरणमा मसीही युनानी धर्मशास्त्रका लेखकले मसीहीहरूको आध्यात्मिक दौडलाई खेलसँग तुलना गर्नु कुनै अचम्मलाग्दो कुरा होइन। शिक्षण कलाका शक्‍तिशाली बुँदाहरू बुझाउन प्रेरित पत्रुस र पावल दुवैले खेलसित सम्बन्धित उदाहरणहरू निपुणतासाथ प्रयोग गरे। हाम्रो समयमा पनि त्यस्तै मसीही दौड दौडिने काम निरन्तर भइरहेको छ। प्रथम शताब्दीका मसीहीहरूले यहूदी रीतिरिवाजको सामना गर्नुपरेको थियो भने, आज हामी पनि चाँडै विनाश हुन लागेको संसारको ‘नियमबमोजिम’ नचल्न होसियार हुनुपर्छ। (२ तिमोथी २:५; ३:१-५) कसै-कसैलाई आफ्नो व्यक्‍तिगत “विश्‍वासको दौड” कठिन र थकाइलाग्दो लाग्न सक्छ। (१ तिमोथी ६:१२) बाइबलमा खेलकुदसित तुलना गरिएका विवरणहरू केलाएर हेर्नु एकदमै लाभदायी साबित हुनेछ।

उत्कृष्ट प्रशिक्षक

खेलाडीको सफलता धेरै हदसम्म प्रशिक्षकमा भर पर्छ। पुरातन खेलहरूको सम्बन्धमा आर्क्योलोजिया ग्रिका यसो भन्छ: “खेलमा सहभागी हुनेहरूले पूरै दस महिना प्रशिक्षणमा बितायौं भनी शपथ लिनुपर्थ्यो।” मसीहीहरूलाई पनि कडा प्रशिक्षण चाहिन्छ। पावलले मसीही प्राचीन भइसकेका तिमोथीलाई यस्तो सल्लाह दिए: “आफैलाई भक्‍तिमा तालीम देऊ।” (१ तिमोथी ४:७, नयाँ संशोधित संस्करण) मसीही “खेलाडी”-को प्रशिक्षक को हो? अवश्‍य पनि यहोवा परमेश्‍वर नै हुनुहुन्छ! प्रेरित प्रत्रुसले यस्तो लेखे: “अनुग्रहको परमेश्‍वर[ले] . . . तिमीहरूलाईप्रशिक्षण दिनुहुनेछ, NW] स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।”—१ पत्रुस ५:१०.

थियोलोजिकल लेक्सिकन अफ द न्यु टेस्टामेन्ट-अनुसार युनानी क्रियापदबाट आएको ‘प्रशिक्षण दिनुहुनेछ’ भन्‍ने अभिव्यक्‍तिले मुख्यतया “यसको उद्देश्‍यको लागि कुनै कुरा [वा व्यक्‍तिलाई] योग्य बनाउनु, यसलाई तयार पार्नु र यसको प्रयोगको लागि ठीक-ठाक्क मिलाउनु” हो। त्यस्तै गरी, लिडल र स्कटको ग्रिक-इंग्लिस लेक्सिकन-ले यस क्रियालाई “तयार, प्रशिक्षण वा पूर्णतया सुसज्जित गराउनु” भनेर पनि व्याख्या गर्न सकिन्छ भनी टिप्पणी गर्छ। कठिन मसीही दौडको लागि यहोवाले हामीलाई कुन तरिकामा ‘तयार, प्रशिक्षण वा पूर्णतया सुसज्जित’ गराउनुहुन्छ? आउनुहोस्‌, यस तुलनालाई बुझ्न हामी प्रशिक्षकले अपनाउने केही तरिकाहरू जाँचौं।

दी ओलम्पिक गेम्स इन एन्सियन्ट ग्रीस नामक पुस्तक यसो भन्छ: “किशोर वा किशोरीलाई प्रशिक्षण दिने प्रशिक्षकले विशेष गरी दुई किसिमको तरिका अपनाउँथे। तीमध्ये पहिलो थियो, उत्कृष्ट नतिजाको लागि सकेसम्म शारीरिक तवरमा मेहनत गर्न विद्यार्थीलाई प्रोत्साहित गर्ने र दोस्रोचाहिं तिनको कला वा शैलीलाई तिखार्नु थियो।”

त्यसै गरी, हाम्रो क्षमताको चरम बिन्दुमा पुग्न र उहाँको सेवामा हाम्रो सीपलाई तिखार्न यहोवाले हामीलाई प्रोत्साहन दिनुका साथै बलियो पनि बनाउनुहुन्छ। हाम्रो परमेश्‍वरले बाइबल, उहाँको पार्थिव संगठन र परिपक्व सँगी मसीहीहरूद्वारा हामीलाई बल प्रदान गर्नुहुन्छ। कहिलेकाहीं उहाँ हामीलाई अनुशासनद्वारा पनि प्रशिक्षण दिनुहुन्छ। (हिब्रू १२:६) अरू बेलाचाहिं हामीले धीरज खेती गरोस्‌ भनेर उहाँ हामीमाथि विभिन्‍न किसिमका परीक्षा तथा कठिनाइहरू आइपर्न दिनुहुन्छ। (याकूब १:२-४) अनि उहाँले आवश्‍यक बल पनि दिनुहुन्छ। अगमवक्‍ता यशैया यसो भन्छन्‌: “परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्‌। तिनीहरू चीलझैं उँभो उभो उढ्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंहेर जानेछन्‌, तर क्लान्त हुनेछैनन्‌।”—यशैया ४०:३१.

सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवाले हामीलाई उहाँको पवित्र आत्मा प्रशस्त दिनुहुन्छ जसले उहाँलाई ग्रहणयोग्य सेवा निरन्तर चढाइरहन हामीलाई बलियो बनाउँछ। (लूका ११:१३) थुप्रै अवस्थाहरूमा परमेश्‍वरका सेवकहरूले विश्‍वासका कठिन परीक्षाहरू लामो समयसम्म सहेका छन्‌। ती परीक्षाहरू सहने मानिसहरू हामीजस्तै साधारण पुरुष तथा स्त्रीहरू हुन्‌। तर परमेश्‍वरमाथिको पूर्ण भरोसाले उनीहरूलाई सहन सक्षम बनाएको छ। साँच्चै, ‘असामान्य शक्‍ति हामीबाट होइन तर परमेश्‍वरको हो।’—२ कोरिन्थी ४:७, NW.

सहानुभूतिशील प्रशिक्षक

पुरातन प्रशिक्षकले गर्नुपर्ने कामहरूमध्ये एउटा, “कुनै खास खेलको लागि खेलाडीले कस्तो प्रकारको व्यायाम कति चोटि गर्नुपर्छ भनी निधो गर्नुपर्थ्यो” भनी एक जना शास्त्रज्ञ बताउँछन्‌। परमेश्‍वरले हामीलाई प्रशिक्षण दिनुहुँदा उहाँले हामी प्रत्येकको परिस्थिति, क्षमता, बनावट र सीमितताहरूलाई पनि ध्यानमा राख्नुहुन्छ। यहोवाले हामीलाई प्रशिक्षण दिनुहुँदा हामी पनि उहाँलाई अय्यूबले जस्तै यस्तो बिन्ती गर्छौं: “यो कुरा सम्झनुहोस्‌ कि तपाईंलेनै मलाई माटोलाई झैं आकार दिनुभयो।” (अय्यूब १०:९, नयाँ संशोधित संस्करण) हाम्रा सहानुभूतिशील प्रशिक्षक कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? यहोवाबारे दाऊद यस्तो लेख्छन्‌: “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।”—भजन १०३:१४.

गम्भीर स्वास्थ्य समस्याको कारण तपाईंले सेवकाईमा चाहेजति गर्न नसकिरहनुभएको होला वा आफूमा आत्मसम्मानको कमी भएको महसुस गरिरहनुभएको होला। हुनसक्छ, तपाईंले कुलत त्याग्ने प्रयास गरिरहनुभएको होला वा छरछिमेक, काम गर्ने ठाउँ अथवा स्कूलमा साथीहरूको दबाउ सामना गर्न आफू असक्षम भएको महसुस गर्नुभएको होला। तपाईंको परिस्थिति जस्तोसुकै भए तापनि अरूले भन्दा यहोवाले तपाईंलगायत तपाईंका समस्याहरू राम्ररी बुझ्नुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌! तपाईं उहाँको नजिक हुनुभयो भने, सजग प्रशिक्षकको हैसियतमा तपाईंलाई मदत गर्न उहाँ सधैं तयार हुनुहुन्छ।—याकूब ४:८.

पुरातन प्रशिक्षकहरूले “व्यायामले गर्दा भएको थकाइ वा कमजोरी र अन्य मनोवैज्ञानिक कारणहरू, नराम्रो व्यवहार तथा निराशा आदिले गर्दा भएको थकाइ वा कमजोरी सजिलै छुट्याउन सक्थे। . . . [प्रशिक्षकको] अधिकार यतिसम्म हुन्थ्यो कि तिनीहरूले खेलाडीहरूको निजी जीवनमा समेत के-कस्तो भइरहेको छ भनेर बुझ्न सक्थे र हस्तक्षेप गर्नुपर्ने जस्तो देखिएको परिस्थितिमा हस्तक्षेप पनि गर्थे।”

के तपाईं कहिलेकाहीं यस संसारबाट आउने निरन्तर दबाउ तथा प्रलोभनहरूले गर्दा थकित वा कमजोर भएको महसुस गर्नुहुन्छ? तपाईंको प्रशिक्षकको हैसियतमा यहोवा तपाईंको गहिरो चासो राख्नुहुन्छ। (१ पत्रुस ५:७) तपाईंमा कुनै आध्यात्मिक कमजोरी वा थकानका लक्षणहरू देखियो भने, उहाँले त्यो तुरुन्त थाह पाइहाल्नुहुन्छ। यहोवाले हाम्रो स्वतन्त्र इच्छा र व्यक्‍तिगत छनौटको कदर गर्नुभए तापनि हाम्रो अनन्त भलाइको खातिर चाहेको खण्डमा उहाँले प्रचुर मदत अनि सुधारको पनि प्रबन्ध गर्नुहुन्छ। (यशैया ३०:२१) कसरी? बाइबल तथा बाइबल आधारित प्रकाशन, मण्डलीका आध्यात्मिक प्राचीनहरू र हाम्रो मायालु भ्रातृत्वमार्फत।

“सब विषयमा संयमी”

निस्सन्देह, असल प्रशिक्षक भएर मात्र पुग्दैनथ्यो। थुप्रै कुरा खेलाडी आफैमा र प्रशिक्षणको दौडान ऊ त्यसमा कत्तिको समर्पित थियो, त्यसमा पनि भर पर्थ्यो। व्यायाम आदिका नियमहरू अत्यन्तै कडा हुन्थे किनकि प्रशिक्षणमा जाँडरक्सी र यौनसम्पर्क निषेध गरिएको थियो भने, परहेजी हुनु पनि उत्तिकै जरुरी थियो। सा.यु.पू. प्रथम शताब्दीका कवि होरेसले सहभागीहरू “उत्कट इच्छा गरेको लक्ष्यसम्म पुग्न स्त्री तथा दाखमद्यदेखि टाढा बस्थे” भने। अनि बाइबल शास्त्रज्ञ एफ. सि. कुकका अनुसार खेलकुदमा भाग लिनेहरू “दस महिनासम्म आत्मसंयम [र] खानेकुरामा बडो होसियार हुनुपर्थ्यो।”

नजिकैको इस्मीयन खेलसित चिरपरिचित कोरिन्थ शहरका मसीहीहरूलाई पत्र लेख्दा पावलले यस्तो समानता चलाए: “खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ।” (१ कोरिन्थी ९:२५) साँचो मसीहीहरूले संसारका भौतिक, अनैतिक र अशुद्ध जीवनशैली त्याग्छन्‌। (एफिसी ५:३-५; १ यूहन्‍ना २:१५-१७) अभक्‍त अनि धर्मशास्त्र विपरीत स्वभावलाई ख्रीष्टका जस्ता गुणहरूद्वारा हटाउनै पर्छ।—कलस्सी ३:९, १०, १२.

यो कसरी गर्न सकिन्छ? एउटा कुरा त, सशक्‍त उदाहरणद्वारा पावल कस्तो जवाफ दिन्छ याद गर्नुहोस्‌: “म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।”—१ कोरिन्थी ९:२७.

पावलले यहाँ कस्तो सशक्‍त कुरा गरे! तिनले शारीरिक तवरमा आफूलाई सन्ताप दिनुपर्छ भनिरहेका थिएनन्‌। बरु, तिनले आफैमा पनि आन्तरिक द्वन्द्व भएको कुरा स्वीकारे। कहिलेकाहीं, आफूले इच्छा नगरेको कुरा जे छ त्यही तिनले गरे र आफूले इच्छा गरेको कुरा जे छ, त्योचाहिं तिनले गरेनन्‌। तर आफ्नो कमजोरीको वशमा नपर्न तिनले ठूलो संघर्ष गरे। शारीरिक अभिलाषा तथा स्वभावलाई वशमा राख्न दृढ प्रयास गरेर तिनले ‘आफ्नो शरीरलाई कुटे।’—रोमी ७:२१-२५.

सबै मसीहीहरूले यसै गर्नु आवश्‍यक छ। पहिला-पहिला व्यभिचार, मूर्तिपूजा, यौन अनैतिकता, चोरी इत्यादि कुरामा संलग्न कोरिन्थका कसै-कसैले गरेका परिवर्तनहरूबारे पावलले बताए। के कारणले गर्दा तिनीहरूले यस्तो परिवर्तन गर्न सके? परमेश्‍वरको वचनको शक्‍ति र पवित्र आत्मलगायत परिवर्तन गर्ने तिनीहरूको दृढ संकल्पले। पावलले यसो भने: “तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्‍वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।” (१ कोरिन्थी ६:९-११) पत्रुसले पनि यस्तै नराम्रा बानीबेहोरा छोड्‌नेहरूबारे लेखे। मसीहीहरूको हैसियतमा तिनीहरू सबैले साँच्चै परिवर्तनहरू गरेका थिए।—१ पत्रुस ४:३, ४.

लक्षित प्रयास

आध्यात्मिक लक्ष्य प्राप्त गर्न आफ्नो एकाग्रचित्त र केन्द्रित मनबारे पावलले यसप्रकार वर्णन गरे: “म यसरी मुक्का लड्‌दछु, केवल हावामा हान्‍ने जस्तो होइन।” (१ कोरिन्थी ९:२६) प्रतियोगीले कसरी मुक्का प्रहार गर्छ? द लाइफ अफ द ग्रिक्स एण्ड रोमन्स भन्‍ने पुस्तक यस्तो उत्तर दिन्छ: “मुढे बल भएर मात्र केही हुँदैनथ्यो तर बलका साथसाथै प्रतिद्वन्द्वीको कमजोर पक्ष थाह पाउन सजग हुनु पनि उत्तिकै जरुरी हुन्थ्यो। कुस्ती खेल्न सिकाउने स्कूलहरूमा सिकेका कुनै-कुनै प्रहार र छिटो-छरितोपन पनि त्यतिकै महत्त्वपूर्ण थियो।”

हाम्रो असिद्ध शरीर पनि हाम्रो एउटा प्रतिद्वन्द्वी हो। हामीले हाम्रा व्यक्‍तिगत “कमजोरीहरू” चिन्‍न सकेका छौं? अरूले हामीलाई जुन नजरले हेर्छन्‌, विशेष गरी शैतानले हामीलाई जुन नजरले हेर्छ, के हामी आफूलाई पनि त्यही नजरले हेर्छौं? यसको लागि इमानदारीपूर्वक आत्म-परीक्षण गर्नुका साथै परिवर्तन गर्ने इच्छा हुनु आवश्‍यक छ। आफूले आफैलाई धोका दिन केही बेर लाग्दैन। (याकूब १:२२) आफूले गरेको मूर्ख काम सही हो भनी कारणहरू देखाउनु कत्ति सजिलो छ! (१ शमूएल १५:१३-१५, २०, २१) यसो गर्नु वा भन्‍नु ‘हावामा मुक्का हान्‍नु’ बराबर हो।

यस आखिरी दिनमा यहोवालाई प्रसन्‍न पार्न र जीवन चाहनेहरूले सही र गलतबीच, परमेश्‍वरको संगठन र भ्रष्ट संसारबीच सही छनौट गर्न हिचकिचाउनु हुँदैन। तिनीहरू ‘दोहोरो मन भएको, सबै चाल-चलनमा चञ्चल’ नहुन होसियार हुनै पर्छ। (याकूब १:८) व्यर्थको कुरा प्राप्त गर्ने धुनमा तिनीहरूले आफ्नो मेहनत खेर फाल्नु हुँदैन। कुनै व्यक्‍तिले इमानदारसाथ तनमनले यो मार्ग पछ्याउँदा ऊ आनन्दित हुनुका साथै उसको ‘प्रगति सबैमा प्रकट हुनेछ।’—१ तिमोथी ४:१५.

हो, मसीही दौड लगातार दौडिरहनुपर्छ। हाम्रा महान्‌ प्रशिक्षक, यहोवाले मायापूर्वक हामीलाई धीरज धारण गर्न र अन्तिम विजयको लागि आवश्‍यक निर्देशन तथा मदत दिनुहुन्छ। (यशैया ४८:१७) पुरातन समयका खेलाडीहरूले जस्तै हामीले पनि हाम्रो विश्‍वासको लडन्तमा आत्म-अनुशासन, आत्मसंयम र तनमनले कुनै पनि काम गर्ने बानी खेती गर्नु आवश्‍यक छ। हाम्रो लक्षित प्रयासको प्रचुर मात्रामा इनाम मिल्नेछ।—हिब्रू ११:६.

[पृष्ठ ३१-मा भएको पेटी]

‘त्यसलाई तेल घसिदेऊ’

पुरातन ग्रीसमा खेलाडीहरूलाई तेल घसिदिने व्यक्‍तिले नै खेलकुदसम्बन्धी केही प्रशिक्षण दिन्थे। तिनको काम व्यायाम गर्न लागेका मानिसहरूको जीउमा तेल खन्याउनु थियो। “प्रशिक्षण लिनुअघि राम्ररी मालिस गर्दा त्यसले लाभदायक असर पुऱ्‍याएको र लामो समयसम्म प्रशिक्षण लिइसकेपछि होसियारीसाथ, हल्कासँग बिस्तारै मालिस गर्दा त्यसले थकाइ कम गरेको र पुनः स्वस्थ हुन मदत गरेको” कुरा प्रशिक्षकहरूले याद गरे भनी दी ओलम्पिक गेम्स इन एन्सियन्ट ग्रीस बताउँछ।

जसरी जीउमा तेल घस्दा यसले आराम महसुस गराउनुका साथै उपचार वा निको पार्ने काम गर्छ, त्यसै गरी परमेश्‍वरको वचन प्रयोग गर्दा त्यसले थकित मसीही “खेलाडी”-लाई सुधार्छ, सान्त्वना दिन्छ र निको पार्छ। तसर्थ, यहोवाको डोऱ्‍याइमा मण्डलीका बूढा प्रधानलाई यस्ता मानिसहरूको लागि प्रार्थना गर्न सुझाउ दिइएको छ। लाक्षणिक अर्थमा भन्‍ने हो भने, ‘प्रभुको नाउँमा त्यस्ताहरूलाई तेल घस्नु’ भनेको आध्यात्मिक स्वास्थ्य लाभको लागि अत्यावश्‍यक कदम हो।—याकूब ५:१३-१५; भजन १४१:५.

[पृष्ठ ३१-मा भएको चित्र]

त्यागका साथसाथै दस महिना प्रशिक्षणमा बितायौं भनी खेलाडीहरूले शपथ लिनुपर्थ्यो

[स्रोत]

Musée du Louvre, Paris

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

Copyright British Museum