सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको सही ज्ञानमा सान्त्वना

परमेश्‍वरको सही ज्ञानमा सान्त्वना

परमेश्‍वरको सही ज्ञानमा सान्त्वना

परमेश्‍वरको प्रेमबारे बाइबलले बताएका कुराहरूले गर्दा कसै-कसैलाई धेरै प्रश्‍नहरूले पिरोलिरहेको छ। तिनीहरू यस्तो प्रश्‍न गर्छन्‌: परमेश्‍वर दुष्टता नामेट पार्न चाहनुहुन्छ; कसरी नामेट पार्ने त्यो उहाँलाई थाह छ अनि यसो गर्ने शक्‍ति पनि उहाँसित छ भने किन दुष्टता झन्‌-झन्‌ बढ्‌दैछ त? निम्न तीन बुँदाहरूको आपसी सम्बन्धलाई तिनीहरू बुझ्न सक्दैनन्‌: (१) परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ; (२) परमेश्‍वर मायालु र असल हुनुहुन्छ; अनि (३) विपत्तिजनक घटनाहरू एकपछि अर्को घट्‌दैछन्‌। तिनीहरू यस्तो तर्क गर्छन्‌, तेस्रो बुँदा अकाट्य साँचो भएको हुनाले बाँकी दुईमध्ये कुनै एक बुँदा पक्कै साँचो हुन सक्दैन। तिनीहरूको विचारमा या त परमेश्‍वरले दुष्टता रोक्न सक्नुभएको छैन या उहाँलाई यसप्रति कुनै चासो छैन।

न्यु योर्कमा विश्‍व व्यापार केन्द्रको विनाशको केही दिनपछि संयुक्‍त राज्य अमेरिकाका एक ख्यातिप्राप्त धार्मिक नेताले यसो भने: “परमेश्‍वरले विपत्ति अनि पीडा रहने अनुमति किन दिनुभयो . . . भन्‍ने प्रश्‍न मलाई थुप्रैले सयौं पटक सोधेका छन्‌। यो प्रश्‍नको जवाफ मलाई पटक्कै थाह नभएको अनि आफैले पनि चित्तबुझ्दो जवाफ नपाएको कुरालाई मैले स्वीकार्नै पर्छ।”

यस टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै एक जना धर्मदर्शनका प्राध्यापकले उक्‍त धार्मिक नेताले प्रचार गरेको “असल धर्मदर्शन”-बाट आफू प्रभावित भएको कुरा लेखे। उनले एक जना शास्त्रविद्‌को यस भनाइप्रति पनि सहमति जनाए: “दुःखकष्टलाई बुझ्न असम्भव भएझैं परमेश्‍वरलाई पनि बुझ्न असम्भव छ।” तर के परमेश्‍वरले दुष्टतालाई रहने अनुमति दिनुभएको कारण साँच्चै बुझ्न असम्भव छ त?

दुष्टताको सुरुआत

धार्मिक नेताहरूले जस्तै परमेश्‍वरले दुष्टतालाई रहने अनुमति दिनुभएको कुरा बुझी नसक्नु छ भनी बाइबलले बताउँदैन। दुष्टताबारे उठेको प्रश्‍नको जवाफको लागि परमेश्‍वरले दुष्ट संसार सृष्टि गर्नुभएको होइन भनेर बुझ्नु अत्यावश्‍यक छ। उहाँले प्रथम मानव जोडीलाई पापरहित अर्थात्‌ सिद्ध सृष्टि गर्नुभएको थियो। यहोवाले आफ्नो सृजनशील कार्यलाई हेर्नुभयो अनि त्यो “साह्रै राम्रो” पाउनुभयो। (उत्पत्ति १:२६, ३१) आदम र हव्वाको लागि उहाँको उद्देश्‍य उहाँको मायालु सार्वभौमिकताको अधीनमा रहेर अदनको बगैंचालाई सारा पृथ्वीभरि विस्तार गर्ने अनि त्यसलाई आनन्दित मानिसहरूद्वारा भर्ने थियो।—यशैया ४५:१८.

दुष्टता एक जना आत्मिक प्राणीद्वारा सुरु भयो। सुरुमा वफादार भए तापनि पछि उक्‍त व्यक्‍तिले अरूले आफ्नो उपासना गरोस्‌ भन्‍ने चाहना जगायो। (याकूब १:१४, १५) तिनले प्रथम मानव दम्पतीलाई आफूसितै परमेश्‍वरको विरोध गर्न उक्साएपछि तिनको विद्रोह पृथ्वीमा प्रकट भयो। असल र खराबको ज्ञान दिने रूखको फल नखानू र नछुनू भन्‍ने परमेश्‍वरको सुस्पष्ट निर्देशनप्रति आज्ञाकारी हुनुको साटो तिनीहरूले त्यस रूखको फल टिपेर खाए। (उत्पत्ति ३:१-६) यसो गरेर तिनीहरूले परमेश्‍वरको आज्ञा मात्र उल्लंघन गरेनन्‌ तर तिनीहरूले परमेश्‍वरबाट स्वतन्त्र हुने इच्छा पनि प्रकट गरे।

एउटा नैतिक विवाद खडा भयो

अदनको बगैंचाको यस विद्रोहले सारा विश्‍वलाई मुछ्‌ने एउटा नैतिक विवाद खडा गऱ्‍यो। आफ्नो सृष्टिमाथि यहोवाले उचित ढंगमा शासन गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरामा यस मानव विद्रोहले प्रश्‍न खडा गऱ्‍यो। के सृष्टिकर्तासित मानवजातिबाट पूर्ण आज्ञाकारीताको माग गर्ने अधिकार थियो? परमेश्‍वरबाट स्वतन्त्र भई जीवन बिताउँदा मानवजातिलाई अझ राम्रो पो हुन्थ्यो कि?

यहोवाले आफ्नो शासनबारे उठेको यस विवादको प्रेम, न्याय, बुद्धि अनि शक्‍ति जस्ता आफ्ना गुणहरू पूर्ण सन्तुलित ढंगमा प्रकट हुने गरी सामना गर्नुभयो। उहाँले आफ्नो शक्‍ति प्रयोग गरेर विद्रोहीहरूलाई तत्कालै नाश गर्न सक्नुहुन्थ्यो। परमेश्‍वरसित यसो गर्ने अधिकार भएकोले यसो गर्दा कुनै अन्याय हुने थिएन। तर यसो गर्दा खडा भएको नैतिक प्रश्‍नहरूको उत्तर आउने थिएन। अर्कोतिर, परमेश्‍वरले पापलाई बेवास्ता पनि गर्न सक्नुहुन्थ्यो। कसै-कसैलाई आज यसो गर्नु मायालु विकल्प लाग्नसक्ला। यद्यपि, यसो गर्दा मानिसजाति आफैले शासन गर्दा अझ राम्रो हुने थियो भन्‍ने शैतानको दाबीको उत्तर आउने थिएन। साथै, यसले अझै अरूलाई पनि परमेश्‍वरको मार्गबाट तर्कन उक्साउँदैन र? फलस्वरूप, दुःखकष्टको कहिल्यै अन्त हुने थिएन।

आफ्नो बुद्धि चलाउनु भएर यहोवाले मानवजातिलाई केही समयको लागि स्वतन्त्र हुने अनुमति दिनुभएको छ। यसो गर्दा दुष्टता केही समय रहने भए तापनि मानिसजातिले सही र गलतसम्बन्धी आफ्नै स्तरहरूअनुरूप चलेर परमेश्‍वरबाट स्वतन्त्र भई सफलतापूर्वक शासन गर्न सक्छ कि सक्दैन भनी प्रमाणित गर्न यसले मौका प्रदान गऱ्‍यो। परिणाम के भएको छ? मानव इतिहास एकपछि अर्को युद्ध, अन्याय, अत्याचार अनि पीडाले भरिएका छन्‌। यहोवा विरुद्ध गरिएको विद्रोह अन्ततः असफल हुँदा अदनमा उठेको विवाद सधैंका लागि सुल्झनेछ।

यसबीच परमेश्‍वरले आफ्नो पुत्र येशू ख्रीष्ट दिनुभएर प्रेम प्रदर्शन गर्नुभएको छ जसले आफ्नो मानव शरीर छुडौतीको बलिदानको रूपमा अर्पण गर्नुभयो। यसले आज्ञाकारी मानवजातिलाई आदमको अनाज्ञाकारिताले ल्याएको पाप अनि मृत्युको दोषबाट मुक्‍त हुन मदत गर्छ। येशूमा विश्‍वास गर्ने सबैको लागि छुटकाराको मोलले अनन्त जीवनको बाटो खोलेको छ।—यूहन्‍ना ३:१६.

हामीसित मानव पीडा केही समयको लागि मात्र रहन्छ भन्‍ने यहोवाको सान्त्वनादायी आश्‍वासन छ। भजन रचयिताले यस्तो लेखे, “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

सुरक्षित अनि आनन्दित भविष्य

बाइबल भविष्यवाणीहरूको पूर्तिले, परमेश्‍वरले रोग, पीडा अनि मृत्युको अन्त गर्नुहुने समय नजिकै छ भनेर देखाउँछ। प्रेरित यूहन्‍नालाई दर्शनमा दिइएको भविष्यमा हुने कुराहरूको अद्‌भुत पूर्वझलकलाई ध्यान दिनुहोस्‌। उनले यस्तो लेखे: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले, समुद्र ता अब रहँदैरहेनछ। . . . औ परमेश्‍वर आफै [मानिसजातिसँग] भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” यी प्रतिज्ञाहरूको सत्यतालाई जोड दिन यूहन्‍नालाई यस्तो अभिव्यक्‍ति लेख्न लगाइयो, “लेख, किनकि यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।”—प्रकाश २१:१-५.

अदनको बगैंचामा विद्रोह भएदेखि यता मरेका करोडौं निर्दोष मानिसहरूलाई के हुनेछ? अहिले मृत्युको चिरनिद्रामा परेका मानिसहरूलाई उहाँले जीवन दिनुहुनेछ भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। प्रेरित पावलले यसो भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।” (प्रेरित २४:१५) यिनीहरूको “धार्मिकताले बास” गर्ने पृथ्वीमा जीवन बिताउने प्रत्याशा हुनेछ।—२ पत्रुस ३:१३.

जसरी एक जना मायालु पिताले बच्चाको हितलाई ध्यानमा राखेर कष्टदायी शल्यक्रिया गर्न अनुमति दिन्छ, त्यसरी नै यहोवाले पृथ्वीमा मानिसजातिलाई केही समय दुष्टता अनुभव गर्ने अनुमति दिनुभएको छ। हो, परमेश्‍वरको इच्छा गर्न खोज्नेहरूलाई अनन्तकालीन आशिष्‌हरूले पर्खिरहेको छ। पावलले यसरी व्याख्या गरे: “किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्‍यो। यसै आशामा, कि परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:२०, २१.

यो हामीले टेलिभिजनमा हेर्ने अनि अखबारमा पढ्‌ने समाचारजस्तो नभई साँच्चैको सुसमाचार हो। यो हाम्रो साँच्चै ख्याल राख्नुहुने “सान्त्वनाका परमेश्‍वर[बाट]” आएको सर्वोत्तम समाचार हो।—२ कोरिन्थी १:३.

[पृष्ठ ६-मा भएका चित्रहरू]

परमेश्‍वरबाट स्वतन्त्र भई मानिसहरूले स्वयम्‌लाई शासन गर्न सक्दैन भन्‍ने कुरा समयले देखाएको छ

[स्रोत]

Somalian family: UN PHOTO 159849/M. GRANT; atom bomb: USAF photo; concentration camp: U.S. National Archives photo