सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्धपछिको विस्तारमा भाग लिने मूल्यवान्‌ सुअवसर

युद्धपछिको विस्तारमा भाग लिने मूल्यवान्‌ सुअवसर

जीवनी

युद्धपछिको विस्तारमा भाग लिने मूल्यवान्‌ सुअवसर

फिलिप एस. हफ्मनको वृत्तान्तमा आधारित

मे १९४५ मा भर्खरै दोस्रो विश्‍वयुद्धको अन्त भएको थियो। त्यस वर्षको डिसेम्बर महिनामा, यहोवाका साक्षीहरूको विश्‍वव्यापी प्रचार कार्यको रेखदेख गरिरहेका नेथन एच. नोर आफ्ना २५ वर्षीय सचिव मिल्टन जि. हेन्सेलका साथ डेनमार्क आउनुभयो। उक्‍त बहुप्रतिक्षित भ्रमणको लागि एउटा ठूलो हल भाडामा लिइएको थियो। हामी जवानहरूका लागि भाइ हेन्सेलको भाषण विशेष गरी उत्साहजनक थियो किनभने उहाँ हाम्रै उमेरको हुनुहुन्थ्यो अनि उहाँले आफ्नो भाषणको विषय पनि यस्तो राख्नुभएको थियो: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।”—उपदेशक १२:१.

त्यस भ्रमणको दौडान, हामीले विश्‍वव्यापी प्रचार कार्यलाई अघि बढाउन भइरहेका थुप्रै रोमाञ्चकारी कामहरूबारे थाह पाउनुका साथै हामीले पनि त्यसमा भाग लिन सक्छौं भन्‍ने कुरा बुझ्यौं। (मत्ती २४:१४) उदाहरणका लागि, जवान पुरुष तथा स्त्रीहरूलाई मिसनरी कार्यका लागि प्रशिक्षण दिन संयुक्‍त राज्य अमेरिकामा एउटा नयाँ स्कूल खोलिएको थियो। हामी त्यहाँ आमन्त्रित भयौं भने हामीले “एकतर्फी टिकट” मात्र पाउनेछौं र हामी जहाँसुकै पनि खटाइन सक्नेछौं भनी भाइ नोरले बताउनुभयो। तैपनि हामीमध्ये कोही-कोहीले निवेदन दियौं

दोस्रो विश्‍वयुद्धपछिका मेरा अनुभवहरूबारे बताउनुभन्दा पहिले, म मेरो जन्म भएको समय अथवा सन्‌ १९१९ देखिकै कुराहरू बताउन सुरु गर्छु। युद्धअघि र युद्धको दौडान मेरो जीवनमा गहिरो प्रभाव पार्ने थुप्रै घटनाहरू भए।

समाजमा नमिल्ने भनिएको व्यक्‍तिबाट बाइबल सच्चाइ

म पहिलो सन्तानको रूपमा मेरी आमाको गर्भमा छँदै, उहाँले छोरा जन्मिएमा पछि मिसनरी होस्‌ भनेर प्रार्थना गर्नुभएको थियो। उहाँको भाइ त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने यहोवाको साक्षी हुनुहुन्थ्यो। तर परिवारका अरू सदस्यहरूले भने उहाँलाई समाजमा नमिल्ने व्यक्‍ति भन्थे। हाम्रो घर कोपन्हेगन नजिकै थियो र त्यहाँ बाइबल स्टुडेन्ट्‌सहरूको वार्षिक सम्मेलन हुँदा आमाले टाढाबाट आउनुभएको थोमस मामालाई हाम्रै घरमा बस्न बोलाउनुहुन्थ्यो। उहाँमा भएको बाइबलसम्बन्धी अद्‌भुत ज्ञान तथा युक्‍तिसंगत तर्कको कारण सन्‌ १९३० सम्ममा मेरी आमा पनि बाइबल स्टुडेन्ट बन्‍न राजी भइसक्नुभएको थियो।

आमालाई बाइबल असाध्यै मन पर्थ्यो। व्यवस्था ६:७ मा दिइएको सल्लाह पालन गर्दै उहाँले मेरी बहिनी र मलाई ‘घरमा बस्दा, बाटोमा हिंड्‌दा, ढल्केर बस्दा र उठ्‌दा’ सिकाउनुभयो। पछि, मैले पनि घर-घरको प्रचारमा भाग लिन थालें। मलाई चर्चहरूले सिकाउने अमर आत्मा तथा नरकको आगोजस्ता विषयहरूमा छलफल गर्न मन पर्थ्यो। म यस्ता शिक्षाहरू गलत हुन्‌ भनी बाइबल खोलेर प्रभावकारी तरिकामा देखाउन सक्थें।—भजन १४६:३, ४; उपदेशक ९:५, १०; इजकिएल १८:४.

हाम्रो परिवार एकताबद्ध भयो

सन्‌ १९३७ मा कोपन्हेगनमा भएको अधिवेशनपछि, यहोवाका साक्षीहरूको डेनमार्क शाखा कार्यालयको साहित्य भण्डारमा अस्थायी रूपमा थप मदत चाहिएको थियो। मैले भर्खर मात्र व्यावसायिक कलेजमा आफ्नो अध्ययन पूरा गर्नुका साथै परिवारप्रति मेरो कुनै खास दायित्व नभएकोले मैले उक्‍त भण्डारमा मदत गरें। भण्डारमा काम पूरा भएपछि मलाई शाखा कार्यालयमै काम गर्न आग्रह गरियो। बप्तिस्मा नै नलिएको भए तापनि त्यसपछि चाँडै घर छोडेर म कोपन्हेगनको शाखामा काम गर्न थालें। परिपक्व मसीहीहरूसँगको दैनिक संगतिले मलाई आध्यात्मिक तवरमा प्रगति गर्न मदत गऱ्‍यो। यसको एक वर्षपछि, जनवरी १, १९३८ मा मैले पानीको बप्तिस्माद्वारा यहोवा परमेश्‍वरप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ।

सेप्टेम्बर १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु भयो। त्यसपछि, अप्रिल ९, १९४० मा जर्मन सेनाले डेनमार्क कब्जा गऱ्‍यो। डेनिसहरूलाई केही हदसम्म व्यक्‍तिगत स्वतन्त्रता दिइएकोले हामीले प्रचार कार्यमा भाग लिइरहन सक्यौं।

यस समयमा एउटा अत्यन्तै राम्रो कुरा भयो। बुबा पनि सक्रिय, वफादार साक्षी बन्‍नुहुँदा हाम्रो पारिवारिक आनन्दले पूर्णता पायो। त्यसकारण, अरू चार जना डेनिसहरूलगायत मैले गिलियड स्कूलको आठौं कक्षामा उपस्थित हुने निमन्त्रणा पाउँदा मेरो पूरै परिवारले मलाई समर्थन गऱ्‍यो। सेप्टेम्बर १९४६ मा सुरु भएको पाँच महिने स्कूल पाठ्यक्रम न्यु योर्क शहरको बाहिरी भागमा अवस्थित सुन्दर क्याम्पसमा सञ्चालन गरिएको थियो।

गिलियड र गिलियडपछिको प्रशिक्षण

गिलियडमा नयाँ-नयाँ राम्रा साथीहरू बनाउने मौका पाइयो। एक साँझ इंग्ल्याण्डबाट आएका ह्‍यारोल्ड किंगसँग क्याम्पस वरपर टहल्दै प्रशिक्षण सकिएपछि हामीलाई कहाँ खटाइन्छ होला भन्‍नेबारे कुराकानी गऱ्‍यौं। “मैले अब [दक्षिणी इंग्ल्याण्डको] डोभरका डाँडाहरू हतपती देख्न पाउँदिन होला” ह्‍यारोल्डले भने। हो, तिनी ठीकै भन्दै थिए; सत्र वर्षपछि मात्र तिनले फेरि ती डाँडाहरू देख्न पाए। अनि तिनले साढेचार वर्ष त चीनको झ्यालखानाको एकान्त कारावासमा बिताए! a

हाम्रो स्नातकपछि मलाई यहोवाका साक्षीहरूको मण्डलीहरूलाई आध्यात्मिक तवरमा मदत गर्न परिभ्रमण निरीक्षकको रूपमा सं.रा.अ.-को टेक्सस पठाइयो। मैले त्यहाँ न्यानो स्वागत पाएँ। भर्खरै गिलियड स्कूलमा भाग लिएको मजस्तो युरोपियन केटोसँग भेट्‌न पाउनु टेक्ससका भाइहरूको लागि नौलो अनुभव थियो। तर त्यहाँ सात महिना मात्र के बिताएको थिएँ, मलाई ब्रूक्लिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा बोलाइयो। त्यहाँ मलाई भाइ नोरले कार्यालयको काममा खटाउनुका साथै सबै विभागहरूमा गरिने कामकुराहरू सिक्ने निर्देशन दिनुभयो। अनि, डेनमार्क फर्किएपछि मैले सिकेका कुराहरू लागू गरेर सबै कामहरू ब्रूक्लिनमा जस्तै गरी गर्नुपर्ने थियो। यसो गर्नुको कारण संसारभरिका शाखाहरूको काम एकैनासे गरेर दक्षता वृद्धि गर्नु थियो। पछि, भाइ नोरले मलाई जर्मनी सरुवा गर्नुभयो।

निर्देशनहरू शाखाहरूमा प्रयोगमा ल्याउँदै

जुलाई १९४९ मा म जर्मनीको वाइसबाडेन आइपुग्दा, थुप्रै जर्मन शहरहरूको भग्नावशेष मात्र बाँकी थियो। सन्‌ १९३३ मा हिटलर सत्तामा आएदेखि सतावट भोगेका व्यक्‍तिहरूले प्रचार कार्यमा नेतृत्व लिइरहेका थिए। कोही-कोही आठ-दस वर्ष वा सोभन्दा पनि बढी समयसम्म झ्यालखाना वा यातना शिविरमा परेका थिए! मैले यहोवाका यस्ता सेवकहरूसित साढेतीन वर्ष काम गरें। तिनीहरूको अनुपम उदाहरणले मलाई जर्मन इतिहासकार गब्रिएल योनानको टिप्पणीको सम्झना गराउँछ, जसले यसो भनिन्‌: “राष्ट्रिय समाजवादी तानाशाहसामु मसीही समूह दृढ रहेको उदाहरण नभएको भए, अस्वीच तथा होलोकस्टको बेला ख्रीष्टका सबै शिक्षाहरूअनुसार चल्न सकिन्छ कि सकिंदैन भन्‍ने कुरामा शंकै हुनेथियो।”

यहाँको शाखामा पनि मैले गर्नुपर्ने काम डेनमार्कमा गरेजस्तै थियो: संगठनात्मक कामकुराहरू सञ्चालन गर्न नयाँ अनि एकनासको तरिका आरम्भ गर्ने। जर्मन भाइहरूले यस्तो छाँटकाँट गर्नुको अर्थ तिनीहरूले गरेको कामकुराको आलोचना गरेको होइन तर विभिन्‍न शाखाहरू तथा मुख्यालयबीच समन्वय कायम गर्ने समय आएको छ भन्‍ने कुरा बुझेर तिनीहरू उत्साहित भए अनि सहयोगको भावनाले उत्प्रेरित भए।

सन्‌ १९५२ मा मैले भाइ नोरको कार्यालयबाट स्वीट्‌जरल्याण्डको बर्न शाखा कार्यालय जाने निर्देशन सहितको पत्र पाएँ। मलाई, त्यहाँ जनवरी १, १९५३ देखि शाखा निरीक्षकको रूपमा सेवा गर्न खटाइएको थियो।

स्वीट्‌जरल्याण्डमा थप रमाइला अनुभवहरू

स्वीट्‌जरल्याण्ड आइपुगेको केही समयपछि नै एउटा अधिवेशनको दौडान एस्तरसँग मेरो भेट भयो र चाँडै हाम्रो मगनी भयो। अगस्त १९५४ मा भाइ नोरले मलाई ब्रूक्लिन आउने निर्देशन दिनुभयो। त्यहाँ पुगेपछि मलाई एउटा नयाँ अनि रोमाञ्चकारी कामबारे जानकारी दिइयो। संसारभरि शाखा कार्यालयहरूको संख्या एकदमै बढेकोले एउटा नयाँ प्रबन्ध लागू गरिनेवाला थियो। संसारलाई प्रान्तहरूमा विभाजन गरियो र हरेक प्रान्तहरूमा एक जना प्रान्त निरीक्षकले सेवा गर्थे। मलाई यीमध्ये दुईटा प्रान्तहरूमा सेवा गर्न खटाइयो: यूरोप र भूमध्यसागर वरपरका इलाकाहरू।

ब्रूक्लिनमा केही समय बिताएपछि फेरि स्वीट्‌जरल्याण्ड फर्केर मैले प्रान्तको कामको लागि तयारी गरें। एस्तर र मेरो विवाह भयो अनि तिनले मसँगै स्वीट्‌जरल्याण्डको शाखा कार्यालयमा सेवा गर्न थालिन्‌। पहिलो यात्राको दौडान म इटाली, ग्रीस, साइप्रस, मध्यपूर्वका देशहरू, उत्तरी अफ्रिकाको समुद्री तट छेउछाउ, स्पेन र पोर्चुगल गरी जम्मा १३ देशका मिसनरी घरहरू तथा शाखाहरूमा गएँ। एक पटक बर्न फर्किएपछि म फेरि सोभियत संघको अधीनमा रहेका देशहरूभन्दा पश्‍चिमतिर पर्ने अन्य युरोपेली देशहरूमा यात्रा गर्न थालें। हाम्रो विवाह भएको पहिलो वर्षमा, म हाम्रा मसीही भाइहरूको सेवा गर्न छ महिना घर बाहिरै थिएँ।

परिस्थितिमा परिवर्तन

सन्‌ १९५७ मा एस्तर गर्भवती भएको थाह लाग्यो अनि छोराछोरी भएका आमाबाबुहरू शाखा कार्यालयमा बस्न नमिल्ने हुनाले हामीले डेनमार्क फर्कने निधो गऱ्‍यौं जहाँ मेरो बुबाले हामीलाई उहाँसँगै बस्न बोलाउनुभयो। एस्तरले हाम्री छोरी राकेल र मेरो बुबा दुवैको हेरविचार गर्थिन्‌ भने मचाहिं भर्खरै निर्माण भएको शाखा कार्यालयको काममा मदत गर्थें। मैले मण्डलीका निरीक्षकहरूको लागि आयोजना गरिने राज्य सेवकाई स्कूलमा प्रशिक्षकको रूपमा सेवा गर्नुका साथै प्रान्त निरीक्षकको हैसियतमा पनि सेवा गरिरहें।

प्रान्तको काम गर्दा धेरैजसो समय घरदेखि टाढा रहनुपर्थ्यो। दुःखको कुरा, यसकारण मैले छोरीसँग लामो समयसम्म भेटघाट गर्न पाउँदिनथें। आखिर यसको नतिजा पनि देखिएरै छाड्यो। एक पटकको कुरा हो, पेरिसमा एउटा सानो छापाखाना स्थापना गर्न मैले त्यहाँ केही समय बिताउनुपऱ्‍यो। एस्तर र राकेल मलाई भेट्‌न रेल चढेर गार्‌ ड्यु नोर आइपुगे। शाखाका लोपोल झोन्टा र म तिनीहरूलाई भेट्‌न त्यहाँ गयौं। राकेलले रेलको डिब्बाको भऱ्‍याङमा उभिएर लोपोललाई हेरिन्‌, अनि मलाई हेरिन्‌, त्यसपछि फेरि लोपोललाई हेरिन्‌ अनि दौडिंदै गएर लोपोललाई अँगालो हालिन्‌!

मैले ४५ वर्षको उमेरमा परिवार पाल्न पूर्ण-समय सेवकाई छोड्‌नुपर्दा फेरि अर्को नाटकीय परिवर्तन भयो। यहोवाका साक्षीहरूको सेवकको हैसियतमा मेरो अनुभवको कारण मैले निर्यात प्रबन्धकको जागिर पाउन सकें। त्यस कम्पनीमा लगभग नौ वर्ष काम गरिसकेपछि र राकेलले पनि स्कूलको पढाइ सिध्याइसकेपछि हामीले राज्य प्रचारकहरूको बढी आवश्‍यकता भएको ठाउँमा सर्नको लागि दिइएको प्रोत्साहनअनुसारै गर्ने निर्णय गऱ्‍यौं।

नर्वेको आवश्‍यकतालाई विचार गर्दै मैले एउटा रोजगार कम्पनीसँग त्यहाँ जागिर पाइने सम्भावनाबारे सोधपूछ गरें। जवाफ त्यति प्रोत्साहनजनक थिएन। पचपन्‍न वर्षको मानिसले जागिर पाउने सम्भावना एकदमै कम थियो। तैपनि, मैले ओस्लोस्थित शाखा कार्यालयसँग सम्पर्क गरें र अवश्‍य पनि जागिर मिल्नेछ भन्‍ने विश्‍वास गरेर ड्रोबाक शहर नजिकै एउटा घर भाडामा लिएँ। नभन्दै एउटा जागिर मिल्यो र नर्वेमा राज्य सेवाबाट एकदमै आनन्द उठाउन सक्यौं।

हाम्रो मण्डलीका अधिकांश व्यक्‍तिहरू कसैलाई पनि नखटाइएको उत्तरी इलाकामा जाँदा एकदमै रमाइलो हुन्थ्यो। हामीले क्याम्पिङ क्षेत्रका स-साना घरहरू भाडामा लिन्थ्यौं र हरेक दिन मनमोहक हिमालहरूको काखमा छरिएर रहेका खेतहरूमा गएर मानिसहरूसँग कुरा गर्थ्यौं। यी मित्रैलो व्यक्‍तिहरूलाई परमेश्‍वरको राज्यबारे बताउन पाउनु बढो आनन्दको कुरा थियो। थुप्रै सहित्यहरू त प्रस्तुत गर्थ्यौं तर पुनःभेटको लागि भने फेरि अर्को वर्ष कुर्नुपर्थ्यो। तैपनि, मनिसहरूले हामीलाई सम्झिरहेका हुन्थे! एस्तर र राकेलले हामी फर्किएको समय र लामो समयसम्म छुटेको परिवारका सदस्यहरू जस्तै गरी अँगालो हालेको कुरा अझै सम्झन्छन्‌। नर्वेमा तीन वर्ष बसेपछि हामी डेनमार्क फर्क्यौं।

पारिवारिक जीवनका आनन्दहरू

चाँडै राकेलको मगनी जोसिलो पूर्ण-समय अग्रागामी सेवक निल्स होइओसँग भयो। विवाहपछि निल्स र राकेलले छोराछोरी नजन्मिउन्जेलसम्म अग्रगामी गरिरहे। निल्स आफ्नो परिवारको साँचो चासो लिने असल पति तथा पिता दुवै हुन्‌। एक दिन बिहान सखारै तिनले आफ्नो छोरालाई सूर्योदय हेर्न साइकल चढाएर समुद्र किनारतिर लगे। एक जना छिमेकीले तिनीहरूले त्यहाँ गएर के गरे भनी त्यस बच्चालाई सोधे। उसले यस्तो जवाफ दियो: “हामीले यहोवालाई प्रार्थना गऱ्‍यौं।”

केही वर्षपछि एस्तर र मैले हाम्रा दुई जना ठूला नाति र नातिनी बेन्जामिन तथा नाड्याले बप्तिस्मा लिएको पनि देख्न पायौं। दर्शकहरूमध्ये निल्स पनि एक जना थिए। तिनी एक्कासी मेरो अगाडि उभिएर मलाई हेर्दै यसो भने: “लोग्ने मान्छेहरू रूँदैनन्‌।” तर हामी भने त्यसको लगत्तै एकअर्कालाई अँगालो हालेर रोइरहेका थियौं। सुखदुःख बाँड्‌न सकिने यस्तो जुवाइँ पाउनु कत्ति खुसीको कुरा!

परिस्थितिअनुसार अझै छाँटकाँट गर्दै

एस्तर र मैले फेरि डेनमार्क शाखा कार्यालयमा सेवा गर्ने निमन्त्रणा पाउँदा हामीले अर्को आशिष्‌ पायौं। तथापि, त्यसबेला होल्बेकमा शाखा कार्यालयका लागि अझ ठूलो भवन बनाउने तयारी गरिंदै थियो। मैले स्वयम्‌सेवक कामदारहरूले गरेको यस निर्माण कार्यको सुपरिवेक्षण गर्ने सुअवसर पाएँ। कठाङ्‌ग्रिने जाडोको बावजूद यो परियोजना सन्‌ १९८२ को अन्तसम्ममा झण्डै-झण्डै सिद्धिसकेको थियो अनि अझ ठूलो र राम्रो भवनमा सर्न पाउँदा हामी सबै जना एकदमै खुसी थियौं!

चाँडै मैले कार्यालयको काम गर्न थालें जसबाट मैले थुप्रै सन्तुष्टिहरू प्राप्त गर्न सकें भने एस्तरले चाहिं टेलिफोन स्वीच बोर्ड सञ्चालिकाको रूपमा सेवा गर्न थालिन्‌। तथापि, पछि तिनको ढाडको शल्यक्रिया गर्नुपऱ्‍यो र साढेएक वर्षपछि फेरि तिनको पित्तथैलीको शल्यक्रिया गर्नुपऱ्‍यो। शाखाका कर्मचारीहरूले हामीप्रति मायालु चासो देखाएको भए तापनि शाखा छोड्‌नुमा नै सबैको भलाइ हुनेछ भन्‍ने निर्णय हामीले गऱ्‍यौं। हामी छोरी र तिनको परिवारले संगत गरिरहेको मण्डलीमा सऱ्‍यौं।

अहिले एस्तरको स्वास्थ्य त्यति राम्रो छैन। तथापि, हाम्रो सेवाको दौडान परिस्थितिहरूमा थुप्रै परिवर्तनहरू आए तापनि तिनी मेरो लागि अद्‌भुत सहायताको स्रोत तथा सहयोगी भएकी छिन्‌ भनी म निर्धक्कसाथ भन्‍न सक्छु। बिग्रँदै गएको स्वास्थ्यवस्थाको बावजूद हामी दुवैले अझ पनि प्रचार कार्यमा यथासक्दो भाग लिइरहेका छौं। आफ्नो जीवनलाई फर्केर हेर्दा म कृतज्ञतापूर्वक भजनहारका यी शब्दहरू सम्झन्छु: “हे परमेश्‍वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ।”—भजन ७१:१७.

[फुटनोट]

a द वाचटावर, जुलाई १५, १९६३, पृष्ठ ४३७-४२ हेर्नुहोस्‌।

[पृष्ठ २४-मा भएको चित्र]

निर्माणाधीन जर्मनी शाखामा सन्‌ १९४९ मा ढुवानी गरिएको साहित्य झार्दै

[पृष्ठ २५-मा भएको चित्र]

मेरा सहकर्मीहरूमा यातना शिविरबाट फर्केका यी साक्षीहरू पनि थिए

[पृष्ठ २६-मा भएका चित्रहरू]

एस्तरसँग अहिले र अक्टोबर १९५५ मा बर्न बेथेलमा हाम्रो विवाहको दिनमा