सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मसीहीहरू डाही हुनु उचित हो?

के मसीहीहरू डाही हुनु उचित हो?

के मसीहीहरू डाही हुनु उचित हो?

डाह— के यो मसीहीहरूले विकास गर्नुपर्ने गुण हो? मसीहीहरू भएको कारण हामीलाई “प्रेमको पछि लाग” भनी प्रोत्साहन दिइएको छ, अनि “प्रेमले डाह गर्दैन” भनिएको छ। (१ कोरिन्थी १३:४; १४:१) फेरि अर्को तर्फ, ‘परमप्रभु डाही परमेश्‍वर हुनुहुन्छ’ भन्‍नुका साथै हामीलाई “परमेश्‍वरका देखा-सिकि गर्नेहरू” हुनु भन्‍ने आज्ञा पनि दिइएको छ। (प्रस्थान ३४:१४; एफिसी ५:१) के यी भनाइहरू एकअर्कासित मेल नखाएको जस्तो देखिंदैन र?

बाइबलमा “डाह” भनेर अनुवाद गरिएका हिब्रू तथा युनानी शब्दहरूको विभिन्‍न अर्थ हुन सक्छ। यी शब्दहरू प्रयोग भएको तरिकाअनुसार यसको सकारात्मक तथा नकारात्मक दुवै अर्थ लाग्न सक्छ। उदाहरणका लागि, “डाह” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “ऐकान्तिक भक्‍तिमा अडिग; कुनै प्रतिद्वन्द्वलाई नसहनु; जोस; उत्साह; डाह [उचित वा अनुचित]; इर्ष्या” भन्‍ने अर्थ बुझाउन सक्छ। यससित समतुल्य युनानी शब्दको अर्थ पनि मिल्छ। यी शब्दहरूले शंकास्पद प्रतिद्वन्द्वी वा कुनै फाइदा उठाइरहेको जस्तो देखिने व्यक्‍तिप्रतिको टेढो वा विकृत भावनालाई संकेत गर्न सक्छ। (हितोपदेश २७:४) यी शब्दहरूले ईश्‍वरप्रदत्त सकारात्मक गुणहरू अर्थात्‌ प्रिय जनहरूलाई हानिबाट जोगाउने चाहनालाई पनि संकेत गर्न सक्छ।—२ कोरिन्थी ११:२.

सर्वोत्कृष्ट उदाहरण

यहोवाले उचित डाह देखाउने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण बसाल्नुहुन्छ। आफ्ना जनहरूलाई आध्यात्मिक तथा नैतिक भ्रष्टताबाट जोगाउने इच्छाद्वारा उत्प्रेरित भएको कारण उहाँका भित्री चाहनाहरू शुद्ध र सफा छन्‌। आफ्ना पुरातन जनहरूलाई लाक्षणिक सियोनको रूपमा संकेत गर्दै उहाँले यसो भन्‍नुभयो: “सियोनको निम्ति डाहले म डाही भएको छु। म त्यसको निम्ति क्रोधले साह्रै डाही भएको छु।” (जकरिया ८:२) एक जना मायालु बुबा आफ्नो बच्चालाई हानिबाट जोगाउन सदा सजग भएझैं, यहोवा आफ्ना सेवकहरूलाई शारीरिक तथा आध्यात्मिक खतराबाट जोगाउन सजग हुनुहुन्छ।

आफ्ना जनहरूलाई जोगाउन यहोवाले आफ्नो वचन, बाइबलको प्रबन्ध गर्नुभयो। यसले तिनीहरूलाई बुद्धिमानीपूर्वक चल्न प्रशस्त प्रोत्साहन दिनुका साथै बाइबलमा त्यसरी चलेका व्यक्‍तिहरूका प्रशस्त उदाहरणहरू पाइन्छन्‌। यशैया ४८:१७ मा हामी यस्तो लेखिएको पाउँछौं: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” उहाँको डाहले उहाँलाई हाम्रो ख्याल गर्न तथा रेखदेख गर्न उत्प्रेरित गर्छ भनी जान्‍न पाउनु कत्ति सान्त्वनादायी कुरा हो! उहाँ हामीप्रति उचित ढंगमा डाही नहुनुभएको भए हामीले थुप्रै प्रकारका दुःखहरू भोग्ने थियौं किनभने हामी अनुभवी छैनौं। यहोवाले कहिल्यै स्वार्थी ढंगमा डाह प्रदर्शन गर्नुहुन्‍न।

त्यसोभए, ईश्‍वरीय डाह तथा अनुचित डाहबीच कस्तो भिन्‍नता छ? यसको जवाफ पाउन हामी मरियम र पीनहासको उदाहरण विचार गरौं। तिनीहरूलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो विचार गर्नुहोस्‌।

मरियम र पीनहास

मरियम इस्राएलीहरूको प्रस्थानको दौडान नेतृत्व लिने मोशा अनि हारूनकी दिदी थिइन्‌। इस्राएलीहरू उजाड-स्थानमा हुँदा, मरियम आफ्नो भाइ मोशाप्रति डाही भइन्‌। बाइबल विवरण यसो भन्छ: “एउटी कूशी स्त्रीलाई मोशाले विवाह गरेका हुनाले मरियम र हारून तिनको विरुद्धमा बोल्नलागे . . . तिनीहरूले भने, ‘के परमप्रभु केवल मोशासँग मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीसित पनि कुरा गर्नुभएको छैन र?’ ” सायद मोशा विरुद्धको यो कदममा मरियम अग्रसर भएकी हुँदा यहोवाले यस अनादरपूर्ण कामको लागि एक हप्तासम्म कोरी हुने सजाय हारूनलाई होइन तर मरियमलाई दिनुभयो।—गन्ती १२:१-१५.

कुन कुराले गर्दा मरियम मोशाको विरोध गर्न उक्सिन्‌? के यो साँचो उपासनाप्रतिको चासो तथा सँगी इस्राएलीहरूलाई हानिबाट जोगाउने इच्छा थियो? पक्कै थिएन। मरियमले अझ बढी प्रतिष्ठा तथा अख्तियार पाउने अनुचित इच्छा आफ्नो हृदयमा खेलाइरहेकी थिइन्‌ जस्तो देखिन्छ। इस्राएलकी अगमवादिनी भएकी कारण तिनले मानिसहरूबाट र अझ विशेष गरी आइमाईहरूबाट ठूलो सम्मान पाएकी थिइन्‌। इस्राएलीहरू लाल समुद्रबाट चमत्कारपूर्ण ढंगमा बचेपछि तिनले नाचगान कार्यक्रममा नेतृत्व लिएकी थिइन्‌। तथापि, अहिले भने मरियमले मोशाकी पत्नीलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दै तिनी आफ्नो हैकम गुम्ने कुरामा अनावश्‍यक रूपमा चिन्तित भएकी हुन सक्छिन्‌। स्वार्थी डाहले उत्प्रेरित भएर तिनी यहोवाद्वारा नियुक्‍त मोशाको विरोध गर्न उक्सिन्‌।—प्रस्थान १५:१, २०, २१.

अर्को तर्फ, पीनहासले भने अर्कै अभिप्राय लिएर कदम चालेका थिए। प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुभन्दा केही समय अगाडि, इस्राएलीहरू मोआबको बेंसीमा पाल टाँगेर बसिरहेका बेला थुप्रै मोआबी तथा मिद्यानी आइमाईहरूले इस्राएली पुरुषहरूलाई अनैतिकता तथा मूर्तिपूजामा संलग्न हुन लोभ्याए। छाउनी सफा राख्न तथा यहोवाको दन्केको रिसलाई रोक्न इस्राएलका न्यायकर्ताहरूलाई सबै भ्रष्ट मानिसहरूलाई मार्ने आज्ञा दिइएको थियो। शिमोनको कुलको मुखिया जिम्रिले लाज पचाएर “इस्राएली समुदायकै सामने” मिद्यानी आइमाई कोजबीलाई अनैतिक कामको लागि छाउनीभित्र ल्याए। पीनहासले निर्णायक कदम चाले। डाह वा यहोवाको उपासनाप्रतिको जोसका साथै छाउनीको नैतिक शुद्धता कायम राख्ने इच्छाद्वारा उत्प्रेरित भएर तिनले ती व्यभिचारीहरूलाई तिनीहरूको पालभित्रै मारिदिए। यहोवाप्रतिको “कुनै प्रतिद्वन्द नसहने” तिनको ‘राँकिएको क्रोधको’ प्रशंसा गरियो। पीनहासले तुरुन्तै चालेको कदमले २४,००० व्यक्‍तिहरूको ज्यान लिइसकेको विपत्ति रोक्यो र यहोवाले तिनलाई इनाम स्वरूप तिनको वंशको पूजाहारी पद सधैंभरि रहिरहनेछ भन्‍ने करार दिनुभयो।—गन्ती २५:४-१३, NW.

डाह प्रदर्शनका यी दुई तरिकाहरूबीच के भिन्‍नता थियो? मरियमले स्वार्थी डाहको कारण आफ्नो भाइ विरुद्ध आवाज उठाइन्‌ भने, पीनहासले चाहिं ईश्‍वरीय डाहद्वारा उत्प्रेरित भएर न्याय प्रकट गरे। पीनहासले जस्तै हामीले पनि कहिलेकाहीं यहोवाको नाउँ, उहाँको उपासना र उहाँका जनहरूको खातिर बोल्न वा कदम चाल्न बाध्य महसुस गर्नुपर्छ।

गलत प्रकारको डाह

तथापि, के गलत वा अनुचित प्रकारको डाही भावना राख्न सम्भव छ? हो, सम्भव छ। प्रथम शताब्दीका यहूदीहरूको सन्दर्भमा यस्तै भएको थियो। हुन त, तिनीहरूको जोसले ईश्‍वरप्रदत्त व्यवस्था र तिनीहरूका परम्पराको जगेर्ना गऱ्‍यो। तर व्यवस्थाको संरक्षण गर्ने प्रयत्नमा तिनीहरूले सर्वसाधारणको लागि बोझ हुने तीनथुप्रो नियम अनि प्रतिबन्धहरू लगाए। (मत्ती २३:४) परमेश्‍वरले मोशाको व्यवस्थाद्वारा पूर्वचित्रण गर्नुभएको वास्तविक कुरा पूरा भइसक्यो भनी बुझ्न नसकेको वा बुझ्न नचाहेकोले गर्दा तिनीहरूमा उत्पन्‍न भएको गलत प्रकारको डाहले तिनीहरूलाई येशू ख्रीष्टका अनुयायीहरूमाथि अनियन्त्रित रिस पोख्न उक्सायो। कुनै समय व्यवस्थाप्रति अन्धाधुन्ध वफदार भएका प्रेरित पावलले, व्यवस्थाको संरक्षण गरिरहेका मानिसहरूसँग “परमेश्‍वरका निम्ति जोश त छ, तर समझअनुसारको होइन” भनी भने।—रोमी १०:२; गलाती १:१४.

मसीही बनिसकेका यहूदीहरूलाई समेत व्यवस्थाप्रतिको अनावश्‍यक जोस त्याग्न असाध्यै गाह्रो परेको थियो। आफ्नो तेस्रो मिसनरी यात्रापछि, पावलले प्रथम शताब्दीका मसीही मण्डलीहरूको परिचालक निकायसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमा धर्म परिवर्तन गरेका अन्यजातिहरूबारे बताए। त्यस बेला, हजारौं मसीही यहूदीहरू ‘व्यवस्थाका कुरामा जोसिला’ थिए। (प्रेरित २१:२०) यो कुरा परिचालक निकायले अन्यजातिका मसीहीहरूले खतना गर्नुपर्दैन भनेर बताएको निक्कै वर्षपछिको हो। यो व्यवस्था पालन गर्ने वा नगर्ने भन्‍ने विवादले मण्डलीमा कलह उत्पन्‍न गरिरहेको थियो। (प्रेरित १५:१, २, २८, २९; गलाती ४:९, १०; ५:७-१२) यहोवाले अहिले आफ्ना जनहरूसँग कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा पूर्णतया नबुझेका हुँदा केही यहूदी मसीहीहरूले आफ्नै विचारधारालाई जोड दिने अनि अरूको विचारधाराको चाहिं निन्दा गर्ने गरे।—कलस्सी २:१७; हिब्रू १०:१.

त्यसकारण, हामी पनि डाही हुँदै आफ्नै विचारधारालाई वा परमेश्‍वरको वचनमा आधारित नभएका कुराहरूलाई बढवा दिने पासोदेखि जोगिनुपर्छ। परमेश्‍वरले अहिले प्रयोग गरिरहनुभएको माध्यममार्फत परमेश्‍वरको वचनबारे प्राप्त भएको नवीनतम ज्योति स्वीकार्नुपर्छ।

यहोवाको लागि डाही हुनुहोस्‌

तथापि, ईश्‍वरीय डाहको साँचो उपासनामा महत्त्वपूर्ण भूमिका छ। आफ्नो प्रतिष्ठा वा अधिकारहरूप्रति अनावश्‍यक रूपमा चिन्तित हुनुको सट्टा ईश्‍वरीय डाहले हाम्रो ध्यान यहोवा परमेश्‍वरतर्फ खिच्छ। यसले हामीलाई उहाँका मार्ग तथा जनहरूको पक्षमा वकालत गर्दै उहाँबारे सच्चाइ बताउने मौकाहरू खोज्न उत्प्रेरित गर्छ।

रगतसम्बन्धी परमेश्‍वरको नियमबारे गलत धारणा भएकी एउटी घरधनीले यहोवाका साक्षीहरूको पूर्ण-समय सेविका आकिकोको कुरा सुन्‍न नमानी कडा आलोचना गरिन्‌। रक्‍तक्षेपण गर्दा उत्पन्‍न हुने चिकित्सासम्बन्धी जटिलता एंव समस्याहरूबारे समेत बताएर आकिकोले कौशलतापूर्वक परमेश्‍वरको वचनको पक्षमा बोलिन्‌। यहोवाबारे बताउने तीव्र इच्छाद्वारा उत्प्रेरित भएर, तिनले ती स्त्रीले विरोध जनाउनुको प्रमुख कारण अर्थात्‌ सृष्टिकर्ताको अस्तित्वबारे ती स्त्रीमा भएको विश्‍वासको कमीतर्फ आफ्नो कुरा मोडिन्‌। आकिकोले घरधनीसँग कुरा गर्दै सृष्टिका कुराहरूले सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा कसरी प्रमाणित गर्छ भनी तर्क गरिन्‌। तिनको साहसी कदमले ती स्त्रीमा भएको आधारहीन पूर्वाग्रह हटाउनुका साथै तिनीसँग गृह बाइबल अध्ययन पनि सुरु भयो। सुरुमा रिसाएकी त्यस घरधनी अहिले यहोवाको प्रशंसक भएकी छिन्‌।

साँचो उपासनाप्रतिको उचित डाह वा जोसले हामीलाई काम गर्ने ठाउँ, स्कूल, बजार तथा यात्राको दौडानमा अरूलाई हाम्रो विश्‍वासबारे बताउने अनि यसको पक्षमा बोल्ने मौका खोज्न चनाखो हुन लगाउँछ। उदाहरणका लागि, मिडोरीले आफ्नो विश्‍वासबारे सहकर्मीहरूलाई बताउने संकल्प गरेकी छिन्‌। चालीस वर्ष नाघिसकेकी तिनकी एक जना सहकर्मीले आफूलाई यहोवाका साक्षीहरूबारे पटक्कै चासो नभएको कुरा बताइन्‌। पछि, अर्को कुराकानीको दौडान ती आइमाईले आफ्नी छोरीसँग व्यवहार गर्न गाह्रो हुँदै गइरहेको दुःखेसो पोखिन्‌। मिडोरीले तिनलाई युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तक देखाइन्‌ र तिनकी छोरीसँग त्यस पुस्तकबाट अध्ययन गर्न प्रबन्ध मिलाउने प्रस्ताव राखिन्‌। a अध्ययन त सुरु भयो तर आमा भने त्यस छलफलमा सहभागी भइनन्‌। मिडोरीले ती आइमाईलाई जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेसन बिहाइन्ड द नेम भन्‍ने भिडियो देखाउने निर्णय गरिन्‌। b यसपछि तिनले आफ्ना थुप्रै गलत अड्‌कलहरूको सही जवाफ पाइन्‌। आफूले हेरेका कुराहरूबाट उत्प्रेरित भएर तिनले भनिन्‌: “म पनि यहोवाको साक्षी हुन चाहन्छु।” तिनी पनि आफ्नो छोरीसँगै बाइबल अध्ययनमा बस्न थालिन्‌।

मसीही मण्डलीमा पनि उचित डाहको महत्त्वपूर्ण भूमिका हुन्छ। यसले प्रेम र चासोको न्यानो भावना विकास गर्छ अनि हानिकारक निन्दोचर्चा तथा धर्मत्यागी झुकाउजस्ता हाम्रा आध्यात्मिक भाइहरूलाई हानि गर्ने विध्वंसात्मक प्रभावहरूको प्रतिरोध गर्न उत्प्रेरित गर्छ। गलत काम गर्ने व्यक्‍तिहरूलाई कहिलेकाहीं प्राचीनहरूले ताडना दिंदा, ईश्‍वरीय डाहले हामीलाई उक्‍त निर्णयको समर्थन गर्न उत्प्रेरित गर्छ। (१ कोरिन्थी ५:११-१३; १ तिमोथी ५:२०) कोरिन्थीको मण्डलीका सँगी विश्‍वासीहरूप्रतिको आफ्नो डाही भावनाबारे लेख्दै पावलले यसो भने: “ईश्‍वरीय डाहले म तिमीहरूमाथि डाही भएको छु, किनकि तिमीहरूलाई ख्रीष्टको निम्ति एउटी चोखी कन्याजस्तै गरी चढाउनालाई मैले तिमीहरूलाई एउटै पुरुषसँग मगनी गरिदिएको छु।” (२ कोरिन्थी ११:२) त्यसै गरी, हामीलाई पनि डाहले मण्डलीमा भएका सबैको सैद्धान्तिक, आध्यात्मिक र नैतिक शुद्धताको सुरक्षा गर्न उत्प्रेरित गर्छ।

हो, उचित कारणले उत्प्रेरित डाह अर्थात्‌ ईश्‍वरीय डाहले अरूको हित गर्छ। फलतः यहोवाको अनुमोदन प्राप्त हुन्छ र यो आज मसीहीहरूमा हुनुपर्ने अत्यावश्‍यक गुण पनि हो।—यूहन्‍ना २:१७.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ २९-मा भएका चित्रहरू]

पीनहासका कदमहरू ईश्‍वरीय डाहमा आधारित थिए

[पृष्ठ ३०-मा भएका चित्रहरू]

गलत प्रकारको डाहको पासोदेखि जोगिनुहोस्‌

[पृष्ठ ३१-मा भएका चित्रहरू]

ईश्‍वरीय डाहले हामीलाई आफ्नो विश्‍वासबारे बताउन तथा हाम्रो भ्रातृत्वको कदर गर्न उत्प्रेरित गर्छ