सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाल्कनमा हर्षोल्लासको समय

बाल्कनमा हर्षोल्लासको समय

बाल्कनमा हर्षोल्लासको समय

कुरा १९२२ तिरको हो। अष्ट्रियाको इन्सब्रुकमा पछि यहोवाका साक्षीहरूको नाउँले चिनिएका उत्साही बाइबल स्टुडेन्ट्‌सको सभा आयोजना गरिएको थियो। उक्‍त सभामा सर्बिया, भोजभोडिनास्थित अपाटिनबाट आएका फ्रान्ज ब्रान्ड नाउँ गरेका युवक श्रोता पनि थिए। वक्‍ताले परमेश्‍वरको नाउँ यहोवा भनेर बताएका मात्र के थिए, भीडले चर्को विरोध जनाउन थाल्यो, वक्‍ताले अगाडि बोल्न सकेनन्‌ र सभा भंग गरियो। तर त्यस सभामा फ्रान्जले जे सुने, त्यसले उनलाई निकै गहिरो प्रभाव पाऱ्‍यो। त्यसपछि उनी राज्यको सुसमाचार प्रचार गर्ने काममा जुटे। यो त एउटा बाल्कन देशमा भएको उत्साहजनक आध्यात्मिक वृद्धिको सानो सुरुवात मात्र थियो।

युगोस्लाभियाको नाउँ लिने बित्तिकै आज धेरैको मनमा युद्ध र रक्‍तपातको दृश्‍य आउँछ। बीभत्स हत्या, विचलित शरणार्थीहरू, ध्वस्त पारिएका घरहरू अनि निरीह टुहुराहरूको करुण दृश्‍य मानसपटलमा देखापर्छ। शान्ति अनि निश्‍चिन्त भविष्यको लागि मानव प्रयासका सारा आशालाई चकनाचूर पार्दै १९९१ देखि १९९५ सम्म बाल्कन पेनिनसुलालाई तहसनहस पार्ने युद्धले निम्त्याएको कटु शारीरिक अनि भावनात्मक पीडा र वेदनालाई वर्णन गर्न सक्ने कुनै शब्दै छैन। युद्धको परिणामस्वरूप अहिले पनि भूतपूर्व युगोस्लाभियाका जनताहरू आर्थिक कठिनाइ अनि भीषण गरिबीसित संघर्ष गर्दैछन्‌। a

संसारको यस भागमा यस्तो कष्टकर समयमा सुखी मानिसहरू भेट्टाउने आशा सायद कमैले गर्लान्‌। तर यहाँ सुखी मानिसहरू पनि छन्‌ भन्दा कसै-कसैलाई अचम्म लाग्न सक्छ। साँच्चै भन्‍नु पर्दा, २० औं शताब्दीको अन्ततिर तिनीहरूको जीवनमा हर्षोल्लास हुने दिन पनि आयो। यस हर्षोल्लासमा माथि उल्लिखित युवक फ्रान्ज ब्रान्डको कस्तो देन रह्‍यो?

बाल्कनमा आध्यात्मिक वृद्धि

फ्रान्ज ब्रान्ड आफूले सुनेको नयाँ सत्यबारे अति नै उत्साहित भए अनि उनले यो सुसमाचार फैलाउनै पर्ने निर्णय गरे। अष्ट्रियाको सीमासँगै जोडिएको मारिबोर नाउँ गरेको स्लोभेनियाको एउटा शहरमा हजामको काम पाएपछि आफ्ना ग्राहकहरूलाई प्रचार गरेर उनले यस कार्यको थालनी गरे। कपाल काट्‌दै गर्दा ग्राहकहरूले अक्सर उनको कुरा ध्यान दिएर सुन्थे। उनको त्यो कडा परिश्रमको फलस्वरूप १९२० दशकको अन्ततिर मारिबोरमा राज्य उद्‌घोषकहरूको एउटा सानो समूह स्थापना भयो। बाइबल भाषणहरू एउटा रेष्टुराँमा दिइन्थ्यो। पछि गएर त्यो रेष्टुराँलाई नोभी सेभ्ट (नयाँ संसार) समुद्री खाना रेष्टुराँ भन्‍ने सुहाउँदो नाउँ दिइयो।

समयको दौडान पूरै देशमा सुसमाचार फैलियो। सुसमाचार यसरी फैलिनुमा “फोटो ड्रामा अफ क्रिएशन” (चलचित्र, स्लाइड र ध्वनी समावेश भएको आठ घण्टे प्रस्तुति) को महत्त्वपूर्ण योगदान रह्‍यो। त्यसपछि १९३० को दशकमा जर्मनीमा यहोवाका साक्षीहरूलाई घोर सतावट दिंदा आफ्नो मातृभूमि छोडेर आएका जर्मन अग्रगामीहरूद्वारा युगोस्लाभिया अधिराज्यका साक्षीहरू सुदृढ भए। आफ्नो व्यक्‍तिगत आनन्द र सुविधालाई एकातिर पन्छाउँदै ती अग्रगामीहरू यस पहाडी देशको सुदूर भागसम्म प्रचार गर्न पुगे। सुरुमा त तिनीहरूको सन्देशलाई त्यति रुचाएजस्तो देखिएन। त्यहाँ १९४० को दशकको सुरुतिर जम्मा १५० जना प्रकाशकहरूले मात्र क्षेत्र सेवकाईको रिपोर्ट दिएका थिए।

सन्‌ १९४१ मा घोर सतावट सुरु भयो र यो सतावट १९५२ सम्म चल्यो। अन्ततः सेप्टेम्बर ९, १९५३ मा जनरल टिटोको कम्युनिष्ट शासनमा यहोवाका साक्षीहरूले कानूनी मान्यता प्राप्त गर्नु कस्तो आनन्दको कुरा थियो! त्यो वर्ष जम्मा ९१४ जना सुसमाचारकका प्रकाशकहरू थिए र बिस्तारै यो संख्या बढ्‌दै गयो। सन्‌ १९९१ सम्ममा प्रकाशकहरूको संख्या ७,४२० पुग्यो र उक्‍त वर्ष जम्मा १६,०७२ जना व्यक्‍तिहरू स्मरणार्थमा उपस्थित भए।

यस देशमा पहिलो अन्तरराष्ट्रिय सम्मेलन सन्‌ १९९१, अगस्त १६ देखि १८ मा क्रोएसियाको जाग्रेबमा आयोजना गरियो। उक्‍त सम्मेलनमा देश भित्र र बाहिर गरी जम्मा १४,६८४ जना उपस्थित भए। यस अविस्मरणिय अधिवेशनले यहोवाका जनहरूलाई पछि आइपर्ने परीक्षाहरूको लागि तयार बनायो। क्रोएसिया र सर्बियाबीचको चौकी भएर जाने अन्तिम बसहरूमा सर्बियाका प्रतिनिधिहरू घर फर्किरहेका थिए। अन्तिम बसले चौकी पार गर्ने बित्तिकै सिमानाहरू बन्द भए र युद्ध सुरु भयो।

यहोवाका जनहरूसित हर्षित हुने कारण छ

बाल्कनका यहोवाका साक्षीहरूको लागि ती युद्धका वर्षहरू गम्भीर परीक्षाका घडी थिए। तापनि तिनीहरूसित हर्षित हुने कारण थियो किनकि यहोवाको आशिष्‌ले गर्दा त्यहाँका जनहरूले उल्लेखनीय वृद्धि महसुस गर्न सके। सन्‌ १९९१ देखियता भूतपूर्व युगोस्लाभिया इलाकामा राज्य उद्‌घोषकहरूको संख्यामा ८० प्रतिशत भन्दा धेरै वृद्धि भएको छ। सन्‌ २००१ सेवा वर्षमा १३,४७२ जना प्रकाशकहरूको शिखर संख्या कायम भयो।

पहिलेको युगोस्लाभियाका यहोवाका साक्षीहरूको सारा कार्यको निरीक्षण जाग्रेब र बेलग्रेडका (सर्बिया) कार्यालयहरूले गर्थे। वृद्धि अनि राजनैतिक परिवर्तनले गर्दा बेलग्रेड र जेग्रेबमा नयाँ कार्यालय खोल्नुका साथै ल्युब्लियाना (स्लोभेनिया) र स्कोप्यामा (म्यासेडोनिया) नयाँ कार्यालयहरू स्थापना गर्नुपर्ने भयो। हाल यी कार्यालयहरूमा लगभग १४० जना सदस्यहरू सेवारत छन्‌। तिनीहरूमध्ये अधिकांश जवान हुनुका साथै यहोवाप्रति पूर्ण जोस र प्रेमले उत्प्रेरित छन्‌। तिनीहरूमध्ये धेरैजसो क्रोएसियाली, म्यासेडोनियाली, सर्बियाली र स्लोभेनियाली भाषामा बाइबल अध्ययन सहायकहरू अनुवाद गर्ने काममा संलग्न छन्‌। मूल अंग्रेजी संस्करणसँगसँगै यी भाषाहरूमा पनि यहोवाका साक्षीहरूको अधिकांश पत्रिका तथा साहित्यहरू प्रकाशित हुनु कस्तो ठूलो आशिष्‌ हो! यी प्रकाशनहरूले धेरै मानिसहरूलाई सान्त्वना र आशा प्रदान गर्छ।

अन्य मुलुकबाट आएका थुप्रै पूर्ण-समय सेवकहरूले प्रचार कार्यको लागि गरेको निःस्वार्थ सहयोग पनि हर्षित हुनुपर्ने थप कारण हो। हालैका वर्षहरूमा निर्माण भएका सुन्दर राज्यभवनहरूले मण्डलीहरूको आनन्दलाई अझै बढाएको छ। तर अझ धेरै आनन्दले तिनीहरूलाई पर्खिरहेको थियो। यो कसरी सम्भव हुन सक्यो?

एउटा बेग्लै योजना

अधिकांश प्रकाशकहरूले अक्सर सोध्ने गर्थे, “हामीले कहिल्यै न्यु वर्ल्ड ट्रान्सलेशन आफ्नै भाषामा पढ्‌न पाउनेछौं?” हरेक वर्ष जिल्ला अधिवेशनमा तिनीहरू यो घोषणा सुन्‍ने उत्कट आशा लिएर बस्थे। यी भाषाहरूको अनुवाद टोली केही वर्ष अघि मात्र स्थापना भएको अनि अनुवादकहरू पनि थोरै भएकोले कसरी यस्तो विशाल योजना पूरा गर्न सम्भव थियो?

वस्तुस्थितिलाई राम्ररी बुझिसकेपछि परिचालक निकायले एउटा संयुक्‍त आयोजनाको लागि स्वीकृति दिए जसमा क्रोएसियाली, म्यासेडोनियाली अनि सर्बियाली अनुवाद टोलीहरूले एक-अर्कालाई सहयोग गर्दै काम गर्नुपर्ने र एक अर्काको काम तथा सुझावहरूबाट लाभ उठाउनुपर्ने थियो। क्रोएसियाली टोलीले नेतृत्त्व लिनुपर्ने थियो।

हर्षको दिन

बाल्कनका यहोवाका साक्षीहरूले जुलाई २३, १९९९ को दिनलाई कहिल्यै बिर्सने छैनन्‌। “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन बेलग्रेड, सारायभो (बोस्निया-हर्जगोभिना), स्कोप्या र जाग्रेबमा एकै पटक आयोजना गरिएको थियो। केही समयको लागि बेलग्रेडमा अधिवेशन गर्न सकिएला कि नसकिएला भन्‍ने कुरामा अन्योल थियो किनभने नेटोले बम आक्रमण गरिरहेको समयमा कुनै पनि सार्वजनिक सभाहरू आयोजना गर्न निषेध थियो। एक महिनाको अनिश्‍चिततापछि एक अर्कासित सरसंगत गर्न पाउने आशामा भाइहरू कत्ति रमाए होलान्‌! तर वास्तविकता तिनीहरूको आशाभन्दा कता हो कता उत्तम साबित भयो।

शुक्रबार दिउँसो अधिवेशन सञ्चालन भइरहेको चारैवटा शहरमा एउटा विशेष घोषणा गरियो। सबै १३,४९७ प्रतिनिधिहरू कस्तो घोषणा होला भनेर सुन्‍न उत्सुक थिए। वक्‍ताले क्रोएसियाली र सर्बियाली भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स विमोचन गर्नुका साथै म्यासेडोनियाली भाषामा पनि अनुवाद भइरहेको घोषणा गर्दा प्रतिनिधिहरूले आफूलाई थाम्नै सकेनन्‌। चर्को तालीले गर्दा वक्‍ताले आफ्नो घोषणा पनि पूरा गर्न पाएनन्‌। सारायभो अधिवेशनमा पनि यो घोषणा सुनेपछि श्रोताहरू यत्ति साह्रो अचम्म भए कि एक छिन त अधिवेशनस्थलमै मौनता छायो। त्यसपछि धेरै बेरसम्म तालीको आवाज गुञ्जिरह्‍यो। बेलग्रेडमा धेरैका आँखाबाट हर्षका आँसुहरू झरिरहे र वक्‍ताले घोषणा सिध्याउन नपाउँदै पटक पटक ताली गुञ्जियो। सबै जना कत्ति खुसी थिए!

यहोवाका साक्षीहरूले क्रोएसियाली अनि सर्बियाली बाइबल अनुवादको छपाइसम्बन्धी सर्वाधिकार प्राप्त गरेको खबरले यो उपहारको महत्त्व अझै बढायो। त्यसैले दुवै भाषाको न्यु वर्ल्ड ट्रान्सलेशन अफ द क्रिश्‍चियन ग्रीक स्क्रिप्चर्स-को अनुवादलाई सोही भाषाको हिब्रू धर्मशास्त्रसित एउटै खण्डमा गाभियो। यसको अतिरिक्‍त सर्बियाली बाइबल रोमन र सिरिलिक दुवै लिपिमा छापियो।

यी अद्‌भुत उपहारहरू अनि निर्देशनहरू पाएकोमा कृतज्ञ हुँदै बाल्कनका यहोवाका जनहरू दाऊदका यी शब्दहरूमा आफ्नो सहमति जनाउँछन्‌, “घोर अन्धकारमा मैले हिंड्‌नु परे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं [यहोवा] मेरो साथमा हुनुहुन्छ।” अनेकन किसिमका कठिनाइ सामना गर्नुपरिरहेको भए तापनि तिनीहरू यहोवाको ‘आनन्दलाई आफ्नो बल’ बनाउन कटिबद्ध छन्‌।—भजन २३:४; नहेम्याह ८:१०.

[फुटनोट]

a भूतपूर्व युगोस्लाभियामा छवटा गणतन्त्रहरू समावेश थिए—बोस्निया हर्जगोभिना, क्रोएसिया, म्यासेडोनिया, मोन्टेनेग्रो, सर्बिया र स्लोभेनिया।

[पृष्ठ २०-मा भएको चित्र]

मारिबोर, स्लोभेनियाका प्रकाशकहरूको पहिलो समूह टाढा-टाढाका इलाकाहरूमा प्रचार गर्दै