सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘शैतानको विरोध गर्नुहोस्‌’

‘शैतानको विरोध गर्नुहोस्‌’

‘शैतानको विरोध गर्नुहोस्‌’

“शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.

१. वर्तमान संसारबारे के भन्‍न सकिन्छ र अभिषिक्‍त जन तथा तिनीहरूका सँगीहरू किन सजग हुनुपर्छ?

 परमेश्‍वर हराएको छ तर दियाबल अझै छ।” फ्रान्सेली लेखक आन्द्रे मलरक्सका ती शब्दहरू आज हामी बाँचिरहेको संसारमा पनि उत्तिकै लागू हुन्छ। मानिसका कार्यहरूमा परमेश्‍वरको इच्छाभन्दा दियाबलको छल बढी झल्कन्छ। शैतानले मानिसहरूलाई “सबै शक्‍ति, झूटा चिह्नहरू, र आश्‍चर्यकामहरूसँग, औ नष्ट भएर जानेहरूलाई सबै अधर्मको धोकाबाजीका” कार्यहरूले विनाशतर्फ डोऱ्‍याइरहेको छ। (२ थिस्सलोनिकी २:९, १०) तथापि, यी “आखिरी दिनमा” शैतानले परमेश्‍वरका समर्पित सेवकहरूलाई आफ्नो तारो बनाउँदै त्यसले “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” अभिषिक्‍त जन विरुद्ध युद्ध गरिरहेको छ। (२ तिमोथी ३:१; प्रकाश १२:९, १७) ती साक्षी तथा पार्थिव आशा भएका सँगीहरू सजग हुनु जरुरी छ।

२. शैतानले हव्वालाई कसरी छकायो र प्रेरित पावलले कस्तो डर व्यक्‍त गरे?

शैतानसित छलबाहेक अरू कुरा पटक्कै छैन। सर्पको भेष धारण गरेर त्यसले हव्वालाई परमेश्‍वरबाट स्वतन्त्र भएमा अझ बढी आनन्द पाउन सकिन्छ भनी सोच्न बहकायो। (उत्पत्ति ३:१-६) झन्डै चार हजार वर्षपछि शैतानका धूर्त चालहरूको बहकाउमा कोरिन्थ मण्डलीका अभिषिक्‍त मसीहीहरू पर्लान्‌ भन्‍ने डर पावलले व्यक्‍त गरे। पावलले यस्तो लेखे: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान्‌ कि भन्‍ने मलाई डर लागेको छ।” (२ कोरिन्थी ११:३) शैतानले मानिसको मनलाई भ्रष्ट बनाउँछ र तिनीहरूको सोचाइ टेढो बनाइदिन्छ। त्यसले जसरी हव्वालाई छकायो त्यसरी नै मसीहीहरूलाई गलत तर्क गर्न र मानिसको आनन्द यहोवा अनि उहाँको पुत्रले अस्वीकार गर्नुहुने कुरामा निर्भर छ भन्‍ने सोचाइ राख्न लगाउन सक्छ।

३. यहोवाले शैतानबाट कस्तो सुरक्षा दिनुहुन्छ?

शैतानलाई सिकारीसित तुलना गर्न सकिन्छ जसले सोझो चरालाई पासोमा पार्न जाल फिजाउँछ। शैतानको पासोबाट बच्न हामी ‘परम प्रधान बास गर्ने गुप्त ठाउँ’ अर्थात्‌ यहोवाको सार्वभौमिकता स्वीकार्ने सबैलाई उहाँले प्रबन्ध गर्नुभएको प्रतीकात्मक सुरक्षित ठाउँमा बस्नुपर्छ। (भजन ९१:१-३) “शैतानका युक्‍तिहरूका विरुद्धमा खड़ा हुनसक्न” हामीलाई परमेश्‍वरले आफ्नो वचन, पवित्र आत्मा र संगठनमार्फत प्रबन्ध गर्नुहुने सुरक्षा चाहिन्छ। (एफिसी ६:११) निस्सन्देह, शैतानले यहोवाका जनहरूलाई पासोमा पार्न थुप्रै छली र धूर्त चालहरू रच्दछ।

शैतानले प्रारम्भिक मसीहीहरूलाई फसाएको पासो

४. प्रारम्भिक मसीहीहरू बाँचिरहेको संसार कस्तो थियो?

सा.यु. प्रथम र दोस्रो शताब्दीका मसीहीहरू रोमी साम्राज्य पराकाष्ठामा पुगेको बेला बाँचिरहेका थिए। त्यतिबेला रोमी साम्राज्यमा छाएको सापेक्षिक शान्तिपूर्ण अवस्थाको कारण अर्थतन्त्र एकदमै फस्टाइरहेको थियो। यस्तो संवृद्धिको कारण सत्तामा बसेकाहरूसित फुर्सतको समय धेरै थियो। शासकहरूले जनता विरोध गर्न नउत्रिऊन्‌ भनेर जताततै मनोरञ्जनको व्यवस्था मिलाएका थिए। कुनै समय काम गर्ने दिन र सार्वजनिक बिदाको दिन बराबर थियो। नेताहरूले सार्वजनिक कोशबाट मानिसहरूलाई गाँस र मनोरञ्जन खर्च निकाल्थे अनि यसो गर्दा तिनीहरूको पेट टन्‍न हुनुका साथै मन पनि अर्कैतिर बहलिन्थ्यो।

५, ६. (क) रोमी रंगमञ्च तथा रंगशालाहरूमा जानु मसीहीहरूको लागि किन उचित थिएन? (ख) शैतानले कस्तो चाल चल्यो र मसीहीहरू कसरी त्यसबाट अलग रहे?

के यस्तो परिस्थिति प्रारम्भिक मसीहीहरूको लागि खतरनाक थियो? प्रेरितहरूको समयपछिका लेखकहरू, उदाहरणका लागि टर्टुलियनले लेखेका चेताउनीहरू विचार गर्ने हो भने, त्यतिबेलाको मनोरञ्जनका अधिकांश गतिविधिहरू साँचो मसीहीहरूको लागि आध्यात्मिक र नैतिक दुवै तवरमा खतरनाक थियो। एउटा खतरा त, प्रायजसो सबै सार्वजनिक चाड तथा खेलहरू देवीदेवताहरूको सम्मानमा आयोजना गरिन्थ्यो। (२ कोरिन्थी ६:१४-१८) रंगमञ्चमा देखाइने परम्परागत नाटकहरूसमेत घोर अनैतिकता वा रक्‍तपातले भरिएका हुन्थे। समय बित्दै जाँदा परम्परागत नाटकहरूप्रति मानिसहरूको चासो घट्‌दै गयो र त्यसको सट्टा अश्‍लील प्रहसनहरू देखाउन थालियो। डेली लाइफ इन एनसेन्ट रोम नामक पुस्तकमा इतिहासकार जेरोम कार्कोपिनो यसो भन्छन्‌: “यी नाटकहरूमा अभिनेत्रीहरू निर्वस्त्र हुन सक्थे। . . . रगतको खोला बगाइन्थ्यो। . . . [प्रहसनमा] देखाइने छाडा कुराहरूको सीमा थिएन र यसले राजधानीवासीहरूलाई लट्टू बनाएको थियो। त्यस्ता प्रदर्शनहरूदेखि तिनीहरू वाक्क भएका थिएनन्‌ किनभने रंगमञ्चमा घोर रक्‍तपात हेरेर तिनीहरूको सोचाइ विकृत हुनुका साथै ज्ञानेन्द्रियहरू बोधो भइसकेका थिए।”—मत्ती ५:२७, २८.

रंगशालामा तरबारबाजहरू नमरुन्जेल भिड्‌थे वा जंगली जनावरलाई मार्थे, नभए आफै मारिन्थे। दण्ड तोकिएका अपराधी र पछि गएर थुप्रै मसीहीहरूलाई पनि जंगली जनावरको सिकार हुन फालिन्थ्यो। ती प्रारम्भिक समयमा शैतानको दाउ अनैतिकता र हिंसाप्रति मानिसको घृणालाई बोधो बनाएर सामान्य कुरासरह गर्नुका साथै त्यसतिर आकर्षण बढाउनु थियो। पासोबाट बच्ने एक मात्र तरिका रंगमञ्च तथा रंगशालाहरूबाट टाढै बस्नु थियो।—१ कोरिन्थी १५:३२, ३३.

७, ८. (क) मसीहीहरू घोडचढी दौडमा जानु किन बुद्धिमानी कुरा हुने थिएन? (ख) मसीहीहरूलाई पासोमा पार्न शैतानले रोमी स्नानगृहहरू कसरी प्रयोग गर्न सक्थ्यो?

ठूलो आयत आकारको रंगशालामा घोडचढी दौड अत्यन्तै रोमाञ्चकारी हुन्थ्यो तर मसीहीहरूको लागि त्यो स्वीकार्य थिएन किनभने भीड अक्सर उत्तेजित हुन्थ्यो। तेस्रो शताब्दीका लेखकको रिपोर्टअनुसार दर्शकहरू आपसमा झगडा गर्न थाल्थे र कार्कोपिनोले उल्लेख गरेअनुसार “ज्योतिष तथा वेश्‍याहरूको” व्यापार गर्ने थलो हुन पुग्यो। निश्‍चय पनि रोमी रंगशालाहरू मसीहीहरूको लागि उपयुक्‍त थिएन।—१ कोरिन्थी ६:९, १०.

प्रख्यात रोमी स्नानगृहहरूबारे के भन्‍न सकिन्छ? आफूलाई सफा राख्न नुहाउनुमा निश्‍चय पनि कुनै खराबी छैन। तर प्रायजसो रोमी स्नानगृहहरू असाध्यै ठूला हुन्थे र त्यहाँ मालिस गर्ने, व्यायाम गर्ने, जुवा खेल्ने र खाने, पिउने ठाउँ हुन्थ्यो। नियमअनुसार महिला र पुरुषहरू नुहाउन फरक-फरक समय तोकिए तापनि पुरुष र महिलाहरू सँगै नुहाउँदा पनि केही आपत्ति जनाइदैन थियो। एलेक्सजान्ड्रियाका क्लेमेन्टले यस्तो लेखे: “नुहाउने ठाउँमा पुरुष तथा महिलालाई छाडा छोडिएको हुन्थ्यो र त्यहाँ तिनीहरू निर्वस्त्र जथाभावी यौनक्रियामा सामेल हुन्थे।” तसर्थ, कानूनी मान्यता प्राप्त संस्था पनि शैतानले मसीहीहरूलाई पासोमा फसाउन चलाउन कुनै बेर लगाउँदैन। बुद्धिमानहरू त्यसबाट अलग रहे।

९. प्रारम्भिक मसीहीहरू कस्ता पासोहरूदेखि अलग रहनुपर्थ्यो?

रोमी साम्राज्य पराकाष्ठामा पुगेको बेला मानिसहरूमाझ जुवा एकदमै लोकप्रिय थियो। प्रारम्भिक मसीहीहरू घोडचढी दौडमा लगाइने बाजीबाट अलग रहने एउटा सरल तरिका त्यहाँ जाँदै नजानु थियो। स-साना भोजनालय तथा भट्टीहरूमा पनि गैरकानूनी रूपमा सानोतिनो जुवा खेलिन्थ्यो। जुवाडेहरूले अर्को मानिसको मुठीमा भएका स-साना ढुंगा वा हड्डीका टुक्राहरूको संख्या जोर-बिजोर भनी बाजी लगाउँथे। जुवाले मानिसहरूको जीवनलाई अझ रमाइलो बनाउँथ्यो किनभने यसले कुनै परिश्रमविना पैसा कमाउने आशा देखाउँथ्यो। (एफिसी ५:५) यसबाहेक, त्यस्ता भट्टी पसलहरूमा जाँडरक्सी दिने महिलाहरू अक्सर वेश्‍याहरू हुन्थे जसले गर्दा यौन अनैतिकतामा फस्ने खतरा झन्‌ धेरै हुन्थ्यो। रोमी साम्राज्यमा बाँचेका मसीहीहरूलाई शैतानले बिछ्याएका केही पासोहरू यस्ता थिए। के आजको परिस्थिति फरक छ र?

आज शैतानका पासोहरू

१०. रोमी साम्राज्यमा व्याप्त अवस्था आजको अवस्थासँग कसरी मिल्दोजुल्दो छ?

१० सामान्यतया शताब्दीयौंको दौडान शैतानका युक्‍तिहरू परिवर्तन भएका छैनन्‌। भ्रष्ट शहर कोरिन्थमा बसोबास गर्ने मसीहीहरूलाई “शैतानको केही दाउ नलागोस्‌” भनेर प्रेरित पावलले कडा सल्लाह दिए। तिनले यसो भने: “[शैतानका] युक्‍तिहरूका विषयमा हामी अजान छैनौं।” (२ कोरिन्थी २:११) आज थुप्रै विकसित देशहरूको अवस्था रोमी साम्राज्य पराकाष्ठामा पुगेको बेलाको जस्तै छ। मानिसहरूसँग अहिले फुर्सतको समय धेरै छ। सरकारद्वारा सञ्चालित चिट्ठाहरूले गरिबहरूलाईसमेत आशाको किरण प्रदान गर्छ। मानिसहरूको मन बहलाउने सस्तो मनोरञ्जन छ्यासछ्यासती पाइन्छ। रंगशालाहरू खचाखच भरिएका छन्‌, मानिसहरू बाजी लगाउँछन्‌ र दर्शक उत्तेजित हुन्छन्‌ अनि खेलाडीहरू अक्सर हातपात गर्न पछि पर्दैनन्‌। मानिसहरू अक्सर पतित संगीतहरू सुन्छन्‌ र रंगमञ्चका साथै चलचित्र र टिभीमा छाडा कुराहरू देखाइन्छ। कुनै-कुनै देशमा साउना अर्थात्‌ बाफ-स्नान र तातो पानीको मूलमा दुवै लिंगका व्यक्‍तिहरू सँगै नुहाउने चलन लोकप्रिय छ र अझ त्यसमाथि कुनै-कुनै समुद्र किनारमा निर्वस्त्र हिंडडुल गर्ने त छँदैछ। मसीहीधर्मको सुरुका शताब्दीहरूमा जस्तै शैतानले परमेश्‍वरका जनहरूलाई सांसारिक मनोरञ्जनबाट पासोमा पार्ने प्रयास गर्छ।

११. तनाउमुक्‍त भई आराम गर्ने चाहना गर्दा कस्ता पासोहरू आउन सक्छन्‌?

११ अहिलेको तनाउग्रस्त संसारमा तनाउमुक्‍त हुने चाहना गर्नु स्वाभाविकै हो। तथापि, रोमी स्नानगृहका केही पक्षहरू जसरी प्रारम्भिक मसीहीहरूको लागि खतरा हुन सक्थ्यो, त्यसरी नै केही बिदा मनाउने ठाउँ र होटलहरू आधुनिक समयका मसीहीहरूलाई अनैतिकता वा मद्यमा उन्मत्त हुन लालायित गर्ने शैतानको पासो साबित भएका छन्‌। पावलले कोरिन्थका मसीहीहरूलाई यस्तो लेखे: “नठगियौ, खराब संगतले भला चाल-चलनलाई बिगार्दछ। धर्मको निम्ति जागा बस र पाप नगर।”—१ कोरिन्थी १५:३३, ३४.

१२. आज यहोवाका सेवकहरूलाई पासोमा पार्न शैतानले चलाउने केही युक्‍तिहरू के-के हुन्‌?

१२ शैतानले हव्वाको मनलाई भ्रष्ट बनाउन कसरी छकायो भनेर हामीले देख्यौं। (२ कोरिन्थी ११:३) यहोवाका साक्षीहरू पनि अरू मानिसहरूजस्तै हुन्‌ भनी देखाउन केही हदसम्म सांसारिक तौरतरिका अपनाउनु उचित हो र यसो गर्दा तिनीहरूले मानिसहरूलाई सच्चाइतर्फ आकर्षित गर्न सक्छन्‌ भन्‍ने सोचाइ राख्न लगाएर पनि मसीहीहरूलाई दियाबलले पासोमा फसाउन खोज्छ। कहिलेकाहीं तिनीहरूले सीमा नाघ्छन्‌ र आफै फस्छन्‌। (हाग्गै २:१२-१४) शैतानको अर्को युक्‍ति, जवान तथा वयस्क सबै समर्पित मसीहीहरूलाई दोहोरो जीवन बिताउन उक्साएर “परमेश्‍वरका पवित्र आत्मालाई सन्ताप” दिनु हो। (एफिसी ४:३०) कोही-कोही इन्टरनेटको दुरुपयोग गरेर यो पासोमा फसेका छन्‌।

१३. शैतानले अहानिकारकजस्तो देखिने कस्तो पासो चलाउँछ र हितोपदेशको कुन सल्लाह यहाँ उपयुक्‍त छ?

१३ शैतानको अर्को पासो अहानिकारक जस्तो देखिने तन्त्रमन्त्र हो। कोही पनि साँचो मसीहीले जानाजानी शैतानवाद वा प्रेतवादमा हात हाल्दैनन्‌। यद्यपि, कसै-कसैले चालै नपाई हिंसा वा शंकास्पद गतिविधिलाई जोड दिने चलचित्र, धारावाहिक टिभी श्रृंखला, भिडियो गेम र केटाकेटीको पुस्तक र कमिकहरू हेरिरहेका हुन सक्छन्‌। तन्त्रमन्त्रको सानो छनक भएका कुराहरूबाटसमेत टाढा रहनुपर्छ। बुद्धिमानी हितोपदेश यसो भन्छ: “बदमाश मानिसको मार्गमा पासो र खाड़ल रोखेको हुन्छ, चंखो मानिस तीबाट अलग्गै तर्केर जान्छ।” (हितोपदेश २२:५) शैतान “यस संसारको देव” भएकोले संसारमा लोकप्रिय कुनै पनि कुरामा त्यसले पासो बिछ्याएको हुन सक्छ।—२ कोरिन्थी ४:४; १ यूहन्‍ना २:१५, १६.

येशूले शैतानको विरोध गर्नुभयो

१४. येशूले दियाबलको पहिलो प्रलोभनको कसरी प्रतिरोध गर्नुभयो?

१४ शैतानको विरोध गरेर त्यसबाट अलग रहने सन्दर्भमा येशूले राम्रो उदाहरण बसाल्नुभएको छ। बप्तिस्मा लिएर ४० दिन उपवास बसिसक्नुभएपछि शैतानले येशूलाई प्रलोभित गर्न खोज्यो। (मत्ती ४:१-११) पहिलो चोटि प्रलोभित गर्न खोज्दा उपवासपछि येशूको भोको अवस्थाको नाजायज फाइदा उठाउन खोज्यो। आफ्नो शारीरिक आवश्‍यकता पूरा गर्न शैतानले येशूलाई पहिलो चमत्कार गर्न भन्यो। व्यवस्था ८:३ उद्धृत गर्दै येशूले आफ्नो स्वार्थपूर्तिको लागि शक्‍तिको प्रयोग गर्न इन्कार गर्नुभयो र शारीरिक भोजनभन्दा आध्यात्मिक भोजनलाई प्राथमिकता दिनुभयो।

१५. (क) येशूलाई प्रलोभित गर्न शैतानले कस्तो स्वाभाविक चाहनाको नाजायज फाइदा उठाउने प्रयास गऱ्‍यो? (ख) आज दियाबलले परमेश्‍वरका सेवकहरू विरुद्ध चलाउने मुख्य युक्‍ति के हो तर हामीले त्यसको विरोध कसरी गर्न सक्छौं?

१५ उक्‍त प्रलोभनको सन्दर्भमा एउटा चाखलाग्दो कुरा के छ भने, दियाबलले येशूलाई यौन अनैतिकतामा फसाउने प्रयास गरेन। यस अवसरमा येशूलाई प्रलोभनमा फसाउने सबैभन्दा प्रभावकारी माध्यम भोक थियो किनभने भोकले स्वाभाविकतः खानाको चाहना जगाउँछ। आज परमेश्‍वरका जनहरूलाई फसाउन दियाबलले कस्ता प्रलोभनहरू चलाउँछ? त्यसले चलाउने प्रलोभनहरू थुप्रै र विविध छन्‌ तर यहोवाका जनहरूको निष्ठा तोड्‌ने प्रयासमा त्यसले यौन प्रलोभनलाई एउटा मुख्य युक्‍तिको रूपमा चलाइरहेको छ। येशूको अनुकरण गर्दै हामीले शैतानको विरोध गरेर प्रलोभनको प्रतिरोध गर्न सक्छौं। येशूले जसरी उपयुक्‍त शास्त्रपदहरू सम्झेर शैतानको प्रलोभनको विरोध गर्नुभयो त्यसरी नै हामीले पनि उत्पत्ति ३९:९ र १ कोरिन्थी ६:१८ जस्ता शास्त्रपदहरू सम्झन सक्छौं।

१६. (क) शैतानले दोस्रो चोटि येशूलाई कसरी प्रलोभित गऱ्‍यो? (ख) शैतानले यहोवाको परीक्षा गर्न हामीलाई कसरी प्रलोभित गर्न खोज्छ?

१६ अर्को, दियाबलले येशूलाई मन्दिरको पर्खालबाट हामफालेर परमेश्‍वरले स्वर्गदूतहरू चलाउनुभएर बचाउनुहुन्छ कि हुँदैन भनी चुनौती दियो। व्यवस्था ६:१६ उद्धृत गर्दै येशूले पिताको परीक्षा गर्न इन्कार गर्नुभयो। शैतानले हामीलाई मन्दिरबाट हामफाल्न प्रलोभित नगर्ला तर त्यसले हामीलाई परमेश्‍वरको परीक्षा गर्न प्रलोभित गर्न सक्छ। के हामी सल्लाह पाउन नपर्ने गरी संसारको फेसन कत्तिसम्म पछ्याउन सक्छौं भनी हेर्न प्रलोभित हुन्छौं? के हामी शंकास्पद मनोरञ्जनमा भाग लिन प्रलोभित हुन्छौं? त्यसो हो भने, हामीले यहोवाको परीक्षा गरिरहेका हुन सक्छौं। हाम्रो त्यस्तो झुकाउ छ भने शैतान हामीबाट भाग्नुको सट्टा त्यसको पक्षमा पार्न हामीलाई निरन्तर प्रलोभित गर्ने प्रयास गरिरहन्छ।

१७. (क) दियाबलले तेस्रो चोटि येशूलाई कसरी प्रलोभित गऱ्‍यो? (ख) याकूब ४:७ हाम्रोलागि कसरी साँचो साबित हुन सक्छ?

१७ दण्डवत्‌ मात्र गरेको खण्डमा संसारको सबै राज्य येशूलाई दिने प्रस्ताव राख्दा उहाँले फेरि धर्मशास्त्र उद्धृत गर्दै शैतानको विरोध गर्नुभयो र आफ्नो पिताप्रति ऐकान्तिक भक्‍ति चढाउनुपर्ने दृढ अडान लिनुभयो। (व्यवस्था ५:९; ६:१३; १०:२०) शैतानले हामीलाई संसारको राज्य दिने प्रस्ताव नराख्ला तर त्यसले भौतिक कुराहरूको तडकभडक देखाएर प्रलोभित गर्न सक्छ, आफ्नै एउटा सानो संसारको कल्पना गर्न लोभ्याउन सक्छ। के हामीले पनि यहोवालाई ऐकान्तिक भक्‍ति चढाउँदै येशूको जस्तै प्रतिक्रिया देखाउँछौं? त्यसो हो भने येशूलाई जे भयो हामीलाई पनि त्यस्तै हुनेछ। मत्तीको विवरण यस्तो उल्लेख गर्छ: “तब दुष्टात्मा उहाँलाई छोड्यो।” (मत्ती ४:११) उपयुक्‍त बाइबल सिद्धान्त सम्झेर त्यसलाई व्यवहारमा उतार्दै दृढ अडान लियौं भने शैतानले हामीलाई छोड्‌नेछ। चेला याकूबले यस्तो लेखे: “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) एक जना मसीहीले यहोवाका साक्षीहरूको फ्रान्सस्थित शाखा कार्यालयलाई यस्तो पत्र लेखे: “शैतान साँच्चै धूर्त छ। मेरो असल मनसायको बावजूद मलाई आफ्नो भावना तथा इच्छाहरू वशमा राख्न असाध्यै गाह्रो लाग्छ। यद्यपि, साहस, धीरज र सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको मदत पाएर म आफ्नो निष्ठा कायम राख्नुका साथै सच्चाइलाई पक्रिराख्न सफल भएको छु।”

दियाबलको विरोध गर्न पूर्णतया सुसज्जित

१८. कस्तो आध्यात्मिक हातहतियारले हामीलाई शैतानको विरोध गर्न सुसज्जित बनाउँछ?

१८ यहोवाले हामीलाई “शैतानका युक्‍तिहरूका विरुद्धमा खड़ा हुनसक्नालाई” सम्पूर्ण आध्यात्मिक हातहतियारको प्रबन्ध गर्नुभएको छ। (एफिसी ६:११-१८) सच्चाइप्रतिको प्रेमले हामीलाई आफ्नो कम्मर सत्यताले कस्न अथवा मसीही गतिविधिको लागि तयार गर्छ। यहोवाका धार्मिक स्तरहरू पालन गर्ने हाम्रो संकल्प हाम्रो हृदयलाई सुरक्षित राख्ने छातीपाताजस्तै हुनेछ। खुट्टामा सुसमाचारको तयारी जुत्ता लगाएका छौं भने हामी नियमित तवरमा प्रचारकार्यमा भाग लिनेछौं र यसले हामीलाई आध्यात्मिक तवरमा बलियो तथा सुरक्षित बनाउनेछ। हाम्रो बलियो विश्‍वास ढाल जस्तै हुनेछ र हामी “दुष्टका सबै अग्निबाण निभाउनसक्ने हुनेछौ” अथवा त्यसका धूर्त आक्रमण तथा प्रलोभनहरूको विरोध गर्न सक्ने छौं। यहोवाका प्रतिज्ञाहरू सबै पूरा हुने छन्‌ भन्‍ने हाम्रो दृढ विश्‍वास मुक्‍तिको टोपजस्तै हुनेछ र त्यसले हाम्रो सोच्ने क्षमतालाई सुरक्षित गर्नुका साथै मनोशान्ति दिन्छ। (फिलिप्पी ४:७) परमेश्‍वरको वचन चलाउन हामी पोख्त भयौं भने यो हाम्रो तरवार जस्तै हुनेछ जसको मदतद्वारा हामीले मानिसहरूलाई शैतानको आध्यात्मिक बन्धनबाट मुक्‍त गर्न सक्छौं। अनि येशू जस्तै प्रलोभनमा पर्दा आफ्नो सुरक्षाको लागि प्रयोग गर्न सक्छौं।

१९. ‘शैतानको विरोध गर्नुका’ साथै के गर्नु आवश्‍यक छ?

१९ यस्तो “सारा हात-हतियार धारण” गऱ्‍यौं र निरन्तर प्रार्थना गरिरह्‍यौं भने शैतानले आक्रमण गर्दा यहोवाले हामीलाई सुरक्षा प्रदान गर्नुहुन्छ भनी निर्धक्क हुन सक्छौं। (यूहन्‍ना १७:१५; १ कोरिन्थी १०:१३) तर याकूबले ‘शैतानको विरोध गर्नु’ मात्र पर्याप्त छैन भनेर देखाए। हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो फिक्री गर्नुहुने ‘परमेश्‍वरको अधीनमा बस्नुपर्छ।’ (याकूब ४:७, ८) हामी यो कसरी गर्न सक्छौं भन्‍ने कुरा अर्को लेखमा छलफल गरिनेछ।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• प्रारम्भिक मसीहीहरू शैतानको कस्ता पासोहरूदेखि अलग रहनुपऱ्‍यो?

• आज यहोवाका जनहरूलाई पासोमा पार्न शैतानले कस्ता धूर्त युक्‍तिहरू चलाउँछ?

• येशूले दियाबलको प्रलोभनको कसरी विरोध गर्नुभयो?

• कुन आध्यात्मिक हतियारले हामीलाई शैतानको विरोध गर्न बल दिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ८, ९-मा भएको चित्र]

येशूले दृढतासाथ शैतानको विरोध गर्नुभयो

[पृष्ठ १०-मा भएका चित्रहरू]

प्रथम शताब्दीका मसीहीहरूले हिंस्रक तथा अनैतिक मनोरञ्जनलाई तिरस्कार गरे

[स्रोत]

The Complete Encyclopedia of Illustration/J. G. Heck