सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शैतान—मिथ्या वा साँच्चै अस्तित्वमा रहेको दुष्ट?

शैतान—मिथ्या वा साँच्चै अस्तित्वमा रहेको दुष्ट?

शैतान—मिथ्या वा साँच्चै अस्तित्वमा रहेको दुष्ट?

दुष्टको उत्पत्तिबारे मानिसहरूलाई सुरु देखिनै चासो थियो। जम्स हेस्टिङ्‌ग्सद्वारा लिखित अ डिक्सनरी अफ बाइबल यसो भन्छ: “मानव चेतनाको सुरुवातदेखि नै मानिसहरूले आफूले नियन्त्रण गर्न नसक्ने, हानिकारक वा विनाशकारी प्रभाव पार्ने शक्‍तिहरूसित जुझ्नुपरिरहेको छ।” सोही शब्दकोशमा यसो पनि भनिएको छ: “प्रारम्भिक समयका मानिसहरूले कारणहरूको खोजी गर्न थाले र ती शक्‍तिहरू र त्यस्तै प्रकारका शक्‍तिशाली कार्यहरूलाई कुनै व्यक्‍तिले गरेको भन्‍ने अर्थ लगाए।”

इतिहासकारहरूका अनुसार प्रेत देवताहरू र दुष्टात्माहरूमाथिको विश्‍वास मेसोपोटामियाको इतिहासको सुरुवातदेखि नै चलिआएको छ। पुरातन समयका बेबिलोनीहरू एकपल्ट गएपछि “फर्कन नपाउने ठाउँ” अर्थात्‌ नरकमा मानिसहरूलाई “आगोमा जलाउने” हिंसात्मक देव नर्गलले शासन गर्छ भन्‍ने विश्‍वास गर्थे। तिनीहरू प्रेतहरूसित पनि डराउँथे, त्यसैले तिनीहरूलाई खुसी पार्न तन्त्रमन्त्र गर्ने गर्थे। पौराणिक मिश्री कथाअनुसार सेट दुष्टताको देव थियो र त्यसलाई “पातलो, घुम्रेको थुतुनो अनि ठाडो चारपाटे कान र काँटेदार कडा पुच्छर भएको जंगली जनावरले चित्रण गर्थ्यो।”—लारुसे इन्साइक्लोपीडिया अफ माइथोलोजी।

युनानी तथा रोमीहरूका असल र खराब देवीदेवताहरू भए तापनि कुनै शक्‍तिशाली दुष्ट ईश्‍वर भने थिएनन्‌। तिनीहरूका दार्शनिकहरूले दुइटा भिन्‍नाभिन्‍नै सिद्धान्तहरू अस्तित्वमा छन्‌ भन्‍ने कुरा सिकाए। एम्पेडोकल्सको लागि ती प्रेम र कलह थिए। प्लेटोको विचारमा भने यस संसारमा असल र खराब काम गराउने दुईवटा “आत्मा” थियो। जर्ज मिनोइसले आफ्नो पुस्तक ले दियाब्ला-मा (दियाबल) उल्लेख गरेझैं, “शास्त्रीय [युनान-रोमी] मूर्तिपूजाहरूमा कुनै दियाबलको अस्तित्वलाई स्वीकारेको पाइँदैन।”

इरानमा जोरोआस्ट्रियानवादले आहुरा माज्दा अर्थात्‌ अर्माज्द नाउँको सर्वशक्‍तिमान्‌ देवले आङ्‌ग्रा मैन्यु अर्थात्‌ अहरीमानलाई सृष्टि गरे र तिनले दुष्ट काम गर्न रुचाएको हुनाले विनाशकारी आत्मा वा विनाशक भए।

यहूदी धर्मले, शैतानलाई पाप निम्त्याउने परमेश्‍वरको विरोधीको रूपमा मात्र चित्रण गरेको छ। तर धेरै शताब्दीपछि त्यो मूर्तिपूजक धारणाहरूसित छ्यासमिस भयो। इन्साइक्लोपीडिया जुडाइका यसो भन्छ: “सा.यु.पू.-को अन्तिम शताब्दी सम्ममा . . . एकदमै ठूलो परिवर्तन भएको पाइन्छ। समयको दौडान यो [यहूदी] धर्मले . . . स्वर्ग र पृथ्वीलाई परमेश्‍वर र असल अनि सही शक्‍तिहरूको विरुद्ध शक्‍तिशाली दुष्ट अनि छली शक्‍तिहरूले काम गरिरहेका छन्‌ भन्‍ने जस्ता थुप्रै द्वैध सिद्धान्तहरूलाई अपनाउन थाले। त्यस्तो प्रभाव फारसी धर्मबाट परेको देखिन्छ।” द कन्साइस जुइस इन्साइक्लोपीडिया यस्तो घोषणा गर्छ: “प्रेतहरू विरुद्ध सुरक्षित रहन ती आज्ञाहरू पालन गर्नुका साथै जन्तर लगाउनुपर्थ्यो।”

धर्मत्यागी मसीही सिद्धान्त

यहूदीहरूले शैतान र त्यसका प्रेतहरूबारे बाइबलमै नभएका धारणाहरूलाई अपनाएजस्तै धर्मत्यागी मसीहीहरूले पनि गैरशास्त्रीय विचारधाराहरूलाई बढाइचढाइ गर्न थाले। दी एंकर बाइबल डिक्सनरी यसो भन्छ: “असाध्यै नमिल्ने त्यस्ता पुरातन धार्मिक विचारधाराहरूमध्ये एउटा परमेश्‍वरले मानिसजातिको छुटकाराको लागि शैतानलाई छुडौतीको बलिदान तिर्नुभयो भन्‍ने हो।” यो धारणा इरानीयसले (सा.यु. दोस्रो शताब्दी) प्रतिपादन गरेका थिए। यस विचारधारालाई ओरीगेनले (सा.यु. तेस्रो शताब्दी) अझ विकास गर्दै लगे जसको भनाइअनुसार “दियाबलले कानूनी रूपमा मानिसहरूको माग गऱ्‍यो” र “येशूको मृत्युबाट . . . दियाबललाई छुडौतीको मोल तिरियो।”—अडोल्फ हर्नाकद्वारा लेखिएको हिस्टोरी अफ डग्मा।

द क्याथोलिक इन्साइक्लोपीडिया यस्तो उल्लेख गर्छ, “लगभग हजार वर्षसम्म [छुडौतीको मोल दियाबललाई तिरिएको हो भन्‍ने धारणाले] धर्म सिद्धान्तहरूको इतिहासमा प्रमुख भूमिका निर्वाह गऱ्‍यो” र यो चर्चको धार्मिक विश्‍वासको रूपमा यथावतै रह्‍यो। अगस्टिनलगायत (सा.यु. चौथो-पाचौं शताब्दी) चर्चका अन्य पादरीहरूले छुडौतीको मोल शैतानलाई नै तिरिएको हो भन्‍ने धारणालाई स्वीकारे। अन्ततः सा.यु. १२ औं शताब्दीमा क्याथोलिक धर्मविद्‌हरू अन्सल्म र अबेलार्ड ख्रीष्टको त्यो बलिदान शैतानलाई नभई परमेश्‍वरलाई चढाइएको निष्कर्षमा पुगे।

मध्ययुगको अन्धविश्‍वास

क्याथोलिक चर्चका प्रायजसो परिषद्‌ शैतानको सन्दर्भमा चुपै रहे तापनि सा.यु. १२१५ मा चौथो ल्याटरन काउन्सिलले एउटा सिद्धान्त प्रस्तुत गऱ्‍यो जसलाई न्यु क्याथोलिक इन्साइक्लोपीडिया-ले “विश्‍वासको विधिवत घोषणा” भन्‍ने पदावली चलायो। पहिलो सिद्धान्त यसो भन्छ: “दियाबल तथा अरू प्रेतहरूलाई परमेश्‍वरले असलै बनाउनुभएको थियो तर तिनीहरूका आफ्नै कामले गर्दा दुष्ट भए।” तिनीहरू मानिसजातिलाई बहकाउने काममा व्यस्त भए भनेर पनि बताउँछ। मध्ययुगभरि यस पछिल्लो विचारधाराले मानिसहरूलाई साह्रै प्रभाव पाऱ्‍यो। असामान्य देखिने कुनै पनि कुरा जस्तै: अन्जान रोग, अकस्मात हुने मृत्यु वा बालीनाली बिग्रनुको कारण शैतान नै हो भन्‍न थालियो। सन्‌ १२३३ मा पोप ग्रेगोरी नवौंले दियाबलका उपासकहरू मानिने लुसीफेरीयनलगायत धर्मविरोधीहरूको विरुद्धमा केही घोषणाहरू सार्वजनिक गरे।

मानिसहरूलाई दियाबल वा त्यसका प्रेतहरूले आफ्नो वशमा पार्न सक्छन्‌ भन्‍ने विश्‍वासले गर्दा तुरुन्तै जादुटुना र बोक्सीविद्या जस्ता कुराहरूदेखि डरले काँप्न थाले। तेह्रौंदेखि सत्रौं शताब्दीसम्ममा बोक्सीहरूप्रतिको डर युरोपभरि र उत्तर अमेरिकामा गएका युरोपेली प्रवासीहरूसँगसँगै त्यहाँ पनि फैलियो। प्रोटेस्टेन्ट सुधारवादीहरू मार्टिन लुथर र जोन क्याल्भिनलेसमेत बोक्सीहरूलाई खोज्ने अनुमति दिए। युरोपमा हल्ला वा द्वेषपूर्ण आरोपहरूको भरमा मात्रै पनि इन्‌क्विजिसन र अदालतहरू दुवैमा बोक्सी मुद्दाहरू चलाइन्थ्यो। जबरजस्ती “गल्ती” स्वीकार गराउन यातना दिइन्थ्यो।

दोषी ठहरिएकाहरूलाई मृत्युदण्ड दिइन्थ्यो र तिनीहरूलाई जलाएर अथवा इंग्ल्याण्ड र स्कटल्याण्डमा झुण्ड्याएर मारिन्थ्यो। मारिएका मानिसहरूको संख्याको सन्दर्भमा द वर्ल्ड बूक इन्साइक्लोपीडिया यस्तो उल्लेख गर्छ: “केही इतिहासकारहरूका अनुसार १४८४ देखि १७८२ सम्ममा मसीही चर्चले झन्डै ३,००,००० महिलाहरूलाई बोक्सीको आरोपमा मत्यु दण्ड दियो।” यदि यी सबै कुराको पछाडि शैतानको हात छ भने त्यसको माध्यम के थियो—ती बोक्सीको आरोप लागेकाहरू वा तिनीहरूलाई शासना दिने कट्टर धर्मपन्थीहरू?

हालसालैका आस्था तथा अनास्थाहरू

अठाह्रौं शताब्दीमा ज्ञान भनेर चिनिने यथार्थवादी विचारधाराको उदय भयो। इन्साइक्लोपीडिया ब्रिटानिका यस्तो उल्लेख गर्छ: “त्यस ज्ञानको दार्शनिक तथा धार्मिक सिद्धान्तले दियाबलको चित्रलाई मध्ययुगको दन्त्यकथाहरूको उपज मानेर मसीही अन्तस्करणबाटै हटाउने प्रयास गऱ्‍यो।” रोमन क्याथोलिक चर्चले यसको प्रतिवाद गर्दै शैतान अर्थात्‌ दियाबलप्रतिको आफ्नो विश्‍वास उचित भएको कुरा प्रथम भ्याटिकन काउन्सिलमा (१८६९-७०) जोडदार ढंगमा प्रस्तुत गऱ्‍यो भने पछि चाहिं अलि कम महत्व दिएर दोस्रो भ्याटिकन काउन्सिलमा (१९६२-६५) पनि फेरि त्यही कुरा दोहऱ्‍यायो।

न्यु क्याथोलिक इन्साइक्लोपीडिया-ले यसलाई आधिकारिक मान्यता दिंदा “चर्चले स्वर्गदूतहरू तथा प्रेतहरूमाथि विश्‍वास गर्ने प्रतिबद्धता जाहेर गऱ्‍यो।” तथापि, क्याथोलिकवादको फ्रान्सेली शब्दकोश थिओ-ले “थुप्रै मसीहीहरूले आज संसारमा भइरहेको खराब कुराहरूको लागि दियाबललाई जिम्मेवार ठहऱ्‍याउँदैन” भन्‍ने कुरालाई मानिलिएको छ। वर्तमान समयमा क्याथोलिक धर्मविद्‌हरू आधिकारिक मान्यता पाएको क्याथोलिक सिद्धान्त र आधुनिक विचारधाराहरूबीच सन्तुलन कायम गर्दै पराधीन भएर होसियारीसाथ यस परिस्थितिको सामना गरिरहेका छन्‌। “स्वतन्त्र मसीही धर्म सिद्धान्तले बाइबलले शैतानबारे जस्तो तर्क चलाएको छ त्यसलाई शाब्दिक अर्थमा नभई ब्रह्‍माण्डमा व्याप्त खराबी र त्यसको व्यापकतालाई पौराणिक ढंगमा बुझाउने ‘परिकल्पनाको’ रूपमा मात्र लिएको छ” भनेर इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। सोही सन्दर्भ सामग्रीले प्रोटेस्टेन्टहरूबारे यसो भन्छ: “आधुनिक समयको स्वतन्त्र प्रोटेस्टेन्टवादीहरूले दियाबल हुनै पर्छ भन्‍ने विश्‍वासलाई इन्कार गर्न थालेका छन्‌।” तर के साँचो मसीहीहरूले पनि बाइबलले शैतानबारे बताएको कुरालाई “परिकल्पनाको” रूपमा मात्र लिनु उचित हो?

धर्मशास्त्रले के सिकाउँछ

बाइबलले जस्तो कुनै पनि मानव दर्शन तथा धर्म सिद्धान्तहरूले दुष्टताको उत्पत्तिबारे वर्णन गरेको छैन। दुष्टता र मानव दुःखहरूको उत्पत्तिका साथै हरेक वर्ष हिंसाले उग्र रूप लिनुको कारणबारे बुझ्न धर्मशास्त्रले शैतानबारे बताएको कुरा बुझ्नु अत्यावश्‍यक छ।

कसै-कसैले सोध्लान्‌: परमेश्‍वर असल र मायालु सृष्टिकर्ता हुनुहुन्छ भने उहाँले शैतानजस्तो दुष्ट आत्मिक प्राणीलाई किन सृष्टि गर्नुभयो? यहोवाका सबै कार्यहरू सिद्ध छन्‌ र सम्पूर्ण बुद्धिमानी प्राणीहरूलाई उहाँले सही र गलत छुट्याउने क्षमता दिनुभएको छ भनी बाइबलले स्पष्ट बताउँछ। (व्यवस्था ३०:१९; ३२:४; यहोशू २४:१५; १ राजा १८:२१) त्यसकारण पछि शैतान भएको त्यस आत्मिक व्यक्‍ति पनि परमेश्‍वरले सिद्ध सृष्टि गर्नुभएको हुनुपर्छ र आफ्नै स्वेच्छाले ऊ सत्य र धार्मिकताको मार्गबाट तर्केको हुनुपर्छ।—यूहन्‍ना ८:४४; याकूब १:१४, १५.

धेरै अर्थमा शैतानले अपनाएको विद्रोही मार्ग “टायरको राजाको” जस्तै छ जसलाई पद्यात्मक शैलीमा “सर्वाङ्‌ग सुन्दर” र “सृजिएको दिनदेखि अधर्म . . . फेला नपरेको दिनसम्म [तिनको] चाल–ढङ्‌गमा [तिनी] निर्दोष” थिए भनेर वर्णन गरेको छ। (इजकिएल २८:११-१९) शैतानले यहोवाको प्रभुत्व वा उहाँले सृष्टि गर्नुभएको कुरालाई नकारेन। नकारोस्‌ पनि कसरी त्यसलाई पनि परमेश्‍वरलेनै सृष्टि गर्नुभएको थियो। तथापि, यहोवाले आफ्नो सार्वभौमिकता गलत ढंगमा उपयोग गर्दै हुनुहुन्छ भनी शैतानले चुनौती दियो। शैतानले प्रथम मानव दम्पतीलाई अदनको बगैंचामा परमेश्‍वरले तिनीहरूको अधिकारबाट बञ्चित गरिरहनुभएको छ र त्यसैमा तिनीहरूको हित निर्भर छ भन्‍ने भान पाऱ्‍यो। (उत्पत्ति ३:१-५) आदम र हव्वालाई यहोवाको न्यायोचित सार्वभौमिकताको विरुद्ध उक्साउन शैतान सफल भयो। अनि आदम र हव्वाले आफू अनि आफ्ना सन्ततिमाथि पनि पाप र मृत्यु ल्याए। (उत्पत्ति ३:६-१९; रोमी ५:१२) यसर्थ, मानव दुःखको मूल कारक शैतान हो भन्‍ने कुरा बाइबलले देखाउँछ।

जलप्रलय हुनुभन्दा केही समयअघि अरू स्वर्गदूतहरूले पनि शैतानको विद्रोहमा साथ दिए। मानिसका छोरीहरूसित आफ्नो यौन तृप्ति पूरा गर्न तिनीहरूले मानिसहरूको शरीर धारण गरे। (उत्पत्ति ६:१-४) जलप्रलयमा मर्यादामा नरहने यी स्वर्गदूतहरू पुनः आत्मिक संसारमा त फर्के तर परमेश्‍वरसित स्वर्गमा भएको आफ्नो पूरानै “मर्यादा” भने तिनीहरूले पाउन सकेनन्‌। (यहूदा ६) तिनीहरूलाई आध्यात्मिक तवरमा निष्पट्ट अन्धकारमा फालियो। (१ पत्रुस ३:१९, २०; २ पत्रुस २:४) तिनीहरू प्रेतहरू भए र यहोवाको सार्वभौमिकता अन्तर्गत नभई शैतानको मातहतमा तिनीहरूले जीवन बिताइरहेका छन्‌। ती प्रेतहरू अहिले कुनै भौतिक शरीर धारण गर्न सक्षम नभए तापनि मानिसहरूको मन तथा जीवनमा ठूलो प्रभाव पार्न सक्छन्‌ र आज हामीले देखिरहेका थुप्रै हिंसाहरूका लागि तिनीहरू पनि पक्कै दोषी छन्‌।—मत्ती १२:४३-४५; लूका ८:२७-३३.

शैतानको शासनको अन्त नजिकै छ

आज संसारमा दुष्ट शक्‍तिहरू सक्रिय छन्‌ भन्‍ने कुरा त स्पष्ट छ। प्रेरित यूहन्‍नाले लेखे: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”—१ यूहन्‍ना ५:१९.

तथापि, दियाबलले पृथ्वीमाथि झन्‌ धेरै दुःखकष्ट ल्याइरहेको छ भन्‍ने कुरा पूरा भइसकेका बाइबल भविष्यवाणीले प्रमाणित गर्छ किनभने त्यसलाई आफ्नो अन्तअघि उत्पात मच्चाउने समय “अल्प” छ भन्‍ने कुरा थाह छ। (प्रकाश १२:७-१२; २०:१-३) शोक, रुवाइ अनि पीडा “फेरि केही” नहुने धार्मिक नयाँ संसारअघि शैतानको शासन अन्त हुनेछ। त्यसपछि परमेश्‍वरको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा” पनि पूरा हुनेछ।—प्रकाश २१:१-४; मत्ती ६:१०.

[पृष्ठ ४-मा भएका चित्रहरू]

बेबिलोनीहरू हिंस्रक देव नर्गलमा (बायाँपट्टि) विश्‍वास राख्थे; प्लेटो (बायाँ) एकअर्कासित नमिल्ने दुई “आत्माहरूमा” विश्‍वास गर्थे

[स्रोत]

Cylinder: Musée du Louvre, Paris; Plato: National Archaeological Museum, Athens, Greece

[पृष्ठ ५-मा भएका चित्रहरू]

इरानियस, ओरीगेन र अगस्टिनले छुडौतीको मोल दियाबललाई तिरियो भनी सिकाए

[स्रोत]

Origen: Culver Pictures; Augustine: From the book Great Men and Famous Women

[पृष्ठ ६-मा भएको चित्र]

बोक्सीहरूप्रतिको डरले गर्दा हजारौंलाई मृत्युदण्ड दिइयो

[स्रोत]

From the book Bildersaal deutscher Geschichte