सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ”

“अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ”

“अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ”

“सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर।”—१ पत्रुस २:१७.

१, २. (क) एक जना अखबार संवाददाताले यहोवाका साक्षीहरूबारे कस्तो टिप्पणी गरे? (ख) यहोवाका साक्षीहरू किन असल आचरणको उच्च स्तर कायम राख्ने प्रयास गर्छन्‌?

 केही वर्षअघि सं.रा.अ., टेक्ससको अमारिलोका एउटा अखबारका संवाददाताले स्थानीय इलाकाका थुप्रै चर्चहरू धाएर आफूले पत्ता लगाएका कुराबारे लेखे। एउटा समूह भने तिनलाई अरूभन्दा बेग्लै लाग्यो। तिनले यसो भने: “मैले तीन वर्षसम्म अमारिलो सिभिक सेन्टरमा यहोवाका साक्षीहरूको वार्षिक अधिवेशनहरू धाएँ। तिनीहरूसित घुलमिल गर्दा एक जनाले पनि चूरोट सल्काएको, बियरको क्यान खोलेको वा अश्‍लील शब्दहरू प्रयोग गरेको मैले देखिनँ। तिनीहरू जत्तिको सफा, भद्र, राम्रो पहिरन लगाएका, मिजासिलो मानिसहरू मैले अहिलेसम्म भेटेको छैन।” यहोवाका साक्षीहरूबारे यस्तै टिप्पणीहरू प्रायजसो प्रकाशित भइरहन्छन्‌। यहोवाका साक्षीहरूको भन्दा बेग्लै विश्‍वास राख्ने मानिसहरूले किन बारम्बार तिनीहरूको प्रशंसा गरिरहन्छन्‌?

प्रायजसो, परमेश्‍वरका जनहरूको असल आचरणको लागि तिनीहरूको प्रशंसा गरिन्छ। साधारणतया मानिसहरूको स्तर खस्किरहेको छ तर यहोवाका साक्षीहरू भने आचरणको उच्च स्तरलाई आफ्नो उपासनाको भाग अर्थात्‌ दायित्व ठान्छन्‌। आफ्नो आचरणले यहोवा र तिनीहरूका मसीही भाइहरूलाई असर गर्छ भनेर तिनीहरूलाई थाह छ र तिनीहरूको असल आचरणले सुसमाचारलाई अझ प्रभावकारी बनाउँछ। (यूहन्‍ना १५:८; तीतस २:७, ८) त्यसोभए, आउनुहोस्‌ हामी कसरी असल आचरण बनाउन र यहोवा अनि उहाँका साक्षीहरूको असल नाउँ कायम राख्नुका साथै हामी आफैले पनि लाभ उठाउन सक्छौं भनेर हेरौं।

मसीही परिवार

३. कस्ता प्रभावहरूबाट मसीही परिवारहरू जोगिनु पर्छ?

परिवारमा हाम्रो आचरण कस्तो छ, विचार गर्नुहोस्‌। जेरार्ड बेजर र एर्विन के. शोइकद्वारा लिखित डी नोय इन्क्वीजिटोरेन: रिलिजियोन्सफ्राइहाइट उन्ड ग्लाबेन्डस्नाइड (नयाँ इन्क्विजिटर: धर्म तथा धार्मिक ईर्ष्याको स्वतन्त्रता) भन्‍ने पुस्तकमा यसो भनिएको छ: “[यहोवाका साक्षीहरूको लागि] परिवार भनेको एकदमै सुरक्षित राख्नुपर्ने कुरा हो।” यो भनाइ सत्य हो अनि आज परिवारहरूलाई थुप्रै कुराहरूबाट सुरक्षित राख्नु खाँचो छ। “आमा-बाबुको आज्ञा पालन नगर्ने” छोराछोरीहरू अनि “स्वाभाविक प्रेम रहितका” वा “असंयमी” वयस्कहरू छन्‌। (२ तिमोथी ३:२, ३) परिवारमा पति वा पत्नीमाथि कुटपिट, आमाबाबुको दुर्व्यवहार वा छोराछोरीलाई बेवास्ता गर्ने र छोराछोरीको विद्रोह, लागूपदार्थमा फस्ने, अनैतिकता वा घरबाट भाग्ने सामान्य भएको छ। यो सबै ‘संसारको आत्माको’ विनाशकारी प्रभावको नतिजा हो। (एफिसी २:१, २) हामीले आफ्नो परिवारलाई त्यस्तो आत्मादेखि जोगाउनुपर्छ। कसरी? परिवारका सदस्यहरूको लागि यहोवाको सल्लाह र निर्देशन पालन गरेर।

४. मसीही परिवारका सदस्यहरूको एकअर्काप्रति कस्ता दायित्वहरू हुन्छन्‌?

मसीही दम्पतीहरूले एकअर्काप्रति पूरा गर्नुपर्ने भावनात्मक, आध्यात्मिक र शारीरिक दायित्वहरू छन्‌ भनेर बुझेका हुन्छन्‌। (१ कोरिन्थी ७:३-५; एफिसी ५:२१-२३; १ पत्रुस ३:७) मसीही आमाबाबुको आफ्ना सन्तानहरूप्रति गहन जिम्मेवारी छ। (हितोपदेश २२:६; २ कोरिन्थी १२:१४; एफिसी ६:४) अनि मसीही परिवारका केटाकेटीहरू हुर्कंदै गएपछि तिनीहरू पनि आफ्नो दायित्वबारे सजग हुन थाल्छन्‌। (हितोपदेश १:८, ९; २३:२२; एफिसी ६:१; १ तिमोथी ५:३, ४, ८) पारिवारिक जिम्मेवारी पूरा गर्न प्रयास, वचनबद्धताका साथै प्रेम र आत्मत्यागको भाव खाँचो पर्छ। तथापि, जुन हदसम्म परिवारका प्रत्येक सदस्यले ईश्‍वरप्रदत्त जिम्मेवारी पूरा गर्छन्‌ त्यही हदसम्म तिनीहरू एकअर्का र मण्डलीको लागि आशिष्‌ साबित हुन्छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले परिवारको सुरुवातकर्ता यहोवा परमेश्‍वरको आदर गर्छन्‌।—उत्पत्ति १:२७, २८; एफिसी ३:१५.

मसीही भ्रातृत्व

५. सँगी मसीहीहरूसँगको संगतिबाट हामी कस्तो आशिष्‌ पाउँछौं?

मसीहीहरूको हैसियतमा मण्डलीका सँगी विश्‍वासीहरूप्रति र अन्ततः “यस संसारमा भएका . . . दाज्यू-भाइहरू[प्रति]” हाम्रो दायित्व छ। (१ पत्रुस ५:९) हाम्रो आध्यात्मिक सुस्वास्थ्यको लागि मण्डलीसँगको सम्बन्ध अत्यावश्‍यक छ। सँगी मसीहीहरूसँग संगत गर्दा आफूलाई सुदृढ गर्ने संगतिका साथसाथै “विश्‍वासी र बुद्धिमान दास[ले]” प्रबन्ध गरेको पोषक आध्यात्मिक भोजनको आनन्द उठाउँछौं। (मत्ती २४:४५-४७) केही समस्या आइपऱ्‍यो भने धर्मशास्त्रीय सिद्धान्तमा आधारित ठोस सल्लाहको लागि हामी आफ्ना भाइहरूकहाँ जान सक्छौं। (हितोपदेश १७:१७; उपदेशक ४:९; याकूब ५:१३-१८) हामीलाई खाँचोमा परेको बेला हाम्रा भाइहरूले त्याग्ने छैनन्‌। परमेश्‍वरको संगठनको भाग हुन पाउनु कस्तो आशिष्‌को कुरा हो!

६. अरू मसीहीहरूप्रति हाम्रो दायित्व छ भनेर पावलले कसरी देखाए?

तथापि, हामी मण्डलीमा केही पाउनको लागि मात्र होइन तर केही दिन पनि जान्छौं। साँच्चै, येशूले यसो भन्‍नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) प्रेरित पावलले दिने मनोभावबारे प्रकाश पार्दै यस्तो लेखे: “यो नडग्मगाओस्‌ भनेर हाम्रो सबै समक्ष आशाको स्वीकारलाई हामी दृढसँग थामिराखौं। किनभने प्रतिज्ञा गर्नुहुने जो हुनुहुन्छ, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। औ प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोडौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढता गरेर अर्ती दिंदै गरौं।”—हिब्रू १०:२३-२५.

७, ८. हाम्रै मण्डलीभित्रका र अन्य देशका मसीहीहरूप्रति हामीले दिने मनोभाव कसरी देखाउँछौं?

मण्डलीका सभामा टिप्पणी गर्दा वा कार्यक्रममा अन्य तरिकामा भाग लिंदा हामीले सबै समक्ष “आशाको स्वीकार” गर्छौं। त्यस्तो प्रयासले निश्‍चय पनि हाम्रा भाइहरूलाई प्रोत्साहित गर्छ। हामी सभाअघि र पछिको कुराकानीबाट पनि तिनीहरूलाई प्रोत्साहन दिन्छौं। यही समयमा हामी कमजोर, निराश र बिरामीहरूलाई सान्त्वना दिन्छौं। (१ थिस्सलोनिकी ५:१४) त्यस्तो दिने सन्दर्भमा निष्कपट मसीहीहरू उदार छन्‌ र त्यसैकारण हाम्रो सभामा पहिलो चोटि आउने मानिसहरू हामीमाझ भएको प्रेम देखेर प्रभावित हुन्छन्‌।—भजन ३७:२१; यूहन्‍ना १५:१२; १ कोरिन्थी १४:२५.

तैपनि हाम्रो प्रेम आफ्नो मण्डलीमा मात्र सीमित छैन। यसले संसारभरि भएका सम्पूर्ण भाइहरूको संगतिलाई अँगाल्छ। त्यसकारण सबै मण्डलीहरूमा राज्यभवन कोषको लागि अनुदान बाकस राखिएको हुन्छ। हाम्रो आफ्नो राज्यभवन राम्रै अवस्थामा होला तर अन्य थुप्रै देशका सँगी विश्‍वासीहरूको भेला हुने राम्रो ठाउँ छैन भनेर हामीलाई थाह छ। राज्यभवन कोषको लागि अनुदान दिंदा हामीले व्यक्‍तिगत रूपमा नचिने तापनि त्यस्तो व्यक्‍तिहरूप्रति प्रेम प्रदर्शित गर्छौं।

९. यहोवाका साक्षीहरूले एकअर्कालाई प्रेम गर्नुको आधारभूत कारण के हो?

यहोवाका साक्षीहरूले किन एकअर्कालाई प्रेम गर्छन्‌? किनभने येशूले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो। (यूहन्‍ना १५:१७) तिनीहरूबीच भएको प्रेम व्यक्‍तिविशेष र समूहको रूपमा तिनीहरूमाथि परमेश्‍वरको आत्मा भएको प्रमाण हो। प्रेम “आत्माको फल” हो। (गलाती ५:२२, २३) “धेरैका प्रेम सेलाएर” गएको संसारमा बाँचे तापनि यहोवाका साक्षीहरूले बाइबल अध्ययन गर्न, मसीही सभाहरू धाउन र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्न थालेपछि त्यस्तो प्रेम स्वाभाविक रूपमा उत्पन्‍न हुन थाल्छ।—मत्ती २४:१२.

संसारसँग व्यवहार गर्दा

१०. संसारप्रति हाम्रो कस्तो दायित्व छ?

१० पावलले उल्लेख गरेअनुसार “सबै समक्ष आशाको स्वीकार[ले]” हामीलाई अर्को दायित्वको पनि सम्झना गराउँछ। आशा स्वीकार गर्नुमा भविष्यमा हाम्रा मसीही भाइहरू हुन सक्ने मानिसहरूलाई सुसमाचार सुनाउनु पनि समावेश छ। (मत्ती २४:१४; २८:१९, २०; रोमी १०:९, १०, १३-१५) त्यस्तो प्रचारकार्य अरूलाई दिने एउटा तरिका हो। यसमा भाग लिन समय, प्रयास, तयारी, प्रशिक्षण र व्यक्‍तिगत स्रोतहरूको प्रयोग गर्नु खाँचो पर्छ। तैपनि पावलले यस्तो लेखे: “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरूको पनि म ऋणी छु। यसैले सकेसम्म, तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न, म तयार छु।” (रोमी १:१४, १५) पावलजस्तै हामी पनि यो “ऋण” तिर्न कन्जुस्याइँ नगरौं।

११. कुन दुइटा धर्मशास्त्रीय सिद्धान्तले संसारसँगको हाम्रो सम्बन्धलाई असर गर्छ तर पनि हामी कुन कुरा स्वीकार्छौं?

११ सँगी विश्‍वासी नभएकाहरूप्रति के हाम्रा अरू दायित्वहरू छन्‌? अवश्‍य। हामीलाई “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर राम्ररी थाह छ। (१ यूहन्‍ना ५:१९) येशूले आफ्ना चेलाहरूबारे के भन्‍नुभयो हामीलाई थाह छ: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” तैपनि हामी यही संसारमा बस्छौं, यहीं जीविकोपार्जन गर्छौं र यही संसारले प्रदान गर्ने सुविधाहरू उपभोग गर्छौं। (यूहन्‍ना १७:११, १५, १६) त्यसैले यस संसारप्रति पनि हाम्रा दायित्वहरू छन्‌। ती के हुन्‌? प्रेरित पत्रुसले यस प्रश्‍नको उत्तर दिए। यरूशलेमको विनाश हुनु केही समयअघि तिनले एसिया माइनरका मसीहीहरूलाई पत्र लेख र त्यस पत्रको एउटा अंशले संसारसित सन्तुलित सम्बन्ध कायम राख्न मदत गर्छ।

१२. कुन अर्थमा मसीहीहरू “प्रवासी र परदेशीजस्तै” हुन्‌ र तिनीहरू कस्ता कुराहरूदेखि अलग बस्नुपर्छ?

१२ सुरुमा पत्रुसले यसो भने: “ए प्रिय हो, प्रवासी र परदेशीजस्तै भई म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छु, आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।” (१ पत्रुस २:११) साँचो मसीहीहरू आध्यात्मिक अर्थमा “प्रवासी र परदेशीजस्तै” हुन्‌ किनभने तिनीहरूको जीवनको मुख्य केन्द्रबिन्दु अनन्त जीवन हो। आत्मा-अभिषिक्‍त जनहरूले स्वर्गमा जाने आशा गर्छन्‌ भने “अरू भेडा[ले]” पार्थिव प्रमोदवनमा बाँच्ने आशा गर्छन्‌। (यूहन्‍ना १०:१६; फिलिप्पी ३:२०, २१; हिब्रू ११:१३; प्रकाश ७:९, १४-१७) शारीरिक अभिलाषाहरू के-के हुन्‌? यसमा धनी हुने इच्छा, प्रतिष्ठाको चाह, अनैतिक यौन इच्छा र “डाह” अनि “लोभ” जस्ता इच्छाहरू समावेश छन्‌।—कलस्सी ३:५; १ तिमोथी ६:४, ९; १ यूहन्‍ना २:१५, १६.

१३. शारीरिक अभिलाषाहरूले कसरी “आत्माको विरुद्धमा लडाइँ गर्ने” गर्छ?

१३ त्यस्ता इच्छाहरू साँच्चै “आत्माको विरुद्धमा लडाइँ गर्ने” तत्त्वहरू हुन्‌। त्यसले परमेश्‍वरसँगको हाम्रो सम्बन्ध बिगार्छ र हाम्रो मसीही आशालाई (हाम्रो “आत्मा” वा जीवन) खतरामा पर्छ। उदाहरणका लागि, हामीले अनैतिक कुराहरूप्रति चासो जगाउन थाल्यौं भने हामीले कसरी आफूलाई “यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने” गरी चढाउन सक्छौं? हामी भौतिकवादको पासोमा पऱ्‍यौं भने हामीले कसरी “पहिले उहाँको राज्य” खोजी गरिरहेका हुन्छौं? (रोमी १२:१, २; मत्ती ६:३३; १ तिमोथी ६:१७-१९) मोशाको उदाहरण पछ्याउनु, संसारका प्रलोभनहरूलाई तिरस्कार गर्नु र आफ्नो जीवनमा यहोवाको सेवालाई प्राथमिकता दिनु उत्तम मार्ग हो। (मत्ती ६:१९, २०; हिब्रू ११:२४-२६) संसारसित सन्तुलित सम्बन्ध कायम राख्ने त्यो एउटा महत्त्वपूर्ण पक्ष हो।

‘असल चालचलन कायम गर्नुहोस्‌’

१४. मसीहीहरूको हैसियतमा हामी किन असल चालचलन कायम राख्ने प्रयास गर्छौं?

१४ अर्को अत्यावश्‍यक मार्ग निर्देशन पत्रुसका यी शब्दहरूमा पाइन्छ: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रुस २:१२) मसीहीहरूको हैसियतमा हामी उदाहरणीय हुने प्रयास गर्छौं। स्कूलमा हामी कडा मेहनत गर्छौं। जागिरमा हामी आफ्नो हाकिम अव्यावहारिकजस्तो देखिए तापनि परिश्रमी र इमानदार हुन्छौं। विभाजित घरमा साक्षी पति वा पत्नीले मसीही सिद्धान्तहरू पछ्याउने विशेष प्रयास गर्छन्‌। यसो गर्नु सधैं सजिलो हुँदैन तर हाम्रो उदाहरणीय चालचलनदेखि यहोवा खुसी हुनुहुन्छ र बेग्लै विश्‍वास राख्नेहरूलाई यसले अक्सर राम्रो प्रभाव पार्छ भनेर हामीलाई थाह छ।—१ पत्रुस २:१८-२०; ३:१.

१५. यहोवाका साक्षीहरूको उच्च नैतिक स्तर व्यापक रूपमा मानिलिएको छ भनेर हामी कसरी भन्‍न सक्छौं?

१५ अधिकांश यहोवाका साक्षीहरू उदाहरणीय स्तर कायम राख्न सफल भएका छन्‌ भन्‍ने कुरा वर्षौंको दौडान तिनीहरूबारे प्रकाशित टिप्पणीहरूबाट प्रमाणित हुन्छ। उदाहरणका लागि, इटालीको एल टेम्पो-ले यस्तो रिपोर्ट गऱ्‍यो: “यहोवाका साक्षीहरूसँगै काम गर्ने मानिसहरूले, तिनीहरू इमानदार छन्‌ भनेर वर्णन गर्छन्‌। तिनीहरू आफ्नो धर्ममा एकोहोरो देखिए तापनि आफ्नो नैतिक निष्ठाको लागि प्रशंसा योग्य छन्‌।” अर्जेन्टिनाको ब्युनस्‌ आयर्सबाट प्रकाशित हुने हेराल्ड-ले यस्तो भन्यो: “यहोवाका साक्षीहरूले वर्षौंको दौडान आफूलाई मेहनती, भद्र, मितव्ययी र ईश्‍वरभीरु नागरिक साबित गरेका छन्‌।” रुसी शास्त्रविद्‌ सर्गि इभानेन्कोले यस्तो उल्लेख गरे: “विश्‍वभरि नै यहोवाका साक्षीहरू नियमपालक व्यक्‍तिहरूको रूपमा चिनिन्छन्‌ र विशेष गरी तिनीहरू कर तिर्न सजग छन्‌।” जिम्बावेमा यहोवाका साक्षीहरूले अधिवेशनको लागि चलाएको एउटा भवनका प्रबन्धकले यसो भने: “मैले केही साक्षीहरूले कागतहरू टिपिरहेको र शौचालयहरू सफा गरिरहेको देखें। प्रदर्शनीको ठाउँ पहिलाभन्दा सफा छोडिन्छ। तपाईंका किशोरकिशोरीहरू नीतिनियमअनुसार चल्छन्‌। संसारभरि नै यहोवाका साक्षीहरू मात्र भए कति बेस हुनेथियो।”

मसीही अधीनता

१६. उच्च अख्तियारवालहरूसँग हाम्रो सम्बन्ध कस्तो छ र किन?

१६ पत्रुसले अख्तियारवालाहरूसँगको हाम्रो सम्बन्धबारे पनि बताएका छन्‌। तिनी यसो भन्छन्‌: “प्रभुको खातिर मानिसका हरेक विधानको अधीनमा रहो, चाहे राजाको, जो सर्वोच्च हुन्‌, अथवा बडा-हाकीमहरूको, जो खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उनीबाट पठाइएका हुन्छन्‌। किनकि परमेश्‍वरको इच्छा यही छ, कि असल गरेरनै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।” (१ पत्रुस २:१३-१५) व्यवस्थित सरकारबाट प्राप्त हुने लाभहरूको हामी मूल्यांकन गर्छौं र पत्रुसका शब्दहरूद्वारा निर्देशित भएर हामीले देशका नियमहरू पालन गर्छौं र कर तिर्छौं। नियम तोड्‌नेहरूलाई सजाय दिने सरकारको ईश्‍वरप्रदत्त अधिकार हामी मानिलिन्छौं भने हामीले उच्च अख्तियारको आज्ञा पालन गर्नुको मुख्य कारण “प्रभुको खातिर” हो। यो परमेश्‍वरको इच्छा हो। यसबाहेक, हामी गलत कार्यको लागि सजाय पाएर यहोवाको नाउँ कलंकित पार्न चाहँदैनौं।—रोमी १३:१, ४-७; तीतस ३:१; १ पत्रुस ३:१७.

१७. “मूर्ख मानिसहरू[ले]” सताउँदा हामी कुन कुराबारे विश्‍वस्त हुन सक्छौं?

१७ दुःखको कुरा अख्तियारप्राप्त केही “मूर्ख मानिसहरू” गलत हल्ला फैलाएर वा अन्य तरिकामा हामीलाई सताउँछन्‌ वा विरोध गर्छन्‌। तैपनि, यहोवाको तोकिएको समयमा ती सबै झूट पर्दाफास हुन्छन्‌ र तिनीहरूको “अज्ञानता” चूप गराइन्छ। हाम्रो मसीही आचरणले नै सत्य कुरा कसले बोलिरहेको छ भनेर प्रमाणित गर्छ। त्यसैकारण, इमानदार सरकारी अधिकारीहरूले हामीलाई असल कार्य गर्नेहरू भनी प्रशंसा गर्छन्‌।—रोमी १३:३; तीतस २:७, ८.

परमेश्‍वरका दासहरू

१८. मसीहीहरूको हैसियतमा हामी कुन तरिकामा आफ्नो स्वतन्त्रताको दुरुपयोग नगर्न सजग हुन सक्छौं?

१८ पत्रुस अब यस्तो चेतावनी दिन्छन्‌: “स्वतन्त्रजस्तै भएर हिंड, तर दुष्टताको ओढनेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन, तर परमेश्‍वरको दासहरूझैं भएर चल।” (१ पत्रुस २:१६; गलाती ५:१३) आज, बाइबल सत्यको ज्ञानले हामीलाई झूटा धर्मका शिक्षाहरूबाट स्वतन्त्र तुल्याउँछ। (यूहन्‍ना ८:३२) यसबाहेक, हामी स्वतन्त्र इच्छा भएका प्राणी हौं र हामी आफ्नो छनौट गर्न सक्छौं। तैपनि, हामी आफ्नो स्वन्तन्त्रताको दुरुपयोग गर्दैनौं। संगति, पहिरन, कोरीबाटी, मनोरञ्जन, खाना र पेयपदार्थको छनौट गर्दासमेत हामी साँचो मसीहीहरू परमेश्‍वरका दास हौं भनेर बिर्संदैनौं। आफ्नो शारीरिक इच्छा वा यस संसारको फेसनको दास हुनुको सट्टा हामी यहोवाको सेवा गर्ने छनौट गर्छौं।—गलाती ५:२४; २ तिमोथी २:२२; तीतस २:११, १२.

१९-२१. (क) सांसारिक अख्तियारवालाहरूप्रति हामी कस्तो दृष्टिकोण राख्छौं? (ख) कसै-कसैले कसरी “भाइ-बन्धुहरूलाई प्रेम” देखाएका छन्‌? (ग) हाम्रो सबैभन्दा मुख्य दायित्व के हो?

१९ पत्रुस अझ यसो भन्छन्‌: “सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।” (१ पत्रुस २:१७) यहोवा परमेश्‍वरले मानिसहरूलाई विभिन्‍न ओहदामा रहन अनुमति दिनुभएकोले हामी ती मानिसहरूप्रति उचित आदर देखाउँछौं। शान्ति र ईश्‍वरीय भक्‍तिसाथ सेवकाईमा लागिरहन सकौं भनेर हामी तिनीहरूको लागि प्रार्थनासमेत गर्छौं। (१ तिमोथी २:१-४) तथापि, हामी ‘भाइ-बन्धुहरूलाई प्रेम’ गर्छौं। हामी सधैं हाम्रा मसीही भाइहरूको हानि होइन भलाइको लागि काम गर्छौं।

२० उदाहरणका लागि, एउटा अफ्रिकी मुलुक जातीय हिंसाको कारण विभाजित हुँदा यहोवाका साक्षीहरूको मसीही आचारण प्रस्टै छुट्टिएको थियो। स्वीट्‌जरल्याण्डको रिर्फोमेर्टे प्रेसे नाउँको अखबारले यस्तो रिपोर्ट गऱ्‍यो: “सन्‌ १९९५ मा अफ्रिकन राइट्‌स नामक मानवअधिकार संगठनले . . . यहोवाका साक्षीहरूबाहेक अरू सबै चर्च [जातीय हिंसामा] सहभागी भएको प्रमाणित गर्न सफल भयो।” त्यो दुःखदायी घटनाको समाचार संसारको अन्य भागमा पुगेपछि युरोपका यहोवाका साक्षीहरूले तुरुन्तै खाद्यान्‍न र औषधीहरू पीडित देशका आफ्ना भाइ र अन्य मानिसहरूलाई पठाउने प्रबन्ध मिलाए। (गलाती ६:१०) तिनीहरूले हितोपदेश ३:२७ का शब्दहरू पालन गरे: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर।”

२१ तथापि, कुनै पनि सांसारिक अख्तियारवालालाई देखाउने आदर र हाम्रा भाइहरूलाई देखाउने प्रेमभन्दा पनि अझ महत्त्वपूर्ण एउटा दायित्व छ। त्यो के हो? पत्रुसले यसो भने: “परमेश्‍वरसँग डराओ।” कुनै मानिसप्रतिभन्दा पनि हामी यहोवाप्रति जवाफदेही छौं। त्यो कत्तिको साँचो हो? परमेश्‍वरप्रति र सांसारिक अख्तियारवालाहरूप्रतिको दायित्वलाई कसरी सन्तुलनमा राख्न सक्छौं? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा दिइनेछ।

के तपाईंलाई सम्झना छ?

• परिवारभित्रै मसीहीहरूको कस्तो जिम्मेवारी छ?

• मण्डलीमा हामीले कसरी दिने मनोभाव प्रदर्शित गर्न सक्छौं?

• संसारप्रति हाम्रो दायित्व कस्तो छ?

• उच्च नैतिक स्तर कायम गर्दा प्राप्त हुने केही फाइदाहरू के-के हुन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

मसीही परिवार साँचो आनन्दको स्रोत कसरी हुन सक्छ?

[पृष्ठ १०-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरूले किन एकअर्कालाई प्रेम गर्छन्‌?

[पृष्ठ १०-मा भएका चित्रहरू]

हामीले आफ्ना भाइहरूलाई व्यक्‍तिगत रूपमा नचिने तापनि तिनीहरूप्रति प्रेम देखाउन सक्छौं?