सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आखिरी दिनमा तटस्थ मसीहीहरू

आखिरी दिनमा तटस्थ मसीहीहरू

आखिरी दिनमा तटस्थ मसीहीहरू

“जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!”—यूहन्‍ना १७:१६.

१, २. येशूले संसारसँग आफ्ना अनुयायीहरूको सम्बन्धबारे के भन्‍नुभयो र उहाँका शब्दहरूले कस्ता प्रश्‍नहरू खडा गर्छन्‌?

 सिद्ध मानिसको रूपमा आफ्नो जीवनको अन्तिम रातमा येशूले आफ्ना चेलाहरूले सुन्‍ने गरी लामो प्रार्थना गर्नुभयो। त्यस प्रार्थनाको क्रममा उहाँले भन्‍नुभएको एउटा कुराले सबै साँचो मसीहीहरूको जीवनको वर्णन गर्छ। आफ्ना अनुयायीहरूबारे कुरा गर्दै उहाँले यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गऱ्‍यो, किनकि तिनीहरू संसारका होइनन्‌, जस्तो म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!”—यूहन्‍ना १७:१४-१६.

येशूले दुई चोटि उहाँका अनुयायीहरू संसारका होइनन्‌ भन्‍नुभयो। यसबाहेक त्यसरी अलग हुँदा तनाव हुनेथियो किनभने संसारले तिनीहरूलाई घृणा गर्नेथियो। तैपनि मसीहीहरू निराश हुनुपर्दैन, यहोवाले तिनीहरूमाथि नजर राख्नुहुनेछ। (हितोपदेश १८:१०; मत्ती २४:९, १३) येशूका शब्दहरूलाई विचार गर्दै हामी यस्तो प्रश्‍न गर्न सक्छौं: ‘किन साँचो मसीहीहरू संसारका भाग होइनन्‌? संसारको भाग नहुनुको अर्थ के हो? संसारले मसीहीहरूलाई घृणा गर्छ भने तिनीहरूले संसारप्रति कस्तो दृष्टिकोण राख्छन्‌? विशेष गरी तिनीहरूले संसारका सरकारहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?’ यी प्रश्‍नहरूको धर्मशास्त्रीय जवाफ महत्त्वपूर्ण छ किनभने यसले हामी सबैलाई असर गर्छ।

“हामी परमेश्‍वरका हौं”

३. (क) कस्ता कारणहरूले गर्दा हामी संसारको भाग होइनौं? (ख) “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भन्‍ने कस्ता प्रमाणहरू छन्‌?

हामी संसारको भाग नहुनुको एउटा मुख्य कारण यहोवासँगको हाम्रो नजिकको सम्बन्ध हो। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “हामी जान्दछौं, कि हामी परमेश्‍वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यूहन्‍नाले संसारबारे भनेका कुरा शत प्रतिशत सही छ। आज व्याप्त युद्ध, अपराध, क्रूरता, दमन, बेइमानी र अनैतिकताले परमेश्‍वरको होइन तर स्पष्टतः शैतानको प्रभाव देखाउँछ। (यूहन्‍ना १२:३१; २ कोरिन्थी ४:४; एफिसी ६:१२) कोही मानिस यहोवाको साक्षी भएपछि तिनले त्यस्ता खराब कार्यहरूमा भाग लिंदैनन्‌ वा अनुमति दिंदैनन्‌ र यसरी तिनी संसारको भाग हुँदैनन्‌।—रोमी १२:२; १३:१२-१४; १ कोरिन्थी ६:९-११; १ यूहन्‍ना ३:१०-१२.

४. हामी यहोवाका हौं भनेर कुन तरिकामा देखाउँछौं?

यूहन्‍नाले मसीहीहरू संसारको जस्तो नभई ‘परमेश्‍वरका हुन्‌’ भने। यहोवालाई आफ्नो जीवन समर्पित गर्ने सबै उहाँका हुन्‌। प्रेरित पावलले यस्तो लेखे: “हामी बाँचे पनि प्रभुको निम्ति बाँच्तछौं, औ मरे पनि प्रभुको निम्ति मर्दछौं। यसकारण चाहे हामी बाचौं, चाहे मरौं, हामी प्रभुकै हौं।” (रोमी १४:८; भजन ११६:१५) हामी यहोवाकै भएको कारण हामी उहाँलाई ऐकान्तिक भक्‍ति चढाउँछौं। (प्रस्थान २०:४-६) त्यसकारण, साँचो मसीहीले आफ्नो जीवन कुनै सांसारिक कुराहरूको लागि समर्पित गर्दैनन्‌। अनि तिनले राष्ट्रिय प्रतीकहरूको आदर गरे तापनि आफ्नो कार्यद्वारा वा मनमा त्यसको उपासना भने गर्दैनन्‌। तिनले निश्‍चय पनि प्रख्यात खेलाडी वा अन्य अधुनिक आदर्शहरूको उपासना गर्दैनन्‌। निश्‍चय पनि तिनले अरूको त्यस्तो इच्छाको कदर गर्छन्‌ तर तिनी आफूचाहिं सृष्टिकर्ताको मात्र उपासना गर्छन्‌। (मत्ती ४:१०; प्रकाश १९:१०) यसो गर्दा पनि तिनी संसारबाट अलग हुन्छन्‌।

“मेरो राज्य यस संसारको होइन”

५, ६. परमेश्‍वरको राज्यप्रतिको अधीनताले हामीलाई कसरी संसारबाट अलग बनाउँछ?

मसीहीहरू ख्रीष्ट येशूका अनुयायी र परमेश्‍वरको राज्यका प्रजा हुन्‌ र यो कारणले गर्दा पनि तिनीहरू संसारको भाग होइनन्‌। पन्तियस पिलातससामु येशूको पुर्पक्ष हुँदा उहाँले यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लड़ाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्‍ना १८:३६) परमेश्‍वरको राज्यमार्फत नै यहोवाको नाउँ पवित्र गरिनेछ, उहाँको सार्वभौमिकता पवित्र गरिनेछ र उहाँको इच्छा स्वर्गमा झैं पृथ्वीमा पूरा हुनेछ। (मत्ती ६:९, १०) येशूले आफ्नो सेवकाईको दौडान परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो र दुष्ट रीतिरिवाजको अन्तसम्म उहाँका अनुयायीहरूले त्यो राज्यबारे घोषणा गरिरहनेछन्‌ भन्‍नुभयो। (मत्ती ४:२३; २४:१४) सन्‌ १९१४ मा प्रकाश ११:१५ का भविष्यसूचक शब्दहरू पूरा भए: “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” चाँडै नै सारा मानिसजातिमाथि शासन गर्ने एउटा मात्रै शक्‍ति परमेश्‍वरको स्वर्गीय राज्य हुनेछ। (दानियल २:४४) एउटा अवस्थामा पुगेपछि सांसारिक शासकहरू पनि यस राज्यको अख्तियार मानिलिन बाध्य हुनेछन्‌।।—भजन २:६-१२.

यी सबै कुरालाई मनमा राखेर साँचो मसीहीहरू आज परमेश्‍वरको राज्यको प्रजा हुन्छन्‌ र तिनीहरूले ‘पहिले उहाँको राज्य र परमेश्‍वरको धार्मिकता खोजी गर’ भन्‍ने येशूको सल्लाह पालन गर्छन्‌। (मत्ती ६:३३) यसो हुँदैमा तिनीहरू आफू बसिरहेको देशप्रति अवफादार भएको हुँदैन तर तिनीहरू आध्यात्मिक तवरमा संसारबाट अलग भने हुन्छन्‌। आज मसीहीको मुख्य काम प्रथम शताब्दीमा जस्तै ‘परमेश्‍वरको राज्यको अर्थ लगाउँदै साक्षी दिने’ हो। (प्रेरित २८:२३) यस ईश्‍वरप्रदत्त कार्यलाई रोक्ने अधिकार कुनै पनि मानव सरकारसँग छैन।

७. साँचो मसीहीहरू किन तटस्थ छन्‌ र तिनीहरूले यो कसरी देखाएका छन्‌?

यहोवाका साक्षीहरू, यहोवाका जन र येशूका अनुयायी तथा परमेश्‍वरको राज्यका प्रजा भएकोले २० औं र २१ औं शताब्दीको दौडान भएका राष्ट्रिय र अन्तरराष्ट्रिय भिडन्तहरूमा तटस्थ रहेका छन्‌। तिनीहरूले कसैको पक्ष लिएका छैनन्‌, कसैको विरुद्ध हतियार उठाएका छैनन्‌ र कुनै सांसारिक कार्यको लागि अफवाहहरू फैलाएका छैनन्‌। अचाक्ली सतावटको बेलामा उत्कृष्ट विश्‍वास प्रदर्शन गर्दै तिनीहरूले १९३४ मा जर्मनीमा नाजी शासनहरूलाई व्यक्‍त गरेका सिद्धान्त पछ्याइरहेका छन्‌: “राजनैतिक मामिलाहरूसँग हाम्रो कुनै सरोकार छैन तर परमेश्‍वरद्वारा नियुक्‍त राजा ख्रीष्टको अधीनमा रहेको उहाँको राज्यप्रति हामी पूर्णतया समर्पित छौं। हामीले कसैलाई हानिनोक्सानी गर्नेछैनौं। हामी शान्तिसित बस्न चाहन्छौं र अवसर भएसम्म सबैलाई भलो गर्न चाहन्छौं।”

ख्रीष्टका लागि राजदूत र प्रतिनिधिहरू

८, ९. यहोवाका साक्षीहरू आज कुन तरिकामा राजदूत र प्रतिनिधिहरू हुन्‌ र यसले राष्ट्रहरूसँगको सम्बन्धमा कस्तो असर पार्छ?

पावलले आफू र सँगी अभिषिक्‍त मसीहीहरू “परमेश्‍वरले हामीद्वारा आग्रह गर्नुभएझैं ख्रीष्टको पक्षमा हामी राजदूत हौं” भनी बताए। (२ कोरिन्थी ५:२०; एफिसी ६:२०) आत्मा अभिषिक्‍त मसीहीहरू परमेश्‍वरको “सन्तान” भएकाले सन्‌ १९१४ देखि तिनीहरूलाई परमेश्‍वरको राज्यका राजदूतहरू भन्‍नु उचित छ। (मत्ती १३:३८; फिलिप्पी ३:२०; प्रकाश ५:९, १०) यसबाहेक, यहोवाले अभिषिक्‍त सन्तानहरूलाई तिनीहरूको राजदूतीय काममा सघाउन राष्ट्रहरूबाट “अरू भेडा[को]” “ठूलो भीड” अर्थात्‌ पार्थिव आशा भएका मसीहीहरूलाई ल्याउनुभएको छ। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) यी “अरू भेडा[लाई]” परमेश्‍वरको राज्यको “प्रतिनिधि” भन्‍न सकिन्छ।

राजदूत तथा तिनका कर्मचारीले आफू सेवारत देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन। त्यस्तै गरी, मसीहीहरू संसारका राष्ट्रहरूको राजनैतिक मामिलामा तटस्थ रहन्छन्‌। तिनीहरूले कुनै राष्ट्रिय, जातीय, सामाजिक वा आर्थिक समूहको पक्ष लिने वा विरोध गर्ने गर्दैनन्‌। (प्रेरित १०:३४, ३५) बरु, “सबै मानिसतर्फ, . . . भलाइको काम” गर्छन्‌। (गलाती ६:१०) यहोवाका साक्षीहरूको तटस्थताको कारण कसैले पनि तिनीहरूको सन्देश कुनै बेग्लै जात, राष्ट्र वा जातको पक्षमा छ भनेर त्यसलाई तिरस्कार गर्न सक्दैनन्‌।

प्रेमद्वारा चिनिएको

१०. मसीहीको लागि प्रेम कत्तिको महत्त्वपूर्ण छ?

१० माथि उल्लेख गरिएका कारणहरूबाहेक मसीहीहरू सांसारिक मामिलामा तटस्थ हुनुको अर्को कारण अरू मसीहीहरूसँगको सम्बन्ध हो। येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) भ्रातृप्रेम मसीही हुनुको एउटा महत्त्वपूर्ण पक्ष हो। (१ यूहन्‍ना ३:१४) यो यहोवा र येशूसँगको सम्बन्धमा आधारित भएकोले मसीहीहरूबीच एकआपसमा एकदमै नजिकको सम्बन्ध हुन्छ। तिनको प्रेम स्थानीय मण्डलीकाहरूप्रति मात्र सीमित छैन। यसले “यस संसारमा भएका . . . दाज्यू-भाइहरू” सबैलाई समेट्‌छ।—१ पत्रुस ५:९.

११. एकअर्काप्रतिको प्रेमले यहोवाका साक्षीहरूको आचरणलाई कसरी प्रभावित गरेको छ?

११ आज, यहोवाका साक्षीहरूले यशैया २:४ का शब्दहरू पूरा गरेर आफ्नो भ्रातृ-प्रेम देखाउँछन्‌: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” यहोवाद्वारा निर्देशित साँचो मसीहीहरू परमेश्‍वर र एकअर्कासँग शान्तिमा छन्‌। (यशैया ५४:१३) तिनीहरूले परमेश्‍वर र आफ्ना भाइहरूलाई प्रेम गर्ने भएकोले अरू देशका सँगी विश्‍वासी वा अरू कोही विरुद्ध हतियार उठाउनु असोचनीय कुरा हो। तिनीहरूको शान्ति र एकता, उपासनाको महत्त्वपूर्ण भाग हो र यसबाट तिनीहरूसित साँच्चै परमेश्‍वरको आत्मा छ भनेर प्रमाणित हुन्छ। (भजन १३३:१; मीका २:१२; मत्ती २२:३७-३९; कलस्सी ३:१४) “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌” भनी थाह भएकोले तिनीहरू ‘प्रेम खोजी गरेर त्यसकै पछि लाग्ने’ कोसिस गर्छन्‌।—भजन ३४:१४, १५.

संसारप्रति मसीहीहरू कस्तो दृष्टिकोण राख्छन्‌

१२. संसारप्रतिको यहोवाको कुन दृष्टिकोण यहोवाका साक्षीहरूले अनुकरण गर्छन्‌ अनि कसरी?

१२ यहोवाले यस संसारमाथि कठोर न्याय गर्ने घोषणा गर्नुभएको छ तर उहाँले अहिलेसम्म संसारका सबै मानिसहरूमाथि न्याय गर्नुभएको छैन। उहाँले त्यो आफ्नै तोकिएको समयमा येशूमार्फत गर्नुहुनेछ। (भजन ६७:३, ४; मत्ती २५:३१-४६; २ पत्रुस ३:१०) त्यतिन्जेल उहाँले मानिसहरूप्रति महान्‌ प्रेम देखाउनुहुन्छ। सबैले अनन्त जीवन पाउने सुअवसर पाओस्‌ भनेर उहाँले आफ्नो एक मात्र प्रिय पुत्र पनि दिनुभयो। (यूहन्‍ना ३:१६) मानिसहरूले सुन्‍न इन्कार गरे तापनि हामी मसीहीहरूको हैसियतमा परमेश्‍वरले उद्धारको लागि गर्नुभएको प्रबन्धबारे बताएर परमेश्‍वरको प्रेमको अनुकरण गर्छौं।

१३. हामीले सांसारिक शासकहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१३ हामीले संसारका शासकहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? पावलले उक्‍त प्रश्‍नको जवाफ यसरी दिए: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्‍वरबाट [“तिनीहरूको सापेक्षिक ओहदामा,” NW] खटिएका हुन्छन्‌।” (रोमी १३:१, २) सर्वशक्‍तिमान्‌ परमेश्‍वरले यी अख्तियारवालाहरूलाई रहने अनुमति दिनुहुने हुँदा तिनीहरू “सापेक्षिक” ओहदामा (ओहदा ठूलो वा सानो जस्तोसुकै भए तापनि यहोवाको लागि सधैं सानै हो) खटिएका हुन्छन्‌। मसीहीहरू अख्तियारवालाको अधीनमा बस्छन्‌ किनभने यो यहोवाप्रतिको आज्ञाकारिताको एउटा पक्ष हो। तर परमेश्‍वरले चाहनुहुने कुरा र मानव सरकारले चाहने कुराबीच मतभेद उत्पन्‍न भयो भने के गर्ने नि?

परमेश्‍वरको व्यवस्था र सिजरको

१४, १५. (क) अधीनताको सन्दर्भमा विवादबाट बच्न दानियल कसरी सफल भए? (ख) आज्ञाकारिताको सन्दर्भमा विवादबाट बच्न नसक्दा तीन जना हिब्रूहरूले कस्तो अडान लिए?

१४ मानव सरकारप्रतिको अधीनता र ईश्‍वरीय अख्तियारको अधीनतालाई कसरी सन्तुलनमा राख्ने भन्‍ने सन्दर्भमा दानियल र तिनका तीन जना साथीहरूले राम्रो उदाहरण बसालेका छन्‌। चार जना जवान हिब्रूहरू बेबिलोनमा निर्वासित हुँदा तिनीहरूले त्यस देशका नियमहरू पालन गरे र केही समय नबित्दै तिनीहरू विशेष प्रशिक्षणको लागि छानिए। त्यस प्रशिक्षण परमेश्‍वरको व्यवस्थासित नमिल्न सक्छ भनी थाह भएकोले दानियलले यस विषयमा प्रधान अधिकारीसँग कुरा गरे। फलस्वरूप, ती चार हिब्रूहरूको अन्तस्करणको आदर गर्ने विशेष प्रबन्ध मिलाइयो। (दानियल १:८-१७) अनावश्‍यक समस्याहरूबाट बच्न आफ्नो अवस्थाबारे हाकिमलाई कौशलतापूर्वक बताउँदा यहोवाका साक्षीहरू दानियलको उदाहरण अनुकरण गर्छन्‌।

१५ तथापि, पछि अधीनताको सन्दर्भ उठ्‌दा ती हिब्रूहरू विवादमुक्‍त हुन सकेनन्‌। बेबिलोनी राजाले दूरा प्रान्तमा एउटा ठूलो मूर्ति खडा गरे र मूर्तिको स्थापना गर्न प्रान्त प्रान्तका बडा-हाकिमलगायत उच्च अधिकारीहरूलाई भेला हुन हुकूम गरे। त्यतिबेलासम्म दानियलका तीन जना साथीहरू बेबिलोनको प्रान्तका बडा-हाकिम नियुक्‍त भइसकेका थिए, त्यसैले यो आज्ञा तिनीहरूलाई पनि लागू हुन्थ्यो। त्यस समारोहको एउटा समयमा भेला भएका सबैले मूर्तिलाई दण्डवत्‌ गर्नुपर्थ्यो। तर ती हिब्रूहरूलाई यो परमेश्‍वरको व्यवस्थाको विरुद्ध हुनेछ भनी थाह थियो। (व्यवस्था ५:८-१०) त्यसैले सबै जना दण्डवत्‌ गर्न घोप्टो पर्दा तिनीहरू ठाडै उभिरहे। राजाको हुकूम नमान्दा तिनीहरूले पीडादायी मृत्यु भोग्नुपर्ने थियो। तिनीहरूले परमेश्‍वरप्रति अनाज्ञाकारी हुनुको सट्टा मृत्यु भोग्ने छनौट गरे तर चमत्कारपूर्ण ढंगमा तिनीहरूको ज्यान जोगियो।—दानियल २:४९-३:२९.

१६, १७. प्रेरितहरूलाई प्रचार गर्न बन्द गर्नु भन्‍ने आज्ञा दिंदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए र किन?

१६ प्रथम शताब्दीमा येशू ख्रीष्टका प्रेरितहरूलाई यरूशलेममा यहूदी धर्मगुरुहरूले बोलाए र येशूको नाउँमा प्रचार गर्न बन्द गर्ने आदेश दिए। यस्तो अवस्थामा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए? येशूले तिनीहरूलाई सबै देशका मानिसहरूलाई प्रचार गर्ने आज्ञा दिनुभएको थियो र यसमा यहूदिया पनि समावेश थियो। उहाँले तिनीहरूलाई यरूशलेमलगायत संसारको सबै भागमा साक्षी दिन भन्‍नुभएको थियो। (मत्ती २८:१९, २०; प्रेरित १:८) येशूका आज्ञाहरूबाट परमेश्‍वर तिनीहरूबाट के चाहनुहुन्थ्यो भनी प्रेरितहरूलाई थाह थियो। (यूहन्‍ना ५:३०; ८:२८) तसर्थ, तिनीहरूले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ४:१९, २०; ५:२९.

१७ प्रेरितहरूले विद्रोह गर्न खोजिरहेका थिएनन्‌। (हितोपदेश २४:२१) तर मानव शासकहरूले परमेश्‍वरको इच्छाअनुसार गर्न निषेध गर्दा तिनीहरूले यसो भन्‍न सके, ‘हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ।’ हामीले “सिजरका चीजहरू सिजरलाई . . . र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई” दिनुपर्छ भनी येशूले भन्‍नुभयो। (मर्कूस १२:१७) हामी मानिसको कुरा सुनेर ईश्‍वरीय आज्ञाप्रति अनाज्ञाकारी भयौं भने हामीले परमेश्‍वरलाई दिनुपर्ने कुरा मानिसलाई दिइरहेका हुनेछौं। हामी सिजरलाई दिनुपर्ने चीज सबै सिजरलाई दिन्छौं तर हामी यहोवाको सर्वोच्च अख्तियार मानिलिन्छौं। उहाँ ब्रह्‍माण्डको सार्वभौम, सृष्टिकर्ता र सम्पूर्ण अख्तियारको स्रोत हुनुहुन्छ।—प्रकाश ४:११.

हामी दृढ अडान लिनेछौं

१८, १९. हाम्रा थुप्रै भाइहरूले कस्तो दृढ अडान लिएका छन्‌ र हामी कसरी तिनीहरूको उदाहरण पछ्याउन सक्छौं?

१८ वर्तमान समयमा प्रायजसो सरकारहरूले यहोवाका साक्षीहरूको तटस्थ अडान मानिलिन्छन्‌ र त्यसको लागि हामी कृतज्ञ छौं। तर कुनै-कुनै देशमा साक्षीहरूले कडा सतावट सामना गर्नुपरेको छ। बीसौं शताब्दीभरि र अहिलेसम्म पनि हाम्रा केही भाइबहिनीहरूले कडा संघर्ष गरिरहेका छन्‌। आध्यात्मिक अर्थमा भन्‍ने हो भने “विश्‍वासको उत्तम लडन्त” लडिरहेका छन्‌।—१ तिमोथी ६:१२.

१९ हामीले तिनीहरूले जस्तै कसरी दृढ अडान लिन सक्छौं? प्रथमतः हामीले सतावटहरू आइपर्ने आशा गर्न सक्छौं। हामीमाथि सतावट आइपऱ्‍यो भने छक्क पर्नु वा निराश हुनु पर्दैन। पावलले तिमोथीलाई यस्तो चेतावनी दिए: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१२; १ पत्रुस ४:१२) शैतानको प्रभाव व्याप्त भएको संसारमा हामीमाथि सतावट आउँदैन भन्‍ने के छ र? (प्रकाश १२:१७) हामी विश्‍वासी भइरहुन्जेल ‘ताजुब भएर हाम्रो खराबी बोल्नेहरू’ हुनेछन्‌।—१ पत्रुस ४:४.

२०. हामीलाई बलियो बनाउने कस्ता सत्यहरूबारे स्मरण गराइएको छ?

२० दोस्रो, यहोवा अनि उहाँका स्वर्गदूतहरूले हाम्रो समर्थन गर्नेछन्‌ भनी हामी विश्‍वस्त छौं। पुरातन समयका एलिशाले भनेझैं: “हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्‌।” (२ राजा ६:१६; भजन ३४:७) हुनसक्छ, यहोवाले आफ्नो असल उद्देश्‍य पूरा गर्न केही समयको लागि सतावट आइपर्न दिनुहुन्छ। यद्यपि, उहाँले हामीलाई सहन आवश्‍यक बल सधैं दिनुहुन्छ। (यशैया ४१:९, १०) कसै-कसैले आफ्नो ज्यान गुमाएका छन्‌ तर त्यसले गर्दा हामी निराश हुँदैनौं। येशूले यसो भन्‍नुभयो: “शरीर मार्ने तर आत्मालाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्नसक्नेसँग बरु डराओ।” (मत्ती १०:१६-२३, २८) हामी यस दुष्ट रीतिरिवाजमा “परदेशी[हरू]” मात्रै हौं। हामी आफ्नो समय ‘साँच्चै जीवन पक्री राख्न’ अथवा परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन पाउन प्रयोग गर्छौं। (१ पत्रुस २:११; १ तिमोथी ६:१९) हामी परमेश्‍वरप्रति विश्‍वासी रहुन्जेल कुनै पनि मानिसले हामीलाई त्यस इनामबाट रोक्न सक्दैन।

२१. हामीले कुन कुरा सधैं मनमा राख्नुपर्छ?

२१ त्यसकारण, यहोवासँगको अनमोल सम्बन्धलाई हामी सम्झिरहौं। ख्रीष्टको अनुयायी र परमेश्‍वरको राज्यको प्रजा हुँदाका आशिष्‌हरूको मूल्यांकन गरिरहन सकौं। तनमनले हाम्रा भाइहरूलाई प्रेम गरौं र तिनीहरूबाट पाउने प्रेममा सधैं आनन्दित होऔं। सबैभन्दा महत्त्वपूर्ण कुरा, भजन रचयिताका यी शब्दहरू पालन गरौं: “परमप्रभुको बाटो हेर्‌, दह्रो हो, र तेरो हृदयले साहस गरोस्‌, तैंले परमप्रभुकै बाटो हेर्‌।” (भजन २७:१४; यशैया ५४:१७) त्यसपछि हामी अघिका असंख्य मसीहीहरूजस्तै दृढ आशा पक्रिराख्ने छौं यस संसारका भाग नहुने तटस्थ मसीहीहरू हुनेछौं।

के तपाईंले बुझाउन सक्नुहुन्छ?

• यहोवासँगको सम्बन्धले हामीलाई संसारबाट कसरी अलग बनाउँछ?

• परमेश्‍वरको राज्यको प्रजाको हैसियतमा हामी संसारमा कसरी तटस्थ रहन्छौं?

• भाइहरूप्रतिको प्रेमले हामीलाई कसरी तटस्थ र संसारबाट अलग रहन मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

परमेश्‍वरको राज्यप्रतिको अधीनताले संसारसँगको हाम्रो सम्बन्धलाई कसरी असर गर्छ?

[पृष्ठ १६-मा भएको चित्र]

हुटु र टुट्‌सीले खुसीसाथ सँगै काम गरे

[पृष्ठ १७-मा भएको चित्र]

यहूदी तथा अरबी मसीही भाइहरू

[पृष्ठ १७-मा भएको चित्र]

सर्बिया, बोस्निया तथा क्रोएसियाका मसीहीहरूले एकअर्कोसँगको संगतिबाट आनन्द उठाउँछन्‌

[पृष्ठ १८-मा भएको चित्र]

शासकहरूले परमेश्‍वरको व्यवस्था तोड्‌न अह्राउँदा अपनाउनुपर्ने मार्ग कुन हो?