पाठकहरूका प्रश्नहरू
पाठकहरूका प्रश्नहरू
थोरै पैसाको बाजी राख्नुमा कुनै खराबी छ?
परमेश्वरको वचनले जूवाबारे विस्तृत तवरमा चर्चा नगरे तापनि यसमा सबै प्रकारको जूवा बाइबल सिद्धान्त विपरीत हो भन्ने कुरा बुझाउने यथेष्ट प्रमाण छ। a जस्तै: जूवाले लोभ उत्पन्न गराउँछ भन्ने कुरालाई धेरैले मानिलिन्छन्। यसै तथ्यलाई मात्र पनि मसीहीहरूले गहिरिएर विचार गरे पुग्छ किनकि बाइबलले “लोभीहरू” परमेश्वरको राज्यको हकदार हुने छैनन् भनेर बताउनुका साथै लोभलाई मूर्तिपूजाको वर्गमा राखेको छ।—१ कोरिन्थी ६:९, १०; कलस्सी ३:५.
जूवाले घमण्ड, हानि पुऱ्याउने प्रतिस्पर्धात्मक भावना अर्थात् जसरी हुन्छ जित्ने इच्छा जगाउँछ। प्रेरित पावलले यस्ता कुराहरू विरुद्ध यस्तो चेताउनी दिए, “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी नहोऔं।” (गलाती ५:२६) साथै, जूवाले कसै-कसैलाई शकुन अपशकुनमा अन्धविश्वासी भई भर पर्न प्रोत्साहित गर्छ। भाग्यलाई आफ्नो वशमा ल्याउने आशामा जूवाडेले हरेक किसिमको अन्धविश्वास अपनाउँछ। यस्ता प्रवृत्तिका मानिसहरूले हामीलाई “भाग्यदेवको निम्ति टेबल तयार गर्नेहरू, भावीदेवीको निम्ति मिसाएको दाखमद्य भर्ने,” ती अविश्वासी इस्राएलीहरूको सम्झना दिलाउँछ।—यशैया ६५:११.
कसै-कसैले आफ्ना नातागोता वा घनिष्ठ मित्रहरूसित प्रतिस्पर्धा नगरी थोरै पैसाको बाजी थापेर तास वा पासा खेल्नु हानिकारक होइन भनेर तर्क गर्लान्। हो, थोरै पैसा राखेर जूवा खेल्ने व्यक्तिले आफूलाई लोभी, घमण्डी, प्रतिस्पर्धी वा अन्धविश्वासी ठान्दैनन् होला। तर उसले जोसित जूवा खेल्दै छ, त्यस व्यक्तिलाई त्यसले कस्तो असर गर्न सक्छ? अधिकांश जूवा खेल्ने कुलतको विवशतामा परेकाहरूले सुरुमा ‘मनोरञ्जनको लागि मात्र’ सानोतिनो बाजी थापेर जूवा खेल्न सुरु गर्छन्। (लूका १६:१०) अहानिकारक जस्तो देखिने त्यही लहडबाजी पछि गएर तिनीहरूको लागि घातक हुन सक्छ।
विशेष गरी बच्चाहरूलाई यसले झनै असर गर्छ। धेरै जसो बच्चाहरू सुरुमा स-सानो बाजी जित्दा उत्साहित भएर ठूलठूलो रकमको बाजी थाप्न प्रलोभित भएका छन्। (१ तिमोथी ६:१०) संयुक्त राज्य अमेरिकामा एरिजोना परिषद्द्वारा प्रकाशित जूवा खेल्ने कुलतको विवशतामा परेकाहरूबारे धेरै लामो समयसम्म गरिएको अध्ययनले धेरै जूवाडेहरूले सानै उमेरमा “आफ्ना मित्र वा नातागोतासित खेलकुद वा तासमा सानोतिनो बाजी थापेर” जूवा खेल्न सुरु गर्छन् भनी बताउँछ। अर्को रिपोर्ट यसो भन्छ: “बच्चाहरूले आफ्नो परिवार र साथीहरूसित तास खेलेर घरैबाट जूवा खेल्न सुरु गर्छन्।” रिपोर्टले थप यसो भन्छ: “जूवा खेल्ने बच्चाहरूमध्ये तीस प्रतिशतले एघार वर्ष नपुग्दै जूवा खेल्न सुरु गरेको पाइयो।” ह्वाइ डु पिपल ग्याम्बल टु मच—प्याथलोजिकल एण्ड प्रोबलेम ग्याम्बलिङ-का अनुसार धेरैजसो किशोर जुवाडेहरू अपराध वा अनैतिकताद्वारा जूवाको लत मेटाउने खर्च जुटाउने गर्छन्। सुरुमा अहानिकारक जस्तो देखिने जूवाले पछि कस्तो दुर्दशा नित्याउँछ!
हामी अहिले बाँचिरहेको संसार पहिले नै पासो र प्रलोभनहरूले भरिएको हुनाले फेरि किन आफैले अर्को पासो निम्त्याउने? (हितोपदेश २७:१२) बच्चाहरूको सामुन्ने होस् वा नहोस्, पैसा थोरै होस् वा धेरै, जूवाले आध्यात्मिकतालाई खतरामा पार्छ र यसलाई छाड्नै पर्छ। मनोरञ्जनको रूपमा पासा वा तास खेल्ने मसीहीहरूलाई स्कोर कागजमा लेख्न वा स्कोर नै नलेखेर केवल रमाइलोको लागि खेल्न सल्लाह दिइन्छ। आफ्नो अनि आफ्ना साथीभाइ र परिवारको आध्यात्मिकताको ख्याल राख्ने बुद्धिमान् मसीहीहरूले थोरै पैसा राखेरै किन नहोस्, कुनै पनि हालतमा जूवा खेल्दैनन्।
[फुटनोट]
a द वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले जूवालाई “कुनै खेल, कार्यक्रमको परिणाममा बाजी थाप्नु वा भाग्य अजमाउनु” भनी परिभाषित गर्छ। यसले थप यसो भन्छ: “जूवाडे वा खेलाडीले अक्सर चिट्ठा, तास र पासाजस्ता भाग्यजोग्यका खेलहरूमा पैसाको बाजी थाप्ने गर्छन्।”