सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

माफी माग्नु शान्ति स्थापना गर्ने तरिका

माफी माग्नु शान्ति स्थापना गर्ने तरिका

माफी माग्नु—शान्ति स्थापना गर्ने तरिका

“माफी माग्दा प्रभावकारी असरहरू हुन्छन्‌। यसले हिंसाविना मतभेदहरू सुल्झाउँछ, राष्ट्रहरूबीचको फाटो टालटुल पार्छ, जनताहरूले भोगिरहेका दुःखहरू बुझ्न सरकारहरूलाई मदत गर्छ र व्यक्‍तिगत सम्बन्धहरूलाई सन्तुलनमा राख्छ।” यो कुरा व्यापक वितरण भएको पुस्तककी लेखिका डेबोरा टानेनको हो र उनी वाशिङ्‌टन डि.सि.-को जर्जटाउन विश्‍वविद्यालयकी भाषासमाजशास्त्री पनि हुन्‌।

अक्सर, बिग्रिएको सम्बन्ध सुधार्ने प्रभावकारी तरिका साँचो हृदयले माफी माग्नु हो भनी बाइबलले बताउँछ। उदाहरणका लागि, येशूले बताउनुभएको उडन्ता पुत्रको दृष्टान्तमा जब छोराले घर फर्किएर हृदयदेखि माफी माग्यो, तब बुबा तिनलाई आफ्नो घरपरिवारमा स्वीकार्न तत्पर भए। (लूका १५:१७-२४) हो, कसैले पनि अहम्‌ छोड्‌न, माफी माग्न र क्षमा पाउने कोसिस गर्न इन्कार गरेर घमण्डी भइरहनु हुँदैन। निस्सन्देह, साँच्चै नम्र व्यक्‍तिहरूको लागि माफी माग्न त्यत्ति गाह्रो हुँदैन।

माफी माग्नुको प्रभावकारिता

पुरातन इस्राएलकी बुद्धिमती स्त्री, अबीगेलले आफ्नो पतिले गरेको गल्तीको लागि माफी मागेको भए तापानि तिनको उदाहरणबाट माफी माग्नु कत्तिको प्रभावकारी हुन्छ भन्‍ने कुरा बुझ्न सकिन्छ। पछि इस्राएलका राजा भएका दाऊद र तिनका मानिसहरूले उजाड-स्थानमा बस्दा अबीगेलको पति, नाबालको बगालको रेखदेख गरेका थिए। यद्यपि, दाऊदका जवान मानिसहरूले नाबलसँग खानेकुरा र पानी माग्दा उनले तिनीहरूको अपमान गरेर रित्तो हात फर्काइदिए। दाऊद रिसाएर नाबाल र उनको घरनाविरुद्ध लडाइँ गर्न ४०० मानिसहरू लिएर गए। यसबारे थाह पाएपछि, अबीगेल दाऊदलाई भेट्‌न निस्किन्‌। तिनले दाऊदलाई देखेपछि घोप्टो परेर तिनको खुट्टामा दण्डवत्‌ गरिन्‌। त्यसपछि तिनले यसो भनिन्‌: “हे मेरा प्रभो, दोष मैमाथिनै परोस्‌, तर हजूरकी विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्‌। मेरा मालिकले मेरो कुरा सुन्‍नुहोस्‌।” त्यसपछि अबीगेलले सबै परिस्थिति बताइन्‌ र दाऊदलाई खानेकुरा र पेयपदार्थ उपहार स्वरूप दिइन्‌। त्यसपछि दाऊदले यसो भने: “शन्तिसित घर फर्क। मैले तिम्रो कुरा सुनें, र तिम्रो बिन्ती मञ्जूर गरें”।—१ शमूएल २५:२-३५.

अबीगेलको विनम्र मनोवृत्तिका साथै तिनले आफ्नो पतिले गरेको कठोर व्यवहारको लागि माफी मागेको कारण तिनको घराना जोगियो। दाऊदले तिनलाई हत्या र प्रतिशोधको दोषदेखि जोगाएको कारण धन्यवादसमेत दिए। दाऊद र तिनका मानिसहरूलाई अबीगेलले दुर्व्यवहार नगरेको भए तापनि आफ्नो परिवार यसको लागि दोषी छ भनेर स्वीकारिन्‌ र दाऊदसँग मिलाप गरिन्‌।

कुन बेला माफी माग्नुपर्छ भनेर बुझेका अर्का व्यक्‍ति प्रेरित पावल थिए। एक पटक, तिनले यहूदीहरूको महासभा अर्थात्‌ सर्वोच्च अदालतमा प्रतिवादीको रूपमा बोल्नुपरेको थियो। पावलका निष्कपट शब्दहरू सुनेर आक्रोशित प्रधान पूजाहारी हननियाले पावलका आसपासमा उभिरहनेहरूलाई तिनको मुखमा हिर्काउने हुकूम दिए। त्यति बेला, पावलले तिनलाई यसो भने: “हे कमेरो लागेको पर्खाल, तिमीलाई पनि परमेश्‍वरले हिर्काउनुहुनेछ, किनकि तिमी न्यायपूर्वक मेरो इन्साफ गर्न बसेर के अन्यायमा मलाई पिट्‌नालाई हुकूम दिन्छौ?” तर जब आसपासमा उभिरहेकाहरूले पावललाई प्रधान पूजाहारीको अपमान गरेको आरोप लगाए, तिनले तुरुन्तै आफ्नो गल्ती स्वीकार्दै यसो भने: “हे भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मलाई थाह थिएन। किनकि ‘तैंले आफ्ना जनताका शासकको खराबी नबोल्नू’ भन्‍ने लेखिएको छ।”—प्रेरित २३:१-५.

न्याय गर्न खटिएको व्यक्‍तिले हिंसाको सहारा लिनु हुन्‍न भनी पावलले भनेको कुरा सही थियो। तैपनि, अनजानमा प्रधान पूजाहारीलाई अनादरपूर्णजस्तो देखिने बोली बोलेकोमा तिनले माफी मागे। a पावलले माफी मागेकै कारण तिनले महासभासामु बोल्ने कुराहरू सुन्‍न अरू मानिसहरू तयार भए। अदालतका सदस्यहरूबीच नै मतभेद छ भन्‍ने कुराप्रति सजग हुँदै, तिनले आफूले पुनरुत्थानमा विश्‍वास गरेको कारण आफूमाथि मुद्दा चलेको हो भनी तिनीहरूलाई बताए। फलस्वरूप, तिनीहरूबीच फाटो पऱ्‍यो र फरिसीहरूले पावलको पक्ष लिए।—प्रेरित २३:६-१०.

बाइबलका यी दुई उदाहरणहरूबाट हामी के सिक्न सक्छौं? दुवै अवस्थामा, इमानदार भई पश्‍चात्ताप व्यक्‍त गर्दा थप कुराकानीको बाटो खुल्यो। त्यसकारण क्षमायाचनाका शब्दहरूले हामीलाई शान्ति स्थापना गर्न मदत दिन सक्छ। हो, आफ्ना गल्तीहरू स्वीकार्दा र आफूले गरेको नोक्सानीको लागि माफी माग्दा मेलमिलाप गराउने वार्तालाप गर्ने बाटो खुल्छ।

‘तर मैले त केही गल्ती नै गरेको छैन’

आफूले भनेको वा गरेको कुराले अरू कसैलाई चोट लागेको थाह पाउँदा हामीलाई उक्‍त व्यक्‍ति अव्यावहारिक वा अति नै संवेदनशील भइरहेकोजस्तो लाग्न सक्छ। तथापि, येशूले आफ्ना चेलाहरूलाई यस्तो सल्लाह दिनुभयो: “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।”—मत्ती ५:२३, २४.

उदाहरणका लागि, कुनै भाइलाई तपाईंले तिनको विरुद्ध पाप गरेजस्तो लाग्ला। तपाईंलाई चाहे आफूले गल्ती गरेजस्तो लागोस्‌ वा नलागोस्‌, येशूले भन्‍नुभएअनुसार यस्तो अवस्थामा तिनीकहाँ गएर ‘आफ्नो भाइसित मिलाप गर्नुपर्छ।’ युनानी पदमा, येशूले यहाँ प्रयोग गर्नुभएको शब्दले ‘आपसी वैमनस्यतापछिको आपसी मेलमिलापलाई बुझाउँछ।’ (भाइन्स एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस्‌) निस्सन्देह, दुई जना मानिसहरूबीच विवाद हुँदा, दुवै जना असिद्ध र दुवैमा गल्ती गर्ने झुकाव भएकोले, तिनीहरूले केही हदसम्म एक-अर्कालाई दोषारोपण गर्न सक्छन्‌। यसकारण अक्सर आपसी समझदारी चाहिन्छ।

कुरा को सही र को गलत भन्‍ने होइन, बरु शान्ति स्थापना गर्न को अग्रसर हुन्छ भन्‍ने हो। कोरिन्थीका मसीहीहरूले आर्थिक विवादजस्ता व्यक्‍तिगत मतभिन्‍नताहरू हुँदा, परमेश्‍वरका सँगी सेवकहरूलाई सांसारिक अदालतहरूमा लगेको कुरा थाह पाएपछि, पावलले तिनीहरूलाई यसरी सच्याए: “बरू अन्याय किन नसहनु? बरू किन ठगिएरनै नरहनु?” (१ कोरिन्थी ६:७) आफ्ना व्यक्‍तिगत मतभिन्‍नताहरूबारे सांसारिक अदालतमा ढ्‌वाङ फुक्दै हिंड्‌नबाट सँगी मसीहीहरूलाई जोगाउनको लागि पावलले उक्‍त कुरा भनेका भए तापनि यसमा बिथोलित सिद्धान्त भने प्रस्ट छ: को सही र को गलत भनेर प्रमाणित गर्नुभन्दा महत्त्वपूर्ण कुरा सँगी विश्‍वासीहरूबीच शान्ति कायम राख्नु हो। यस सिद्धान्तलाई मनमा राख्दा, अर्को पक्षले हामी दोषी हौं भन्ठान्दा माफी माग्न सजिलो हुन्छ।

निष्कपटता आवश्‍यक छ

यद्यपि, कतिपयले भने माफी माग्दा प्रयोग गरिने शब्दहरू अचाक्ली प्रयोग गर्छन्‌। उदाहरणका लागि, माफी माग्नको लागि प्रयोग गरिने सामान्य शब्द, सुमिमासेन जापानमा हजारौं पटक प्रयोग गरेको सुनिन्छ। कृतज्ञता जाहेर गर्न, आफूप्रति देखाइएको दयाको प्रत्युत्तर तिर्न नसक्दा उत्पन्‍न हुने आत्मग्लानीको भाव प्रकट गर्न पनि यो शब्द प्रयोग गर्ने गरिन्छ। यसको विविधताको कारण, कतिपयलाई यो शब्द अचाक्ली प्रयोग गरिन्छ जस्तो लाग्न सक्छ र साँच्चै निष्कपट हृदयले भनेको हो कि होइन भन्‍ने शंका उत्पन्‍न हुन सक्छ। अन्य कतिपय संस्कृतिमा पनि माफी माग्दा प्रयोग गरिने शब्दहरू अति नै प्रयोग गरेजस्तो देखिन सक्छ।

जुनसुकै भाषामा पनि माफी माग्दा निष्कपट हुनु जरुरी छ। शब्दहरू र बोल्ने तरिकाले व्यक्‍त गरिएको अफसोस निष्कपट हो भनी प्रकट हुनुपर्छ। डाँडाको उपदेशमा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसरी सिकाउनुभयो: “तर तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌। औ यीभन्दा बढता चाहिं दुष्टतर्फबाट हो।” (मत्ती ५:३७) तपाईं माफी माग्नुहुन्छ भने, त्यसैअनुसार काम पनि गर्नुहोस्‌। उदाहरणका लागि: विमानस्थलको चेक-इन काउण्टरको लाममा उभिरहेका एक जना मानिसको मालसामानले सँगै लाममा उभिरहेकी एउटी स्त्रीलाई ठक्कर लाग्यो र तिनले माफी मागे। केही मिनेट पछि, लाइन अलिकति अघि सऱ्‍यो र फेरि पनि सुटकेसले त्यस स्त्रीलाई छोयो। फेरि पनि विनम्र हुँदै ती मानिसले माफी मागे। तर जब फेरि अर्को पटक पनि ठक्कर लाग्यो, ती स्त्रीसँगै यात्रा गरिरहेका एक जना पुरुषले भने, तिनले वास्तवमै माफी मागेको हो भने तिनको मालसामानले ती स्त्रीलाई फेरि-फेरि पनि छोइरहने थिएन। हो, साँच्चै माफी माग्दा त्यो गल्ती फेरि नदोहोऱ्‍याउने संकल्प पनि हुनुपर्छ।

हामी निष्कपट छौं भने, हामीले माफी माग्दा यसमा गल्तीको स्वीकारोक्‍ति, क्षमायाचना र भइसकेको नोक्सानीलाई सकेसम्म सुधार्ने प्रयत्न बिथोलित हुनेछ। यसको बदलामा, पीडित व्यक्‍तिले गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई सजिलै माफी दिनुपर्छ। (मत्ती १८:२१, २२; मर्कूस ११:२५; एफिसी ४:३२; कलस्सी ३:१३) दुवै पक्ष नै असिद्ध भएको कारण, सधैं सहजै शान्ति स्थापना नहुन सक्छ। तैपनि, माफी माग्नु भनेको शान्ति स्थापना गर्ने एकदमै प्रभावकारी तरिका हो।

जब माफी माग्नु अनुचित हुन्छ

पश्‍चात्ताप र अफसोसका अभिव्यक्‍तिहरूले शान्त गराउन र शान्ति स्थापना गर्न योगदान पुऱ्‍याउने भए तापनि बुद्धिमान्‌ मानिसले यस्ता अभिव्यक्‍तिहरू प्रयोग गर्न उचित नहुने समयमा यसको प्रयोग गर्दैनन्‌। उदाहरणका लागि, मानिलिनुहोस्‌, परमेश्‍वरप्रतिको निष्ठा मुछिएको मामिला छ। येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा उहाँ “मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:८) तथापि, आफूले भोग्नुपर्ने दुःख-कष्ट कम गर्न उहाँले आफ्नो विश्‍वासको लागि माफी माग्नुभएन। अनि प्रधान पूजाहारीले यसो भन्दा पनि येशूले माफी माग्नुभएन: “म जीवित परमेश्‍वरको नाउँमा तँलाई भन्दछु, हामीलाई भन्‌, तँ परमेश्‍वरको पुत्र ख्रीष्ट होस्‌ कि होइनस्‌!” डरले काम्दै लुत्रुक्क परेर माफी माग्नुको सट्टा, येशूले साहसी भई यस्तो जवाफ दिनुभयो: “तपाईंलेनै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।” (मत्ती २६:६३, ६४) आफ्नो पिता, यहोवा परमेश्‍वरप्रतिको निष्ठालाई दाउमा राखेर प्रधान पूजाहारीसँग शान्ति कायम राख्ने विचार येशूको मनमा कहिल्यै आएन।

मसीहीहरू अख्तियारमा रहेका मानिसहरूप्रति आदर र सम्मान देखाउँछन्‌। तर तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारी भएको र आफ्ना भाइहरूप्रति प्रेम देखाएको कारणचाहिं माफी माग्नु आवश्‍यक छैन।—मत्ती २८:१९, २०; रोमी १३:५-७.

शान्तिका अवरोधहरू रहनेछैनन्‌

हामीले हाम्रो पुर्खा आदमबाट वंशानुगत रूपमा असिद्धता र पाप पाएको कारण, आज हामी गल्तीहरू गर्छौं। (रोमी ५:१२; १ यूहन्‍ना १:१०) आदमले सृष्टिकर्ताको विद्रोह गरेको कारण ऊ पापी भयो। तथापि, सुरुमा आदम र हव्वा सिद्ध तथा पापरहित थिए। अनि परमेश्‍वरले मानिसहरूलाई त्यस्तै सिद्ध अवस्थामा फर्काउने प्रतिज्ञा गर्नुभएको छ। उहाँले पाप तथा यसका सबै असरहरूलाई मेटाउनु हुनेछ।—१ कोरिन्थी १५:५६, ५७.

त्यो अवस्था कस्तो होला, विचार गर्नुहोस्‌ त! जिब्रोको प्रयोगबारे सल्लाह दिंदा येशूको सौतेनी भाइ याकूबले यसो भने: “जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) सिद्ध मानिसले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्न सक्ने हुनाले उसले जिब्रोको दुरुपयोग गर्दैन जसको कारण माफी नै माग्नुपर्दैन। उसले ‘आफ्नो सारा शरीरमा लगाम कस्न सक्छ।’ हामी सिद्ध हुँदा कत्ति अद्‌भुत हुनेछ! तब, मानिसहरूबीच शान्ति कायम राख्न कुनै पनि कुराहरू बाधक हुनेछैनन्‌। तथापि, त्यतिन्जेल आफूले गरेको गल्तीको लागि मागिने साँचो र उचित क्षमायाचनाले शान्ति स्थापना गर्न ठूलो मदत गर्नेछ।

[फुटनोट]

a पावलको आँखा कमजोर भएको कारण तिनले प्रधान पूजाहारीलाई नचिनेका हुन सक्छन्‌।

[पृष्ठ ५-मा भएको चित्र]

पावलको उदाहरणबाट हामी के सिक्न सक्छौं?

[पृष्ठ ७-मा भएको चित्र]

जब सबै जना सिद्ध हुन्छन्‌, शान्तिका कुनै पनि अवरोधहरू रहनेछैनन्‌