सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी आफ्नो कार्यभारबाट पछि हटेनौं

हामी आफ्नो कार्यभारबाट पछि हटेनौं

जीवनी

हामी आफ्नो कार्यभारबाट पछि हटेनौं

हर्मन ब्रुडरको वृत्तान्तमा आधारित

मैले गर्नुपर्ने छनौट सरल थियो; या त पाँच वर्ष फ्रान्सेली वैदेशिक सेनामा सेवा गर्ने या त मोरोक्कोको जेलमा कैदी जीवन बिताउने। आउनुहोस्‌, पहिले म यस्तो अवस्थामा कसरी परें तपाईंहरूलाई बताउँछु।

मेरो जन्म प्रथम विश्‍वयुद्ध हुनुभन्दा ठीक तीन वर्षअघि १९११ मा जर्मनीको अपिनाउमा भएको थियो। मेरा आमाबाबु जोसेफ र फ्रिडा ब्रुडरका १७ छोराछोरी थिए। म उहाँहरूको १३ औं सन्तान थिएँ।

हाम्रो गाउँको मुख्य सडक भएर हिंडिरहेको पल्टन बाजा नै मेरो बाल्यकालका सम्झनाहरू हुन्‌। पल्टन बाजा सुनेर मुग्ध भई रेल स्टेशनसम्मै म ती संगीतकारहरूको पछि-पछि गएँ। त्यहाँ मैले बुबा र अन्य केही मानिसहरू सैनिक पोसाकमा कतै जान रेल चढ्‌दै गरेको देखें। जब रेल छुट्यो, प्ल्याटफर्ममा केही महिलाहरू अलाप-विलाप गर्दै रोए। त्यसको लगत्तै हाम्रो पादरीले चर्चमा एउटा लामो प्रवचन दिए र मातृभूमिको रक्षा गर्दागर्दै ज्यान गुमाउने चार जना पुरुषहरूको नाउँ पढेर सुनाए। तिनले यसो भने, “अहिले तिनीहरू स्वर्गमा छन्‌।” यो सुनेर मेरो नजिकै उभिरहेकी एउटी महिला मुर्छा परिन्‌।

रूसी युद्धभूमिमा लड्‌दा लड्‌दै बुबालाई टाइफाइड भएछ। उहाँ कमजोर भएर घर फर्कनुभयो र तुरुन्तै उहाँलाई स्थानीय अस्पतालमा भर्ना गरियो। पादरीले मलाई यस्तो सल्लाह दिए, “चिहान नजिकै रहेको चर्चमा गएर ५० चोटि प्रभुको प्रार्थना र ५० चोटि कुमारी मरियमको प्रार्थना गर। त्यसपछि तिम्रो बुबा निको हुनेछन्‌।” मैले उनको सल्लाह पालन गरें तर भोलिपल्टै बुबाको निधन भयो। एउटा नाबालकको लागिसमेत त्यो युद्ध पीडादायी अनुभव थियो।

मैले कसरी सच्चाइ पाएँ

युद्धको दौडान जर्मनीमा काम पाउन साह्रै गाह्रो थियो। सन्‌ १९२८ मा स्कूल सिद्धिएपछि मैले स्वीट्‌जरल्याण्डको बाजेलमा मालीको काम पाएँ।

बुबाजस्तै म पनि एक जना कट्टर क्याथोलिक थिएँ। भारतमा गएर कापुचिन भिक्षु हुने मेरो लक्ष्य थियो। त्यतिबेलासम्म यहोवाका साक्षी भइसकेका मेरा भाइ रिचर्डले मेरो योजना थाह पाएपछि मलाई सम्झाउनको लागि नै हत्तपत्त स्वीट्‌जरल्याण्ड आए। तिनले मलाई मानिसहरू अझ विशेष गरी पादरीहरूमाथि भरोसा राख्नुको खतराबारे चेताउनी दिनुका साथै बाइबल पढ्‌न र बाइबलमा मात्र विश्‍वास गर्न प्रोत्साहन दिए। मनमा शंका-उपशंकाहरू भए तापनि मैले बाइबलको नयाँ नियम किनेर पढ्‌न थालें। मेरा अधिकांश विश्‍वासहरू बाइबलअनुरूप नभएको कुरा बिस्तारै स्पष्ट हुन थाल्यो।

सन्‌ १९३३ को एउटा आइतबार जब म जर्मनीमा रिचर्डको घरमा थिएँ, तिनले मलाई एक यहोवाका साक्षी दम्पतीसित परिचय गराए। मैले बाइबल पढिरहेको कुरा थाह पाएपछि तिनीहरूले मलाई द क्राइसिस a शीर्षकको एउटा पुस्तिका दिए। मैले त्यो पुस्तिका पढी सिध्याउँदा मध्यरात भइसकेको थियो। आफूले सत्य भेट्टाएको कुरामा म विश्‍वस्त भएँ!

बाजेलका यहोवाका साक्षीहरूले मलाई स्टडिज इन द स्क्रिपचर्स*-का दुई खण्डलगायत केही पत्रिका र प्रकाशनहरू पनि दिए। आफूले पढिरहेको कुराबाट प्रभावित भएर मैले स्थानीय पादरीलाई सम्पर्क गरें र चर्चको रजिस्टरबाट आफ्नो नाउँ हटाउन आग्रह गरें। पादरी रिसले चुर भए र मैले विश्‍वास गुमाउने खतरा भएको चेतावनी दिए। तर आफूले विश्‍वास नगुमाएको कुरामा म विश्‍वस्त थिएँ। वास्तवमा मैले जीवनमा पहिलो पटक साँचो विश्‍वास पाएको थिएँ।

त्यस सप्ताहन्त बाजेलका भाइहरूले फ्रान्सको सीमानासम्म प्रचार गर्ने योजना बनाउँदै थिए। एक जना भाइले मलाई मायापूर्वक त्यहाँ आमन्त्रित नगरिएको कुरा बताए किनभने मैले मण्डलीमा भर्खरै संगत गर्न थालेको थिएँ। निरुत्साहित हुनुको सट्टा मैले प्रचार सुरु गर्ने आफ्नो बलियो अडान व्यक्‍त गरें। अर्को एक जना प्राचीनसित सल्लाह गरेपछि उनले मलाई स्वीट्‌जरल्याण्डको एउटा इलाकामा खटाए। आइतबार सबेरै आफ्नो प्रचार जाने झोलामा ४ वटा पुस्तक, २८ वटा पत्रिका अनि २० वटा पुस्तिका राखेर साइकलमा म बाजेल नजिकैको सानो गाउँतिर लागें। म त्यहाँ पुग्दा धेरैजसो गाउँलेहरू चर्चमा थिए। त्यसो भए तापनि बिहानको ११ बजे भित्रमै मेरो झोला रित्तियो।

जब मैले आफूले बप्तिस्मा लिन चाहेको कुरा भाइहरूलाई बताएँ, उहाँहरूले मसित गम्भीर छलफल गर्नुभयो र मलाई सत्यबारे गहिरा प्रश्‍नहरू सोध्नुभयो। यहोवा अनि उहाँको संगठनप्रतिको तिनीहरूको जोस र वफादारिता देखेर म अत्यन्तै प्रभावित भएँ। जाडो महिना भएकोले मलाई एक जना भाइले एक जना प्राचीनको घरको बाथटबमा बप्तिस्मा दिनुभयो। मैले महसुस गरेको त्यो आनन्द र अवर्णनीय आन्तरिक बललाई म अहिले पनि सम्झन्छु। त्यो १९३४ को कुरा थियो।

किङडम फार्ममा काम गर्दा

सन्‌ १९३६ मा यहोवाका साक्षीहरूले स्वीट्‌जरल्याण्डमा एक टुक्रा जग्गा किनेको मैले सुनें। मैले त्यहाँ मालीको रूपमा सेवा सुरु गरें। बर्नबाट ३० किलोमिटर टाढा रहेको स्टेफिसबर्गको किङडम फार्ममा काम गर्ने निम्तो पाउँदा मेरो खुसीको सीमा रहेन। मैले फार्ममा सकेजति अरूको काम पनि सघाएँ। बेथेलले मलाई सहयोगी मनोभाव राख्नुको महत्त्वबारे सिकायो।

भाइ रदरफोर्डले १९३६ मा फार्ममा गर्नुभएको भ्रमण मेरो बेथेल जीवनको अविस्मरणीय क्षण थियो। जब उहाँले ठूलठूलो गोलभेंडा र सप्रेको बाली देख्नुभयो तब उहाँले मीठो मुस्कानसहित आफ्नो सन्तुष्टि व्यक्‍त गर्नुभयो। उहाँ कत्ति मायालु भाइ हुनुहुन्थ्यो!

बेथेल सेवा गरेको तीन वर्ष जति हुँदा संयुक्‍त राज्य अमेरिकास्थित यहोवाका साक्षीहरूको मुख्यालयबाट प्राप्त भएको एउटा पत्र ब्रेकफास्ट टेबलमा पढेर सुनाइयो। त्यस पत्रमा प्रचार कार्यको अविलम्बतालाई जोड दिइनुका साथै विदेशी भूमिमा अग्रगामीको रूपमा सेवा गर्न चाहनेहरूलाई निमन्त्रणा पनि दिइएको थियो। नहिचकिचाईकन मैले त्यो निमन्त्रणा स्वीकारें। मे १९३९ मा मैले ब्राजिल जाने कार्यभार पाएँ!

त्यस बेला म किङडम फार्म नजिकैको तुन मण्डलीका सभाहरू धाउँदै थिएँ। आइतबारको दिन हामी प्रचारको लागि एक समूह तुनबाट साइकल चढेर दुई घण्टामा पुगिने आल्प्समा जान्थ्यौं। त्यस समूहमा मार्गारीता स्टाइनर पनि थिइन्‌। त्यसबेला अकस्मात्‌ मेरो मनमा एउटा विचार आयो: के येशूले प्रचारमा दुई-दुई जना गरी पठाउनुभएको थिएन र? मैले कुरैकुरामा मार्गारीतालाई आफूलाई ब्राजिलमा खटाइएको कुरा सुनाएँ तिनले पनि आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने इच्छा व्यक्‍त गरिन्‌। हामीले जुलाई ३१, १९३९ मा विवाह गऱ्‍यौं।

यात्रामा अप्रत्याशित रूपमा अर्कै ठाउँमा लगियौं

अगस्त १९३९ को अन्ततिर ब्राजिलको सानतोसलाई गन्तव्य बनाउँदै हामीले फ्रान्सको ला हाब्रेबाट समुद्री यात्रा थाल्यौं। जहाजमा दुई जना बस्ने कोठाहरू सबै भरिसकेकोले गर्दा हामीले छुट्टा-छुट्टै कोठामा यात्रा गऱ्‍यौं। यात्राको दौडान बेलाइत र फ्रान्सले जर्मनीमाथि युद्ध छेडेको खबर आयो। यो समाचार सुनेपछि ३० जना जर्मन यात्रुहरूको एक समूहले मच्चि-मच्चि जर्मनको राष्ट्रिय गीत गाउन थाले। यो सुनेर जहाजको कप्तान यत्ति रिसाए कि दिशा परिवर्तन गरेर तिनले जहाजलाई मोरोक्कोको साफीमा लगेर बिसाए। जर्मन ट्राभल डकुमेन्ट हुने जति सबै यात्रुहरू पाँच मिनेट भित्रमा जहाजबाट उत्रनुपर्ने भयो। त्यसमा हामी पनि पऱ्‍यौं।

एक दिन त हामीलाई प्रहरी-चौकीमा राखियो। त्यसपछि एउटा थोत्रो बसमा कोचाकोच गरेर १४० किलोमिटर परको माराकेचको जेलमा लगियो। त्यसपछि कष्टका दिनहरू सुरु भए। हाम्रो जेल कोचाकोच र अँध्यारो थियो। भुँइमा प्वाल पारेर बनाइएको सार्वजनिक शौचालयको निकास बन्द भइरहन्थ्यो। सुत्नको लागि हामी सबैलाई एउटा-एउटा फोहोर बोरा दिइन्थ्यो। रातमा मुसाले हाम्रा खुट्टाका पिडौंलाहरू टोक्थे। खिया लागेको थोत्रो भाँडामा दिनको दुई चोटि खाना दिइन्थ्यो।

यदि मैले फ्रान्सेली वैदेशिक सेनामा पाँच वर्ष सेवा गर्न मन्जुरी दिएको खण्डमा मलाई रिहा गरिने कुरा एक जना सैनिक अधिकृतले बताए। मैले त्यसो गर्न इन्कार गर्दा चौबीसै घण्टा एउटा साँघुरो काल कोठरीमा जाकिनु पऱ्‍यो। त्यसबेला धेरैजसो समय मैले प्रार्थना गरेर बिताएँ।

आठ दिनपछि जेलका अधिकारीहरूले मलाई मार्गारीतासँग भेट्‌ने अनुमति दिए। तिनी दुब्लाएर हाडछाला भइसकेकी थिइन्‌ र मलाई देख्ने बित्तिकै तिनको भक्कानो फुट्यो। मैले तिनलाई अनेक तरिकाबाट हौसला दिने प्रयास गरें। हामीलाई केरकार गरियो र रेलद्वारा कासाब्लान्कामा पठाइयो जहाँ मार्गारीता रिहा भइन्‌। मलाई १८० किलोमिटर टाढा रहेको पोर्ट ल्याउटीको (हाल केनिट्रा) जेलमा लगियो। स्वीस वाणिज्य दूतले मार्गारीतालाई स्वीट्‌जरल्याण्ड फर्कने सल्लाह दिए पनि तिनी कुनै पनि हालतमा मलाई छोडेर जान राजी थिइनन्‌। म दुई महिनासम्म पोर्ट ल्याउटीमा हुँदा तिनी दिनहुँ कासाब्लान्कादेखि मलाई खाना लिएर भेट्‌न आउँथिन्‌।

एक वर्षअघि यहोवाका साक्षीहरूले नाजी शासन व्यवस्थामा साक्षीहरूको कुनै संलग्नता नभएको कुरामा जनसाधारणको ध्यानाकर्षण गर्न क्रोइट्‌स्टसूच गीगन डास क्रिस्टनटूम (मसीहीधर्मविरुद्ध अभियान) शीर्षकको एउटा पुस्तक विमोचन गरेका थिए। म जेलमा हुँदा बर्नस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले हामी नाजीहरू होइनौं भनेर प्रमाणित गर्ने प्रयासमा फ्रान्सेली अधिकारीहरूलाई यस पुस्तकको एक प्रति संगल्न गरी एउटा चिठी लेखे। मार्गारीताले पनि सरकारी अधिकारीहरूसित भेटेर अनि तिनीहरूलाई हाम्रो निर्दोषताबारे विश्‍वस्त गराउन प्रयास गरेर निकै प्रंशसनीय कार्य गरिन्‌। अन्ततः १९३९ को अन्ततिर हामीले मोरोक्को छोड्‌ने अनुमति पायौं।

ब्राजिलको लागि जहाजमा चढेपछि मात्र जर्मन पनडुब्बीहरूले आन्द्र महासागारको जलमार्गमा आक्रमण गरिरेहको र हामी नै तिनीहरूको आक्रमणको तारो भएको खबर सुन्यौं। जमैका नाउँ गरेको हामी चढेको जहाज एउटा व्यापारिक जहाज भए तापनि जहाजको अघिल्लो र पछिल्लो भागमा बन्दुकहरू जडान गरिएका थिए। दिनमा कप्तानले जहाज बाङ्‌गो टिङ्‌गो मार्ग भएर लानुका साथै जहाजबाट तोप हानेको हान्यै गरे। रातीचाहिं जर्मनहरूले ठम्याउन नसकुन्‌ भनेर हामी निष्पट्ट अन्धकारमा बस्न बाध्य भयौं। युरोप छोडेको पाँच महिनाभन्दा बढी समयपछि फेब्रुअरी ६, १९४० मा ब्राजिलको सान्तोस बन्दरगाहमा पाइला टेक्न पाउँदा हामी कत्ति ढुक्क भयौं होला!

फेरि जेलमै

हामीलाई प्रचार गर्न खटाइएको पहिलो इलाका ब्राजिलको दक्षिण भागमा पर्ने रियो ग्रान्डे डु सुल प्रान्तको मोन्टेनेग्रो नाउँ गरेको एउटा शहर थियो। हाम्रो आगमनबारे चर्चका अधिकारीहरूलाई जानकारी भइसकेको थियो। हामीले प्रचारमा दुई घण्टा मात्र के बिताएका थियौं, प्रहरीहरूले हामीलाई पक्रे र बाइबल भाषणहरू भएको फोनोग्राफको संग्रह र साहित्यहरू र हामीले मोरोक्कोमा किनेको ऊँटको छालाले बनेको प्रचार जाने झोला पनि जफत गरे। एक जना पादरी र जर्मन भाषा बोल्ने अधिकारी हामीलाई प्रहरी चौकीमा कुरिरहेका थिए। प्रहरी प्रमुखले जफत गरिएको हाम्रो गाम्रोफोनमा भाइ रदरफोर्डको भाषण बजाउँदा तिनीहरूले सुने। भाइ रदरफोर्डको भाषणमा कुनै पनि कुरा नलुकाई स्पष्ट व्यक्‍त गरिएको थियो! भाषणमा भ्याटिकनबारे उल्लेख गरिएको भाग आउँदा पादरी लाजले रातोपिरो भएर बाहिर निस्के।

सान्ता मारियाको बिशपको अनुरोधमा प्रहरीले हामीलाई प्रान्तीय राजधानी पोर्टो एलीग्रीमा चलान गरे। मार्गारीता छिट्टै रिहा भइन्‌ र उनले स्वीस बाणिज्यदूतसित मदत खोजिन्‌। राजदूतले तिनलाई स्वीट्‌जरल्याण्ड फर्कने सल्लाह दिए। फेरि एक चोटि तिनले मलाई छोडेर जान अस्वीकार गरिन्‌। मार्गारीता सधैं मेरी वफादार जीवनसाथी साबित भएकी छिन्‌। तीस दिनपछि मलाई केरकार गरी रिहा गरियो। प्रहरीले हाम्रोसामु यस्तो छनौट राखे: दस दिनभित्रमा प्रान्त छोड्‌नु वा “नतिजा भोग्न तयार रहनु।” मुख्यालयको सल्लाह बमोजिम हामी रियो दि जेनेरियोतर्फ प्रस्थान गऱ्‍यौं।

“कृपया यो कार्ड पढ्‌नुहोस्‌”

ब्राजिली भूमिमा पाइला टेक्ने बित्तिकैको यस्तो नमीठो अनुभवको बावजूद हामी कति खुसी थियौं! आखिर, हाम्रो ज्यानलाई त केही भएको थिएन, हाम्रा झोलाहरू फेरि एक चोटि साहित्यहरूले भरिभराउ थिए, प्रचार गर्नको लागि पूरै रियो दि जेनिरियो शहर थियो। पोर्चुगाली भाषामा सीमित ज्ञानको भरमा हामीले कसरी प्रचार गर्न सक्थ्यौं र? साक्षी कार्डद्वारा। हामीले प्रचार कार्यमा चलाउन सिकेको पहिलो पोर्चुगाली शब्द थियो, “पोर फेभर लेइ इसटी कारटाउ” (“कृपया यो कार्ड पढ्‌नुहोस्‌”) त्यो कार्ड एकदमै प्रभावकारी साबित भयो! एक महिनाभित्रमा हामीले १,००० वटा पुस्तक वितरण गऱ्‍यौं। हाम्रो बाइबल साहित्य स्वीकार्ने धेरैले पछि सत्यलाई अँगाले। इमानदारीसाथ भन्‍नुपर्दा, हाम्रा प्रकाशनहरूले जति प्रभावकारी साक्षी हामीले कहिल्यै दिन सकेनौं। यसले जिज्ञासु व्यक्‍तिहरूको हात-हातमा हाम्रा प्रकाशनहरू पुग्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुराको मेरो मनमा गहिरो छाप पऱ्‍यो।

त्यस बेला ब्राजिलको राजधानी रियो डि जेनेरियो भएकोले विशेष गरी सरकारी भवनहरूमा हाम्रो सन्देशको स्वागत गरियो। मसित अर्थमन्त्री र सशस्त्र फौजसम्बन्धी मन्त्रीलाई प्रचार गरेको बेग्लै अनुभव पनि छ। यी अवसरहरूमा मैले यहोवाको आत्माले काम गरिरहेको प्रत्यक्ष प्रमाण पाएँ।

एक दिन रियोको केन्द्रको एउटा चोकमा प्रचार गरिरहँदा म अदालतभित्र पसेको पत्तै पाइनछु। मैले आफूलाई कालो पोसाक लगाइरहेका मानिसहरूबीच पाएँ र मध्य भागमा कुनै अन्त्येष्टि समारोह भइरहेको जस्तो देखिन्थ्यो। हेर्दा अलि विशिष्ट देखिने मानिसकहाँ म गएँ र साक्षी कार्ड पढ्‌न दिएँ। त्यो अन्त्येष्टि थिएन। वास्तवमा मैले एउटा अदालतको मुद्दामा भइरहेको बहसमा बाधा पुऱ्‍याइरहेको थिएँ र म त न्यायाधीशसित पो कुरा गरिरेहको थिएँ। हाँस्दै न्यायाधीशले पहरेदारलाई केही नगर्ने इसारा गरे। उनले खुसीसाथ चिल्ड्रेन b नामक पुस्तक स्वीकारे र अनुदान दिए। बाहिर निस्कन लाग्दा पहरेदारले स्पष्ट देखिने गरी ढोकामा टाँसिएको यो सूचनातर्फ संकेत गरे: प्रोइबिडा अ इन्ट्राडा डि पेसोआस इस्ट्राङयास (अनुमतिविना प्रवेश निषेध)।

अर्को उर्वर भूमि बन्दरगाह थियो। एक चोटि मैले एक जना जहाजको कप्तानलाई भेटें र जहाजमा जानुअघि तिनले केही प्रकाशनहरू स्वीकारे। पछि हामीले तिनलाई एउटा सम्मेलनमा भेट्यौं। तिनका पूरै परिवारले सच्चाइ अंगाल्नुका साथै तिनले पनि राम्रो प्रगति गरिरहेका थिए। यो देखेर हामी अति खुसी भयौं।

तर सबै कुरा सरल भएन। हाम्रो छ महिने प्रवेशाज्ञा सकियो र हामीलाई देशनिकाला गरिने सम्भावना थियो। हाम्रो अवस्था खुलाएर मुख्यालयमा पत्र लेखिसकेपछि भाइ रदरफोर्डले हामीलाई काममा लागिरहन प्रोत्साहन र हामीले चाल्नुपर्ने कदमहरूबारे सुझाव दिंदै लेखेको मायालु पत्र हामीले पायौं। ब्राजिलमै बस्ने हाम्रो इच्छा थियो र एक जना वकीलको मदतले अनन्तः हामीले १९४५ मा स्थायी प्रवेशाज्ञा पायौं।

दीर्घकालीन कार्यभार

तर त्यो भन्दा अघि १९४१ मा छोरा जोनाथन, १९४३ मा छोरी रूथ र १९४५ मा छोरी एस्तरको जन्म भयो। हाम्रो बढ्‌दो परिवारको आवश्‍यकता पूरा गर्न मैले जागिर खानुपर्ने भयो। हाम्रो तेस्रो बच्चा जन्मनुअघिसम्म मार्गारीताले पूर्ण-समय प्रचार कार्यलाई निरन्तरता दिइन्‌।

सुरु देखि नै हामी शहरका चोकहरू, बाटो र व्यापारिक क्षेत्रहरूमा स-परिवार प्रचारमा जान्थ्यौं। शनिबार साँझ हामी स-परिवार प्रहरीधरहराब्यूँझनुहोस्‌! वितरण गर्थ्यौं र ती हाम्रा लागि विशेष खुसीका अवसरहरू थिए।

घरमा हरेक बच्चाले दिनहुँ गर्नुपर्ने कामहरू हुन्थ्यो। जोनाथनले चुल्हो र भान्छा सफा गर्नुपर्थ्यो। छोरीहरूले रेफ्रिजेरेटर सफा गर्ने, आँगन बढार्ने र जुत्तामा पालिस लगाउने गर्थे। यसले तिनीहरूलाई व्यवस्थित हुन र अग्रसरता विकास गर्न मदत गऱ्‍यो। आज हाम्रा छोराछोरीहरू परिश्रमी छन्‌ र आफ्ना घर र मालसामानहरूको राम्रो हेरचाह गर्छन्‌, यसले मार्गारीता र मलाई सन्तुष्टिको अनुभूति हुन्छ।

हामी छोराछोरीले सभाहरूमा राम्रो व्यवहार गरेको पनि चाहन्थ्यौं। कार्यक्रम सुरु हुनुअघि तिनीहरू पानी पिउँथे र शौचालय जान्थे। सभाको समयमा जोनाथन मेरो बायाँपट्टि, रूथ मेरो दायाँपट्टि त्यसपछि मार्गारीता, उनको दायाँपट्टि एस्तर बस्थिन्‌। यसले तिनीहरूलाई सभाहरूमा एकाग्र हुन मदत गर्नुका साथै सानैदेखि आध्यात्मिक आहार लिन मदत गऱ्‍यो।

यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुभएको छ। हाम्रा सबै बच्चाहरूले वफादारीतासाथ यहोवाको सेवा गरिरहनुका साथै आनन्दित भई प्रचार कार्यमा भाग लिइरहेका छन्‌। हाल जोनाथन रियो डि जेनेरियोस्थित नोभु मइर मण्डलीमा एक जना प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌।

सन्‌ १९७० सम्ममा हाम्रा सबै बच्चाहरूले विवाह गरेर घर छाडिसकेका थिए। त्यसैले मार्गारीता र मैले आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने निर्णय गऱ्‍यौं। यसै क्रममा हामीले सबैभन्दा पहिला मिनास गिराइस प्रान्तको पोसुस डि कालडासमा सेवा गऱ्‍यौं जहाँ त्यसबेला केवल १९ जना राज्य प्रकाशकहरूको सानो समूह थियो। पहिलो पटक त्यहाँको सभा गर्ने ठाउँ देख्दा मलाई साह्रै दिक्क लाग्यो किनभने त्यो कुनै झ्याल नभएको जमिनमुनिको कोठा थियो जसलाई मर्मत सम्भारको तड्‌कारो खाँचो थियो। हामीले तुरुन्तै राज्यभवनको लागि उपयुक्‍त ठाउँको खोजी गर्न थाल्यौं र हामीले छिट्टै राम्रो ठाउँमा आकर्षक भवन भेट्टायौं। यसले निकै ठूलो फरक पाऱ्‍यो! साढेचार वर्षपछि प्रकाशकहरूको संख्या वृद्धि भएर १५५ पुग्यो। सन्‌ १९८९ मा हामी रियो दि जेनेरियोको अरारुएमा भन्‍ने ठाउँमा बसाइँ सऱ्‍यौं जहाँ हामीले नौ वर्ष सेवा गऱ्‍यौं। यस अवधिमा दुईवटा नयाँ मण्डलीहरू स्थापना भए।

आफ्नो कार्यभारबाट पछि नहट्‌दा पाएका इनामहरू

सन्‌ १९९८ मा स्वास्थ्य समस्या तथा छोराछोरीसित नजिकिने चाहनाले हामीलाई रियो दि जेनेरियोको साउ गोङसालुमा सर्न उत्प्रेरित गऱ्‍यो। म अहिले पनि त्यहाँ मण्डलीको प्राचीनको हैसियतमा सेवा गर्दैछु। हामी यथासक्य प्रचार कार्यमा भाग लिन्छौं। मार्गारीतालाई नजिकैको सुपरमार्केटमा साक्षी दिन मनपर्छ र हाम्रो घर नजिकै मण्डलीले केही इलाकाहरू प्रचारको लागि हामीलाई छुट्याइदिएका छन्‌ र हाम्रो स्वास्थ्यले साथ दिएसम्म प्रचार गर्न हामीलाई यस प्रबन्धले मदत गरेको छ।

मार्गारीता र म यहोवाको समर्पित सेवक भएको अहिले ६० वर्षभन्दा धेरै भइसकेको छ। ‘नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानको कुराहरूले, न पछि हुने कुराहरूले, न शक्‍तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ,’ भन्‍ने कुरालाई हामीले व्यक्‍तिगत रूपले महसुस गरेका छौं। (रोमी ८:३८, ३९) परमेश्‍वरको सुन्दर सृष्टिले ढाकेको सिद्ध पृथ्वीमा अनन्त जीवनको प्रत्याशा भएका एकत्रित “अरू भेडा [लाई]” साक्षी दिन पाउनु कत्ति आनन्दको कुरा हो! (यूहन्‍ना १०:१६) हामी सन्‌ १९४० मा रियो दि जेनेरियोमा पुग्दा यहाँ केवल २८ जना प्रकाशकहरूको एउटा मण्डली थियो। हाल यहाँ २५० वटा मण्डली र २०,००० भन्दा धेरै राज्य उद्‌घोषकहरू छन्‌।

हाम्रा परिवारहरू भएको ठाउँ युरोपमा फर्कने धेरै अवसरहरू आए। तर यहोवाबाट हामीले जिम्मेवारी पाएको ठाउँ त ब्राजिल हो। आफ्नो जिम्मेवारीबाट अलिकता पनि विचलित नभएकोमा हामी कत्ति खुसी छौं!

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर हाल छापिंदैन।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर हाल छापिंदैन।

[पृष्ठ २१-मा भएको चित्र]

सन्‌ १९३० को दशकको अन्तमा स्वीट्‌जरल्याण्डस्थित स्टेफिसवर्गको किङडम फार्ममा (म बायाँपट्टिको सबैभन्दा अन्तमा)

[पृष्ठ २३-मा भएको चित्र]

हाम्रो विवाह हुनुभन्दा केही समय अघि, १९३९

[पृष्ठ २३-मा भएको चित्र]

१९४० को दशकमा कासाब्लान्कामा

[पृष्ठ २३-मा भएको चित्र]

स-परिवार प्रचारमा

[पृष्ठ २४-मा भएको चित्र]

अहिले पनि सेवकाईमा नियमित